शनिबार, वैशाख ८
०९:२८

सहकारी ऐनमा नियन्त्रणका व्यवस्थाहरु बढी र प्रवर्द्धन पक्षहरु ओझेलमा पर्यो

आईतबार, जेठ २
रञ्जनमणि पौड्याल
saccosaawaj
(२०५१ सालबाट सुरु भएको चन्द्रबहादुर ठकुरीको सहकारी यात्रा अझै अविश्रामित छ । करिब २८ वर्षको सरकारी सेवामध्ये १९ वर्ष बढी उहाँ सहकारी क्षेत्रसँग प्रत्यक्ष जोडिनुभयो । जिल्ला सहकारी कार्यालयहरुमा सहकारी अधिकृत, केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रको सहकारी प्रशिक्षक, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयहरुको प्राचार्य र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा उपसचिव भएर ठकुरीले काम गर्नुभयो । नेपालीमा स्नातकोत्तर, M.A. (Eng),  M.Ed. (Eng) र अर्थशास्त्रमा स्नातक उहाँ आधा दर्जन बढी सहकारीसम्बन्धी पुस्तकका स्रष्टा समेत हुनुहुन्छ । कुशल सहकारी प्रशिक्षक ठकुरी सहकारी चिन्तक र अध्येता हुनुहुन्छ । सहकारीमा अध्ययन अनुसन्धानको आवश्यकतामा उहाँको बिशेष जोड छ । सहकारीप्रेमी बौद्धिक व्यक्तित्व ठकुरीसँग धेरै सहकारी र थोरै निजी जिवनका बारेमा गरिएको इमेल अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छः)


आजभोली के गर्दै हुनुहुन्छ ?
अवकाश जीवन बिताउँंदै छु । सहकारी अभियानका मित्रहरुले मसँग भएका ज्ञान र सीपलाई सहकारी क्षेत्रको विकासमा उपयोग गर्न प्रशिक्षण, परामर्श र योजना दस्तावेज बनाउन बोलाउनुहुन्छ । त्यसमा समय दिन्छु । फुर्सदमा सहकारी बिषयमा लेख्ने, सहकारीसम्बन्धी पुस्तकहरु परिमार्जन गर्ने गरेको छु । ती काम बाहेक सहकारी, अर्थशास्त्र, ब्यवस्थापन, उत्प्रेरणा जगाउने पुस्तकहरु अध्ययन गर्छु । अभियानले निमन्त्रणा गरेका बेला गोष्ठी सेमिनारमा सहभागी हुने मौका छुटाएको छैन ।

सहकारीसँग कसरी र कहिले जोडिनुभयो ?
२०२३ सालतिर धर्मभकारीको लागि जमीनको क्षेत्रफल (माटो मुरी, पाथी, माना, चिम्टी) अनुसार अन्न संकलन गरेर मावली घरमा राखिन्थ्यो र अनिकाल लागेका बेला अन्न ऋण दिने र बाली पाकेपछि ब्याज सहित बाली फिर्ता गर्ने चलन देखेको थिएँ । तर सहकारीको स पनि थाह थिएन । कृषि विकास बैंकको सेवामा छँदा साझा संस्थालाई ऋण लगानी गर्ने र असूली गर्ने कार्य गरिन्थ्यो । खास गरी हिरमिनियाका तरकारी किसान, बाँके जिल्लाको खजुरा र बर्दिया जिल्लाको सितापुर जमुनीका कपास उत्पादक किसान, चन्द्रनगरको साना किसान विकास आयोजनामा कार्य गर्दा सहकारीका कर्मचारीहरु र समितिका ब्यक्तिहरुसँग कारोबारकै क्रममा चिनापर्ची भयो । जागिरको दौरान परिवार नेपालगन्ज बसोवास गर्ने र म नेपालका बिभिन्न जिल्ला जानु पर्दा पारिवारिक कठिनाई महसूस भयो । यसै क्रममा बाँके जिल्ला सहकारी कार्यालयमा सहकारी अधिकृत रिक्त भएकोले सरुवा भएर २०५१ बैंशाखमा गएपछि औपचारिक रुपमा सहकारी क्षेत्रमा जोडिएँ । 

सरकारी सेवाको अनुभव कस्तो रह्यो ?
नेपालको सरकारी सेवामा २७ बर्ष ९ महिना बढी समय बिताएँ ।  त्यसक्रममा लोक सेवा आयोग, आवास तथा भौतिक योजना मन्त्रालय र स्वास्थ मन्त्रालय बाहेक बाँकी अवधि कृषि मन्त्रालय र सहकारी मन्त्रालयमा नै बिताएँ । सहकारी निकायभित्र मात्र १९ बर्ष बढी बिताएँ । २०७२ साल बैशाख ९ गतेबाट लागु हुने गरी सरकारी सेवाबाट स्वेच्छिक अवकाश लिएँ । 

सेवामा रहँदा सहकारी क्षेत्र विकासका लागि आफुले गरेका महत्वपूर्ण काम के थिए जस्तो लाग्छ ?
केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रको पाठ्यक्रम र पाठ्य सामग्री तयारीसँगै केही अनुसन्धानमा योगदान गरे जस्तो लाग्छ । सहकारी कार्यालय प्रमुखको रुपमा सहकारी ब्यावसायिक कारोबार स्थापना, संचालन र बजार खोल्ने कार्यमा परामर्श दिने गरेँ । बांके, बर्दिया, चितवन र कास्की जिल्लाका दुध, कृषि, तरकारी, बचत तथा ऋण, बहुउद्देश्यीय र साना किसान सहकारीहरुको ब्यावसायिक कारोबार प्रवर्धनमा सहयोग गरेँ ।

मैले सहकारी क्षेत्रमा टेलिफोन तथा बिद्युतीय निःशुल्क परामर्श सेवा प्रदान गरेको छु । सहकारी अभियन्ताहरुले प्रक्रिया नबुझेमा वा कानूनी ब्यवस्था र समस्या समाधानमा कठिनाईका बेला छोटो भए मोबाइलमा र लामो कुरा भए इमेल वा म्यासेन्जरबाट परामर्श लिनुहुन्छ । सहकारी क्षेत्रमा देखिएको अर्को बाधा भनेको लक्ष्यबिहिनता हो । त्यसको लागि मैले रणनीतिक योजना तयारी तथा डकुमेन्टेशन र कार्यबिधि मस्यौदामा सहयोग गर्ने गरेको छु ।

पुस्तकहरु कतिवटा प्रकाशन गर्नुभयो ? लेखनको बानी कसरी थालनी भयो ?
२०६४ देखि २०७४ सम्म ८ वटा सहकारी ब्यवसाय सम्बन्धी पुस्तक प्रकाशन भएका छन् । अन्य २ वटा पुस्तिकाहरुमध्ये एउटा साक्षरता शिक्षा र सहकारी शिक्षासंग सम्बन्धित र एउटा सहकारी गीतहरुको संगालो हो । सहकारी ब्यवसाय संचालन, संस्थागत विकास र जनशक्ति विकासको मुख्य समस्या भनेको सैद्धान्तिक ज्ञान र ब्यावहारिक प्रयोगको मेल गर्न कठिनाई हो भन्ने ठम्याएको र सहकारी क्षेत्रमा सरुवा भै आउने नयाँ अधिकृत र निरीक्षकहरुको अनुरोध समेतलाई ध्यान दिएर सहकारी बिषयका पुस्तकहरु लेख्न शुरु गरेको हुँं । सहकारी ब्यवसाय ब्यवस्थापन, अभिलेख ब्यवस्थापन, जोखिम ब्यवस्थापन, प्रशिक्षक विकास, योजना निर्माण र सहकारी क्षेत्रको प्रतिस्पर्धात्मक विकासमा सहयोग पुगोस् भन्ने हेतुले नेपाली भाषामा पुस्तकहरु तयार पार्न ध्यान केन्द्रित गरेँ । 
 
