शुक्रबार, चैत्र १६
०२:३३

सहकारी प्रवर्धन केन्द्रः सोच र संघर्ष हुँदै सञ्चालनको सँघारमा   

बिहीबार, चैत्र २६
रञ्जनमणि पौड्याल
saccosaawaj

ललितपुर । ललितपुर-१५ महालक्ष्मीस्थान अवस्थित ललितपुर जिल्ला सहकारी संघ लि.को अहिलेको प्राथमिक ध्यान नवनिर्मित सहकारी प्रवर्धन केन्द्र सञ्चालनमा केन्द्रित छ । त्यसका लागि आफ्नो सम्पूर्ण सोच र सामर्थ्य लगाएको संघको दाबी छ । गएको फागुन २६ गते सहकारी प्रवर्धन केन्द्रको भवन औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको संघले अब त्यसको सञ्चालन प्राथमिकता सूचीको पहिलो नम्बरमा राखेको छ । बिक्रेता र उपभोक्ताहरुको चहलपहलसहितको सहकारी बजार सञ्चालनको सँघारमा संघ छ । संघका अध्यक्ष माधव दुलाल भन्नुहुन्छ, ‘अब करिब डेढ महिनामा सहकारी बजार सञ्चालनमा आउँछ ।’

महालक्ष्मीस्थानमा रहेको संघको २ रोपनी ७ आना क्षेत्रफल भित्र १७,२३३ वर्ग फिट क्षेत्रफल ओगटेको प्रवर्धन केन्द्र खासमा सहकारी बजार हो । आफ्नै जग्गामा बनेको आधुनिक भवनबाट कृषि उपज लगायतका सामाग्रीलाई व्यवस्थित बजारीकरण गर्ने लक्ष्यलाई मूर्त रुप दिन अब धेरै समय नलाग्ने अध्यक्ष दुलाल बताउनुहुन्छ । ललितपुरका विभिन्न संघ संस्थाहरु, सहकारी उन्मुख समूहहरु र कर्षीकमीहरुबाट उत्पादित उपजहरुले व्यवस्थित र एकीकृत बजार नपाएको गुनासो धेरै अघिदेखि आइरहेको थियो । व्यवस्थित बजार हुने हो भने उत्पादन वृद्धि गर्न सकिने अवस्था मध्यनजर गरी कृषिकर्ममा संलग्न व्यक्ति तथा समूहहरुलाई व्यवस्थित बजारीकरण गर्ने उद्देश्यसहित केन्द्र निर्माण भएको संघले जनाएको छ । 

‘सहकारी बजार सञ्चालनले कृषि बिचौलियाहरुको अन्त्य गरी तरकारी तथा फलफुलको पृथक बजार श्रृङ्खला स्थापना गर्दछ,’ अध्यक्ष दुलालले भन्नुभयो, ‘किसानहरुलाई उत्पादनको उचित मूल्य प्रदान गर्ने, सहकारीमा आकर्षण बढाउने, बजार श्रृङ्खलालाई व्यवस्थित गर्ने र उपभोक्ताहरुलाई स्तरीय, सुलभ र गुणस्तरीय सामान उपलब्ध गराउने सुनिश्चित गर्दछ ।’ ग्रामीण क्षेत्रको उत्पादनलाई सहरमा ल्याएर जिल्ला संघमार्फत बजारीकरण गर्ने सोचलाई सफल बनाउने अभियानको सारथी हो सहकारी प्रवर्धन केन्द्र । सामानको गुणस्तरको आधारमा गे्रडिङ गरी मुल्य तय गर्ने, चिस्यान केन्द्रमा राखी सामाग्रीको संरक्षण गर्ने र आउटलेटहरुमार्फत सहज र सुलभ बिक्री वितरण गर्ने योजना राखिएको छ । प्रवर्धन केन्द्रमार्फत कृषि, दुध लगायतमा उत्पादनमा सहभागी सहकारी र उनीहरुका सदस्यहरुलाई ‘प्रमोसन’ गर्ने उद्देश्य लिएको दाबी संघको छ ।

