हरिचन्द्र प्रजापती
युवा उद्यमी
जोजोलपा सेरामिक उद्योग, भक्तपुर
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण उद्योगधन्दा सञ्चालनमा कठिनाइ भएको छ । भक्तुपरस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाका युवा सदस्य हरिचन्द्र प्रजापति भन्नुहुन्छ, “पहिलो बर्षको कोरोना माहामारीबाट थलिएको मेरो उद्योग सामान्य अवस्थामा फर्कन नपाउँदै दोस्रो माहामारीको चपेटामा परेको छ ।”
बच्चा बेलादेखि बाबु बाजेको कामको सिको गर्दै उद्यमी बन्नुभएका युवा उद्यमी हरिचन्द प्रजापतीले भक्तपुरस्थित आफ्नै घरमा जोजोलपा सेरामिक उद्योग सञ्चालनमा ल्याउनुभएको आज १२ बर्ष पुगेको छ । शुरुमा सहकारीबाट लिएको ससानो ऋण लगानीबाट उद्योगको शुरुवात गर्नुभएको थियो । उद्योगमा लगानी बढाएसँगै ५० लाखको पुँजी पुगेको छ भने बैंकको ऋण पनि उत्तिकै मात्रामा थपिएको छ ।
जोखिम मोलेरै भएपनि व्यवसाय बिस्तारलाई महत्व दिनुभएका युवा उद्यमी प्रजापतीलाई विश्वव्यापी कोरोना महामारी उद्योग सञ्चालनमा ठूलै कहर बनेर आएको छ ।
उद्योग व्यवसाय भन्ने वित्तिकै धेरै जनालाई ठूलो लगानी, विशिष्टिकृत ज्ञार र जोखिम मोल्न सक्ने क्षमता आवश्यक पर्छ भन्ने लाग्छ नै । पछिल्लो समय युवा जमात धेरैमा केही उद्योग व्यवसाय गर्नुपर्ला भन्ने सहज मौखिक अभिव्यक्ति र सहज आंकलन गरेको सुन्ने पनि गरिन्छ । तर उद्योग अर्थात उद्यम भन्ने कुरा भनेजति सहज र सरल पनि छैन । तर भक्तपुर निवासी युवा उद्यमी हरिचन्द्र प्रजापतिले भने बाबु बाजेको पुर्ख्यौली व्यवसायलाई नै उद्योगमा रुपान्तरण गरेको देख्दा लाग्छ, युवा मा नयाँ कार्यशैली, सीप र जाँगर छ नै । हरिचन्द्र १४ बर्षको उमेरदेखि आफ्ना बुबा हरिबहादुर प्रजापतीले गर्दै आएनुभएको सेरामिकका सामग्री निर्माण गर्ने र स्थानीय बजारमा विक्रि वितरण गर्ने काममा बुबालाई सघाउनुभयो । स्थानीय आवश्यकता र मागको संख्या दिनानुदिन बढ्दै गरेको र आफ्नो उमेर पनि पाक्दै गएसँगै सोही व्यवसाय निरन्तरता सँगै विस्तार गर्ने योजना बनाउँदै जानुभयो । उहाँले २८ बर्षको उमेरमा पारिवारिक व्यवसायलाई उद्योगमा विस्तार गर्ने सोच सहित २०६६ सालमा भक्तपुर घरेलु उद्योगबाट जोजोलपा सेरामिक उद्योग दर्ता गराउनुभयो ।
उहाँको बुबा ६३ बर्षको हुनुहुन्छ । हिजो घर चलाउने, बच्चाबच्ची पाल्ने पढाउने वेलामा उहाँको यही पेशा बरदान सावित भयो । आज पनि उहाँ उत्तिकै क्रियाशिल र जुझारु युवा जस्तै जोसका साथ काम गर्नुहुन्छ । तर फरक यत्ति मात्र हो कि अहिले उद्योगको मालिक छोरा बनेको छ । उहाँलाई छोराले पुर्ख्यौली पेशा अंगालेको र उद्योगकै रुपमा विस्तार गरेको देख्दा औधि खुशी लाग्छ । त्यतिमात्र होइन परिवारका अन्य सदस्यहरु पनि एकाघर एक व्यवसायमा लाग्दा रमाइलो भएको र काम पनि प्रभावकारी भएको उहाँ बताउनुहुन्छ । आमा कृष्णनानी प्रजापती पनि छोराले ठूलो काम थालनी गरेको र सबै छोरा बुहारी एउटै काम मिलेर गरेको देख्दा रमाइलो मान्नुहुन्छ ।
२०६६ सालमा युवा उद्यमी प्रजापतिले उद्योग दर्ता गर्नुभयो । यसै समयमा भक्तपुर स्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाले युवा स्वरोजगार कोषद्वारा प्रबद्र्धित रकमबाट रु. २ लाख सहयोग गर्यो । शुरुवाती अवस्थामा सहकारीबाट प्राप्त भएको रकमले उद्योग विस्तार गर्न सहयोग पुगेको उद्यमी हरिचन्द्र बताउनुहुन्छ । उद्योग विस्तार भएसँगै लगानी पनि बढेको छ । सामग्री निर्माणका लागि कच्चा पदार्थ (सेरामिक माटो), ठूलो भोल्टेजको विद्युत लाइन, सेरामिक माटो पकाउने चुल्हो, मेसिनहरु, विभिन्न आकार र साइजका फ्रेमहरुका लागि लागनी ठूलो छ । अहिले उद्योगमा करिब ५० लाखको लगानी छ । भक्तपुर स्थित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाबाट १४.