शुक्रबार, वैशाख ७
०६:३१

युवा साकोसका ‘युवा’ व्यवस्थापक

बुधबार, चैत्र ४
रञ्जनमणि पौड्याल
saccosaawaj

मेरले ३० पुग्नुभएका पनौती–१, काभ्रेपलाञ्चोकका निश्चल सापकोटा १७ कर्मचारी, ७१०० सदस्य, १ सेवा केन्द्र र करिब ४४ करोड पुँजी सहितको बनेपा ७ स्थित युवा बचत तथा ऋण सहकारी संस्था लि.को व्यवस्थापकीय नेतृत्व सम्हालेर बस्नुभएको छ । सापकोटाको आजको स्थान ‘सफलताको सगरमाथा’ नै नभएपनि कोही नहिड्ने समथर भूभागमा आरामदायी गाडी चढी सहज गन्तव्यमा पुगे सरह भने पक्कै होइन ।  सहकारीको उच्च व्यवस्थापनमा युवा सहभागिता न्यून रहेको सन्दर्भमा स्नातकोत्तर सक्नुभएका र गैरसरकारी संस्थामा अनुभव बटुलीसक्नुभएका युवा वयका सापकोटाको सहकारी मोह बिस्तारै स्थायित्व उन्मुख हुनु सबै सहकारीप्रेमीहरुका लागि सुखद समाचार भने पक्कै हो ।

जागिरको सुरुवाती चरणमा विदेश भासिने मन बनाइसक्नुभएका सापकोटा अहिले सहकारीसँग नछुट्टिने साइनो गाँसिइसकेको दाबी गर्नुहुन्छ । घरको आर्थिक अवस्था, युवावस्थामा केही गर्ने हुटहुटी, क्षमता अनुसारको काम र श्रम अनुसारको मुल्य नपाउँदा उहाँमा पनि विदेश भासिने सोच नजन्मिएको भने होइन । तर गैरसरकारी संस्थाको जागिर छोडेर समुदाय केन्द्रीत सहकारीमा जोडिएर काम गरेपछि आर्जित व्यक्तिगत एवम् संस्थागत आत्मसन्तुष्टी र आत्मसम्मानले ‘रोजगारीका लागि विदेश’ मोहभंग भएको उहाँ सुनाउनुहुन्छ । सापकोटाको सहकारी यात्रा २०७५ साउन १ गतेबाट युवा साकोस प्रवेश गरेसँसै सुरु भयो भने २०७५ चैत २५ मा व्यवस्थापकीय जिम्मेवारी पाएपछि आर्जन गरेको ज्ञान र अनुभवले स्थायित्वतर्फ मोडिदै गयो । २०५५ साल भदौं १७ मा स्थापना भई २०५६ साल असार २८ गते नेफ्स्कूनमा आबद्ध युवा साकोस हाल संघले एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा सञ्चालन गरेको एशियास्तरको साकोस गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेसमा सहभागी छ । यसले पनि संस्थाको ‘ग्रोथ’मा सहयोग गरेको उहाँ स्वीकार्नुहुन्छ ।

आफुले व्यवस्थापकीय जिम्मेवारी लिएपछि साकोसको व्यावसायिक वृद्धि भएको सापकोटाको दाबी छ । ‘मैले अङ्क र उपलब्धिलाई आधार मानेर यस्तो दाबी गरेको हुँ,’ उहाँ भन्नुहुन्छ, ‘सेयरमा २२ प्रतिशत, बचतमा ३२ प्रतिशत, ऋण लगानीमा ११ प्रतिशत र सदस्यमा १५ प्रतिशतले वृद्धि भएको छ ।’ वित्तीय र संख्यात्मक उपलब्धिसँगै संस्थाले रक्तदान, स्वास्थ्य शिविर, माटो परिक्षण, सीपमुलक तालिम, जेष्ठ नागरिक सम्मान, एसईई सम्मान लगायत सामाजिक उत्तरदायित्वका कामहरुलाई पनि स्थानीय आवश्यकता, संस्थागत क्षमता र समयको मागअनुरुप सम्बोधन गर्दै आएको व्यवस्थापक सापकोटा बताउनुहुन्छ । यसबीच युवा साकोले समुदायमा आधारित, समाजिक उत्तरदायित्व वहन गर्ने संस्था तथा विद्यमान ऐन, नियम, कानुनको पूर्ण पालना गरी सञ्चालनमा रहेको संस्था भन्ने छवि निर्माण गर्न सफल भएको उहाँले उल्लेख गर्नुभयो ।

