बिहीबार, चैत्र १५
०५:५८

‘कसैको उक्साहटमा सहकारीप्रति प्रहार भैरहेको छ’

मंगलबार, मंसीर २३
रञ्जनमणि पौड्याल
saccosaawaj

(नेपालको सहकारी अभियानले गर्वका साथ लिने नामहरुमध्येको एक हो–मिनराज कडेल । प्रारम्भिक संस्थादेखि लिएर जिल्ला सहकारी संघ, विषयगत केन्द्रीय संघ हुँदै हाल सहकारी अभियानको मुलुककै शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघको नेतृत्वको बागडोर सम्हाल्नुभएका कडेल एशियाली ऋण महासंघ (आकू) को प्रथम उपाध्यक्ष समेत निर्वाचित हुनुभएको थियो । करिब साढे २ दशकको शिक्षण पेशा हुँदै राजनीतिक दलको सांगठनिक काममा खटिनुभएका उहाँ पछि सहकारी अभियानसँग जोडिन पुग्नुभयो ।
स्वर्गीय हरिदत्त कडेल एवम् स्वर्गीय विद्या कुमारी कडेलका कान्छा छोरा कडेलको जन्म धादिङको वेनिघाट रोराङ–३ मलेखुमा २०१७ साल माघ २० गते कडेलको जन्म भएको हो । त्रिभुवन विश्व विद्यालयबाट बी.ए. बी.एड. गर्नुभएका कडेल २ कार्यकाल नेफ्स्कूनको अध्यक्ष रहनुभएको थियो भने हाल उहाँ सल्लाहकार हुनुहुन्छ । सहकारी अभियानका अग्रज व्यक्तित्व कडेलसँग उहाँको व्यक्तिगत र सहकारी जीवनका बारेमा गरिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छः सम्पादक)

व्यक्तिगत पाटो

यहाँको पारिवारिक संरचनाबारे केही बताइदिनुहुन्छ कि ? 
मेरो पिताको कान्छी श्रीमतीपट्टिको म १ मात्र छोरा हुँ । ५ दिदीबहिनीमध्ये हाल ४ जना हुनुहुन्छ जसमध्ये १ बहिनी र ३ दिदी हुनुहुन्छ । अहिले कलंकी–१४ स्थित घरमा हामी दम्पतीसँग २ छोरा बस्छन् । १ छोरा विदेशमा बस्छ ।
जेठो छोरा अन्जन कडेल पुतलीसडकमा शैक्षिक परामर्शदाता कम्पनीमा काम गर्छ । माहिलो अनिल कडेल विगत एक दशकदेखि डेनमार्कमा स्थायी बसोवास गर्छ । उसले डेनिस केटी विवाह गरेको छ । कान्छो छोरा अरुण कडेल चिकित्सक छ ।  शहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रमा कार्यरत उ हाल छात्रवृत्ति पाएर पोष्ट ग्रयाजुएट गर्दैछ । 

 विद्यालय शिक्षा कसरी पूरा गर्नुभयो ?  
गाउँमा ४ कक्षा सम्म पढ्दा नजिकै विद्यालय थियो । कक्षा ४ पढ्दा करिब १० वर्षको थिएँ होला । ४ पास गरेर एकैचोटि ६ पढ्न गजुरी गएँ । करिब ७ किलोमिटरको एकतर्फी बाटो दैनिक हिडेरै ओहोरदोहोर गर्थेँ । गणितमा म सानैदेखि अब्बल थिएँ । कक्षामा म उमेरले सबैभन्दा सानो थिएँ । त्यो समय भर्खर विद्यालय खुलेका कारण २५–३० वर्ष पुगेकाहरु ६–७ मा पढ्नुहुन्थ्यो । भूगोल, सामाजिक अध्यययन मलाई धेरै आउथ्यो । नेपालको भूगोल, भारतको भूगोल र विश्वको भूगोल, सरल भूगोल, भौतिक भूगोल, वाणिज्य भूगोल, व्यावहारिक भूगोल पढ्नुपथ्र्यो । गणित विषयमा विद्यालयभरिकै जान्ने मध्येमा पर्थे । अल्जेब्रा, अर्थमेटिक र जोमेट्रिको मोटो किताब थियो । जोमेट्रि किताब अंग्रेजीमा थियो र मलाई सबै थियोरम कण्ठ थियो । अहिले पनि धेरै मुखाग्र छ । सबभन्दा लामो थियोरम ४ थियो । हिसाबमा ९५ भन्दा तल कहिल्यै आउदैनथ्यो । गजुरीमा ऐच्छिक हिसाब लिने ब्याच् हाम्रो नै थियो । २०३१ सालमा मैले एसएलसी पास गरेको थिएँ । पास गर्ने बित्तिकै मैले हिसाब सबैलाई पढाउथेँ । धेरै वर्ष हिसाब, भूगोल पढाएँ । त्यो बेला सबै देशका राजधानी कण्ठै थियो । १४ अञ्चल ७५ जिल्लाको नाम अञ्चल अनुसार अहिले पनि भन्न सक्छु । हाम्रो समयमा अंग्रेजीमा १९ वटा किताब पढ्नुपर्दथ्यो २ सय पूर्णाङ्कको । विज्ञान, अंग्रेजी ठीकै थियो । मेरो अंग्रेजीको आधार पनि त्यही समयको हो । पछि क्याम्पस त मैले भर्ना गर्ने र जाँच दिने मात्र काम गरेको हो ।

