विश्व महिला बचत तथा ऋण सहकारीकर्मीहरुको साझा मञ्च- Global Women's Leadership Network (GWLN) को नेतृत्व परिवर्तन हुने भएको छ । संस्थापक अध्यक्ष सुसन मिसेलले आगामी महिना नेतृत्व परिवर्तन हुने पुष्टि गर्नुभएको छ । महिला सहकारीकर्मीहरुका मुद्दाहरुमा बहसपैरवी, छलफल, अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ विश्व ऋण परिषदले सन् २००९ मा GWLN गठन गरेको थियो । विश्व ऋण परिषद्(ओकू) ले नयाँ अध्यक्षको नाम आउँदो अंग्रेजी महिना अर्थात् मार्च ३ मा आयोजना हुन गइरहेको GWLN Breakfast At GaG कार्यक्रमका समयमा घोषणा गर्ने जनाएको छ ।
GWLN मा हाल ६ महादेशका नेपाललगायत ८५ मुलुकमा स्थापित १ सय ३० सिस्टर सोसाइटीमा आबद्ध ४ हजार ५ सय महिलाहरु नेतृत्व विकासका विविध कार्यक्रमहरुमा सहभागी हुँदै साझा मुद्दाहरुमा जोडदार बहसपैरव गर्न सफल भएका छन् ।
यसैबीच, ओकूका प्रमुख कार्यकारी अधिकृत ब्रायन ब्राञ्चले विगत १२ वर्षदेखि सुसनले गरेको योगदानको परिषद्ले उच्च मूल्याङ्कन गरेको बताउनुभएको छ । ‘मैले सुसनको नेतृत्वमा गाउँदेखि महादेशभर भएका सकारात्मक प्रयासहरुको बारेमा प्रत्यक्ष जानकारी लिने अवसर पाएको छु,’ ब्रायनले भन्नुभयो, ‘GWLN मार्फत हजारौं महिला तथा पुरुषहरु परिवर्तनको संवाहक भएका छन् ।’ सुसनले अध्यक्ष पदबाट बिदा लिएपनि बचत तथा ऋण सहकारी अभियानमा थप सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।