बिहीबार, वैशाख १३
११:२०

‘अधिकारको लडाइँ लड्दा लडिएला तर छोड्नुहुन्न’

सोमबार, फागुन २४
रञ्जनमणि पौड्याल
saccosaawaj

पम्फा राई, संस्थापक, नेफ्स्कून

(ताप्लेजुङ जिल्लाको साविक थेचम्बु गाउँमा २००५ मङ्सिर ४ गते जन्मिनुभएकी पम्फा राईले सहकारी क्षेत्रमा ३० वर्ष बढी योगदान गर्नुभयो । त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर राई नेफ्स्कूनकी संस्थापकमध्येकी एक हुनुहुन्छ । राष्ट्रिय सहकारी विकास बोर्डमा करिब २८ वर्ष जागिर, साझा स्वास्थ्य सेवाको महाप्रबन्धक र बोर्डमा सरकारद्वारा मनोनित सदस्य सचिव समेत भएर उहाँले काम गर्नुभयो ।

नेफ्स्कूनको एक कार्यकाल लेखा सुपरिवेक्षण समिति संयोजक निर्वाचित भएर काम गर्ने राई सहकारी क्षेत्रमा यति लामो समय त्यसमा पनि प्रमुख जिम्मेवारीमा बिताउने बिरलै महिलामध्येकी एक हुनुहुन्छ । २०३३ सालमा तेजबहादुर राई (नेफ्स्कून संस्थापक-तल तस्बिरमा)) सँग बैबाहिक सम्बन्धमा जोडिनुभएकी राईका एकमात्र सन्तान अभिषेश राई हाल विमान चालक हुनुहुन्छ । पति, छोरा, बुहारी र एक नातिनीसँग काठमाडौं महानगरपालिका ४ धुम्बाराही चप्पल कारखानामा स्थायी बसोबासरत राईसँग अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नीजी जीवन, सहकारी अभियान, नेफ्स्कूनको इतिहास, महिला मुद्दा आदि विषयमा साकोस आवाजले उहाँको निवासमा गरेको संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । )

प्रारम्भिक शिक्षा कहाँ कसरी लिनुभयो ?

अक्षरारम्भ घरमै गरे । प्रारम्भिक शिक्षा गाउँ नजिकको विद्यालयबाट प्राप्त गरेँ । २०१२ सालमा गाउँ भन्दा करिब २ किलोमिटर टाढा विद्यालय स्थापना हुँदा त्यति लामो बाटो हिडेर पढ्न जाने एक्ली छात्रा थिएँ म । १० सन्तानमध्येकी जेठी थिएँ । आर्थिक अभाव भने थिएन ।  शिक्षाको महत्व बारेमा घरका सबै अग्रज सदस्य जानिफकार रहेकोले पढाइको परिस्थिति अनुकूल नै थियो । मलाई पढ्न खुब रुचि थियो ।

सहकारीसँग साक्षात्कार कहिले र कसरी भयो ?

ताप्लेजुङबाट तराई (सुनसरी) झरेपछि बुबाको राजनीतिक सामाजिक सक्रियता बढ्यो । पूर्वी तराईमा अनौपचारिक समूहहरु मार्फत हुने गरेका बचत तथा ऋणका कारोबार, सहकारी, उपभोक्ता भण्डार जस्ता नाममा भएका सहकारी गतिविधिप्रति बुबाको संलग्नताका कारण जानकार रहेँ । स्नातकसम्म पढ्ने भैसकेका कारण गहिरिएर नभएपनि सहकारी के कस्तो संस्था हो भन्ने केही बुझेकी थिएँ । २०२७ सालमा काठमाडौं ओर्लेपछि २०३१ सालमा राष्ट्रिय सहकारी विकास बोर्डबाट जागिरे जीवनको अध्याय सुरु भयो । त्यसपछि भने जीवनले सहकारी सिवाय केही बुझेन । तत्कालिन सेडा (आर्थिक विकास तथा प्रशासन केन्द्र) मा करिब १ वर्ष अध्ययन अनुसन्धान सहायकको रुपमा करारमा काम गरेँ । सहकारीप्रतिको लगाव र रुचिको प्रस्थानविन्दू भने बोर्ड प्रवेशसँगै भयो । बोर्डको सदस्य सचिव क्षेत्रप्रताप अधिकारी रहँदा मेरो अध्ययन र आवश्यकताले कर्म र सेवाको सम्बन्ध जोडियो । बोर्डमा २८ वर्ष जागिर र पछि त्यही केही वर्ष सरकारद्धारा मनोनित सदस्य सचिव भएर काम गरेँ । सरकार परिवर्तनसँगै मलाई निकालिएपछि अन्याय पर्यो भनेर मुद्दा दायर गरेँ । मुद्दा जितेपछि फेरि काम गरेँ । १ वर्ष त मुद्दा मामिलामै गयो ३ वर्ष सदस्य सचिवका रुपमा काम गरेँ ।

नेफ्स्कूनसँग कसरी नाता जोडियो ?

