बुधबार, वैशाख १२
०६:३६

‘विभाग र मेरो सहकारी इतिहास एकसाथ सुरु भयो ’

शनिबार, माघ २४
रञ्जनमणि पौड्याल
saccosaawaj
(नेपालको बचत तथा ऋण सहकारी क्षेत्रमा मात्र होइन साङ्गोपाङ्ग सहकारीवृत्तमा स्थापित र सम्मानित नाम हो –ऋषिराज घिमिरे । २०१० साल कार्तिक १४ गते रामेछाप जिल्लाको बाबियाखर्कमा योगराज घिमिरे र कृष्णा कुमारी घिमिरेका ठाँहिलो सन्तानका रुपमा जन्मिनुभएका उहाँले सहकारीको नियामक निकाय सहकारी विभाग, साझा स्वास्थ्य सेवाको महाप्रबन्धक, अभियानको महत्वपूर्ण विषयगत केन्द्रीय संघ नेफ्स्कूनको अध्यक्ष, राष्ट्रिय सहकारी विकास बोर्डको सल्लाहकार मात्र होइन सीमापार एशियाली ऋण महासंघ–आकूको अध्यक्ष, लगायत थुप्रै महत्वपूर्ण जिम्मेवारीहरुमा आफुलाई खरो स्थापित गरिसक्नुभएको छ । 
स्थापनाकालदेखि नै परोक्ष र लगत्तै केही समयपछि नेफ्स्कूनसँग आबद्ध घिमिरे स्पष्ट वक्ता, निडर र अभियानप्रति अटल आस्थावान अभियन्ता मानिनुहुन्छ । नेफ्स्कूनका सल्लाहकार घिमिरेसँग साकोस आवाजले खासगरी संघको इतिहास, सहकारी अभियान, सहकारी नेतृत्व लगायत व्यक्तिगत पाटाहरुका बारेमा सोधनी सहित यो सामाग्री तयार पारेको हो ।)

 

रामेछापको बसाइ र पढाइ कस्तो रह्यो ?
१० कक्षासम्म रामेछाप पढेँ तर शिक्षाको वातावरण र परिस्थितिका कारण पढाइ राम्रो भएन । पहाडमा अंग्रेजी पढाउने शिक्षक पाउन मुस्किल थियो । नारायण बाबु श्रेष्ठ विद्यालयको प्रिन्सिपल हुनुहुन्थ्यो । उहाँले पटनाबाट २ जना शिक्षक ल्याउनुभएको थियो । दुई दाजुभाई अंग्रेजी र अन्य विषयहरु पढाउनुहुन्थ्यो । धोती लगाउने उहाँहरु नेपाली बोल्न जान्नुहुँदैनथ्यो । हामी टुटेफुटेको हिन्दीमा संवाद गर्थ्यौ । ८ कक्षामा ‘अस्यासिनेसन्’ भन्ने शब्द सिकाएर हिज्जे सोध्नुहुन्थ्यो, नआएपछि छडीले हिर्काउनुहुन्थ्यो । त्यो शब्दको हिज्जे अहिले पनि धेरैलाई भन्न हम्मे पर्छ, त्यतिबेला हाम्रा लागि त निक्कै कठिन थियो । कसैलाई पनि आएन । सबैलाई ‘खडे हो जाओ’ भनेर आफुले जे भन्यो त्यही दोहोर्याउन निर्देशन दिदैं भन्नुभयो ‘गधेके उपर गधे, उसके उपर मे, मेरे उपर नेशन’ । त्यो उहाँको हिज्जे सिकाउने तरिका थियो । गधे अर्थात् ass, के उपर गधे ass, उसके उपर मे अर्थात् I, मेरे उपर नेशन nation भनेर assassination शब्दको हिज्जे घोकाएको अझै स्मरण छ ।

गाउँमा बिहानबेलुकी घरको काम गर्नुपर्दथ्यो । बाख्रा भैंंसी चराउने जिम्मा नै थियो । घाँस काट्ने, गोबर सोहोर्ने, जातो पिध्ने आदि सबै काम गरेँ । एक दिनको कुरा हो–रुखपात मात्र लगाएको एउटा “नम्बरी पाखो” मा साउन महिनामा गाईभैंसी चराउन जाँदा मुसलधारे पानी पर्यो । पानीले भिजेर भैंसी आनन्द माने तर म निथ्रुक्क भिजेँ । तुरुन्तै घाम लाग्यो, भिजेको लुगा करिब सुक्यो । त्यसपछि मस्त निन्द्रा लाग्यो, सुतेँ, उता भैंसीले गएर अर्काको बारी खायो ।

काठमाडौं कहिले आउनुभयो ?
२०२३ सालमा आमासँग पहिलो पटक काठमाडौं टेकेँ । तर पढ्न बस्न नै भनेर २०२७ सालमा काठमाडौं आएँ । खास कारण भने गाउँबाट दिएको एसएलसी पूरा सकिएन । अंग्रेजीले रोक्यो । काठमाडौं आएँ र पाटन हाइस्कूलमा १० कक्षामा भर्ना भएँ । त्यो वर्ष त्यस विद्यालयबाट एसएलसी उत्तीर्ण गर्ने करिब ४ जनामध्ये म पनि थिएँ । त्यो एक वर्ष मैले काठमाडौंमा जति पढेँ, त्यति मिहनेत साथ त्यस अघि कहिल्यै पढेको थिइन र पाइन पनि ।

जागिरको सुरुवात कसरी भयो ?
मेरो दाई तत्कालिन घरेलु शिल्पकला बिक्री भण्डारमा जागिरे हुनुहुन्थ्यो । ठूलो बुबाको छोरा भोजराज घिमिरे काठमाडौंमै हुनुहुन्थ्यो । मलाई शुरुमा अस्थायी जागिर लगाईदिने तत्कालिन राष्ट्रिय पञ्चायतबाट पटक पटक मन्त्री र अध्यक्ष समेत भएका नवराज सुवेदी हुनुहुन्थ्यो । २७ सालको अन्त्यतिर सुनकोशी आयोजनामा जागिर खाँदा दिनको ४ रुपैयाँ पाउथेँ ।

पछि भोजराज घिमिरे मन्त्री भएपछि सहकारी विभागमा सहायक लेखापालमा प्रवेश गरेँ । २०१० सालमा सहकारी विभागको जन्मसँगै मेरो सहकारी इतिहास पनि शुरु भयो । तर सहायक लेखापाल भएपनि लेखापालले सम्बन्धित काम नै दिदैनथे मलाई अन्य सानातिना कामहरु लगाउथे । त्यसपछि प्रविणता प्रमाण पत्र तह (आइए) पास गरेँ । मलाई विभागमै सुब्बामा अस्थायी नियुक्ति दिइयो । योजना शाखामा सहकारीहरुको गतिविधि तथ्याङ्कहरु संकलन, अद्यावधिक गर्ने र प्रतिवेदन तयार पार्ने आदि काम पाएँ । जागिर सँगै अर्थशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर पनि अध्ययन जारी राखेँ । 

नरेन्द्रकुमार बस्नेत भन्ने तगडा रजिष्ट्रार हुनुहुन्थ्यो, उहाँले बोलाएर ‘कि अफिस छोड्नुस्, कि पढाई छोड्नुस्’ भन्नुभयो । मैले ‘भविष्यको लागि पढ्नुपर्यो र बाँच्नको लागि जागिर खानु पर्यो’ भन्दै दुवै नछोड्ने अड्डी कसेँ । कार्यालयमा म र अर्का एक कर्मचारी बालगोपाल श्रेष्ठ थियौं, जे काम पनि जान्ने र बिहान ९ बजे नै कार्यालय पुगेर हुन्छ कि बेलुकी बढी समय बसेर हुन्छ, दिएको काम सकाएरै छोड्ने हाम्रो बानी थियो ।

