शुक्रबार, वैशाख ७
०६:३५

जिल्ला सहकारी संघ ललितपुरको उहापोह

बिहीबार, चैत्र २६
रञ्जनमणि पौड्याल
saccosaawaj

ललितपुर । २ दिनअघि मात्र ललितपुर जिल्ला सहकारी संघ लि. ले आफ्नो ४९ औं स्थापना दिवस मनाएको छ । २०२८ साल चैत २४ गते स्थापित ललितपुर जिल्ला सहकारी संघले यसबीच थुप्रै तर स्वाभाविक आरोह अवरोह पार गरेको छ । त्यसबेला कृषि मन्त्रालय मातहतमा थियो सहकारी । स्थापनामा जिल्ला साझा संघको नाममा कृषि मन्त्रालय अन्तर्गत मल कृषि उपज बिक्री बितरण गर्ने कार्य गर्दै आएको संघ २०४८ सालको सहकारी ऐनपछि २०५२ सालबाट जिल्ला सहकारी संघ लिमिटेडका रुपमा परिणत भई कार्यरत छ । ‘करिब २४ लाख ऋण थियो संघको, म आएको २ वर्षपछि तिरियोँ’ इतिहास सम्झनुहुन्छ अध्यक्ष दुलाल । संघमा लामो समय व्यवस्थापक रहनुभएका केन्द्रीय उपभोक्ता सहकारी संघ लि.का अध्यक्ष दिपक पौडेलका अनुसार कृषि विकास बैंकले संघको जग्गा लिलामी गर्ने अवस्था थियो । महालक्ष्मीस्थानमा रहेको ३ रोपनी जग्गामध्ये केही बेचेर ऋण चुक्ता गरेको उहाँले बताउनुभयो । 

त्यसबेला जिल्ला संघले २ वटा कोठामा उपभोक्ता पसल सञ्चालन गरेको थियो । कर्मचारीबाट आर्थिक अपचलन भएको वर्तमान अध्यक्ष दुलाल र पूर्व व्यवस्थापक पौडेलले बताउनुभयो । ‘त्यस समय कम्प्युटर थिएन, म्यानुअल हिसाब राख्नुपर्दथ्यो, सामानको स्टकको हिसाब पनि लामोसमय पछि मात्र निकालिन्थ्यो, साहुहरुले विश्वासको भरमा उधारो सामान दिन्थे जसले गर्दा कर्मचारीले सामान समेत अपचलन गरेको पौडेलले सुनाउनुभयो ।

हाल १० जना कर्मचारी कार्यरत संघको सुरुवाती दिनमा ३ जना कर्मचारी थिए– धनेन्द्र राज शर्मा, दिपक पौडेल र एक कार्यालय सहयोगी । सदस्य र कारोबार धेरै नभएको संघलाई ३ जना पाल्न हम्मेहम्मे थियो । आफुले तलबनै नलिइ काम गरेको पौडेलले बताउनुभयो । 

त्यसरी संघर्ष गर्दै अघि बढेको संघ आज आफ्नै खुट्टामा उभिने भएको छ । सहयोगी हातहरु, सदस्यका साथहरु र समुदायको विश्वसनीयता बढ्दो छ । विशेषतः बचत तथा ऋण, कृषि र बहुउद्देश्यीय प्रकृतिका गरी संघमा हाल ७ सय ७० सदस्य छन् । ‘मैले काम सुरु गर्दा जिल्लाभर जम्मा ८ वटा मात्र सहकारी संस्था दर्ता थिए, ’ पौडेलले भन्नुभयो, ‘ पछि भने ती सबै सदस्य भए ।’ हाल संघमा १३ वटा विषयगत सहकारी संघहरु आबद्ध छन् । जिल्लाभर ११ सय ८८ सहकारी संस्था दर्ता भएपनि लगभग २ सय क्रियाशील नभेटिने अध्यक्ष माधव दुलाल बताउनुहुन्छ भने दुध, चिया, कफी लगायतका केही सहकारी संस्थाहरु आफ्नो सञ्जालमा जोडिएकाले जिल्ला सहकारी संघमा प्रत्यक्ष नजोडिएको उहाँले दाबी गर्नुभयो । 