विवाह हुँदै छ भन्न पनि लाज मान्थेँ । विवाह हुँदा श्रीमती १३ वर्षकी थिइनँ म १५ वर्षको थिएँ ।

१४ वर्षमा एसएलसी दिएँ । (नागरिकतामा भने उमेर थप गरिएको) १५ वर्षदेखि नै शिक्षक भएँ । असारमा रिजल्ट भयो भदौंबाट मैले पढाउन सुरु गरेँ । मैले जुन विद्यालयमा ४ कक्षासम्म पढेँ त्यही पढाउन थालेँ । २०३२ सालको पुसमा नयाँ शिक्षा लागू भएपछि सदरमुकाम धादिङबेसीमा गएपछि स्थायी नियुक्ति तयार भएको रहेछ । आयोग पनि दिएको होइन । निमावि र माविको मात्र आयोग दिएको थिएँ त्यतिबेला एसएलसी पास गरेका जतिलाई स्वतः स्थायी दिने प्रचलन थियो । त्यो विद्यालयमा धेरै दुःख गरेँ । मैले ४ वर्ष प्राथमिक, ६ वर्ष निम्न माध्यमिक र साढे १३ वर्ष माविमा हेडमास्टर भएर साढे २३ वर्ष शिक्षक भएर अध्यापन म गरेँ । त्यही आफुले कखरा चिनेको विद्यालयको १० वर्ष व्यवस्थापन समितिको अध्यक्ष भएँ । त्यही बेला महायज्ञ लगाएर वागेश्री बहुमुखुी क्याम्पस स्थापना गरियो र त्यसको म संस्थापक अध्यक्ष रहेँ । महासंघको निर्वाचन भन्दा करिब डेढ महिनाअघि मात्र माननीय भूमि त्रिपाठीलाई अध्यक्षको जिम्मेवारी छोडेको हुँ । 
शिक्षक रोल मोडेल हुनुपर्छ भन्ने सधै मेरो सिद्धान्त रह्यो । धुमपान, मध्यपान, जुवातास र नैतिक चरित्रको सवालमा शुरुदेखिको मान्यतामा आजसम्म अडिग छु । 

पारिवारिक अवस्था कस्तो थियो ?
मध्यम वर्गीय परिवार थियो । खान लाउन पुग्थ्यो । खेतीपातीमा आत्मनिर्भर थियौं । म सानै हुँदा दाइ (जेठी आमा पट्टिका छोरा) छुट्टिनुभयो । दाजु मेरो आमा भन्दा जेठो हुनुहुन्थ्यो । जेठी आमा बित्नुभएपछि बुबाले मेरी आमालाई विवाह गर्नुभएको हो । म ७÷८ कक्षामा पढ्दा दाईको परिवार छुट्टीनुभयो । सानोमा सबै सँगै छदाँ ठूलो परिवार र गज्याङगुजुङ पनि थियो । घरभित्रको काम मैले कहिल्यै गरिन र जान्दा पनि जानिन ।

युवावस्थाको रुचि के कस्तो थियो ?
पढाइमा एकदम रुचि लाग्दथ्यो । २०३३ सालमा हामीले पुस्तकालय स्थापना गर्यौं । म त्यसको संस्थापक सचिव थिएँ । करिब ८ वर्ष सचिव र त्यसपछि करिब १ दशक अध्यक्ष भएँ । त्यहाँ लाइब्रेरीमा भएजति किताब कुनै पढ्न बाँकी थिएन । विद्यालयका किताब बाहेक उपन्यास, कथा लगायत जे जस्ता किताबहरु उपलब्ध हुन्थे २०३६ साल अघि नै मैले पढेँ । हिन्दी उपन्यास मात्रै मैले त्यतिबेला करिब ५–७ सय पढेँ । २०३६ सालपछि भने राजनीतिमा सकृय भएर लागेँ । विभिन्न साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्यौं तर मलाई नाच्न गाउन भने आउँदैनथ्यो । मन भने खुब पथ्र्यो ।

विवाह के कसरी भयो ?
मेरा विवाह २०३२ सालमा १५ वर्षको उमेरमा भएको थियो । मन्डपमा पुगेपछि मात्र केटी देखेको मैले । १४ वर्षमा एसएलसी पास गरेर गाउँमै माष्टर भैसकेको थिएँ । विवाह हुँदै छ भन्न पनि लाज मान्थेँ । विवाह हुँदा श्रीमती १३ वर्षकी थिइनँ म १५ वर्षको थिएँ । माघमा १५ टेकेँ फागुनमा विवाह भयो । मेरो ससुराली घरबाट डेढ घन्टा जतिको बाटोमा पर्छ ।

