बुधबार, वैशाख १२
०६:२६

लेनीको त्यो प्रश्नले झसङ्ग भयौं 

बुधबार, फागुन २६
रञ्जनमणि पौड्याल
saccosaawaj

२०२३ साल माघ ८ गते भक्तपुर नगरपालिका वडा नं ७ चोर्चा टोलमा पिता मंगललाल र आमा कृष्णमाया लाखाजु (करिब ३० वर्षअघि स्वर्गीय) को एक्लो छोराको रुपमा कृष्ण गोविन्द लाखाजुको जन्म भएको थियो । भक्तपुर जिल्ला विकास समितिमा सह लेखापाल र लेखापाल गरी कुल २९ वर्ष सेवा गर्नुभएका भक्तपुर जिल्ला बचत संघका अध्यक्ष उहाँ बागमती प्रदेश बचत संघको सञ्चालक सदस्यमा समेत केही समयअघि निर्वाचित हुनुभएको थियो । प्रारम्भिक संस्था सिद्धिगणेश साकोसमा पनि सञ्चालक समिति सदस्य हुनुहुन्छ । विगत २५ वर्ष भन्दा बढीको लाखाजुको सहकारी साइनो हालका दिनमा थप सुमधुर र सुवासित बन्दै गएको विविध भूमिकामा रहेर बनेको छविबाट पनि स्पष्टबोध हुन्छ । सहकारी अभियानका अगुवा, अनुभवी र मिलनसार व्यक्तित्व लाखाजुसँग जिल्ला संघको कार्यालयमा साकास आवाजले समसामयिक गतिविधि र निजी जीवनबारे भलाकुसारी गरेको थियो । 

 

सहकारी पाटो

सहकारी क्षेत्र प्रवेश कसरी भयो ?
२०५० सालतिरको कुरा हो । म जिविसमा कार्यरत रहँदा नेफ्स्कूनका पूर्व अध्यक्ष अग्रज कैलाशभक्त प्रधानाङ्ग बारम्बार कार्यालय आउनुहुन्थ्यो । पूर्व जिविस सदस्य समेत रहनुभएका प्रधानाङ्ग मसँग एउटै पद (सहलेखापाल) मा काम गर्ने सावित्री धौभडेल (नारी कल्याण बचत तथा ऋण सहकारीकी अध्यक्ष) लाई भेट्न आउनुहुन्थ्यो । कैलाश सरले महिलाहरुको मात्रै सहकारी स्थापनाका लागि सावित्री धौभडेललाई घच्घच्याइरहनुहुन्थ्यो । सोही प्रेरणाले उहाँले २५ जनाको सहभागितामा नारी कल्याण स्थापना गर्नुभयो । मैले उहाँहरुबीचको कुराहरु घत मानेर सुन्थे । 

त्यसबेला स्थानीयस्तरमै हामीले सिद्धिगणेश पुस्तकालय स्थापना गरेका थियौं जसको कार्य समितिमा म सचिव थिएँ । स्थानीयहरु जमघट हुने, पत्रपत्रिका र पुस्तक पढ्ने ठाउँ थियो । त्यही मैले साथीभाईहरुसँग सहकारीको सम्भावना र महत्वबारे छलफल चलाएँ । प्रत्येकले १ सय रुपैयाँ सेयर रकम योगदान गरेर आफुले सकेजति न्यूनतम रकम मासिक बचत गरेर आवश्यक पर्दा गर्जोसमेत टार्न सकिने बताएँ । त्यतिबेलमा मेरा साथी राजेन्द्र दुमरुले बढी नै उत्साह देखाउनुभयो । त्यससमय स्थानीय कृषकहरुलाई मल किन्न रकम अभाव, साहु महाजनकोमा जानुपर्ने बाध्यता थियो हुन्थ्यो । यसरी साहुमहाजनबाट ऋण लिदाँ ५ प्रतिशत घ्यूखानी कटाएर मात्र, विशेषगरी सुन धितो राखेर त्यसरी पैसा लिने चलन थियो । अरुहरुलाई पनि सीमित आयश्रोत र बचतको राम्रो बानी नबसिककेका कारण पैसाको कमी नै हुन्थ्यो, त्यसैले सहकारी स्थापना उत्तम विकल्प हुन्छ भन्ने लाग्यो ।

त्यसपछि सहकारीबारे थप बुझ्न कैलाशभक्त प्रधानाङ्गको घरमा पुग्यौं । उहाँले नेफ्स्कूनमा भएको विनियमको नमुना उपलब्ध गराउनुभयो । अहिलेसम्म सिद्धिगणेशमा त्यतिबेला कैलाशभक्त प्रधानाङ्गले उपलब्ध गराउनुभएको नेफ्स्कूनको विनियमनै (केही संशोधन त भएको) छ । खास भन्ने हो भने विनियम तयार गरिसक्दा समेत हामीलाई सहकारीको सिद्धान्त, मुल्य, मान्यता आदि बारे ज्ञात थिएन । खाली संस्था दर्ता गर्ने, पैसा राख्ने र आवश्यक पर्दा झिक्ने मात्र ज्ञान थियो ।साथीहरुबीच छलफल चल्दा मासिक पैसा जम्मा गर्दै लाने तर कहिलेसम्म भन्ने प्रश्न उठ्यो, हामीले भन्ने गरेका थियौं, ‘संस्था दर्ता गरिसक्यौं, ५ वर्षसम्म जम्मा गर्दै जाउ, ब्याजसमेत जोडेर ६५०० जति हुन्छ, त्यसले सादा टिभी किन्ने वा स्टीलको दराज किन्ने’ भन्ने धेरैको चाहना थियो । ५ वर्ष हामीले नाफा वा लाभांशको कुरा गरेनौं । पछि सहकारीका बारेमा थप बुझ्दै गयौं ।