आत्मविश्वास नै बचत ऋण सहकारी संस्थामा व्यवस्थापक बन्न अत्यावश्यक आधार भएको बताउने सापकोटा त्यही जगमा टेक्दै आफु अघि बढिरहेको बताउनुहुन्छ । समुदायमा सुमधुर सम्बन्ध कायम गर्न सक्ने, विद्यमान वित्तीय समस्या र तिनको न्यूनीकरणको ज्ञान, मानव संशाधन व्यवस्थापन सम्बन्धी ज्ञान, देशका विभिन्न ऐन, नियम, कानुनहरूको जानकारी र बैंक तथा सहकारीबीच फरक बुझेको व्यक्तिले व्यवस्थापकीय नेतृत्व लिन सक्ने सापकोटाको बिचार छ । 

तिखार्नलाई तालिम
आत्मविश्वासको गाडी गुडाउन शिक्षा र तालिमको इन्जिन आवश्यक पर्छ । यसैलाई बुझेर व्यवस्थापक सापकोटाले सहकारीमा आफुलाई सफल साबित गर्न  छाता संघ नेफ्स्कून तथा अन्य निकायबाट गर्ने विभिन्न तालिमहरु लिनुभएको छ । हालसम्म उहाँले भाखा नाघेको ऋण व्यवस्थापन तालिम, ऋण अधिकृतहरुको क्षमता विकास तालिमCULCC, साकोसका व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम, CUMCC साकोस सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम CUDCC, वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षक प्रशिक्षण, उत्प्रेरणामूलक तालिम, CEO Workshop आदिमा सक्रिय सहभागिता जनाइसक्नुभएको छ । सापकोटा भन्नुहुन्छ, ‘तालिमले नियमित कार्यसम्पादन तथा नयाँ रणनीतिहरू निर्माणमा ठूलो सहजता प्रदान गर्ने रहेछ ।’ अब भने मानव संशाधन व्यवस्थापन र रणनीतिक योजना निर्माण सम्बन्धी तालिम लिने उहाँको सोच छ । 

सहकारीमा युवा आकर्षण
भनिन्छ, व्यक्तिको नाम केवल स्वरुप हो, सार त गुण वा चरित्र हो । विश्वविख्यात बेलायती नाटककार विलियम शेक्सपियरले पनि ‘नाममा के नै छ र ? गुलाफलाई अरु कुनै नामले बोलाउदा पनि यसको वासना उस्तै र उत्तिकै हुन्छ’ भन्नुभएको छ । नाम स्वरुप हो । व्यक्ति वा पदार्थका हकमा, स्वरुप सहायक, चरित्र प्रधान हुन्छ र हुनुपर्छ पनि । यद्यपि, नाम अनुसार काम भए सुनमा सुगन्ध नै भयो । सापकोटा र संस्थाको नाम मात्र होइन सोचाई, संकल्प र सिद्धान्तमा पनि युवापन भेटिन्छ । सहकारीमा युवा सहभागिता पछिल्लो समयमा जोडतोडका साथ उठेको विषय हो । हुनपनि सहकारीलाई सबैको रोजाई बनाउन युवाहरुको सहभागिता अत्यन्तै आवश्यक हुन्छ । जबसम्म सम्भावना बोकेको शिक्षित र उर्जाशील समूह सहकारीमा जोडिदैन तबसम्म सहकारीमार्फत उद्यमशीलता, प्रविधिकरण वित्तीय उपलब्धि र संगठनात्मक चुस्तता हासिल हुनसक्दैन ।