अङ्ग्रेजीको पुस्तक खासगरी नेपालको सहकारी अध्ययन गर्न चाहने दातृ निकायका महानुभावहरु, अन्य मुलुकका सहकारी अभियानका अभियन्ताहरु र सहकारी बिषयमा विदेशका महाबिद्यालयको शोध गर्ने शिक्षार्थीहरुको लागि सन्दर्भमा सहयोग पुराउन तयार पारिएको हो ।  

सहकारी क्षेत्रको विकास विना नेपालको गरिबी निवारण हुन कठिन छ र बैदेशिक रोजगारले केही राहत दिएको भएता पनि दीगो विकास हुन सम्भव छैन । तर सहकारी क्षेत्रमा लामो समय संलग्न ब्यक्तित्वहरु समेत सहकारी सम्बन्धी अर्ध प्राविधिक र प्राविधिक बिषयमा कलम चलाउने जाँगर देखाएको पाइएन । जे जति पुस्तकहरु छन् अधिकांश सहकारीको सचेतना बृद्धि गर्नेतर्फ केन्द्रित छन् । त्यसबाट सहकारीको संस्थागत सुशासन त अभिबृद्धि हुदैन न नि ?

सहकारी क्षेत्रमा संलग्न सदस्यहरु र तिनका परिवारको सानो सानो उद्यम तथा ब्यापारको विकास नभैकन नेपालमा उनीहरुको गरिबी निवारण हुदैन । त्यसको लागि सहकारी एक उत्तम विकल्प हो । ति पुस्तकहरुले सहकारी अभियानलाई एकरुपता प्रदान गर्न, सहकारी सदस्यहरुमा उद्यमशीलताको चेतना विकास गर्न र प्रशिक्षण नपाएका सहकारी अभियन्ताहरुलाई दिशा निर्दिष्ट गर्न सघाउ पुर्याएको जस्तो लाग्छ । 

सहकारीका क्षेत्रमा तपाईलाई मनपरेको पुस्तक कुन कुन हुन् ?
सहकारी क्षेत्रमा धेरै पुस्तकहरु प्रकाशित भएका छन् । ति आ–आफ्नो क्षेत्र र महत्ताका हिसाबले राम्रा छन् । ग्रामीण विकास, सहकारी ब्यवस्थापन, सहकारी प्रशासन, सहकारी संचालन, सहकारी नीति तथा कार्यबिधि निर्माण, योजना निर्माण र जनशक्तिको उर्जा विकास सम्बन्धी सबै कितावहरु राम्रो लाग्छन् । मलाई नामै लिनु पर्दा सहकारी ब्यवस्थापनका लागि Cooperative Management (S.Nakkiran) /Cooperative Administration (S.L.Goel) उपयुक्त लाग्छ । 

राम्रा सहकारी पुस्तकहरु नेपालमा पुग्दो प्रकाशित भएका छन् कि छैनन ?
सहकारी क्षेत्रको लागि चाहिने पुस्तकहरु संख्याका हिसावले धेरै नै देखिन्छ । तर सहकारी अभियानमा पठन संस्कृति बिस्तारै ह्रास भएको छ । एउटा सहकारीले गरेको कार्य अर्कोले नक्कल गरेर सेवा सन्चालन गर्ने गरेको छ । कारण खोज्ने, अध्ययन गर्ने, प्रशिक्षण लिने, अनुसन्धान गर्ने चलन कमजोर छ  । तर सहकारी क्षेत्रका लागि लेखिएका र सम्पादन गरिएका पुस्तकहरु कार्य संचालनतर्फ केन्द्रित छन् र सहकारी अभियानको उद्यमशीलता विकासका लागि सहयोगी पुस्तक खासै प्रकाशित भएको लाग्दैन ।

सहकारीमा लाग्नेहरुमा अध्ययन र पठन संस्कृति विकास भएको छैन भनिन्छ, तपाईलाई कस्तो लाग्छ ?
भित्री अन्तरमनबाट सहकारी क्षेत्रमा संलग्न अभियन्ताहरुले अध्ययन गरिरहनु भएको भएता पनि अधिकांश सहकारी अभियन्ताहरु र सहकारी संस्थाका कर्मचारीहरुको पुस्तक अध्ययनमा रुचि कम महसूस हुन्छ । सहकारी संस्थाको संख्याका हिसावले कुरा गर्नु पर्दा ५० प्रतिशत सहकारीले पनि पुस्तक किनेको अभिलेखले देखाउदैन । सहकारी संस्थाहरुमा १।१ सेट पुस्तकको पुस्तकालय बनाउन सकिन्थ्यो र लेखकहरुलाई प्रोत्साहन पनि हुन्थ्यो त्यो कार्य पनि पछि परेको छ ।

सहकारीकर्मीहरुमा पठन संस्कृति विकास गर्न के गर्नुपर्छ ?
पहिलो कुरा सहकारीकर्मीहरुलाई जिम्मेवारी दिनु पर्दछ । खास गरी आफु रहेको उपसमितिको बार्षिक कार्यक्रम तथा बजेट तयारी, कार्यान्वयन जिम्मेवारी, समस्या बिश्लेषण र प्रतिबेदन तयारी, टेलिभिजन तथा प्रत्यक्षरुपमा आफु रहेको सहकारीको बिषयमा बहस, लेखन प्रतियोगिता आयोजना र मूल्यांकन समिति वा उपसमितिमा जिम्मेवारी दिन सकिन्छ । अध्ययनलाई बैठकको एउटा भागको रुपमा र जीवनको गन्तब्यतर्फ उन्मुख गराउन सकिन्छ । कम्तिमा एक बिषयको तालिम वा गोष्ठीमा संस्थागतपत्र पेश गर्ने ब्यवस्था मिलाउन सकिन्छ ।

सहकारी क्षेत्रमा सँगाल्नुभएको तीतामिठा अनुभवहरु के कस्ता छन् ?
सहकारीमा काम गरे बापत ११ बर्षमा बढुवा हुन सक्ने अवस्थामा कार्य सम्पादन मूल्याङ्कनमा तत्कालिन रजिष्ट्रार (शंकरराज जोशी) ले आठौं बर्षको का.स.मू. कम दिएकोले पहिलो पटक र कृषि मन्त्रालयका तत्कालिन सहसचिव (श्याम सुन्दर शर्मा) ले १३ औं बर्षको का.स.मू.मा दोश्रो पटक कम अंक दिएका कारण १९ औं बर्षमा बढुवा भएँ र सचिवसम्म पुग्ने चाहना सहसचिव नभइ अवकाश लिनुपर्यो । मीठो कुरा गर्नु पर्दा आदरणीय रजिष्ट्रार टंकमणि शर्मा र आदरणीय सचिव बालानन्द शर्माले सहकारीमा स्थापित भएको ब्यक्ति त्यही रहनु पर्छ भनेर सहयोग गर्नुभयो, सुझाव दिनु भयो र मेरो रुचिको सम्मान गर्नुभयो ।
 