पढ्दापढ्दै हामीले ‘एनडीएस’ (राष्ट्रिय विकास सेवा) मा सहभागी हुनुपर्दथ्यो जस अन्तर्गत १० महिना राजधानी बाहिर काम गर्नुपर्दथ्यो । स्वास्थ्य, औषधोपचार, चर्पी बनाउने आदि विभिन्न किसिमको एक महिने तालिम दिइन्थ्यो काठमाडौंमा र त्यसपछि चिठ्ठाको आधारमा जुन जिल्ला पर्यो त्यही गएर काम गर्नुपर्दथ्यो । मलाई धनकुटा पर्यो । कहिल्यै नगएको ठाउँ भएकोले गएँ । २०३६ सालको विद्यार्थी आन्दोलनको ६ महिनापछि हामीलाई फिर्ता बोलाइयो, त्यही अवधिलाई १० महिनाको मान्यता प्रदान गर्ने भनेर । यद्यपि, गाउँलेले आउन दिएनन् । बाटो सरसफाई, धाराचर्पी निर्माण देखि सर सहयोगको काममा जुट्न रमाइलो लाग्ने भएकाले विकास निर्माणको कामहरु गर्दै जाँदा गाउँलेहरुले फर्कन दिएनन् । थप केही महिना बसेँ । फर्केर आएपछि 'भिलेज प्रोफाइल' बुझाएँ, त्यसपछि टाइफाइड भयो । शुरुमा रोग पत्ता लाग्नै र लागेपछि पनि निको हुन समय लाग्यो जसले गर्दा अध्ययन पुरा गर्न सकिन ।

त्यो समय गोरखापत्रमा ‘रामेछापमा अंग्रेजी शिक्षक आवश्यक’ भएको विज्ञापन देखेँ । निवदेन दिएर छनौट भए अनि गएर पढाएँ । हामीले ८ वटा अंग्रेजी पढ्नुपथ्र्यो, त्यतिबेला एउटा मात्र थियो, खुब मिहेनत गरेँ । विद्यार्थीले मनपराए र राम्रै नतिजा पनि दिलाएँ । करिब ४ वर्ष पढाएपछि अब शिक्षकनै हुने भएँ, बीएड गर्छु भनी काठमाडौं आएँ र सकेँ । त्यो बीचमा फेरि विश्वविद्यालय भर्ना भएँ । तर पनि जागिरका कारण एमए पूरा गर्न सकिन ।

साझा स्वास्थ्य सेवामा पनि जागिर खानु भयो होइन ?
हो, भोजराज घिमिरेको सहयोगमा साझा स्वास्थ्य सेवामा जागिर मिल्यो ‘प्रशासकीय अधिकृत’ को । त्यो जागिर खाँदा सहकारीमा अलिअलि रमाएँ । त्यसबेला थुप्र्रै कर्मचारीहरुलाई अस्थायी र करारमा राखिएको रहेछ, मैले अभियाननै चलाएर अधिकांशको स्थायी गरेँ जसले गर्दा कर्मचारीहरुको प्रिय बनेँ । सञ्चालक समितिले पहिलो एक वर्ष कामु दियो र पछि ४ वर्षे महाप्रबन्धकको जिम्मेवारी दियो तर अवधि सकिन २ महिना अघि करिब २ दशक काम गरी २०६३ सालतिर राजीनामा गरेँ । भद्रगोल सञ्चालक समिति आउन थाल्यो । काम गर्ने वातावरण भएन । 

नेपालमा बचत ऋण सहकारी अभियानको बारेमा के भन्नुहुन्छ ? 
जसले जे सुकै भने पनि नेपालमा बचत ऋण सहकारीको सुरुवात साझा केन्द्रबाट भयो । भोजराज घिमिरेको नेतृत्वमा केन्द्रकै कर्मचारीहरुको संलग्नतामा नेपालमा बचत तथा ऋण सहकारी अभियानको थालनी भएको हो । साझा स्वास्थ्य सेवामा पनि हामीले बचतको लागि समूह निर्माण गर्नुपर्ने भयो, हामीलाई केन्द्रबाट आग्रह भएपछि मेरै अग्रसरतामा करिब डेढ सय कर्मचारीहरु सामेल गरेर समूह बनाएँ । साझा केन्द्रमा हुने त्यससम्बन्धी गतिविधिमा म भाग लिन जान्थेँ । त्यो समूहरुबाट हाजिरी जवाफ, कथा, निबन्ध, खेलकूदका प्रतियोगिताहरु सञ्चालन हुन्थे ।

२०४८ सालमा कमलादीमा कार्यालय थियो नेफ्स्कूनको । त्यहाँ पहिलो पटक चुनाव हुने भयो सहकारी ऐन नआईकन । स्वनियमनमा चल्ने प्रजातान्त्रिक संस्था भएका कारण आफ्नो विनियमको आधारमा चुनाव हुँदै थियो । त्यो बेला म लेखा समिति सदस्यमा उठेँ । भोजराज घिमिरेले थाहा पाउनुभएछ, बोलाएर गाली गर्नुभयो । ‘झिक्’ भन्नुभयो उहाँले त्यसो भनेपछि हुँदैन भन्ने हिम्मतै थिएन । ‘हुन्छ’ भनेर आए तर आनाकानी गरिरहेका थिएँ । सौभाग्यले कैलाश दाई, म विश्वमोहन र भेषनारायणको टीम सर्वसम्मत् भयो । भोजराजको आसय एउटै परिवारभित्रको व्यक्ति दुई जना आउँदा अरुलाई भन्ने ठाउँ हुन्छ भन्ने थियो तर सर्वसम्मत् भएपछि उहाँले पनि अवरोध गर्नुभएन । त्यहीबाट लेखा समितिको गतिविधि अध्ययन गर्ने, बुझ्ने काम सुरु गरेँ । त्यो बेलामा संस्थाहरु निरिक्षण गर्दथ्यौं, खोजी खोजी पर्दथ्यो पाउनै मुस्किल थियो ।

२०५० सालमा अर्को निर्वाचनमा उठेँ र सञ्चालक जितेँ, कैलाश दाई अध्यक्ष हुनुभयो । भोजराज घिमिरेलाई अध्यक्ष बस्न सबैले आग्रह गरे तर उहाँले मान्नुभएन । ‘अब म अध्यक्ष भयो भने संघ बिग्रन्छ किनभने मेरो राजनीतिक कित्ता स्पष्ट छ । बहुदल आएर जनआकांक्षले अर्कै बाटो समातेपछि मैले नेतृत्व लिनु राम्रो हुँदैन, संघको उन्नतिको लागि नयाँ अध्यक्ष बन्नुपर्छ’ भनेपछि नेत्रप्रसाद अधिकारी लगायतले सोध्नुभयो, ‘तपाई नहुने भएपछि अब भन्नुपर्यो को बन्नुपर्छ अध्यक्ष ?’ उहाँले कैलाशभक्त प्रधानाङ्ग इमानदार, कर्तव्यनिष्ठ व्यक्ति भएको बताउनुभयो तर शान्तराज शर्माले मान्नुभएन तर उहाँले ज्यादै न्यून भोट पाउनुभयो सबैको समर्थन कैलाश दाईलाई भयो ।

विदेश भ्रमणको केही सम्झना ?
नेफ्स्कूनमा रहँदा नेत्रप्रसाद अधिकारीले फोन गरेर ‘तपाईलाई श्रीलंका जान मनोनित गरेका छौं बधाई छ’ भन्नुभयो । म त्यो सञ्चालक समति बैठकमा अनुपस्थित थिएँ । कुरा सुनेर खुसी भए किनकि त्यसअघि विदेश कही गएको थिइनँ । नेपालमा साकोसहरुले समुदायमा पारेको प्रभाव विश्लेषण सम्बन्धी प्रस्तुति गर्नुपर्ने थियो तर मलाई त्यस बारेमा धेरै थाहा नभएकोले ‘जान्न’ भने । तथ्याङकहरुको कमी थियो । यद्यपि, सञ्चालक समितिको बैठकबाट निणर्य भैसकेकोले जानुपर्ने बाध्यता बन्यो । तयारी गरेँ । खोज गरेर केही तथ्याङक संकलन गरेँ । नेफ्स्कूनको सञ्चालक समितिबाट १ र व्यवस्थापनबाट १ (भोला श्रेष्ठ) गरी २ जना, राष्ट्र बैंकका १ जना गरी ३ जना भ्रमण टोलीमा थियौं । 