हाल संघको जग्गामा रहेको पुरानो भवन (उक्त भवन भत्काउने निर्णय भैसकेको) मा २ वटा पसल छन् । हाल प्रवर्धन केन्द्र रहेको खाली जग्गा विगतमा गोरखापत्र संस्थानलाई भाडामा दिइएको थियो । स्थापनाकालमा रसायनिक मल बिक्रीको लागि निर्माण गरिएको गोदाम गोरखापत्र संस्थानलाई भाडामा दिइएको हो । विगतमा पसल भाडा र गोदामबाट आएको आम्दानीले संघको न्यूनतम प्रशासनिक कार्य सञ्चालन भएको थियो । करिब २ वर्ष अघिबाट जिल्ला संघले अन्तरलगानी कार्यक्रम सुरु गरेको लेखा सुपरिवेक्षण समिति सदस्य अनिल वीर बज्राचार्य बताउनुहुन्छ ।

संघले हाल मुलतः अन्तरलगानी, शिक्षा, सूचना र तालिम, स्टेशनरी बिक्री, अनुगमन र बहसपैरवीलाई प्राथमिकतामा राखेको छ भने पछिल्लो समय प्रवर्धन केन्द्र संघलाई हस्तान्तरण भैसकेपछि भने सबै ध्यान त्यसले खिचेको छ । संघले जिल्ला स्तरीय सहकारी सम्मेलनका साथै समय समयमा समसामयिक विषयहरुमा गोष्ठी सभा र छलफलहरु समेत आयोजना गर्दै आएको छ । २०६७ साल असोज ९ गते शनिवार सम्पन्न संघको १९ औं वार्षिक साधारण सभाबाट दुलाल अध्यक्षमा निर्वाचित हुनुभएको थियो । दुलालको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति र अनिल वीर बज्राचार्यको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति रहेको संघ अब भने १७ सदस्यीय हुने संशोधित विनियममा उल्लेख छ । 

संघले जिल्लाका ग्रामीण भेगका उत्पादनहरुलाई सहज, सर्वसुलभ र गुणस्तरीय रुपमा उपलब्ध गराउन प्रत्येक शनिवार संघको प्रांगणमा बिक्री वितरणको चाँजोपाँचो मिलाउँदै आएको छ । शिक्षा सूचनामा विगतमा धेरै काम गरेको दाबी जिल्ला संघले गरेको छ । संघले सबै सहकारी संस्था अर्थात् अभियानका व्यक्तिहरुलाई अभियान गराएर सहकारी नाटक 'आरम्भ 'निर्माण गरी प्रदर्शन समेत गरेको छ भने सहकारी विभागसँगको सहकार्यमा ‘यात्रा सहकारीको’ डकुड्रामा निर्माण गरेको छ । तर पछिल्लो समय अलि सुस्ताएको बताउँदै त्यसमा कोभिड प्रमुख कारण मान्नुहुन्छ अध्यक्ष । अन्य विषयगत जिल्ला संघहरुसँग पनि सौहादपूर्ण सम्बन्ध रहेको बताउँदै सहकारीसम्बन्धी प्रत्येक प्रमुख कार्यक्रम सबैसँगको समन्वयमा गरिदैं आएको दाबी गर्नुहुन्छ ।

जिल्ला संघको चुनौती
‘सदस्य र पुँजी विस्तार हाम्रो चुनौती होइन,’ अध्यक्ष दुलाल दाबी गर्नुहुन्छ, ‘खोज्दै जाँदा बढीमा २० सक्रिय सदस्य मात्रै बाँकी होलान् अरु कुनै न कुनै रुपमा अभियानसँग जोडिएका छन् । पुँजी निर्माण पनि हाम्रो चुनौती होइन । पुँजी खट्कियो त्यस कारण पहल गरौं भन्ने अवस्था आएको छैन ।’ सुरुमा प्रवर्धन केन्द्र निर्माणको लागि पुँजी अभाव भएपनि भारतीय दूतावासको अनुदान सम्झौता भएपछि भने संघको पुँजीको समस्या टरेको हो । सँगै सीएमडीपी कार्यक्रमको सहयोगले संघलाई अघि बढ्न मद्दत गरेको छ ।

अध्यक्षले दाबी गरेपनि कोरोनाका कारण अन्यत्र झै संघका गतिविधिहरुमा सुस्तता आएको २९ औं साधारण सभाको लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदनले औल्याएको छ । उक्त प्रतिवेदनले उपसमितिको निष्कृयता, कर्जाको वर्गीकरण गरी अवधि पुनरावलोकन तथा संघका कार्यक्रमहरुमा सदस्य संघ संस्थाहरुको सहभागिता बढाउन सुझाएको छ । यसैगरी आर्थिक प्रगति प्रतिवेदनमा सेयर पुँजी वृद्धिसँगै सबैलाई सदस्य बन्न आव्हान गरिएको छ भने चालु आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रममा सदस्यता विस्तार, सेयर पुँजी वृद्धि, तालिम तथा शिक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउने उल्लेख छन् ।