सहकारीमा काम गर्ने जनशक्तिको अवस्था कस्तो छ ?
सहकारी प्रशासन र सहकारी ब्यवस्थापन दुवै पक्षलाई हेर्नु पर्ने हुन्छ ।  प्रशासनको पक्ष उत्साहहीन रहेकोछ । अभियानको ब्यवस्थापनको कुरा गर्दा यो क्षेत्र अस्थिर छ । यसका बिविध पक्षहरु छन् । उर्जा र उत्साह नभएका सहकारी प्रशासकहरुको सुझाव र परामर्शका आधारमा सहकारी संस्था संचालन गर्दा उत्साहजनक नतिजा पाउन कठिन हुन्छ । सहकारी क्षेत्र एक हिसावले बैंकहरुलाई कर्मचारी आपूर्ति गर्ने तालिम केन्द्र बनेका हुन कि जस्तो लाग्छ । 

सहकारीमा तालिम र शिक्षा प्रभावकारी भएका छन् ?  
सहकारी क्षेत्रको लागि संचालित तालिमहरुलाई ४ भागमा बाँडेर हेर्नु उपयुक्त हुन्छ भन्ने लाग्छ । पहिलो सहकारी सचेतना, दोश्रो संस्थागत ब्यवस्थापन, तेश्रो योजना ब्यवस्थापन र प्रतिस्पर्धी क्षमता विकास, चौथो उद्योग, बजारीकरण र प्रबिधिको पक्ष हो । सरकारले दिने तालिम पहिलो र दोश्रो किसिमको रहेको छ । सहकारी अभियानले आफ्नो श्रोतमा दोश्रो र तेश्रो किसिमको तालिम संचालन गरि आएको छ । तर त्यो अत्यन्त कम छ र प्रभावकारिता देखाउन पुग्दैन । चौथो किसिमको तालिम संचालन गरिएकै छैन । 

२०५२ देखि २०५५ सालसम्म अधिकांश तालिम कर्मचारी केन्द्रित गरियो । कर्मचारीले संचालकलाई गुमराहमा राख्ने र होच्याउने गरेको मैले महसूस गरेँ । त्यसपछिका तालिमहरु संचालकहरुको क्षमता विकासमा बढी जोड दिइयो । तर संचालक नै कर्मचारी बनेपछि उनीहरुनै तानाशाह जस्ता देखिए । बोर्ड र ब्यवस्थापन अलग गर्ने कानूनी ब्यवस्था आएको छ, तर संचालकले थाह नपाई कर्मचारीहरु नै जुनसुकै तालिम गोष्ठीमा सहभागी हुने चलन बृद्धि हुन थालेको छ । तालिम लिएपछि सहकारीका कुरा गर्न जान्ने मात्र होइन, ब्यवहारमा गरेर देखाउन सक्ने हुनुपर्छ । त्यसै गरी तालिम दिदा जिम्मेवारीसँग जोडेर मनोनयन गर्नु पर्ने हुन्छ । पालो पुराउने तालिम वा आर्थिक सहभागिताको लागि उपस्थिति जनाउने तालिमले सहकारी अभियानलाई बल पुराउन सक्दैन ।

कोभिडको असर सहकारी क्षेत्रमा कस्तो पर्यो र अबका दिनमा कस्तो पर्ला ?
कोभिडको असर सहकारी क्षेत्रमा कस्तो पर्यो भन्ने कुरा अभियानलाई बढी जानकारी हुने बिषय हो । मेरो जानकारीमा आएसम्म उत्पादनको बजारीकरण (दुध, तरकारी, जडिबुटी आदि), ऋण असूली कम हुनु, सदस्य बचतमा बृद्धि हुनु तर नयाँ ऋण लगानी नभएर तरलता उच्च हुनु जस्ता पक्ष देखिएका छन् । सहकारीको ब्याजदर मुद्रास्फिति ६.३० प्रतिशतको तुलनामा सो भन्दा तल झर्नु ले सहकारीको अन्तरनिहित मान्यतामा नै प्रहार गरेको छ । केही स्थानका सहकारी नेतृत्वले घुमाएर आवासीय जमीनमा गरेको लगानीका कारण संस्थामा जोखिमको अवस्थामा बृद्धि भएको छ ।

सहकारीहरु उत्पादनमा जोडिन किन नसकेका होलान ?
नेपालका सहकारीहरु उत्पादनमा जोडिनको लागि उत्पादन क्षेत्रमा पूर्बाधार, बजार पूर्वाधार र पहुँच, बजारमा नठगिने ब्यवस्था, जोखिम न्युनिकरण ब्यवस्था, कामदारको असहजता हटाउन यान्त्रिकीकरण ब्यवस्था, उच्च उत्पादन हुने बीउ बिजन र कच्चा सामग्रीहरु आपूर्तिको सहजता, मौसमी अनुकूलता, ढुवानी ब्यवस्था आदि आवश्यक हुन्छ । कृषि सहकारीहरुमा बित्तीय लगानी क्षमता कमजोर छ । बचत तथा ऋण कारोबार गर्ने सहकारीले उत्पादनशील क्षेत्रमा आफै लगानी गर्न पाउने ब्यवस्था छैन । यसैले सरकारको नीति र बिधि एवं सहकारी अभियानभित्र कमजोर सीप र चिन्तनको कारण सहकारी उत्पादनशील क्षेत्रमा आउन सकेको छैन । 

हाम्रो मुलुकको बचत तथा ऋण सहकारी अभियान कस्तो छ ?
नेपालको सहकारी अभियान समग्र भन्नु पर्दा संख्यात्मक र कारोबार दुवै हिसावले विकास भैरहेको देखिन्छ । नेपालको संबिधानमा नै आर्थिक विकासको तेश्रो खम्बाको रुपमा प्रतिष्ठित हुन पाएको छ । यो गर्व गर्ने कुरा हो । तर तेश्रो खम्बा भनेर भाषण गरिरहदैमा जिम्मेवारी पूरा हुँदैन । नेपालको बित्तीय बजारको करीव १९ प्रतिशत सहकारी क्षेत्रले समेट्नु पनि उत्साह जगाउने बिषय हो । सहकारी अभियानको ऋण लगानी कार्य जोखिमपूर्ण अवस्थामा रहेको छ । सहकारी संस्था आफैले घरजग्गाको कारोबार गर्न नाममा बहुउद्देश्यीय जोड्ने परिपाटी बढेको छ । ऋण असूली गर्न निकै कसरत आवश्यक देखिएको छ । संचालकहरु नराम्रो सम्बन्ध बनाउन नचाहने र ऋणी सदस्यले कर्मचारीलाई नटेर्ने हुदा ऋण असूली प्रकृया झमेलायुक्त बन्दै गएको सुनिन थालिएको छ । 

नेपालको सहकारी अभियानमा रहेको बचतमध्ये काठमाडौं जिल्लाको ६२ प्रतिशत, ललितपुर जिल्लाको ९ प्रतिशत, भक्तपुर जिल्ला र कास्की जिल्लाको ६/६ प्रतिशत गरी ८३ प्रतिशत रहेको २०७४ सम्मको तथ्यांकले देखाउंछ । यसका अलावा झापा, मोरंग, सर्लाही, दोलखा, काभ्रे, मकवानपुर, चितवन, रुपन्देही, नवलपरासी सुपू, तनहूँ, म्याग्दी, बाँके, सुर्खेत, कैलाली जिल्लाको बचत रकम कूल बचतको १५ प्रतिशत देखिन्छ । बाँकी ५९ जिल्लाको कूल बचत रकम ४ प्रतिशत मात्र रहेको छ । अर्थात् नेपालको बचत तथा ऋण सहकारी अभियान ठुला शहरी क्षेत्र रहेका जिल्लाहरु र सुगम क्षेत्रमा केन्द्रिकृत छन् । यसलाई परिवर्तन गरेर आधारभूत बर्गमा पुर्याउन केन्द्रिय संघहरुले बिशेष कार्यक्रम संचालन गर्नु आवश्यक छ । 