सोच अनि संघर्ष:

भनिन्छ ‘सफलता वा असफलता सोचको परिणति हो ।’ सकारात्मक सोचमा दृढ संकल्पको समुचित लेपनले असफलताको घाउ पुर्दछ । परिणाम सफलताको रसास्वादन । २०६७ साल कार्तिक १२ र १३ गते नगरकोटमा सम्पन्न संघको सञ्चालक र लेखा सुपरिवेक्षण समितिको छलफलले संघको आफ्नै जगामा व्यावसायिक भवनका रुपमा प्रवर्धन केन्द्र निर्माणको सकारात्मक सोच जन्म दियो ।

त्यसबीच, राष्ट्रिय सहकारी महासंघबाट फार्म प्रडक्टहरुको सेफ्टी म्यानेजमेन्ट विषयक तालिमको सिलसिलामा सन् २०१२ मा आफुले गरेको २५ दिने जापान भ्रमणले पनि सहकारी संघ संस्थामार्फत बजारीकरणका उत्कृष्ट काम नजिकबाट नियाल्ने अवसर मिलेको बताउँदै अध्यक्ष दुलालले भन्नुभयो, ‘फर्केर तालिमको ब्रिफिङ सञ्चालक समितिमा गरेपछि प्रवर्धन केन्द्र निर्माणले थप महत्व पायो ।’

२०६९ सालमा जिल्ला संघले २ कर्मचारी खटाएर करिब ४ सय तत्कालीन सहकारी संघ संस्थाको अवस्था बिश्लेषण गरेको थियो । त्यो अध्ययनले सहकारीहरुमार्फत तरकारी, मासु, ईटा, साबुन, अचार, जडीबुटी, हस्तकला आदि गरी करिब ८५ प्रकारका उत्पादनहरु भएको देखाएको थियो । सबै संस्थाहरुको गुनासो ‘व्यवस्थित बजारीकरण अभाव’ नै थियो । त्यस्तै, पछिल्लो समयमा सहकारीहरुलाई उत्पादनमा जानुपर्ने, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहकारीहरु जोडिनुपर्ने आवश्यकतासँग पनि प्रवर्धन केन्द्र निर्माणको साइनो गाँसिएको छ । त्यसको औपचारिक निर्णयपछि पुँजी संकलन गर्न सदस्य संस्थाहरुलाई सेयर आव्हन गरियो । ४२ लाख रकम संकलन भयो जुन केवल ‘समुन्द्रमा थोपा’ भन्दा बढी थिएन । 

सही सोचलाई सफल तुल्याइछोड्न संघ वैकल्पिक श्रोत र श्रोत व्यक्तिको खोजीमा जुट्यो । यसबीच, स्थानीय राजनीतिज्ञ सागर समशेर राणा र उहाँका पुत्र पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणाको साथ जोडिन पुग्यो । भारतीय दूतावासबाट आर्थिक सहयोगको सम्भावनाको सुइको मिल्यो । प्रस्ताव लेखनमा सागर शमशेर र अन्य बाँकी काममा उदय शमशेरसँगै स्थानीय राजनीतिज्ञहरु, संघका पूर्व र निवर्तमान सञ्चालकहरु अनि थुप्रै सहयोगी हात, मन र आवाजहरु जोडिए । दूतावासको आर्थिक अनुदान सहयोग, तत्कालीन जिल्ला विकास समिति (हालको जिल्ला समन्वय समिति) को प्राविधिक र प्रशासनिक सहयोग र संघको समेत लागत सहभागिताले आज भवन निर्माण काम सम्पन्न भएको छ । 

सबैलाई ज्ञात छ –जीवन सपाट छैन किनकि सफलता सधै बक्र रेखामा हिड्छ । अदम्य साहस, धीरता र सहकारिता नभए उपलब्धि कहाँ पो सुनिश्चित हुन्छ र ? ललितपुर जिल्ला सहकारी संघको जग्गाभित्र आज सगौरव उभिएको सहकारी प्रवर्धन केन्द्रको भवन निर्माणको यात्रा पनि सपाट रहेन । 