सिद्धि गणेश स्थापना कहिले र कसरी भयो ? 
सिद्धि गणेश साकोस २०५१ माघ १७ गते विधिवत दर्ता भएको हो । जिल्ला सहकारी कार्यालयले त्यसबेला दर्ता गर्न आनाकानी गरेको थियो । हामीलाई कार्यालयका अधिकारीहरुले ‘तिमीहरुले सहकारी चलाउन सक्दैनौं, जिल्लामा कति सहकारीहरु चल्न नसकेको अवस्था छ, सक्दैनौं’ भनेर पठाइदिए । फेरि हामी छलफल गरेर पुनः दर्ताका लागि गयौ, यसरी करिब ३ पटक पुगेपछि मात्रै ‘ल यिनीहरुले गर्लान् त’ भनेर दर्ता गरिदिएको हो । हामीले तत्कालीन ऐन कानुन अनुसार रीतपूर्वक सहकारीमार्फत सदस्यहरुलाई बचत तथा ऋण सेवा प्रदान गर्दै ‘ग्रोथ’ गर्दै गएकोले २०५३ सालमा जिल्लाको नमूना सहकारी भनेर त्यही सहकारी कार्यालयबाट पुरस्कृत भयौं । त्यहाँबाट हामीलाई लाग्यो हामीले सहकारीमार्फत केही गरेका रहेछौं भन्ने लाग्यो । करिब २ वर्षपछि पनि हामी पुरस्कृत भयौं ।

सिद्धिगणेश स्थापनाकालको करिब ४ वर्ष कर्मचारी नराखी सञ्चालक समितले नै खटेर काम गरयौं । श्रेस्ता राख्ने काम आफैले गर्यौं । कम्प्युटरको प्रचलन नै थिएन, टाइपराइटर पनि संस्थामा थिएन । हातले बान्की पारेर मासिक तथा वार्षिक प्रतिवेदन तयार पार्ने अनि नियामक निकायमा बुझाउथ्यौं जुन त्यस बेलाका लागि नौलो नै थियो किनभने मासिक नियमित प्रतिवेदनहरु सम्बन्धित सरकारी निकायमा बुझाउने प्रचलन त्यति थिएन । प्रति व्यक्ति १ सय रुपैयाँको दरले ३१ जना मिलेर स्थापना गरेका थियौं । १ लाख पुग्दा धेरै पुगेको जस्तो लाग्थ्यो । 

सिद्धि गणेशको दरिलो जग कसरी बस्यो ?
२०५५ सालमा हाम्रो छाता संगठन नेफ्स्कूनले एशियाली ऋण महासंघ (आकू) को सहयोगमा संस्थागत विकास परियोजना (इन्डेकुवा) अन्तर्गत तालिम आयोजना गर्यौं । त्यसका लागि देशभरबाट १५ वटा संस्था छनौट भएकोमा हामी पनि पर्यौं । म र राजेन्द्र दुमरु सहभागी भयौं । सदस्यता र कारोबार दुवै हिसाबले हाम्रो संस्थाले पनि ‘ग्रोथ’ गरेको थियो । त्यसबेला हामीसँग सदस्य संख्या ३ सय पुगेको थियो । धुलिखेलमा ३–३ महिनाको बीचमा हुने उक्त २ दिने तालिम ३ वर्ष चलेको थियो । तालिम समापन भएपछि हाम्रो संस्थाको ‘ग्रोथ’ एकदम बढ्यो । आकूबाट लेनी र रञ्जित आउनुभएको थियो ।

त्यसबेला भर्खरकी युवती लेनी फ्रक लगाएर आउनुभएको थियो । लेनीले सोधेको एउटा कुरा मलाई अझै याद छ ,‘संस्था किन खोल्नुभएको ?’ हाम्रो जवाफ ‘सामाजिक सेवा गर्न’ थियो । सदस्य संख्या र कार्यक्षेत्र कति छ भनेर सोध्नुभयो । त्यसबेला हाम्रो संस्थाको कार्यक्षेत्र भक्तपुर नगरपालिका भर थियो । १ वडाबाट शुरु भएको संस्थाको कार्यक्षेत्र विस्तारै ३ वडा हुँदै नगरपालिकाका १७ वटै वडा कार्यक्षेत्र थियो । त्यसबेलाको नगरपालिकाको जनसंख्या करिब ७५ हजार रहेको बतायौं । अनि लेनीले ७५ हजार जनसंख्या भएको नगरपालिकाभर कार्यक्षेत्र भएको संस्थाले जम्मा ३ सय जनालाई सेवा पुर्याएर हुन्छ भन्नुभयो । त्यो प्रश्नले हामी झसङ्ग भयौं । प्रभावित पनि भयौ । यदि संस्था विकास गर्नुछ भने सदस्य विस्तार गर्नैपर्छ, सके ३० प्रतिशत नसके कम्तिमा १० प्रतिशत पुर्याउनै पर्छ भन्ने ठान्यौं । 

त्यसैगरी, PEARLS को बारेमा त्यही जानकारी पायौं । PEARLS नबुझ्दासम्म भाखा नाघेको ऋणको बुझाई नै गलत थियो हाम्रो । ब्याज किस्ता नतिरेमा पनि भाखा नाघेकोमा गणना हुन्छ भनेपछि हामीले ‘त्यो त कहाँ सम्भव हुन्छ’ भनेर आपत्ति जनायौं । ‘यो सम्भावना छ, पहिला तपाईहरु आश्वस्त हुनुहोस, अनि सदस्यहरुलाई विश्वस्त तुल्याउने तरिका हामी सिकाउछौं ’ भन्ने कुरा लेनी र रञ्जितबाट आयो । हाम्रो संस्थामा भाखा नाघेको ऋण ५ प्रशितभन्दा कम थियो भन्ने लागेको थियो तर पछि आकूबाट सिकाइएअनुसार भाखा नाघेको ऋण गणना गर्दा त १२ प्रतिशत पुग्यो । त्यसपछि हामी डरायौं, ऋण लगानीलाई सुरक्षित गर्ने कुरा, किस्ताबन्दी गर्ने कुरा, ऋणी सदस्यलाई ताकेता गर्ने कुरा, छुट्टै ऋण अधिकृत राख्ने कुरा, सबै कुराहरु लागू गर्दै जाँदा अवस्थामा उल्लेख्य सुधार भयो । पहिले हामीले जे बुझेका थियौं, त्यो पर्याप्त होइन रहेछ भन्ने बुझ्यौं ।