परिवारलाई समय दिनुहुन्छ ?
त्यही चाहि दुःखदायी कुरा छ । पढाइ, राजनीति, सहकारीमा समय बाँढ्दा परिवारलाई सधै अपुग भयो । त्यही कारण अलिअलि गुनासो भैरहन्छ । आजकल त फुर्सद नै मिल्दैन । पहिला फुर्सदको बेलमा पढ्ने, छलफल गर्ने चिन्तन गर्ने काम गर्थे । 

खाना पकाउन भाडा माझ्न आउँछ ?
खाना पकाउन भाडा माझ्न जानिन र गरिन पनि ।

खानामा शौख कतिको लाग्छ ?
भोक लागेको बेलामा खान पाए हुन्छ, मिठो नमिठो भन्ने छैन र लाग्दैन । माछा मासु भने मन पर्छ ।

योग ध्यान गर्नुहुन्छ ?
अहिले नित्य गर्छु । करिब १ घन्टा केही योगाभ्यास गर्छु । मर्निङ वाक पनि गर्थे तर कोभिड सुरु भएपछि भने रोकिएको छ ।

पुजापाठ गर्नुहुन्छ ?
८ वर्षमा मेरो व्रतवन्ध गरेको हो । त्यसपछि म केही समय नित्य पाञ्चायन पुजा गर्थे, शंख घन्ट बजाउथेँ । २०४४ सालमा बुबा बितेपछि १ वर्ष बरखी बारे र त्यसपछि गर्न छोडेँ । केही नै गर्दिन हिजोआज । परिवारसँग मन्दिर जान्छु, पुजापाठको निम्तोमा जान्छु तर आफुचाहि गर्दिन ।

सामाजिक सञ्जालमा कति समय बिताउनुहुन्छ ?
पहिला थिएन तर हिजोआज बानी लागेको छ । 

पहिरनमा शोख छ कि छैन ?
खासै छैन । म पहिला कमिज सुरुवाल लगाउथेँ जुन धेरै पछि सम्म पनि बानी बस्यो । पाइन्ट अलि पछि नैबाट लगाउन शुरु गरेको हुँ ।

घाँस काट्ने, गोबर सोहोर्ने, धान काट्ने जस्ता काम गर्नुभयो ?
रुखको घाँस काटेँ, भुँइको भने जानिन । गोबर पनि सोहोर्थे । गाईभैसी दुहुने, धान काट्ने, खेत खन्ने आली लगाउने सबै कामको अनुभव छ ।

अहिले कुनै रोग छ कि छैन ?
त्यस्तो खासै छैन । कोलेस्टोरल अलि बढेको छ । 

सहकारी

दिपक दाई पनि अर्को कार्यक्रममा दिल्ली नै पुग्नुभयो र मलाई कार्यक्रमको बारेमा बेलुकी सँगै बस्दा सोध्नुभयो । मैले “एकदम राम्रो भयो दाजु धन्यवाद मलाई सहभागी हुने अवसर दिनुभयो, सहकारीका बारेमा धेरै कुरा जान्ने अवसर पाएँ, अब म बाँचुन्जेल सहकारीबाट अलग हुन्न मेरो प्रतिज्ञा भयो” भनेँ ।

सहकारी प्रति यहाँको धारणा के छ र अभियानको पछिल्लो गति कस्तो पाउनुभएको छ ?
सहकारी अभिायनप्रति एकदम आशावादी छु । २०५७ सालतिर जिल्ला सहकारी संघ धादिङको अध्यक्ष रहँदा, राष्ट्रिय सहकारी महासंघ (त्यतिबेलाको संघ) मा दिपक प्रकाश बाँस्कोटा अध्यक्ष हुनुहुन्थ्यो । म संघमा आबद्धताको लागि आउँदा उहाँले प्रशंसा गर्नुभएको थियो । बाँस्कोटा दाईले एउटा हेडमास्टर आफ्नै पहलमा जिल्ला संघ बनाएर राष्ट्रिय सहकारी संघमा सदस्य हुन आएको भनेर खुब प्रसन्नता व्यक्त गर्नुभएको थियो । उहाँले त्यति बेला धेरैलाई आग्रह गर्दा कसैले सहकारीलाई गम्भीर रुपमा नलिएको तर मैले त्यो प्रयत्न गरेको देखेर उहाँ मप्रति साँच्चिनै धेरै खुसी हुनुभयो । 

