शनिबार, वैशाख ८
०२:४२

एक कोभिड भोक्ताको अनुभूतिः अदम्य आत्मबलले जितेँ  

सोमबार, वैशाख २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

खिलनाथ लुँइटेल

हाल विश्वमा द्रुततर फैलिरहेको कोभिड महामारी नियन्त्रण र रोकथामका लागि अनेकन प्रयास जारी छन् । नेपालमा नचाहँदा नचाहँदै पनि नयाँ भेरियन्टसहितको दोस्रो लहरले प्रभाव जमाउँदैछ । गाँस, बास र कपासभन्दा सासका लाग अक्सिजन सिलिन्डरको जोहो गर्नुपर्ने बाध्यता बाक्लिदो छ । आज हामी सबै जहाँ जेजस्तो अवस्थामा छौं, सुरक्षित रही अरुलाई पनि सुरक्षित रहन सहयोग गर्नुपर्ने नागरिक दायित्व पूर्ण रुपमा निर्वाह गर्नुपर्ने अवस्थामा छौं । 

कोभिडको प्रभाव नेपालमा पहिलो चरणमा सुरु भएपछिको एक भोक्ता भएका कारण पनि यो अनुभूति अरुका लागि पठनीय र सावधानीका लागि काम लाग्न सक्ने विश्वाससहित अक्षरखेतीको प्रयास गरेको छु । कोभिडलाई हल्का रुपमा नलिई एकदमै सावधानीका साथ जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने आवश्यकता आलेखको आशय हो । युवावस्थामा रहेको मलाई त यसले विगतमा नराम्ररी गाल्यो, शरिर शिथिल बनायो, कमजोरीले दीर्घपीडा दियो भने पाको उमेर समूह र स्थायी रोग भएकाहरुलाई त यसले झनै हम्मेबनाउँछ । त्यसैकारण यसलाई वेबास्ता गर्ने अनि ‘मलाई त के नै हुन्छ र ?’ भन्ने अवस्था बिलकुलै छैन । परिवार, आफन्त, शुभेच्छुक र कार्यालयको साथ, सहयोग र आत्मबलले अन्ततः मैले कोभिडमाथि विजय प्राप्त गरेरै छोडेँ तर पुनः देखिएको नयाँ भेरियन्टका कारण कठिनाइपूर्ण ति दिनहरुको स्मरण आज एकपटक ताजा हुन पुगेको छ । 

गत बर्ष चैत्र ११ देखिको लकडाउनका कारण घरमै थिएँ । कार्यालयले पनि सीमित कर्मचारीहरुबाट काम सञ्चालन गर्ने निर्णय गर्यो । समय काट्न कठिन भयो । के गर्ने, कसरी दिन काट्ने, घरमा बस्ने बानी थिएन । छुट्टीको दिन पनि सधै घुमफिर वा भेटघाटमा समय बिताउने बानी थियो । यस्तो परिस्थिति आउला भन्ने कल्पनाभन्दा बाहिरको कुरा थियो । सायद सबैलाई गाह्रो भयो पनि होला सुरुवाती समयम बिताउन । त्यसैले कहिले पुस्तक पढ्ने, कहिले फिल्म हेर्ने, समसामयिक विषयका जानकारी लिने र कार्यालयका कामहरु गर्ने आदि दिनचर्या बन्यो ।  लकडाउनको एक महिना पश्चात कार्यालयको काममा भर्चुअल प्रविधिबाट जोडिई निरन्तर कार्य सम्पादनमा लागेँ । राष्ट्रिय अन्तर्राष्ट्रिय  घटनाक्रमहरुबारे अद्यावधिक भइरहन्थे । कतिपय समाचारले तनाव बढाउदथे भने कतिले सान्त्वना दिने र उत्प्रेरित गर्ने काम गर्दथे । प्रतिकूलतालाई अनुकूलतामा बदल्ने प्रयास भइरहेको थियो । समय बितेसंगै लगभग तीन महिनाको घर बसाई पश्चात लकडाउन खुल्यो र कार्यालयमै उपस्थिति भई कामलाई कार्यलयबाटै निरन्तरता दिन थाले ।