एक्सेस कार्यक्रममा सहभागिताको अनुभव कस्तो रह्यो ? 
PEARLS सिकेपछि धेरै नयाँ कुरा सिकेको अनुभूति भयो । बुझ्नुपर्ने कुरा यसमा रहेछ भन्ने लाग्यो तर २०६४ सालमा नेफ्स्कूनको पहलमा आकूबाट एक्सेस्को कुरा आयो । राजेन्द्र दुमरु र म नै सहभागी थियौं । धुलिखेलमा लेनी र रञ्जित नै आउनुभएको थियो । सुरुमा एक्सेस टुल्स भएको म्यानुअल पढ्न दिइयो सहभागीहरुलाई । अंग्रेजी र नेपालीमा थियो । मैले नेपाली पढेँ, अंग्रेजी शिक्षक पनि भएकाले राजेन्द्रजीले अंग्रेजी पढ्नुभयो । नेपाली अनुवादमा अशुद्ध थियो । एक दिन लगाएर सबै पढ्न अनि केही सच्चाउनुपर्ने भए टिपोट गरेर दिन आग्रह गरिएको थियो । पढिसकेपछि त्यसमा नबुझेकी केही छ भनी सोधियो र ‘यो कार्यक्रममा भाग लिन चाहनुहुन्छ कि हुन्न’ भन्ने प्रश्न गरियो । सुरुमा सबैले ‘हुन्छ’ भनेपनि शुल्कको कुरापछि धेरै जना अनिर्णित रहनुभयो । राजेन्द्रजी र मैले शुल्क तिर्नुपरेपनि यो कार्यक्रम आवश्यक छ भनेर सहभागी भयौं । एक्सेस् पहिलो ब्याचमा सिद्धिगणेश सँगै ७ वटा साकोसहरु सहभागी भएका हौं । दोलखाको जनसचेतन, काभ्रेको सामुदायिक, बुडोल सामुदायिक, विन्दवासिनी, भक्तपुरको सिद्धिणेश, उपकार र बाराही । त्यसमध्ये ४ वटाले ब्रान्ड पायौं ।

तपाईहरुले सहकारी स्थापनाको तरखर गर्दा जिल्लामा सहकारीप्रतिको दृष्टिकोण कस्तो थियो ?
हामी सहकारी अभियानमा २०५० तिर जोडिदाँ त्यतिबेला सहकारीप्रति नकारात्मक धारणा बढी थियो । २०५१ सालमा दर्ता गरेपछि कार्यक्रमहरुमा अतिथि, छिमेकी लगायत बोलाउँदा सहकारीले विगतमा रकम दुरुपयोग गरेर यहाँ आन्दोलनसमेत भएकोले आम मानिस र बौद्धिक वर्गहरुको समेत धारणा त्यति सकारात्मक थिएन । सहकारीप्रतिको माहोल नै सकारात्मक थिएन । तै पनि हामी कटिबद्ध थियौं । हामीलाई के लागेको थियो भने इमान्दारीपूर्वक काम गर्दा खासै फरक पर्दैन भनेर अघि बढ्यौं । हामी भन्दा अघि न्यून संख्यामा मात्र सहकारी थिए, हामीले सञ्चालन गरेपछि भने अरुहरुको पनि आगमन भयो । राम्रो कुरा त के भने हामीमा सदस्य भएर, सहकारी बुझेर पछि आफ्नै नजिक सहकारी स्थापना गरेर अध्यक्ष वा सञ्चालक भएका थुप्रै उदाहरण छन् । 

त्यसबेला, सहकारीका बारेमा थप ज्ञान हासिल गर्न सहकारी प्रशिक्षण केन्द्रमा १ हप्ताको तालिम पनि लिएको थिएँ जसमा सबै विषयगत सहकारीहरुका लागि हुने गरी र दुरदराजदेखि काठमाडौंसम्मका प्रशिक्षार्थीहरुलाई हुने गरी सिकाइन्थ्यो । केन्द्रीय संघहरु तालिम शिक्षाको क्षेत्रमा सक्रिय थिएनन् त्यति बेला, जिल्ला संघ त कता हो कता । प्रशिक्षण केन्द्रको तालिममा पहुँच नै कम हुन्थ्यो ।

सिद्धि गणेशको हालसम्मको कार्यकाललाई कसरी स्वमूल्याङ्कन गर्नुहुन्छ ?
संस्थापक कोषाध्यक्ष भएर १६ वर्ष लगातार काम गरेँ । पछि २ कार्यकाल अध्यक्ष रहेँ । सिद्धि गणेशबाटै प्रतिनिधित्व गर्दै त्यसबेला जिल्ला संघमा पनि कोषाध्यक्ष भएँ । संस्थाको सञ्चालक समितिकै प्रतिनिधित्व आवश्य पर्ने नियम जिल्ला बचत संघमा नियम भएकोले सिद्धि गणेशमा म सञ्चालक छु । पाएको भूमिकालाई इमान्दार भएर निर्वाह गरेको छु भन्ने लाग्छ । त्यहीकारण यति लामो समयसम्म सदस्यहरुको विश्वास प्राप्त गरेको छु ।

पछिल्लो समयमा आएर सहकारी भनेको विराट क्षेत्र हो भन्ने बुझ्यौं । हामीले मल बीउबीजन बजारीकरण गर्ने, स्वदेशी उत्पादन गर्ने भनेर सिद्धि गणेशमार्फत छुट्टै इन्टिटीको रुपमा सिद्धी कृषि सहकारी संस्था लि.भनेर म अध्यक्ष भएको समयमा दर्ता गर्यौं । त्यो अहिले क्रियाशील छ । त्यस्तै सर्वसुलश उपभोक्ता सहकारी पछि खोल्यौं । २ वर्ष भयो राष्ट्रिय सहकारी महासंघले २५ लाख रुपैयाँ अनुदान दिएको छ । सहकारीलाई विविधिकरण गरेका छौं भने बचत तथा ऋण सहकारीमार्फत पनि सामाजिक उत्तरदायित्वका काम गर्नुपर्छ भनेर नाफाको केही प्रतिशत खर्च गर्ने भनेर कार्यक्रम अघि बढाएका छौं । दैनिक स्वास्थ्य क्लिनिक, दाँतको क्लिनिक सञ्चालनमा छ, फिजियोथेरापी नियमित रुपमा सञ्चालनमा छ जसमा सदस्यहरुलाई छुट प्रदान गरिन्छ ।

