बिहीबार, वैशाख १३
०६:४५

‘सदस्यहरुको मन जित्न एक्सेस् कार्यक्रममा आबद्ध भयौं’

मंगलबार, माघ ६
रञ्जनमणि पौड्याल
saccosaawaj

गोपाल बारकोटी
अध्यक्ष, लेटाङ साकोस, मोरङ

(मोरङ जिल्लाको लेटाङ नगरपालिका ४ स्थित लेटाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड एशियाली ऋण महासंघ–आकूको प्राविधिक सहयोगमा नेफ्स्कूनद्वारा सञ्चालित बचत तथा ऋण सहकारीहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी एशिया स्तरको स्तरीकरण कार्यक्रम एक्सेस्मा आबद्ध भएको छ । यस सम्बन्धमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र संस्थाबीच हिजो औपचारिक सम्झौता समेत भएको थियो । 

यसै सन्दर्भमा साकोस आवाजले उक्त साकोसका संस्थापक सदस्य, १२ वर्ष सचिव हुँदै गत मंसिरबाट दाश्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष निर्वाचित सहकारी अभियन्ता गोपाल बारकोटीसँग संस्थाको गतिविधि र एक्सेस्मा आबद्ध हुनुको कारण बारे आज टेलिफोन सम्वाद गरेको छ । प्रस्तुत छ उक्त सम्वादको सारः)

एक्सेस् कार्यक्रममा सम्झौता गर्नुभयो ? यसको उद्देश्य के हो ? 

एक्सेस् कार्यक्रम–आकूको प्राविधिक सहयोगमा नेफ्स्कूनले सञ्चालन गर्ने एशिया क्षेत्रका बचत तथा ऋण सहकारीहरुको गुणस्तर सुनिश्चितता मापन एवम् स्तरीकरण गर्ने कार्यक्रम हो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त यस कार्यक्रमको उद्देश्य वित्तीय कारोबार गर्ने सहकारीहरुको बिशिष्ट सेवा, पहिचान र दक्षताको आधार स्थापित गर्नु हो भन्ने हाम्रो बुझाई रहेको छ । 

हामी सदस्य केन्द्रीत संस्था हौं । सदस्यको सन्तुष्टि नै हाम्रो उपलब्धि हो । जसरी प्रोबेशनमा सामेल भएपछि सेयर सदस्यहरु, बचतकर्ताहरु, ऋणीहरु, कर्मचारीहरु र सञ्चालकहरु हामी सुरक्षित तवरबाट कारोवार गरिरहेका छौं भन्नेमा आश्वस्त हुनुहुन्थ्यो अब त्यसको स्तर थप बढाउन अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सामेल भएका हौं । गुणस्तरीयता र व्यावसायिकीकरणबीच तालमेल मिलाउन, असल अन्तर्राष्ट्रिय अभ्यासहरुलाई आन्तरिकीकरण गर्न, दिगो र प्रभावकारी सेवा प्रवाह गर्दै आम सदस्यहरुलाई सबै किसिमको सन्तुष्टि प्रदान गर्न एक्सेस्मा सहभागी भएका हौं । एक्सेस् कार्यक्रममा सहभागिताका विषयमा लामो छलफल र गृहकार्य पछि गत मंसिर २९ गते सम्पन्न साधारण सभाबाट पारित गरेका हौं । अर्को रुपमा भन्ने हो भने यो हाम्रो नेफ्स्कूनप्रतिको विश्वसनीयताको द्योतक पनि हो । 

एक्सेस्मा आबद्ध भएपछि अब चुनौतीहरु थपिने छन् ?
स्वाभाविक रुपमा एउटा कार्यक्रम भन्दा माथिल्लो स्तरको कार्यक्रममा आबद्ध भएपछि चुनौती त थपिन्छ नै । सबै सूचकहरुमा आवश्यक स्कोर गर्न सजिलो पक्कै छैन । हाम्रो कार्यक्षेत्र भित्र सबै वित्तीय सहकारीहरु यो किसिमको गुणस्तर सुनिश्चिचतता सम्बन्धी कार्यक्रममा आबद्ध छैनन । अनेकताभित्र एकता खोज्न मुश्किल त छ नै । फेरि हामी ग्रामीण क्षेत्रमा काम गर्ने संस्था हौं तर हामी सञ्चालक समिति, व्यवस्थापन समूह र सदस्यहरुलाई के थाहा छ भने प्रोबेसनले हामीलाई यहाँसम्म ल्याइपुर्यायो भने अब एक्सेस्ले हामीलाई यहाँभन्दा अझ माथि लान्छ र त्यसका लागि सबैको साथ र सहयोग अनि नेफ्स्कूनको निरन्तरको पृष्ठपोषणले हामी ब्रान्ड पाउन सफल हुन्छौं भन्ने आत्मविश्वास साथ सहभागी भएका हौं । फेरि धेरै सूचकहरु प्रोबेसनसँग मिल्ने भएकाले पनि अब काम गर्न धेरै कठिन नहोला भन्ने अपेक्षा गरेका छौं । यो अवसर छोड्नु हुँदैन भन्ने सबैलाई लाग्यो ।