बचत तथा ऋण सहकारीले के के गर्न हुन्छ के गर्न हुँदैन ?
सरकारका कर्मचारीहरुलाई सहकारी संस्था असफल भएमा हुन सक्ने झमेलाले चिन्तित छन्, सहकारी अभियन्ताहरु आफु र आफ्नो संस्था जोगाउने चिन्तामा छन् । यसैले नियामक पक्ष यो गर्न हुदैन, त्यो गर्न हुदैन भनेर बाधा तेर्स्याउन उद्दत छ । जुन जुन काम गर्न हुदैन भनेर रोकिएका छन् ती कार्य गर्नेलाई सजाय गरियो वा गरिएन ? रोकिएका काम नगर्ने सहकारी संस्थाहरु सांच्चिकै सुरक्षित छन् त ? नियामक निकायले गरेको रुकावटको कार्य वास्तविक कम र मनोगत चिन्तन बढी देखिन्छ । सहकारी अभियान पुँजी बजार, शेयर बजार र बिभिन्न कम्पनीहरुमा लगानी गर्न पाउनु पर्ने माग गरिरहेको छ । के पुँजी बजारमा गरिएको शेयर लगानी वा शेयर कारोबारको मूल्य सधै बृद्धि हुन्छ ? सहकारीको कार्य सदस्यहरुको पेशा ब्यवसायको विकास, बृद्धि र दीगो बनाउने हो वा जुनसुकै तरिकाले लगानी गरेर सदस्यलाई शेयर लाभांश दिलाउने हो ? भनिन्छ, सदस्यहरु सुन्न तयार छैनन् । कुनै पनि खेल खेल्नका लागि त्यसको आधारभूत नियम पालना हुनै पर्छ र त्यो नियम अन्तर्राष्ट्रिय अभ्यासमा आधारित रहेका छन् । तसर्थ, बचत तथा ऋण सहकारी संस्थाहरुले संस्थागत सुशासन, दीगो विकास र आधारभूत आर्थिक वर्ग वा आवश्यकता हुने सदस्यहरुको दीगो स्वरोजगारी र रोजगारी विकासमा प्रवर्द्धन गर्नु पर्दछ ।

सहकारी संस्थाहरुको ऋण लगानीका अभिलेख अधुरो र प्रचलित कानूनको ब्यवस्था अनुसार नरहेको पाइएको छ । यसै गरी सहकारी संस्थाहरुले तयार पार्नु पर्ने कार्यबिधि नभएको वा भएकोमा पालना नगरिएको देखिएको छ । यस आधारमा हेर्दा सहकारी लगानी सदस्यको इमान्दारिका आधारमा असूली भैरहेको छ । तर कानूनी प्रक्रिया शुरु गर्नु पर्ने अवस्थामा अधिकांश सहकारी संस्थाका कागजातहरु अपर्याप्त र अधुरा रहेका छन् । त्यसैले अभिलेख ब्यवस्थापनलाई उच्च महत्व दिनु आवश्यक छ । 

बचत तथा ऋण सहकारी संस्थाहरुले सदस्य बचत रकम ब्यापार, उद्योग, बिद्यालय र महाबिद्यालय स्थापना र संचालनमा लगाउन नहुने कुरा PEARLS बित्तीय अनुगमन प्रणालीमा रहेको छ । तर सहकारी संस्थाहरुसँंग रहेको पुँंजीगत क्षमता सुदृढ हुने भएकोले संस्थागत पूंजी र बचतसँग आवद्ध भएको भन्दा बढी शेयर पुँजी लगानी गरेर सदस्यहरुको पेशा ब्यवसाय प्रवर्द्धन गर्ने र सदस्यहरुलाई बजारको ठगीबाट बचाउने क्षेत्रमा लगानी गर्न सकिन्छ । सोझै लगानी गर्न सकिने अवस्था नभएको हुनाले नियामक निकायको स्वीकृति आवश्यक हुन्छ । सहकारी अभियन्ताहरुले बचत तथा ऋण सहकारी संस्थाले लगानी गर्नै नहुने तर्क पनि राख्ने गरेको पाइन्छ । यो बैंकिंग सिद्धान्तको कुरा हो जसमा बैंकरले जोखिमयुक्त ब्यवसायमा लगानी गर्न सक्तैनन् भन्ने उल्लेख भएको पाइन्छ । यसैले बचत तथा ऋण सहकारी संस्थाहरुले ठुला सहकारी उद्योग (दुध, मील, रासायनिक मल, तेल मील, ग्यास रिफिल, इलेक्ट्रीकल सवारी साधन चार्ज स्टेशन, रेष्टुराँ स्थापना र बजारीकरण, उपभोक्ता सामग्री उत्पादन र बिक्री आदि), सहकारी कम्पनीहरु (कर्जा सूचना केन्द्र, बचत तथा ऋण सुरक्षण कोष, क्लियरिंग हाउस आदि) मा लगानी गर्ने ब्यवस्थालाई कार्यबिधि बनाएर लगानी गर्ने ब्यवस्था मिलाउनु पर्ने हुन्छ । यसको साथै प्रादेशिक आधारमा तालिम केन्द्र भवनहरु स्थापना र संचालन जस्ता कार्यहरुमा केन्द्रिय संघहरु वा महासंघहरुले अगुवाई गर्नु आवश्यक रहेको छ । 

तर बचत तथा ऋण सहकारी संस्थाले बचत रकमलाई घुमाएर वा ऋण देखाएर वा अन्य तरिका प्रयोग गरेर तरलता जोखिममा पर्ने, लामो अवधिमा मात्र लगानी फिर्ता आउने, सट्टा बजार (प्राथमिक र दोश्रो शेयर बजार), सुन चांदी खरिद बिक्री, नेटवर्क बजार, तथा अवास्तविक मुद्रा बजारमा लगानी गर्नु हुदैन । समग्रमा प्रणाली विकासको चिन्तनलाई विकास गर्नु आवश्यक रहेको छ । 

सहकारी ऐन २०७४ कस्तो आयो ?
बर्तमान सहकारी ऐनको अघिल्लो मस्यौदा बनाउँदा मन्त्रालयको प्रतिनिधिको रुपमा धेरै कुराहरु सुझाव दिइयो र केही बाहेक अधिकांश सुझावहरु समावेश भएका छन् । सहकारी ऐनमा धेरै कुराहरु राम्रा र स्पष्ट छन् । सहकारी ऐनमा सहकारी दर्ता, नियमन, नियन्त्रण, प्रवर्द्धन र उपचारात्मक कारवाहीको सन्तुलन मिलाउनका लागि केही कुराहरु संशोधन गर्नु पर्ने अवस्था छ । वर्तमान सहकारी ऐनमा नियन्त्रणका ब्यवस्थाहरुलाई बढी समावेश गरियो र प्रवर्द्धनको पक्ष ओझेल परेको छ । साथै सहकारी ऐनका प्रावधान लागु गर्न प्रचलित अन्य नेपाल ऐनबाट ब्यवधान देखा पर्छ ।

