बिहीबार, चैत्र १५
०८:२५

५ दिने CUMCC तालिमको अनुभव र भावी योजना

आईतबार, पुस १९
रञ्जनमणि पौड्याल
saccosaawaj

(नेफ्स्कूनको आयोजनामा भर्खरै भक्तपुरको नगरकोटमा “साकोस व्यवस्थापकहरुको क्षमता अभिवृद्धि (CUMCC)  तालिम” सम्पन्न भएको छ । लामो समयपछि आयोजित यो उच्चस्तरीय तालिममा २६ बचत तथा ऋण सहकारी संस्थाका २७ जना व्यवस्थापकीय बागडोर सम्हाल्नुभएकाहरुको सहभागिता थियो । पुस १२ गतेदेखि १६ गतेसम्म सञ्चालित ५ दिने आवासीय तालिम धेरैका लागि नौलो अनुभव रह्यो । तालिममा संघीय राजधानी काठमाडौंदेखि ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, गुल्मी, बागलुङ जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका महिला र पुरुष व्यवस्थापकहरुको सहभागिता थियो ।

तालिममा एशियाली ऋण महासंघ आकूकी प्रमुख कार्यकारी अधिकृत लेनी देखि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सहकारी व्यवसाय प्रवर्धन तथा संघ संस्था समन्वय शाखा अन्तर्गतका उपसचिव ऋषिराम पंगेनी, नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल,निवर्तमान प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालसँगै तालिम केन्द्र प्राचार्य गणेश तिमल्सिना र बरिष्ठ अधिकृत बल्लभ तिमल्सिनाले सहजिकरण गर्नुभएको थियो । उक्त तालिममा सहभागीहरुमध्ये केहीसँग साकोस आबाजले तालिमको अनुभव, विषयवस्तु, प्रस्तुतिकरण शैली, खट्किएको कुरा, आबद्ध संस्थाको पछिल्लो अवस्था र तालिम पछिको योजनाका बारेमा जान्ने प्रयास गरेको छ । –सम्पादक)

कल्पना बस्नेत
व्यवस्थापक, लेकाली स्वावलम्बन साकोस, गुल्मी

समग्रमा ५ दिने बसाई अत्यन्त उपलब्धिमुलक रह्यो । तालिमको नाम नै व्यवस्थापकहरुको क्षमता अभिवृद्धि भएकाले यो हामीजस्तो व्यवस्थापकीय जिम्मेवारीमा रहेकालाई समग्र संस्थाका अवयवहरुबीचको सन्तुलन र विकासमा गर्नुपर्ने कामहरुको बारेमा जानकारी पाइयो । 
नेफ्स्कूनले आयोजना गरेको करिब एक दर्जन जति तालिमहरु लिइसकेँ । तर पनि आवासीय र त्यो पनि बेजिल्लाको यो पहिलो तालिम हो । तालिमका सबै सत्रहरु राम्रा रहे तर पनि जोखिममा आधारित साकोस सुपरिवेक्षण सम्बन्धमा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा  प्रसाद ढकालको विषयवस्तु र प्रस्तुतिकरण शैलीका कारण अत्यन्तै उपयोगी रह्यो भने मानव संशाधन व्यवस्थापन सम्बन्धी नेफ्स्कूनका निवर्तमान प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको प्रस्तुतिबाट पनि धेरै कुरा सिकेँ । यसैगरी, नेफ्स्कूनका बरिष्ठ अधिकृत बल्लभ तिमल्सिना सरले रमाइलो गर्दै सिकाउनुभयो । हामीले समूह कार्यहरु धेरै गर्यौ । एउटा सत्रमा कम्तिमा एउटा समूह कार्य भयो ।