भौतिक रुपमा कार्यालय उपस्थिति भएको चार महिना नबित्दै असोज महिनामा म पनि यस महामारीबाट संक्रमित भए । जे नचाहेको थिए अन्ततः त्यही भयो । संक्रमितको संख्यामा म पनि जोडिए । कसरी सर्यो पत्तै भएन । सकेसम्म सजगता अपनाएको थिएँ जस्तो लाग्थ्यो । यो रोग नै यस्तै रहेछ, कुन बेला लाग्छ वा सर्छ भन्नै नसकिने । कार्यालय आउँदा जाँदा, खाजा खाँदा वा कामको सिलसिलामा तलमाथि गर्दा सकेसम्म सावधानी अपनाएको थिएँ जस्तो लाग्छ । तर, कसरी कोमार्फत संक्रमणले बास गर्यो हेक्का भएन । समय यस्तो भयो सबैभन्दा निकट परिवारजनसँग पनि टाढा हुनुपर्ने, फेरि अहिलेको जस्तो अवस्था त्यति बेला थिएन किनभने पहिलो लहर थियो । हामी सबैमा रोगलाई होइन संक्रिमतलाई छिः छिः दुरदुर गर्दै सामाजिक बहिष्करणको पनि भय थियो । अहिले भने त्यो हदसम्मको परिस्थिति छैन र त्यसो गर्न साध्ये पनि छैन ।

आफ्नैसंग टाढा हुनुपर्ने, घर परिवारलाई अनि समाजमा फैलने डर पनि थियो । फेरि काठमाडौंमा डेरामा बस्नेहरुका थप कठिनाईहरुको भुक्तभोगी म पनि थिएँ । बिस्तारै शरिर गल्न थाल्यो । निक्कै नै असहज बनायो भन्दा अत्युक्ति नहोला । कोरोना लाग्ने दिन बिहानसम्म स्वस्थ देखिएको मलाई एक छिनपछि एकाएक ज्वरोले समात्यो । सुरुवातमा कमै थियो पछि विस्तारै बढ्न थाल्यो । त्यसले सशंकित तुल्यायो । ‘कतै मलाई कोरोना त लागेन ?’ सामान्यतया ज्वरो आइरहने मलाई त्यही प्रश्न मनमा गढ्योँ । दुई दिनसम्म ज्वरो नघटेपछि अस्पताल गएँ र कोरोना परिक्षण गरेँ । भोलिपल्टको रिपोर्ट पोजेटिभ आयो । आफु र घर परिवार सबैमा एक किसिमको सन्नाटा छायो । कारणको खोजी हुनथाल्यो । तर पनि अरु धेरैजनामा पहिले नै देखिएर निको पनि भैसकेको हुनाले धेरै तनाव नलिने निश्चय मनमनै गरेँ । अब के गर्ने ? कसरी यसबाट घर र छिमेककाहरुलाई सुरक्षित राख्न सकिन्छ ? अनि सुरक्षित रही चाडो भन्दा चाडो यसलाई निको पार्ने, औषधी के लिने भन्ने विषयमा चिकित्सकसँग सुझबुझपूर्ण सल्लाह लिएँ ।

तनाव लिएर बस्ने अवस्था थिएन, डाक्टर सहित सबैको सल्लाह बमोजिम घरमै एउटा कोठामा आइसोलेटेड भएर बस्न थालेँ । आफुले प्रयोग गर्ने हरेक सामाग्री कसैलाई छुन दिइन र आफैले सरसफाइ गरेँ । सुरुवाती दिनमा ज्वरो मात्र देखिएकोले सामान्य औषधि सेवन गरेर आराम गरेँ । सबैको सल्लाह बमोजिम चाँडै तङ्ग्रिन खानामा नै जोड दिनुपर्छ भन्ने थियो, त्यसैले खाना बढी खान थालेँ । बढी भन्दा बढी तातो सुप, नरम किसिमका वा गलाएर बनाएको खानेकुराहरु बढि मात्रामा खान थालेँ । त्यसको केही दिनपछि ज्वरो घट्दै जान थाल्यो । ज्वरो त कम भयो तर त्यसको दुई दिन पश्चात शरीर दुख्न सुरु भयो । शरीरका हरेक भाग र जोर्नी दुख्न थाले । शरीर यसरी दुखेको कहिल्यै थाहा थिएन । शरीर उठाएर हिड्दा, हिडेको हिडै, सुत्दा सुतेको सुत्यै, बस्दा बसेको बस्यै, दायाँ बायाँ गर्दा धेरै गाह्रो हुन्थ्यो जुन अहिले कल्पना गर्दा पनि सिरिङ्ग हुन्छ । कोभिडले शरीरलाई नै यसरी कमजोर बनाई उठ्न बस्न नसक्ने अवस्थामा पुर्याउँदो रहेछ भन्ने भान भयो ।

