सोमबार, वैशाख २४
०७:०३

सहयोगी साकोस ‘स्मल इज् ब्युटीफुल’ हो

शुक्रबार, असोज १
रञ्जनमणि पौड्याल
saccosaawaj

सहकारी अभियानका बिशिष्ट व्यक्तित्व कैलाशभक्त प्रधानाङ्गसँग पूर्वनिर्धारित भेटका लागि २०७८ साल भदौंको अन्तिम दिन हिजो मध्यान्हतिर यो पंक्तिकार भक्तपुर नगदेशस्थित उहाँको निवास पुग्दा भेटिनुभएन । संस्थामा जानुभएको खबर पाएँ । फोन लगाएँ । उताबाट प्रश्न आयो, ‘म त यहाँ संस्थामा छु, तपाई यतै आउनुहुन्छ कि ?’ ‘हुन्छ’ को उत्तरसहित केहीबेरको सोधपुछ पछि संस्थामा पुगेँ –सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्था लि.।

दोस्रो तल्लाको काउन्टर पछिल्तिरबाट छिर्ने पुस्तकालय जस्तो आभाष मिल्ने कोठामा आदरणीय व्यक्तित्व प्रधानाङ्ग टेबल वरिपरि कागजात, पत्रपत्रिका र पुस्तकले घेरिएर बस्नुभएको थियो । शिष्टाचारसँगै उहाँतिर फकिएर वार्तालाप गर्न सहज हुने गरी कुर्सीमा बसेँ । सँगै कोषाध्यक्ष हरि गोविन्द प्रजापति, सञ्चालक रत्नबहादुर कालु र कर्मचारी बिजेन्द्र प्रजापति पनि बस्नुभयो ।

दराजमा सहकारी, नेफ्स्कून र योसँग जोडिएका अन्तर्राष्ट्रिय निकायसम्बन्धी अमुल्य दस्तावेज, पुस्तक, प्रकाशन आदि खोज्दा सजिलै भेटिने गरी सजाएर जतन गरिएका छन् । अनुहारमा कान्ति छ, आँखाको ज्योतिमा कुनै कमी छैन, छ त केवल सुनाइमा अल्पता । सहकारी बारे जान्न बुझ्न वा अन्तर्वार्ताका लागि जो कोही आउने भनेपछि प्रधानाङ्ग नाइनास्ति गर्नुहुन्न । त्यसमाथि आफुले १४ वर्ष संरक्षण गरेको नेफ्स्कूनबाट कोही आउने भनेपछि उहाँको मुहारमा फरक आभा भेटिन्छ । मेरो हकमा म अलि बढी भाग्यमानी ठहरिएँ ।

हिजो संस्थामा बिशेष चहलपहल थियो । असोज ३ गते आइतबार सहयोगीको ३० औं वार्षिक साधारण सभाको तयारी जोडतोडका साथ चलिरहेको थियो । साधारण सभालाई सभ्य, भव्य र सहभागितामूलक बनाउने काममा कर्मचारीदेखि अध्यक्ष स्वयं खटिनुभएको थियो । एउटा सहकारी संस्थाको लागि वर्षको सबैभन्दा महत्वपूर्ण पर्व हो साधारण सभा । सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई अक्षरशः पालनामा बिशेष जोड दिने प्रधानाङ्गको पाठशालामा हुर्किएको सहयोगीको संस्कृति नै तडकभडकपूर्ण भन्दा बढी से बढी सदस्य सहभागितामा वर्षभरिका सम्पूर्ण गतिविधिहरु पारदर्शी ढंगले अद्योपान्त जानकारी गराई अनुमोदन गराउने हो । ‘हाम्रो साधारण सभा बढी सहभागिता मूलक हुन्छ, ’अध्यक्ष प्रधानाङ्ग भन्नुहुन्छ, ‘३ सय सदस्य मध्ये २ सय बढी प्रत्येक पटक सहभागी हुन्छन् । ५ हजार देखि १ लाख बढीसम्म सदस्य भएकाहरुको साधारण सभामा गणपूरक संख्या कसरी पुर्याइन्छ, मैले भन्नै पर्दन ।’ सहयोगी साकोसको अर्को असल अभ्यास भनेको साधारण सभा प्रत्येक वर्ष असोज ३ मा गर्ने । 