मेरो संस्था लेकाली स्वावलम्बन साकोसको कुरा गर्दा अहिले हामीसँग २८३५ सदस्य हुनुहुन्छ । ५ करोड ११ लाखको सेयर पुँजी छ भने ३५ करोड ऋण लगानी छ । भाखा नाघेको ऋण २.५७ प्रतिशत छ ।   कोभिडका कारण संस्थामा अहिले अधिक तरलता छ । ब्याज पनि अपेक्षाकृत असुली हुन सकेको छैन । नयाँ ऋण सेवा विकास गर्नुपर्ने आवश्यकता महसूस भएको छ । तालिममा पनि यसका सम्भावनाका विषयमा छलफल भएको छ । व्यवसाय निरन्तरता ऋण भनेर नयाँ ऋण सेवा शुरु गर्ने विचारमा छौं । 

मैले तालिममा सिकेको महत्वपूर्ण कुरा भनेको नियमित सदस्य सम्पर्क सँगै जनसम्पर्क विस्तारको महत्व हो । हुनत यो कुरा मलाई केही समयअघि सञ्चालक समितिबाट पनि भन्नुभएको थियो तर यो तालिमले मलाई त्यसको महत्वलाई बिशेष रुपमा ध्यान दिई तत्काल लागू गर्न घच्घच्याएको छ । अब तत्कालै दैनिक कम्तिमा १ घन्टा ब्यवस्थापकको कुर्सीबाट उठेर बाहिर निस्कने, नियमित कम्तिमा ५ सदस्यलाई वा सम्भावित सदस्यहरुलाई भेट्ने, कम्तिमा ५ जनालाई टेलिफोन वा कुनै अन्य प्रविधिको माध्यमबाट सम्पर्क गर्ने र उहाँहरुका आलोचना अनि गुनासाहरुको सम्बोधन गर्ने काम शुरु गर्छु ।

म २०६४ सालदेखि वैशाख २ गते यो संस्थामा कार्यरत रहेपनि २०७६ कार्तिक ९ गते व्यवस्थापकीय बागडोर सम्होलेकी हुँ । यो मेरो लागि चुनौती र अवसर दुबै हो । मलाई के विश्वास छ भने म चुनौतीहरुलाई अवसरमा बदल्न सक्षम छु । यो कुरा तालिममा पनि सिकाइएको छ । महिला भएर नेतृत्व गर्न पाउँदा खुसी अनुभव भएको छ । धेरै वर्ष सहकारी क्षेत्रमै बिताइसकेका कारण यसैमा रस बसेको छ । सहकारी बाहेक अरु सम्भावनाहरु नखोजेको र यसैमा रमाएका कारण रमाएर गरेको काममा सफलता मिल्छ भन्ने पूर्ण विश्वास छ । नेफ्स्कून जस्तो अभिभावन निकायबाट यस किासिमका उच्चस्तरीय तालिमकको अवसरले पनि ज्ञान, सीप र धारणाको दायरा फराकिलो बनाउँदै काममा सफलता दिलाउन मद्दत गर्दछ भन्ने लाग्छ ।

