शुक्रबार, वैशाख ७
१०:३४

प्रविधियुक्त र अझ मर्यादित व्यवसायका रूपमा सहकारीलाई अगाडि बढाउनुपर्छ

सोमबार, चैत्र १६
saccosaawaj

चन्द्र प्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता, नेफ्स्कून 

हामी अहिले ६४औँ राष्ट्रिय सहकारी दिवस मनाउने तयारीमा छौँ । नेपालमा सहकारी संस्था सस्थापना भएको दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष मनाईँदै आइएको राष्ट्रिय सहकारी दिवस विगत केही वर्षदेखि वार्षिक नारा तय गरी भव्य कार्यक्रमहरू सहित मनाउने गरिएको छ । यस वर्ष ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी‘ नारासहित देशैभरी विभिन्न कार्यक्रम तय गरी ६४औँ सहकारी दिवस मनाईँदै छ । वि.सं.२०१३ साल चैत्र २० गते चितवनमा बखान ऋण सहकारीको स्थापना भएको दिनलाई सहकारी दिवसको रुपमा मनाउने गरिएको छ । मानिसको जीवन पद्दतिलाई परिवर्तन गर्नका लागि महत्वपूर्ण सावित भएको कुनै घटना भएको, प्रयास गरिएको वा संयोग परेको दिनलाई स्मरण गर्ने र त्यसबाट प्राप्त उपलब्धि प्रति नतमस्तक हुँदै त्यस्तो दिनलाई उत्सवको रूपमा मनाउने चलन मानव विकासक्रमसँगै चल्दै आएको छ । कुनैपनि दिवस मनाउँदा त्यसको उद्गम भएको दिनलाई त स्वत: स्मरण गरिन्छ नै । त्यो उपलब्धि हामीलाई हस्तान्तरण गर्ने हाम्रा अग्रजहरूको स्मरण गर्नु र  त्यस दिनले हाम्रो जीवन पद्धतिलाई कस्तो प्रभाव पार्‍यो भन्ने कुराको सिंहावलोकन गर्नुले त्यस दिवसलाई अझ सार्थक बनाउँछ । ६४औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा हामीले नेपालको पहिलो सहकारी बखान ऋण सहकारी संस्थाका संस्थापक बखान सिंह गुरूङप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै उहाँको स्मरण गर्नै पर्छ । त्यसका साथै नेपालको आर्थिक सामजिक विकासका लागि सहकारी उपयुक्त मोडल हुनसक्छ श भनी सहकारीको अवधारणा भित्र्याउने जननायक विश्वेश्वरप्रसाद कोइरालालाई स्मरण गर्दै श्रद्धान्जली प्रकट गर्न भुल्नु हुँदैन ।

बाढी पहिरोको प्रकोपबाट आक्रान्त भएका जनतालाई आर्थिक रूपमा सवल बनाउनका लागि सहकारीको स्थापना गरिएको दिन हो चैत्र २० गते । यो ६४ वर्षको वीचमा नेपाली समाजले थुप्रै आरोहअवरोहहरू पार गर्नुका साथै आर्थिक सामाजिक विकासका विभिन्न मोडलहरूको अभ्यास गर्यो । शताब्दीभन्दा लामो निरङ्कुशताबाट निस्केर प्रजातन्त्रको मुना टुसाउँदै गरेको समयमा नेपालमा सहकारीको सुरुवात भयो ।  सहकारी आफैँमा लोकतन्त्रको पर्याय पनि हो । यो कुरालाई हामीले व्यवहारमा पनि अनुभूत गर्न पर्‍यो । वि.सं. २०१७ सालमा निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरी प्रजातन्त्रको टुसाउँदै गरेको मुना निमोठियो र प्रजातान्त्रिक व्यवस्थालाई नै अपहरण गरियो । त्यसपछि सहकारी पनि नियोजित अभियानको रूपमा सिमित रह्यो । वि.सं. २०४६ को प्रजातन्त्र पुनर्प्राप्तिसम्म सहकारीको कुनै सस्थागत विकास हुन सकेन र नाममा समेत सहकरी नभएका संस्थाहरूले सहकारीको सत्ता धान्न पुगे । त्यसैले पनि वि.सं.२०४७ सालमा संविधान बन्नु र वि.सं. २०४८ सालमा सहकारी ऐन लागू हुनुलाई संयोग मात्र मान्न सकिन्न ।