जिल्ला बचत संघको गठन कसरी भयो ?
२०५७ सालमा सिद्धिगणेशमा एउटा भेला भएको थियो । त्यहाँ सहकारीमा विभिन्न किमिसमा विकृति आउन थाल्यो त्यसैले यस क्षेत्रमा देखिएका विकृतिहरु र चुनौतहरुको रोकथामको उपाय खोजौं भनेर बैठक भएको थियो ।  त्यही बैठकले संघ नै गठन गरौं भन्ने आवाज उठ्यो । ललितपुर र काठमाडौं जिल्ला संघ निस्कृय थिएँ । कैलाश सरले पनि जिल्ला संघ खोल्न भन्दा पनि सक्रिय बनाउ कठिन छ भन्नुभएको थियो र तर पनि हामी कस्सियौं । त्यसबेला २०५९ सालमा भष्ट्राचार निवारण ऐन आयो, जसले नेपाल सरकारको तलबी कर्मचारीहरु सहकारीमा लाग्न बन्देज लगायो । हामी अल्मलियौं । पछि कैलाश सरलाई पहलका लागि अनुरोध गर्यौं । पछि संशोधन भयो, सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिएपछि कानूनले बन्देज नगर्ने भनियो । २०६२ साल बैशाख २२ गते भक्तपुर जिल्ला संघ दर्तासहित गठन भएको हो । संस्थापक अध्यक्ष राजेन्द्र दुमरु हुनुहुन्थ्यो । अहिलेसम्म पनि हाम्रा आधारभूत धारणाहरुमा परिवर्तन छैन । सहकारी मुल्य मान्यताहरुमा हामी अडिग छौं । तहगत संरचना मिलेको छैन । एउटै प्रारम्भिक संस्था धेरै ठाउँमा सञ्जालमा जोडिनुभन्दा, एउटा उपल्लो तहमा जोडिए सञ्जालमा आबद्ध भएको मानिने हुनुपर्छ भन्ने मान्यता छ । 

कोभिडका कारण भक्तपुरका कुनै सहकारीमा समस्या भयो ? 
कोभिडकै कारण हामीसँग वा अभियानमा आबद्ध कुनै पनि संस्थालाई समस्या भएन । जिल्लाका संस्थाहरुमा तरलता संकट होला कि भन्ने ठानेर सहयोगको लागि हामी तयार भएका थियौं तर ठीक विपरित तरलता बढी भयो ।

जिल्ला संघमा अध्यक्ष रहिरहँदा हालसम्म गरेका काममध्ये गर्व लाग्ने काम कुन हो जस्तो लाग्छ ?
सहकारी ऐन २०७४ आएपछि संवैधानिक एवम् कानूनी अधिकार प्रयोग गरेर जिल्लाका ४ वटै नगरपालिकाले पनि ऐन बनाए । एउटा नगरपालिकाले जगेडा कोषको १० प्रतिशत रकम सहकारीहरुले स्थानीय निकायमा राख्नुपर्ने प्रावधान ल्यायो, अर्को नगरपालिकाले सहकारी संस्थालाई २५ हजार कर लिने व्यवस्था ल्यायो, अर्कोले लेक्षापरिक्षक नियुक्ति आफैले गर्ने व्यवस्था गर्यो । यसले अलमल कायम भयो । 

जिल्ला संघको अगुवाइमा महासंघ, नेफ्स्कूनलगायतका माथिल्ला निकायमा गुहार्यौं । हामी आफै लड्यौं । ऐनका बारेमा हामीले नगरपालिकाका प्रमुखहरुसँग भेटेर छलफल गर्यौं, ऐनको बारेमा प्रष्ट पार्यौं तर पनि संशोधन भएन । त्यसपछि हामी सांसदहरुलाई भेट्यौं, अहिले ती सबै परिवर्तन भए । संघीय सहकारी ऐन अनुसार साविक बमोजिम नै कायम हुने गरी संशोधन भयो । यदि हामी जिल्ला संघमा संगठित भएर अघि नबढेको भए संस्थाहरु मारमा पर्थे भन्ने अहिले महसूस भएको छ । भएको ऐन नियम पालना गर्न पाउनु पनि गौरवको अवस्था आयो । हाम्रो सामूहिकताले नगरपालिकामा बुझाउन सक्यौं भन्ने लाग्छ ।
त्यस्तै, जिल्ला संघमा विगतदेखि नै भइरहेको अन्तरलगानी र तालिमको कार्यक्रम अहिले बढेको छ ।  स्टेशनरी बिक्री पनि अघि देखि नै थियो जुन अहिले बढेको छ । यस्तै, सन्दर्भ ब्याजदर १६ प्रतिशत तोक्दा, ‘यो सही भयो वा ठीक छ’ भनेर हामीले भन्यौं । सदस्यलाई ऋण लगानी गर्दा कम ब्याज तोक्नु ठीक हो हामीले भन्या हो । हामी सही लाई सही र गलतलाई गलत भन्न जिल्ला संघ गठन भएको हो । जिल्ला संघमा मेरो हाल ४ वर्ष बित्दैछ  । अध्यक्षमा यो पहिलो कार्यकाल हो भने २ कार्यकाल कोषाध्यक्ष भएर काम गरेँ ।