असह्य पीडा सहनुको विकल्प थिएन । घर परिवारसँगै भएपनि कोठामा एक्लै थिएँ । दिन काट्न मुश्किल हुन्थ्यो । कहिले सुत्ने कहिले बाहिर कौसीमा निस्कने गर्दथे । कोभिडले शारिरिक कमजोरी बनाएकाले धेरै हिडडुल गर्न पनि गाह्रो हुन्थ्यो । स्वास प्रश्वासमा समस्या हुने डरले हरेक दिन दिनमा ३–४ पटक सम्म तातो पानीले वाफ लिने गर्दथे । तातो पानी पनि धैरै खाने गर्दथे यसरी एक हप्ता सम्म दुखाईले सतायो तत् पश्चात १४ दिनको दिन शरिरमा त्यस्तो केहि असहजता नभएकोले कोभिड चेक गर्न गए । भोलिपल्ट रिपोर्टमा फेरी पोजेटिभ देखियो ।

त्यसै बेला दसैले छोप्यो । दसैको समय सबैतिर रमाइलो थियो तर मेरो परिवारमा नरमाइलो थियो । रमाइलो गर्ने रहर कसलाई पो हुदैन र ? वर्षमा एकपटक आउने चाड अर्को वर्ष पुनः आउँछ तर महामारीले यदि केही भयो भने त सबैमा तनाव हुन्छ । त्यसैले चाडवाड भन्दा मलाई कोभिडबाट मुक्त हुनुपर्ने कुरामा विशेष ध्यान थियो । त्यसैले दसैमा सबैजना घरमै बसियो । अलिकति सुख र धेरै दुःख गरेर दसै मनाइयो ।  

दोस्रो पटक पनि पोजिटिभ देखिदा तनाब उकालो लाग्यो । विकल्प थिएन त्यसैले परिस्थितिलाई सम्हाल्दै फेरि क्वारेन्टीनमा सुरक्षित भएर रहेँ । दुखाई समाप्त हुन नपाउदै रुघाखोकीले समात्यो । यो के भएको होला ? कस्तो हो ? यो एक पछि अर्को गर्दै आउँदो रहेछ भन्ने मनमा कुरा खेल्न थाल्यो । खोकीले त त्यति धेरै गाह्रो बनाएन तर रुघाले निक्कै असहज तुल्यायो । न रातमा सुत्न सकिन्छ न दिनमा, असाध्यै गाह्रो बनायो रातको समयमा सुत्ने बित्तिकै दुवै नाक बन्द हुने, उठ्यो हल्का खुलेको जस्तो हुन्थ्यो । त्यही रुघा र स्वास प्रश्वास को लागि हरेक दिन तातो वाफलाई निरन्तरता दिइरहेकै थिए त्यसो गर्दा पनि निको हुने छाँटकाँट देखिएन । खानाको मात्रा कम गरेको थिइनँ किनकी शरिरमा भाइरसले छोडेको थिएन । शरिरलाई भाइरसबाट बचाउन बढिमात्रामा खाना आवश्यक पर्दोरहेछ । त्यस्तै ११–१२ दिनदेखि जिब्रोले स्वाद कस्तो हुन्छ भन्ने थाहा पाउन छोड्यो । खाना खाएको जस्तो हुन छोड्यो ।

