सोमबार, असार ४
१२:१९

स्थिरीकरण कोषको दोस्रो स्थापना दिवस सम्पन्न, कानूनी सहजतासँगै प्रभावकारिता अभिवृद्धिमा जोड

आईतबार, जेठ २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष विषयमा कानूनी तथा नीतिगत सहजता कायम गर्दै यसको प्रभावकारीता वृद्धि गर्दै लानुपर्ने धारणा सरोकारवालाहरुले व्यक्त गरेका छन् । बचत तथा ऋण सहकारी अभियानलाई जोखिम मुक्त, सुदृढ र दिगो बनाउने दिशामा रियल टाइम मनिटरिङमार्फत कोषको विश्वसनीयता र प्रभावकारिता बढाउँदै लानुपर्ने आवश्यकता समेत औंल्याइएको छ ।

कोषसम्बन्धी विद्यमान कानूनी तथा नीतिगत जटिलताहरु समाधानका लागि सरकारको आवश्यक सहयोग रहने भन्दै बचत तथा ऋण सहकारीहरुको संस्थागत सुदृढता अभिवृद्धिका लागि यसले सबैलाई सहभागी गराउँदै प्रभावकारी काम गर्नुपर्ने धारणा व्यक्त गरिएको छ । बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोषको दोस्रो स्थापना दिवसका अवसरमा नेफ्स्कूनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा यस्तो धारणा अभिव्यक्त भएको हो ।

कोष सञ्चालन समितिका अध्यक्ष एवम् नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतमा आयोजित कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले कोषमार्फत बचत ऋण सहकारीहरुको रियल टाइम मनिटरिङ गर्दै समग्र अभियानलाई नै सक्षम र सुदृढ बनाउने दिशामा सबैको भूमिका आवश्यक रहेको भन्दै कानूनी तथा नीतिगत सुधारका लागि सरकार तयार रहेको पनि विश्वास दिलाउनुभयो ।

सबै सदस्यको सबलीकरण र सुदृढीकरणका लागि कोष उपयोगी बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । जसका लागि कोष स्थापना भएको हो ती सबै सहकारीहरु सुरक्षित, जोखिम मुक्त, दिगो, सबल र सुदृढ रहुन् भन्ने कामना गर्दै सचिव दुवाडीले आफ्नो परिकल्पना साकार पार्न कोष सफल रहोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो । 

२०७९ साल जेठ २७ अर्थात् आजकै दिनबाट कोष सञ्चालनमा आएको प्रसङ्ग उल्लेख गर्दै सचिव दुवाडीले कोष सञ्चालनमा आवश्यक १० करोड पुँजी नपुग्दा केही ढिलाइ भएपनि सञ्चालनमा आउनु सुखद भएको उल्लेख गर्नुभयो ।

केही संस्थाहरुले कोषबाट तरलता सापटी प्राप्त गरेकोमा धन्यवाद दिदैं सचिव दुवाडीले आगामी दिनमा कोषको हालसम्मको कार्यसम्पादन अनुभवबाट प्राप्त उपलब्धिलाई संस्थागत, दिगो र सुरक्षित बनाउँदै आगामी दिनमा अझ उन्नत र सुरक्षित र सदस्यलाई सहकारीमा बचत गर्न विश्वस्त बनाउने र सञ्चालकहरुलाई संस्था सुदृढ छ भन्ने आश्वस्त बनाउन सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो । कोषका सम्बन्धमा आम बुझाइमा स्पष्टता र एकरुपता महसूस गर्न पाइने अपेक्षा पनि उहाँले गर्नुभयो ।

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरले पनि कोषको प्रभावकारिताका माध्यमबाट साकोस अभियान दिगो र सुरक्षित हुने भएकाले यसको सफलताको कामना गर्नुभयो । उहाँले अहिलेको आवश्यकता भनको सहकारीहरुप्रति सदस्यको विश्वास कायम राख्नु, वित्तीय रुपमा स्वस्थ्य र दिगो छ भन्ने सन्देश प्रवाह गर्नु र सुशासन कायम गर्नु रहेको भन्दै यो दिशामा कोषको पनि भूमिका महत्वपूर्ण हुने चर्चा गर्नुभयो । उहाँले कोषमार्फत सबै बचत तथा ऋण सहकारीहरु लाभान्वित हुनुपर्ने पनि बताउनुभयो ।

यसैगरी, कोष सञ्चालन समितिका अध्यक्ष एवम् नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत सहजताको लागि सरकारको सहयोग अपेक्षा गरिएको बताउनुभयो । कोषमा सहभागी हुन चाहनेलाई आवद्ध गराउँदै लगिएको जानकारी गराउँदै उहाँले सबैको सहयोगमा अभियानको साझा जगेडा कोष बनाउने विषयमा वृहत्तर सहमति जुट्दै गएको दाबी पनि गर्नुभयो । सञ्चालन समितिमा संलग्न सबैको सहयोग, सद्भाव  र शुभेच्छाबाट नै कोष सञ्चालन प्रक्रियामा सहजीकरण हुने विश्वास अध्यक्ष ढकालको थियो । दोस्रो स्थापना दिवस मनाउँदै गर्दा कोषले सहज रुपमा प्रभावकारी काम गरेर जानुपर्छ भन्ने कुरामा बढी जोड दिइएको भन्दै उहाँले आगामी वर्षबाट यसमार्फत भएका कामहरुको नजिताहरु निस्कदै जानेमा विश्वस्त तुल्याउनुभयो ।

