शुक्रबार, चैत्र १६
०३:२३

प्रोबेशनलाई “अभियान ब्राण्ड” को रुपमा प्रवर्धन गरिनुपर्नेमा सरोकारवालाहरुको जोड

सोमबार, मंसीर ८
रञ्जनमणि पौड्याल
saccosaawaj

काठमाडौं नेफ्स्कून आबद्ध बचत तथा ऋण सहकारीहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी प्रमाणीकरण कार्यक्रम प्रोबेशनलाई नेफ्स्कून (अभियान) ब्राण्डको रुपमा प्रवर्धन गर्नुपर्नेमा सहकारीहरुले जोड दिएका छन् । ब्राण्ड प्राप्त गर्न सफल बचत तथा ऋण सहकारीका अध्यक्ष एवम् व्यवस्थापकहरुले अब प्रोबेशन कार्यक्रमलाई विशिष्ट पहिचानसहितको नेफ्स्कून (अभियान) ब्राण्डका रुपमा विकसित गर्दै लानुपर्ने धारणा राख्नुभयो । नेफ्स्कूनको मंसिर ५ गते लतिलपुरमा सम्पन्न २९ औं साधारण सभाका बक्ताहरुले समेत गुणस्तर सुनिश्चितता कार्यक्रम प्रोबेशनलाई नेफ्स्कून (अभियान) ब्राण्डको रुपमा स्थापित गराउँदै लानुपर्नेमा जोड दिनुभएको थियो । 

संघीयताको अभ्याससँगै स्थानीयत तहमा अधिकार हस्तान्तरण भएको परिप्रेक्ष्यमा विभागले भन्दा नेफ्स्कूनले नै प्रमाणीकरण गर्नु असल अभ्यास हुने सहकारी विभागको भनाई छ । कार्यक्रममा सहकारी विभागका उप रजिष्ट्रार चोमेन्द्र न्यौपानेले पनि प्रोबेशन ब्राण्डको कार्यक्रमबाट विभागले हात झिकेको नभई नेफ्स्कूनको भूमिका थप सशक्त बनाएको उल्लेख गर्नुभएको थियो । नेफ्स्कूनले गरेको काममा विभागको साथ, समर्थन र सहयोग रहने धारणा उहाँले स्पष्ट पार्नुभएको थियो ।

मोरङको लेटाङस्थित लेटाङ बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष गोपाल बारकोटीले प्रोबेशनलाई नेफ्स्कून ब्राण्डको रुपमा विकास गर्न सकिने बताउनुभयो । यद्यपि, उहाँले सरकारी स्वामित्वको लिखित प्रतिबद्धता आउन सके सुनमा सुगन्ध हुने उल्लेख गर्नुभयो । प्रोबेशन ब्राण्डले संस्थागत सुशासन, सदस्य, संस्था र समुदाय बीचको सम्बन्धलाई थप बलियो बनाउने गुणस्तर सुनिश्चितताको औपचारिक प्रमाण दिलाएको उहाँले बताउनुभयो । “प्रोबेशन ब्राण्डले नीतिगत कार्यक्रम सञ्चालन, सदस्य सेवाको विविधता र सहज उपलब्धता, कर्मचारीको सेवा, सुविधा र मनोबलमा बढोत्तरीसँगै जिम्मेवारीबोध पनि गराएको छ,” उहाँले भन्नुभयो, “ब्राण्ड प्राप्त गर्नेहरुलाई यतिमा मात्र चित्त नबुझाई थप सूचकहरु सहितको उपल्लो ब्राण्ड प्राप्त गर्न घच्घच्याउने काम गर्छ ।” पहिले पनि ब्राण्ड प्राप्त गरेपनि यो पटक कोभिड १९ को महामारीका कारण सूचकहरुमा सन्तुलन कायम गर्ने चुनौतीपूर्ण कार्यलाई सामूहिक सहकार्यका आधारमा सम्भव तुल्याउन सकेकोमा अध्यक्ष बराकोटीले प्रसन्नता समेत व्यक्त गर्नुभयो ।

छैठौं पटक लगातार प्रोबेशन ब्राण्ड प्राप्त गर्न सफल रुपन्देहीको कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक विनोद पराजुलीले ब्राण्डिङ गर्ने काम सरकारको नभई प्रोत्साहन, सल्लाह र सुझावका साथै सहजिकरण मात्र गर्ने भएको धारणा राख्नुभयो । “ब्राण्ड दिने काम राज्यको नभई छुट्टै स्वायत्त निकायको हो,” व्यवस्थापक पराजुलीले भन्नुभयो,“ नेफ्स्कूनले यसलाई बिशिष्ट पहिचान सहितको ब्राण्डिङ कार्यक्रमको रुपमा प्रवर्धन गर्नुपर्दछ ।” उहाँले यस विषयमा नेफ्स्कनको हालै सम्पन्न २९ औं वार्षिक साधारण सभाका क्रममा नेफस्कून विद्धता पुरस्कारबाट सम्मानित डा. नवराज सिंखडाद्धारा प्रस्तुत ELEPHANT टुल्सका सम्बन्धमा पनि सघन छलफल गरेर नवीन किसिमको अवधारणा सहित परिमार्जन गर्न सकिने सम्भावना पनि उहाँले औल्याउनुभयो ।

