शुक्रबार, वैशाख ७
०२:०१

‘आत्मसम्मानमा कुनै दाग लाग्न दिइनँ’

आईतबार, वैशाख १२
रञ्जनमणि पौड्याल
saccosaawaj

काठमाडौं । “राजधानीको चाबहिलस्थित ओम अस्पतालमा उपचाररत बुवाको अवस्था नाजुक भएपछि सबैको सल्लाहमा अबेर राती पशुपति आर्यघाटस्थित घाटे वैद्यकोमा लगेर दश दान गरायौं, बिहान करिब ४ बजेतिर बुबाले अन्तिम सास फेर्नुभयो । सुगर, प्रेसर  र मुटुआदिको दीर्घ रोगबाट थलित आमा र ढाड अनि नसा रोगले पीडित बुबाको ११ महिनाको फरकमा निधन भयो । हामीले जीवनमा सबैभन्दा पुज्ने र आदर्श मान्ने दुई अभिभावकसँगै पथप्रदर्शक गुमायौं ।” जीवनभर पद र चर्चाको शिखरमा रहनुभएका नेपालको सहकारी र राजनीतिका असल व्यक्तित्व स्वर्गीय भोजराज घिमिरेको उत्तरार्ध स्मरण गर्नुहुन्छ बुहारी बिमला घिमिरे । 

२०७२ साल भदौ ३१ गते पत्नी उमा गमाउनुभएका भोजराज घिमिरे २०७३ साउन १८ गते भौतिक संसारबाट बिदा हुनुभयो । पत्नी वियोगले पिल्सिनुभएका घिमिरेले ओछ्यान परेको बेला घोष्ट राइटिङ गर्नुभएको १ सय ५ पृष्ठको आत्मवृत्तान्त ‘मोडहरुमा म’ पत्नी उमालाई सर्मपण गरिएको छ भने बुहारीको बयान र निकटतम आफ्न्तहरुको आडभरोसाको चर्चा गरिएको छ ।

झंझट नमानी बुहारीको धर्म निर्वाह गर्ने बिमला घिमिरे अनि छोरा किरण र दुई नातीहरुसँगै छोरी ज्वाईहरु र भाइ भतिजाहरुको निकटतम आफ्न्तको घेराभित्र भोजराज घिमिरेले जीवनको उत्तरार्ध बिताउनुभयो । बुहारी बिमलालाई त उहाँले आमाको उपमा समेत दिनुभएको छ पुस्तकमा । “मैले मेरो धर्म मात्र निर्वाह गरेकी हुँ” बिमला सुनाउनुहुन्छ ।जतिसुकै चर्चित र ख्यातिप्राप्त व्यक्ति भएपनि रोगहरुले शरिरमा शासन चलाएपछि र जिम्मेवारीबाट बिदा लिएपछि हेरविचार गर्नेहरुको संख्या घट्दै जाने पक्का रहेछ । भोजराज घिमिरेको जीवन पनि अलग हुन सकेन । 

उत्तरार्धलाई इंगित गर्दै पुस्तकमा घिमिरे लेख्नुहुन्छ, “यतिखेर मेरो जीवनको सर्वाधिक सुखद पक्ष भनेको मेरी बुहारी विमलालाई आमाकै रुपमा पाउनु हो । विमला मेरी बुहारी भएर पनि मेरो सेवा गरिरहेकी छिन्, मेरो आमा बनेर स्याहारिरहेकी छिन् । आजको समयमा सासू, बुहारी, छोरा र बाबुबीच आत्मीय सम्बन्धमा चिरा परीरहेको चर्चा धेरै सुन्ने गरिन्छ, पढिन्छ । एकै परिवारका यी सदस्यबीच असन्तुष्टि, अमेलका घटना सुनिन्छ । तर, मलाई लाग्दैन त्यस्तो नि हुन्छ भन्ने । बुहारी आमाको रुप पनि हो भन्ने तथ्य यतिबेला म आत्मसात् गरिरहेको छु । म अनुभूत गरिरहेको छु, उमाको अवसानपछिको स्थितिमा यदि बुहारी विमला नहुँदी हुन् त मेरो अवस्था कस्तो हुन्थ्यो होला ? सोच्दा मात्रै पनि कहाली लागेर आउँछ । तर, मेरो अहोभाग्य मैले विमलाजस्ती बुहारी पाएँ जो नाताले बुहारी भएपनि कर्मले आमा हुन्, यो स्वीकार गर्दा सायद अतिरञ्जना नहोला ।

आज छोरो किरण, बुहारी विमला, नातिहरु अभिषेक र आकृष्ट मेरै वरपर रहन्छन् । मेरो नित्यकर्म व्यवस्थापनदेखि खानपानको समेत जिम्मेवारी यिनै चारको काँधमा छ । खोई यिनले लगाएको गुन मैले तिर्न सकुँला कि नसकुँला ? अझै विमलाको ऋणी म जन्म जन्मान्तर रहनेछु ।  उत्तरार्धमा रोगले ओछ्यान पर्नुभएका घिमिरे पुस्तकमा लेख्नुहुन्छ, “आज म ओछ्यानमा थलिएको छु । आफ्नो कर्ममा हमेसा सक्रिय रहने मेरो दिनचर्या एउटा कोठामा सीमित भएको छ । म पूर्णतः आश्रित भएको छु छोरा किरण, बुहारी विमला, नातिहरु अभिषेक र आकृष्टमाथि । यी चारैका जिम्मामा मेरो जीवन चलिरहेको छ । मेरो धर्मपत्नी उमा रहँदा उनले केही नगरेपनि उनको साथ, आडभरोसा पूरा थियो मलाई । अब त त्यो पनि टुटेको छ ।”

