शुक्रबार, वैशाख ७
११:३९

अहिले 'इमर्जेन्सी फन्ड' को योजना बनाउने समय हो

शुक्रबार, वैशाख २४
रञ्जनमणि पौड्याल
saccosaawaj

प्रकाश कोइराला
वित्तीय साक्षरता अभियन्ता

फोर्ब्स अन्डर थर्टीको सूचीमा पर्नुभयो कस्तो लागिरहेको छ ?
खुसी हुनु स्वाभाविक हो । त्यो भन्दा पनि म जे अभियानसँग जोडिएको छु त्यसमा विश्व समुदायको ध्यानाकर्षण गराउन एक हदसम्म सफल भएको छु त्यसमा बढी खुसी लागेको छ । यसमा परिवार, गुरु, आफन्तजन तथा आबद्ध भएका संघ संस्थाहरुको प्रोत्साहनले काम गरेको छ । उहाँहरु सबैप्रति कृतज्ञ पनि छु । 'फाइनान्स एण्ड भेन्चर क्यापिटल' बिधामा म र 'इन्टरटेनमेन्ट एण्ड स्पोर्टस्' विधाबाट गौरीका सिंह पनि उक्त सूचीमा पर्नुभयो, अर्को नेपाली पनि विश्व प्रसिद्ध म्यागजिनको सूचीमा पर्नुभयो झन खुसी लाग्यो ।

यो उपलब्धि पछिको जिम्मेबारीबोधले थिचेको त छैन ?
अझ बढी आत्मविश्वास बढाएको छ ।

अहिले के गर्दै हुनुहुन्छ ?
अहिले वित्तीय समावेशीकरणसँग सम्बन्धित एउटा कोर्स गर्दै छु क्यानाडामा । ७ महिना अघि यहाँ आएको हुँ अब कोर्स सकेर डिसेम्बर भित्र नेपाल फर्किसक्छु । मेरो अध्ययनको विषय अर्थशास्त्र र वित्त हो। 

पढाई र परिश्रम अनि सफलतालाई कसरी जोडेर हेर्नुहुन्छ ?
अथक प्रयासको साथ कर्म गर्दै छु, फल चाहिने बेला पाएको छु । त्यसैमा आफुलाई भाग्यमानी ठान्दछु ।

वित्तीय साक्षरताको विषयले तपाईलाई कसरी छोयो ?
मेरो गाउँको एक जना बालकको मानसपटलमा पैसाले पारेको नकारात्मक प्रभाव ले यो विषयमा काम गर्न प्रेरणा मिल्यो । सन् २००९ तिरको कुरा हो, दसैं मनाउन दोलखा घर गएको बेला छिमेकमा एक दम्पतीबीच विवाद भैरहेको सुनेँ । भोलीपल्ट उहाँहरुको छोरोसँग बुझ्दा उहाँको आमाले पैसा अभावमा मीठो तरकारी नपाएको भन्दै बुबाले बेस्सरी गाली गर्नुभयो रे ?

उक्त घटनाले मलाई के सिकायो भने उक्त दम्पतीबीचको झगडाको कारण पैसा नभएर होइन, पैसाको सही व्यवस्थापन नभएर हो । मलाई के ज्ञान थियो भने त्यो परिवार आम्दानी हुँदै नभएको परिवार थिएन । पैसाको सही प्रयोग कसरी गर्ने भन्ने चेत नभएका कारण दाम्पत्य जीवनमा एक हदको दरार आएको थियो । त्यसपछि चाहि मैले ठाने यो विषय ओझिलो हुनसक्छ किनकि यसको महत्व गाउँ शहर र कुना कन्दरामा निक्कै छ ।

साँच्चै भन्ने हो भने वित्तीय साक्षरता मेरो रगतमा नै छ । यसको श्रेय स्वर्गीय हजुरबुबालाई जान्छ । सानैदेखि घरमा हजुरबुबा र बुबाले धार्मिक पुस्तकहरुबाट सुनाउने परोपकार, दया, माया, करुणाभाव र सहयोगसम्बन्धी कथाहरुको छाप गहिरो थियो । तिनभित्र लुकेको अरुको लागि केही गर्नुपर्छ, बचत गर्नुपर्छ, न्यायी बन्नुपर्छ, आत्मनिर्भरताको मुल्य आदि नैतिक शिक्षाले अभियानतर्फ बामेसर्न सिकायो । त्सपछिको समयमा प्रेरणाको श्रोतहरुमा मेन्टरहरु जोडिनुभयो ।