सदस्यहरुले प्रोबेशन, एक्सेस् आदि गुणस्तर सुनिश्चितता कार्यक्रमका विषयमा बुझ्नुभएको छ ?
यी कार्यक्रममा सहभागिता र यिनले संस्थामा पारेका प्रभावका विषयमा हामीले निरन्तर सदस्यहरुलाई जानकारी गराएका छौं । निरन्तर सहकारी शिक्षामा सहभागी हुने सदस्यहरुले धेरै कुराहरु बुझ्नुभएको छ । बुझेर नै उहाँहरुले संस्थासँगको कारोबारलाई पहिलो प्राथमिकता दिनुभएको पाएका छौं । प्राविधिक विषयमा सबै जनाले सबै कुरा नबुझेपनि नेफ्स्कूनले सञ्चालन गरेका यस्ता कार्यक्रमले संस्थालाई मजबूत बनाएको छ भन्ने विषयमा एक किमिसको आम सदस्यको बुझाई बनेको अवस्था छ र एक्सेस्का बोरमा अब फेरि हामी विभिन्न प्लेटफर्ममार्फत जानकारीहरु उपलब्ध गराउँछौ । मुख्य कुरा बचत र ऋण सुरक्षित छन्, लगानी सुरक्षित ठाउँमा गरेको छ, सबै सूचनाहरु उपलब्ध गराएको छ, सबै सदस्यलाई समान व्यवहार गरेको छ भन्ने अधिकांश सदस्यको बुझाई पाएका छौं ।

ब्रान्डको कुरा गर्नुभयो बजारमा यसका सम्बन्धमा बुझाईमा कमी भएको हो कि ? 
मलाई पनि त्यही लाग्छ । पछिल्लो समय सञ्चारमाध्यममा नेफ्स्कूनको गुणस्तरीय सुनिश्चितता सम्बन्धी कार्यक्रमका विषयमा टीका टिप्पणीहरु पढ्न सुन्न पाइयो जसमा कुनै सत्यता नभएको विकसित घटनाक्रमले पुष्टि गरेकै छन् र हाम्रो सन्दर्भमा पनि त्यस्ता आरोपहरु निराधार पुष्टि भएका छन् । 

म यहाँलाई जानकारी गराउ, हामी पहिलो पटक प्रोबेशन कार्यक्रममा आबद्ध भएको वर्ष असफल भयौं र दोस्रो र तेस्रो पटक लगातार ब्रान्ड प्राप्त गर्न सफल भयौं । पहिलो पल्ट असफल हुँदा पनि हामीले कसैलाई केही गुनासो गरेनौं बरु भएका कमजोरीहरु सुधार गर्दै लग्यौं र दोस्रो पल्ट र तेस्रो पल्ट ब्रान्ड पायौं । हामीले ब्रान्ड प्राप्त गर्न एक रुपैयाँ पनि नचाहिदो खर्च गरेका छैनौं, कसैलाई लबिङ गरेनौं । नेफ्स्कूनबाट अडिटमा आउनेहरुले बरु आफ्नो खानको पैसा आफैले तिर्नुभयो हामीलाई तिराउनुभएन । त्यही भएर बजारका कुराहरु केवल हल्ला हुन भन्नेमा हामी ढुक्क छौं । यस्ता कुराबाट सचेत बन्दै झन असल नियतका साथ काममा लाग्ने प्रेरणा भने नेफ्स्कून र आबद्ध हुने संस्थाहरुलाई मिल्छ भन्ने लाग्छ ।

नेफ्स्कूनका आबद्ध भएपछिका फाइदाहरु के पाउनुभएको छ ?