नेफ्स्कूनको जन्म तत्कालिन साझा केन्द्र लि. बाट भएको हो । हामी केन्द्रका कर्मचारी थियौं । केन्द्रकै 'इनिसिएसन'मा बचत समूह राष्ट्रिय संघ तदर्थ समिति गठन गरिएको हो । त्यतिबेला पञ्चायती व्यवस्थाका कारण संघ संस्था गठनमा प्रतिबन्ध भएकाले समूह स्थापना गरेका थियौं । हामी सञ्चालकमै बस्यौं । केन्द्रको अगुवाईमा भएकाले केन्द्र अन्तर्गतका विभिन्न निकायका महाप्रबन्धकहरु, केन्द्रका विभागीय प्रमुखहरु र केही कर्मचारीहरु सहभागी भई समूह गठन गरिएको थियो । सुरुमा तदर्थ समितिमा अध्यक्षबाहेकको जिम्मेवारी नतोकिएपनि म बोर्डमा  प्रशासनको जिम्मेवारी लिएर बसेका कारण महासचिवको रुपमा काम गर्थे । अध्यक्षको मात्र पद तोकिएको थियो अरु सबै सदस्य थियौं तर पनि कामको हिसाबले मैले सदस्य सचिवको काम गरेँ । मैले नै पत्रहरुमा सही गरेँ ।

बचत ऋण सहकारी अभियानको इतिहास कस्तो थियो ? 

भारतको नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय सहकारी महासंघको एसिया प्रशान्त कार्यालयको आयोजनामा सहकारीसम्बन्धी तालिमको लागि १ महिनाको फिलिपिन्स भ्रमणमा जाँदा त्यहाँको बचत तथा ऋण सहकारी अभियानबाट म निक्कै प्रभावित भएँ । त्यहाँ यो अभियान खुब फस्टाएको थियो । विभिन्न बचत तथा ऋण सहकारीहरुको भ्रमण अवसर मिलेको थियो । शिक्षण, सेना, कारखानाका मजदूर लगायत सबै क्षेत्रमा बचत तथा ऋण सहकारीमार्फत अभियानमा जोडिएको पाउँदा नेपालमा पनि यस्तो काम गर्न सकिने त्यतिबेला लागेको थियो । त्यहीबाट आएर बोर्डमा पनि कर्मचारीहरुको बचत समूह गठनको अगुवाइ गरेँ । सोही कारण बचत ऋण सहकारीहरुको केन्द्रीय निकायको आवश्यताको अभियानमा म पनि सहभागी भएँ । त्यसअघि दिल्लीमै आइसीए–एपीको कार्यालयमा ३ महिने सहकारी तालिम पनि लिएकी थिएँ । त्यसबाट पनि अभियानको बारेमा जान्ने बुझ्ने अवसर मिल्यो ।

त्यस समयमा हामीले आपसी सहायता समूह (सेल्फ हेल्प ग्रुप) को नाममा एक्सन् एड, यूएससी क्यानाडा लगायत थुप्रै संस्थाहरुले नेपालमा बचत तथा ऋणको काम गरेको थाहा पायौं । एशियाली ऋण महासंघ आकूले पनि सरकारी कर्मचारीहरु लगायत धेरैलाई बचत तथा ऋण सहकारीसम्बन्धी तालिम दिएको थियो, तिनका बारेमा सोधीखोजी र अन्तरक्रिया गर्दै आफुहरु पनि बचत ऋण अभियानका बारेमा जानकारी जोड्दै गयौं, विनियमहरु खोजी गर्यौं, अध्ययन अनुसन्धान सामाग्रीहरु खोजी गर्यौं ।

आकूको वित्तीय सहयोगमा पूर्वदेखि पश्चिमसम्मका बचत तथा ऋण कारोबारमा संलग्न व्यक्तिहरु समेटेर पोखरामा साताव्यापी आवासीय तालिम आयोजना गर्यौं, तारा गाउँ होटलले पनि सहयोग गरेको थियो । तारा गाउँकै रिसोर्टमा तालिम आयोजना गरिएको थियो । उक्त तालिममा महिला विकास अधिकृतहरु, सहकारीकर्मीहरु, केही सीमित प्रारम्भिक संस्थामा आबद्धहरुको सहभागिता थियो ।

तपाई नेफ्स्कून अध्यक्ष पदका लागि निर्वाचन पनि लड्नुभयो होइन ?