चेत नारायण अर्जेल
व्यवस्थापक, गलकोट साकोस, गलकोट नपा, हरिचौर, बाग्लुङ

म शिक्षण पेशाबाट भर्खरै सहकारी क्षेत्रमा प्रवेश गरेकाले यो मेरो लागि नितान्त नौलो तर एकदमै महत्वपूर्ण तालिम रह्यो । म गएको साउनबाट सहकारी क्षेत्रमा आबद्ध भएको हुँ । संस्था सञ्चालनका अधिकांश विषयहरु ५ दिने बसाइमा समेटियो । म जस्तो नवप्रवेशीलाई धेरै कुराहरुको ज्ञान भयो । वित्तीय बजारका प्रतिस्पर्धीहरुका बारेमा जानकारी पाइयो । संस्था सञ्चालनमा रणनीतिक योजना, मानव संशाधन, सञ्चालक र व्यवस्थापकको सम्बन्ध आदि बारेमा जानकारी मिल्यो । मुख्य कुरा हामीले यथास्थितिबादवाट अगाडि बढ्नुपर्छ, योजनाबद्ध हिसाबले संस्था सञ्चालन गर्नुपर्छ, भविष्यको सम्भावनाहरुको पूर्वानुमान गर्न सक्नुपर्छ, बजारको माग जानेर प्रतिस्पर्धी सेवाहरु विकास गर्नुपर्छ भन्ने कुराहरु बुझियो ।
सबै सत्रहरु रोचक थिए तथापि मानव संशाधन सम्बन्धी शिवजी सापकोटाको र जोखिम सम्बन्धी दुर्गाप्रसाद ढकालको कक्षा बढी रुचिकर रहे । हामीलाई संस्था राम्रोसँग चलिरहेको लागेपनि जोखिमका विविध सम्भावनाहरुबारे ज्ञात नहुँदो रहेछ भन्ने लाग्यो । यो तालिमले हामीलाई जोखिमका क्षेत्रहरुको जानकारी र तिनको समाधानका उपायहरुबारे सजग रहन सिकाएको छ । तालिममा छलफल, व्यावहारिक उदाहरुणहरु, मनोरञ्जन आदि सबैको सम्मिश्रण भएकोले पट्यारलाग्दो भएन । मेरो विचारमा त यो तालिमको समय अझै १–२ दिन कम भयो किनकि कतिपय विषयहरु हामीले छोट्याउनुपर्यो । अर्को भनेको अधिकांश सहजकर्ताहरु स्वदेशी हुनुहुन्थ्यो । एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत लेनीको प्रस्तुति निक्कै राम्रो थियो । म अंग्रेजी शिक्षक भएकाले उहाँको प्रस्तुति बुझेँ तर अन्य साथीहरुलाई कठिन भएको हुनसक्दछ । यस्तै, असल अन्तर्राष्ट्रिय अभ्यासहरुका बारेमा उहाँहरुबाटै जान्न बुझ्न पाएको भए सुनमा सुगन्ध हुन्थ्यो ।

म कार्यरत गलकोट साकोसमा हाल १७६० सेयर सदस्य हुनुहुन्छ । गलकोट नगरपालिका सबै र ताराखोला गाउँपालिका भर कार्यक्षेत्र रहेको संस्थाको सेयर पुँजी ४ करोड बढी छ भने ऋण लगानी करिब २५ करोड छ । हाम्रो लागि चुनौती भनेको भाखा नाघेको ऋण हो । यो अलि बढी छ, कोभिडको कारणले पनि ऋण उठ्न समस्या परेको छ । लगानीको समयमा पनि हामीले ध्यान नपुर्याएको हुनसक्दछ । यो कम गर्न अब हामीले ठोस योजना बनाएर अघि बढ्नुपर्ने छ । तालिम लिइसकेपछिको अबको मेरो पहिलो प्राथमिकता भनेको संस्थामा आवश्यक नीति तथा कार्यविधिहरु निर्माण तथा अद्यावधिक हो । नयाँ योजना तर्जुमा अर्को प्राथमिकता हो मेरो भने जोखिम व्यवस्थापनका आयामहरुको घनीभूत छलफलसँगै कसरी संस्थालाई स्तरीकृत बनाउने भन्ने काममा म लगायतको सम्पूर्ण समूह लागिपर्नेछौं । त्यस्तै, तालिममा सिकेको अर्को पक्ष भनेको सदस्य सम्बन्ध बिस्तार हो । सदस्यलाई केन्द्रमा राखेर काम गर्ने र गहिरो सम्बन्ध स्थापनाका लागि तालिकाबद्ध क्रियाकलापहरु अघि बढाउने विषयलाई मैले प्राथमिकतामा राखेको छु । समयसमयमा यस प्रकारका अन्य तालिमहरु समेत लिएर दक्षता बढाउने योजना पनि राखेको छु ।

