बिहीबार, वैशाख २०
१०:०४

कृष्ण सर, तपाईको आचरण सहकारी अभियानको आर्दश

शुक्रबार, कात्तिक ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नेफ्स्कूनका पूर्वसञ्चालक डा.कृष्ण पौडेल २०८० असोज २५ गते यस संसारबाट भौतिकरुपमा बिदा हुनुभएको छ । मृत्यु अनपेक्षित तर अवश्यम्भावी हुन्छ । यो शास्वत सत्य हो । जतिसुकै मन नमिलेको, चित्त नबुझेको मानिस नै किन नहोस्, मृत्युको खबरले मलाई निकै दुःखी बनाउँदछ । कृष्ण सरको मृत्युको खबरले बढी नै दुःखी बनायो । लाग्थ्यो यस्ता व्यक्तिहरु त जुगजुग बाँचिरहे पो समाज बदलिन्थ्यो । तर, मेरो चाहनाले सांसारिक चक्र किन रोकिन्थ्यो र ? उमेर पाकेर, रोगले थलिएर मृत्यु सन्निकट छ भन्ने पूर्वसंकेतसहित हुने दैहिक अन्त्य भन्दा युवावय अनि बाहिरबाट स्वस्थ देखिने व्यक्तिहरुका मृत्यु अस्वाभाविक नै लाग्ने रहेछ । 

कृष्ण सर कुनैपनि कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुनुहुन्थ्यो । साना ठुला नभनी सबै जिम्मेवारीको लागि सदैव तत्पर रहनुहुन्थ्यो । व्यवस्थापनका तल्लो तह देखि माथिल्लो तहसम्मका कर्मचारीहरुसँग मित्रवत् व्यवहार गर्नुहुन्थ्यो । व्यवस्थापनको एउटा जिम्मेवारीमा बसेर हेर्दा उहाँमा शक्ति र स्रोतप्रति आशक्ति पटक्कै देखिएन । साकोस आवाज पत्रिका प्रकाशनको मुख्य जिम्मेवारी सञ्चालक समितिको तर्फबाट कृष्ण सर र व्यवस्थापनबाट मैले प्राप्त गरेपछि एउटै टीममा बसेर सहकार्य गरियो । २०६८ देखि २०८० सम्म नेफ्स्कूनमा कार्यरत रहँदा थुप्रै स्वयम्सेवीको मार्गदर्शनसहितको सहकार्य प्राप्त भयो । कृष्ण सर र मेरो कतिपय व्यक्तिगत स्वभाव मिल्दाजुल्दा भएकोले पनि उहाँ मलाई खास लाग्दथ्यो । खास मान्छेको भौतिक देह यस संसारमा नरहेपनि छाप रहिरहोस् भनेर यो स्मृति लेख्दैछु । हुनत हाम्रो समाजमा बाँचुन्जेल असफल बनाउन लाग्नेहरुले पनि मृत्युपश्चात गुणगान गर्ने अभ्यासले गर्दा कतिपयले त्यहीरुपमा बुझ्न सक्लान् । 

मैले २०६८ सालदेखि नेफ्स्कूनका विभिन्न जिम्मेवारीमा रहेर कार्यसम्पादन गरेको छु । नेफ्स्कून सेवा प्रवेश पूर्व पनि विभिन्न क्षेत्रमा केही समय अनुभव गर्ने मौका मिलेको थियो । पेशागत जीवनको दुई दशक बढि अवधि कटाउँदै गर्दा निजी क्षेत्रबाट आरम्भ गरेको सेवा गैरसरकारी, सरकारी हुँदै सहकारी क्षेत्रमा समेत अनुभव बटुल्दैछु । म स्वभावजन्य हिसाबले सानैदेखि सुशासन र आत्मअनुशासन केवल सार्वजनिक खपतका लागि ‘भनिने’ विषय नभई अभ्यास गरिने विषय हो भन्ने मान्यता राख्ने गर्दथेँ । 