घिमिरे अगाडि लेख्नुहुन्छ, “तर, यतिखेर अनुभव हुँदै छ, जीवनको उत्तरार्धतर्फको यात्रामा आफ्नो शक्ति, क्षमताभन्दा रोगव्याधको वर्चश्व अधिक हुन्छ । तिनको वर्चश्व यतिबेला कायम रहेको छ । र, म ओच्छ्यानमा लडेको छु । बढ्दो उमेरसँगै विभिन्न रोगहरुले गाँज्दै लगेपछि मेरो सक्रियता पारिवारिक क्रियाकलापमै सीमित हुँदै गयो । घरपरिवार, पत्नी, छोराछोरी, नाति नातिनाबीच हिँडेको जीवनयात्रामा उत्साह बढी हुन्छ । त्यही उत्साहले रोगलाई थिच्दै जीवन गतिमान थियो । कहिलेकाहीँ त्यो गतिलाई रोगले थिच्थ्यो । कहिले ह्दय रोगका कारण, कहिले प्रोस्टेट ग्ल्यान्डको शल्यक्रियाका कारण, कहिले अरु कुनै व्यथाका कारण । र, पछिल्लो समय ढाडको समस्याले मलाई थला पारेको छ । सर्वथा कामलाई महत्व दिने म, भोजराज घिमिरे, रोगकै कारण घर र अस्पतालको यात्रामा सीमित भएको छु ।”

दुःख पर्दा परिवारभन्दा ठूलो कोही हुँदैन । घिमिरेको जीवनमा पनि परिवारप्रेम अगाध रह्यो । उहाँ भन्नुहुन्छ, “छोरीहरु निर्मला र ज्वाइँ भुवन ओझाजी, सविता र दीपक खतिवडाजी र सविना र डा.रामकृष्ण न्यौपानेजीको सेवा, साथ र सहयोग बन्दनीय छ । भाइ श्रीकृष्ण घिमिरे मसित अत्यन्त निकट भएर रहे । चाहे औरहीमा रहँदा होस् वा काठमाडौंमा, उनी जहिले मेरो दाहिनेहात नै भएर रहे । भाइहरु ऋषिराज घिमिरे, भरत घिमिरे र नारायण घिमिरेले पनि मलाई हरदम साथ र सहयोग दिइरहे । वास्तवमा ऋषि, भरत, नारायण, विपिन र सिसमको प्रशंसाका लागि मसँग शब्द नै छैन । आज म ओछ्यानमा सुतेर बोलिरहेका छु । राजेशजी लेखिरहनुभएको छ । वस् मेरो जीवन यसरी नै अघि बढिरहेको छ, आफ्नाहरुको साथ र सहयोगमा । मेरो जीवनको अनगिन्ती मोड, सम्झना र संस्मरण पुस्तकाकारको रुपमा आउनुमा भाइ ऋषिराज घिमिरे र ज्वाइँ भुवनप्रसाद ओझाको उल्लेख्य साथ र सहयोग रहेको छ । उहाँहरुले नै मलाई उत्साहित तुल्याउनुभएको हो ।”

मिठो मसिनोका पारखी

घिमिरेको जीवनको उत्तरार्धमा सम्भवतः सबैभन्दा नजिक रहनुभएकी बुहारी बिमला ससुराको बानी सम्झदै भन्नुहुन्छ, “खानामा थोरै तर मिठो मनपराउने बुबालाई दही र माछा बिशेष मनपर्दथ्यो । सरसफाइमा पनि उहाँ निक्कै ध्यान पुर्याउने स्वभावको हुनुहुन्थ्यो ।” साझा स्वास्थ्य सेवामा कार्यरत बुहारी विमलाले साकोस आवाजसँग टेलिफोन संवादमा भन्नुभयो, “बुवालाई अत्यन्त सफा सुग्घर चाहिन्थ्यो । बिरामी भएर उठ्ने नसक्दा पनि बुवालाई दिनहुँ लुगा फेर्ने र पारिवारिक सहयोगमा नुहाउने गरिएको थियो ।” ढाडसँगै नसाको समस्याका कारण जीवनको उत्तरार्धका २ वर्ष त खुट्टै नटेकिएको बुहारीले बताउनुभयो । जसका कारण शौचकार्य समेत अरुको सहयोगमा गराउनुपरेको थियो । पत्नीमा पनि स्वास्थ्य समस्या भएका कारण घिमिरेको रेखदेखको सम्पूर्ण जिम्मेवारी बुहारी बिमलाको थियो जसलाई उहाँले कुनै खोट नलगाउने तवरले निभाउनुभएको पुस्तक पढ्दा प्रष्ट हुन्छ । 

फुर्सदमा पत्रपत्रिका र टेलिभिजन हेर्न मनपराउने घिमिरे घरायसी व्यवहारका विषयमा पनि सधै चासो राख्नुहुन्थ्यो भने आफ्नो जिम्मेवारीमा सधै सक्रिय र सर्तक रहने बानी भएको बिमलाले जानकारी गराउनुभयो । ठूलो नाती अभिषेक २२ वर्ष र सानो आकृष्ट १८ वर्ष हुँदा हजुरबुबाको निधन भएकाले उनीहरुमा हजुरबुबासँग विताएका पलहरुको गहिरो छाप अहिलेसम्म परेको छ । बुहारी विमलाले भन्नुभयो, “नातीहरु बुबा भन्दा हजुरबुबासँग बढी झुम्मिेन्थे ।”

आत्मवृत्तान्त ‘मोडहरुमा म’ 

२०७२ साल माघ १५ गते प्रकाशित १ सय ५ पृष्ठको आत्मवृत्तान्त ‘मोडहरुमा म’ को सम्पादन राजेश खनालले गर्नुभएको छ भने प्रकाशक भुवनप्रसाद ओझा र डा. रामकृष्ण न्यौपाने हुनुहुन्छ । १ सय ५ पृष्ठ (अन्तिम केही पानामा तस्बिरहरु समावेश) मा १७ वटा शीर्षकहरुभित्र घिमिरेको जीवन लगभग अटाएको छ । घिमिरेको एक मात्र कृतिको जन्म नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे समेतको जोडबलमा भएको थियो । २०७३ साल बैशाखमा पुस्तक विमोचन भएको थियो, २०७३ साल साउन १८ मा उहाँको निधन भएको बुहारी बिमलाले सुनाउनुभयो ।