होटल गालादारीमा राखियो । पहिलो पल्ट फाइभ स्टार होटलमा बसेँ । पाखाबाट आएको मान्छे त्यस्तो भव्य होटलमा बसेँ तर राती निन्द्रा लागेन । भोली प्रस्तुति गर्नुछ तयारी राम्रो थिएन, बेइज्जत भयो भने के गर्ने होला भन्दै इश्वर सम्झेँ । आकूले त्यहाँ प्रस्तुति गरिने ३ वटा कार्यपत्र मध्ये नेपालबाट एउटामात्र पर्ने भनिएको थियो । त्यसको छनौट भोली कार्यक्रममै गरिने जानकारी गराइएको थियो । ‘मेरो नपरोस राष्ट्र बैंककै परोस्’ भनेर मनमनै कामना गरेँ । बिहान कार्यपत्र प्रस्तोताको नाम सूचीमा हेर्दा मेरै परेछ । अब बित्यास् पर्यो भन्ने सोचेँ तर आफुलाई कम देखाउनु हुँदैन भन्ने मनमनै ठानेँ । 

श्रीलंकाको प्रस्तुतिका लागि २० मिनेटको समय दिइएको थियो । आफुले बोल्ने कुराहरुलाई सरसर्ती छुट्याए, खात्राकखुत्रुक अंग्रेजी बोली हाल्थेँ । त्यो प्रस्तुतिको बीचमा मैले लेखेको थिएँ, ‘सञ्चालक समितिलाई एक्स्पोजर चाहिएको छ, विश्व बचत तथा ऋण अभियानका असल र नवीन अभ्यासहरु बारे जानकारी लिन ।’ लुसिहितो भन्ने विश्व ऋण परिषद्को निर्देशकले मेरो प्रस्तुति समातेर ‘किन चाहियो एक्सपोजर ?’ भनिन् । त्यतिबेला विश्व ऋण परिषद् नेफ्स्कून बोर्डप्रति त्यति सकारात्मक थिएन । मेरो मनमा झिल्का उठ्यो र मैले त्यसलाई मिलाएर नेफ्स्कून बोर्डलाई नभई प्रारम्भिक संस्थाको बोर्डलाई भनेर कुरा मिलाएँ । मैले प्रारम्भिक संस्थाका सञ्चालकहरु  कतिपयले त राजधानी काठमाडौं पनि नदेखेको सुनाएपछि उनले ‘देन इट्स् ओके’ भनिन् । त्यो दिन मेरो प्रस्तुति सबैले राम्रो भने तर खासमा त्यो केही बिशेष भने थिएन ।

उक्त भ्रमणकै क्रममा हामीलाई ‘फिल्ड भिजिट’ लगिएको थियो । हामी गाडीमा आफु बसेको तर्फबाट हेर्दै जाँदा बाटोमा कतिवटा क्रेडिट युनियनको लोगो देखिन्छ गन्न र बेलुकी सुनाउन आग्रह गरिएको थियो । मैले केही गने तर पछि निदाएछु । बेलुकी झल्यास्स ब्युझिएँ, मन पोल्यो, ‘मेरो देशका पनि ठाउँ ठाउँमा कहिले बचत तथा ऋण सहकारी संघ संस्थाहरुको लोगो वा साइनबोर्ड देखिएला’ जस्तो लाग्यो ? आज एउटै घरमा धेरै छन् यो विकास हो तर यी सबैलाई  गुणस्तरीय बनाउने अभियानमा हामी लाग्नुपर्छ ।

छोरोहरु भएका कारण अमेरिका र अष्ट्रेलिया नीजि प्रयोजनमा गएँ । फेरि पनि विदेश आउने जाने हुन्छ तर सधैको लागि बस्दिन । विदेशमा मन रमाउँदैन । नेफ्स्कूनमा रहँदा श्रीलंकासँगै म्यानमार २ पटक, कोरिया ३ पटक, थाइल्याण्ड २ पटक, फिलिपिन्स २ पटक, इन्डोनेसिया, जापान, केन्या आदि भ्रमण गरेँ । केन्याको राष्ट्रिय निकुञ्जहरुको विविधता र मनमोहकताले उग्र तान्छ । त्यहाँको पर्यावरण लोभलाग्दो छ । प्रत्यक्ष र टेलिभिजनको पर्दामा समेत त्यहाँको ‘गेम पार्क’ देख्दा के निष्कर्षमा पुगेँ भने दुनियामा कसैलाई शान्ति छैन ।

विश्व बचत तथा ऋण सहकारी अभियानको बारेमा केही बताइदिनुहुन्छ कि ?
केन्याको बचत तथा ऋण सहकारी अभियानलाई ‘साको मुभमेन्ट’ भनिन्छ । हामी जाँदा त्यहाँ अभियान फस्टाउँदो थियो । अधिकांश गाडीहरुमा साकोको वित्तीय सहयोग लेखेको देखेँ । म्यान्मारमा भर्खर सुरु भएको थियो म जाँदा । त्यहाँको राष्ट्रिय पोशाक लुङ्गी, सर्ट र चप्पल लगाएर म्यानमारको राष्ट्रिय बचत तथा ऋण सहकारी संघको साधारण सभामा भाषण गरेको छु । साकोस एकरुपता सम्बन्धी प्रस्तुतिकरण पनि गरेँ । कोरियाको क्रेडिट युनियन सबै भन्दा विकसित र दरिलो पनि लाग्यो । त्यहाँ एउटा क्रेडिट युनियन भ्रमण गर्दा लगानीका बारेमा बुझ्यौं । सतप्रतिशत घरजग्गामा थियो, प्रश्न गर्यौं किन एकै क्षेत्रमा त्यो पनि घरजग्गामा भनेर सोध्दा उनीहरु उल्टै प्रतिप्रश्न गर्थे, “तपाईहरु देख्नुहुन्न यो सबै इमर्जिङ क्षेत्र हो, सबैको ध्यान र कारोबार नै त्यही क्षेत्रमा भएपछि हामीले अन्यत्र कहाँ गर्ने ?” त्यो ठाउँ अनुसार हुन्छ, गाउँमा गयो भने कृषिमा होला ।

नेफ्स्कूनमा महासचिव निर्वाचित हुँदा र त्यसपछिको केही घटना स्मरणमा स्मरण गर्न चाहनुहुन्छ कि ?
२०५० सालमा नेफ्स्कूनको पहिलो विनियम संशोधनको समयमा मेरो भूमिका देखियो र प्रशंसित पनि भयो जसले मलाई २०५३ सालको  निर्वाचनमा महासचिवमा प्रतिस्पर्धा गर्ने बाटो खोल्यो । सबैको सहयोगमा निर्वाचित भएँ । तर राती निन्द्रा लागेन, नेफ्स्कूनलाई कसरी अगाडि लाने भनेर चिन्तित भएँ  । जसलाई महासचिवमा पराजित गरेको थिए उनै श्रीराम श्रेष्ठ (यूएससी क्यानाडाको कन्ट्री डाइरेक्टर जल्दोबल्दो व्यक्ति जो म भन्दा उमेरले केही पाको हुनुहुन्थ्यो) को घर गएँ । सहयोगको आग्रह गरेँ । उहाँ राजी हुनुभयो ।