बचत ऋण सहकारीका सदस्यहरु के चाहन्छन् ?
यसको जवाफ एउटै वाक्यमा भन्नु पर्दा व्यावसायिक हिसावले सबल, सक्षम, दीगो, सुशासनयुक्त र सदस्य सेवामा समर्पित उदाहरणीय सहकारी सदस्यहरुको चाहना हो । बचत सुरक्षित होस्, चाहिएको बेला सरल र सुलभ ऋण प्राप्त होस्, आफ्नो विकासमा सहकारीले योगदान देओस्, रोजगारी सृजनामा मद्दत गरोस् भन्ने नै सदस्यहरुको चाहना हुन्छ । तर हाल बचत तथा ऋण सहकारीका सदस्यहरुमा हुने खाने, ब्यापारी, उद्योगी, बैंकर, राजनीतिकर्मी, मध्यमबर्गीय आयवाला ब्यक्तिहरुको बोलाबाला छ । जसलाई सहकारी नभए पनि काम चल्छ, तर भए राम्रो भन्ने छ । उनीहरु नै सहकारी अभियानको नेतृत्वकर्ताको रुपमा, सेवाग्राहीको रुपमा देख्न सकिन्छ, सहकारी एक किसिमको (Elite Capture) भएको आरोप लाग्ने गरेको छ । खास आवश्यकता भएको समूह ओझेलमा परेको महसूस हुन्छ । तसर्थ आधारभूत बर्गलाई समेटेर सेवा दिइएमा उत्तम हुनेछ ।

नेफ्स्कूनसँग यहाँको अपेक्षा के छ ? 
नेफ्स्कूनसँगको मेरो सम्बन्ध २०५३/५४ सालदेखि नै रहेको छ । शंखमुल जाने बाटोमा शायद ३ वटा कोठा भाडामा लिएर शुरु भएको हो । अहिले नेफ्स्कूनमा १५० जनाभन्दा बढी कर्मचारी छन् । आफ्नै भवन छ । नेपालभर फिल्ड कार्यालय छन् । संगठन ठुलो हुदै जाँदा संरचना बिस्तारले ब्यवस्थापन जटिल हुने हो कि ? जस्तो लाग्छ । बचत तथा ऋण सहकारीको संख्या १३५७८ (२०७४) देखाएको भएता पनि एकीकरणका कारण घटेको कुरा सहकारी बिभागले प्रकाशन गरेको छ । तर नेफ्स्कूनको सदस्य संख्या बढाउनु पर्ने, सदस्य संस्थाको जोखिम न्युनिकरण गर्न नियमित निरीक्षण अनुगमन गर्नु पर्ने, संस्थागत सुशासनको सदृढिकरण गर्नु पर्ने र बनेका नीति तथा कार्यबिधिहरु के कति कार्यान्वयनमा ल्याइएका छन् त्यसको अनुगमन र मूल्यांकन गरी सुधार गर्नु पर्ने आवश्यकता देखिएको छ । सहकारी सुरक्षित छ, सहकारी अभियान स्वनियमनयुक्त छ भन्ने सन्देश आम नेपालीले पाउने र सहकारीप्रति आकर्षित हुने बेला कहिले आउला ? त्यसको ब्यवस्थापन जरुरी छ । त्यसैले नेफ्स्कून, महासंघ र सरकारले दिने कदरपत्र तथा पुरस्कार ठुलो कारोबारवाला र पहुँचवालाको साथै राम्रो कार्य गर्नेले पाउन भन्ने कुरा बिस्तार गर्नु आवश्यक छ ।

नेपालमा सहकारीभन्दा नाक खुम्च्याउने बानी छ नि ?
कुनै कुरा मन पराउने र प्रशसा गर्ने वा कुनै कुरा मन नपराउने मानिसको मनोबृत्तिका कुरा हुन । जति बेला रोचडेल पायनियरहरुको उपभोक्ता पसल खुलेका थिए त्यति बेला पनि बिश्व विजेता बेलायती साम्राज्यका विकसित कहलाइएका नागरिकहरुले नाक खुम्च्याउने र खिसी ट्युरी गरेका थिएनन् र ? आफ्नो भलाइको कुरा आफै सोचिन्छ । कुनै नपढेको गरिब प्रौढ ब्यक्ति आफ्नो घर चलाउनका लागि परिवारमा सल्लाह गर्छ, छिमेकीको सल्लाह माग्न वा उसको सोच सोध्न जादैन । सहकारी सुनेर नाक खुम्च्याउनु पर्ने कार्य हामीले गरेका छैनौं । 

२०४८ सालसम्म नेपालका सहकारीमा ४ लाख बचत रहेको थियो र फिर्ता गर्न तरलता थिएन । २०७७ मा यो रकम ४७७.९६ अर्ब पुगेको छ । यो नेपालको सहकारी अभियानले गरेको कार्य उपलव्धी हो । बित्तीय श्रोतका हिसावले नेपालका विकास बैंकहरु, बित्त कम्पनीहरु र लघुबित्त संस्थाहरुको समग्र जोड भन्दा बढी बचत रकम सहकारी क्षेत्रमा रहेको छ र त्यसलाई उचित परिचालन गरिएको छ । नेपालको बैंक तथा बित्तीय संस्थाले प्रदान गरेको रोजगारीभन्दा सहकारीले ३ गुणा बढी (८८३०९ जना) प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । सरकारको निजामती सेवामा कार्यरत कर्मचारी संख्या बरावर सहकारी क्षेत्रले रोजगारी प्रदान गरेको छ । गाउँ गाउँमा मासिक सयकडा ३ देखि ५ ब्याज चलेको अवस्थामा सहकारीले त्यसलाई न्युन अवस्थामा पुर्याउन निकै योगदान गरेको छ । यो गर्ब गर्ने बिषय हो, नाक खुम्च्याउने बिषय हो भन्ने मलाई लाग्दैन । 

जनबलका कुरा गर्ने हो र राजनीतिक दलको आवद्धता बिर्सने हो भने अव आउने जुनसुकै निर्बाचनमा सहकारीले समर्थन गरेको दल बाहेक अरु कसैले जित्दैन । उत्पादन क्षेत्रका कुरा गर्ने हो भने दुध र तरकारीको सदस्यहरुबाट संकलन तथा बजारीकरण सहकारीमार्फत नै हुन्छ । दक्षताका कुरा गर्ने हो भने सहकारी अभियन्ताहरुले आफ्ना बिषयमा दख्खल राख्छन् र तथ्यगत जवाफ दिन सक्छन् । 
राज्यलाई योगदानको कुरा गर्ने हो भने अर्बौ रकम संस्थागत आयकर र श्रोत कर भुक्तानी गरेका छन् । केही सहकारीहरु ठुला करदाताका रुपमा दर्ता भएका छन् र सम्मान पाएका छन् । सरकारलाई कर तिर्नु पर्ने आय समूहमा नभएका सहकारी सदस्यहरुले शेयर लाभांश तथा संरक्षित पूंजी फिर्ता कोषको रकम भुक्तानीबाट राज्यलाई कर तिर्ने गरेका छन् । सानो आय भएका सहकारी संस्थाहरुले समेत संस्थागत कर तिरेका छन् । यो गर्वको बिषय हो । 

केही सहकारी संस्थाका संचालकहरुमा रहेको लोभ वा ब्यवस्थापकीय कमजोरीका कारण सहकारी असफल भएर बचत भुक्तानी गर्न सकेनन् । यो बिषय राज्यको कमजोरी हो । राज्यले कानूनी ब्यवस्था मिलाउने र सहकारी बचत र ऋणको बीमाको ब्यवस्था गरिदिएको भए यो बीमा कम्पनीले लिने जिम्मेवारी हो । यसैलाई आधार बनाएर सहकारीप्रति नाक खुम्च्याउन जरुरी छैन । आफ्नो परिचय दिन नसक्ने समुदायका ब्यक्तिहरु उभिएर आफ्नो माग स्पष्ट राख्न सक्ने भएका छन् । तसर्थ हामीले असल काम गरेका छौं र सम्मान पाउने काम गरेका छौं, नाक खुम्च्याइनु पर्ने कुनै काम गरेका छैनौं । यसैले जो नाक खुम्च्याउंछ उसैको नाकमा चाउरी पर्छ । 