हुन पनि ठूलो राजनीतिक र सामाजिक जिम्मेवारी सकुशल बहन गर्नुभएका व्यक्तित्वको जीवनी पुस्तौ पुस्तासम्म सुरुचिपूर्वक पढ्ने र पाठ सिक्ने अवसरबाट बञ्चित गरिनु कहाँ पो न्यायोचित हुन्थ्यो र ?२०२८/९ भदौमा सहायकमन्त्री, २०३० सालमा खाद्य, कृषि, सिँचाई मन्त्री, सोही वर्ष गृह, कानुन तथा न्याय मन्त्रीमा नियुक्त घिमिरेले २०७३ सालमा प्रकाशन गरेको पुस्तकमा समाविष्ट उहाँको भूमिका र स्वभाव अनि निर्णयहरुबारे आजसम्म कसैले औला उठाउन सकेको छैन । त्यो भन्दा ठूलो प्राप्ति जीवनमा अरु के नै हुनसक्छ र ? पुस्तकमा उहाँ लेख्नुहुन्छ, “म जहाँ जहाँ जिम्मेवारी लिएर बसेँ, त्यो–त्यो ठाउँमा मैले काम पनि खटेर गरेँ । जिम्मेवारी बोध गर्दै काम गरेँ । आफूलाई सुम्पिएको दायित्व निर्वाह गर्न मैले कञ्जुस्याइँ गरिनँ ।”

आत्मवृत्तान्तका सम्पादित अंशहरु 

राष्ट्रिय साझा केन्द्रमा नियुक्ति

त्यसबेला लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री थिए । म कहीँकतै जोडिएको थिइन । राजनीति गर्ने मान्छे, त्यही ध्याउन्नमा थिएँ । त्यसैले विकेन्द्रीकरण समिति छोडेको थिएँ । एक दिन प्रधानमन्त्री चन्दले मलाई कुरा गर्न बोलाएँ । सबै राजनीतिज्ञसित सम्बन्ध राम्रो रहेकोले म उनलाई भेट्न गएँ । चन्दले मलाई राष्ट्रिय साझा सहकारी बोर्डको अध्यक्षका लागि राजाबाट सोध्नु भनिएको छ, के गर्ने भनेर सोधे । मैले प्रधानमन्त्री चन्दलाई सोचेर जवाफ दिन्छु भनेर निस्किएँ ।

वास्तवमा म अन्तर्मनबाटै प्रशासनिक जिम्मेवारी स्वीकार गर्ने मनस्थितिमा थिइनँ । मैले त्यो ‘अफर’ स्वीकार गर्न सकिरहेको थिइनँ । आफ्नो रुचिभन्दा बाहिरको विषय हो जस्तो लाग्दथ्यो मलाई त्यो कार्य । राजनीति गर्दै आएको म त्यही क्षेत्रसँग आबद्ध हुन चाहन्थेँ । तर, त्यसका लागि खासै वातावरण बनिरहेको थिएन । म केही नगरी चुपचाप थिएँ । प्रशासनिक दायित्व निर्वाह गर्ने खासै मन नभएका कारण मैले प्रधानमन्त्री चन्दलाई कुनै जवाफ दिएको थिइनँ ।

एक दिन अचानक दरबारका सचिव रञ्जनराज खनालले फोन गरे र राजाबाट साझा सहकारी बोर्डको अध्यक्षमा जाने नजाने विषयमा सोध्न भनिएको हुँदा फोन गरेको बताए । मैले केही जवाफ दिनुपूर्व नै सचिव खनालले मलाई भने, ‘ भोजराजजी, साझा सहकारीमा कुनै समयमा विश्वबन्धु थापा पनि अध्यक्ष भएका थिए । अर्को कुरा मन्त्रीस्तरीय सुविधा तपाईलाई दिइनेछ ।’ मैले पनि रञ्जनराज खनाललाई भनेँ,‘ यसैमा पो थन्किइने हो कि खनालजी ?’ उनले सकारात्मक दृष्टिकोणका साथ मलाई भने, ‘ होइन, तपाई काम गर्दै जानुस् ।’

रञ्जनराज खनालसँग कुरा भएको केही दिनपछि म राष्ट्रिय साझा केन्द्र लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएँ । नामजस्तै विशाल संस्था थियो सहकारी । यसअन्तर्गत साझा भण्डार, साझा प्रकाशन, साझा स्वास्थ्यलगायतका विभिन्न संस्थाहरु आ–आफ्नो क्षेत्रमा सक्रिय थिए । साझा सहकारीमा ४ वर्षको कार्यकालमा मैले साझा सहारी बोर्ड र त्यसअन्तर्गतका विभिन्न संस्थाहरुलाई विकसित र विस्तारित गर्ने काम गरेँ । साझा यातायात सहकारी बोर्डअन्तर्गत भए पनि प्रत्यक्षः यातायात मन्त्रालयको नियन्त्रणमा थियो । त्यसैले साझा यातायातमा मैले केही गर्न सकिनँ ।

साझाको संस्थागत विकासका लागि गर्नुपर्ने र गर्न सक्ने धेरै काम थिए । अन्य देशहरुमा सहकारिताको विकास र त्यसबाट आर्थिक समृद्धि कसरी भएको रहेछ भन्ने विषयमा अध्ययन गर्नु जरुरी थियो । त्यसैले मैले केही मुलुकको भ्रमण पनि गरेँ । भारत, थाइल्याण्ड, इन्डोनेसिया, जापान, दक्षिण कोरियाजस्ता मुलुक गई सहकारिताको माध्यमबाट भएका विकास र आर्थिक समृद्धिलाई नजिकबाट नियाल्ने अवसर पाएको थिएँ ।