सेसी क्यानाडामा काम गर्ने टोनी भन्ने पिएचडी गरेका व्यक्ति थिए, उनलाई टेलिफोन सम्पर्क गरेँ, के विषयमा भेट्ने भनी सोधेँ, उनले हुन्छ भने र कोषाध्यक्ष होमनाथ शर्मालाई लिएर भेट्न गएँ । सेसीमा बाहिरबाट चिया मगाएर ख्वाउने प्रचलन थिएन, आफै बोकेर जाुनपर्ने, टोनीले चिया पकाएर ख्वाउन सकिने भने । केही समय कुरा गरेपछि उनले नेफ्स्कून बोर्डलाई सेसी क्यानाडाकै खर्चमा ३ दिनको अभिमुखिकरण गर्छु, त्यसपछि के गर्ने हेरौला भने । राष्ट्रिय बाणिज्य बैंकको हलमा कार्यक्रम गरियो । केही समयपछि उनकै सल्लाहमा क्यानेडाली सहकारी महासंघ-क्यानेडियन कोअपरेटिभ फेडेरेशन  सीसीएमा २० हजार डलरको माग गरिएको । सीसीएबाट पत्र आयो सहयोग पूर्व आफ्नो कार्यक्रम अधिकृतको नेफ्स्कून भ्रमण गराएर मात्र निर्णय गर्ने भनेर । सीसीए कार्यक्रम अधिकृत एलेन फ्लोयेड भन्ने आउने कुरा भयो तर उनलाई लिएर साकोसहरु भ्रमण गराउने गाडी समेत थिएन । भाडा तिर्ने अवस्था पनि थिएन । म जागिरे थिए, आफ्नो कार्यालयको व्यवसाय विभागमा आग्रह गरेर गाडीको चाँजोपाँजो मिलाएँ । 

म, होमनाथ शर्मा, व्यवस्थापक हरि घिमिरे सहित एलेनलाई अगाडि सीटमा राखेर दोलखाको जनसचेतन साकोस पुग्यौं । यज्ञराज ढुङ्गेलजीलाई व्यवस्थापनका लागि आग्रह गरेँ । विदेशी आउने भएपछि उहाँले हतारमा ट्वाइलेट बनाउनुभयो तर ढोका हाल्न काम हुन सकेको थिएन वा समय भएनछ । यो वास्तविक इतिहास हो । बिहान ट्वाइलेट जाने समयमा बोरा लगाइएको थियो, एलेनले “ऋषि, देर इज नो डोर इन द ट्वाइलेट, हाउ टु सिट इन्साइड, इट्स भेरि डिफिकल्ट ?” भनिन् । मैले, ‘डोन्ट वरी, आइ विल स्टे आउट साइड, यू बेटर फिनिस” भने । जनसचेतनमा यज्ञराजजीले जे सकिन्छ एकदम राम्रो गर्नुभयो । त्यहाँबाट फर्केपछि सञ्चालक समितिको बैठक राख्यौं, एलेन पनि बसिन् । उनले ‘दोलखा भ्रमणको प्रतिवेदन सेसीमा पेश गर्नुपर्ने, त्यसपछि त्यहाँबाट के निर्णय हुन्छ, म अहिल्यै भन्न सक्दिनँ भनिन् । एलेन क्यानाडा फर्किएको एक सातापछि अर्को पत्र आयो । हामीलाई सम्बन्ध बढ्यो भन्ने लाग्यो । पत्रमा ‘नेपालको साकोस अभियानको स्थिति सामान्य  थाहा पाए पनि सम्भावित परियोजनाको स्पष्ट परिदृश्यका बारेमा अध्ययनका लागि टोली आउने’ लेखिएको थियो । टोलीमा ग्रेग इलियट, जर्ज कुटिकल (नयाँ दिल्ली स्थित सेसी कार्यालयबाट) र बेन प्लामेल गरी ३ जना आए । सबै हेर्ने भए । खर्च धेरै हुने भएपनि गर्नै पर्यो भनेर दिनको ३ हजार तिरेर गाडी व्यवस्था गरियो ।

बिन्धवासिनी, स्कोप आदि साकोस घुमायौं । सौराहा घुम्न जाँदा होटलमा बसेको खर्च सबै उनीहरुले तिरे । हामी खुसी भयौं किनकि हामीलाई मितव्ययी बन्नु थियो । फर्केर आएपछि सञ्चालक समितिको बैठक बस्यो, त्यहाँ अब सिसिएले सहयोग गर्ने अन्तरलगानीमा त्यसको परियोजना नै उनीहरुले यही लेखे होटलमै बसेर । त्यो प्रोजेक्ट पास भयो र राम्रै सहयोग प्राप्त भयो । त्यसरी इन्टरलेन्डिङ स्टार्ट भयो । त्यतिबेला इन्टरलेन्डिङ स्टार्ट त भयो तर बुस्ट भने भएन । 

हामी बचत ऋण सहकारीहरु स्थापनामा सहयोग गरी हिड्थ्यौं । भक्तपुरमा महिलाहरुको सहकारी, दुर्गा भवानी, नारायणी बचत, चन्द्रनिगाहपुरका ३÷४ वटा स्थापनामा अभिप्ररित गरियो, कुनै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर ।

नेफ्स्कूनमा मासिक बचतको सुरुवात कसरी भयो ?
क्यानेडियन सहकारीहरुमा पहिले अभ्यासमा रहेछ, अमेरिकनहरुमा पनि रहेछ । मासिक बचतको अवधारणा पनि ‘बरोड्’ नै हो । म महासचिव भएको बेला अब १ सय रुपैयाँ मासिक बचत सुरु गर्नुपर्छ भन्ने विनियममा थियो, जुन मैले पढ्नुपर्ने थियो, त्यहाँ केही विमतिका स्वरहरु आए । तर दोलखा सहित केही जिल्लाका करिब २० वटा संस्थाले सहयोग गरे र सुरु भयो ।

केही वर्ष १ सय रुपैयाँ नै थियो, म फेरि उपाध्यक्ष (२०६४ सालमा) भएपछि यसलाई बढाउनुपर्छ भनेँ । उपसमितिको संयोजक मलाई नै बनाइयो, ताराबहादुर काफ्ले (हाल मोरङको कानेपोखरी गाउँपालिकाका अध्यक्ष) तथा अर्का सञ्चालक समितिका सदस्य कानूनका ज्ञाता नानीबाबु बुढाथोकी थियौं । मासिक बचत रकम बढाउनुपर्छ भनियो र ५ सय बनाइयो । साँच्चिकै भन्ने हो भने यसलाई बढाउँदै लानुपर्छ । हामीले नेफ्स्कूनको मर्ममा बसेर काम गर्यौं ।

साकोस शिखर गोष्ठीको अवधारणा कसरी सुरु भयो ?
क्यानाडाको सीसीएकी कार्यक्रम अधिकृत सारा सिङ्मा भन्ने महिला थिइन् । हामीले उनीहरुको सहयोगमा सञ्चालन गरेको परियोजनाहरु हेर्ने । काठमाडौंको होटल हायातमा लघुवित्तको शिखर सम्मेलन चलिरहेको थियो । त्यहाँ १ सय महिलाहरुलाई सहभागी गराउन पाए हुन्थ्यो भन्ने सोच थियो जसका लागि खर्च लाग्थ्यो । सारा आएको बेला हामीले आफ्नो सोच बतायौं उनले सेसीले आर्थिक सहयोग गर्ने बताउँदै  ती महिलाहरुलाई भेट्न पाउनुपर्ने माग राखिन । हुन्छ भन्यौं र भेट गरायौं । त्यही मेसोमा एउटा बैठक बसिरहेका बेला, उनले हामीलाई प्रश्न गरिन्, “Why are you following that  Micro Finance Summit ?  Why don't you start your own SACCOS Summit ?  You have your own power. (तिमीहरु किन त्यो माइक्रो फाइनान्सको शिखर गोष्ठीको पछि लागिरहेका छौं ? तिमीहरुलाई आफै किन साकोस समिट आयोजना गर्दैनौ ? तिमीहरुको आफ्नै सामर्थ्य छ) उनले त्यति भनेपछि दिमागमा क्लिक गर्यो । सानो मस्यौदा प्रस्ताव बनायौं । साकोस शिखर गोष्ठीका बारेमा आश्वस्त तुल्याउन गार्हो पनि भयो । पछि सञ्चालक समितिले सर्वसम्मत नै मान्यो र व्यवस्थापन समूहले पनि खटेर काम गर्यो । त्यही बेला हो नेफ्स्कूनले पहिलो स्मारिक प्रकाशन गरेको करिब ६ सय ग्राम को । त्यसैगरी, लेखा सुपरिवेक्षण लगायतको राष्ट्रिय गोष्ठीहरु आयोजना गरियो र यस्ता कार्यक्रम गर्न महासंघ र अन्य सहकारीका निकायहरुले हामीलाई पछ्याएका हुन् ।