वि.सं.२०४८ सालको ऐनले नेपालमा सहकारीको संस्थागत विकासको ढोका खुला गर्‍यो । सहकारी संस्थाहरू दर्ता र सञ्चालन हुन थाले । राष्ट्रिय सहकारी विकास बोर्ड गठन भयो। सहकारीका संघहरू निर्माण भए । राष्ट्रिय सहकारी बैंक लि.को स्थापना भयो र राज्यले पनि सहकारी संघ/संस्थालाई दर्ता, नियमन र प्रवर्द्धन गर्नका लागि संरचनागत तयारी गर्‍यो । यसै क्रममा देशको ग्रामिण र सहरी क्षेत्रमा सहकारी संस्थाहरू तिब्र रूपमा स्थापना भए । सहकारीको सैद्धान्तिक ज्ञान भन्दा बढी यसको व्यवहारिक अभ्यासले सहकारी संघ/संस्थाहरूको बाटो तय गर्‍यो , जुन कुरा सुरुवाती अवस्थामा अस्वभाविक मान्न पनि सकिन्न । कतिपय सहकारीले सहकारीको मूल्य र सिद्धान्तलाई आत्मसात एवम् आन्तरिकीकरण गर्दै समुदायको अभिन्न अंगको रूपमा संस्थालाई अगाडि बढाए भने कतिपय सहकारीले यसको व्यवसायको पक्षलाई मात्र ध्यान दिए र आर्थिक रूपले सबल भएर पनि समुदायको हिस्सा बन्न सकेनन् । त्यति मात्र होईन,यही क्रममा सहकारीको व्यवसायिक पाटोलाई मात्र हेरेर कतिले संस्थालाई सिमित व्यक्तिहरूको लाभका लागि मात्र प्रयोग गरेको पनि देखियो । सहकारीको मूल्य र सिद्धान्तलाई  आत्मसात नगरी सञ्चालन गरिएका संस्थाहरू दिगो हुन सक्दैनन् भन्ने कुरा त्यस्ता संस्थामा आएको समस्याले प्रस्ट्याएको छ ।  अन्यौलमै त्यस्ता सहकारीमा होमिन पुगेका र आर्थिक प्रलोभनका कारण त्यता तर्फ आकर्षित भएका नागरिकहरूले थुप्रै आर्थिक क्षति पनि व्यहोर्नु पर्‍यो । त्यसप्रति सम्बन्धित संस्था र तिनका सञ्चालक त दोषी हुने नै भए , त्यो सँगसँगै सहकारीका नियामक निकाय र सहकारीका संघहरूले पनि आफ्नो भूमिकाका विषयमा आत्मसमीक्षा गर्ने र भएका कमजोरीलाई निराकरण गर्नतिर लाग्नुपर्ने अवस्था आयो ।

सहकारीको मूल्य र सिद्धान्तलाई आत्मसात गर्दै अघि बढेका संस्थाहरूको संस्थागत विकास सुरुवाती अवस्थामा केही सुस्त देखिए पनि ती संस्थाहरू जगदेखि नै बलियो हुँदै गए । तिनको कारोबारको आकारमात्र बढेन ,सदस्यसँग सम्बन्ध पनि अझ बलियो हुँदै गयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकारी अभ्यासहरूबाट सिक्ने र परिष्कृत हुँदै जाने पद्धति त्यस्ता संस्थाले विकसित गर्दै लगे । समुदायका मानिसहरूको दैनिकीसँग प्रत्यक्ष रूपमा जोडिएका संस्थाहरूले सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानका लागि महत्वपूर्ण योगदान पुर्‍याएका छन्  । त्यस्ता संस्थाहरूले सहकारीका विषयगत र छाता संघहरूलाई सहकारी क्षेत्रको संस्थागत विकासका लागि समर्पित हुन निरन्तर दबाब र सुझाव दिइराखेका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहाकरी संघलि. (नेफ्स्कून) ले यस विचमा सहकारीको विकास, बृद्धि र सुशासनका पाटोमा उल्लेख्य काम गरेको छ । नेपालको सहकारी अभ्यासलाई विश्व अभ्याससँग जोड्ने र विभिन्न देशमा वित्तीय सहकारीका क्षेत्रमा प्रयोग भएका ज्ञान, सीप, विधि र प्रविधिहरू प्रयोग गर्नमा नेफ्स्कूनले सहजीकरण गरिरहेको छ , जसले गर्दा गल्तीबाट मात्र सिक्नुपर्ने बाध्यताको अन्त्य भएको छ । संस्था सञ्चालनका नीति, विधि र प्रविधिहरू अवलम्वन गर्ने र संस्थाहरू दिगो रूपमा सञ्चालन गरी तिनलाई अझ परिष्कृत गर्दै लैजान सकिने रहेछ भन्ने अनुभुत हुन गएको छ ।