सहकारिताको विकासमा जोड दिने उद्देश्यले केही परिवर्तन गर्न सक्ने आधारलाई मैले अगाडि बढाएको थिएँ । मेरो विचारमा सहकारी एउटा सङ्घका रुपमा विकसित हुनुपर्छ भन्ने मेरो सोचाइ थियो । त्यसबेला राष्ट्रिय सहकारी सङ्घको स्थापना हेर्न एउटा कार्यदल पनि गठन गरिएको थियो । आफ्नो चार वर्षको कार्यकाल सकाएर म साझाबाट बाहिरिएँ । म रहँदा केही कामहरु अवश्य भएका थिए ।

नेफ्स्कूनको स्थापना

राजाले भनेपछि मैले राष्ट्रिय सहकारी केन्द्रको अध्यक्ष पदको जिम्मेवारी लिएको थिएँ । त्यसउप्रान्त सहकारी क्षेत्रमा केही नवीनतम् काम गर्ने विचारका साथ म अघि बढेको थिएँ । त्यही रहँदा नै सहकारी सङ्घको स्थापनाको अवधारणा बनेको हो । विश्वका धेरै मुलुकमा सहकारी संस्थाहरुको संलग्नतामा केन्द्रीय संस्थाको स्थापना भएको मैले पाएको थिएँ । केही मुलुकहरुको भ्रमण गर्दा त्यस किसिमको अनुभव पाएको थिएँ । त्यसैले पनि नेफ्स्कूनको स्थापनाको प्रसङ्ग अगाडि आएको हो । यसरी नेफ्स्कूनको तदर्थ समितिको अध्यक्षता मैले ग्रहण गरेको थिएँ । जसमा सहकारीसँग सम्बन्धित संस्थाहरुका प्रतिनिधिहरुको मात्रै संलग्नता रहेको थियो ।

नेपालमा सहकारिताको विकास र आर्थिक समृद्धिका लागि विभिन्न अवधारणाहरुसहित सहकारिता क्षेत्रमा महिलाहरुको सहभागितालाई बढावा दिने उद्देश्यका साथ नेफ्स्कून स्थापना भएको थियो । त्यसको स्थापनासँगै अन्तर्राष्ट्रिय संस्थाहरुले यस संघलाई सहयोग पनि गर्दै गए । पछि बहुदल आएपछि मात्रै यसको विधिवत् दर्ता भएको थियो ।

नेफ्स्कून स्थापनामा जसरी सहकारी क्षेत्रका व्यक्तिहरुको सकारात्मक सहयोग रहेको थियो, त्यस हिसाबले राजा वीरेन्द्र र तत्कालीन मन्त्रीहरुको सहयोग र साथ भने खासै रहेन । उनीहरु यसतर्फ सकारात्मक देखिएनन् । तर, विरोध पनि गरेनन् । आज नेफ्स्कूनले उचाइ पाएको छ । यो मेरा लागि गर्वको विषय हो ।”

सम्भावनाका ढोकाहरु

‘जीवनमा कहिलेकाहीँ अदृश्य रुपमा सम्भावनाका ढोकाहरु खोलिएका हुन्छन् रे १ त्यसबेला आफूले त्यो ढोकाबाट भित्र प्रवेश गर्ने आँट गर्नसक्नुपर्छ । अन्यथा केही समयपछि ढोका बन्द हुन सक्छ’ भन्ने भनाई मैले पनि सुनेको थिएँ । सम्भवतः मेरो छैटौं इन्द्रियले मलाई सङ्केत गर्यो, त्यो खुला ढोकाभित्र प्रवेश गर्नलाई । र कुनबेला कुनबेला म त्यो ढोकाबाट प्रवेश गरिसकेको थिएँ । त्यसैले पनि मैले आफ्नो कर्मक्षेत्रमा आफूलाई बलियोसँग उतारेको थिएँ ।

आफूलाई जनतासँग जोड्नु जरुरी पनि थियो । किनभने म एक समाजसेवी पनि थिएँ । त्यसैले सक्दो सम्पर्कमा रहने प्रयास भने गर्थे । २०२१ सालमा भूमिसुधार लागू भयो । ऐन बन्यो । त्यसका लागि मलाई पनि क्रियाशील हुन भनियो । काम गर्न नहिच्किचाउने म त्यसको कार्यान्वयन सफल तुल्याउन लागिपरेँ । 

उत्तरार्ध अभिलेख

आज मेरो जीवन ८६ औं वर्षमा हिडिरहेको छ । एकप्रकारले हेर्ने हो भने मैले मेरो जीवनमा अनेकन परिवेश भोगेको छु । वास्तवमा जीवन भोगाइहरुकै सङगालो हो भन्दा अतिशयोक्ति नहोला । जीवन जिउने क्रममा, जीवन भोग्ने क्रममा अनेकन् दुःख, कष्ट, कठिनाइहरुको सामना पनि गर्नुपर्यो भने मान, सम्मान र इज्जत पनि सोचेभन्दा अधिक पाइयो । एउटा किसान परिवारको केटो, उसको चाहना के नै हुन्छ र । जे जति हुन्छ त्यो पूरा गर्न उसले आफ्नै पौरखलाई त्यही खेत र आलीहरुमा प्रयोग गरेको हुन्छ । म पनि त्यही परिधिभित्र पालित पोषित युवक थिएँ ।