साकोस एकरुपता प्रणालीका बारेमा केही स्मरण ?
आकूको साधारण सभा इन्डोनेसियाको बालीमा भएको थियो जहाँ लेनी रञ्जितले प्रस्तुति गरेको जस्तो लाग्छ । त्यही प्रस्तुति सहित उहाँहरुलाई नै  बोलाएर नेफ्स्कून बोर्ड र व्यवस्थापनसहित धुलिखेल बसेर २ दिन कसरतमा जुटेपछि छुट्टिने बेलामा मैले प्रस्ताव राखेँ, “यो विषय अहिले तात्तातो छ, आज राती यही बसेर एउटा ठोस डकुमेन्ट तयार गरौं । भोलीपल्ट बैठक छ नेफ्स्कूनमा ।”

मसँगै दामोदर अधिकारी, केशव पोखरेल, दुर्गाप्रसाद ढकाल, सञ्जयराज तिमल्सिना र इन्द्रज्योति पौडेल बसेर तयार पार्यौं, बिहान बोर्ड बैठकले सहमति जनायो ।

एकै दिन पाँचै विकास क्षेत्रमा एकरुपता प्रणालीसम्बन्धी गोष्ठी सञ्चालन गर्ने निर्णय भयो, सम्बन्धित क्षेत्रका सञ्चालक र अधिकृतहरुको संलग्नतामा गोष्ठी गर्ने काम भयो र त्यसले एक किसिमको लहर ल्यायो । एकरुपताका आधार र प्रक्रियाहरु बिस्तारै अघि बढ्यो । बोर्डका केही साथीहरुले यसमा एकदम मिहिनेत गर्नुभयो, व्यवस्थापन पनि खटेर काम गर्यो । विना कुनै विवाद काम अघि बढ्यो, व्यवस्थापनले तयार गरेको प्रस्तावहरु सर्वसम्मत पारित गर्यो । पुरस्कार र सम्मानको थालनी पनि सल्लाह र सहमतिकै आधारमा गरिएको थियो । जहाँसम्म प्रोवेसनको कुरा छ, यसको जन्म चितवन बैठकले गरेको थियो । चितवन बैठकको उपज हो प्रोवेसन ।

साकोस एकीकरण सम्बन्धी पहिलो प्रस्तुति कस्तो थियो ?
सीसीएसँगको घनिष्ट मित्रताका कारण सो महासंघबाट स्रोत व्यक्तिका रुपमा क्यानेडियन केन् डोलम्यान (२ पटक नेपाल आइसक्नुभएको थियो) ले साकोस एकीकरणका सम्बन्धमा पहिलो साकोस शिखर गोष्ठी–२०१२ मा धुँवाधार प्रस्तुति दिनुभएको थियो सोल्टी होटलमा । त्यस प्रस्तुतिलाई नेपाली परिवेश अनुसार तयार गरेर हामीले पूर्वदेखि पश्चिमसम्म विभिन्न ठाउँमा प्रस्तुतिकरण गर्यौं । अनि एकीकरणको लहर आयो । तारा काफ्लेले मोरङबाट एउटा दस्ताबेज तयार पार्नुभयो । उहाँका समेत केही कुराहरु थपेर बनाएको प्रस्तुतिकरण एकदम ‘हिट’ भयो । विभागले त्यसपछि बनाएको हो । त्यही भएर जहिले पनि अभियान अघि सरकार पछि पछि भएको छ हाम्रो सन्दर्भमा । 

नेफ्स्कून पुनरागमन कसरी भयो ?
नेफ्स्कूनमा उपाध्यक्ष भई काम गरेर बाहिर बसेको थिएँ । नेफ्स्कून फेरि जाने रहर थिएन । हामी करिब २६ जना नेपालगञ्जको साधारण सभामा सहभागी हुन गयौं । बाटोमा ‘अब नेफ्स्कूनको नेतृत्व परिवर्तन गर्नुपर्छ’ भन्ने छलफल भयो । धेरै फोनहरु आए, अध्यक्ष उठ्न आग्रह सहित । मैले भने ‘लामो समय भएको छ, नवीन सोच र पुस्ता अघि आइसकेको छ, धेरैले नचिन्न पनि सक्छन् तर यदि सबैको सहमति हो र अरु कसैले उम्मेदवारी दिनुभएन भने ठीक छ’ भनेर दर्ता गराएँ । फेरि अन्तरआत्मामा के ठानेँ भने ‘मैले महासचिव र सञ्चालक हुँदा राम्रै काम गरेँ । त्यही भएर फेरि काम गर्छु’ भन्ने अठोट सहित तयार भएँ । यद्यपि, रामेछापका एक सहकारीकर्मीको दरखास्त परेपनि अन्त्यतिर झिकेँ र म निर्विरोध भएँ । ६ वर्षपछि नेफ्स्कून प्रवेश गरेकोले धेरै कुरा नयाँ भएको हुनसक्छ भनेर केही समय कम बोले, जान्ने र बुझ्ने गर्दै लय लिएँ ।

अंग्रेजी वार्षिक प्रतिवेदन प्रकाशनका बारेमा केही बताइदिनु हुन्छ कि ?
म महासचिव हुँदा हरि घिमिरे (व्यवस्थापक) ले पहिलो पटक अंग्रेजीमा नेफ्स्कूनको वार्षिक प्रतिवेदन प्रकाशन गर्नुभएको थियो तर त्यो कम पृष्ठको र थोरै सामाग्री सहितको सामान्य कलेवरमा थियो पछि मिनराज कडेलको अध्यक्षताकालमा मेरो सक्रियतामा नयाँ साजसज्जा र थप सामाग्री सहित प्रकाशन भयो । यो सन् २००७ वा ८ तिरको कुरा हुनुपर्छ । नेदरल्याण्ड्सको एर्नी भ्यान भन्ने कृषि इन्जिनियर थिए स्वयंसेवी । उनले पनि भाषा सम्पादनमा सहयोग गरे । त्यसबेलाका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले मिहिनेत गर्नुभयो । शीर्षक देखि लिएर धेरै कुरामा मैले पनि त्यसको सम्पादनमा सहयोग गरेँ । अन्त्यमा अंग्रजीको शुद्धाशुद्धी तिनै एर्नी भ्यानलाई गर्न लगाएको, उनी धेरै खुसी भएँ । उनले केही घन्टामै अन्तिम सम्पादन गरेँ र यसरी अंग्रेजी प्रतिवेदन प्रकाशन आरम्भ भएको थियो । काम गर्न पाएकोमा एर्नी भ्यान पनि खुसी थिए । 

‘इन्डेकुवा’ परियोजनाले नेपालमा के गर्यो ?
त्यतिबेला हामीलाई पनि जानकारीमा थिएन । आकूले विकास गरेको Institutional Development of Credit Unions in Asia  कार्यक्रमका सम्बन्धमा धुलिखेलमा २ दिने सेमिनार भएको थियो । आकूबाट लेनी र रञ्जित आउनुभएको थियो । दोलखाको जनसेचतनका अध्यक्ष यज्ञराजजीको पनि केही रिजर्भेसन थियो, त्यहाँ पहिलो पटक जानकारी गराइएको PEARLS का मापदण्डका बारेमा । नेपालको परिप्रेक्ष्यमा PEARLS का कतिपय सूचकहरु लागू गर्न कठिन हुनसक्ने धारणा उहाँले राख्नुभएको थियो । खासगरी भाखा नाघेको ऋण ५ प्रतिशतभन्दा न्यून हुनुपर्छ भन्ने लगायतका सूचकहरुमा यज्ञराजजीको आशंका थियो । पछि उहाँ पनि सहमत हुनुभयो ।  यज्ञराजजी नेतृत्वको टीमको सोचमा व्यवस्थापनको मिहिनेतले जनसचेतन एक्सेस् सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको हो । (यज्ञराज ढुङ्गेलको भनाई–‘शुरुमा मैले आशंका व्यक्त गरेको थिए, त्यतिबेला मलाई पल्र्स अन्तर्राष्ट्रिय स्तरको मान्यताप्राप्त भैसकेको जानकारी थिएन, स्ट्यान्डर्ड कम गर्नुपर्छ कि भनेको थिएँ तर रञ्जितले स्ट्यान्डर्ड कम गर्नुभन्दा पनि त्यही स्ट्यान्डर्डमा आफु पुग्ने कोशिस गर्नुपर्छ भन्नुभयो । पछि रञ्जितले विभिन्न समयमा मलाई इंगित गर्दै पहिले PEARLS प्रति शंका गर्ने व्यक्ति अहिले PEARLS बेस्ट प्रयाक्टिसर हुनुभएको छ भनेको सुनेको छु ।’) 