संस्थाको नाम नै युवा सकोस भएकोले युवाहरूको अग्रसरतामा स्थापित संस्थाको सञ्चालक समिति तथा उप समितिमा सबै युवा हुनुहुन्छ । ‘व्यवस्थापनमा पनि म प्रमुखसहित अन्य कर्मचारी पनि युवा छौं, यसले हामीमा उर्जा प्रवाह बढी गरेको अनुभव हुन्छ’ सापकोटा सुनाउनुहुन्छ, ‘सदस्यमा भने सोचेजस्तो युवा सहभागिता छैन, अब युवा सहभागिताका लागि नयाँ प्रविधि प्रयोग र सेवा सुविधामा थप गर्ने रणनीति लिएका छौँ, जसका कारण निकट भविष्य मै सोचेजस्तो सफलता हात पार्नेमा आशावादी छौँ ।’

सापकोटाले भनेजस्तै यही चुनौती देशका आम सहकारीहरुको पनि हो । यसका लागि उमेरका कारणपनि युवा भावनासँग अलि नै बढी नजिक सापकोटा सुझाउनुहुन्छ, ‘युवाहरूले रुचाएका प्रविधिको प्रयोग गर्ने, युवा माझ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, विद्यालय तहदेखि नै सहकारी सम्बन्धी शिक्षा दिने व्यवस्था मिलाउने, सहकारीहरूले युवामैत्री व्यवहारलाई प्राथमिकता दिने, सञ्चालक समिति तथा उप समितिमा युवा सहभागितामा जोड दिने कार्यक्रम आक्रामक अभियानका रुपमा अघि बढाउनुपर्छ ।’

सहकारीमार्फत समुदायको वित्तीय परिवर्तनको संवाहक बन्न पाएकोमा सापकोटा खुसी हुनुहुन्छ । ‘सहकारी भनेको बैंकमा जागिर खान अनुभव बटुल्ने थलो मात्र नभई  सामुहिक सहभागितामार्फत सदस्य र मुलुकको समृद्धि हासिल गर्ने माध्यम हो,’ उहाँ भन्नुहुन्छ, ‘ यसबाटै हरेक कुरा सम्भव छ, सामाजिक रुपान्तरणमा योगदान दिन चाहनेहरुका लागि यो उपयुक्त आधार हो भन्ने युवाहरुलाई बुझाउनु जरुरी छ ।’
‘सहकारी अभियानमा युवाहरुको खाँचो छ, तपाईहामी सबैको सहभागिताबाट मात्रै हामीले सहकारीलाई युवामैत्री तथा प्रविधमैत्री बनाउन सक्छौँ’ सापकोटा भन्नुहुन्छ, ‘तर सहकारी सम्बन्धी पर्याप्त अध्ययन गरेर यस क्षेत्रमा आउँदा राम्रो हुन्छ ।’

युवा साकोसले पनि आधुनिक सफ्टवेयर प्रयोग गरी सदस्यहरूको विवरण राख्ने तथा हिसाब किताब राख्ने व्यवस्था गरेको छ भने मोबाइल बैंकिङ सेवा, मोबाइल बैंकिङ प्रयोग गरी बैंक ट्रान्सफर सुविधा, ट्याबलेटमार्फत बचत संकलन आदि प्रविधिसँग जोडिएका कामहरु गर्दै आएको छ । यसैगरी, वेबसाइटमार्फत पनि सदस्यहरुलाई संस्थाका सूचना, गतिविधि र समाचारहरु सम्प्रेषण गर्दै आएको छ ।