विपना महर्जन
व्यवस्थापक, थानकोट महिला जागरण साकोस, काठमाडौं

यो तालिम भन्दा अघि पनि नेफ्स्कूनबाट मैले २ वटा तालिम लिएकी थिएँ । तर यति लामो र आवासीय तालिम मेरो लागि पहिलो अनुभव हो । एक किसिमले कस्तो होला भन्ने कौतुहलता पनि थियो तर अहिले तालिम सकिएपछि एकदमै धेरै विषय जानेको जस्तो लागेको छ । यो तालिम बढी सहभागितात्मक तथा समूह कार्य र छलफलमा आधारित रह्यो । नयाँ साथीहरु चिनजान र सम्पर्क विस्तार भयो । अरु छोटा तालिमहरु खासगरी सैद्धान्तिक विषयमा केन्द्रीत हुन्थे यसमा बढी व्यावहारिक ज्ञान पाइयो । हामीले संस्थामा दैनिक भोग्ने समस्याहरुको बारेमा छलफल मात्र होइन तिनको समाधानको उपायका बारेमा पनि छलफल भयो । मैले आफुले भोगेको समस्याका बारेमा टिपेरै लगेकी थिएँ । तिनका विषयमा सहजकर्ताहरुसँग सोधनी गरे र उपायहरु पत्ता पनि लगाएँ । यस अर्थमा तालिम मेरा लागि महत्वपूर्ण रह्यो ।

लिएका सत्रहरुमध्ये शिवजी सापकोटाको मानव संशाधन सम्बन्धी विषय र शैलीबाट प्रभावित भएँ । विषय अलि महत्वपूर्ण पनि लाग्यो । अन्य सत्रहरु पनि राम्रो भयो । विषयवस्तुहरु सबै समेटिएको थियो । यद्यपि, कुनै कुनै विषयहरु  छिटो सकाउन हतार गरिएको जस्तो लाग्यो, कुनै विषयवस्तु छोडिएको ९स्किप० गरिए झै लाग्यो ।

जहाँसम्म मेरो संस्थाको विषय छ, हामीकहाँ हाल २२ सय सदस्य हुनुहुन्छ, १ करोड १८ लाख सेयर पुँजी छ भने करिब १० करोड ऋण लगानी छ । भाखा नाघेको ऋण अघि बढी छ, कोभिड पनि एउटा प्रमुख कारण हो भन्ने ठम्याई छ । अबका दिनमा लगानी गर्दा धेरै ख्याल गर्नुपर्छ भन्ने कुरा तालिमबाट सिकियो । केही समय अघि सम्म तरलता बढी नै थियो तर पछिल्लो समय भने त्यसलाई केही व्यवस्थापन गर्न सक्षम भएका छौं । थप सदस्य मैत्री ऋण सेवाहरु विकास गर्नुपर्ने आवश्यकता छ, लगानीका नयाँ सम्भावनाहरु पनि खोजी गर्नुपर्ने समय आएको छ ।

म विगत ५ वर्षदेखि सहकारी क्षेत्रसँग जोडिएकी छु । १ वर्ष पहिले मात्र व्यवस्थापकको जिम्मेवारी पाएकी हुँ । यो मेरो लागि अवसर पनि हो । तालिम लिएपछिको मेरो पहिलो प्राथमिकता भनेको सञ्चालक समितिलाई नेफ्स्कूनले विकास गरेको संस्थागत विकास तालिम लिनका लागि घच्घच्याउने हो किनकि नीति निर्माण गर्ने भूमिकामा रहनुभएका सञ्चालकहरुलाई आफ्नो भूमिका र जिम्मेवारीबोध भएन भने व्यवस्थापनलाई काम गर्न कठिन हुन्छ । त्यसैले उहाँहरुलाई तालिमका लागि मानासिक रुपमा तयार गर्ने मेरो पहिलो काम हुनेछ । त्यसपछि अपुग नीति तथा कार्यविधिहरु निर्माणमा तदारुकता देखाउने दोस्रो काम हुनेछ भने कार्यालय सञ्चालनका अन्य साना कमजोरीहरुलाई व्यवस्थापन गर्दै लाने अर्को काम हुनेछ । मेरो अबको अर्जुनदृष्टि भनेको प्रोबेसन ब्राण्ड प्राप्त गर्नुहुनेछ । 