सन् २००१ तिरको कुरा हो, त्यतिबेला मोबाईल पनि थिएन । संघबाट दिपक दाईले मलेखुस्थित मेरो हार्डवेयर पसलमा (२० वर्षजति हार्डवेयर पसल पनि चलाएँ )फोन गर्नुभयो र “नयाँ दिल्लीमा १५ दिने  राम्रो तालिमको अवसर छ, नेपालबाट तपाई १ जनालाई सोचेको छु, एकतर्फी प्लेन भाडा मात्र लाग्छ, जानुहुन्छ” भनेर सोध्नुभयो । मैले “हजुरहरुले पठाएको तालिममा किन नजाने, जान्छु” भने र २÷३ दिनमा आएर सबै चाँजोपाँजो मिलाएर गएँ । ७ दिन सम्म पुरै सहकारीमात्र पढाइयो त्यो पनि नामको अगाडि सबैजसो डा.लेखेका र तालु खुइलिएकाहरु मात्र प्रशिक्षकहरु हुनुहुन्थ्यो । अमुल सहकारीको एमडी भने जोश युवा जाँगरयुक्त युवक सहकारीकर्मी हुनुहुथ्यो । बाँकी ७ दिन अवलोकन भ्रमणमा लगियो वनारसतिर । त्यो समयमा इफ्कोले कृषि र सहकारीका क्षेत्रमा गरेको कामहरुको बारेमा हामीलाई जानकारी गराइयो । झार पनि नउम्रिने माटोलाई उर्वर बनाएर आमूल परिवर्तन गर्यो हाम्रो जिन्दगीमा भनेर महिलाहरुले भनेको अझै याद छ मलाई । 

पछि कार्यक्रम सकेर दिल्ली फर्कियौं । त्यही बेला दिपक दाई पनि अर्को कार्यक्रममा दिल्ली नै पुग्नुभयो र मलाई कार्यक्रमको बारेमा बेलुकी सँगै बस्दा सोध्नुभयो । मैले “एकदम राम्रो भयो दाजु धन्यवाद मलाई सहभागी हुने अवसर दिनुभयो, सहकारीका बारेमा धेरै कुरा जान्ने अवसर पाएँ, अब म बाँचुन्जेल सहकारीबाट अलग हुन्न मेरो प्रतिज्ञा भयो” भनेँ । त्यो भ्रमण सहकारीप्रति मेरो लगाव बढाउने एक महत्वपूर्ण कारण बन्यो ।
हाम्रो जस्तो मुलुकलाई सहकारीमार्फत धेरै सफलता मिल्छ भन्ने मलाई लाग्छ । धेरै धनीहरु नभएको विकट भौगोलिक धरातल रहेको ग्रामीण समुदाय रहेको मुलुकका लागि सहकारी नै उत्तम माध्यम हो । छरिएको पुँजी र सीपलाई एकीकृत गरी लगानी गरी सहकारीमार्फत सामाजिक आर्थिक रुपान्तरण गर्न सकिन्छ भन्ने लाग्छ ।

सहकारीका सम्बन्धमा पछिल्लो समय नकारात्मक समाचारहरुले बढी प्रश्रय पाएको हो ? 
पछिल्लो समय नियतवश नै सहकारीप्रति प्रहार भैरहेको भन्ने मलाई लाग्छ । कसैको उक्साहटमा गरिएको छ । सामाजिक सञ्जालहरुमा उछाल्ने काम भैरहेको छ जुन राम्रो होइन । यस्ता नकारात्मकतालाई हामीले चिर्नुपर्छ । प्रोबेशन ब्राण्डमा सही गर्न विभागले कुनै आपत्ति मान्नुपर्ने थिएन । त्यस्तै, मिलीजुली कालिञ्चोक साकोसको विषयमा मैले सबैतिर बुझेँ । जिल्ला बचत संघ, संस्थाको अध्यक्ष एवम् अन्य व्यक्तिहरुसँग कुरा गरेँ । समाचारमा भनिए जस्तो केही रहेनछ । संस्था भित्रकै केही व्यक्तिहरु वा एकीकरण गर्दा बाहिरिएका केही व्यक्तिहरुले त्यो घटनामा खेले भन्ने लाग्छ ।

आकूले पनि एउटा सामान्य घटनाको सत्यतथ्य नबुझी उछाल्ने काम गर्यो, त्यो राम्रो भएन । घटनाको सम्बन्धमा नेफ्स्कूनसँग सोधपुछ गर्ने, छलफल गर्ने वा पत्र लेख्ने ठीक हो तर यहाँ अनलाइनमा आउन नपाइकन अंग्रेजीमा अनुवाद गरेर आकूमा पठाइएको छ जसले पनि त्यो काम नियतवश भएको पुष्टि हुन्छ । छानविनको लागि नेफ्स्कूनलाई लेख्नु स्वाभाविक भएपनि नियामक निकाय, एक्सेस् कार्यक्रममा सहभागी सबै संस्थाका सीइओलाई लेख्नु र त्यो चिठ्ठी सञ्चारमाध्यममा सार्वजनिक हुनु राम्रो भएन । यो विषयमा गम्भीर आपत्ति सहितको पत्र आकू व्यवस्थापन र बोर्डलाई समेत लेख्न र आवश्यक परे आकूको सदस्यता रद्द गर्न समेत मैले सुझाएको थिए । यद्यपि, पछि आकूबाट क्षमायाचना सहितको पत्र प्राप्त भएको भन्ने जानकारी पाएँ । 