हो । नेफ्स्कूनको अध्यक्ष पदमा चुनाव लड्ने पहिलो महिला थिएँ । कैलाशभक्त प्रधानाङ्गसँग लडेँ तर १६ मतले पराजित भएँ । त्यसबेला हाम्रो इच्छा भोजराज घिमिरे अध्यक्ष हुनुपर्छ भन्ने थियो । चुनावको केही समय अघिसम्म पनि उहाँ नै उठ्ने कुरा थियो, उहाँले पनि उठ्ने नै कुरा गर्नुभयो अन्तिम समयमा गएर उहाँले नउठ्ने निर्णय गर्नुभयो । १२ बजेसम्म अन्तिम नाम दर्ता गर्नुपर्ने घिमिरेले १० बजे तिर मात्र आफु नउठ्ने भनेपछि मैले उम्मेद्वारी दिएँ । पहिलो महिला लेखा सुपरिवेक्षण समिति संयोजक पनि मै हुँ । लेखा समिति संयोजकमा उठ्दा पनि पहिलो पटक पराजित भएँ तर दोस्रो पटक २०५० सालमा जितेँ । ३ वर्ष काम गरेँ । त्यतिबेला नेफ्स्कूनको कार्यालय थापाथलीमा थियो ।

महिला भएकै कारण केही समस्या भोग्नुपर्यो ?

आशिंक सत्य हो भन्ने लाग्छ । महिला, जनजातिको चश्माले पनि धेरैले हेरेको महसूस हुन्थ्यो मलाई । महिला त्यसमाथि स्नातकोत्तर गरेको, प्रमुख प्रशासकीय जिम्मेवारीमा रहेको र निडर, निर्भिक अनि हकी स्वाभवका कारण धेरैको आँखाको तारो पनि बने जस्तो लाग्छ । स्वभावले पनि कसैसँग नडराउने, नियम कानुन भन्दा बाहिर नहिड्ने, मीठो बचन मेरो छैन, लोलोपोतो गर्ने बानी नभएकोले धेरैले मन नपराएको हो की जस्तो अहिले सोच्दा लाग्छ ।

भोजराज घिमिरेसँग लामो संगत गर्नुभयो ? उहाँलाई कुन रुपमा चिन्नुभयो ?

भोजराज घिमिरे ‘जेन्टलम्यान’ हुनुहुन्थ्यो । व्यक्तिगत रुपमा मेरो सम्बन्ध राम्रो थियो । घिमिरे बोर्ड अध्यक्ष रहेको र म विभागीय प्रमुख भएको नाताले धेरै संगत भयो । कतिपटक नेफ्स्कूनको कामका लागि फाइलहरु लिएर उहाँको घरमा गएको छु । बोर्डको भन्दा बढी नेफ्स्कूनको काममा उहाँ खटिनुहुन्थ्यो ।

भोजराज घिमिरे पनि नियम कानुनभन्दा बाहिर गएर काम गर्न नरुचाउने व्यक्ति हुनुहुन्थ्यो । समन्यवयात्मक स्वभावको हुनुहुन्थ्यो । स्वभाव राम्रो भएकाले सबैले उहाँलाई रुचाउँथे पनि । नेफ्स्कूनको लागि भोजराज घिमिरेले धेरै गर्नुभयो । 
सहकारीमा सुशासन कसरी कायम गर्न सकिन्छ ?