 नियामक निकायको सहयोग र भूमिकालाई कसरी हेर्नुहुन्छ ?  
सहकारी नियामक निकायको रुपमा रहेको सहकारी मन्त्रालय र सहकारी बिभाग आफ्नो भूमिका संकुचित बनाउन बाध्य छन् । प्रदेश सरकार र पालिकाभित्र सहकारी नियमन गर्ने इकाई सानो छ र त्यो अपर्याप्त तथा सहकारी ज्ञानका हिसावले कमजोर छ । सहकारी अभियान आफैले स्वनियमन गर्ने, अनुगमन गर्ने कार्य पनि उल्लेखनीय रुपमा गर्न सकेको पाइएन । यसैले सहकारी क्षेत्रमा निरीक्षण अनुगमन नियमन कार्य अत्यन्त कमजोर रहेको छ । सहकारी क्षेत्रको प्रवर्द्धनको लागि स्थापित तालिम केन्द्रहरुको क्षमता र गुणस्तर दुवै कमजोर पाइएको छ । सहकारी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि उद्योग तथा परियोजना स्थापना अनुदान पनि प्रभावकारी र सर्वसुलभ छैन । निकायगत रुपमा जे जस्तो र जति सहयोग हुनु पर्ने हो त्यो निजी सकृयतामा भर पर्ने गरेको देखिन्छ । यसलाई संस्थागत र प्रणालीगत गर्नु जरुरी छ ।

सहकारीमार्फत समृद्धि सम्भव छ ?
समृद्धि भनेको आधारभूत सेवा सुविधामा पहुँचको कुरा हो जस्तो लाग्छ । पैसा भएर मात्र समृद्धि हुदैन, सेवा तथा सामग्रीहरु उपलव्ध हुने अवस्था पनि आवश्यक हुन्छ । पैसा, सीप, परिश्रम र स्थानीय श्रोतहरुको सदुपयोग गरी स्थायी आय हुने सम्पत्तिको सृजनासँग सम्बन्धित कुरा हो । हालको मुख्य समस्या भनेको उद्यमशील सोचको विकास, प्रविधि हस्तान्तरण, बित्तीय सहयोग, प्रोत्साहन, उत्पादनमा हुने क्षति न्युनिकरण र क्षतिपूर्ति, बजार आपूर्ति र सञ्जालीकरण, दीगोपना र प्रतिस्पर्धी क्षमतासँग सम्बन्धित कुरा हो । नेपालमा प्रशस्त उत्पादन हुने बस्तु बिदेशबाट आयात गर्दा उद्यमशीलता हराउंन सक्छ भने जोखिममा बृद्धि हुँदा उत्पादकको श्रोत साधन गुम्ने अवस्था आउँछ । तसर्थ यिनै ब्यवस्थाहरु मिलाउन सकेमा सहकारीमार्फत न्युन आय, मध्यम आय र बेरोजगार युवाहरुको दीगो आयआर्जन र समृद्धि सम्भव छ । अन्तराष्ट्रिय रुपमा सहकारी मार्फत उत्कृष्ट कार्यहरु भएको कुरा धेरैलाई थाहा भएकै बिषय हो । नेपालको सन्दर्भमा कुरा गर्दा सहकारीमैत्री ऐनहरु, नीतिहरु र निर्देशन आवश्यक छ । सहकारी ऐनमा नै सहकारी क्षेत्रलाई कार्य गर्न रोक्ने वा हतोत्साहित गर्ने ऐन बनाउन नपाउने र बिभिन्न ऐनमा मौजूद भए उक्त दफा खारेज हुने भन्ने वाक्यांश राख्न लगाइएमा धेरै कुरा समाधान हुन सक्छ । 

सहकारी ऐनमा व्यवस्था भएको मुख्य कारोबार र दोहोरो सदस्यताका सम्बन्धमा यहाँको भनाई ?
मैले बुझेको सहकारी सेवा लिनको लागि हो । लाभांश र लाभ लिनको लागि होइन । सेवा लिन एक प्रकृतिका संस्थामा रहेर लिन सकिन्छ । उदाहरणको रुपमा दुई वटा संस्थामा उत्पादन (तरकारी, दुध, कफि, चिया, मह, माछा, जडिबुटी आदि) बेच्ने, दुई भन्दा बढी उपभोक्ता संस्था गएर सामान किन्ने, दुई वा सो भन्दा बढी बचत तथा ऋण सहकारी संस्थामा बचत गर्ने र ऋण लिने कार्यले सहकारी ब्यापारिक निकाय भएको छ । सदस्यको निकाय हुन सक्तैन । मानौं कुनै आफन्त कुन संस्थामा सदस्य बनौं र बचत तथा ऋणको सेवा लिउँ भनेर सोधनी गर्दा जुन संस्थाको सिफारिस गरिन्छ सदस्य बनेको अर्को संस्थाप्रति घात गरिन्छ । यसैले एक प्रकृतिको एउटा संस्थामा सदस्य हुनु उत्तम हो । मेरा भनाइहरु कुनै कुनै सहकारी नेतृत्वबर्ग र ब्यवस्थापनका साथीहरुलाई चित्त नबुझ्न सक्छ । 

सहकारीसम्बन्धी मुख्य तालिमहरु के के प्राप्त गर्नुभयो ?
मैले स्वदेशमा २ दिन देखि १५ दिनसम्मका सहकारी ब्यवस्थापन, प्रशिक्षक प्रशिक्षण, सहकारी लेखापालन, सहकारी ब्यवसाय प्रवर्द्धन, रणनीतिक योजना तर्जुमा, PEARLS बित्तीय अनुगमन, उद्यमशीलता विकास, उच्चस्तरीय विकास प्रशासन, सहकारी निरीक्षण तथा अनुगमन, जापानमा कृषि सहकारी, जग्गा एकीकरण तथा सहकारी आवास, चिनियां कृषि बजारीकरण सहकारी आदि बिषयका तालिममा सहभागिता जनाएको छु । बंगलादेशको क्रेडिट युनियन, भारतको अमूल र श्रीलंकाको सानासा र उपभोक्ता संघहरुको अवलोकन जस्ता कार्यक्रमहरुमा सहभागिता जनाउने अवसर प्राप्त भयो । 

आफुले प्राप्त गरेका पुरस्कार र सम्मानहरुका बारेमा बताइदिनुहुन्छ कि ?
पुरस्कार र सम्मानको लागि कार्य गरेको होइन । मैले गरेको कार्य नै मेरो पुरस्कार हो र नेपालभरीका लाखौं सहकारीकर्मीहरु र अभियन्ताहरुले स्नेह दिनु भएको छ, आदर गर्नु हुन्छ त्यही नै मेरो अमूल्य सम्मान हो । यद्यपि पोखरा रोयल राष्ट्रिय सहकारी पुरस्कार र संगम साकोसको संगम योग के.सी. पुरस्कार लिने अवसर पाएको छु । 