५ प्रतिशत व्याजमा ३० लाख ऋण छ । उहाँ भन्नुहुन्छ, “ऋणको किस्ता र व्याज नियमित बुझाएको छु तर व्याज महङ्गो हुँदा निकै गाह्रो परेको छ ।” सहकारीबाट उद्योग सञ्चालनका लागि सस्तो व्याजदरमा ऋण पाउन सके केही माथि उठ्न सकिन्थ्योकी भन्ने लाग्छ, अहिले उद्योगबाट कमाएर ऋणको किस्ता व्याज बुभाmउन मात्रै ठिक्क हुने गरेको छ । परिवारै यही व्यवसायमा छौं, यसैबाट राम्रो गर्नुपर्ने बाध्यता छ । सपरिवारको आशा भरोसा नै यही उद्योग हो । उहाँ भन्नुहुन्छ, “घरको ८ जना यसै व्यवसायमा दिनभर खट्छौं भने बाहिरबाट पनि ८/१० जना कामदार राखेका छौं । तर के गर्नु पटक पटकको कोरोना महामारी र सरकारले जारी गर्ने लकडाउनबाट आर्थिक भार थपिएको थपियै छ ।”
उहाँले भन्नुभयो, “कोभिडको बेला करिब १ बर्ष जस्तै उद्योग सञ्चालनमा निकै समस्या भोग्नुपर्यो । नयाँ सामग्रीहरु बनाउन सकिएन । अर्डरको सामान पनि त्यतिकै रह्यो नयाँ अर्डर आउने त कुरै भएन । ऋणको व्याज र किस्ता बुझाउनै समस्या भयो ।” यसपालीको महामारीले त झनै चौपट बनायो । पुरै दुई महिना थुनिएरै बस्नुपर्यो । सामानको अर्डर शून्य भयो । अझै पनि निकै डर छ । आवत जावत सहज नभएसम्म मानिसहरु व्यापार व्यवसायका लागि डराएकै छन् । सामान स्टक मा छ तर कहिले कट्ने हो, पत्तो छैन ।
लकडाउनका समयमा उद्योगबाट गमलाको विक्रि भने राम्रो रह्यो । उहाँले भन्नुभयो, “कोरोना माहामारीले गर्दा मानिसहरुले फुर्सदको समयमा घरसजावटका लागि फुल अर्थात अक्सिजन दिने इनडोर प्लान्टहरु रोपेकाले गमलाको माग बढ्यो । टाढाको भन्दा पनि नजिककै ग्राहकहरुमा गमला धेरै कट्यो ।”
कोरोना माहामारि भित्र्नुभन्दा पहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय माग बढ्दो थियो । काठमाडौंको कुपण्डोल, लाजिम्पाट मा रहेको ढुकुटी मार्फत पनि सामानको अर्डर आउँथ्यो । प्राय गरेर नेपालका मुख्य मुख्य शहरहरु र अन्तर्राष्ट्रिय स्तरमा जर्मन, स्वीजरल्याण्ड बाट माग आइरहेको थियो । तर पहिलो लकडाउनबाटै थलिएका हामी यो दोस्रो चरणको लकडाउन पछि कसरी उठ्ने हो भन्ने पत्तो छैन । उहाँ भन्नुहुन्छ, “महामारीका कारण उद्योग क्षेत्रमा परेको प्रभावलाई सरकारले हेरेर केही राहत दिएपनि बाँचिन्थ्यो की भन्ने लाग्छ । तर खै कस्ले सुन्ला र हाम्रो दुख ।”
उद्योगमा माग बमोजिम सेरामिकका सबै प्रकारका सामग्रीहरु तयार हुन्छन् । विशेष गरी तन्दुरी घ्याम्पो, गमला, सेन्ट पट, धुपदानी, विभिन्न प्रकारका मुर्तिहरु, घर सजावटमा प्रयोग हुने कछुवा, खरायो, परेवा, हाँस लगायतका जीवजन्तु र पंक्षिहरु बनाएर स्टक राखिएको छ, उहाँ भन्नुहुन्छ कुनै दिन सहज भयो भने माग आउला भन्ने विश्वास छ ।
हुनत भक्तपुरमा सेरामिक उद्योगहरु अरु पनि छन् । तर व्यावसायिक हिसावले राष्ट्रिय अन्तर्राष्ट्रिय माग धान्न सक्ने व्यवस्थित उद्योग भने जोजोलपा सेरामिक उद्योग मात्रै हो । पछिल्लो समय माग बढेसँगै उद्योगमा लगानी पनि विस्तार भएको छ, तर उद्योग सञ्चालनका लागि कुनै पनि बैंक वित्तीय संस्थाबाट सहुलियतपूर्ण कर्जा नपाउँदा समस्या भएको उद्योगी प्रजापति बताउनुहुन्छ ।
केही बर्ष पहिला अर्का उद्यमी राजकाजी प्रजापतिले पनि सहयोगी बचत तथा ऋण सहकारी संस्थाबाट ३ जनाको समूह मार्फत ३ लाख ऋण लिएर सेरामिक उद्योग सञ्चालन गर्नुभएको थियो । ३० बर्षे युवा राजकाजी प्रजापती साथीहरुको सहयोगमा करिब ३/४ बर्ष उद्योग सञ्चालन गर्नुभयो । सहकारीबाट लिएको किस्ता, व्याज पनि सबै चुक्ता गर्नुभयो । अहिले उहाँ पनि व्यवसाय विस्तारको योजना सहित सहुलियतपूर्ण कर्जाको खोजिमा हुनुहुन्छ ।