वित्तीय साक्षरताको अभियानमा खटिदाँका तीतो अनुभव के रह्यो ?
कार्यक्रममा जाँदा भत्ता पाइन्छ भन्ने मानसिकताले ग्रामीण भेगमा अझै सम्म पनि कार्यक्रम गर्न असहज हुन्छ । यो कुरा गैर सरकारी संस्थाहरुले अलिकति ट्रेन्ड बिगार्नु भयो कि जस्तो लाग्छ । यो नमीठो अनुभव भएपनि एउटा एनजीओको कामको सिलसिलामा बझाङको चैनपुरमा थिए, त्यहाँ बालबालिकाहरुलाई वित्तीय साक्षरता प्रदान गर्ने काममा जुटेँ । बचेको समयमा पनि उनीहरुलाई पैसाको महत्व बुझाउने विषयमा आफुले जानेका कुराहरु सिकाएँ । यसले बालबालिकाहरुमा परिवर्तन ल्यायो, उनीहरुले खाजा खर्चबाट केही जोहो गर्न थाले । उनीहरुले बुझे, पैसा भनेको सही ठाउँमा मात्र खर्च गर्नुपर्छ ।

त्यसपछि मैले स्कूल बैंक कार्यक्रम सुरु गरेँ जुन प्रभावकारी बन्यो । बेलायती संसदबाट ग्लोबल फाइनान्स अवार्डका लागि विश्वभरबाट ९ हजार आवेदनहरु माग गरिएको जानकारीमा आयो । मैले पनि प्रतिवेदनसहित एउटा संस्थामार्फत निवेदन पठाएँ । २४ वर्षको थिए म तर पुरस्कृत पनि भएँ र बेलायती संसद भवनमा आयोजित भव्य कार्यक्रममा आफ्ना धारणाहरु राख्दै पुरस्कृत भएँ ।

त्यसपछि, बैंकहरुबाट विश्वास प्राप्त गरेँ । केन्द्रीय र अन्य बैंकहरुसँग मिलेर काम गर्न थालेँ । नेपालमा पनि नेशनल ट्यालेन्ट अवार्ड जितेको थिएँ । सन् २०१७ मा वित्तीय साक्षरतासम्बन्धी कामकै लागि हावर्ड केनेडी स्कूलबाट फेलोसिप पनि प्राप्त गरेँ ।

जब मैले फिनलिट संस्था स्थापना गरे वित्तीय साक्षरता र समावेशिताको क्षेत्रमा काम गर्ने भनेर, त्यसमा सुरुवाती चरणमा केही तितो अनुभव गर्नुपर्यो । कार्यक्रम लिएर गाउँमा जाँदा एनजीओको पैसा पचाउन आएको भन्ने आरोपहरु लागेँ । तर उद्देश्य पवित्र थियो, त्यसैले अविचलित रहेँ । प्रतिफल बिस्तारै आइरहेको अनुभूति मैले र विश्वले पनि गर्दैछ ।

सहकारी र त्यसमा पनि वित्तीय कारोबार गर्ने बचत ऋण सहकारीको सम्बन्धमा तपाईको धारणा कस्तो छ ?
विभिन्न जिल्ला को कुना कन्दरामा पुगेर कार्यक्रम गर्दा सहकारी एउटा ग्रामीण परिवेशमा अपरिहार्य बनेर बसेको रहेछ भन्ने मैले बुझेँ। लघु ऋणको उच्चतम प्रयोग गराउन सकिने हो, बचतको कुरामा चक्रवर्ती ब्याजको टेस्ट पस्किन सक्ने हो र सदस्यहरुलाई वित्तीय साक्षरताको माध्यमबाट वित्तीय सक्षमता तिर लम्किन सहयोग गर्ने कुराले दिगोपन दिने हो भने सहकारी वित्तीय समावेशीकरणको अभिन्न अंग हुन्छ भन्ने लाग्छ ।

हिजोआज सहकारीमार्फत ऋण लिएर तिर्न नसकेको वा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसकेको भन्ने समाचारहरु आइरहँदा वित्तीय साक्षरताको विषयलाई ऋणको सदुपयोगिता वा बचतको बानीसँग कसरी जोड्न सकिन्छ ? ऋणको सिद्धान्तले ऋणले ऋणीलाई धनी बनाउनुपर्छ भन्छ तर त्यसो हुन किन नसकेको होला ?