वि.सं.२०४८ को ऐनले सहकारीको स्थापना र सञ्चालनलाई असाध्यै सहज बनाइदिएको र यसको नियमनको पाटोमा मौन रहेको कारणले सहकारीमा विकृति देखिन थाल्यो भन्ने चर्चा यो ऐन बनेको एकदशक पुग्दा नपुग्दै हुन थालेको थियो । राज्यका नियामक निकायले विभिन्न नियम कानून बनाउँदै त्यस ऐनलाई २६ वर्षसम्म टिकाए । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि वि.सं. २०७४ सालमा सहकारी ऐन पनि परिवर्तन भयो । यस ऐनले सहकारीको नियामक संरचनालाई संघीय ढाँचामा लैजाने व्यवस्था गर्‍यो । विगत ३ वर्षदेखि जिल्लाका संरचनाहरू स्थानीय, प्रदेश र संघीय संरचनामा हस्तान्तरण गर्ने र तिनको व्यवस्थापन गर्ने काम निरन्तर भइरहेको छ । सहकारीका केन्द्रीय संघहरूलाई समेत यसले प्रभाव पार्‍यो । केन्द्रीय संघहरू र राष्ट्रिय सहकारी महासंघले पछिल्लो समय संघीय संरचना केन्द्रित कार्यक्रमहरू अगाडि बढाइरहेका छन् भने जिल्ला स्तरीय संघहरूसँग पनि त्यसै अनुरूप समन्वय गरिरहेका छन् ।     संरचनागत परिवर्तन आफैँले प्रारम्भिक संस्था र आम सहकारीकर्मीहरूका लागि तत्काल उल्लेख्य केही दिने भन्दा पनि राज्य संयन्त्रसँग समानान्तर तहबाट बहस पैरवी गर्न र मातहतका संघ/संस्थालाई समन्वय गर्न सहज हुन्छ भन्ने अभियानको बुझाई हो ।

सहकारीको संस्थागत विकासक्रमको चौथो दशकको प्रारम्भमा हामी छौँ । यो अवस्थासम्म आईपुग्दा विश्वले प्रविधिका क्षेत्रमा निकै ठूलो फड्को मारिसकेको छ । आमरूपमा सहकारी भन्दा यसको वित्तीय पक्षको तस्विर सम्झिइन्छ । नेपालमा पनि सहकारीमार्फत हुने कारोवार मध्ये वित्तीय कारोवारको हिस्सा निकै ठूलो छ । सहकारीको आफ्नो मौलिक विशेषता रहेतापनि प्रयोगकर्ता वा सदस्यको दृष्टिमा वित्तीय कारोवार र वित्तीय सेवाहरू प्रत्यक्ष रूपमा बैंक तथा वित्तीय संस्थाबाट पाईने सेवासँग तुलना गरिने प्रकृतिका वा तीसँग अन्तर्सम्बन्धित हुन्छन् । सहकारी संघ/संस्थाहरूले नविनतम प्रविधिहरूलाई प्रयोग गर्ने क्रम असाध्यै सुरुवाती अवस्थामा रहेको छ । केही ठूला र सक्षम संस्थाहरूले त्यस्तो अभ्यास गरेतापनि साना आकारका संस्थालाई प्राविधिक र आर्थिक क्षमताको अभावका कारण नविनतम प्रविधिहरू प्रयोग गर्ने अवसर प्राप्त गरेका छैनन् । पछिल्लो समय प्रविधिलाई सहकारीमैत्री बनाउने र सस्तो तथा सहज पहुँच पुर्‍याउने प्रयासहरू पनि भएका छन् तर सहाकरी संस्थाहरूले संगठित रूपमा अगाडि नबढेसम्म प्रविधिलाई प्रभावकारी र प्रतिस्पर्धी रूपमा प्रयोग गर्न सक्ने सम्भावना कमै मात्र हुन्छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. आफ्ना सदस्यहरूलाई प्राविधिको पक्षमा सवल बनाउन प्रयासरत छ । प्रविधिमार्फत सेवा र सदस्यमैत्री प्रविधिका लागि नेफ्स्कूनले विभिन्न निकायहरूसँग छलफल गर्ने र अध्ययन अनुसन्धानलाई अगाडि बढाउने काम पनि गरिरहेको छ । यस वर्ष राष्ट्रिय सहकारी दिवसको नारा प्रविधिको विषयसँग सम्बन्धित रहनुले प्रविधिको क्षेत्रमा सहकारीले थप चासो राखेको स्पष्ट बुझिन्छ । यो चासोले प्रारम्भिक संस्थाहरूका लागि प्रयोग गर्न सक्ने औजार विकसित गर्नुपर्छ भन्ने सबैको अपेक्षा पनि रहेको छ । त्यसका लागि सहाकरीका केन्द्रीय संघहरू, राष्ट्रिय सहकारी बैंक लि. र राष्ट्रिय सहकारी महासंघ लि. बीच समन्वय हुन सक्यो भने अझ छिटो अपेक्षित परिणाम हासिल हुन्छ । ६४औँ राष्ट्रिय सहकारी दिवसबाट यस वर्षको नारामा उल्लेख भए बमोजिम नै सहकारी व्यवसायलाई अझ मर्यादित र प्रविधियुक्त बनाउने प्रयास सुरूवात होस भन्ने आम सहकारीकर्मीको अपेक्षा छ ।

सहकारी सञ्जाल डट कम बाट साभार ।

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