शनिबार, वैशाख २२
१२:५८

फक्रदै प्यूठानको पहिलो सहकारी ‘फुलबारी’ 

बुधबार, भदौ २३
राधा पौडेल
saccosaawaj

लुम्बिनी प्रदेशमा पर्ने प्यूठान भौगोलिक विकटताको जिल्लाले चिनिन्छ ।  साविकको मध्यमश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने जिल्ला प्रादेशिक संरचना सँगै नगरपालिकामा रुपान्तरण भएपनि भौगोलिक विकटता र परम्परागत कृषि पेशामा भने कुनै फरकपना आउन सकेको छैन । बचत शिक्षा र व्यवसायको महत्व बुझाँउदै शैक्षिक चेनास्तर बढेसँगै व्यवसाय विस्तार र वैदेशिक रोजगारीमा त्यहाँका युवाहरुको संलग्नता भने बढ्दो छ । जिल्लाबासीहरुलाई बचतको महत्व सिकाउन र आयआर्जनका पाटाहरुमा आर्थिक सहायता जुटाउन दुइ दशक अघिदेखि नै जिल्लामा सहकारी संस्थाहरुको उदय भएको पाइन्छ । जिल्लामै सवैभन्दा पहिलो बचत तथा ऋण सहकारीको नामले परिचित फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सर्वप्रथम त्यहाँका महिला दिदीबहिनीहरुलाई आर्यआर्जनमुलक गतिविधिमा जोड्दै दैनिक जीवनयापन सहज बनाउन र दुःखसुखमा साथ दिन गरेको अथक प्रयासले गति लिएको देखिन्छ । 

 स्थापनाको     इतिहास 

साविकको खैरा गाविस वडा नं.७ मा अवस्थित फुलबारी बचत तथा ऋण सहकारी संस्था २०५५ साउन २ गते डिभिजन सहकारी कार्यालय दाङमा दर्ता भयो । संस्थापक अध्यक्ष लोकबहादुर बस्नेत स्मरण गर्नुहुन्छ, “शुरुमा माइक्रो क्रेडिट प्रोजेक्ट मार्फत सामूहिक अभियान सञ्चालन गर्ने र नेपाल बैंकको प्राविधिक साथै लगानी सहजीकरण रहने भनेर समूह निर्माण गर्यौं । २०५२ सालमा माओवादी विद्रोह शुरु भएसँगै नेपाल बैंकले सुरक्षाका हिसाबले गाउँ गाउँमा लगानी गर्न सक्दिन भन्यो । त्यसपछि महिला दिदीवहिनीहरुको दबाब बढ्न थाल्यो, विकल्पमा छलफल गर्दै जाँदा समूहलाई सहकारीमा ल्याएर बचत तथा ऋण सहकारी मार्फत लगानी गर्ने भनेर फुलबारी साकोसको जन्म भएको हो ।” १३ जनाले १३ सय उठाएर संस्था दर्ताको प्रक्रियामा लाग्यौ, संस्थापक अध्यक्ष बस्नेतले भन्नुभयो, “२०५५ वैशाख १९ गते २५ जनाको सहभागिता सहित मेरै अध्यक्षतामा तदर्थ समिति गठन भयो । २०५५ साउन २ गते डिभिजन सहकारी कार्यालय दाङमा फुलबारी साकोसले दर्र्ता प्रमाणपत्र प्राप्त गर्यो । सहकारी मार्फत सदस्यहरुको आर्थिक स्तर उन्नती गर्ने सोचसहित जिल्लामै पहिलो पटक फुलबारी बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा आएको जीवित इतिहास आज छ ।” हाल जिल्लामा ८५ भन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु दर्ता छन् भने ४०/४२ संस्थामात्रै क्रियाशिल छन् ।  

हिजोका दिनमा आर्थिक पहुँच नपुगेका ग्रामीण क्षेत्रमा सजिलै बचत तथा ऋणको कारोबार गर्ने उद्देश्यले सहकारीको जन्म भयो तर आज हरेक स्थानीय तहमा विभिन्न नामका बैंक वित्तिय संस्थाको उपस्थिति बढ्यो तर सहकारीको भने संख्यात्मक बृद्धि त भयो, तर यसको ढाँचा र शैलीमा न रुपान्तरण हुन सक्यो न गुणात्मक विकास नै । लामो समय फुलबारीको नेतृत्वमा रहेर सहकारी अभियानलाई नजिकबाट नियाल्नुभएका संस्थापक अध्यक्ष बस्नेत सहकारी अभियानको बृद्धि विकासमा राष्ट्रको कानुनी व्यवस्थादेखि तलसम्मै चुनौतीको चाङ रहेको बताउनुहुन्छ । 