१५ वटा संस्था छानिएको थियो । ती संस्थाको विनियमहरुमा एकरुपता कायम गर्ने प्रयास भयो । नीतिगत छलफलहरुको सुरुवात त्यति भैसकेको थिएन नेपालमा । कस्ता पोलिसीहरु बनाउने, आचार संहिता कस्तो बनाउने भन्ने आधारभूत तर गहन बहसहरुको जन्म धुलिखेल सेमिनारबाट भयो । यस्ता अत्यावश्यक कुराहरु सिकाउने काम इन्डेकूवाले गर्यो । संस्थागत विकासको कामको श्रीगणेश भयो । (तस्बिरमा एशियाली ऋण महासंघका संस्थापक अध्यक्ष एन्ड्रिउ सो दायाँ, एशियाली ऋण महासंघका पूर्व अध्यक्ष घिमिरे बायाँ र रुपन्देहीको जनउत्थान साकोसकी अध्यक्ष ज्ञानु पौडेल बीचमा)

सहकारी संघ संस्थाहरुमा जनशक्तिको भूमिका कस्तो रहन्छ ?
संस्थाको साइनबोर्ड निर्जीब हो । प्रगति र अधोगतिमा त्यसको केही भूमिका हुँदैन । मुख्य कुरा जनशक्ति हो । जनशक्तिको असल कर्मबाट साइनबोर्डमा चमक आउन, चहक आउन सक्छ । नेफ्स्कून वा जुनै पनि कार्यालय बेलुका ५ बजेपछि सुनसान हुन्छ र राती १२ बजेतिर भित्र पस्दा डर लाग्छ तर जब बिहानको १० बज्छ, त्यहाँ रगतका सेलहरु जाग्न थाल्छन्, अनि जीवन्त हुन्छ । त्यसैले संस्थाका लागि मानव स्रोत प्रधान भएकाले असल विचारको मान्छे छनौट गर्नुपर्दछ । उनीहरुलाई भर्ना गरेर मात्र हुँदैन, अभिमुखीकरणसँगै नियमित तालिम र शिक्षा दिनुपर्छ । नेफ्स्कून आउनुअघिसम्म ‘एक्सेस्’ भन्ने सुन्नुभएको थियो तपाईले ? नयाँ भर्ना गर्ने कर्मचारीहरुलाई एक्सेस्को ८६ वटा सूचकहरु कन्ठ गर्न लगाउनुपर्यो, अभ्यास गराउनुपर्यो, कार्यक्षेत्रमा होमिनुअघि सबै कुराको यथेष्ट जानकारी दिएर मात्र खटाउनुपर्यो । सबै कुराहरुमा ठीक भएपछि काममा खटाउने हो । 

कुशल नेतृत्व विकास कसरी सम्भव होला ? 
लीडरशीपले विरासत कसैलाई जिम्मा लगाएर जानुपर्छ एकदिन भन्ने सोच्नुपर्छ । यो हाम्रो होइन सबैको हो भन्ने सम्झनुपर्छ । सञ्चालक समितिले आफुलाई केवल सदस्यहरुको प्रतिनिधि भएकाले भोली कसैले नाक खुम्च्याउने गरी काम गर्नुहुन्न भन्ने सोच्यो भने सब ठीक हुन्छ ।
अहिलेको सन्दर्भमा अभियानका करिब १ सय लीडरहरुलाई जति नै खर्च लागेपनि नेपाल व्यवस्थापन संघ (म्यान), स्टाफ कलेज,  काठमाडौं र त्रिभुव विश्व विद्यालयका बरिष्ठ प्राध्यापकहरु एवम् अन्तर्राष्ट्रिय विषयविज्ञहरुबाट आफ्नो दक्षताका विषयमा १० दिनको गहनतम तालिम दिन सकियो र यसलाई बढाउँदै लान सकियो भने त्यसले राम्रो सन्देश दिन्छ भन्ने लाग्छ । यसमा विषयवस्तुको विविधता सहित गहिराईमा पुगेर नेतृत्वको भूमिका र गहिराईहरु बुझाउनुपर्छ र उत्प्रेरित गराउनुपर्छ ।अभियानमा स्वस्फूर्त रुपमा नेतृत्व छनौटको वातावरण निर्माण गर्न नसिकएकोमा मनमा बिझ्ँछ ।

सहकारी सफलताको सुत्र के हो ?
मैले धेरै ठाउँमा भन्ने गरेको छु–“डाइलग इज् द इसेन्स अफ डेमोक्रेसी ।” टेबलमा बसेको बेला हरेकलाई बोल्ने मौका दिनुपर्छ । “मैले भन्दा त्यो कुनामा बस्नेले केही बढी वा नयाँ कुरा जानेको हुनसक्छ” भन्ने ध्यानमा राख्नुपर्छ । ‘द रियल स्टोरी विहाइन्ड द अमूल’ प्रायः सबै सहकारीकर्मीहरुले सुन्नुभएकै छ । प्रजातान्त्रिक संस्था सहकारीमा डाइलग र डिबेट एकदमै महत्वपूर्ण छ जसले गर्दा सबैको विचारको सम्मान हुन्छ, निर्णय प्रक्रियामा सहभागिता जुट्छ, राम्रो विचारको जन्म हुन्छ ।

क्यानाडाका एक सहकारीकर्मीले सुनाउथे उनीहरुको संस्थामा त १ सय वटा छोटा नीतिहरु थिए रे । यद्यपि एक दिन एक कर्मचारीले काकाको देहान्त भएकाले बिदा माग्दा, अधिकारीले पोलिसीले दिन नमिल्ने बताएका थिए र पछि काकाको मृत्यु हुँदा बिदा उपलब्ध गराउने प्रावधान समेटिएको सुनाएका थिए । त्यस्तै, आकूकी लेनीले पनि सुनाउथिन्–आकूमा महिला कर्मचारीहरु हाइ हिल लगाएर कोठै बजाउँदै हिड्थे । यसले काम गरिरहेकाहरुको एकाग्रता भंग गर्दथ्यो । यसको समाधानका लागि डे«स कोड बनाउनुपर्यो भनेर बज्ने जुत्ता लाउन नपाउने, निश्चित काइदाको पोशाक लगाउनुपर्ने नियम बनाइयो । त्यसपछि त्यो समस्या समाधान भयो । यसैले माइक्रो कुराहरुमा ध्यान जानुपर्छ जसले दूरगामी प्रभाव पार्न सक्छ । नीतिले सबै कुराहरुलाई निर्दिष्ट गर्नुपर्छ । 

आकू, रञ्जित र लेनीका सम्बन्धमा यहाँको बुझाई ?
आकूसँगै रञ्जित र लेनीका विषयमा बेलाबेलामा जेजस्ता चर्चा परिचर्चा भएपनि आकू र यसका दुई अगुवाहरुको भूमिका वास्तवमै नेपालको बचत तथा ऋण अभियान र त्यसमा पनि नेफ्स्कूनको लागि एकदमै महत्वपूर्ण छ । मेरो बुझाईमा उनीहरु वास्तवमै हाम्रा गुरु हुन् । रञ्जित र लेनी नभएको भए मैले साँचो अर्थमा क्रेडिट युनियन जान्दिनथेँ । आजभोली पनि बेला बेलामा फोनमा कुराकानी हुन्छ । नेपालमा साकोस अभियान फष्टाएको, गुणस्तरीय र विश्वसनीय भएको हेर्ने आकूको चाहना हो । नेफ्स्कूनको नेतृत्वमा यी सब काम भएको हेर्न रञ्जित र लेनीको चाहना हो । अहिले पनि अनौपचारिक कुराकानीमा यही भान हुन्छ ।

