सहकारीमा क्षेत्रमा काम गर्ने कुनै योजना विना नै २०७४ बैशाखबाट दोलखा जिल्ला मेलुङ् गाउँपालिका १ मा हाम्रो सुर्योदय बचत तथा ऋण सहकारी संस्था लि.मा बचत प्रमुखको जिम्मेवारी लिई सहकारीकर्मीको रुपमा काम सुरु गरेँ । सहकारीसम्बन्धी कुनै ज्ञान बिना नै काम सुरु गरेँ । शुरुवातमा केही समयमात्र सहकारीमा काम गर्छु भन्ने सोच थियो । खासमा अन्यत्र उचित बिकल्प नहुँदासम्म मात्र काम गर्ने सोच थियो । ‘सहकारीमा भविष्य सुरक्षित छ र ?’ भन्ने आशंकाको अंश मनमा थियो । मेरो आशंकामा मलजल गर्ने काम नातागोता छरछिमेकहरुले पनि गरेका थिए । कतिपयले त मलाई व्यक्तिगत भेटमा ‘सहकारीमा काम गरी भबिष्य नबिगार्नुस’ भनेर पनि सुझाब दिनुभयो । मलाई पनि सुरुवातमा त हो जस्तै लाग्थ्यो तर सहकारी मा काम गरेको केही समयमा नै यससम्बन्धी बुझाई पनि फराकिलो हुँदै गयो ।
सहकारीमा काम गर्दा आनन्दानुभूति हुन थाल्यो । सदस्यहरुबाट पनि अगाध माया अनि सद्भाव पाएँ । सदस्यहरुसँगको निकटम सम्बन्धले काम गर्ने उर्जा पाएँ तर पनि आफुमा सहकारीको दरिलो सैद्धान्तिक र प्रयोगात्मक अनुभवको कमी खट्किरहन्थ्यो । सहकारीसम्बन्धी राम्रो तालिम वा औपचारिक अध्ययन गर्ने कोर्ष भैदिए हुन्थ्यो भन्ने सधै लागिरहन्थ्यो । आफुमा कमजोरी हुँदाहुँदै पनि सहकारीमा नै काम गर्ने मन बढेर गयो वा भनौं सहकारीमा रस बस्यो ।
‘जहाँ समस्या त्यहाँ उपाय’ भने झैं नेफ्स्कून चरीकोटमा सोही समयमा सोबिता मैनाली म्याड्मबाट आफ्ना कमजोरीहरु सुधार्ने गतिलो अवसर पाएँ । उहाँबाट धेरै कुरा सिकेँ । २०७५ श्रावण देखि नै कार्यालय प्रमुखको जिम्मेवारी पाइसकेकी थिएँ । यद्यपि, आफु सबै आवश्यक कुराहरुमा अब्बल हुन नसकेको लागिरहेको थियो । विभिन्न सहकारी सम्बन्धी लेखहरु पढ्ने गरिरहन्थे यस्तै क्रमम २०७५ भाद्र ६ गते नेफ्स्कून कार्यालयले कार्यशाला गोष्ठी आयोजना गरेका थियो । त्यही दिन प्रमुख अतिथि डीबी बस्नेत सरले सहकारीमा दक्ष व्यबस्थापक उत्पादनका लागि सहकारी व्यबस्थापक कोर्षको पढाई हुने जानकारी गराउनुभयो । म कार्यरत संस्थाको कोषाध्यक्ष कपिलमणी न्यौपाने पनि उक्त गोष्ठीमा सहभागी हुनुहुन्थ्यो । न्यौपाने सरले ‘तपाइले यो बिषय अध्ययन गर्नुपर्छ भनी हौसला दिनुभयो । र म आफैलाई पनि यो बिषयले तान्यो । त्यसबेलादेखि नै आफु हिड्ने बाटो सुनिश्चित गरेँ र सहकारी व्यबस्थापक कोर्ष कहिले सुरु हुन्छ भनेर अद्यावधिक भइरहेँ ।
लामो प्रतिक्षाको अन्त्य गदै वि.स.२०७७ जेठ २६ गते बाट भर्ना सम्बन्धी पहिलोपटक सूचना प्रकाशित भयो । म खुसी भएँ तर सिट संख्याले मन खिन्न बनायो । विज्ञापनमा सीट संख्या २० जना मात्र भनेर प्रष्ट खुलााइएको थियो । नेपालभरबाट २० जनामा आफु पर्छु कि पर्दिन भन्ने आशंकाले जन्म लियो । तर अनलाइन फर्म भर्न मिल्ने सहजताका कारण भरेँ । अर्को महिना प्रवेश परिक्षाको सूचना जारी भयो । परिक्षा काठमाडौमा बसाइ दोलखा हुँदा समस्या थियो । कोभिडका कारण सहजै काठमाडौ जान र फर्किन सजिलो थिएन । हिडडुलमा प्रतिबन्ध थियो । परिक्षा दिन सकिदैन भन्ने भयो । लामो प्रतिक्षा गरेको विषय पढ्न नपाइने भयो भन्ने पिर भयो र अन्तिम समय सम्म बिकल्प खोजी रहेँ । अन्ततः समस्याले समाधान पनि ल्यायो । अन्तिम समयमा थाहा भयो प्रत्येक जिल्लामा बस परिवर्तन गरि काठमाडौ जान सकिने रैछ र त्यसैगरी भएपनि परिक्षा दिन जाने निधो गरेँ । ७ वटा गाडी परिवर्तन गरि काठमाडौ पुगेँ ।