व्यवस्थापन कौशल
संस्थाको व्यवस्थापन कवेल कुर्सी वा पद नभई कला, दक्षता र विवेकको सम्मिश्रण ठान्ने सापकोटा यदि संस्थामा कर्मचारीहरुबीच बेमेल वा असमझदारीको स्थिति पैदा भैहाले त्यसको शान्तिपूर्ण र दिगो समाधान खोज्न आफु सक्षम भएको बताउनुहुन्छ । ‘निर्दिष्ट उद्देश्य लिएर संस्थामा कार्यरत रहेकाले त्यो पूरा गर्नु सबैको एकमात्र लक्ष्य हुनुपर्दछ भन्ने कर्मचारीहरुलाई बुझाउने, हरेक कार्यालयमा फरक विचारहरु हुनु  स्वाभाविक भएकाले विविध विचारको कदर गर्नुपर्छ भन्ने आफुले बुझाउने गरेको उहाँ बताउनुहुन्छ । कर्मचारीलाई जिम्मेवारी तोकेर दिँदा असहज परिस्थिति नआउने तथा विवाद समाधान निर्देशिका निर्माण गरी कार्यान्वयन गर्नुपर्ने सापकोटाको राय छ ।

यसैगरी, कर्मचारी उत्प्रेरणाका लागि सबैको गुनासो, सुझाव सुन्ने र यथोथित अनि विधिसम्मत् कुराहरु सम्बोधन गर्ने, सबैमा मित्रवत व्यवहार गर्ने, विभिन्न तालिमहरुमा सबैलाई सहभागी गराउने, लक्ष्य पूरा गर्ने कर्मचारीलाई पुरस्कार दिने आदि काम संस्थाले गर्ने गरेको उहाँ बताउनुहुन्छ । अधिकांश नीतिहरु कर्मचारीको हितमा नै भएको र केहीलाई संशोधनमार्फत कर्मचारी मैत्री बनाउने काम भइरहेको जानकारी सापकोटाले गराउनुभयो ।

काम गर्न पारिवारिक साथ सहयोगले सहज भएको उहाँको भनाई छ । ‘कहिले बिहानै काममा निस्किनुपर्छ, कहिले अबेरसम्म घर फर्किन  पाइन्न तर पनि परिवारमा आजसम्म असमझदारी छैन । सेवा सुविधा भन्दा खुसी र सन्तुष्ट कसरी हुने भन्ने कला सिक्नुपर्छ भन्ने लाग्छ । आखिर घरदेखि कार्यालय सम्हाल्न पनि अनुभव, सिकाइ र शिक्षा सम्मिश्रित कला नै त आवश्यक पर्ने रहेछ ।’

सहकारीमार्फत सम्भावना 
सहकारीमार्फत समृद्धि, समाज परिवर्तन वा उद्यमशीलता सम्भव भएपनि चुरो विषय सहकारी समुदायको वित्तीय सारथी हो भन्ने बुझाउन नै हो । सहकारीलाई बैंकको रुपमै बुझ्ने जमातको कमी अहिले पनि नभएको गुनासो उहाँको छ । सहकारी उत्पादनसँग जोडिनुपर्छ । सदस्यलाई उत्पादनशील बनाउनुर्छ । उद्यमशीलता विकासका लागि सीपमुलक तालिमको आयोजना गर्ने, उत्पादनशील क्षेत्रमा लगानी गर्ने योजना हुनुपर्ने सापकोटाको भनाइ छ । कोभिड पछि यो अवसर र चुनौती दुबै हो । युवा साकोसपनि यही दिशामा केन्द्रीत रहेको उहाँ सुनाउनुहुन्छ ।

लक्ष्य
अबको मुख्य लक्ष्य संस्थालाई ‘एक्सेस’ ब्राण्ड दिलाउने र जिल्लाका १३ वटै स्थानीय तहमा सेवाकेन्द्र स्थापना गरी सबै उमेर समूहका र भूगोलका सदस्यहरुलाई सेवा प्रवाह गर्ने रहेको सापकोटा सुनाउनुहुन्छ । यसबाहेक प्रविधिमा स्तरोन्नति युवा साकोसको अर्को प्राथमिकता भएको उहाँले स्पष्ट पार्नुभयो ।

अन्त्यमा,
ठूलो सफलतातिर अघि बढ्दा साना उपलब्धिहरुलाई मानक मान्दै अघि बढ्न उद्यत सापकोटाका सपनाहरु ‘ठूला’ बन्नेभन्दा पनि ‘असल’ बन्नेतर्फ प्रेरित होउन् । सफलताको कामना ।


 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