हामीले कुनै पनि बैंकिंग सेवा सुबिधाको प्रयोगमा सदस्यलाई घचेट्नु अगाडि वित्तीय शिक्षाको माध्यमबाट उनीहरुलाई भविष्यसँग जोड्न सक्नुपर्छ। यहाँ भविष्य भन्नाले उनीहरुको ज्ञान, सिप र आत्मविश्वास दह्रो बनाउन सकेको खण्डमा मात्र हामीले दिएको सेवा प्रभावकारी हुन सक्छ अन्यथा ऋणको पासोमा अल्झाउने साङ्ग्लो मात्र हुन पुग्छ। 

हामीले ऋण त दियौं तर ऋणको सदुपयोगिता सम्बन्धमा सिकाउन सकेनौं । किस्ता तिर्न ताकेता त गर्छौं तर समय समयमा उनीहरुको व्यावसायिक योजना वा ऋणको उद्देश्य सरल भएको छ कि छैन भनेर सोध्न सक्दैनौ, आँट गर्दैनौं वा संस्थाले त्यो पाटोमा जान आँट गर्दैन्। फलस्वरूप ऋणको नकारात्मक असर बढ्दो छ ।    

तपाई नेपालमा रहँदा सहकारी वा बचत ऋण सहकारी अभियानसँग पनि वित्तीय साक्षरताको विषयलाई लिएर जोडिनुभएको थियो, यससम्बन्धमा केही बताइदिनुहुन्छ कि ?
मैले जहिले पनि भन्ने गरेको छु सहकारीको सिद्धान्तले नै Member Protection र Member Awareness को कार्यक्रम अगाडि बढाउन सजिलो बनाउँछ। त्यसैले हामीले ग्रामिण भेगमा कार्यक्रम गर्दा मैले सहकारीसँगको समन्वयमा विभिन्न चरणका कार्यक्रमहरु गरेँ, जुन धेरै मात्रामा सफल पनि भए ।

कोभिड संक्रमणले आर्थिक संकुचनहरु निम्त्याइरहेको समयमा वित्तीय साक्षरता र समावेशीताका विषयहरु झन महत्वपूर्ण बन्दैछ । यस्ता प्राकृतिक विपत्तिहरुको सयममा के कस्ता वित्तीय सावधानी अपनाउनुपर्ला ?
यो समय भनेको हामीले Emergency Fund को बारेमा सोच्ने र योजना बनाउने हो। आज नभए पनि यस्तै विपतको बेला सहज हुन्छ भनेर बुझ्ने बुझाउने बेला हो । परिवार सँग बसेर पारिवारिक बजेट हेरफेर गर्ने, लक्ष्य पुनर्विचार गर्ने, आम्दानीको नँया श्रोत पत्ता लगाउने, आफ्नो छोराछोरी वा परिवारका सदस्यसँग पैसाको बारेमा कुराकानी गर्ने यो सही बेला हो जस्तो लाग्छ । 

व्यक्तिगत सन्दर्भमा भन्नुपर्दा २१ वर्षको हुँदादेखि नै वित्तीय समावेशीता मेरो अन्तर्यमा पसिसकेको थियो । जबसम्म वित्तीय समावेशीतासँग पिछडिएका तथा अल्पसंख्यक, समुदायको पीधँमा रहेकाहरु सही र अर्थपूर्ण रुपमा जोडिन सक्दैनन वा सरकारी, सहकारी तथा यस्तो विषयमा काम गर्ने अन्य निकायहरुको साँच्चिकै प्रयास रहदैन तबसम्म वित्तीय सक्षमता अलि टाढाकै विषय बन्छ भन्ने लाग्छ ।

फिनलिटको योजना के छ ?
आगामी दिनमा बिभिन्न सहकारी, बैंक तथा वित्तीय संस्थासँगको समन्वयमा वित्तीय साक्षरताको कार्यक्रम अगाडि बढाऊँदै जाने छौ। एकल प्रयासबाट भन्दा पनि सामुहिक प्रयासमा यो विषयसँग जुध्नु पर्ने बेला जो छ।
 