यज्ञ प्रसाद सेढाई
नायब प्रमुख कार्यकारी अधिकृत, सामुदायिक साकोस, काभ्रे

नेफ्स्कूनले सञ्चालन गरेको करिब आधा दर्जन तालिम लिइसके पनि आवासीय भने यो पहिलो अनुभव हो । समग्रमा तालिम राम्रो रह्यो । संस्था रुपान्तरणका लागि आवश्यक विषयवस्तुहरु सबै समेटिएको विस्तृत खालको तालिम थियो । साँच्चिकै संस्थालाई सुशासित, दिगो, व्यावहारिक, सदस्य मैत्री बनाउने हो भने यस किमिसको तालिम अनिवार्य नै छ । यसमा रणनीतिक विषयहरुदेखि लिएर कार्यालयको भौतिक सामाग्रीहरुको व्यवस्थापन जस्तो मिहिन विषयहरु प्नि समावेश थियो । सुन्दा हेर्दा सानो लाग्ने भएपनि यी यावत् कुराहरुले संस्थाप्रति सदस्यको विश्वास र भरोसामा ठूलो भूमिका खेल्छ भन्ने मलाई लाग्छ र तालिममा पनि यही कुराहरु समेटिए ।

विभिन्न सत्रहरुमध्ये शिवजी सापकोटाको मानव संशाधन र दुर्गा प्रसाद ढकालको जोखिम र तिनको व्यवस्थापन सम्बन्धी सत्रका विषय र शैली आकर्षक लाग्यो । तालिममा छलफल र समूह कार्यहरु भए यसले हामीलाई व्यावहारिक ज्ञान दियो । यद्यपि, मेरो अपेक्षा भनेको तालिमको अन्त्यतिर प्रत्येक सहभागीहरुको संस्थाको समस्या र तिनको समाधानको उपायको बारेमा सोधनी र छलफल होला भन्ने अपेक्षा थियो त्यो भने भएन । सायद समयको पावन्दीका कारण होला । त्यसैगरी, नियामक निकायका अधिकारीबाट पनि ठोस विषयहरुमा खदिलो प्रस्तुति अपेक्षा गरेको थिए, त्यो भएन । अन्य समय र सन्दर्भहरु प्रभावकारी रहे ।

तालिम लिएपछिको मेरो प्राथमिकता भनेको कर्मचारीहरुलाई यस्ता विभिन्न तालिममा सहभागी गराई दक्षता बढाउने, सञ्चालक समितिलाई पनि समयानुकूल नीति, योजना र कार्यविधि निर्माणका लागि मनाउने, व्यवसायलाई बढी भन्दन बढी सदस्य केन्द्रीत गराउने, चुस्त दुरुस्त प्रशासन बनाउने र छिटो छरितो सेवा प्रवाहलाई बिशेष ध्यान पुर्याउने हो । त्यसका लागि संस्थालाई नीति, विधि र प्रविधिमा चलाउने नै पहिलो ध्येय हुनेछ ।
सामुदायिक साकोस काभ्रेमा हाल २६ हजार बढी सदस्य हुनुहुन्छ भने २६ करोड सेयर पुँजी छ । १ अर्ब ८५ करोडको ऋण हामीले अहिले लगानी गरिरहेका छौं भने भाखा नाघेको ऋण ३ प्रतिशत भन्दा न्यून छ । अबको हाम्रो योजना एकीकरणलाई थप तीब्र रुपमा अघि बढाउँदै नीति, विधि र प्रविधिले सुसज्जित देशकै उत्कृष्ट र नमूना साकोस बनाउने । सुशासन र सदस्य केन्द्रीत नवीन योजनाहरु अघि सार्ने दिशामा हाम्रा योजनाहरु परिलक्षित छन् ।
कोभिडले सबैलाई झैं हामीलाई पनि असर पारेको छ । तरलता अधिक छ । नयाँ ऋण सेवाहरु विकास गरेका छौं । व्यवसाय निरन्तरता ऋण प्रवाह गरेका छौं । पशुपालन र कृषिमा पनि ऋण लगानीलाई बिशेष जोड दिएका छौं । 