नेफ्स्कूनले सदस्य संख्या विस्तार गर्नुपर्छ । एकीकरणको प्रयासलाई अझ सक्रियताका साथ अघि बढाउनुपर्छ । बचत तथा ऋण सहकारीहरुमार्फत विश्वसनीय र गुणस्तरीय सेवा प्रवाहका लागि ब्राण्डिङमा धेरै भन्दा धेरै संस्थालाई समावेश गराउनुपर्छ भन्ने लाग्छ ।

नियामक निकायको भूमिकालाई कसरी हेर्नुहुन्छ ?
नियामक निकाय सहकारीप्रति सहयोगी छैन । केही व्यक्तिहरुको नियत पनि ठीक छैन । कर्मचारीतन्त्रमा सहकारीहरु बद्मास हुन भन्ने मात्र मानसिकताले जरो गाडेको छ । सहकारीको भूमिका उनीहरुले गहिरिएर बुझेकै छैनन् । सरकारी कर्मचारीहरुको सहकारी प्रतिको नकारात्मक र एकांङ्गी रवैया अभियानको हितमा छैन जसलाई हामीले नै चिर्नुपर्छ । मैले रजिष्ट्रारलाई पनि पटकपटक भनेको छु । नियामक निकायले जे छ यथार्थपरक ढंगले बाहिर ल्याउने वा सार्वजनिक अभिव्यक्ति दिनुपर्छ भनेको छु ।

सहकारी ऐन २०७४ संशोधनका विषयमा के भइरहेको छ ?
सहकारी ऐनका थुप्रै विषयहरु संशोधन गर्नुपर्ने छ । ती सबैमा विषयगत केन्द्रीय संघको राय सुझाव र मागहरुलाई समेत समाहित गरेर महासंघले अघिल्लो वर्ष बडाल सर हुँदै ऐन संशोधनको मस्यौदा मन्त्रालयमा बुझाएको थियो । केही विषय बाँकी थिए तिनलाई बसेर टुङ्ग्याउनुपर्छ भनेर मन्त्रीेले केही समयअघि भन्नुभएको थियो । मैले भर्खर सुन्दै छु, ऐन संशोधनको केही आन्तरिक तयारीका लागि विभागलाई पनि जिम्मा दिइएको छ । हिजो अस्ति मात्रै पनि मन्त्रीसँग भेट भएको थियो, उहाँले “विभागबाट आएपछि तपाई हामी नै बसेर अन्तिम रुप दिनुपर्छ” भन्नुभएको छ ।

अर्को, संविधानको मर्म र भावना अनुरुप नमिलेका र सहकारी ऐनसँग बाझिएका ४७ वटा ऐनहरुलाई पनि संशोधन गर्नुपर्ने छ ।  त्यो पनि हामीले मन्त्रालयमा बुझाइसकेका छौं । यस विषयमा हामीले पटकपटक कुरा गर्यौं तर तिनमा छिनोफानो गर्न सहकारी मन्त्रालयले मात्र नसक्ने रहेछ । जुन विषयसँग जोडिएको छ त्यसमा सम्बन्धित मन्त्रालयबाटै संशोधनको पहल गरिनुपर्ने रहेछ त्यो कारण अलि समस्या भएको छ । हामीले केही नेपाल ऐन संशोधन विधेयकमार्फत अघि बढाउन सकिन्छ भनेर प्रस्ताव गर्यौं तर सहकारीको विषय मन्त्रालयबाट त्यसरी अघि बढाउन सकिएपनि सहकारीलाई बाधा पार्ने शिक्षा, स्वास्थ्य, भूमिसुधार, वन, उद्योग वा अन्य विषयसँग गाँसिएकाहरु सम्बन्धित मन्त्रालबाट आउनुपर्ने भएकाले केही पेचिलो बनेको छ । यद्यपि यी काम समय लागे पनि गर्नैपर्छ भन्ने हाम्रो भनाइ हो ।

महासंघको अहिलेको प्राथमिकताका विषयहरु के हुन् ?
पहिलो प्राथमिकता सहकारी मैत्री ऐन नियमावली निर्माणका लागि सरकार र अन्य सरोकारवालाहरुसँग निरन्तर बहसपैरवी नै हो । खासगरी संघीयता लागू भएसँगै तीनै तहका कानूनहरुबीच मेल स्थापित हुने विषयलाई उठाउँदै आएका छौं । तीनै तहका सरकारहरुसँग समन्वय गरेर जानुपर्छ भनेर प्रदेशस्तरीय जनप्रतिनिधि, सहकारीकर्मीहरु एवम् सरोकारवालाहरुसँग विगत २–३ वर्षदेखि अन्तरक्रियाहरु गरिरहेका छौं । कोभिडका कारण गत वर्ष हामीले ३ वटा प्रदेशमा त्यस्तो कार्यक्रम गर्न सकेनौं । यो वर्षको हामीले ती कार्यक्रम राखेका छौं । 