असल अभ्यासको कुरा गर्दा, सहयोगी साकोसले आर्थिक वर्ष साउन र भदौंको खर्च साधारण सभाबाट बजेट पारित नगरी गर्नु अप्रजतान्त्रिक भएकोले बजेट खर्च प्रजातान्त्रिकीकरण प्रयास स्वरुप चालु बर्षको मात्र नभई आउँदो वर्षको बजेट समेत पेश गर्ने प्रचलन थालेको छ । सूर्यविनायक, चागुँनारायण र मध्यपूर थिमि नगरपालिका कार्यक्षेत्र रहेको संस्थामा प्रधानाङ्गको नेतृत्वमा ७ सदस्यीय सञ्चालक समिति, बलराम श्रेष्ठ (हाल राजीनामा गर्नुभएको) को नेतृत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति छ भने ३ जना कर्मचारी छन् । 

सहकारीको अपरिहार्यताः इमान्दारिता र पारदर्शिता भन्ने मुल मन्त्र बोकेको संस्था २०४८ सालमा संघ संस्था ऐन २०३४ बमोजिम आत्मनिर्भर संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भएको थियो । पछि २०५० साल असार २३ गते जिल्ला सहकारी कार्यालय भक्तपुरमा दर्ता भएको थियो । 

२०४८ सालमा सहयोगीसँगै स्थापना भएका संस्थाहरु आज कारोबार, सदस्य संख्या, सेवा केन्द्र आदिका दृष्टिले धेरै फैलिएका छन् । तर सहयोगीको अवस्था फरक छ । कतिले यस विषयमा समयसमयमा प्रश्न पनि उठाउँछन् । तर अध्यक्ष प्रधानाङ्ग भन्नुहुन्छ,‘ साकोस अभियानमा हामीले धेरै पहिलेदेखि भन्दै आएको ‘स्मल इज ब्युटीफुल बट बिग इज पावरफुल’ हो । जबसम्म दुबै प्रकारका सहकारीहरुले सहकारी सिद्धान्त, मुल्य र मान्यतामा कुनै प्रकारको सम्झौता नगरी संस्था सञ्चालन गर्छन्, तबसम्म यी दुबैको अस्तित्वलाई स्वीकार गनुपर्छ ।’

हाल ३१० सदस्य रहेको संस्थामा ४५ लाख बढी सेयर पुँजी, ७ करोड ३८ लाख बढी निक्षेप संकलन रहेको छ । कोषाध्यक्ष प्रजापति भन्नुहुन्छ, ‘मुख्य कुरा हामीले सबै सदस्यको राम्रो हेरचाह गरेको दाबी साकोसले गरेको छ । सानैस्तरमा भएपनि हाम्रा कार्यक्रमबाट नवीन र सदस्य सेवामुखी छन् । हामीले गरेका कामबाट सदस्यहरु सन्तुष्ट हुनुहुन्छ ।’ त्यसो त सानो अनि सुन्दर सहयोगी साकोससँग ४ आना क्षेत्रफलमा निर्माण गरिएको ४ तल्ले भवन छ । २०६७ सालमा निर्मित ९ कोठे (सभाहल सहित) भवनको २ कोठा भाडा लागेको छ । २०७१ सालमा संस्था आफ्नै भवनमा सरेको हो । 

सँगै ३ आना क्षेत्रफल जग्गा भाडामा लिएर तरकारी खेती तथा पोर्टेवल कोल्ड स्टोर सञ्चालन गरेको छ । संस्थामा महिला, युवा र कृषक समूह छन् । १० लाखसम्म ऋण लगानी गर्दा सेवा शुल्क लिदैन । यस्तै, यसवर्षबाट बिशेष परियोजना कार्यक्रम नामको नयाँ ऋण सेवा पनि सुरु गरेको छ । यस कार्यक्रमबाट प्राप्त आम्दानी नेफ्स्कूनको सहजीकरणमा सञ्चालन गरिएको उद्यमी कृषकहरुको समूहले उत्पादन गरेको तरकारीको ढुवानीका लागि तरकारी एम्बुलेन्सको व्यवस्थाका लागि दातृ निकायहरुको सहयोगमा खर्च गर्ने लक्ष्य लिएको कोषाध्यक्ष प्रजापतिले जानकारी गराउनुभयो ।