जिल्ला संघको अहिलेको मुख्य चुनौती के हो ?
जिल्ला संघलाई ठुलो चुनौतीको रुपमा अग्रिम कर रहेको छ । नेफ्स्कून, बैक, अन्य वित्तिय संस्था र प्रारम्भिक सहकारीले सहकारी संघमा रकम जम्मा गर्दा १५ प्रतिशतको दरले अग्रिम कर भुक्तान गर्नु पर्ने अवस्था छ, जबकी बार्षिक आयमा तिर्नु पर्ने कर ५ प्रतिशत मात्र रहेको छ । संघले र्तिनु पर्ने रकम भन्दा पाउनुु पर्ने रकम अग्रिम कर वित्तीय विवरण मा १ करोड भन्दा बढी छ । संघले यसलाई ठुलो चुनौतीको रुपमा लिएको छ । यसको समाधानको लागि सम्बन्धित ठाँउमा पहल पनि जारी छ ।  आन्तरिक राजस्व कार्यलयमा निवेदन पेश गरेका छौं । आवश्यक परे राजश्व असुली न्यायाधिकरण पनि जान तयार छौं । 
अर्को भनेको जिल्ला र समुदायमा आधारित सबै बचत तथा ऋण सहकारीहरुलाई पछिल्लो समयमा ऋण लगानी समस्या बनेको छ । अझै पनि होटेल, यातायात, पर्यटन, ईटा उद्योगहरु राम्रोसँग सञ्चालनमा आउन सकेका छैनन । कृषिमा पनि समयानूकुल आधुनिकीकरण र व्यावसायिकीकरण हुन सकेको छैन । अब त ठूलो फाँट पनि बाँकी छैन । खण्डीकरण बढी छ । सिंचाई कुलोको समस्या छ । तरकारी उत्पादन पनि कम छ । साना तथा घरेलु एवम् हस्तकला सामाग्रीहरुलाई पनि सस्तो चिनीयाँ उत्पादले विस्थापित प्रायः गरेको अवस्था छ ।

नेफ्स्कूनले आकूको सहयोगमा सञ्चालन गरेको एक्सेसले अनुशासन सिकायो । तर एक्सेस वा गुणस्तर सुनिश्चितताको कार्यक्रममा नगएका बजारिया खालका सहकारीहरुले जोखिम मोलेर क्षणिक लाभका लागि ऋण लगानी गर्ने वा ब्याज प्रतिफल दिने कुरा हाम्रा लागि चुनौती बनेका छन् । ब्याज जति र जहिले आएपनि पुग्ने, लाभांश पनि कोषबाट मात्र नभई जथाभावी खुवाउने आदि कामले हामी जस्ता संस्था र संघमा काम गर्नेहरुलाई चुनौती थपेको छ । समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा र नियामक निकायले कानुन परिपालनामा ध्यान नदिदा समुदायमा आधारित संस्थाहरुलाई कठिन छ । 

बुझाइमा कमीका कारण कतिपय सदस्यलाई एक्सेसका कारण लाभांश घट्यो भन्ने लाग्दो रहेछ । यसमा गल्ती हाम्रो हो । सदस्यहरुलाई हामीले बुझाउन नसकेकै हो । एक्सेसमा गएपछि त हाम्रो लाभांश कम भयो, ऋण पनि मासिक किस्ताबन्दी तिर्नु भन्छ, बारम्बार ताकेता भइरहन्छ, कागजातहरु बढी चाहिन्छ, जस्तो ठान्नुहुँदो रहेछ । यसको अर्थ हामीले सदस्यलाई राम्ररी बुझाउन सकेनौं । त्यसमा चुनौती बजारिया सहकारीहरु हुन । यदि उनीहरु गलत हुन भने त कारबाही हुनुपर्ने, त्यस्तो पनि भएको छैन भन्ने प्रश्न सदस्यहरुबाट उठ्छ । तुलना गरेर हेर्छन ।

जिल्ला बचत संघले त अभियान नै चलाएको छ, “जबसम्म विकृत सहकारी संस्थाहरुलाई नियमन र नियन्त्रण गरिदैन, तबसम्म सहकारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदैन ।” समुदायमा आधारित र बजारिया सहकारीहरुको कित्ता छुट्टिनुपर्छ । नियामक निकायले आधारहरु बनाएर यो काम अघि बढाउनुपर्छ भनेका छौं । बचत ऋण सहकारीमा नियमित बचत नगरेको त साकोस नै होइन । यो विश्वव्यापी मान्यताप्राप्त अभ्यास हो । ‘थोरै तर सधै’ भनेर हामीले सिकेको हो । घर जग्गा बेचेको पैसा त जसले पनि राख्छ नि । बजारमा देखिएको यस्तै छ, त्यही भएर विकृति छ । 

त्यस्तै, हिजोआज सञ्चारमाध्यमहरु त्यसमा पनि अनलाइनहरुमा सहकारीका नकारात्मक कुरालाई चाँडै र धेरै प्रचार गर्ने काम भएको छ । सहकारीमा पनि विकृति छ जसको समाधानको लागि हामी सबैले आफ्नो क्षेत्रबाट गर्नुपर्ने धेरै काम छ ।

दोहोरो सदस्यताका सम्बन्धमा संघको धारणा के हो ?
यो ऐनमा आएको विषयप्रति नै हाम्रो आपत्ति हो । यो संशोधन हुनुपर्छ । यस सम्बन्धमा  जिल्ला संघ सञ्चालक समितिले गरेको निर्णय महासंघ र नेफ्स्कूनलगायतलाई पठाएका छौं । दोहोरो सदस्यताको विषय ‘स्वेच्छिक तथा खुला सदस्यता’ भन्ने पहिलो नम्बरको सहकारी सिद्धान्तविपरित छ, कार्यक्षेत्र भित्रका व्यक्तिले ‘सदस्य बन्न पाउ भनेर निवेदन दिएभने दिनुपर्छ र छोड्छु भन्दा पनि दिनुपर्छ’, रीत पुर्याएर आउँदा हुँदैन भन्न मिल्दैन । अर्को भनेको नेपाल अधिराज्यको संविधानले पनि एक नेपाली नागरिकले कानुनबमोजिम स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउछ भनेको छ । जहाँसम्म ऋणको चुनौतीको प्रश्न छ, यसका लागि कर्जा सूचना केन्द्रको व्यवस्था गर्नुपर्यो । कर्जा असुली न्यायाधिकरणको कार्यान्वयनमा जोड दिनुपर्छ । कालोसूची प्रकाशित गर्ने व्यवस्था गर्नुपर्यो । कानुनमा भएको कुराहरु कार्यान्वयनमा जोड नदिई सरकारका निकाय एकपाटो रुपमा मात्र अघि बढ्न हुँदैन । जिल्ला बचत संघले त कालोसूचीको व्यवस्था गरेको छ । हाम्रा सदस्य संस्थाले आग्रह गरे ऋण नतिर्नेहरुको नाम कालोसूचीमा हाल्नुपर्यो भनेर आधिकारिक आग्रह गरे प्रकाशित गर्ने गरेका छौं ।

