एजेन्सी । यो सन् २०११ नोभेम्बर ५ शनिबारको घटना हो । एकै दिन ४० हजार बढी अमेरिकीहरु ठूला बैंकहरुमा भएको खाता बन्द गरेर क्रेडिट युनियनहरुको सदस्य बने । उनीहरुमार्फत प्रति सदस्य सरदर २ हजार अमेरिकी डलरका दरले करिब ८० हजार मिलियन डलर क्रेडिट युनियनहरुमा थपिएको दिन थियो । बैंकहरुबाट रुष्ट ग्राहकरुले आफ्नो सबै रकम क्रेडिट युनियनहरुमा सारेको ऐतिहासिक दिन थियो त्यो । अमेरिकी प्रमुख बैंकहरुको एउटा गलत निर्णयका कारण सोही वर्ष सेप्टेम्बर २९ देखि डिसेम्बरसम्मको अवधिमा करिब साढे २ लाख अमेरिकीहरुले बैंक छोडेर क्रेडिट युनियन रोजे ।
सन् २०११ को नोभेम्बर ५ लाई अमेरिकी इतिहासमा ‘बैंक ट्रान्सफर डे’ का रुपमा चिनिन्छ । त्यति मात्र होइन, उक्त घटनाको ‘रिपल इफेक्ट’का रुपमा एक वर्षभित्र ६० लाख अमेरिकीहरुले बैंकको सर्वोत्तम विकल्पको रुपमा समुदायमा आधारित क्रेडिट युनियनलाई विश्वास गरे ।
सन् २०११ सेप्टेम्बर २९ मा अमेरिकी बैंकहरुले डेबिट कार्ड शुल्क बापत मासिक ५ अमेरिकी डलर तिर्नुपर्ने नियम घोषणा गरे । ग्राहकहरुले त्यसको ठाडो विरोध गरे । क्यालिफोर्नियाकी एक युवतीले फेसबुकमार्फत विरोध अभियान सुरु गरिन् । फेसबुक आजको अत्यधिक लोकप्रिय नभएपनि अमेरिकामा प्रभावशाली नै थियो । उनको एउटा पोष्टमा ८५ हजार भन्दा बढीले समर्थन जनाउँदै विरोध प्रदर्शनमा सहभागी हुने वचन दिए । फेसबुकमा सही, तथ्यपरक र जनभावनालाई जित्ने केवल एउटा पोष्टले कस्तो व्यापक असर गर्न सक्छ भन्ने उक्त घटनाले प्रमाणित गरेको थियो । फेसबुकको आजको लोभलाग्दो लोकप्रियताको सानो तर तरङ्गित पार्ने झिल्को त्यतिबेला नै अमेरिकामा बलिसकेको थियो ।
क्यालिफोर्नियास्थित एक आर्ट ग्यालरी सञ्चालक २९ वर्षीया क्रिस्टेन क्रिस्टियनले आफ्नो खाता भएको बैंकले डेबिट कार्ड शुल्क बापत मासिक ५ अमेरिकी डलर लिने घोषणा गरेको जानकारी पाइन् । अन्य ठूला बैंकहरुले पनि यस्तै घोषणा गरेका थिए । यसले उनलाई आक्रोशित बनायो । बैंक अफ अमेरिकाले सन् २०१२ को सुरुबाट उक्त नयाँ शुल्क लागू हुने भनेपनि त्यसको तत्काल विरोध आवश्यक भएको क्रिस्टियनले ठानिन् । उक्त नियम यस कारण पनि अविवेकी थियो कि त्यो बैंक अफ अमेरिकामा २० हजार अमेरिकी डलर भन्दा कम रकम भएका ग्राहकहरु मात्र लक्षित थियो । अन्य ठूला भनाउँदा बैंकहरुले पनि त्यस्तै नियम लागू गर्ने बताएका थिए । क्रिस्टियनको बुझाईमा उक्त नियम अमेरिकाका कामदार वर्ग र न्यून आय भएकाहरुमाथि ठाडो अन्याय थियो ।
जाजय विषयमा विरोधका आवाजहरु थप बुलन्द बनाउन उनले नवीनतासँगै प्रभावकारिता प्रदर्शन हुने पाइला चालिन् । क्रिस्टियनले २०११ अक्टोबर ४ मा एउटा फेसबुक इभेन्ट तयार गरी ठूला बैंकहरुको उक्त घोषणाको विरोधमा तिनमा भएका आफ्ना सबै खाता बन्द गरी समुदायमा आधारित क्रेडिट युनियनहरुमा रकम सार्न आग्रह गर्दै त्यसको औपचारिक विरोध कार्यक्रम नोभेम्बर ५ शनिवार आयोजना हुने भन्दै सहभागिताको लागि अनुरोध गरिन् ।