लेखा सुपरिवेक्षण समिति संयोजक बज्राचार्यको विचारमा संघको कारोबारलाई थप चुस्त बनाउनुपर्ने खाँचो छ । ‘व्यवस्थित रणनीतिक योजनाका आधारमा संघलाई अघि बढाउनुपर्ने खाँचो छ, ’उहाँले भन्नभुयो, ‘जिल्ला भित्रका विषयगत संघहरुलाई पनि थप सक्रिय बनाउने अभिभारा संघको काँधमा छ ।’ बज्राचार्यका अनुसार हाल करिब आधा दर्जन  विषयगत संघमात्र सक्रिय छन् । यसैगरी, सीएमडीपी परियोजनामा जिल्ला भित्रका विषयगत संघहरुलाई पनि समावेश गराउनुपर्ने उहाँको धारणा छ । उहाँ भन्नुहुन्छ, ‘ सीएमडीपीमा अन्य संघहरुलाई पनि भूमिका दिदाँ उनीहरुले पनि अपनत्व महसूस गर्छन र कार्यक्रमले पनि सफलता प्राप्त गर्छ ।’

२०३३ सालतिर बनेको हाल संघ बसेको पुरानो भवन भत्काउने निर्णय भैसकेको छ । प्रवर्धन केन्द्रको अब बन्ने माथिल्लो तल्लामा कार्यालय रहनेछ । पार्किङका लागि स्थानअभाव हुने भएकाले पुरानो भवन भत्काउने निर्णय गरिएको अध्यक्ष दुलालले जानकारी गराउनुभयो । केही समयअघि सम्म १ करोड बढी सेयर पुँजी भएको संघको निक्षेप ११ करोड बढी र लगानी करिब १० करोड छ । गत वर्ष सीएमडीसँग कार्यक्रम सम्झौता भएपछि संघको गतिविधिलाई अघि बढाउन थप सहज बनेको अवस्था छ । सञ्चालक समिति र लेखा समितिबाट कुनै किसिमको भक्ता सुविधा नलिने निर्णय संघको छ ।

सीएमडीपीको लक्ष्य

जिल्ला सहकारी संघको समन्वयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युएनडीपीको सहकारी बजार विकास कार्यक्रम (सीएमडीपी) अन्तर्गत २०७५ साल असोज १९ गते सम्झौता भएको थियो । त्यसको उद्देश्य कृषकहरुलाई प्रारम्भिक सहकारी संस्थाहरुमा आबद्ध गराई उनीहरुको तरकारी तथा फलफुल उत्पादनलाई पकेट क्षेत्र, स्थानीय तह, जिल्ला र क्षेत्रीय तथा केन्द्रीय स्तरमा सञ्चालन हुने सहकारी बजार (आउटलेट) सम्म पुर्याउन आवश्यक पूर्वाधार विकास र नीतिगत सहयोग प्रदान गर्नु हो । उक्त कार्यक्रम अन्तर्गत हाल ललितपुर बाहेक धादिङ, काभ्रे, चितवन, मकवानपुर र नुवाकोट जिल्लाहरुमा सञ्चालित छन् ।

कार्यक्रमको नमूना परिक्षणको रुपमा ललितपुर जिल्लाका ३ स्थानीय तह (बागमती र महाँकाल गाउँपालिका र गोदावरी नगरपालिका) का बराबर गरी १२ वटा संस्था छनौट भएका छन् । उनीहरुलाई सहकारी व्यवस्थापन, वित्तीय व्यवस्थापन र व्यावसायिक विकास योजना लगायतका विभिन्न तालिम प्रदान गरिएको संघले जनाएको छ । १२ वटै संस्थालाई मसलन्द सामाग्री, संस्थाका कृषक सदस्यहरुलाई बीउबीजन, कार्यालय उपकरण तथा कृषि औजार (सीएमडीपीको ७० प्रतिशत र सम्बन्धित संस्थाको ३० प्रतिशत लागत साझेदारीमा) उपलब्ध गराइएको संघले जनाएको छ । तीमध्ये ३ वटा संस्थालाई सामान ढुवानीका लागि निःशुल्क गाडी समेत उपलब्ध गराइएको छ । यसैगरी, ६ वटा संस्थामा चिस्यान केन्द्र जडानको काम, ९ वटालाई तरकारी तथा फलफुल ढुवानी साधन उपलब्ध गराउन र ती साधन सञ्चालन तथा व्यवस्थापन कोष निर्माण कार्य, २ वटा संस्थामा सङ्कलन केन्द्र निर्माणको काम भइरहेको संघको भनाई छ । माथि उल्लेखित कार्यक्रमका लागि हालसम्म ३ करोड ३ लाख ७४ हजार ९ सय २५ रुपैयाँ अनुदान सहयोग प्राप्त भएको जनाइएको छ ।