बिशिष्टीकृत संघका विषयमा के भन्नुहुन्छ ?
यस विषयमा जिल्ला संघले आधिकारिक धारणा बनाएको छैन । व्यक्तिगत विचार भन्नुहुन्छ भने म दुई ठाउँमा आबद्ध छु । उत्पादनमा गएन भन्नेका लागि बिशिष्टीकृत सहकारी संघ आवश्यक छ । यदि यसो गर्न सकियो भने जगेडा कोषको ५० प्रतिशतसम्म उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकियो भने केही रोजगारी र उत्पादनशीलता वृद्धिमा मद्दत पुग्छ भन्ने लाग्छ ।
आफै धेरै लगानी गरेर नाफा कमाउन होइन, केही प्रतिशत मात्र लगानी गर्न सकियो भने राम्रो हुन्छ भन्ने हो । पल्सले गैर वित्तीय लगानी नगर भनेपनि धेरै होइन, माटो सुहाउँदो हिसाबले गर्नुपर्छ कि जस्तो लाग्छ । पैसा सबै बचत तथा ऋण सहकारीमा थुप्रिएको छ, अन्य प्रकृतिका सहकारीहरुले काम गर्न सकिरहेको छैन । यस्तो अवस्थामा हामीले केही प्रतिशत लगानी गरेर उत्पादनका क्षेत्रमा काम गर्न सक्दा राम्रो हुन्छ भन्ने लाग्छ ।

भक्तपुर जिल्लामा बचत ऋण सहकारीहरुको अवस्था के छ र सदस्यता वृद्धिका लागि जिल्ला संघले के गर्दैछ ?
भक्तपुर जिल्लाभर हाल ४ सय ७० बचत तथा ऋण सहकारी संस्थाहरु छन् भने जिल्ला संघमा आबद्ध १ सय ९९ आबद्ध छन् । हामीसँग ४० प्रतिशत सदस्य छन् भने बाहिर ६० प्रतिशत छन् तर पनि यसलाई हामीले सहजरुपमा लिएका छौं । सदस्यता विस्तारका लागि हामी नगर नगरमा गएर आव्हान गर्छौ तर कतिपय आएपनि हाम्रा नियमहरु देखेर आत्तिन्छन् ।  नियमित बचत हुनुपर्छ, सदस्यसँग मात्र कारोबार गर्नुपर्छ भन्दा संस्थाहरु आत्तिन्छन् । यी त न्यूनतम आवश्यकता हुन् जुनप्रति प्रतिबद्ध नहुनेहरु धेरै छन् । त्यस्ता संस्थाहरुलाई भित्राउन हुँदैन बरु तिनको भण्डाफोर गर्ने अभियान हाम्रो हो । त्यस्ता संस्थाहरुले मानिसहरुलाई प्रलोभनमा पारेका छन् । तिनको गतिविधिको छानविनमा सहयोगका लागि स्थानीय नियमनकारी निकायले आवश्यक ठाने, सहयोग आवश्यक भए, गर्न जिल्ला संघ तयार छ । हामीले नगरपालिकाहरुलाई पनि यस विषयमा बारम्बार सूचित गराएका छौं र जिल्ला संघ सहयोग गर्न तयार छ जुन कुरा ऐनमा पनि लेखिएको छ भनेर अवगत गराएका छौं । स्थानीय निकायमा कार्यरत कर्मचारीमा सहकारीसम्बन्धी बुझाईमा कमी छ भने अर्कोतर्फ जिल्ला संघसँग साझेदारी गर्दा हामी भन्दा उनीहरु हाबी हुन्छन् भन्ने सोच पनि हुन सक्छ । यद्यपि, हामी स्पष्ट छौं, नियम कानुनभन्दा बाहिर गएर सदस्यता विस्तार गर्न सकिन्न ।

एकै व्यक्ति दोहोरो वा त्यो भन्दा बढी जिम्मेवारी रहने विषयलाई कसरी लिनुभएको छ ?
जिल्ला संघको अध्यक्ष म बागमती प्रदेश बचत संघमा पनि अध्यक्ष हभएको भए दोहोरो भूमिका हुन्थ्यो । यदि बागमती प्रदेशमा बस्न जिल्ला संघको कुनै पनि महत्वपूर्ण पदमा नरहेको व्यक्ति पठाउने हो भने प्रदेशले गरेको निर्णय जिल्ला संघमा लागू हुन्छ भन्ने अवस्था नरहन सक्छ । सिद्धिगणेशबाट म यहाँ प्रतिनिधि नभएको भए जिल्ला संघले गरेको निर्णय सिद्धिगणेशले मान्ने अवस्था आउँछ र ? उदाहरणको लागि जिल्ला संघमा सेयर थप गर्नुपर्यो भन्ने निर्णय सिद्धिगणेशले नमान्न सक्छ । त्यही कारण माथिल्लो तहमा जाँदा पदाधिकारी नै चाहिन्छ भन्ने उल्लेख छ, सल्लाहकार वा अरु निस्कृय भूमिका भएर हुँदैन । संघीय ऐनले नबोले पनि बागमती प्रदेश ऐनमा माथिल्लो तहमा गएपछि तल्लो तहको छोड्नुपर्छ भन्ने प्रावधान राखिएको छ । यदि हुँदैन कसैले भन्यो वा यससम्बन्धी निर्णयहरु भए भने एउटा छोडौला । सबै व्यक्ति धेरै पदमा बस्नुहुन्छ भन्ने मेरो मान्यता होइन र अदालतमा पनि विचाराधीन रहेको छ र निर्णय भयो भने छोड्न तयार छु । तर जिल्ला संघमा पनि सल्लाह गरेर नै म प्रदेश संघमा गएको हुँ । सबैभन्दा ठूलो वा महत्वपूर्ण कुरा भनेको प्रारम्भिक संस्था हो । सदस्यसँग प्रत्यक्ष जोडिने र भिज्ने भनेको प्रारम्भिक संस्था नै हो । सञ्जाल त चाहिन्छ तर पनि सञ्जालमा बस्न मिल्दैन भन्ने हो आखिरमा जाने ठाउँ त प्रारम्भिक संस्था नै हो ।