 भिटाभिन, तागतिलो खानेकुरा (अरु भन्दा बढि मात्रामा गेडागुडीको रस) दिनहुँ जसो खाएँ । सबैले पन्ध्र दिन पछि रिपोर्ट राम्रो आउछ चेक गर्दा हुन्छ भनेका कारण २३ औं दिन पुनः तेस्रो पटक चेक गर्न अस्पताल गए र स्वाव दिए । रिपोर्ट फेरि पोजिटिभ देखियो । यसले त झन परिवारमा सन्नाटानै छायो । यतिका दिनसम्म पनि शरिरमा भाइरस कायमै रहेको देखायो ।  भाइरसले शरिरका हरेका भागलाई  नाजुक अवस्थासम्म पुर्याउँदछ भन्ने भएकोले खाना र सरसफाइमा विशेष ध्यान दिइरहेँ । परिवार सबैलाई सजग हुन, नआत्तिन भन्दै आग्रह समेत गर्दथेँ । समय धेरै भइसकेकोले तनाव बढ्नु स्वाभाविक थियो ।

यद्यपि, मलाई बस्तारै भाइरसले छोड्दै गएको भान भने हुन थालेको थियो किनकि शरिर हुलुका हुँदै गएको थियो । रुघा पनि कम भयो ।  रुघा भएकोले हुन सक्छ मेरो रिपार्टमा तेस्रो पटक पनि पोजिटिभ नै देखिएको थियो । त्यसैले मैले बुझेँ, शरिरमा देखिएका सबै लक्षण पूर्ण नहटेसम्म परिक्षण नगर्दै राम्रो हुने रहेछ । यसरी कोभिडबाट ग्रसित भएको समयसंगै घरमै आराम गरिर बसिरहे । शरिर पनि धेरै हलुका हुदै गयो अनी रुघाले पनि छाड्दै गयो । यति बेला सम्म पनि मैले खाना र सरसफाई देखि अन्य जे जे गरिरहेको थिए त्यसमा कुनै कमि गरिनँ । यसरी शरिरमा सबै कुराको हटेको महसुस भएपछि ३० औ दिन पुनः परिक्षण गराएँ र भोलिपल्ट रिपोर्ट नेगेटिभि आयो । म कोरोना मुक्त भएँ । परिवारमा खुसी छायो । म पनि आवरणमा खुसी नै थिएँ तर भित्र स्वास प्रस्वासमा बेग्लै समस्या भने बाँकी नै थियो । 

हिड्दा डुल्दा विस्तारै हिड्नुपर्ने छिटो हिड्यो कि गाह्रो महसुस हुने हुन्थ्यो । त्यसैले हामीले हरेक समय खानेकुरामा विशेष ख्याल गर्नुपर्ने रहेछ । शारिरिक कमजोरीलाई विशेष ध्यान दिनुपर्ने रहेछ । कोभिड शरिरमा नभएपनि शारिरीक कमजोरी लामो समयसम्म रहने भएका कारण हामीले बेलैमा ख्याल गरी रोग लाग्न नदिनु नै उत्तम हो भन्ने बुझ्नुपर्छ ।  कोभिड संक्रमित भइहालेमा हतोत्साही नभई विशेष ख्याल गर्नुपर्दछ । हाल सरकारले जारी गरेको निषेधाज्ञाको पूर्ण पालना गरी सकेसम्म घरमै बस्नुपर्ने उत्तम हुन्छ । संकटको समयमा सरकारको प्रयासमा नागरिकका हरेक तह र तप्काबाट पनि स्वास्थ्य मापदण्ड पालनासहित परिवार र आफन्तमा व्यापक जनचेतना फैलाउने भूमिका महत्वपूर्ण हुन्छ । त्रासभन्दा शिक्षा, सावधानी र सचेतना अहिलेको आवश्यकता हो । पूर्वसावधानीका उपायहरु अवलम्बन गर्ने काम महत्वपूर्ण हो । 
घरमै बसौं, सुरक्षित रहौं ।

(लेखक नेफ्स्कूनका बरिष्ठ तालिम सहायक हुनुहुन्छ ।)

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