कृषक सदस्यले उत्पादन गरेको तरकारी भण्डारणको लागि नेफ्स्कूनको बिशेष सहयोगमा जग्गा भाडामा लिई पोर्टेबल कोल्ड स्टोर निर्माण भई १५ वटा टनेलसमेत निर्माण भएको छ । उत्पादित तरकारी सुकाउन दुई वटा मेसिन पनि जडान गरिएको छ । यी कामका लागि २५ जना कृषक सदस्यहरुलाई पटकपटक तालिम प्रदान गरिएको छ । त्यस्तै, संस्थाबाट युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट पहिलो  चरणमा ४० लाख र दोस्रो चरणमा ६० लाख प्राप्त ऋण सहयोगबाट पछिल्लो चरणमा ७ महिलासहित ३० जना युवा व्यवसायीहरुसमेत गरी कुल ५० जनालाई व्यवसाय विस्तारमा ऋण सहयोग उपलब्ध गराइएको छ ।

यस्ता कामले सदस्यहरुलाई व्यावसायिक बनाउन प्रेरित गरेको छ । हेर्दा सानो भनेपनि यस्ता कार्यक्रमको प्रभाविकारिता दिगो हुने अध्यक्ष प्रधानाङ्ग दाबी गर्नुहुन्छ । संस्थाले ५ करोड ८० लाख बढी ऋण लगानी गरेको छ भने नेपालमा बचत ऋण सहकारीको विकास र नेफ्स्कूनको उन्नयनमा विश्व ऋण परिषद् ओकूका पूर्व अध्यक्ष स्वर्गीय अगस्टाइन गुस मुर्रेको योगदानको कदरस्वरुप संस्थाले उहाँको सम्मानमा पुरस्कार समेत प्रदान गर्दै आएको छ । संस्था नेफ्स्कून, जिल्ला बचत संघ र जिल्ला सहकारी संघमा आबद्ध छ । 

साकोसको चौथो तल्लामा रहेको सभाहलमा नै मितव्ययी रुपमा कार्यक्रम गरिदै आएको छ । यसपटक पनि अध्यक्ष प्रधानाङ्ग आफै खटेर कार्यक्रमको तयारी भैरहेको छ । पर्सीको लागि आज नै अतिथिहरुको नेमप्लेट ठीक भैसकेको छ । अन्य व्यवस्थापनका कामहरु पनि सकिदै गएको छ । जिम्मेवारीहरु बाँडफाँड भैसकेको छ । संस्थामा करिब एक दशकदेखि सदस्य रहदैआउनुभएकी मनकेशरी महर्जन भन्नुहुन्छ, ‘हरेक वर्ष आफ्नै निगरानीमा एक दुई दिन अघिदेखि नै तयारी सक्नुपर्ने कैलाश सरको भनाइ हुन्छ र त्यही अनुसार काम पनि हुन्छ । साना साना कुराहरुमा उहाँको ध्यान जान्छ र सकेसम्म राम्रोसँग काम गर्नुपर्नेमा बिशेष जोड दिनुहुन्छ ।’

