शुक्रबार, वैशाख २१
११:५८

टिनको बाकसबाट सुरु भएको मिलिजुली कालिञ्चोक साकोसको यात्रा

शनिबार, भदौ १२
रञ्जनमणि पौड्याल
saccosaawaj

काठमाडौं । सहकारीको उर्वर भूमि दोलखा ‘सहकारी नमूना जिल्ला’ का रुपमा परिचित छ । २०३४ सालमा सदरमुकाम चरिकोटमा ‘कालिञ्चोक साझा सहकारी संस्था लि.’ को नाममा जिल्लामा पहिलो सहकारी स्थापना भएको इतिहास छ । गौरीशंकर हिमालको काखमा हाल ५ सय बढी सहकारी संस्थाहरु छन् जसमध्ये करिब २ सय बचत तथा ऋण सहकारी छन् । तीमध्ये ३ वटा साकोस (बचत तथा ऋण सहकारी) एशियाली ऋण महासंघ (आकू) को प्राविधिक सहयोगमा नेफ्स्कूनले सञ्चालन गरेको गुणस्तर सुनिश्चिततासम्बन्धी अन्तर्राष्ट्रिय मान्यताप्राप्त एक्सेस ब्रान्डेड छन् । सहकारीमार्फत कारोबार, सदस्य, सेवा, रोजगारी, एकीकरण आदिका क्षेत्रमा दोलखा अब्बल मानिन्छ ।

यही सहकारीमय जिल्लाको ‘सहकारी स्थापना चरण’ (२०४८–२०५२) कै समयमा स्थापित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. (साबिकको मिलिजुली) आज जिल्लाको सहकारी विकासक्रम ‘परिस्कृत चरण’ (२०७१ यता) मा उक्लिदा आफु पनि परिस्कृत र परिमार्जित हुँदै २०७८ साल भदौं ७ गते २८ वर्षको अविच्छिन्न यात्रा पूरा गर्न सफल भएको छ । स्थापना तथा कारोबार सञ्चालन महिना मनाइरहेको मिलिजुली कालिञ्चोकको विगत, आगत र अवसर समेट्ने जमर्को  साकोस आवाजले गरेको छ ।

फलदायी त्यो सहकारी शिक्षा शिविर

‘संस्था दर्ता गर्न २०५० साल मंसिर १ गते तत्कालिन जिल्ला सहकारी कार्यालय धुलिखेल पुगेका थियौं तर केही कागजात अपुग भएकाले भोलिपल्ट मात्र दर्ता भयो,’ संस्थापक अध्यक्ष एवम् वर्तमान संरक्षक रामदास श्रेष्ठ इतिहास स्मरण गर्नुहुन्छ, ‘जिल्लामा २०५० साल अघि अरनिको यातायात तथा फ्रेन्डशीप गरी २ वटा मात्र बचत तथा ऋण सहकारी संस्था थिए । श्रेष्ठ सम्झिनुहुन्छ, ‘दुवै संस्थाको संयुक्त प्रयासमा सदरमुकाम चरिकोटमा २०५० भदौं ५ गते तत्कालिन जिविस हलमा सहकारी शिक्षा शिविर आयोजना गरिएको थियो । उक्त शिविरमा म लगायत थुप्रै साथीहरु थियौं । सहकारी अभियन्ता ऋषिराज घिमिरे प्रशिक्षक हुनुहुन्थ्यो । २ घन्टाको त्यो सहकारी शिक्षा एकदमै फलदायी र उत्प्रेरणामुलक भयो ।’

अरनिको यातायात तथा फ्रेन्डशिप साकोसका अध्यक्ष डिबी बस्नेत र गोकुलध्वज कार्कीको हौसलामा सहकारी शिक्षाको उत्प्रेरणा मिसिएपछि मिलिजुली स्थापनाको प्रारम्भिक खाका कोरिएको श्रेष्ठले सुनाउनुभयो । ‘भदौं ५ गते बेलुका नै हामी ५ जना सहभागीहरुको सल्लाहले सदरमुकाममा पनि बचत ऋण सहकारी स्थापनाको आवश्यकता महसूस गर्यो, ‘श्रेष्ठले भन्नुभयो, ‘त्यसको २ दिनपछि भदौं ७ गते मेरै अध्यक्षतामा ७ जनाको तदर्थ समिति गठन भयो ।’ संस्थाको नाम राख्ने विषयमा छलफल चल्दै जाँदा सबैले मिलिजुली गरेर खोल्ने निर्णय गरिएका कारण ‘मिलिजुली’ राख्ने उहाँको प्रस्तावमा सबै सहमत भएको बताउनुभयो । 