सहकारी क्षेत्रमा तत्काल गर्नुपर्ने कामहरु बुँदागत रुपमा के के हुन ? मुलुकमा सहकारीको विकासका लागि के भइदिए हुन्थ्यो जस्तो लाग्छ ?
१.  सहकारी मैत्री कानूनको ब्यवस्था पहिलो शर्त हो । एउटा नेपाली वा बिदेशी धनी व्यक्तिले कम्पनी दर्ता गरेर बीमा, बैंक, बिद्यालय, कलेज, बिश्वविद्यालय, उद्योग, आवास स्थापना गर्न सक्छ । तर सहकारी संस्थामा आवद्ध हजारौं कम पुँजी भएकाहरुले त्यस्तो ब्यवसायमा प्रवेश गर्न रोक्ने कानूनी प्रावधान र अभ्यास रहेको छ । कम्पनीमार्फत संचालित बैंकहरुको बचत र ऋणको बीमा हुन्छ, कम पुँजी भएकाहरु सदस्य रहेको सहकारीको बचत र ऋणको बीमा हुदैन । सहकारी बैंक संचालित छ तर यसले पुँजी र अन्य ब्यवस्था पूरा गरे पनि विकास बैंक सरहको कार्य गर्न सक्तैन । यसरी राज्यले हुने खाने र हुदा खाने उपर कानूनी रुपमा, नीतिगत रुपमा र ब्यावहारिक रुपमा बिभेद गरेको छ । के धनीको पैसा डुब्दा मात्र राज्यको अर्थतन्त्र खल्बलिने हो र ?

२. सहकारी क्षेत्रउपर बर्तमानमा झमेला थपिएको छ । एउटा सहकारीले जिल्ला संघ, पालिका वा प्रदेश, बिभाग, सम्पत्ति शुद्धिकरण इकाई, कोपोमिस लगायतका निकायहरुमा प्रतिबेदन पठाउनु पर्ने ब्यवस्था बोझिलो रहेको छ । 

३.  सहकारी अभियान आफ्नै पनि गन्तब्य पहिचानमा असफल रहेको छ । सहकारी बैंकले बिपन्न समुदायको सट्टा ठुला सहकारीलाई टेवा दिने नीति बनाएको छ । सहकारी बैंकले संस्थाको बचत र शेयरको ५० प्रतिशतसम्म ऋण दिने ब्यवस्था यसको टडकारो उदाहरण हो । त्यसलाई परिवर्तन गरिनुपर्छ ।

४.  सहकारी अभियानमा राजनीतिक ब्यक्तित्वहरु पदको भागबण्डाका आश्रयस्थलको सट्टा क्षमता भएका संचालक विकास गर्नु श्रेयस्कर हुन्छ । थोरै तलवमा ज्यालादारी, करार, हजुर गर्ने कर्मचारी खोज्नुको सट्टा दक्ष र सक्षम ब्यक्तिलाई रोजगार दिने थलोको रुपमा विकास गर्नु पर्छ । 

५. सरकारी क्षेत्रले सहकारी क्षेत्रलाई दिने सहयोग र समर्थनमा कन्जुस्याइँ गरेको मात्र होइन बाधा नै तेर्स्याएको छ । सहकारीहरुले बचतको रकम जोखिमयुक्त ब्यवसायमा लगानी नगर्नु उचित हो । तर यो ब्यवस्था शक्तिशालीहरुले पालना नगर्दा कारवाही नहुने र साना सहकारीले गर्न चाहे कारवाही हुनु आफैमा न्यायपूर्ण देखिदैन । 

६. सहकारी शिक्षा तथा तालिमलाई सामयिक परिमार्जन गरी आवश्यकतामा आधारित, सहकारी उद्योग प्रवर्द्धन गर्ने र प्रतिस्पर्धी बनाउनु उपयुक्त हुनेछ । 

७. सहकारी क्षेत्रमा बिज्ञता भएका ब्यक्तिहरुलाई उपयोग गर्ने, सरकारको बिज्ञ समूहमा प्रतिनिधित्व गराउन आवश्यक देखिन्छ । 

८. सहकारीहरुको नियमन अधिकांश पालिकाहरुमा परेको सन्दर्भमा पालिकाको क्षमता विकास अति जरुरी रहेको छ । पालिकाभित्र सहकारी दर्ता, निरीक्षण, प्रवर्द्धन जस्ता कुराहरुले खासै महत्व पाएको महसूस भएको छैन । 

९. नेता बन्ने रहरको लागि व्यावसायिक संभावना नभएका केन्द्रीय, प्रदेश र जिल्ला संघहरु नभइदिए हुन्थ्यो  जस्तो लाग्छ ।      

सहकारी क्षेत्रमा तपाईको प्रेरणा ? 
२०५२ सालमा दुई महिनाको जापानी कृषि सहकारी सम्बन्धी तालिम र अवलोकनले मलाई सहकारी मार्फत मुलुकको आर्थिक विकासलाई गति दिन सकिन्छ भन्ने महसूस भयो । सहभागी मुलुकहरुको अनुभव (श्रीलंका, थाइल्याण्ड, मलेशिया, म्यानमार, ब्राजिल, फिलिपिन्स, मलावी, केन्या र इण्डोनेशिया) नेपालका सहकारीको विकासमा उपयोगी हुने पाएँ । यसै सन्दर्भमा किसान र श्रमिकहरुको आर्थिक र सामाजिक उत्थान विना  मुलुकको रुपान्तरण गरेर विकसित मुलुक बन्न सक्दैन भन्ने अन्तरमनको अठोटले मलाई सहकारी अभियानमै रहेर कार्य गर्ने दृढ इच्छाशक्ति प्राप्त भयो । 

सहकारीमा युवा पुस्ताको रुचि कसरी बढाउन सकिन्छ होला ?
युवा उमेर लाभ जोडिएको कर्मशील उमेर हो । लाभ पाउने अवस्था सृजना गर्न सके युवाहरुको आकर्षण बृद्धि हुने हुन्छ । रोजगारी, बित्तीय सेवा, उद्योग, ब्यापार तथा बजारीकरण सेवामा पहुँंच बिस्तार हुन सकेमा युवाहरुको आकर्षण बृद्धि हुन्छ । जहाँ लाभ हुन्छ, जीवनका पलहरु फलदायी हुन्छन्, त्यसमा रुचि बृद्धि हुन्छ । युवाहरुलाई सहकारीको मर्म तथा मुलुकमा दिएको योगदान र एक युवाले दिन सक्ने योगदानका बारेमा चिन्तन बढाउन सके रुचि उच्च हुन सक्ला ।

सहकारीमा नेतृत्व विकास कसरी सम्भव छ ?
सहकारीमा नेतृत्व विकासका पक्षहरुलाई धेरै कुराले प्रभावित पार्दछ । राजनीतिमा मान र प्रतिष्ठा बढी देखेर सहकारी नेतृत्वदायी ब्यक्तिहरु आकर्षित भएको हुन पनि सक्छ । सहकारीलाई चाहिने नेतृत्व भनेको उत्प्रेरक र ब्यावसायिक फाँटको हुनु पर्छ र उनीहरुको कदर सम्मानको अवस्था सृजना भएमा दुई डुंगामा पाईला राख्ने प्रबृत्तिमा कमी आउनेछ । सामाजिक कार्यक्रमहरुमा सहकारीकर्मीहरुको उपस्थितिको कदरको कुरा गरेको हुँ । अर्को कुरा नेतृत्व विकासको लागि आधारभूत कुराहरुको ज्ञान र सीप आवश्यक हुन्छ । राजनीतिको अभिष्ट लोकतन्त्रको सबलीकरण, जनजीविकाको प्रत्याभूति र दीगोपन, सामाजिक रुपान्तरण र आत्मनिर्भर अर्थतन्त्र हो । ती सबै कुराहरु सहकारीमार्फत गर्न सकिन्छ । निजी क्षेत्र र सरकारी क्षेत्रसँग सहकार्य गर्न सकिन्छ । मुख्य कुरा मुलुकको विकासमा सहकारीबाट प्रदान गर्न सकिने योगदानको बिषयमा चिन्तन गर्ने नेतृत्वबर्ग हुनु आवश्यक छ । यिनै सेरोफेरोमा सहकारी नेतृत्वको विकास अपेक्षित छ ।