सहयोगी साकोसले विगत ११ वर्षदेखि ज्येष्ठ नागरिक सम्मान समारोह गर्दै आएको छ । संस्थाले नेपाल ज्येष्ठ नागरिक सेवा सहकारी संस्था लि. नामको छुट्टै सहकारी संस्था दर्ता गरेको छ । जसमार्फत अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) को सन्दर्भमा पाका सदस्यहरुलाई सम्मानित गरिदै आएको छ । यस वर्ष पनि ज्येष्ठ नागरिकहरुलाई दोसल्ला, कपडाको झोला, पाउरोटी, रियल जुस, भिटामिन बी कम्पलेक्स, हट वाटर ब्याग, च्यबनप्रास, दुई जोर मोजा, नगद र प्रमाणपत्र लगायत वितरण गर्ने तयारी गरेको विगत ६ वर्षदेखि कार्यरत बिजेन्द्र प्रजापतिले बताउनुभयो । प्रत्येक वर्ष ज्येष्ठ सदस्यहरुलाई घरमा काम लाग्ने सामानहरु उपलब्ध गराउँदै आएको संस्थाले यसपटक असोज १४ गते एक कार्यक्रम आयोजना गरी अक्सिमिटरसमेत उपलब्ध गराउने उहाँले उल्लेख गर्नुभयो । त्यसको पनि तयारी धमाधम भैरहेको थियो– चौथो तल्लास्थित ज्येष्ठ नागरिक सेवा सहकारी संस्था लि.को कार्यालयमा ।

त्यस्तै, सामाजिक कार्यतर्फ मास्क वितरण, आर्थिक सहयोग, महिला शसक्तिकरण, बालबालिका कार्यक्रम, स्वास्थ्य कार्यक्रम आदि सञ्चालन गर्दै आएको छ । साकोसले सामाजिक उत्तरदायित्व बहन गर्दै ‘एक रुपैया गरिबको लागिः मेरो सहयोग सधैका लागि, एक रुपैयाँ पुण्यको लागिः मेरो सहयोग सधैका लागि’ नामका दुई लोकप्रिय कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । 

करिब २ दशकअघि त्रिविकी छात्रा अचला श्रेष्ठले करिब १ वर्ष संस्थाका प्रायः सबै सदस्यहरुको घरघरमा गई सर्वेक्षण गरेर स्नातकोत्तरको सोधकार्य तयार गर्नुभएको थियो । त्यसबेला एउटा सहकारीको विषयमा विश्वविद्यालयका विद्यार्थीबाट सोधकार्य गरिनुपनि संस्थामार्फत समुदायको जीवनस्तर परिवर्तनमा खेलिएका भूमिकाको कदर भएको अध्यक्ष प्रधानाङ्ग बताउनुहुन्छ । यस्ता विषयले सदस्यहरुबीच छवि सुधार हुन्छ ।

संख्या ठूलो, सेवा केन्द्र फराकिलो हुनु नराम्रो होइन तर मुख्य कुरा भएका सदस्यहरुलाई सन्तुष्ट बनाउनु महत्वपूर्ण कुरा हो । भन्नुहुन्छ, ‘हाम्रो ध्यान सदस्यहरुको सेवा हो नकि अधिक मुनाफा ।’ त्यही भएर अध्यक्षको प्रतिवेदनमा प्रत्येक वर्ष नछुट्ने वाक्यांश हो–निक्षेपको परिचालनमा नाफाको दृष्टिकोण भन्दा सेवाको दृष्टिकोण रहेको हुन्छ । अभियानका सिद्धान्तनिष्ठ अग्रणी प्रधानाङ्ग सहकारी र क्रेडिट युनियन सिक्न खोज्नेलाई सजिलै सिकाउनुहुन्छ, पढ्न खोज्नेलाई निःशुल्क पढाउनुहुन्छ र इतिहासको सम्मान गर्नेलाई सम्मानको दृष्टिकोणले हेर्नुहुन्छ । हिजोको भेटले पक्तिकारको मनमा उहाँको सम्बन्धमा रहेको विगतको त्यही भावमा थप मलजल गर्यो ।

यसरी सहकारी अभियानको जीवित पाठशाला, इतिहास र पुस्तकालय कैलाशभक्त प्रधानाङ्ग र उहाँको रेखदेखमा सञ्चालित इतिहास बोकेको सहयोगी साकोसका गतिविधिहरुको जानकारी लिदालिदै समयले नेटो काटेको पत्तै भएन । घडीले करिब ६ बजायो, जानकारीका लागि केही घन्टे बसाई पक्कै अततृत्प थियो त्यसमाथि कैलाश सर पनि अतृप्त नै रहनुभयो । तैपनि फेरि भेट्ने बाचासहित धेरै कोसेली र न्यायो सद्भावसहित बिदा माग्दै बाटो तताएँ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र