बिस्तारमा कठिनाई

स्थापनाको निर्णय गरेपनि सदस्य विस्तार गर्न कठिनाई थियो । कारण जिल्लामा ढुकुटी खेलेर आर्थिक अपचलनका घटना भएका थिए । धेरैले सहकारीको कुरा गर्दा ‘ढुकुटी जस्तै त होला नि’ भन्ने आशंका व्यक्त गर्थे । यद्यपि, जिल्लाका लब्धप्रतिष्ठित व्यक्तिहरुप्रतिको विश्वसनीयता र प्रतिबद्धतालाई सम्भावित सदस्यहरुले अस्विकार गर्न सकेनन् । यसरी करिब ३ महिनाको अथक प्रयासपछि २५ जना पुर्याएर २०५० साल मंसिर २ गते ‘मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि.’ दर्ता भयो । प्रारम्भिक साधारण सभा ६ महिनाभित्र गर्नुपर्ने कानुनी व्यवस्था अनुसार करिब ५० भन्दा माथिनै सदस्यहरुको सहभागितामा भएको वार्षिक भेलाले समाजसेवी श्रेष्ठलाई निर्विरोध अध्यक्ष चयन गर्यो ।

सम्पत्तिको नाममा टिनको बाकस; क्यालकुलेटर किन्न बाह्रविसे 

भिमेश्वरमा रहेको श्रेष्ठको मेडिकल हलको माथिल्लो तल्लामा उहाँकै सहयोगमा उपलब्ध कोठामा एउटा टिनको बाकसमा कागजात राखेर मिलिजुलीको सहकारी यात्रारम्भ भयो । सुरुमा मनोज श्रेष्ठ (हाल साकोसका कोषाध्यक्ष) ले स्वयंसेवीरुपमा बचत संकलन र हरहिसाब राख्ने काम गर्नुभएको थियो । पछि भदौंमा नेपाल बैंक लिमिटेडमा खाता खोलेर ५६०० रुपैयाँ राखिएको श्रेष्ठले सुनाउनुभयो । उहाँले नै साकोसलाई दराज पनि उपलब्ध गराउनुभएको थियो । असहज र कठिन सुरुवातले आजको सफलताको जग बसालेको थियो । श्रेष्ठ किस्सा सुनाउनुहुन्छ, ‘हिसाबकिताब गर्न आवश्यक क्याल्कुलेटर त्यसबेला चरिकोटमा पाउन मुस्किल भएपछि सिन्धुपाल्चोकको बाह्रविसे पुगेर किनी ल्याएका थियौ ।’ यसरी अघि बढेको साकोसमा प्रथम साधारण सभासम्मको अवधिमा सदस्य संख्या १ सय नाघिसकेको थियो । खासगरी बजार क्षेत्रका व्यापारी र उद्यमीहरुलाई लक्षित गरी करिब ३० जनाको समुह बनाएर दैनिक बचतको कार्यक्रम सुरु गरेपछि पुँजी र कारोबार बढेको उहाँले सुनाउनुभयो । 

संस्थामा प्रारम्भिक समयदेखि नै नियमित मासिक बचतको बानी सदस्यहरुमा बसेको थियो । त्यसको मुख्य कारण भएकासञ्चालक समितिले अधिकांश सदस्यहरुको विश्वास जितेको थियो । २०५७ सालदेखि ३ कार्यकाल जिल्ला बचत संघको अध्यक्ष र २०५४ सालबाट २०५९ सम्म भिमेश्वर नगरपालिका वडा नं १ का वडाअध्यक्ष रहेका कारण पनि साकोसलाई अघि बढाउन केही सहजता भएको उहाँ स्वीकार्नुहुन्छ ।आफ्नो कार्यकालको मुख्य उपलब्धि ‘संस्थाको निरन्तरता’ ठान्नुहुन्छ श्रेष्ठ । ‘मुख्य कुरा निरन्तरता नै हो । त्यही निरन्रताले आज संस्था सबल, दिगो, विश्वसनीय र प्रविधिमैत्री बनेको छ,’ उहाँ भन्नुहुन्छ, ‘हरेक काममा सञ्चालक समिति र व्यवस्थापनको खटाई थियो जसले अहिलेसम्म निरन्रता पाइरहेको छ ।’ अहिलेको सञ्चालक समिति र व्यवस्थापन समुह पनि खारिएको भन्दै संस्थाले कोभिड असरबाट सिर्जित चुनौतीहरुलाई एक भएर सदस्यको हित हुने गरी सामना गर्न सक्ने ल्याकत राख्ने दाबी श्रेष्ठ गर्नुहुन्छ ।