सहकारी भनेको मुलतः अनुशासन हो । सहकारीका मुल्य, मान्यता र सिद्धान्तका सबै बुँदा र विषय हेर्नुभयो भने पाइने प्रधान कुरा भनेको अनुशासनको अभ्यासको खोजी हो । सुशासन चुनौतीको विषय छ । यो माथिबाट आउने कुरा हो । सरकार, कर्मचारीतन्त्र हुँदै सहकारीलगायत राज्यका अन्य संघ संस्थाहरुमा सुशासन कायम गर्नुपर्छ । सर्वप्रथम सरकार सुशासित हुनुपर्यो । राज्यका नीति, नियम र तिनको कार्यान्वयनमा सुशासनलाई कडाइका साथ लागू गरियो भने सहकारीमा पनि सुशासन मौलाउँदै जान्छ । सहकारीको विषयमा भने सुशासनको समस्या भएका अधिकांश सहर केन्द्रीत सहकारीहरुमा देखिन्छ । गाउँमा सहकारी सफल छन् । सहकारीमा देखिएका कमी कमजोरीको दोषी सञ्चालक वा व्यवस्थापक मात्र होइन, धेरै पक्षहरु छन् । सहकारीहरुलाई खराब बनाउने काममा नियोजित प्रयासहरु भएका छन् । सरकारका केही कर्मचारी, विदेशीहरु समेत सहकारीमा काम गर्नेहरुको मानसिकता गलत ढंगले परिवर्तन गर्न लागिपरेका छन् ।

सहकारीमार्फत विकास र समृद्धिको सम्भावना देख्नुहुन्छ ?

मुलुकलाई सघाउने ‘सेक्टर’ हो सहकारी । यो क्षेत्र विकास हुँदा सबै व्यक्ति र जनजीविकाको उन्नति प्रगति सम्भव छ भन्ने सुरुदेखि नै लाग्थ्यो मलाई । त्यसका लागि आफु बसेको संस्था विकास गर्नुपर्यो । 

सहकारीमा संकलित पुँजी मुलुकभित्रकै नागरिकहरुले दुःख गरेर बचत गरेको रकम हो । सहकारीले सदस्यहरुको पुँजी सदस्यहरुबीच नै परिचालन गरेर आर्थिक सामाजिक लगायतका विकास हासिल गरेको हो । सोही कारण सहकारीमार्फत भएका उपलब्धिहरुमा गर्व गर्ने प्रशस्त ठाउँ छ । सहकारीको पैसा सबै नेपालीको पैसा हो । हाम्रो मुलुकमा एनजीओ आइएनजीओले धेरै सहयोग प्राप्त गर्छन् तर सहकारीमा बाहिरी सहयोग एकदम न्यून छ ।  गैर सरकारी संस्थाहरुमा प्राप्त सहयोग कहाँ गएको छ, लाभ कसले कति लिएको छ, खासै लेखाजोखा हुँदैन । चुहावट पनि त्यतिकै छ । सहकारीमा भने दुई चारवटा तालिम, प्राविधिक र थोरबहुत वित्तीय सहयोग बाहेक मुख्य स्रोत सदस्यहरुले विश्वास गरेको बचत नै हो । सहकारीले जस्तो सेवा अन्य क्षेत्रले पनि गर्ने हो भने मुलुकको कायापलट हुन समय लाग्दैन । साना सहकारीको सेवा ठूलो छ । 

सहकारीमा महिला भूमिका र चुनौतीलाई कसरी हेर्नुभएको छ ?

महिलाहरुको अगुवाईमा सञ्चालित विभिन्न प्रकृतिका सहकारीहरुको कारोबार, सदस्य संख्या वा कार्यक्षेत्र कम भएपनि सेवा र प्रभाव ठूलो छ । नियत सफा छ । अनुशासन छ । 

म आफै पनि घर नजिकको अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लि.को लामोसमयदेखि अध्यक्ष छु । कारोबार सानो छ तर सदस्यहरुले सहज र सरल रुपमा सेवा पाउनुभएको छ । खुसी हुनुहुन्छ । धेरै खटेर लाग्न भने सकेका छैनौं । बग्रेल्ती बैंकहरु हुँदा पनि सदस्यहरु सहकारी नै खोज्नु र रोज्नुहुन्छ, त्यो विश्वास हामीले आर्जन गरेका छौं । महिलाहरुलाई चेतनशील, वित्तीय साक्षरता र अनुशासन अनि सीप सिर्जनामा सहकारीहरुको भूमिका प्रशंसनीय छ । हामीभन्दा बाठो हुनुहुन्छ आजका सहकारीका सदस्यहरु । महिला सदस्यहरु कामप्रति जिम्मेवार हुनुहुन्छ ।