दयानिधि नेपाल
प्रमुख कार्यकारी अधिकृत, श्रोत परिचालन साकोस, धादिङ

यो तालिम सैद्धान्तिक र व्यावहारिक ज्ञानको सम्मिश्रण रह्यो । छलफल, समूह कार्य र अनुभव आदान प्रदानसँगै बेलाबेलामा मनोरञ्जनले पनि तालिमलाई सरस बनायो । म वित्त व्यवस्थापनको विद्यार्थी पनि भएको नाताले त्यससम्बन्धी र मानव संशाधन व्यवस्थापन सम्बन्धी विषयहरु मेरा लागि रुचिकर रहे । रणनीतिक योजनाको महत्व र जोखिम व्यवस्थापनका विषयहरु हाम्रा लागि उपयोगी रहे । संस्था संञ्चालनका समग्र पक्षहरु समेटिएको थियो । केही कुराहरु छुँटे भन्ने पनि लाग्यो सायद समयका कारण पनि हुनसक्छ । समग्रमा भन्नुपर्दा तालिम ‘राम्रो’ भयो तर ‘वाह’ भन्ने होइन । यसतर्फ नेफ्स्कून र सहजकर्ताहरुको ध्यान जान्छ भन्ने पूर्ण अपेक्षा गरेको छु ।

तालिमलाई उपलब्धिमुलक बनाउन अब तत्कालै केही काम गर्ने योजना बनाएको छु । सबैभन्दा पहिलो कुरा मानव संशाधनमा जोड दिने छौं भने संस्थालाई प्रविधिमैत्री पनि बनाउँदैछौं । त्यसका लागि सम्झौता भइसकेको छ, अब चाँडै नै मोबाइल बैङ्किङ सेवा सुरु गर्दैछौं । दुई महिना भित्रै सञ्चालक समितिलाई नेफ्स्कूनले सञ्चालन गर्ने सीयूडीसीसी तालिम प्रदान गर्छौ भने अन्य ३ वटा तालिम पनि ३ महिनाभत्रै प्रदान गर्ने कार्यक्रम छ । त्यसमा बजार प्रतिनिधिहरुको क्षमता विकास, बचत तथा ऋण परिचालन आदि छन् । ऋण परिचालनलाई व्यावहारिक, सदस्य मैत्री, कृषि तथा पशुपालनसँगै उत्पादनशील क्षेत्रसँग जोड्ने योजना छ ।

सहकारी क्षेत्रसँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएको करिब ९ वर्ष भएपनि श्रोत परिचालन साकोसमा भने करिब ६ महिना अघि मात्र प्रवेश गरेको हुँ । हाल हामीसँग ५१०० बढी सदस्यहरु हुनुहुन्छ भने ४ करोड ६० लाख सेयर पुँजी छ । १ नगरपालिका र ३ गाउँपालिका कार्यक्षेत्र रहेको हामीले २७  रोड ऋण लगानी गरेका छौं । भाखा नाघेको ऋण अलि बढी नै छ । कोरोनाका कारण उत्पन्न आर्थिक समस्यासँग सदस्यहरु जुधिरहनुभएका कारण पनि केही समस्या भएको छ । यद्यपि, ७ पटक लगातार प्रोवेसन ब्रान्ड पाएको संस्था भएका कारण हामी भाखा नाघेको ऋणलाई काम गर्न सक्छौं भन्नेमा विश्वस्त छौं । अहिले तरलता पनि बढी छ । १० लाख सम्मको व्यवसाय प्रोत्साहन ऋण सुरु गरेका छौं ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र