फरक यति मात्र थियो– थोरै राजनीतिको नशा ममा हाबी थियो । थोरै समाजसेवाको धङधङी त्यही समाजप्रतिको चेतका कारण राजनीतिमा म लपक्क भिजेको थिएँ ।  मैले जे जति प्राप्त गरेको थिएँ– मेरो भागमा जे जति परेको थियो म त्यसैमा सन्तुष्ट थिएँ । म असन्तुष्ट कहिले भइनँ । मेरो प्रवृत्ति पनि त्यो भएन ।

तैपनि मलाई साथ दिइन उमाले । उमाको शरीर मधुमेहले गाले पनि, घरपरिवार, आफन्त, पाहुनापासाको सेवा, सत्कारमा उनी सधैं उत्साही भइन् । कहिल्यै गलिनन् उनी । दुःखका किञ्चित रेखा पनि उनको अनुहारमा मैले कहिल्यै देखिनँ । हठात्, उमा र मेरो साथ छुटेको छ । विगत साठी वर्षदेखिको यो सहयात्रा टुटेको छ । उमेरको यो उत्कर्षमा मलाई लाग्छ– मेरो हरचिज छुटेको छ । उमाको महाप्रस्थानसँगै मेरो जीवनको रङ पनि उडेको छ ।

२०७२ साल भदौ ३१ गते बिहिबार मेरो जीवनको सुखदुःखको साथी उमा, मेरा छोराछोरीकी आमा उमा, मेरो कार्यशैलीको सूक्ष्म र तीक्ष्ण दृष्टिकोण राख्ने मेरी धर्मपत्नी उमा यो लोकबाट बिदा भएकी छिन् । उमाको मसँगको यात्रा टुङगिएको छ । उनको अनन्त यात्रा सुरु भएको छ । र, यतिखेर मैले उमालाई दिने भनेको सम्भवतः श्रद्धासुमन मात्रै हो ।

आत्मसम्मानमा कुनै दाग लाग्न दिइनँ 

कतिपय काम मेरो रुचिअनुरुपको रह्यो होला, कतिपय रुचिभन्दा बाहिरको पनि । तर जिम्मा दिइएको काममा आफ्नो विवेक प्रयोग गरेर संस्थागत हितमा काम गर्नुलाई मैले सधै महत्वका साथ हेरेँ ।फरकफरक जिम्मेवारीले मलाई आफ्नो कर्मप्रति लगनशील बनाउँदै लगेको थियो । मेरो दायित्व र कर्तव्यप्रतिको तत्वबोधले हमेसा मलाई अभिप्रेरित गरिरहन्थ्यो । त्यसैले पनि लामो कालखण्डमा मैले मेरो आत्मसम्मानमा कुनै पनि किसिमको दाग लाग्न दिइनँ ।


क्याबिनेटको कान्छो मन्त्री

२०१२ सालमा पहिलो पटक २ महिना र २०१७ सालमा दोस्रो पटक करिब ७ महिना गरी म २ पटक जेल परेँ । पञ्चायती राजनीतिका क्रममा गाउँ पञ्चायतदेखि जिल्ला सभा सदस्य हुँदै ३ पटक राष्ट्रिय पञ्चायत सदस्य बनेँ । २०२८ साल भदौ १३ मा म पहिलोपटक सहायकमन्त्री (भूमिसुधार) नियुक्त भएँ । त्यसबेलाको क्याबिनेटमा म कान्छो मन्त्री थिएँ ।

अन्य मन्त्रालयहरु

त्यसपछि २०२९ बैशाख ४ मा भूमिसुधार राज्यमन्त्री नियुक्त भएँ । एक किसिमले हेर्ने हो भने सहायकमन्त्रीबाट राज्यमन्त्रीका रुपमा पदोन्नति मिल्यो । त्यसपछि २०३० सालमा खाद्य, कृषि, सिँचाइ तथ भूमिसुधार मन्त्री बनेँ । थप मन्त्रालयको जिम्मा दिइएको थियो । केही गर्ने जोस र जाँगरले मलाई सधै नै उत्प्रेरित गरिरहन्थ्यो । त्यसैले मन्त्रालय थपिए पनि मैले कहिल्यै थकान महसुस गरिनँ । अर्को पटक गृह, पञ्चायत तथा कानून न्याय मन्त्रीमा नियुक्त गरिएको थियो । यो गम्भीर प्रकृतिको जिम्मेवारी थियो । एकैपटक ३ वटा मन्त्रालयको जिम्मेवारी ममा थियो तर जिम्मेवारी जतिवटा मन्त्रालयको दिइएपनि काम गर्ने मानसिकतालाई त्यसले हतोत्साही बनाउन सक्दैन । र, म त्यो नेचरको मानिस पनि थिइनँ ।

आमाको देहान्त

मानिसको जीवनमा आमाको स्थान सर्वाधिक उच्च रहन्छ । आफ्नी आमाको चरणको धुलो लगाएर आशीर्वाद नलिने मानिस बिरलै भेटिन्छन् । भनिन्छ नै, अरुको लाख, आमाको काख । त्यसबेला मेरा आमा र बुबा औरहीमै हुनुहुन्थ्यो । माहिलो भाइ जनकपुरमा बसेर पत्रकारिता गर्दै थियो भने साहिँलो र कान्छो खेतीपानीमा नै व्यस्त थिए । त्यसबेला मेरो खाली समय बितिरहेको थियो । जिल्लातिर जाने सोचाइ बनाइरहेको थिएँ तर गइनसकेको भने थिइनँ । तत्कालै मन्त्रिमण्डलको गठन हुनसक्ने सम्भावना पनि थियो ।