दोस्रो तालिम, शिक्षा र प्रविधिमार्फत सहकारी संघ संस्थाहरुलाई थप व्यवस्थित, संगठित र विधिसम्मत् बनाउने काममा महासंघ प्रतिबद्ध छ । यसमा सरकारको भूमिका पनि महत्वपूर्ण भएकाले हामीले त्यसका लागि पनि बहसपैरवी गरिरहेका छौं । यसमा पनि विशेषतः सहकारीहरुलाई प्रविधिमैत्री बनाउने (डिजिटाइजेसनमा लाने) कुरालाई उच्च प्राथमिकतामा राखेका छौं । कोभिडले पनि हामीलाई त्यसतर्फ जान उक्साउने काम गरेको छ र समयको पनि माग हो भन्ने लाग्छ । सहकारीहरुले समाज र बजारमा प्रतिस्पर्धी स्थान बनाउन डिजिटाइजेसनलाई चाँडो भन्दा चाँडो आत्मसात् गर्नुपर्छ भन्ने नै हाम्रो धारणा हो । तालिम, शिक्षा देखि लिएर अनलाइन बजारीकरण, कृषि उत्पादन, वित्तीय कारोवार आदि सबैमा प्रविधि मैत्री हुनु सहकारीका लागि नितान्त आवश्यक भैसकेको छ ।

अर्को प्राथमिकता सहकारीहरुको एकीकरण हो । यति धेरै सहकारीहरु आवश्यक छैन । दूरदराजमा पहुँच नभएको स्थानमा नयाँ संस्था खोल्नुपर्छ तर बग्रेल्ती भएका स्थानमा एकीकरण मार्फत सदस्यका सबै किसिमका आवश्यकताहरु पूरा गर्न सक्ने विश्वसनीय र गुणस्तरीय सक्षमता विकास गर्नुपर्ने हुन्छ । यीनै काममा योजनाबद्ध ढंगले महासंघ अघि बढिरहेको छ ।

४१ सय महिलाहरुकै मात्र सहकारी छन् । सबै जोड्दा नेतृत्वमा पनि करिब ४० प्रतिशत महिला सहभागिता पुग्छ । युवाहरुलाई भने जोड्नुपर्ने आवश्यकता छ ।

सहकारी ऐनमा समावेश मुख्य कारोवारको विषयमा महासंघको धारणा के हो ?
सहकारी संस्थाहरुले सेयर र कोषको रकममध्ये केही निश्चित प्रतिशत उत्पादन र व्यवसायसँग जोड्नै पर्छ, यसक्रममा बचत र ऋणको कारोबार गर्ने सहकारीहरु बाहेकले कम्तिमा ३० प्रतिशत उत्पादन व्यवसायसँग जोडेर जानुपर्छ भन्ने हाम्रो माग थियो, जुन विषयमा मौखिक सहमति पनि भएको थियो तर ऐनमा आउने बेलामा फरक ढंगले आयो, ३० प्रतिशत भन्दा बढी बचत तथा ऋणको कारोबार गर्न नपाउने भनेर त्यसलाई ७० प्रतिशतसम्म बचत ऋणको कारोबार गर्न पाउनुपर्छ र बाँकी कम्तिमा ३० प्रतिशत उत्पादन व्यवसायसँग जोड्नुपर्छ भनेर ऐन संशोधनको माग गरेका छौं ।

बचत ऋण सहकारीहरुले पनि सेयर र कोष रकमको पुँजीबाट कूल वासलातमा १० प्रतिशत ननाघ्ने गरी उत्पादन व्यवसायसँग कही न कही लगानी गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो । सहकारी मन्त्रीले नै नेफ्स्कूनको ३३ औं स्थापना दिवसकै दिन सहकारी संघ संस्थाले आफ्नो संस्थागत पुँजीको आधा हिस्सा उत्पादनमा लगाउन आग्रह गर्दै निर्देशन जारी गर्ने कुरा समेत गर्नुभएको थियो जुन  सकारात्मक छ ।

दोहोरो सदस्यताको विषयमा महासंघको राय के छ ?
कोभिडको कारण यो विषय कम्तिमा १ वर्षलाई मुद्दा बनाइनुहुँदैन, दण्डनीय बनाइनुहुँदैन भनेका छौं । ऐनको विरुद्ध जान नसकिने भएपनि अहिले त्यस विषयमा अदालतमा मुद्दा विचाराधिन रहेकोले सहकारी सचिवले “अदालतको फैसला कुरौं, कोभिडको समयलाई शून्य समय मान्नुपर्ने अभियानको प्रस्ताव ठीक छ” भन्नुभएको छ ।