निजी क्षेत्र पेशागत जीवन प्रवेशको खुड्किलो बन्यो । त्यहाँ सामान्य कमाइ र सिकाइ थियो, सन्तुष्टि थिएन । सन्तुष्टिको खोजीमा बिना तलब सुविधा गैरसरकारी संस्थामा कार्य गर्न थालेँ । झण्डै एक वर्ष बिना तलब सुविधा निरन्तर खटाइ खुब रमाईलो थियो तर जब तलब सुविधा र पद समेत प्राप्त भयो त्यस सँगै त्यसका आन्तरिक सूचनामा पहुँच पनि पुग्यो । भनिने र गरिनेमा सामान्य तादात्म्य समेत रहेनछ भन्ने बुझेसँगै त्यहाँ पनि विद्रोह गरेर बाहिरिएँ, त्यहाँ मसँगै अरु केही साथीहरु पनि हुनुहुन्थ्यो । त्यसपछि न्यायपालिका भित्र झण्डै पाँच वर्ष कार्य गर्ने अवसर प्राप्त भयो । भित्र प्रवेश गरेपछि थाहा भयो न्यायपालिका साँच्चै सुधार गर्नुपर्ने रहेछ । मैले कम्तिमा उदाहरण बनेर सहकर्मीहरुलाई प्रोत्साहित गर्ने प्रयास गरेँ । अभ्यासहरु केही बदलिए पनि । समयक्रममा फेरि निजी क्षेत्र कै अर्को कम्पनीमा कार्य गरियो । यसपटक अरु कुरा भन्दा सेवा सुविधा मेरो आकर्षण थियो । संयोग गज्जब भयो, कम्पनीका साझेदार मध्ये एकजना प्रबन्ध निर्देशकले भन्सार कर्मचारीलाई रिसवत दिएको भनी खर्च देखाइ आफ्नो निवासमा लगेको ओछ्यान (मेट्रेस) कम्पनीमा दाखिला गर्न लगाउनु पर्यो । कम्पनी साझेदारसँग सम्बन्ध राम्रो नहुँदा लामो समय त्यहाँ बस्ने कुरा भएन अनि सुरुभयो नेफ्स्कून यात्रा ।

साँच्चै निष्ठापूर्वक जीवन यापन गर्न सहज छैन । यो मैले भोगेको विषय हो र कृष्ण सरमा त्यो निष्ठा देखेको थिएँ, जो लघुसंख्यकमा मात्र पाइन्छ । मैले उहाँको निष्ठाको विषय उठान गरी एउटा म्यासेन्जर ग्रुपमा लेखेको समवेदनामा एकजना साथीले “उहाँको इमानलाई भित्तैमा पुर्याइयो, चौतर्फी असहयोग गरि डिप्रेसनमा पुर्याइयो...” । उहाँको आसय बुझ्न सकिन्थ्यो । कृष्ण सरको सादगीपन, निष्ठा, क्रियाशिलता र वित्तीय अनुशासन साच्चै सबैले सिक्न मिल्ने किसिमका थिए । 

सहकारी क्षेत्रका युवा अभियन्ता कृष्ण सर शिक्षा क्षेत्र लगायत लेखापरीक्षण, राजनीति लगायतमा पनि उत्तिकै क्रियाशिल हुनुहुन्थ्यो । दर्तावाला लेखापरीक्षकहरुको छाता संघ अडानको प्रथम उपाध्यक्ष र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) को पार्सद लगायत विभिन्न उच्च माध्यामिक विद्यालय र कलेजको संस्थापक उहाँका शुद्ध पेशागत एवम् सामाजिक परिचय थिए । 