त्यही समयमा आमा उपचारका लागि काठमाडौं आउनुभएको थियो । आमालाई खासै कुनै कडा रोग थिएन । त्यसबेला आमाको आँखामा केही समस्या उत्पन्न भएकाले आँखाको उपचार राजधानीमा राम्रो हुन्छ भनेर आमालाई काठमाडौं नै बोलाएको थिएँ । राजधानीमा अहिलेजस्तो धेरै अस्पताल त थिएनन् । तर जति थिए, तिनमा राम्रा चिकित्सक कार्यरत थिए । अनि उपचार पनि राम्रो गर्थे । केही दिनभित्रै आमाको आँखाको उपचार गराएँ । दुई चार दिन उहाँ काठमाडौं नै बस्नुभयो । त्यसपछि उहाँलाई औरही पठाउने बन्दोबस्त गर्दै थिएँ । एक दिन अचानक आमालाई गाहे भयो र उहाँ बित्नुभयो, काठमाडौंमै । आमाको निधनले मनमा आँधीहुरी नै ल्यायो । जति नै वृद्ध भएपनि आमा बा भनेका आश्रयदाता नै हुन् । हामी आफै उमेरले पाको हुँदै गएपनि बुबा र आमाको अगाडि केटाकेटी नै ठहरिन्छौं । हठात् आमाको आशिषरुपी हात मेरो शिरबाट हराएर गएको अनुभूति भयो ।

आमाको महाप्रस्थानपछि उहाँको अन्त्येष्टि पशुपति आर्यघाटमै गरेँ । लाग्यो आमा पशुपतिकै शरणमा देहत्याग गर्न चाहनुहुन्थ्यो सायद, त्यसैले आँखाको उपचारपछि ठीक भएर गाउँ जाने तरखर गर्दै रहँदा नै बित्नुभयो । अन्त्येष्टिपछि सपरिवार औरही गयौं । अनि सम्झिरहेँ रामेछापदेखि मलंगवा हुँदै औरहीसम्मका दिनमा आमाका न्यानो मायाको साथलाई । महसुस गरिरहेँ आमाले आशिष दिँदै स्पर्श गरिरहेको हातलाई । 

औरहीमै हामी ४ भाइ आमाको किरियामा थियौं । त्यहीबेला सरकार परिवर्तन भयो । किरियापुत्री बस्ता हामी औरहीनजिकै रहेको जङ्गहा खोलामा जान्थ्यौं । बिहानीको नुहाइधुवाइ, ढिकुरो पूजालगायतका सम्पूर्ण काम त्यही खोलाको बगरमा हुन्थ्यो । गाउँलेको जमघट पनि हुने नै भयो । त्यही बिहानको जमघटमा बडेबाबुले प्रधानमन्त्री परिवर्तनको कुरा सुनाउनुभयो । खोलाबाट फर्कियौँ । रेडियो नेपालले पनि तीन चारपटक मात्रै समाचार दिन्थ्यो । दिउँसोको समाचारमा मन्त्रिमण्डल गठन भएको समाचार रेडियोले प्रसारण गर्यो । त्यसैले पद बाँडफाँडको खबर नभनेर मन्त्री नियुक्त हुनेहरुको मात्रै नाम पढ्यो । मेरो नाम पनि त्यो समाचारमा पढिएको थियो । साँझपख मात्र मलाई गृह र पञ्चायतमन्त्रीमा नियुक्त गरिएको खबर प्रसारण भयो ।

यसरी आमाको किरियामा रहँदा २०३२ साल मंसिर १५ गते गठित मन्त्री परिषद्मा म गृह र पञ्चायतमन्त्री नियुक्त भएको थिएँ । पदमा पुगेपछि गाउँले मात्रै होइनन् वरपरका गाउँघरबाट मानिस आए । सरकारी कर्मचारी पनि आउने नै भए । सुरक्षा निकायदेखि अरुहरुको पनि भीड सुरु भयो । लाग्यो आखिर पावरकै खेल त रहेछ ।

शपथग्रहण

१५ दिनको काम सिध्याएर म काठमाडौं फर्किएँ परिवारसहित । सेता लुगा फुकाएर शपथग्रहण गरेँ । प्रधानमन्त्रीले मलाई शपथ गराएका थिए, सिंहदरबारमा । म  आमाको किरियामा भएका कारण धेरैपछि मात्र शपथग्रहण भएको थियो । त्यसैले मैले एक्लै शपथ लिएँ । फेरि मेरो अर्को कार्यकाल सुरु भयो–गृह मन्त्रालयमा । र, यसपटक म थप केही नयाँ गर्ने सोचाइका साथ अगाडि बढ्ने मनस्थितिमा थिएँ ।

धन्न बाँचियो

गृहमन्त्री हुँदा नै एकपटक एउटा कार्यक्रमको सिलसिलामा झापा पुगेको थिएँ । मसँगै सहायकमन्त्री भोलानाथ झा पनि थिए । तोकिएको समयभन्दा अघि नै झापा पुगिएको थियो । केही समयपछि कार्यक्रमस्थल पुगेर बसेँ । त्यसैबेलादेखि मेरो अचानक पेट दुख्न थाल्यो । केहीबेर त दुखाइ सहेँ पनि तर असह्य भएपछि झाजीलाई जिम्मा लगाएर म निस्किएँ । मेरो अवस्था देखेर हेलिकप्टर मगाउने कुरा चल्यो । मैले अस्वीकार गर्दै प्लेनबाटै जाने कुरा गरेँ । दमकको त्यो कार्यक्रममा नबसेर म विराटनगर आएँ र सिधै प्लेनबाट काठमाडौं फर्किएँ । काठमाडौं आउनासाथ म डा.अञ्जनीकुमार शर्मासँग जचाउन गएँ । गलब्लाडरमा पत्थरी र अल्सरले सताएको थाहा लाग्यो । तर एक दुई दिनभित्रै डा. शर्मा सेमिनारका लागि हङकङ जाँदै थिए । उनले फर्केपछि मात्रै अप्रेसन गर्ने कुरा गरे । मैले पनि हुन्छ भने । केही समय पर्खनु नै ठीक लाग्यो मलाई ।