परिक्षा पनि दिइयो । कोरोना प्रभाबले गर्दा सबै परिक्षार्थीलाई एकैपटक परिक्षा लिन नसकिने कारण दुई सिफ्टमा परिक्षा संचालन भयो । अब नतिजाको व्यग्र प्रतिक्षा रह्यो । नतिजा पनि राम्रै आयो र लगभग १९ महिनाको प्रतिक्षा सकियो । २० जनामा समावेश भएँ । खुसी लाग्यो । कोभिड १९ को चपेटाले गर्दा भौतिक रुपमा उपस्थित भै कक्षा संचालन गर्न कठिनाई थियो र कक्षा अभौतिक (भर्चुअल) संचालन हुन्छ भन्ने जानकारी तालिम विभागका बरिष्ठ सहायक खिलानाथ सरले फोन मार्फत जानकारी दिनुभयो । मेरा लागि उक्त विधि सहयोगी नै थियो किनकि काठमाडौं गएर पढ्न जागिर तिलाञ्जली दिनुपर्दथ्यो ।
२०७७ भाद्र २१ गते देखि औपचारिक कक्षा सुरु भयो । कक्षा संचालन भए पश्चात निकै उत्साहका साथ पढ्न थालेँ । रहरले जागँर उमार्दो रहेछ । सरहरुले पनि निकै सहयोग र सदभावपूर्ण सिकाइ गराउनुभयो । सिकाइ शीर्षक र विषय अनुसार विज्ञहरु बोलाएर कक्षा लिएका कारण विविधताको रसास्वादन पनि गर्न पाइयो ।
सैद्धान्तिकसँगै प्रयोगात्मक र व्यावहारिक सिकाइ पनि भएकाले २० जान प्रशिक्षाथीलाई नै भिन्न भिन्नै सहकारीमा ओजेटी (अन द जब ट्रेनिङ) का लागी पठाइयो । मलाई कोटेश्वर पेप्सीकोलास्थित पाचँतारा साकोस पठाइयो । त्यहाँबाट उक्त संस्थाको काम कारबाहीसम्बन्धी हामीलाई आवश्यक सबै जानकारी उपलब्ध गराइयो । केही समय त सहजै भयो तर हामी पनी आफै सहकारीमा कार्यरत भएकोले केही समस्या उत्पन्न भयो । आफु कार्यरत कार्यालयलाई पनि समय दिनुपर्ने र अर्को संस्थामा पनि पर्याप्त समय दिन नसक्ने समस्या सबै प्रशिक्षाथिहरुमा देखिएपश्चात समस्या समाधान गराउँदै प्राचार्य गणेश तिमल्सिना सरले आफु कार्यरत संस्थाको नै आबश्यक डाटा राखी असाइनमेन्ट गर्न अनुमति दिनुभयो । त्यसपछि आफै कार्यरत संस्थामा नै समय दिन सकियो । व्यावहारिक र प्रयोगात्मक सिकाइको लागि पनि आफै कार्यरत कार्यालयमा समय दिए पनि आबश्यकता अनुसार समय समयमा भौतिक रुपमा नै उपस्थित भै कक्षा संचालन भयो । यस्तो प्रक्रियाले सिकाइमा अझ सहयोग गरेको थियो ।
यस्तै गरी समय बित्दै गयो । कक्षाहरु सञ्चालन भैरहे । उत्सुकताको साथ पढ्यौ र व्यवहारमा पनि उतार्यौ । कोभिडको प्रभाब कम भएपछि चैत्र १ गते देखी भौतिक कक्षा संचालन भयो । सबै साथीहरु काठमाडौमा नै कार्यरत रहेकाले सहज भयो तर म मात्र बाहिरकी भएकाले मैले जसरी पनी समय मिलाउनुपर्ने भयो । मैले बेतलबी बिदा लिई कोर्ष पूरा गर्ने र पुनः कार्यालयमै काम गर्ने दृढ निश्चय गरेकी थिएँ तर कार्यालयबाट समय उपलब्ध नभएपछि काम छोडेर बाँकी कोर्ष पूरा गरेँ । बाँकी प्रयोगात्मक कक्षाहरु पाँचतारा साकोसमा गएर पूरा गरेँ ।
भौतिक कक्षा लिदाँ नेफ्स्कूनकै सरले प्रयोगात्मक सिकाइको काम पूरा गर्न समय दिनुभएको थियो । हामी यो विषय नेफ्स्कूनमा आधिकारिक व्यक्तिलाई जानकारी नगराई भोलिपल्टबाट काममा लाग्यौ तर अर्को दिन बिहान प्रचार्य गणेश तिमल्सिना सर कक्षा लिन पुग्दा कोही नभेटेपछि अलि रिसाउनुभयो । यो एक नबिर्सने अनुभव पनि रह्यो ।
६०० घन्टाको सहकारी ब्यबस्थापक कोर्षलाई हामीले २०७७ चैत्र को अन्तिम दिन सैद्धान्तिक सिकाइबाट बीट मार्यौं । बैशाख महिनाभरमा प्रयोगात्मक सिकाइ सकाएर जेठ महिनामा परिक्षा दिने योजानाको साथ हामी बिदा भयौ । कोभिड १९ को प्रभाबले योजना अनुसार परिक्षा हुन सकेन । लकडाउन भयो र केअी समयको पर्खाइ पश्चात अभौतिक परिक्षा हुने जानकारी गराइयो । असार २० गते परिक्षा सम्पन्न भयो । यो कोर्ष पूरा गर्ने अवधि सम्म गणेश सरले धेरै नै सहयोग र उत्प्रेरणा दिइरहनुभयो ।