नेफ्स्कूनको कार्यकाललाई कसरी स्मरण गर्नुहुन्छ ?
मेरो नेफ्स्कूनको कार्यकालको विषयमा सुनाउने सुखैसुखको कुरा मात्र छ । कुनै पनि दुःखको कुरा नै भएन र सम्झिन्न पनि । सभ्य, शिष्ट, मर्यादित र सालीन क्रेडिट युनियन संस्कृति विकास गर्यौं नेफ्स्कूनमा जुन आज पर्यन्त छ । बैठकहरुमा वादविवाद, मतान्तर हुन्थे तर सहमतिमा पुगिन्थ्यो, बैठकहरुमा सबैको सहभागिता रहन्थ्यो । तालिम र शिक्षाका कामहरु गराउँदा गराउँदै दायाबायाँका काम गर्न फुर्सद हुँदैनथ्यो । व्यवस्थापनलाई बलियो बनाउने काम हामीले गर्यौं ।
अर्को गर्वको विषय भनेको एउटै हजुरबुबाका २ नाति नेफ्स्कूनको अध्यक्ष बन्यौं । यो इतिहास हो । घमन्ड होइन, भोजराज घिमिरेले सुरु (स्टार्ट) गरेको नेफ्स्कूनलाई फ्लोरिश (फैलाउने काम) मा सबैको सहयोगसहित मैले नेतृत्व गरेँ ।

भोजराज घिमिरेका बारेमा केही बताइदिनुहुन्छ कि ?
उहाँ एकदम शालीन र गम्भीर स्वभावको हुनुहुन्थ्यो । पञ्चायत भित्र पनि उहाँलाई इमान्दार मानिन्थ्यो । ‘केही काम गरौं, नाम कमाउँ’ भन्ने स्वभावको हुनुहुन्थ्यो । हामी उहाँसँग अलि हच्किन्थ्यौं । मितव्ययी बोली थियो । मलाई  ‘त’ भन्नुहुन्थ्यो । सहकारीलाई माया गर्नुहुन्थ्यो । दरबारसँग पनि उहाँको राम्रो सम्बन्ध थियो ।

जीवन र सहकारीमा के ले प्रभाव पार्यो जस्तो लाग्छ ?
सानैमा पढेको अमेरिकी कवि तथा लेखक हेनरी वार्डस्वर्थ लङ्फेलोको A Psalm of Life कविता (सन् १८३८ मा प्रकाशित) को एक स्ट्यान्जा (हरफ) ले सहकारी जीवनको लय समात्यो । वास्तवमा भन्नुहुन्छ भने सहकारी र मेरो व्यक्तिगत जीवनलाई त्यसले दिशा निर्दिष्ट गर्यो । बेलाबेलामा म त्यो कविता पढ्छु र कार्यक्रमहरुमा सुनाउछु पनि ।   

Trust no Future, howe’er pleasant!

 Let the dead Past bury its dead!

Act,— act in the living Present!

 Heart within, and God o’erhead!

विवाह कहिले र कसरी भयो ?
३२ वर्षको उमेरमा मागी विवाह भएको थियो । मेरो ठूलो बुबाको छोरीले केटी देखाउनुभएको थियो । नढाँटी भन्दा केटी त्यति राम्रो लागेन मलाई र परिवारलाई पनि तर मैले उनैसँग विवाह गर्छु भने । असल र खराब व्यवहारले देखाउने हो भन्ने लाग्यो र गरेँ जुन निर्णय एकदम सही भयो ।

हिजोआजको दैनिकी कस्तो छ ?
पहिला बिहान ४ बजेतिर उठ्थे तर आजभोली भद्रगोल छ । दैनिक बिहान ४० मिनेटजति ध्यान गर्छु । कहिलेकाही बेलुका पनि गर्छु । कहिले निन्द्राले छा्ड्यो भने साढे ३ बजेतिर उठेर ध्यान गर्छु । सद्गुरुको भिडियोहरुबाट पाएको ज्ञानका अनुसार सखारै अमृत वर्षा हुने समय हो । वातावरण पवित्र हुने समय हो । त्यो समयमा ध्यान गर्नु राम्रो हुन्छ । बेलुकी पर्यो भने अबेरसम्म बस्छु । 
घरमा रमाउने कोशिस गर्दैछु । लाइफलाई ‘इजी’ बनाउन ‘बिजी’ छु । घरमै हुँदा पनि काम गरिरहन्छु । नातिनीसँग रमाउछु । धेरै आकांक्षाहरु छैन । नेफ्स्कून, सहकारीका अन्य निकायसँगै, बाबियाखर्क आदिले कहिलेकाही बोलाउदा जान्छु । भर्चुअलमा पनि धेरै स्थानबाट सहकारीकर्ममै जोडिएँ । सहकारी प्रशिक्षण केन्द्रका लागि पनि लेख लेखेँ । आवश्यक पर्दा पढ्ने, लेख्ने, राम्रा राम्रा टेलिभिजन कार्यक्रम हेर्ने, युटुबमा प्रविधि र आविष्कारसँगै समसामयिक भिडियोहरु हेर्छु । 

टेलिभिजन कतिको हेर्नुहुन्छ ?
टेलिभिजन एकदम हेर्छु । क्रेडिट युनियनदेखि लिएर प्रविधिमा भएका अत्याधुनिक परिवर्तनहरुका साथै नयाँ विकसित रोचक घटनाक्रममा बारेमा कार्यक्रमहरु हेर्न छुटाउदिन । केही वर्ष अघि सम्म राती २ बजेसम्म हेर्थे ‘एनिमल प्लानेट’का कार्यक्रमहरु ।

धार्मिक आस्था छ कि छैन ?
धर्ममा आस्था छ । सद्गुरुलाई मान्छु । युटुबमा मात्र भेटेको छु र उहाँलाई नियमित सुन्छु । उहाँको ओरेटोरी स्कील (वाक्कला) बाट अत्यन्त्र प्रभावित छु । बिहान धुप बाल्छु, कुनै विशेष अवसरमा पुजा गर्छु । हजुरबुवा पन्डित हुनुहुन्थ्यो । गाउँमा स्थापित धार्मिक प्रचलनहरुको सुरुवातमा बुबाको अहम् भूमिका थियो । पुराण वाचन गर्दा पन्डित कसरी बस्ने भनेर हजुरबुबाले खयरको मसीले बनाएको करिब १ सय ५० वर्ष पुरानो स्केच अझै छ । उहाँले बनारसमा अध्ययन गर्नुभएको थियो । अहिले छक्क पर्छौं उहाँ कसरी बनारस पुग्नुभयो त्यस बेला भनेर । 

सुरुमा भाषा पाठशालामा संस्कृत पढेको हुँ । ६ वर्षमा व्रतबन्ध भयो । रुद्री आठै अध्याय मुखाग्र थियो । नवग्रह स्तोत्र पाठ गर्थे, शिव स्तुति, हनुमान चालिसा, वृहत् स्तोत्र रत्नावली, अमरकोश, दशैको समयमा चन्डी पाठ आदि गर्न आउछ र विशेष अवसरमा गर्छु । गीता अहिले पनि बेलावेलामा पढ्छु । गाउँमा पाठ गर्ने बेला टुपी पालेको थिए । बाहुन नपुग्दा म र डिल्ली दाहाल एकदम चाडो पढ्न सक्थ्यौं । म भन्दा छिटो उनी पढ्थे तर मलाई आफु छिटो पढ्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । सँगै सुरु गर्दा उसले १ पेज पर पुर्याइसक्थ्यो, मेरो पालो एकैचोटी २ पाना पल्टाउथेँ । मैले पल्टाएको देखेर उ पनि २ पाना बढी पल्टाउथ्यो । बीचमा धेरै समय नपढेकोले अहिले संस्कृत शब्द फुटाउन समय लाग्ने भैसक्यो । २०१९ सालमा नयाँ शिक्षा आएपछि संस्कृत भन्दा नेपाली र विस्तारै अंग्रेजी तिर लागियो ।