कोष सञ्चालन समितिका सदस्यहरु, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, कोषाध्यक्ष दिपक थापासँगै काठमाडौंमा उपलब्ध सञ्चालकहरु लगायत सहभागी कार्यक्रममा स्वागत मन्तव्य राख्दै कोष सञ्चालन समिति सदस्य एवम् राष्ट्रिय सहकारी महासंघ नेपालकी महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ सुब्बाले कोषको प्रभावकारिता अभिवृद्धिको विषय समितिको उच्च प्राथमिकता भएको बताउनुभयो ।कोष सञ्चालन हुनु र आजको अवस्थामा आइपुग्नु गौरवको विषय भएको बताउँदै उहाँले कोष सञ्चालनमा ढिलाइ नभएको अवस्थामा सहकारीमा विद्यमान समस्या पनि न्यून हुने थियो भन्नुभयो । कोषसम्बन्धी विद्यमान कानूनी जटिलताहरु समाधान गर्दै यसको प्रभावकारिता बढाउँदै लानुपर्ने उहाँको भनाइ थियो ।

कोष सञ्चालन समिति सदस्य एवम् नेफ्स्कून सञ्चालक ज्ञानु पौड्यालले कार्यक्रम सञ्चालन गर्नुभएको कार्यक्रममा स्थिरीकरण कोष सञ्चालन समितिका सदस्य सचिव एवम् नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले कोषको पृष्ठभूमि, उद्देश्य र आवश्यकता, अन्तर्राष्ट्रिय अभ्यासहरु, नेफ्स्कूनले थालनी गरेको बहसपैरवी र नीतिगत तथा कानूनी जटिलताका विषयहरु समेटिएको प्रस्तुतीकरण गर्नुभएको थियो । 

'जोखिम मुक्त, दिगो र भरपर्दो बचत ऋण सहकारी अभियान' को परिकल्पना बोकेको स्थिरीकरण कोषको ध्येय ‘स्थिरीकरण कोषको स्थापना र प्रभावकारी परिचालनको माध्यमबाट वित्तीय सुरक्षा प्रदान गरी बचत ऋण सहकारी संस्थाहरुलाई सवल र सुदृढ स्थायित्व कायम गर्ने’ रहेको छ ।  २० करोड ७३ लाख बढी योगदान जम्मा भएको कोषमा हालसम्म नेफ्स्कूनसहित ६ संघहरु तथा ३ सय ४ प्रारम्भिक संस्थाहरु गरी कूल ३ सय १० संघ संस्थाहरुबाट योगदान भएको छ । यस्तै, २ वटा साकोसले तरलता सापटी प्राप्त गरेका छन् ।

सहकारी ऐनको प्रावधान अनुरुप २०७९ साल जेठ २७ गतेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णयसँगै स्थिरीकरण कोष विधिवत् रुपमा पूर्ण सञ्चालनमा आएको हो । सहकारी संस्थामा उत्पन्न हुनसक्ने संकटमा वित्तीय सहयोग जुटाई सम्भावित जोखिमबाट जोगाउन सवल संस्थाहरु एकआपसमा मिली कोष स्थापना गर्ने सम्बन्धमा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ ले कानुनी व्यवस्था गरेको छ ।

कोष सञ्चालन समितिमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफस्कूनका अध्यक्ष र कार्यकारी प्रमुख क्रमशः समितिको अध्यक्ष र सदस्य–सचिव रहने कानूनी व्यवस्था छ भने सञ्चालन समितिको सदस्यहरुमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधिका साथै सहभागी सहकारी संस्थाका अध्यक्ष मध्येबाट कोष सञ्चालन समितिले मनोनयन गरेका कम्तीमा एक महिला सहित दुई जना सदस्य रहने व्यवस्था छ ।  सोही बमोजिम नै कोष संचालनमा रहेको अवस्था छ ।

कोषमार्फत संस्थाहरुको व्यवस्थापकीय समस्याको समयमा तरलता सापटी, पुनसञ्चालन खर्च सापटी तथा दायित्व भुक्तानी सापटी प्राप्त गर्न सकिने व्यवस्था छ । कोष मूलतः सहकारी क्षेत्र एवं सहकारी अभियानप्रतिको सार्वजनिक विश्वासलाई कायम गर्न स्थापना गरिएको हो ।

स्थिरीकरण कोषलाई सहकारी अभियानको स्थायित्वका लागि विश्वासिलो सुरक्षा कवच एवं संस्थाको वित्तीय स्वास्थ्य र साख सिर्जनाको भरपर्दो आधार मानिन्छ । यसलाई समग्र अभियानको जगेडा कोष समेत भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय रुपमा विगत लामो समयदेखि यस प्रकृतिका कोष खडा गरी सहकारी अभियानलाई सुरक्षाको प्रत्याभूति दिने प्रयास भएको पाइन्छ ।

कोषको रकम मुख्यतया तरलता सापटी, दायित्व भुक्तानी सापटी, पुनर्सञ्चालन खर्च सापटी र कार्यसञ्चालन तथा व्यवस्थापन खर्चमा उपयोग तथा परिचालन गर्ने कानूनी व्यवस्था छ । 

 


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।