काठमाडौंबाट पहिलो पटक ब्राण्ड प्राप्त गर्न सफल महिला साकोस, शंखमुलस्थित ज्ञानज्योति महिला उत्थान साकोसकी व्यवस्थापक सरु शाहीले पनि नेफ्स्कून ब्राण्डको रुपमा प्रोबेशनलाई प्रवर्धन गर्दै लान सकिने बताउँदै त्यसमा सरकार वा नियामक निकायको सहभागिता गर्न सकिए अझ राम्रो हुने उल्लेख गर्नुभयो । ऐनमा सहकारी ऐनका कारण ऐनका कारण  ३–४ वर्षको मिहेनतले प्रोबेशन ब्राण्ड प्राप्त गर्न सफल भएको बताउनुभयो । प्रोबशनमा सामेल हुँदा र नहुँदामा आकाश पातालको फरक रहेको बताउँदै उहाँले यसका निर्धारित सूचकहरु पूरा गर्न निक्कै कठिनाई भएपनि परिणाम एकदमै सुखद भएको उल्लेख गर्नुभयो ।

काठमाडौबाटै लगातार दोस्रो पटक प्राबेशन ब्राण्ड प्राप्त गर्ने कालिमाटीस्थित अ‍ैंचोपैंचो साकोसकी व्यवस्थापक कमला कार्कीले पनि “नेफ्स्कून ब्राण्ड” को रुपमा प्रोबेशन कार्यक्रम, यसको महत्व र प्रभावका बिषयमा खासगरी आम सदस्यहरुलाई बुझ्ने हिसाबले प्रचार प्रसार गर्नु आवश्यक भएको बताउनुभयो । “प्रोबेशन कार्यक्रमले संस्थालाई नीति, विधि र सुशासनमा चल्न धेरै सहयोग गरेको हामीले पाएका छौं,” व्यवस्थापक कार्कीले भन्नुभयो,“ब्राण्डिङ कार्यक्रममा समावेश हुनुपूर्व हामी काम पहिला गथ्यौं र पछि मात्र लिपिवद्ध गर्ने चलन थियो तर अहिले हामी पहिला नीतिगत व्यवस्था नगरी केही काम गर्दैनौं ।” उहाँले पहिलो कार्यक्रम अघि नीति पछि हुनेमा अहिले ठीक विपरित भएको भन्दै सन्तुष्टि व्यक्त गर्नुभयो । “यद्यपि, ब्राण्डको महत्व, यसलाई जान्ने बुझ्ने संस्था र व्यक्तिहरु पनि कम भएको प्रचार प्रसार आवश्यक छ,” व्यवस्थापक कार्कीले भन्नुभयो,“ प्रोबेशन कार्यक्रमले नीति, नियम, कार्यविधि, निर्देशिकाका महत्व, प्रणालीप्रतिको विश्वास र संस्थागत वृद्धिमा अहम भूमिका खेलेको हामीले पायौं ।” नेफ्स्कूनका कारण भएका यी प्रगतिलाई “नेफ्स्कून ब्राण्ड” का रुपमा स्थापित गर्दै लानुपर्ने उहाँले बताउनुभयो । लगातार दोस्रो पटक ब्राण्ड प्राप्त गरेको अ‍ैंचोपैंचोले यो पटक पुनः ब्राण्ड पाउनेमा आफुहरु विश्वस्त रहेको व्यवस्थापक कार्कीले बताउनुभयो ।

पहिलो पटक प्रोबेशन ब्राण्ड प्राप्त गर्न सफल नवलपरासीको बर्दघाट–२, चिसापानीस्थित हाम्रो सुपर साकोसका व्यवस्थापक बिष्णु बहादुर बस्नेतले जुन रुपमा भएपनि प्राबेशन ब्राण्डमा राज्यको भूमिका देखिनुपर्ने भन्दै त्यसको सुनिश्चितातासँगै यसलाई छुट्टै नेफ्स्कून ब्राण्डका रुपमा लैजान सकिने बताउनुभयो । यो उपलब्धिले आफुहरुलाई हर्षित र थप जिम्मेवार बनाएको धारणा उहाँले राख्नुभयो । “हामीले मिहेनत गरेका थियौं, त्यसको नतिजा रामो निस्केकोमा हामी खुसी छौं,” व्यवस्थापक बस्नेतले भन्नुभयो,“ ब्राण्ड पाएसँगै समाज, सदस्य र कर्मचारीहरुको संस्थाप्रतिको विश्वास बढ्ने अपेक्षा राखेका छौं ।” उहाँले ब्राण्डलाई निरन्तरता दिदैं यो भन्दा माथिल्ला उपलब्धिहरु हासिल गर्ने दिशामा अघि बढ्ने प्रेरणा मिलेको प्रतिक्रिया व्यक्त गर्नुभयो ।

दाङस्थित हरियाली साकोसका व्यवस्थापक उमेश कुमार चौधरीले नेफ्स्कूनको निर्देशानुसार काम गर्दै जाँदा लगातार तेस्रो पटक प्रोबेशन ब्राण्ड प्राप्त गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै सरकारको सहमतिका आधारमा यसलाई नेफ्स्कून ब्राण्डको रुपमा अघि बढाउन सकिने बताउनुभयो । संस्थालाई नवीन तरिकाबाट सुशासनको बाटोमा हिडाउने काम प्रोबेशनले गरेको भन्दै उहाँले यसमा नेफ्स्कूनको सल्लाह, सुझाव, र सुपरिवेक्षणको महत्वपूर्ण भूमिका रहेकोले नेफ्स्कून ब्राण्डका रुपमा थप विश्वासिलो बनाउनुपर्ने सुझाव दिनुभयो । यति हुँदाहुँदै पनि राज्यका तर्फबाट कुनै न कुनै रुपमा अपनत्व लिने कामको सुनिश्चितता आवश्यक भएको व्यवस्थापक चौधरीले बताउनुभयो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र