 विकट जिल्लाले परिचित प्यूठान

साविकको मध्यमश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने प्यूठान जिल्ला हाल लुम्बिनी प्रदेश अन्तर्गत पर्दछ । झिमरुक नदीको वारिपारी साविकका १९ वडा साथै स्थानीय तहको पुरसंरचना सँगै दुई गाविस जुम्रीकाँढा र माझकोट गाविस मिलाएर हालको १० वडा सहितको प्यूठान नगरपालिका स्थापना भएको थियो ।   

१२८ दशमलब ९६ व.कि.मी क्षेत्रफलमा रहेको यस प्यूठान नगरपालिका उत्तरमा नौबाहिनि गा.पा. र रोल्पा जिल्ला, पश्चिममा स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिका, दक्षिणमा मल्लरानी, माण्डवी र झिमरुक गाउँपालिका रहेका छन् । राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार ३८ हजार ४ सय ४९ जनसंख्या रहेको यस नगरपालिकामा सबैभन्दा धेरै क्षेत्री, मगर र बाहुन जातिको बासोबास रहेको छ । 

मुख्य पेसा कृषि रहेको प्यूठान जिल्ला पनि पछिल्लो समय युवाहरुको बैदेशिक रोजगारीको आकर्षण बढेसँगै कृषि पेसा ओझेलमा पर्दै गइरहेको छ । विकट र ग्रामीण परिवेश सँगै बढी दुःख गर्नुपर्ने जिल्लाको रुपमा महिला दिदीबहिनीहरुले तीजको परम्परागत गीत संगितमार्फत पनि प्यूठानको दुःख पोख्ने गरेको पाईन्छ । आसन्न तीजको परिवेशसँगै प्यूठान जिल्लाको चर्चित गीतको रुपमा महिलाहरुले गाउँने तीज गीतको सानो अंश पनि यहाँ प्रस्तुत गरिएको छ ः

हाम्रा बाबाले छोरी दिन जानेनन् ।
बरिलै दाङ्ग छोडी प्यूठान ।।
प्यूठानमा साह्रै दुख रैछ । 
बरिलै ल्याउ आमा घ्यू  खान ।।
घ्यू खान दिन्न्नौ भने आमा ।
बरिलै जाउ आँफै प्यूठान ।।

बिबाह गरेर प्यूठान दिइएका छोरी चेलीले तीजमा माइती गएर घरमा गरेको दुःख यसरी पोख्ने गरेको पाइएकोले पनि प्यूठानमा धेरै दुःख रहेछ भन्ने अनुमान गरिन्थ्यो तर आजभोलि भने त्यो परिवेश र सन्दर्भ फेरिएको छ । प्यूठान नगरपालिका पनि दिनानुदिन सुविधा सम्पन्न बन्दैछ । 

फुलबारी साकोसको अवस्था

१३ जनाको १३ सय रुपैंयाबाट आजभन्दा २३ बर्ष पहिले जिल्लामै पहिलो पटक निर्माण भएको फुलबारीमा आज धेरै फुलका कोपिलाहरुले सहज वित्तीय परिवेशमा फर्कने र फुल्ने अवसर पाएका छन् । हाल ४ हजार सदस्यहरुमध्येमा ६० प्रतिशत महिला सदस्य, ४० प्रतिशत पुरुष सदस्यहरुको बाहुल्यता छ भने  १६ सयको हाराहारीमा बालबचत कर्ताहरु संस्थामा आबद्ध छन् । १५ करोड कुल पुँजी रहेको संस्थामा जगेडा कोष मात्रै १ करोडको (६ प्रतिशत) छ । 

सदस्यसेवा विस्तार योजना

साविकको प्युठानको खैरा बजार हाल नगरपालिका भएपनि विकट पहाडी गाउँमै पर्छ । गाउँमा फुलबारी साकोसको मुख्य कार्यालय रहेको छ भने बजार क्षेत्रलाई समेट्ने गरी खलंगा, विजुबार र जोसपुरमा पछिल्लो समय सेवा कार्यालयहरु सञ्चालनमा छन् ।  पछिल्लो समय सहकारीका सदस्यहरुको लागि व्यावसायिक विकासको चुनौती थपिदो छ, त्यसका लागि प्यूठान र रोल्पा जिल्लालाई समेट्ने गरी नेफ्स्कूनको कार्यालय स्थापनाका लागि दुवै जिल्लाबासी सदस्यहरु र सहकारी मार्फत जोडदार माग छ । 