साकोसको वर्तमान अवस्था

साकोससँग आज करिब ३२ हजार (बालबचत कर्तासहित) सदस्य, १ अर्ब २५ करोड पुँजी र ९ करोड संस्थागत पुँजी छ । भिमेश्वर नगरपालिका–६ मुख्य कार्यालयसहित ८ वटा सेवा केन्द्रमा कार्यरत ४२ कर्मचारीमार्फत साकोसले सदस्यको माग र चाहना प्रतिविम्बित हुने गरी जिल्लाभर सेवा प्रवाह गरिरहेको छ । हाल भिमेश्वर नगरपालिका–६, चरिकोटमा भाडामा रहेको संस्थाको चरिकोट बीच बजारमा १ रोपनी ४ आना क्षेत्रफलमा ‘ए’ र ‘बी’ ब्लक गरी २ वटा भवन निर्माणाधीन छन् । ५ तल्ले ‘ए’ ब्लकको तेस्रो ढलान सकिएको छ भने ‘बी’ ब्लकमा जम्मा २ ढलान गरिने छ । भवन निर्माणका लागि ५ करोड ४४ लाखमा ठेक्का दिइएको हो । साकोसले पारदर्शिताका लागि नगरपालिकाको वेब पोर्टल प्रयोग गरी इबिडिङमार्फत टेन्डर आव्हान गरेको थियो । ठेक्का प्रापकले २०७९ असार मसान्त भित्र निर्माण सम्पन्न गरी साकोसलाई हस्तान्तरण गर्ने सम्झौता भएको छ । यसबाहेक, साकोससँग कालिञ्चोक गाउँपालिका २ मा एकीकरणको माध्यमबाट प्राप्त  २ कित्ता घडेरी समेत रहेको छ । त्यसघि २०५९ सालमा भिमेश्वर नगरपालिका–६ मा बजार भन्दा केही माथि आफ्नै भवन थियो । सुरुमा ३ तल्ले भवनमा २०६७ सालमा ३ तल्ला थपिएको थियो । संस्थाको विस्तारसँगै राम्रो तथा फराकिलो स्थानमा सर्न साकोसले उक्त भवन २०७२ सालमा बिक्री गरेको थियो ।

सफलताका स्वादहरु 

एक्सेस् सिल्भर ब्रान्ड प्राप्त साकोसले आन्तरिक राजश्व कार्यालयबाट ३ पटक उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ । यसैगरी, नेफ्स्कूनबाट नेपाल उत्कृष्ट साकोस, नेफ्स्कून संस्थापक अध्यक्ष पुरस्कार, नेपाल उत्कृष्ट सञ्चालक, नेपाल उत्कृष्ट ब्यवस्थापक, एकीकरणमा नेपाल उत्कृष्ट जस्ता सम्मान पाएको छ भने राष्ट्रिय सहकारी बैंक लि. बाट मध्यमाञ्चल उत्कृष्ट संस्था हुन सफल भएको छ । यस्तै, लैङगिक रुपले पनि साकोस महिला मैत्री छ ।

सञ्चालक समितिमा करिब ३३ प्रतिशत, व्यवस्थापनमा ६५ प्रतिशत र सदस्यमा ५४ प्रतिशत महिला सहभागिता छ । जिल्लाभर ७२ प्रतिशत जनसंख्या सहकारीमा आबद्ध गराउने सफलताको श्रेयको भागिदार मिलिजुली कालिञ्चोक साकोस पनि हो । यस्तै सहकारी एकीकरणमा पनि संस्थाले ठूलो सफलता प्राप्त गरेको छ । २०७६ साल असारमा साकोसले जिल्लाकै पहिलो सहकारी कालिञ्चोक सहकारीसँग एकीकरण सम्झौता गरेको थियो भने २०७७ सालमा अन्य ११ सहकारीसँग पनि एकता गरेको थियो । संस्थाले विगत देखि नै सामाजिक उत्तरदायित्वका विविध कार्यक्रमहरु गर्दै समुदायमा छाप छोड्दै आएको छ ।

संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठ साकोसको गर्विलो इतिहास, अगुवाहरुको योगदान, व्यवस्थापन समूहको लगाव र सदस्यहरुको सद्भावका कारण संस्थाले सेवा, सम्पत्ति र सम्मान प्राप्त गरेको बताउनुहुन्छ । साहुको चर्को व्याजबाट आर्थिक रुपमा विपन्न, पिधँमा रहेका पहुँचविहीन वर्ग र समुदायलाई बचतको बानी विकास गराउँदै उनीहरुको व्यवहार उकास्न अर्थोपार्जनका सम्भावनाहरु खोज्न सिकाएको संस्थाले करिब ३ दशकको यात्रामा सदस्य र समुदाय हित खातिर महत्वपूर्ण कामहरु गरेको बताउँदै थप उचाई प्रदान गर्ने दायित्वबोध सञ्चालक समितिले गरेको प्रष्ट पार्नुहुन्छ ।

२०५४ सालमा सेयर सदस्यका रुपमा मिलिजुली प्रवेश गरी, सञ्चालक, २ कार्यकाल निर्वाचित उपाध्यक्ष हुँदै दोस्रो कार्यकाल अध्यक्ष (पहिलो निर्वाचित, दोस्रो निर्विरोध) निर्वाचित श्रेष्ठ संस्थाको जग बसाउन प्रेरणा दिने ऋषिराज घिमिरे, यज्ञराज ढुङ्गेल, डिबी बस्नेत, गोकुलध्वज कार्की, रामदास श्रेष्ठ लगायतको योगदानको खुलेर प्रशंसा गर्नुहुन्छ, ‘उहाँहरुकै प्रेरणाका कारण संस्थाले आरोह अवरोह पार गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरेको छ । इतिहासको उच्च मुल्याङ्कन गर्दै हामी अघि बढिरहेका छौं ।’ रामदास श्रेष्ठपछि गंगासागर श्रेष्ठ र कृष्ण बहादुर दाहाल हुँदै श्रेष्ठ अध्यक्ष बन्नुभएको हो ।

हालको सञ्चालक समिति तुलनात्मक रुपमा युवा, उर्जाशील र समावेशी रहेको भन्दै अध्यक्ष श्रेष्ठ प्रचुर सम्भावना दृष्टिगोचर गर्नुहुन्छ । ‘कोभिडको चुनौती थपिएसँगै अवसरहरु पनि सृजना भएका छन्,’ उहाँ भन्नुहुन्छ, ‘सहकारीमा युवा सहभागिता कम रहेको गुनासो बीच मिलिजुलीले युवा सदस्यहरुमार्फत अन्य उमेर समुहका सदस्यहरुलाई पनि प्रविधिसँग अभ्यस्त बनाउने योजना अघि सारेको छ ।’ उहाँले अगाडि भन्नुभयो, ‘युवा सदस्यले घरका सबैजनालाई प्रविधि प्रयोगमा सहजीकरण गर्ने भएकाले साकोसमा हाल कायम युवा सदस्यहरु र नयाँ युवा सदस्यहरु बनाएर उनीहरुमार्फत सबै सदस्यहरुलाई संस्थाले प्रदान गर्ने प्रविधिमैत्री सेवाहरुको उपयोग बढाउने योजना कार्यान्वयनमा छ ।’ यस विषयमा सञ्चालक समिति र उपसमितिलाई पनि तालिम र शिक्षा दिदैं लगेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । आर्थिक वर्षान्तको मात्र  नजिकतिर मात्र नभई मासिक रुपमै भाखा नाघेको ऋणको व्यवस्थापनलाई पनि प्राथमिकता राखेर काम गरिएको उहाँ बताउनुहुन्छ ।

व्यवस्थापनको विश्वास

साकोसका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपाने २०७५ असारमा नेफ्स्कूनको प्राविधिक सहयोगमा निर्माण गरिएको पछिल्लो रणनीतिक योजना (आ.ब. २०७५/०७६ देखी २०७८/०७९) ले लिएका लक्ष्यहरु अनुरुप साकोस अघि बढिरहेको बताउनुहुन्छ । कोभिडले केही असहजता भएपनि वास्तविकताको धरातलमा रणनीतिक योजना तर्जुमा गरिएकोले लक्ष्यहरु पूरा हुने भन्दै तालिम प्राप्त र दक्ष व्यवस्थापन समूह मुस्कानसहितको प्रविधिमैत्री सेवा दिन कटिबद्ध भएको दाबी गर्नुहुन्छ ।

 