२०७१ भदौं २९ गते जिविस, दूतावास र संघबीच भवन निर्माणसम्बन्धी त्रिपक्षीय सम्झौता भएको थियो । तर, त्यसपछि विभिन्न समयमा उत्पन्न गत्यावरोधरुपी अत्यासहरुले ‘भवन नै नबन्ने भयो’ भन्ने सम्म हतोत्साही बनाएको अध्यक्ष दुलालले सुनाउनुभयो । नेपाल–भारत सरकारबीच अनुदान सहयोगसम्बन्धी नीतिगत अलमल, बेलाबेलामा दुई छिमेकीबीच उत्पन्न असहज परिस्थिति, २०७२ को महाभूकम्प र त्यसका कारण भवन निर्माण नक्सा परिवर्तनको बाध्यता, ठेकेदार कम्पनीको असहयोग, ठेकेदार कम्पनीकातर्फबाट निर्माणको जिम्मा लिएका व्यक्तिको निधन लगायतका कारण परियोजनामा ढिलाईले अध्यक्ष दुलालमाथि समेत औंलाहरु तेसाईए । 

त्यसकारण १८ महिनामा बन्नुपर्ने भवन तयार हुन करिब ६ वर्ष लाग्यो । त्यसले जिल्ला संघको खर्च बढ्यो तर पनि ‘ढिलो भयो तर राम्रै भयो’ भनेझैँ बनेरै छाड्यो । निवर्तमान र बहालवाला सञ्चालक र लेखा सुपरिवेक्षण समितिको साथले भवन निर्माण सम्पन्न भएको भन्दै यो पंक्तिकारसँगको भलाकुसारीमा लामो सुस्केरा हाल्नुहुन्छ अध्यक्ष दुलाल । दूतावासबाट करिब ४ करोड बढी रुपैयाँ उपलब्ध भएको थियो । यससम्बन्धी लेखा तथा आर्थिक तथा प्राविधिक काम सबै जिल्ला समन्वय समितिमार्फत त्रीपक्षीय सम्झौताअनुरुप काम अघि बढेकोले अन्तिम खर्चको हिसाब समितिबाट प्राप्त भैनसकेको अध्यक्ष दुलाले बताउनुभयो । भारतीय दूतावासले जिल्ला समन्वय समितिमार्फत सहकारी संघलाई रकम उपलब्ध गराएकोले कार्यान्वयन निकाय जिल्ला समन्वय समितिले हरहिसाब राख्ने उहाँले बताउनुभयो । कति खर्च भयो भन्ने अन्तिम विवरण प्राप्त भइनसकेको अध्यक्ष दुलालले जानकारी गराउनुभयो ।

संरचना र भावी योजना:

१७,२३३ वर्ग क्षेत्रफलमा फैलिएको सहकारी प्रवर्धन केन्द्रमा बेसमेन्ट, भुइँ तल्ला र पहिलो तल्ला छन् । पंक्तिकारलाई देखाउँदै अध्यक्ष दुलालले बेसमेन्टमा तरकारी तथा फलफुल चिस्यान केन्द्र, सरसफाई स्थल, ग्रेडिङ र प्याकेजिङको लागि छुट्याइएको जानकारी गराउनुभयो । यसैगरी, त्यही नै दुधजन्य पदार्थ, गेडागुडी, माछामासु आदि राखिने छ भने माथिल्लो तल्लामा सहकारी संस्थाहरुबाट उत्पादित सामाग्रीहरुको प्रदर्शनी गरेर राखिने छ । थोरै उत्पादन आएको अवस्थामा थोरै स्थानमा राखिने र धेरै आएको अवस्थामा छुट्टै रयाक उपलब्ध गराउने योजना संघको छ । 