गरिबी र वित्तीय साक्षरताबीचको सम्बन्ध के कस्तो छ ?
अन्योन्याश्रित सम्बन्ध छ। पैसाको महत्व बुझ्दै यसको सदुपयोगिता मात्रै गरिबीको दुस्चक्रबाट निस्कने एकमात्र निर्विकल्प उपाय हो । मैले मेरै आँखाले धेरै परिवारको आर्थिक परिवर्तन प्रत्याभूत गरेको छु ।  

सहकारी क्षेत्रमा वित्तीय साक्षरताको खाँचो कस्तो पाउनुभएको छ ?
इमान्दार भएर भन्ने हो भने यो विषयलाई हलुकारुपमा लिएमा सहकारीको सदस्यको भविष्य अन्धकार छ। अन्ततोगत्वा सहकारी विकास वा विनाशसँग जोडिएको छ यो विषय। 

सहकारीले पिछडिएका क्षेत्रका मानिसहरुको वित्तीय पहुँच बढाउन के गर्न सक्छ ?
आज बाट नै भैसकेका सदस्य र सम्भावित सदस्य लक्षित वित्तीय साक्षरतासँग सम्बन्धित अभियान चलाउन जरुरी छ ।

वित्तीय साक्षरता र पहुँचका आधारभूत कुराहरु के हुन ?
सदस्यहरुको ज्ञान, आत्मविश्वास र सीप वित्तीय साक्षरता र पहुँचका आधारभूत कुराहरु हुन् । 

सहकारी र त्यसमा पनि बचत ऋण सहकारीहरुले वित्तीय समावेशीता, वित्तीय पहुँच र वित्तीय साक्षरताका विषयलाई कसरी अघि बढाउन सक्छन् र?
एकैचोटी धेरै गर्न खोज्नु भन्दा १०० जनाको समुदायमा बालबालिका सहितको वित्तीय साक्षरता सम्बन्धित विभिन्न कार्यक्रमहरु गरेर त्यसको सफलताको कथा अरु ठाउँमा प्रस्तुत गर्न सक्नु पर्छ। हेक्का राख्नुपर्ने कुरा भनेको वित्तीय साक्षरता एकैचोटीको प्रयासमा नतिजा निकाल्न सकिने बिषय हैन। यो आफैंमा एउटा निरन्तर प्रक्रिया हो।

सहकारीको आधारभूत सिद्धान्त नै बचत गर्ने बानीको विकास गर्ने, मितव्ययीता सिकाउने, पारिबारिक बजेट निर्माण गर्न सघाउँदै सदस्यहरुको आर्थिक सामाजिक जीवनस्तर उकास्ने भएकाले त्यसतर्फ उनीहरुले के कस्ता योजना निर्माण गरेर अघि बढ्न सक्छन् ?
तपाईंले सोध्नु भएको प्रश्नमा नै एउटा अनुशासन थपियो भने आफ्नो जीवनस्तर उकास्न सकिन्छ। मैले भन्ने गरेको छु, यो आफैंमा हामीले दैनिक नित्य कर्म गर्ने जस्तै एउटा अनुशासन बनायौं भने सहज हुन्छ। 

फिनलिकोको सम्बन्धमा पछिल्लो केही जानकारी र यसमा समावेश केही सुत्र वा गुह्य कुरा जुन थोरै हामीलाई सेयर गर्न मिल्छ ? 
वित्तीय साक्षरतासम्बन्धी मैले लेखेको पुस्तक हो । यसमा हातले चित्र कोरेर पैसा चलाउने उपाय, खर्च व्यवस्थापन, ऋण लगायतका विषयहरु सरल तरिकाले बुझाउने गरी पठन सामाग्री तयार गरेको छु । सहकारीहरुले अनुरोध गरेको खण्डमा Free of Cost उपलब्ध गराउन सक्छु।  

तपाई कुनै बचत ऋण सहकारीको सदस्य वा अन्य कुनै भूमिकामा हुनुहुन्छ ?
म एउटा बचत ऋण सहकारीको सदस्य  छु। 


 

saccosaawaj media

ऋण संघ ऐन (Credit Union Act) को आवश्यकता

सोमबार, साउन ५

निवर्तमान अध्यक्ष, नेफ्स्कून

saccosaawaj media

सहकारी मर्जरका लागि उत्प्रेरित नभए सरकार दबाब दिन बाध्य हुने

सोमबार, साउन ५

डा. टोकराज पाण्डे रजिष्ट्रार, सहकारी विभाग

saccosaawaj media

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५

दिगो विकास लक्ष्य र सहकारी