२०६५ साउन १ गतेदेखि मिलिजुली कालिञ्चोकको व्यवस्थापक र २०७४ सालबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा १३ वर्षको लामो अनुभव सगाल्नुभएका न्यौपाने कोभिडको कहरका बाबजूद प्रविधि प्रयोगमार्फत सेयर सदस्यहरुलाई वित्तीय, स्वास्थ्य, कानुनी र प्राविधिक शिक्षा प्रवाहको कार्यक्रमलाई साकोसले अघि बढाएको उहाँले उल्लेख गर्नुभयो । ‘त्यसका लागि पहिलो चरणमा ३ हजार सेयर सदस्यलाई तालिम दिने लक्ष्य छ,’ सिईओ न्यौपानेले भन्नुभयो, ‘अब क्यासलेस र पेपरलेसको बाटोमा संस्था अघि बढेको छ ।’ 

साकोसले हाल मोबाइल बैंकिङसँगै एटीएम सेवा, ग्रामीण भेगमा विप्रेषण सुविधा उपलब्ध गराएको छ । मोवाईल बैंकिङ सेवा बाट संस्थामा भएको नगद बिभिन्न बैंक तथा वित्तीय संस्थामा र बैंक तथा वित्तीय सेवामा भएको नगद संस्थामा सजिलै पठाउन मिल्ने सुविधा छ । संस्थामा सुशासनको तह मापन गर्ने (सियुलेग) लागु गरिएको भन्दै सिईओ न्यौपानेले त्यसको प्रभावकारी कार्यान्वयनका लागि सुशासन उपसमिति निर्माण गरिएको जानकारी गराउनुभयो । यी आधुनिक सुविधाका कारण सदस्यहरुको ध्यान खिच्न संस्था सफल भएको र कारोबार समेत बृद्धि भएको उहाँको भनाई छ  । सञ्चालक समिति र कर्मचारीहरुको स्वमुल्यांकन र पियर इभ्यालुएसनको परम्परालाई पनि उहाँ संस्थाको बिशेषता भन्न रुचाउनुहुन्छ ।

सञ्चालक समिति र व्यवस्थापनबीच नङ र मासुको जस्तो अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै सिईओ न्यौपाने नीति तथा कार्यविधि निर्माणमा ब्यवस्थापनले सञ्चालकलाई तथा तिनको कार्यान्वयनमा सञ्चालक समितिले ब्यवस्थापनलाई कुनै पनि हस्तक्षेप नगर्ने परम्परा बसेको दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कर्मचारीहरुको गुनासोहरु प्रमुख कार्यकारी अधिकृत मार्फत् मात्र सञ्चालक समितिमा जान्छ भने सञ्चालक समितिको निर्णय प्रवाह प्रमुख कार्यकारी अधिकृत मार्फत् मात्रै अन्य कर्मचारीमा जाने ब्यवस्था छ । साकोस भित्र कुनै प्रकारले श्रृङ्खला  मिच्ने कार्य हुदैन, जसको कारण प्रभावकारी कार्य हुँदै आएको छ ।’

यसैगरी, कर्मचारी उत्प्रेरणाका लागि श्रम ऐन २०७४ को परिधिभित्र रहेर समयसापेक्ष सेवासुविधा, समुह कार्यलाई उच्च प्राथमिकता, आवश्यकता अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम तथा गोष्ठीमा सहभागिता, ‘राईट म्यान, राईट प्लेस’ को अवधारणा बमोजिम कार्य बिबरण उपलब्ध गराई उचित कार्यको जिम्मेवारी, बार्षिक रुपमा कर्मचारी सन्तुष्टि परिक्षण, श्रम अडिट, उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार जस्ता प्रथा स्थापित गरिएकोले  संस्थागत विकास सम्भव भएको व्यवस्थापन प्रमुख न्यौपाने बताउनुहुन्छ । न्यौपाने अघि संस्थामा जगतनारायण श्रेष्ठ र श्याम गौतमले व्यवस्थापकीय बागडोर सम्हाल्नुभएको थियो ।

सफलताको कामना

जिल्लाका ९ स्थानीय तहमध्ये सबैभन्दा बढी सहकारी र साकोसहरु भएको भिमेश्वर नगरपालिका अवस्थित साकोसले समयक्रम सँगै जन्मिने पृथक चुनौतीहरुलाई चिर्दै अवसरहरु सृजना गर्न युवा सहभागिता, प्रविधि र उद्यमशिलतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने हुन्छ । मिलिजुली कालिञ्चोक साकोसको भावी सफलताको कामना ।

 

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र