जहाँसम्म सञ्चालक समिति तथा व्यवस्थापनको उच्च ओहोदामा महिला सहभागिताको विषय हो यो त माथि देखिको समस्या हो । पित्तृसत्तात्मक सोच, सामाजिक परिवेशले पनि केही हदसम्म भूमिका खेलेको छ । अब यी विषयलाई क्रमिक रुपमा चिर्दै जानुपर्छ सहकारीको नेतृत्व तहमा महिलाको अवस्थामा क्रमिक सुधार हुन्छ । हामीले बराबरीको लागि संघर्ष जारी राख्ने हो । सर्वप्रथम महिलाहरु नै ऐक्यबद्ध हुनुपर्यो । महिला सहकारीकर्मीहरुमात्र पनि एक हुने हो भने केन्द्रीय निकायको शीर्ष पदमा महिला पुग्ने सम्भावना प्रबल रहन्छ । हक माग्ने होइन लडेर लिने हो । नलडी पाइँदैन, लड्नै पर्छ । लड्दा लडिएला तर डराउन भएन ।

सहकारी ऐनका सम्बन्धमा यहाँको धारणा के छ ?

सहकारी ऐन साँच्चिकै सहकारी मैत्री छैन । वर्तमान सहकारी ऐन साना सहकारीहरुको संरक्षण र प्रवर्धन गर्ने खालको छैन । सहकारीलाई बाध्ने हिसाबको छ । साना र मोफसलका सहकारीहरुका लागि ऐन र नियामक निकायले जारी गरेका निर्देशनहरु परिपालना गर्दै नियमति रुपमा आवश्यक प्रतिवेदनहरु बुझाउने विज्ञ जनशक्ति र स्रोतको अभाव छ । 

काठमाडौंमै त कतिपय संस्थालाई कठिन छ भने दूरदराजका सहकारीहरुमा दक्ष जनशक्तिको अभाव छ भन्नेमा म विश्वस्त छु । साना र दूरदराजका बचत ऋण सहकारीहरुको संरक्षण र उनीहरुको समस्या निदानका लागि नेफ्स्कूनको भूमिका महत्वपूर्ण हुन्छ । मलाई लाग्छ नेफ्स्कूनले निरन्तर यसतर्फ शिक्षा र बहसपैरवीको कार्यक्रम गर्दै आएको छ । 

नेफ्स्कूनका गतिविधिसँग कतिको नजिक हुनुहुन्छ ?

केही वर्षयता म नेफ्स्कूनको गतिविधिबाट टाढै छु । पछिल्लो समय संघमा नयाँ सञ्चालक समिति र व्यवस्थापकीय फेरबदलसँगै मलाई चिन्नेहरुको संख्या पनि अत्यन्त कम छ । खोजखबर पनि केही हुँदैन, मैले सोधेर जाने कुरा पनि भएन । 
अब मेरो इच्छा केही छैन । साँच्चै भन्ने हो भने विगत केही वर्ष यता सहकारी क्षेत्रबाट टाढै छु । कहीकतै सार्वजनिक समारोहमा जान्न र धेरैले त बोलाउन पनि छोडिसके । म घरेलु महिला भएर आरामविश्रामको जीवन व्यथित गरिरहेको छु । खोइ तपाईले कहाँबाट धेरै पछि सम्झिनुभयो खुसी लाग्यो ।

सहकारीमा लागेर के पाउनुभयो के गुमाउनुभयो ?

सहकारीमा लाग्नु प्राप्तिका लागि थिएन । जब प्राप्तिको आश नै थिएन भने गुमाउने कुरा पनि भएन । जिम्मेवारी निर्वाह गर्दा कुनै गर्न नहुने काम वा निर्णय गरेँ भन्ने लाग्छ ?
आज फर्केर हेर्दा कुनै गर्न नहुने काम गरेँ भन्ने पश्चाताप छैन । स्वभावतः नहुने कामलाई कहिल्यै पनि हुन्छ भनिन । उपलब्धि ठूलो गर्न नसकिएपनि प्रायश्चित गर्नुपर्ने काम पनि गरिन ।


 

saccosaawaj media

ऋण संघ ऐन (Credit Union Act) को आवश्यकता

सोमबार, साउन ५

निवर्तमान अध्यक्ष, नेफ्स्कून

saccosaawaj media

सहकारी मर्जरका लागि उत्प्रेरित नभए सरकार दबाब दिन बाध्य हुने

सोमबार, साउन ५

डा. टोकराज पाण्डे रजिष्ट्रार, सहकारी विभाग

saccosaawaj media

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५

दिगो विकास लक्ष्य र सहकारी