मन्त्रीक्वार्टरबाटै छोरीको विवाह

म गृहमन्त्री हुँदा नै मेरी जेठी छोरी निरुको बिहे मन्त्रीक्वार्टरबाटै भएको थियो । त्यसबेला केही मन्त्रीलगायत आफ्नाहरु पनि रिसाए । किनभने मैले आफै हुँदा बनाएको थिएँ, बिहे ब्रतबन्धमा ५१ जना मात्र सहभागी हुने भन्ने । र मैले ५१ जनाभन्दा १ जनालाई पनि निम्तो दिइनँ ।


पैसाले कहिल्यै तानेन

मैले चाहेको भए काठमाडौंमा जग्गाजमिन जोडेर यतै घरजम गरेर बस्न पनि सक्थेँ । तर, मैले औरही छोडेर अन्त बसोबास गर्ने त्यसबेला सोच्दै सोचिनँ । गाउँमा खेतीपाती थियो । पिताजी र दुई भाइ खेतीपातीमै सक्रिय थिए । म भने काम पर्दा काठमाडौंमा हुन्थेँ । सकिएपछि घर फर्कन्थेँ । त्यसपछिका केही महिना उतै अल्झिेन्थेँ, उतै रमाउँथे ।

एकपटक कालिकास्थानमा एक रोपनी जग्गा पाएको थिएँ । घडेरी थियो त्यो । पर्खाल पनि लगाइसकिएको थियो । र दाम पनि आठ हजार रुपैयाँ मात्रै थियो । औरहीको एक बिघा खेत ६ साढे ६ हजारमा बिक्रि हुन्थ्यो । पत्नी उमाले खेत बेचेर कालिकास्थानमा जग्गा किन्नु भनेर पटकपटक भनेकी थिइन् । मलाई लाग्यो– औरहीको खेत बेचेर खाने के ? आखिर भात त खानैपर्यो । यहाँको घडेरीले खान दिँदैनथ्यो । मैले उमालाई पनि त्यही जवाफ दिएँ । केही बोलिनन् उनी । आफ्नो कार्यक्षेत्र नै महोत्तरी भएकाले काठमाडौंले तान्न सकेको मैले अनुभव गरिनँ । न त मलाई पैसाप्रतिको मोह नै कहिल्यै रह्यो । त्यसैले पनि मैले भ्रष्टाचारविरोधी अभियानको जेहाद नै छेडेको थिएँ भने गृह मन्त्रालयले बेपर्वाह मनलाग्दी बाँड्ने आसचपु (आर्थिक सहयोग÷चन्दा÷पुरस्कार) लाई नियन्त्रणमा ल्याउने कामसमेत गरेको थिएँ जुन चुनौतीपूर्ण थियो ।

मनलाग्दी आसचपु प्राप्त गर्नेहरुका नजरमा मजस्तो मानिस राम्रो ठहरिने कुरै भएन । तर, म पनि कम जिद्दिवाल थिइनँ । मैले ठानेको कामलाई पूर्णता दिनु, त्यसबाट राज्यकोषलाई पनि आर्थिक बोझक म होस् भन्ने मेरो चाहना गलत थियो भन्ने मलाई लाग्दैन । 

वास्तवमा मैले पैसालाई कहिल्यै महत्व दिइनँ । त्यसैले होला पैसाले मलाई कहिल्यै तान्न सकेन । यदि त्यसतर्फ अलिकति मात्रै पनि झुकाव राखेको भए सायद आज अवस्था अर्कै हुन्थ्यो होला । मेरो एकजना आफन्तले मेरो यस किसिमको कार्यशैली देखेर भनेका थिए, ‘तैँले पछि दुःख पाउँछस् ।’ ती आफन्तसँग मेरो आज पनि भेट हुन्छ । उनी मलाई त्यो प्रसङ्ग आज पनि सम्झना दिलाउने प्रयास गरिरहन्छन् । तर, एउटा कुरो पक्कै के हो भने आजसम्म मलाई कसैले औँला ठड्याउन सकेका छैनन् । राजा नै सर्वशक्तिमान रहेको त्यो समयमा दरबारका केही सदस्यहरुको ‘इच्छा’ लाई एकातिर थान्को लगाइदिने मलाई, मैले गल्ती गरेको भए के त्यसै छोड्ने थिए र ? मैले गलत काम गरेको थिइनँ । दरबारका सदस्य भनेर लम्पसार पनि परेको थिइनँ । राज्यको हितमा काम गर्ने व्यक्ति थिएँ म, त्यहीअनुरुप गर्दै गएँ । 

त्यसबेला राज्यले आँचोखाँचो पेश्की पनि उपलब्ध गराउँथ्यो । यसरी उपलब्ध गराएको पेश्की धैरेले प्रयोग गरे । पैसा लिएर जग्गाजमिन जोडे । कतिले काठमाडौंमा नै घडेरी र घर किने । कतिले काठमाडौंबाहिर पनि किने । तर, मैले आफ्नो घर व्यवहार चलाउनुपर्ने विषयलाई मूलरुपमा हेरेँ । मैले पेश्की लिनु उचित सम्झिनँ । पेश्की लिएपछि तिर्नुपनि पर्दथ्यो । आफ्नो पदअनुरुपको स्ट्यान्डर्ड पनि मेन्टेन गर्नुपर्ने थियो । त्यसैले पनि होला मैले पेश्की लिएर जग्गाजमिन जोड्ने सोचाइ कहिल्यै बनाइनँ । मलाई आफूलाई प्राप्त हुने रकमले आफ्नो र परिवारको पालनपोषण गर्नु थियो । जिल्लाबाट आउनेलाई अवस्थाअनुसार सत्कार पनि गर्नैपर्दथ्यो । तर, पेश्की लिएपछि तिर्नमै रकम खर्च हुने मैले देखेको थिएँ । घर घरायसी काममा नै बढी रकम खर्च हुने भएकाले पनि मैले पेश्की लिएर जेथा जोड्ने काम गरिनँ । कैयन साथीले त्यसरी नै जायजेथा जोडे ।