 स्वभावको आत्मविश्लेषण कसरी गर्नुहुन्छ ?
सानैदेखि म छुचो होइन बोलक्कड थिएँ । मेरो बुबासँग काकाहरु सबै डराउनुहुन्थ्यो तर मेरो भने साथीको जस्तो सम्बन्ध थियो । गफगाफ निक्कै हुन्थ्यो । १ सय २ वर्ष प्रवेश गरेपछि उहाँको निधन काठमाडौंमा भयो विना कुनै दीर्घ रोग । बुवामा दीर्घरोग नहुनुको एउटा प्रमुख कारणमध्ये बिहान बेलुका नित्य दुई वटा केरा (सकेसम्म मालभोग) खाने चलन हो जस्तो लाग्छ जुन ममा पनि सरेको छ । अहिले पनि आफै भोटाहिटी पुगेर सकेसम्म मालभोग केरा ल्याउछु । बिहान बेलुका नै खान्छु । माछामासु ५ वर्ष छोडेको थिएँ तर फेरि खान थाले । भिटामिन बी–१२ कम भएछ, अस्पताल बसे २ दिन, चिकित्सकको सल्लाहमा खान थालेँ ।

अलिअलि बिर्सिने बानी पनि छ । एबसेन्ट माइन्डेड हो । रमाइलो किस्सा छ । किर्तिपुरमा परीक्षा थियो एमएको । मोजा एक जोर मात्र थियो । अहिले जस्तो थिएन । एउटा मोजा लगाएँ, अर्को जति खोज्दा पनि भेटिन र अब मोजा नलगाइ जान्छु भनेर लगाएको मोजा पनि खोल्दा अर्को मोजा त्यही भित्र रहेछ, भुलेछु । यस्तो बेलाबेलामा हुन्छ र मजा पनि लाग्छ । मेरो बुवाको पनि यस्तो भुल्ने बानी थियो । कतिपय बेला भने जब कुनै काम मानिसले भित्रबाटै गरेको छैन वा कसैलाई देखाउन वा औपचारिकताका लागि मात्र गरेको हो भन्ने लाग्यो भने बिर्सिन्छु जस्तो लाग्छ । कुनै छलफलको लागि आग्रह भयो भने त्यो के को लागि, त्यसले कहाँ पुर्याउँछ, ठोस एजेन्डा के, त्यसपछि के हुने, त्यसको निर्णायक बिन्दू के भन्ने प्रश्नहरुको उत्तर पाइन भने सहभागी हुन भित्रदेखि नै इच्छा लाग्दैन र भुल्छु पनि । अघिपछि रमाइलो ख्याल ठट्टा निक्कै गर्छु म तर बैठक बसिसकेपछि  त्यसलाई परिणति दिनुपर्छ भन्ने लाग्छ । हेर्नुस त, जो बाइडेनले १५ वटा कार्यकारिणी आदेशहरुमा हस्ताक्षर गरे, यसका लागि कति अघिदेखि तयारी गरेका थिए होलान । १५ वटालाई १५ वटा कलमले हस्ताक्षर गरे ।

हाल परिवारमा को को हुनुहुन्छ ?
२ छोरा उनीहरुका परिवार र श्रीमती हुन् तर हाल काठमाडौंमा श्रीमती र नातिनीसँगै एक सहयोगीसाथ बस्छु । जेठो छोरा चन्दन घिमिरे हाल अष्ट्रेलियामा छ । उसले मार्केटिङमा स्नातकोत्तर सक्यो । बुहारी नर्स छिन् । नातिनी हाल हामीसँगै छिन् । कान्छो चिराग घिमिरे अमेरिकामा छ । मिजोरीको स्टेट यूनिभर्सिटीबाट फिजिक्समा स्नातक गरी आइटी पढेर ‘मायर’ (करिब १ सय वर्ष पुरानो अमेरिकी कम्पनी जुन अमेरिकाका करिब २० वटा राज्यमा विस्तार भएको छ) को मिचिगनस्थित मुख्य कार्यालयको आइटी विभागमा बरिष्ठ इन्जिनियरको रुपमा कार्यरत छ । उसले काम गर्ने विभागमा मात्र करिब ५ सय कर्मचारी छन् । बुहारीको हेल्थ साइन्समा स्नातकोत्तर सकिनै लागेको छ, अहिले पार्ट टाइम काम पनि गर्छिन् ।

पहिरनको सोख छ कि छैन ?
धेरै लुगा किनेर थुपार्ने रहर होइन तर राम्रोसँग चिटिक्क पारेर लाउनुपर्छ भन्ने लाग्छ । दिनको ४ रुपैयाँ कमाई हुँदा पनि लुगा धोएर आइरन गरेर हिड्ने बानी थियो । त्यसबेला कोठामा आइरन नहुँदा सर्टको १० पैसा र पाइन्टको १५ पैसा तिरेर आइरन गराई लगाएर हिड्दथेँ । मैले अहिले लगाएको कोट उपहारमा प्राप्त भएको हो । अर्को कोट पनि उपहार नै आएको हो । नेफ्स्कून वा अभियानमै रहँदा साथीभाईले विदेश वा बाहिर कतै जादाँ प्रेमले ल्याइदिनुहुन्थ्यो । चट्क्क परेर हिड्न मन पराउँछु । सहकारीका पपुलर व्यक्तिहरु को हुन भनेर ‘कोअपरेटर’ पत्रिकाले केही वर्षअघि मत सर्वेक्षण गर्दा पोशाक पहिरनको पनि नम्बर राखिएको थियो । २० पूर्णाङकमा मलाई १८.५ दिएको थियो । ‘टेम्पो चढ्दा पनि चिटिक्क परेर हिड्ने अभियानकर्मी’ आदि लेखिएको थियो । 

मेरो मान्यता के हो भने नेफ्स्कूनको अध्यक्ष झुम्रे भएर हिड्यो भने अभियान पनि झुम्रे नै रहेछ भन्ने सोच पलाउँछ । अध्यक्ष सबैको लागि रोल मोडल हुनुपर्छ । खानपनि, बसाइउठाइ, बोलीचाली सरसंगत आदि सबैमा नमूना बन्नुपर्छ भन्ने मान्यता हो । यसले अरुलाई पनि पथ प्रदर्शन गर्छ । बाहिर निस्कदा दाह्ी नकाटी प्रायः हिड्दिन ।

खानामा कतिको गनगन गर्नुहुन्छ ?
धेरै गर्दिन । खानमा उत्पात् सौख छैन । मिठो बनाएको चीज स्वाद लिएर खाएपनि पेट भरी कहिल्यै खान्न । नमिठो भएपनि धेरै गनगन गर्दिन । पेटभरी वा अघाउञ्जेल कहिल्यै खान्न । खाना खाएको एकैछिन पछि कसैले दुई वटा लालमोहन दियो भने पनि खान सक्छु, अलि पर जाँदा कसैले दुधवरी दियो भने पनि अट्न सक्ने ठाउँ राख्छु । आमाले सिकाउनुभएको थियो– ‘खाउ खाउ लाग्दै छोड्नु, अघाउञ्जेल कहिल्यै नखानू ।’ त्यही बानी बस्यो । माछामासु पनि त्यस्तै हो । मलाई सबैचीज पकाउन पनि आउँछ र मिठो पनि पकाउँछु । पर्दा सबै गर्न सक्छु ।

घरायसी काम के गर्न बढी रमाउनुहुन्छ ?                                                                                                                                                                                                                      मलाई सबैभन्दा मनपर्ने घरायसी काम भनेको भाडा माझ्ने र ट्वाइलेट सफा गर्ने हो । तर त्यसका लागि पानी भने पर्याप्त हुनुपर्छ ।


 

saccosaawaj media

ऋण संघ ऐन (Credit Union Act) को आवश्यकता

सोमबार, साउन ५

निवर्तमान अध्यक्ष, नेफ्स्कून

saccosaawaj media

सहकारी मर्जरका लागि उत्प्रेरित नभए सरकार दबाब दिन बाध्य हुने

सोमबार, साउन ५

डा. टोकराज पाण्डे रजिष्ट्रार, सहकारी विभाग

saccosaawaj media

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५

दिगो विकास लक्ष्य र सहकारी