‘अहिले नै हामीलाई अचारको निम्ति धेरै सहकरी संस्थाले कुरा गर्नुभएको छ,’ उत्साहित हुँदै अध्यक्ष दुलालले भन्नुभयो, ‘सहकारी संस्थाको नाममा रयाक उपलब्ध गराइने छ, उत्पादित सामाग्री त्यहाँ ‘डिस्प्ले’ गरिनेछ भने बिक्री भएको रकममध्ये व्यवस्थापन शुल्क वापत थोरै प्रतिशत जिल्ला संघमा रहने र बाँकी सम्बन्धित संस्थाको खातामा जाने प्रणाली विकास गरिने छ ।’ सदस्य संस्थाहरुसँग अन्तरलगानीको कार्यक्रम भएकोले प्रणाली विकास गर्न सहज हुने उहाँले उल्लेख गर्नुभयो । संस्थाले चाहेमा उनीहरुले नै बिक्री गर्न नसक्ने अन्यथा जिल्ला संघले बिक्रीको प्रबन्ध मिलाउने छ ।

बजार सञ्चालने पूर्णता पाएर चहलपहल बढ्न थालेसँगै जिल्ला संघ र अन्य सहकारी संस्थाहरुको पनि विभिन्न स्थानमा आउटलेट सञ्चालनको योजना बुनिएको अध्यक्ष दुलालले उल्लेख गर्नुभयो । बजारमा बढी भएर फर्केको वा तत्कालै लानुनपर्ने सामाग्रीहरुलाई चिस्यान केन्द्रमा राखिने छ । ‘कृषकलाई बारीमै राख्ने’ सहकारी प्रवर्धन  केन्द्र बन्नुपछाडिको मुल उद्देश्य उहाँले सुनाउनुभयो ।

यसैबीच, निकट भविष्यमै युएनडीपी र जिल्ला संघको लागत साझेदारीमा प्रवर्धन केन्द्रको दोस्रो तल्ला निर्माण कार्य पनि सुरु हुने बतााउँदै अध्यक्ष दुलालले भन्नुभयो, ‘माथिल्लो तल्लामा संघको कार्यालय, पुस्तकालय, तालिम हल, सूचना केन्द्र आदि रहनेछन् । अब सीमा पर्खाल लगाउने र माथिल्लो तल्ला बनाउने काम सुरु हुन्छ ।’

सीएमडीपीको साथः स्याटलाइट तरकारी तथा फलफुल सहकारी बजार

नवनिर्मित भवनलाई बजार सञ्चालनको लागि आवश्यक आन्तरिक पूर्वाधार तयार गर्न संघलाई सीएमडीपी परियोजनाले सहयोग पुर्याउँदै छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को साझेदारीमा हाल सञ्चालनमा रहेको कार्यक्रम हो सहकारी बजार बिकास कार्यक्रम अर्थात् सीएमडीपी ।

जसअन्तर्गत जिल्ला संघको ३० प्रतिशत र सीएमडीपीको ७० प्रतिशत लागत साझेदारीमा भवनको बेसमेन्टमा तरकारी तथा फलफुल चिस्यान केन्द्र, सरसफाई केन्द्र, ग्रेडिङ र प्याकेजिङ केन्द्र निर्माण, भुइँ तल्लामा गेडागुडी तथा दुधजन्य पदार्थ बिक्री स्टल, माछा मासुजन्य पदार्थ बिक्री स्टल, तरकारी तथा फलफुल बिक्रीका लागि रयाक तथा स्टल निर्माण, कार्यालय प्रयोजनका लागि फर्निचर तथा पार्टेसन र सहकारी प्रवर्धन केन्द्रको दोस्रो तल्ला निर्माण अघि बढ्ने छ । त्यसका लागि २ करोड १० लाख ४३ हजार २ सय ४४ रुपैँयाको सम्झौता भएको दुलालले बताउनुभयो । हाल यी काम धमाधन भैरहेको स्थलगत भ्रमणबाट पनि देख्न सकिन्छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र