‘हाम्रो यो प्रयास संस्थाका सदस्यहरुले उत्पादनमा जोड दिने, संस्थाले बजारीकरणमा सहयोग गर्ने र त्यसको नेतृत्वदायी र अभिभावकीय भूमिका जिल्ला संघले लिने अवधारणामा आधारित हो, अध्यक्ष दुलालले भन्नुभयो, ‘यसमा सबै को साथ सहयोग आवश्यक छ र तततत् स्थानीय तहहरुले पनि वित्तीय तथा सहजीकरण सहयोग गर्नुभएको छ ।’ कार्यक्रम लागू भएका १२ वटै संस्थामा संघले निरन्तर अनुगमन गरेको दाबी गरेको छ । अध्यक्ष दुलालले भन्नुभयो, ‘३ बागमतीका ४ वटै संस्थामा म आफै गएको छु भने पालिकासँग पनि समन्वयको लागि निरन्तर छलफलमा संघका पदाधिकारीहरु सहभागी भएका छौं ।’

हाललाई नमूनाको रुपमा १२ वटा सहकारी संस्था छनौट गरेको, उनीहरुलाई संकलन र चिस्यान केन्द्र निर्माणसँगै ढुवानीका लागि गाडी समेत उपलब्ध गराइएको छ । सबै जोड्दा एउटा संस्थालाई करिब १ करोड लगानी भएको छ  । ७०/३० प्रतिशतको आधारमा काम  भइरहेको छ । 

तरकारी र फलफुल खेतीसँगै उब्जनीलाई कसरी जोगाउँदै बजारसम्म पुर्याउने भन्ने विषयमा तालिम उपलब्ध गराउने । जो उत्पादन गर्छ त्यो नै डोको बोकेर बजार पुग्नुपर्ने अवस्था हुन्छ । किसानलाई व्यावसायिक बनाउँदै सहकारी मैत्री बनाउने योजना संघको रहेको छ । यसै आ.व.भित्र संघको सदस्य संख्या ९ सय, बचत २० करोड र ऋण लगानी १४ करोड पुर्याउने लक्ष्य लिइएको छ भने कार्यालयलाई आवश्यक सीसीटीभी, कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायतका आवश्यक सामानहरु खरिद गरी सञ्चालनमा चुस्ततता ल्याउने गरी अनुमानित बजेट बिनियोजन गरिएको छ ।

अध्यक्ष दुलालको सोच

२०५२ सालमा ललितपुरको भट्टेडाँडास्थित फुलबारी कृषि सहकारी संस्था लि.मा प्रबन्ध सञ्चालकको रुपमा सहकारी प्रवेश गर्नुभएका दुलाल २०६६ सालमा संघमा रिक्त सञ्चालक पदमा १ वर्षका लागि चुनिए पछि जिल्ला संघमा जोडिनुभयो । लगत्तै अध्यक्ष निर्वाचित हुनुभयो । सातदोबाटोस्थित कर्मणा बचत तथा ऋण सहकारीको उपाध्यक्ष, राष्ट्रिय सहकारी बैंकको लगनखेल शाखाको प्रमुख, टेवा बहुउद्देश्यीय सहकारी संस्था लि.को अध्यक्ष, जिल्ला कृषि सहकारी संघ लतिलपुरको संस्थापक अध्यक्ष आदि भूमिकाहरुको अनुभव अब औपचारिक रुपमा बिसाउने तरखरमा दुलाल हुनुहुन्छ । अब केही समयमै प्रबर्धन केन्द्र सञ्चालनमा आउने, माथिल्लो तल्ला पनि बन्दै गर्ने र संघको महत्वाकांक्षी परियोजना सफलता उन्मुख हुँदै गर्दा अर्को वर्ष औपचारिक जिम्मेबारीबाट अवकाश लिने सोचमा रहनुभएका दुलाल भन्नुहुन्छ, ‘दुई कार्यकाल पुरा भयो अब सकेसम्म जिल्ला संघको स्वयंसेवी भूमिकाबाट रिटायर्ड हुन खोज्दैछु, तर अभियानभन्दा भने जीवनभर रिटार्यड हुन्न ।’
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र