सहकारी विषयलाई औपचारिक पाठ्यक्रममा समावेश गर्ने सम्बन्धमा शिक्षा सचिवबाट आश्वासन आएको थियो । अहिले त्यस विषयमा के भइरहेको छ ?
शिक्षा सचिवसँग हामीले दुई वटा विषय राख्यौं । एउटा पाठ्यक्रममा सहकारी विषय समावेश गर्ने र अर्को सहकारीमार्फत स्कूल, कलेज वा विश्वविद्यालय सञ्चालन गर्न पाउनुपर्ने विषय । पाठ्यक्रमको विषय उहाँ आफै पनि सहकारीलाई माया गर्ने व्यक्ति भएकोले सोचिरहनुभएको रहेछ र छिट्टै प्रक्रिया अघि बढ्छ भन्नुभएको छ, त्यो आवश्यकता पनि हो र त्यसमा कुनै समस्या छैन भन्नुभयो । अर्को विषयमा भने आफुले सक्दो पहल गर्ने आश्वासन दिनुभएको छ । हामीले मुख्य सचिवसँग पनि भेटेर यही विषय र सहकारीसँग बाझिएका कानूनहरु संशोधनको पहलका लागि आग्रह गर्यौं उहाँले सहकारी अभियानसँग बसेर छलफल गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।

सहकारीमा युवा र महिला सहभागिता वृद्धिका लागि के गर्न सकिन्छ ?
सहकारी क्षेत्रमा महिला सहभागिता राम्रो छ । ४१ सय महिलाहरुकै मात्र सहकारी छन् । सबै जोड्दा नेतृत्वमा पनि करिब ४० प्रतिशत महिला सहभागिता पुग्छ । युवाहरुलाई भने जोड्नुपर्ने आवश्यकता छ । हाम्रा युवाहरु प्लस टु सक्ने बित्तिकै विदेश जाने, अरु केही युवाहरु खाडी मुलुकमा रोजगारीमा जाने, मुलुकमा रोजागरी र उत्पादनका अवसरहरु खुम्चिएका कारण वैदेशिक रोजगारीमै आकर्षित हुने  परिस्थिति छ । यस्तो परिदृश्यलाई सहकारीमार्फत परिवर्तन सम्भव छ । कोभिडको समयमा पनि हामीले बारम्बार भनेका छौं विदेशबाट ज्ञान र सीप बोकेर फर्केका युवाहरुलाई सहकारी र उत्पादनसँग जोडेर आयआर्जन सृजना गर्नेतर्फ मोड्नुपर्छ । यसमा सरकार र अभियान हातेमालो गरेर अघि बढ्नुपर्छ सफलता मिल्छ भन्ने लाग्छ ।

दिगो विकासका लक्ष्यहरु हासिल गर्ने दिशामा सहकारी क्षेत्रका गतिविधिहरु कसरी अघि बढेका छन् ? महासंघले यसलाई कसरी लिएको छ ?
सन् २०१६ को सेप्टेम्बरमा आकू फोरममा गएपछि मैले दिगो विकासका लक्ष्यहरुका विषयमा जानकारी पाएँ । फर्केर आएदेखि मैले एसडीजीको कुरा गर्न थालेँ । पछि नोभेम्बरमा अन्तराष्ट्रिय सहकारी महासंघको क्यूबेक फोरमबाट बडाल सरहरु आएपछि २०१६ को पुसमा सम्पन्न महासंघको साधारण सभासँगै जोडेर हामीले दिगो विकासका लक्ष्यहरुसँग सहकारी पनि जोडिनुपर्छ भन्यौं । संयुक्त राष्ट्र संघका राजदूतहरुले सहकारीले साथ नदिने हो भने एसडीजी पुरा हुन सम्भव छैन भन्नुभएको थियो र पछि एसडीजी लक्ष्य पूरा गर्न विश्वभरका सहकारी अभियानहरुलाई आइसीएले निर्देशन जारी गरेपछि हामीले त्यही अनुरुप गतिविधिहरु अघि बढाएका छौं । नेपालका सबै सहकारी अभियानका विषयगत केन्द्रीय निकायदेखि सबै सरोकारवालाहरुलाई लिखित आग्रह गर्यौं । 

दोहोरो सदस्यताको विषयमा कोभिडको कारण कम्तिमा १ वर्षलाई मुद्दा बनाइनुहुँदैन, दण्डनीय बनाइनुहुँदैन भनेका छौं । ऐनको विरुद्ध जान नसकिने भएपनि अहिले त्यस विषयमा अदालतमा मुद्दा विचाराधिन रहेकोले सहकारी सचिवले “अदालतको फैसला कुरौं, कोभिडको समयलाई शून्य समय मान्नुपर्ने अभियानको प्रस्ताव ठीक छ” भन्नुभएको छ ।