पदमा रहँदा नै कतिपय मन्त्री वा अन्य पदाधिकारी व्यक्तिहरुले पेस्की लिएर होस् वा अरु केही गरेर, जग्गा किन्ने र घर बनाउने काम पनि गरे । तर, मैले त्यस्तो सोच्दै सोचिनँ । धरैपछि मात्र मैले धुम्बाराहीमा जग्गा किनेर घर बनाएको थिएँ । पछि त्यो बेचेर चाबहिल गौरीघाटमा घर बनाएँ । आज पनि मेरो बसोबास गौरीघाट क्षेत्रमा नै रहेको छ ।

ती दिनहरु अहिले सम्झनामा मात्रै सीमित छन् । उक्लिँदो उमेरले मानिसलाई शिथिल बनाउँदै जाँदो रहेछ स शरीर पनि गल्दै गएको छ । केही वर्षअघि म नराम्ररी बिरामी भएँ । त्यसबेला महोत्तरी परिवारले मलाई ठूलो आर्थिक सहयोग गर्यो । त्यस कार्यप्रति म महोत्तरी परिवारको कृतार्थ छु । म इमानदार थिएँ– त्यसैले म महोत्तरी परिवारले पनि सहयोग गर्ने सोच्यो । यति इमानदार नरहेको भए सायद त्यो मान, सम्मान र सहयोग प्राप्त हुने थिएन ।

अचेल कहिलेकाहीँ मलाई पुराना मित्रहरुले सुनाउँछन्, मेरो कुरो अहिले पनि चल्छ रे, इमानदार गृहमन्त्रीका रुपमा । तर, त्यो इमानदार गृहमन्त्रीको अवस्था आज कस्तो छ ? गृह मन्त्रालयले कहिल्यै सोधीखोजी गरेन । आश्चर्य लाग्छ । मैले कतै उल्लेख गरेको छु–कुरो पावरकै भन्ने । आखिर हो नै रहेछ, पावरकै कुरो त रहेछ । ‘सबैले बलेकै आगो नै ताप्छन्’ कथन त्यसै प्रख्यात भएको होइन ।

बाल्यावस्था

रामेछाप जिल्लाको बाबियाखर्कमा वि.सं. १९८६ को माघ १५ गते पिता एकत्रैलोक्यराज उपाध्याय घिमिरे र माता शशिरेखा उपाध्याय घिमिरेको जेठो छोराको रुपमा मेरो जन्म भएको थियो । हजुरबुबा पण्डित कुलनाथ उपाध्याय घिमिरे भागवत पुराण वाचन कलामा सिद्ध हुनुहुन्थ्यो । गाउँका धार्मिक कार्यमा हजुरबुबाको उपस्थिति अनिवार्य झै मानिन्थ्यो । मलाई हजुरबुबाले यस्ता धार्मिक कार्य एवम् अनुष्ठानहरुमा प्रायः लिएर जानुहुन्थ्यो, प्रसिद्ध पुराण वाचकको नाति भएकाले मेरो खातिरदारी पनि कम हुँदैनथ्यो ।

बालापन रामेछापमै बितेपनि किशोरावस्था भने मलंगवा (पछि हालको महोत्तरी तर त्यसबेला सर्लाही, महोत्तरी, धनुषा एउटै जिल्ला थियो) मा बित्यो । पिताजीको जागिरसँगै हाम्रो जीवनयात्रा चक्र घुमेको थियो । त्यसबेला पिताजी केटाकेटीहरुले पढ्नुपर्छ, अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । त्यसैले पनि पढाई लेखाई प्राथमिक सूचीमा पर्दथ्यो । पिताजी मलंगवाको अदालतमा हाकिम हुनुहुन्थ्यो । सीमावर्ती भारतीय भूमिमा अवस्थित सोनवरसास्थित एउटा माध्यमिक विद्यालयमा मैले पढाइलाई सूचारु गरेँ । त्यसअघि कक्षा ८ मा सितामढीस्थित स्कूलमा भर्ना भएको थिए । भारतकै सीतामढीबाट म्याट्रिकुलेसन परीक्षा पास गरेँ जुन आजको एसइइ सरह थियो । थप पढाइका लागि म बिहारको दरभंगा पुगेँ ।

त्यसबेला हाम्रो परिवार बस्दै आएको औरही गाउँमा स्कुल थिएन । शिक्षाको उज्यालो नै सर्वत्र चहकिलो उज्यालो बनाउने आधारशिला हो । त्यही सोचका साथ गाउँमा नै एउटा विद्यालय हुनुपर्ने निर्णयमा म पुगेको थिएँ । मेरो यस सोचमा गाउँका बुज्रुक समकालीन साथीहको पनि साथ थियो र अन्ततः खडा भयो औरहीस्थित स्कुल । आज हाइस्कुल भएर हजारौंलाई उच्च शिक्षाको लागि दक्ष बनाउँदै आएको औरही स्कुल प्रारम्भमा प्राथमिक स्कुलका रुपमा स्थापित भएको थियो ।

त्यस्तै, महोत्तरी–सर्लाहीको एउटा अर्को प्रमुख बजार थियो– गौशाला बजार । औरहीभन्दा केही किलोमिटर पश्चिमको यो बजार त्यतिखेरदेखि नै चर्चामा थियो । चर्चामा रहेपनि विद्यालयको अभाव त्यहाँ पनि थियो । त्यो प्रमुख स्थलमा पनि एउटा स्कुलको आवश्यकता थियो नै । फलतः गौशालामा पनि स्कुल स्थापनाको कामलाई प्राथमिकताको सूचीमा राखियो र स्कुल स्थापनाको काम भयो ।
 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