सबभन्दा मुख्य कुरा हामी गुणस्तर सुनिश्चितताको कार्यक्रममा सहभागी भयौ र लगातार २ पटक प्रोबेसन ब्रान्ड प्राप्त गर्न सफल भयौं । यो केवल देखाउनको लागि ब्रान्ड मात्र होइन, यसले सबभन्दा मुख्य कुरा हाम्रा सदस्यहरुलाई, सञ्चालकहरुलाई र कर्मचारीहरुलाई हाम्रो संस्था वित्तीय रुपमा सुरक्षित छ, बचत र ऋण लगानी सुरक्षित छ, विधि र नियमसंगत ढंगले संस्था सञ्चालन भएको छ भन्ने विश्वास जागृत गराएको छ । समाजमा सहकारीले गरेको धेरै राम्रा कुराहरु ओझेलम पर्ने तर कुनै सहकारीको खराबी भुसको आगो सरी फैलने संवेदनशील परिस्थितिकाबीच हाम्रो मिहिनेत परिश्रम सही ठाउँमा सही रुपमा प्रयोग भैरहेको छ भन्ने प्रत्याभूति हामीलाई दिलाएको छ । यसबाहेक नेफ्स्कूनले तरलता व्यवस्थापन, ऋण र बचत जस्ता वित्तीय सेवा  र परामर्श, सल्लाह सुझाब जस्ता गैर वित्तीय सहयोग प्रवाह गरेको त छदैछ ।

नेफ्स्कूनको भूमिकालाई कसरी हेर्नुभएको छ ?
हामीले बुझेसम्म हाम्रो अभिभावक संघ नेफ्स्कूनले आफ्ना सदस्यहरुलाई समुदायमा बिशिष्ट छवि सहित सुशासित, गुणस्तरीय र विश्वसनीय बनाउन विभिन्न किसिकमका तालिम, शिक्षा, गोष्ठी, सेमिनार र भेलाहरु सञ्चालन गर्दै आएको छ । छाता संगठन भएकोले नेफ्स्कूनको दायित्व भनेको कसरी आफन सदस्यहरुलाई समुदायमा उत्कृष्ट सेवा प्रवाह गर्ने दिगो, बलियो र वित्तीय रुपमा स्वस्थ्य सहकारी बनाउने हो भन्ने लाग्छ । त्यसैको परिणति हो गुणस्तर सुनिश्चिचता सम्बन्धी एक्सेस्, प्रोबेसन, कर्बर्स, आधारशिला, सार जस्ता कार्यक्रमहरु । फिल्ड कार्यालयहरुबाट पनि नेफ्स्कूने वित्तीय र गैर वित्तीय सेवाहरु प्रवाह गरिरहेको छ । हामी चाहन्छौं हालको सहकारी ऐन र नियमावलीमा भएका कतिपय व्यवधानहरु हटाउँदै तिनलाई सहकारी मैत्री बनाउन र छुट्टै साकोस ऐन निर्माणको लागि यसले बहस पैरवीलाई घनीभूत बनाउँदै लगोस् । तालिम, शिक्षा र सुशासन प्रवर्धनका नियमित कार्यक्रम त छदैछन् ।

अन्त्यमा, लेटाङ साकोस बारे केही बताइदिनुहुन्छ कि ?
लेटाङ साकोसको स्थापना २०५० साल मङसिर २९ गते भएको हो । लेटाङ नगरपालिका भर कार्यक्षेत्र रहेको संस्थामा हाल ३ हजार बढी सदस्य हुनुहुन्छ जसमध्ये ५५ प्रतिशत महिला सहभागिता छ । वित्तीय अवस्थाको बारेमा भन्नुपर्दा हामीसँग ३ करोड ५० लाख सेयरपुँजी रहेको छ भने ऋण लगानी २९ करोड ५० लाख छ । हाल एकल कार्यालय रहेको संस्थामा ८ जना कर्मचारी हुनुहुन्छ भने केही इन्टर्न पनि रहनुभएको छ । हामीले विप्रेषण सेवा पनि विगत लामो समयदेखि प्रवाह गर्दै आएका छौं । हाल संस्थाले १३ वटा बचत र १६ वटा ऋण सेवा प्रदान गरेको अवस्था छ । गएको साधारण सभाबाट हामीले १२.५ प्रतिशत सेयर लाभांश वितरण गर्ने निर्णय गर्यौं । कोभिड अघि सम्म तरलताको स्थिति राम्रो रहेपनि अहिले भने केही अधिक छ । लगानीका प्रमुख क्षेत्रहरुमा व्यापार व्यवसाय र कृषि छ ।

(लेटाङ साकोसका व्यवस्थापक सीताराम न्यौपानेको सहयोगमा)
 

saccosaawaj media

ऋण संघ ऐन (Credit Union Act) को आवश्यकता

सोमबार, साउन ५

निवर्तमान अध्यक्ष, नेफ्स्कून

saccosaawaj media

सहकारी मर्जरका लागि उत्प्रेरित नभए सरकार दबाब दिन बाध्य हुने

सोमबार, साउन ५

डा. टोकराज पाण्डे रजिष्ट्रार, सहकारी विभाग

saccosaawaj media

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५

दिगो विकास लक्ष्य र सहकारी