भावी योजना 

स्थापनाकालमा १ कर्मचारीबाट सञ्चालित संस्थामा हाल १२ कर्मचारी कार्यरत छन् जसमध्ये ६ जना महिला कर्मचारी छन् । जिल्लामै पहिलो स्थापित फुलबारीले अन्य २ बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरणका लागि प्रक्रिया थालनी गरिसकेको छ । सदस्य विस्तार, पुँजी बृद्धि साथै संस्थागत बृद्धि विकासको लक्ष्य अगाडि सारेको फुलबारीले एशियाली स्तरको ब्राण्डिङ कार्यक्रम एक्सेसमा सहभागिताका लागि पनि निर्णयको चरणमा रहेको संस्थाका अध्यक्ष भोजबहादुर बस्नेत बताउनुहुन्छ । संस्थागत विकास तालिम, रणनीतिक योजना निर्माण तालिम, पर्ल्स अभिमुखीकरण तालिम लगायत तालिम तथा शिक्षाका कार्यक्रममा सहभागी भइरहेको र कर्मचारी क्षमता अभिबृद्धि तालिमका लागि पनि बजेट छुट्याएका छौं, अध्यक्ष बस्नेतले भन्नुभयो,“नेपाल सरकारको सरह कर्मचारी सेवा सुविधा प्रदान गर्ने सोचमा छौं भने सामाजिक सुरक्षा कोषमा सहभागिताको प्रक्रिया पनि अगाडि बढाइएको छ ।” 

पर्यटकीय आकर्षण

लुम्बिनी प्रदेशको पश्चिम पहाडी जिल्ला प्यूठान धार्मिक पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण र मनमोहन जिल्लाको रुपले चिनिन्छ । नेपालको पर्यटकीय आकर्षणमध्येमा प्यूठान जिल्ला महत्वपूर्ण केन्द्र हो । यहाँ स्वर्गद्वारी, झिमरुक जलविद्युत केन्द्र र विशाल रुपमा फैलिएको झिमरुक फाँट पर्यटकीय आकर्षणका केन्द्र हुन् । त्यसैगरी मल्लरानी गाउँपालिकामा पर्ने जिल्लाको सदरमुकाम खलंगा डाँडो त्यतिकै हेर्नलायक छ । धार्मिक पर्यटनसँगै सहकारी पर्यटन प्रबद्र्धनमा पनि प्यूठान नगरपालिका प्रचुर सम्भावना बोकेको क्षेत्र हो ।   

सञ्चालक समित

९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको उक्त संस्थामा २ कार्यकाल भन्दा बढी सञ्चालक समिति र लेखा समितिमा बस्न नपाउने व्यवस्थाको व्यावहारिक कार्यान्वयन समेत सुरु भएको छ । ९ सदस्यीय सञ्चालक समितिमा ३ जना महिलाको प्रतिनिधित्व छ भने लेखा समितिमा एक जना महिला हुनुहुन्छ ।   

कोरोना र सदस्य सेवा तथा सम्बन्ध

कोरोना कहरमा प्यूठान जिल्ला पनि अछुतो रहेन । तर फुलबारीले बन्दाबन्दीको समयमा पनि निरन्तर कार्यालय सञ्चालन र सेवाको निरन्तरता कायमै राख्यो । कोरोनाको समयमा सदस्यहरुलाई सुरक्षा सचेतना कार्यक्रम सहित मास्क वितरणको कार्यलाई पनि फुलबारीले महत्वका साथ अगाडि बढायो । पहिलो चरणको कोरोना कालमा सदस्यहरुलाई ऋणमा केही व्याज छुट तथा सहुलियतहरु पनि दिइयो । पछिल्लो चरणमा भने खोपको पनि व्यवस्था भइसकेपछि विस्तारै व्यवसाय तथा अन्य गतिविधिहरु लयमा फर्कने क्रम शुरु भइसकेको छ भने भाखा नाघेको ऋण पनि ३५ प्रतिशतबाट अब आधाआधिमा झरेको साकोसका व्यवस्थापक प्रकाश वैद्यले बताउनुभयो । लघुवित्त ऋणमा भने केही समस्या छ, कोरोना जोखिम केही मत्थर भएपछि नोकरीका लागि ऋणी सदस्यहरु भारत जाने गरेकोले समस्या छ । कृषि तथा उत्पादनमुलक भन्दा व्यावसायिक ऋण अलि बढी नै छ । कृषि तथा उत्पादनमा जोड दिन व्याजमा १ प्रतिशत सहुलियत पनि छ । व्यावसायिक लोनपनि १० प्रतिशत भन्दा माथि छैन । व्यवस्थापक वैद्यले भन्नुभयो, बचत रकम थोरै भएपनि साकोसमा नियमित बचत सदस्यहरुको संख्या उच्च हुँदा जस्तो सुकै कोरोना कहरमा पनि तरलता समस्या नरहेको उहाँले बताउनुभयो । दैनिक ५०/१०० बचत गर्ने सदस्यसंख्या बढी छ, त्यसले कहिल्यै पनि पैसाको अभाव हुन दिएन ।   