गीत संगीतमा पनि यहाँको  रुचि भएको जानकारीमा छ । यो रुचिका सम्बन्धमा केही बताइदिनुहुन्छ कि ? 
गीत गुनगुनाउने मेरो पुरानो बानी हो । एक्लो भयो कि गुनगुनाइहाल्छु । खास गरी प्रशिक्षणको दौरान फुर्सद्का बेलामा सहभागीहरुले मनोरन्जनका लागि गाउने गीतले तालिमको बिषयवस्तु नै ओझेलमा पार्ने भएकाले सहकारी गीत लेख्न थालेको हुँ । मेरा रिलिज भएका ३ गीति एल्बममध्ये २ सहकारी एल्बममा १२ गीत समावेश छन् । प्रकाशित गीत संग्रह एउटा मात्र हो जसमा ३६ वटा गीत छन् । सहकारी बाहेकको एउटा गीति संग्रह छ र त्यसमा सामाजिक जीवनका गीत छन् । म सहकारी विकास र देशपे्रम सम्बन्धी गीतहरु बढी मन पराउँछु । लोकभाका तथा मिथक गीतहरु पनि मन पर्छ । गीत गाउने रहर त अझै छ र सृजना पनि गर्दैछु । म हाल किबोर्ड अभ्यास गरिरहेको छु । 

तपाईको भावी योजना के छ ?
नेपालको गरिबी निवारण गर्न सहकारीको संस्थागत विकास, सदस्य उद्यमशीलता विकास र सहकारीका सदस्यहरुको दीगो जीविकालाई प्रवर्द्धन गर्न योगदान दिने कार्य गर्ने योजना छ । त्यसको लागि प्रशिक्षण, पाठ्य सामग्रीहरु निर्माण र अनुसन्धानात्मक अध्ययन गर्ने योजना छ । 

अब नीजि जीवनबारे केही जानकारी गराइदिनुहुन्छ कि ?
मेरो जन्म २०१५ बैशाख १५ गते तनहूँ फिरफिरे लामागाउं गा.बि.स. ४, बाबियाडांडा (हाल शुक्लागण्डकी १२) मा भएको हो । पिता तम्र बहादुर ठकुरी र माता लक्ष्मीदेवी ठकुरीका साहिलो छोरा हुँ । परिवारमा ५ दाजुभाई र ३  दिदीबहिनी हुनुहुन्छ । मेरो आमातर्फ एउटा दिदी र म हौं ।  पत्नी प्रेमाकुमारी मल्ल ठकुरी, छोराहरु शैलेन्द्र ठकुरी (जेठो), बुहारी साइका योशिता ठकुरी, परीक्षित ठकुरी (कान्छो) र छोरी यशोधरा ठकुरी छन् । हाल म काठमाडौंको चन्द्रागिरी नगरपालिका ३, थानकोटमा बस्दै आएको छु ।

बाल्यावस्था कस्तो थियो ?  
ग्रामीण परिवेशमा रमाइलो थियो । खेतिपाती, बनपात, माछा मार्ने, तरुल कन्दमूल खन्ने, काफल र अमला टिप्ने, आदि काम सिकियो । मकैको झुत्ता बनाउने, खुटृाले कोदो माड्ने, धान चुट्ने काम पनि गरियो । राम रमिता पूजा आजामा चुट्का भजन, रोइला, झ्याउरे, सोरठी, घांटू, मारुनी, कौरा, असारे, साउने, बारुली, घांसे भाकाका गीतहरु सुन्ने, नाच हेर्ने गरिन्थ्यो । 

युवावस्था कहाँ बित्यो र पढाइ कसरी अघि बढ्यो ? 
मेरो २०२९ सालको मार्गसम्म फिरफिरेमै बित्यो । कक्षा ८ सम्मको अध्ययन जनप्रिय निमाबि (हाल मा.बि.) बाट गरेको हुँ । २०२९ पौष देखि २०३३ असोजसम्म स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका (साविक किचनास देबिस्थान गाविस ८) मा बसेँ । कक्षा ९ र १० को अध्ययन नवज्योति माध्यमिक बिद्यालय, बिरुवामा गरेँ । 

जागिरको सुरुवात कसरी भयो ?
२०३२ सालमा प्रा.बि.को दरबन्दीको तलब पाउने गरी नि.मा.बि.को गणित शिक्षकको रुपमा नियुक्ति लिएर १० महिना कार्य गरेँ । त्यसपछि काठमाडौं प्रवेश गरी नायव लेखापालमा अस्थायी जागिर खादै अध्ययन अघि बढाएँ । २०३४ सालमा नेपाल औद्योगिक विकास निगमको स्थायी जागिरमा प्रवेश गरेर ७ महिना पोखरामा कार्य गरेँ । २०३५ सालमा नेपाल बैंक लिमिटेडको जागिरमा प्रवेश गरेर बाँके जिल्लाको नेपालगञ्ज पुगियो । स्नातक तहको अध्ययन नेपालगन्जमा गरेँ । 

२०३८ सालदेखि २०४० सालसम्म सामाजिक जागरणको कार्यमा बित्यो । पहाडी क्षेत्रको आर्थिक गरिबी, सामाजिक उत्पीडन थाहा भएपनि तराई क्षेत्रको सामाजिक र आर्थिक संरचनाको मसिनोसँग अध्ययन यसै अवधिमा गर्ने अवसर प्राप्त गरेँ । 

२०४० सालको बैशाख देखि २०४१ सालको पौषसम्म माध्यमिक बिद्यालयको अंगे्रजी, गणित, अर्थशास्त्र तथा कार्यालय संचालन र लेखा बिषय शिक्षक भएर बर्दिया जिल्लाको सितापुर, जाजरकोट जिल्लाको जुंगा थापाचौर र बाँके जिल्लाको बिनौना मा.बि.मा काम गर्ने अवसर पाएँ । २०४१ सालमा कृषि विकास बैंकको सेवामा प्रवेश गरेँ । २०४४ सालमा लोक सेवा आयोगको शाखा अधिकृत परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गरेँ । स्नातकोत्तर शिक्षा पछि पुरा गरेँ । 

बिवाह २०४१ मा भयो । ससुराली बाँके हो । २० बर्ष देखि ४५ बर्ष उमेरसम्म २६ बर्षको अवधिको बसोवास र कार्यगत योगदान नेपालगन्जमा गरेँ । बाँके जिल्ला मेरो युवा जोश र जाँगर पोखिएको स्थान हो । त्यसैले होला मलाई म जन्मेको स्थान जत्तिकै माया बाँकेको लाग्छ । समयको फेरोमा मैले बाँके जिल्लाको बसाई टुंग्याउनु पर्ने अवस्था आएको हो ।

saccosaawaj media

ऋण संघ ऐन (Credit Union Act) को आवश्यकता

सोमबार, साउन ५

निवर्तमान अध्यक्ष, नेफ्स्कून

saccosaawaj media

सहकारी मर्जरका लागि उत्प्रेरित नभए सरकार दबाब दिन बाध्य हुने

सोमबार, साउन ५

डा. टोकराज पाण्डे रजिष्ट्रार, सहकारी विभाग

saccosaawaj media

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५

दिगो विकास लक्ष्य र सहकारी