गर्वका साथ आफुलाई समुदायमा आधारित क्रेडिट युनियनको सदस्य भन्न रुचाउने उनले विरोधको त्यो कार्यक्रमलाई फेसबुकमा ‘‘बैंक ट्रान्सफर डे’ नाम दिएर पोष्ट गरिन् । एक अमेरिकी पत्रिकासँगको अन्तर्वार्तामा क्रिस्टियनले आफ्ना ५ सय फेसबुक साथीहरुलाई विरोधमा भाग लिन आमन्त्रण गर्दै अन्य सहभागीहरु बढाउने उपाय समेत प्रयोग गर्न आग्रह गरेको बताइन् । फलतः करिब १ महिनाभित्र ८५ हजार अमेरिकीहरुले बैंकहरुसँग नाता तोडेर क्रेडिट युनियनहरुसँग सम्बन्ध जोडे । उक्त घटनाको एक बर्ष भन्दा बढीको अवधिमा ६० लाख अमेरिकीहरुले आफ्नो बैकिङ स्वरुप र सम्बन्ध परिवर्तन गरेको स्वयं बैंकहरुले स्वीकारेका थिए । यसको अर्थ त्यो जनसंख्याको बहुसंख्यक क्रेडिट युनियनका सदस्य थपिए ।
क्रिस्टियनले उक्त अभियान कुनै संगठनको माध्यमबाट वा कसैको इशारामा नभई आफ्नो आक्रोश स्वरुप सञ्चालन गरेको बताइन् । बैंक ट्रान्सफर डे को निर्धारित दिन देशभर प्रदर्शनहरु भए । खासगरी ठूला बैंकहरुको गैरजिम्मेवार निर्णय विरुद्ध उनले अभियान ओकलेकी थिइन् । बैंकहरुको उक्त घोषणा विरुद्ध विरोधहरुले उग्र रुप लिदै गएपछि बाध्य भएर नोभेम्बर १ मा निर्णय रद्द गरेपनि त्यो ढिलो भैसकेको थियो ।
क्रेडिट युनियनका नवआगन्तुक सदस्यहरुले बैंकसँगको रिस साँध्ने माध्यमका रुपमा क्रेडिट युनियनको सदस्य बनेपनि पछि तिनको सहज, सरल र सदस्य मैत्री सेवाबाट अधिक प्रभावित भएको जनाए । उनीहरुमध्ये धेरै जसो युवा उमेर समूहकाहरु थिए । उनीहरुले क्रेडिट युनियनहरुबाट यस्तो भरपर्दो सेवा अपेक्षा नगरेको प्रतिक्रिया दिए । क्रेडिट युनियनसँगको उनीहरुको हार्दिकता ‘वर्ड अफ माउथ’ हुँदै राम्रो प्रचार पनि भयो ।
यो घटनासँग अप्रत्यक्ष जोडिएको एउटा प्रसंङग पनि छ । करिब २० महिनाअघि अमेरिकीहरुलाई पायक पर्ने क्रेडिट युनियन खोज्न सहज तुल्याउने उद्देश्यले एउटा वेबसाइट निर्माण गरिएको थियो स्मार्टरच्वाइस डट ओआरजी भन्ने,जसमा सरदर साप्ताहिक २ हजार जति भिजिट हुन्थ्यो, तर बैंक ट्रान्सफर डे को अघिल्लो दिन ७० हजार हिट भयो भने भोलीपल्ट ४० हजार । करिब एक महिनापछि सरदर वेबसाइट भ्रमणको संख्या करिब ६ हजार पुगेको थियो ।
त्यसबेला करिब २ महिनामा थपिएका क्रेडिट युनियनका सदस्य अघिल्लो १ वर्षमा थपिएको भन्दा बढी थियो । सदस्यता शुल्क वापत क्रेडिट युनियनहरुले साढे ४ बिलियन अमेरिकी डलर प्राप्त गरेका थिए ।
त्यसबेला सीएननको समाचारका एक पाठकले प्रतिक्रिया लेखका थिए, ‘हामी सबैले बैंक छोड्नुपर्छ । तिनीहरु फेरि लुकाएर शुल्कहरु लिन्छन् । खाल्डोबाट जोगिन क्रेडिट कार्ड छोडेर क्रेडिट युनियनतर्फ लाग्नुपर्छ ।’
अमेरिकी समाचार संस्था सीएननले त्यसबेला पोष्ट गरेको समाचारमा उक्त घटनालाई ‘बैंक डम्पिङ डेज्’का रुपमा चित्रित गरेको थियो । तर, उक्त घटनाले समुदायमा आधारित भएर ‘खरायो र कछुवा’ को कथामा झै कछुवा चालमा निर्दिष्ट लक्ष्य बोकेका क्रेडिट युनियनहरुलाई भने ठूलो सकारात्मक प्रभाव पर्यो । सदस्यको जनसंख्या अनपेक्षित बढ्दा उनीहरुलाई विकासको बुई चढ्नै पर्ने दबाब पर्यो जसले गर्दा उनीहरु गुणात्मक सुधारतर्फ मोडिए ।