प्रविधि विकासमा पछाडि रहेको साकोसले अव केही हप्ताभित्रै सदस्यहरुमाझ मोवाइल बैंकिङ सेवा विस्तारको योजना अगाडि सारेको छ भने वुटवलस्थित लुम्बिनी अस्पतालमा स्वास्थ्य उपचारका लागि सदस्यहरुलाई छुट तथा सहुलियत व्यवस्थापनका लागि द्विपक्षीय वार्ताको तयारीमा छ । 

स्तरीकरण तथा स्थिरीकरण कोषमा आबद्धता 

२०५७ सालमै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को सदस्यता लिएको फुलबारी साकोसले २०७२ सालमा संघले सुरु गरेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोवेशनमा आबद्ध भयो । कार्यक्रममा आबद्ध भएको चौथो बर्षमै ब्राण्ड प्राप्त गर्न सफल फुलबारीले दोस्रो बर्ष पनि ब्राण्ड हात पार्यो । प्रोबेशन सफलता सँगै आबद्धता निरन्तर छ भने एशियाली ऋण महासंघको प्राविधिक सहकार्यमा नेफ्स्कूनले प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय स्तरको ब्राण्डिङ कार्यमम एक्सेसमा पनि सहभागी हुने सोच अगाडि सारेको छ । त्यसैगरी सहकारी ऐन २०७४ र नियमावली २०७५ ले उल्लेख गरेको स्थिरीकरण कोष सञ्चालनको व्यवस्था अनुरुप नेफ्स्कूनको नेतृत्वमा सञ्चालनमा रहेको स्थिरीकरण कोषमा समेत गत बर्षदेखि निरन्तर सहभागी छ । व्यवस्थापक बैद्यले भन्नुभयो, “ऐनमै व्यवस्था भएर सहकारीको दीगो विकास र संरक्षणका लागि चालिएको यो कदम सह्रानीय छ, हामी निरन्तर निर्धक्कका साथ कोषमा सहभागी हुन उत्साहित छौं ।”

सदस्य सम्बन्ध र विश्वास

हिजोका दिनमा सहकारीबाट ऋण लिएका ऋणी सदस्यहरुको बुझाई सहकारीबाट लिएको ऋण पनि तिर्नुपर्छ र भन्ने थियो । यदि प्रोवेशन कार्यक्रम नभएको भए आज संस्था कसरी चलाइन्थ्यो होला भन्ने लाग्छ, व्यवस्थापक प्रकाश भन्नुहुन्छ, “सदस्यहरुको संस्थाप्रतिको विश्वास बढेको छ भने सदस्यहरुमा आफ्नो बचतको सुरक्षाको ग्यारेन्टी छ भन्ने विश्वास छ । कर्मचारीहरुमा पनि सहकारीमा काम गर्नुपर्दोरहेछ, रोजगारीको सुरक्षा र दीगो विकासको सम्भावना सुनिश्चित रहेछ भन्ने पक्का भएको छ ।” 

साधारणसभा तयारी

कोभिड १९ को संक्रमण बढेसँगै सहकारी विभाग र केन्द्रीय निकायहरुद्वारा जारी मार्गदर्शन बमोजिम फुलबारी साकोसले पनि गत बर्षदेखि नै इलाका स्तरीय साधारणसभाको शुरुवात गर्यो । यस बर्ष पनि असोज १५ गतेदेखि इलाका साधारणसभाको तयारीमा रहेको फुलबारीले असोज २३ गते निर्णय प्रमाणित गराउँदै आ.ब. २०७८/०७९ को बार्षिक साधारणसभा सम्पन्न गर्ने दौडमा छ । 

सदस्यको अपेक्षा र विद्यमान चुनौती

सदस्यहरुले सम्पूर्ण वित्तीय समाधान एकै ठाउँबाट खोजिरहेको अवस्था छ । आर्थिक समृद्धि साथै जीवनयापनका सवै समस्या सहकारी माध्यममार्फत समाधानको खोजी भइरहेको परिप्रेच्छमा छोराछोरीलाई शिक्षा, स्वास्थ्य लगायतका सेवामा सहकारीको साथको अपेक्षा सदस्यहरुमा रहेको छ । फुलबारीले यसका लागि पनि समाधानको उपायहरु खोजि गरिरहेको व्यवस्थापक बैद्य बताउनुहुन्छ । तरपनि दुर्गम साथै विकट भएकोले प्रविधिमा फड्को मार्न चुनौती छ । सहकारीमा दक्ष जनशक्ति पाउन र टिकाइरान्न अर्को चुनौती छ । राज्यले सहकारीलाई हेर्ने दृष्टिकोणमा शंका छ । राज्यको सहकारी समन्धी कानुन बाझिएको अवस्थामा छ, यसले गर्दा सहकारीको दीगो संस्थागत बृद्धि विकासमा बाधा सृजना हुने प्रष्टै देखिन्छ । यसतर्फ सम्बन्धित पक्षको ध्यान जाओस् । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र