हामीले सन् २०१७ देखि १९ सम्म ३ वर्ष दिगो विकास सम्बन्धी थिम नै अघि साार्यौं “दिगो विकासको लक्ष्य प्राप्तिका लागि सहकारी” । सामान्यतया वार्षिक रुपमा परिवर्तन गर्ने थिम, एसडीजीलाई विशेष महत्व दिएर लगातार ३ वर्ष कायम गर्यौं । हुनत ३ वर्षमा पुरा हुने होइन तैपनि प्राथमिकतामा राखेका हौं । हामीले स्थानीय तह, जिल्ला, प्रदेश देखि केन्द्र सम्म हरेक ठाउँमा कुनै पनि कार्यक्रम गर्दा दिगो विकासलाई महत्वका साथ लानुपर्छ, सहकारी संघ संस्थाहरुले आफ्ना नीति, कार्यक्रम, रणनीतिक योजना, बजेट आदि सबै बनाउँदा एसडीजीका १७ लक्ष्यहरु, १६९ वटा टार्गेटहरु, यूएनले अघि सारेका २३४ सूचकांक (नेपालमा भने राष्ट्रिय योजना आयोगले थपेर बनाएको ४७९ वटा सूचकांकहरु) लाई आधार मानेर कार्यक्रमहरु गर्नुपर्छ भनेका छौं । महासंघ योजना आयोगको थिमेटिक कमिटीमा पनि छ । आयोगका उपाध्यक्ष अध्यक्ष रहने कार्यान्वयन र मुल्याङ्कन समितिमा पनि महासंघ छ । पछिल्लो समय भियना प्रतिवेदन (अष्ट्रिया) ले पनि दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा सहकारी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गरेको छ । भर्खरै राष्ट्रिय सहकारी महासंघले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा सहकारी क्षेत्रको भूमिका उल्लेख गरेर मागदर्शन पुस्तिका प्रकाशित गरेको छ ।

तपाईले भनेको यस अर्थमा सही हो कि सबै तह तप्काका सहकारीहरुले यसलाई साँच्चिकै आत्मसात् गरेका छैनन । गरिबी, भोकमरी, सर्वशुलभ शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता आदि मुलुभूत लक्ष्यहरु पूरा गर्न सहकारी संघ संस्थाहरुले आफ्नो कार्यक्षेत्र र सदस्यहरुमार्फत खेलेको भूमिका प्रभावकारी बनाउन र कार्यान्वयन भएका कामहरुको तथ्याङ्क अद्यावधिक गर्न बारम्बार सबैलाई आग्रह र आव्हन गरेका छौं । 

स्थिरीकरण कोषको सम्बन्धमा महासंघको धारणा के हो ?
स्थिरीकरण कोषको विषयमा म स्पष्ट छु । म नेफ्स्कूनमा उपाध्यक्ष एवम् अध्यक्ष हुँदादेखि नै उठेको विषय हो । यसको आवश्यकतामा कुनै आशंका छैन । समस्यामा परेका वा पर्न लागेका संस्थाहरुलाई उद्दार गर्न यो आवश्यक छ । सहकारी ऐनमा विषय प्रवेश त भयो तर भनेजस्तो आएन । यो नेफ्स्कूनकै अभिन्न अंगको रुपमा आउनुपर्छ भनेर हामीले माग गरेका थियौं नकि छुट्टै स्वतन्त्र इकाई । तै पनि यो नेफ्स्कूनमै रहन्छ, नेफ्स्कूनको अध्यक्ष त्यसको अध्यक्ष हुने र प्रमुख कार्यकारी अधिकृत सदस्य सचिव हुने कानूनी व्यवस्था छ । यसलाई कहीकतै दर्ता गर्नु आवश्यक छैन । कोष सञ्चालनमा कुनै विलम्ब हुनुहुँदैन र धेरै भन्दा धेरै संस्थाहरुलाई त्यसमा आबद्ध गराएर त्यसमार्फत भोली कुनै पनि संकट आउन नदिन कोषले काम गर्नुपर्छ । यस विषयमा महासंघ स्पष्ट छ । कोष सञ्चालन समितिको बनावटलाई पनि अलिकति परिमार्जन गर्नुपर्छ भन्नेमा छौं ।
  
नेफ्स्कूनलाई केही सुझाव ?
नेफ्स्कूनले आफ्नो अभियानलाई निरन्तर अघि बढाइरहेको छ । यो प्रगति पथमा नै लम्किरहेको छ यसमा संशय छैन । यद्यपि, सदस्य संख्या विस्तार गर्न भने त्यति सकेको छैन । एकीकरणको प्रयासलाई अझ सक्रियताका साथ अघि बढाउनुपर्छ । सहकारी मूल्य, मान्यता, सिद्धान्त र विधिसम्मत नचलेका संस्थाहरुलाई नेफ्स्कूनको सञ्जालभित्र आबद्ध गराएर सुशासित बनाउने काममा अघि बढ्नुपर्छ । बचत तथा ऋण सहकारीहरुमार्फत विश्वसनीय र गुणस्तरीय सेवा प्रवाहका लागि ब्राण्डिङमा धेरै भन्दा धेरै संस्थालाई समावेश गराउनुपर्छ भन्ने लाग्छ ।


 

saccosaawaj media

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

सोमबार, साउन ५

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

saccosaawaj media

अब्बल साकोस नेतृ सीमा

आईतबार, साउन २५

अब्बल साकोस नेतृ सीमा

saccosaawaj media

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’

आईतबार, साउन २५

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’