स्थानीय सरकारसँग जिल्ला संघको सम्बन्ध कस्तो छ ?
हामी नजिक नै छौं । अहिले ४ वटै नगरपालिकाका प्रमुखहरुसँग बसेर कार्यक्रम गरेका छौं । ४ वटै नगरपालिकाका नगर समन्वय उपसमिति बनाएका छौं । नगर उपसमितिले नगरपालिकासँग सम्बन्ध बढाउँदै मिलेर काम गर्ने अभियान थालनी भएको छ ।

जिल्ला संघको भावनी योजना के छ ? 
दिगो सहकारीका लागि संघ भन्ने हाम्रो भिजन छ । त्यसका लागि अन्तरलगानी, संस्थागत विकास,  बहस पैरवी आदि बढाउँदै लाने भन्ने हो । संस्थागत विकासका लागि तालिम, प्रविधिलाई सशक्त बनाउने योजना छ । ऐन कानूनका साथै  र प्रारम्भिक संस्थाहरुलाई परेका समस्याहरुमा लागि बहस पैरवी गर्ने आदि छन् । सुर्यविनायक नगरपालिकाको ८ नम्बर वडा नजिक निर्माणाधिन जिल्ला संघको भवन अब एक महिना भित्र तयार हुन्छ । सदस्य संख्या वृद्धि गर्ने, कभरेज बढाउने, जिल्लाभरका समुदायमा आधारित सत प्रतिशत सहकारीलाई समेट्ने कार्यक्रम छ । कुनै पनि माथिल्लो निकायमा संलग्न नभएका संस्था छन् भने तिनलाई कुनै न कुनै निकायमा समावेश गर्न प्रयास गर्छौ । हामीसँगै आबद्ध हुनुपर्छ भन्दा पनि सञ्जालमा कही न कही जोडिएकोलाई पनि हाम्रै अभियानभित्रको हो भन्छौ । यसका लागि जिल्ला भरका समुदायमा आधारित संस्थाहरुको तथ्याङ्क संकलनको काम अघि बढाउँदैछौं । 

खासगरी काठमाडौं उपत्यकाभित्रका बचत ऋण सहकारीहरुमध्ये भक्तपुरका संस्थाहरु कुन हिसाबमा पृथक छन् ?
हामीकहाँ नियमित बचत गराउने सहकारी बढी छन् । (नियमित बचत नगराउनेहरु सहकारी नै होइनन भन्ने हाम्रो स्पष्ट धारणा हो ।) स्थानीय अर्थात् स्थायी बसोबासरतहरुले मिलेर सञ्चालन गरेको सहकारीहरु बढी छन् । नेफ्स्कूनको गुणस्तर सुनिश्चिता कार्यक्रममा प्राप्त उपलब्धिका हिसाबले पनि भक्तपुर जिल्ला अग्रस्थानमा छ । संस्थागत विकास तालिममा सहभागिताको कुरा होस वा एक्सेस कार्यक्रममा सहभागी भएर पहिलो प्रयासमै ब्रान्ड पाउने कुरा होस्, भक्तपुरको भूमिका महत्वपूर्ण छ । समुदायमा आधारित भएर सञ्चालनमा रहेका १ अर्ब माथिका ४ वटा ठूला संस्था यही जिल्लामा छन्  र संघमै आबद्ध छन् । त्यसले के पनि प्रमाणित गर्छ भने ठूलो बन्न बेइमानी नै गर्नुपर्दैन । टोलटोलमा गाउँगाउँमा समूहहरु विकास गरेर, सामाजिक सक्रियता बढाउने गरी, सहकारीलाई आर्थिक रुपले मात्र हेर्ने होइन सामाजिक रुपले पनि हेर्नुपर्छ भनेर स साना समूहहरुले काम गरेका छन् । यो भक्तपुरको बिशिष्ट पहिचान हो भन्ने लाग्छ । 

जिल्ला संघ साझेदारीका सम्बन्धमा संघको धारणा के हो ?
हामी सकारात्मक छौं । जिल्ला संघको बोर्ड सकारात्मक छ । 

सहकारीको वर्तमान नेतृत्व कस्तो लाग्छ ?
सहकारी नेतृत्वबाट अपेक्षा अनुरुप काम भएको छैन ।

आफुले गरेको कुनै निर्णयमा पछुतो लाग्या छ कि ?
सिद्धिगणेश संस्थामा अध्यक्ष भइसकेको राजेन्द्र दुमरु पछि व्यवस्थापक हुनुभयो, कार्यवाहक अध्यक्ष उपाध्यक्ष बन्नुभयो । म कोषाध्यक्ष भएँ । पछि म अध्यक्ष भएँ, कार्यवाहक अध्यक्षले पनि आफ्नो निरन्तरता चाहनुभएको थियो, त्यति बेला भने मैले उहाँलाई छोडिदिएको हुन्थ्यो जस्तो पछि लाग्यो । हुनत उहाँ नै पछि अध्यक्ष हुनुभयो, अलिकित अघि पछि मात्र भयो । हुनत अहिले सम्बन्ध राम्रो छ तर पनि एकचोटी छोडिदिएको भए पनि हुन्थ्यो भन्ने पनि अहिले लाग्छ ।

सहकारी क्षेत्रमा तपाईको प्रेरणा ? 
कैलाश सर, सावित्री दिदीका अतिरिक्त सिद्धिगणेश पुस्तकालय (त्यसमा रहेको टीम) बाट पनि प्रेरणा मिलेको थियो ।

व्यक्तिगत पाटो

परिवारमा को को हुनुहुन्छ ?
हाल ८ जनाको परिवार छ । पत्नी रामेश्वरी (२०४२ सालमा मागी विवाह) सहित बुबा मंगललाल जेठो छोरा शरद लाखा (इन्जिनियर), जेठी बुहारी, २ वर्षे नाति, कान्छो छोरा हेमन्त लाखाजु (वित्तीय संस्थामा जागिरे उनको हालसालै विवाह सम्पन्न भएको छ) सहितको परिवार भक्तपुर नगरपालिका ८ लिवालीमा स्थायी बसोवासरत छौं । एक जना दिदी रत्नमाया याकामी हुनुहुन्छ ।

बाल्यावस्था र शिक्षा कस्तो रह्यो ?
किसानको परिवार हो मेरो । बुबा किसानी काम गर्नुहुन्थ्यो । खेतीपातीमा व्यस्त हुनुपर्ने बाध्यता नै थियो । बुबा डकर्मीको काम पनि गर्नुहुन्थ्यो । सन्तान पढाउन धान, आलु, खुर्सानी आदि नै बेच्नुपर्ने अवस्था थियो । जग्गाजमीन भएपनि तरल रकमको अभाव थियो । घर नजिकको विद्यालयमा प्रारम्भिक शिक्षा हासिल गरेँ । पछि शारदा माविमा भर्ना भएँ । त्यसबेलाको राम्रो विद्यालयमा पथ्र्यो शारदा मावि, पछि मिनभवन क्याम्पसबाट आइकमसम्मको अध्ययन गरेँ ।

परिवारमा सम्बन्ध कस्तो थियो ?
एक्लो छोरो भएकाले धेरै माया गर्नुहुन्थ्यो बुबाआमाले । म भन्दा अगाडि ३–४ वटा सन्तान गुमाइसकेका कारण पनि बढी माया पाएँ । अहिले पनि छिमेकी दाजुभाई काकाकाकीहरुले बुबाआमाले गणेशथानमा पुजाआजा गरेर पाएको सन्तान भनेर मलाई सुनाउनुहुन्छ । माया धेरै पाएपनि  पुल्पुलिएको भने थइनँ ।  घरपरिवारबाट राम्रो माया र सम्मान पाएको छु ।

विगतमा स्वभाव कस्तो थियो ?
म बोलीचालीमा मितव्ययी स्वभावको थिएँ । सानोमा निक्कै दुब्लो थिएँ । अहिले पनि खासै मोटो त छैन । एक्लो छोरालाई मोटोघाटो भएर हेर्ने चाहना बुबाको थियो । त्यही भएर बुबाले ५० पैसाको जेरी स्वारी खाउ भनेर बेलाबेलामा पैसा दिनुहुन्थ्यो । जेरी स्वारीले जीउ लाग्छ भनेर बुबाले पैसा दिनुहुन्थ्यो । अहिले पनि जिल्ला संघको बैठकहरुमा प्रायः जेरीस्वारी नै मगाउछु, मीठो लाग्छ ।

धेरैलाई थाहा नभएको कुरा केही छ कि ?
म राम्रो भलिबल खेलाडी हुँ । भलिबल खेल्न रुचाउँछु । जिल्लास्तर सम्म भलिबल प्रतियोगिताहरुम भाग लिएको छु । नगरस्तरीय मा त पुरस्कार नै हासिल गरेको छु । चिसोमा बिहानैदेखि भलिबल खेल्थ्यौं पहिला । १० वर्षजति भयो नियमित बिहान १ घन्टा हिड्छु । मेरो पनि एकजना ‘कम्फरटेबल’ साथी छन् ।

धर्म सम्बन्धमी धारणा के छ ?
भगवानप्रति अनास्था होइन तर लगाव छैन । पुजाआजा गर्ने वा त्यसप्रकारको धार्मिक गतिविधिमा सक्रिय सहभागी हुने बानी छैन । मन्दिर जान्छु, सबैतिर घुम्छु तर देवताको मूर्तिमा ढोग्ने बानी छैन ।भौतिकवादी भएपनि पछिल्लो समय केही न केही छ है यो संसारमा भन्ने लाग्छ । यो संसारको लीलामा कसैको हात छ वा केही रहस्य कि भन्ने लाग्न थाल्या छ ।

मनपर्ने खानेकुरा के हो ?
दालभात तरकारी मन पर्छ । मासु भएपछि चिउरा चाहिन्छ । घरमा मासु ल्याएको दिनमा चिउरा अनिवार्य हुन्छ । जेरी स्वारी पनि मन पर्ने कुरा उल्लेख गरिहालेँ । 

अरु सोख ?
म चलचित्र बढी हेर्छु । पहिल्यैदेखि हिन्दी चलचित्रहरु धेरै हेर्थे । हलमा गएर र अझ पहिले त भिडियो हेर्ने गर्दथे । मैले करिब ३५ वर्षसम्म रेल देखेको थिइँन । चलचित्रमा हेरेर रेल कस्तो हुनेरहेछ भन्ने थाहा पाएँ । समाज, प्रकृति र मानव निर्मित कुराहरुको दृश्यावलोकन चलचित्रमा गर्न पाइने हुनाले पनि मन पर्छ । प्रारम्भमा भाषा नबुझ्दा ड्याङ्डुङहरु मनपर्थ्यो  । भक्तपुरको पुरानो नवदुर्गा हलमा पनि गएर चलचित्र हेर्थे । एक दिनको कुरा हो–जिविसमा काम गर्दा एक साथीले चलचित्र हेर्न जाउँ भन्नुभयो । आधा बिदा लिएर साथीसँग नीजि साधन मगाएर घरमा फर्केर लुगा फेरेर हल पुग्यौं । बाराही चलचित्र मन्दिर पुग्दा दर्शक कोही थिएनन् । हामीले ठान्यौं फिल्म शुरु भैसकेछ, ढिला भयो भन्ने लाग्यो । काउन्टरमा पुगेर फिल्म शुरु भयो भनेर सोध्दा होइन शुरु भएको छैन, तपाईहरु २ जना हुनुभयो, अर्को २ जना आएपछि सुरु गर्ने भन्ने जवाफ पायौं । त्यसपछि अब आइन्दा म हलमा गएर चलचित्र हेर्दिन भने । घरमा हेर्छु ।

विदेश भ्रमण कहाँ कहाँ गर्नुभयो ?
बङ्गलादेश, थाइल्याण्ड, दक्षिण कोरिया, फिलिपिन्स आदि ।
 

saccosaawaj media

ऋण संघ ऐन (Credit Union Act) को आवश्यकता

सोमबार, साउन ५

निवर्तमान अध्यक्ष, नेफ्स्कून

saccosaawaj media

सहकारी मर्जरका लागि उत्प्रेरित नभए सरकार दबाब दिन बाध्य हुने

सोमबार, साउन ५

डा. टोकराज पाण्डे रजिष्ट्रार, सहकारी विभाग

saccosaawaj media

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५

दिगो विकास लक्ष्य र सहकारी