बारा जिल्लाको हातेमालो साकोसका संस्थापक अध्यक्ष लगायत अन्य विषयका केहि सहकारीको समेत संस्थापक रहनुभएका कृष्ण सर २०७० साल पुसमा नेफ्स्कूनको सञ्चालक बन्नुभयो । उहाँको मुख्य पहलमा नेपाल सहकारी पत्रकार समाज (सीजेएन) सँगको सहकार्य प्रभावकारी र संस्थागत भएको थियो । कुनै कार्यक्रम सम्पन्न हुनासाथ उहाँ आफैंले विभिन्न सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई समाचार सम्प्रेषण गरिदिनुहुन्थ्यो । नेफ्स्कून मिडियामा छाइरहन्थ्यो । मिडियामा सहज मात्र होइन सुरुचिपूर्वक चासो राख्ने उहाँको स्वभावबाट त्यो कार्यकालमा नेफ्स्कूनले सञ्चार माध्यमसँग सम्बन्ध विस्तार गर्न सफल भएको थियो । अहिले त्यो सम्बन्धको समीक्षा आवश्यक छ ।  त्यही कार्यकालमा सूचना तथा प्रकाशन उपसमिति संयोजकको जिम्मेवारी प्राप्त गर्नुभएपछि नेफ्स्कूनको नियमित प्रकाशन नेफ्स्कून बुलेटिनलाई स्तरोन्नती गरी म्यागजिन प्रकाशन गर्नुपर्छ भन्ने सोच अगाडि ल्याउनुभयो । समितिबाट आवश्यक निर्णय गरियो । तत्कालीन सूचना अधिकारी समेतको जिम्मेवारी भएको र सञ्चार क्षेत्रमा चासो राख्ने म सम्पादक रहने गरी प्रकाशनको तयारी भयो । 

संघको २९औं स्थापना दिवसको अवसरमा २०७३ श्रावण ३२ गते म्यागजिनको पहिलो अंक प्रकाशन गर्ने लक्ष्य राखिएको थियो तर नाम, लोगो, संस्थागत संरचना स्पष्ट नहुँदा अलमल थियो । त्यसक्रममा हामीले सूचना तथा प्रकाशन उपसमितिमा चरणवद्ध छलफल गर्यौं । व्यवस्थापनका साथै सञ्चालक समिति र लेखासमितिका पदाधिकारीहरुसँग सुझाव माग्यौं । त्यसक्रममा नेफ्स्कून समाचार, नेफ्स्कून आवाज, सहकारी आवाज, नेफ्स्कून सन्देश लगायत थुप्रै नाम प्राप्त भए । नेफ्स्कून सन्देश नाम लगभग अन्तिम निर्णयको लागि तयार भएको थियो । तर मलाई त्यो नामको विकल्प खोज्नु पर्छ भन्ने लागेको थियो । मैले मेरो चासो सुनाएपछि कृष्ण सर सहमत हुनुभयो र नयाँ नामको खोजी गर्न लागियो । मैले साकोस अभियानको साझा आवाजको आधिकारिक माध्यमकोरुपमा यागजिन प्रकाशन गर्ने हो भने “साकोस आवाज” राखौं भन्ने प्रस्ताव गरेँ । त्यही नाममा सहमति जुट्यो । लागो पनि फरक डिजाइन गरिएको थियो तर सञ्चालक समितिको तर्फबाट नेफ्स्कूनको आधिकारिकता कहाँ झल्किने त भन्ने प्रश्न आएपश्चात छापामा पठाउनु अगाडि मात्र नेफ्स्कूनको लोगो समावेश गरिएको थियो । 

साकोस आवाजको पहिलो अंकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका तत्कालीन सचिव शंकर प्रसाद अधिकारी र अभियानको तर्फबाट राष्ट्रिय सहकारी संघ (हालको महासंघ) का तत्कालीन अध्यक्ष केशव वडाल सरको अन्तरवार्ता छाप्ने निर्णय भयो । ती दुवै अन्तरवार्तामा मसँगै कृष्ण सरको सहभागिता रहेको थियो । पहिलो अंकमा सञ्चालक समितिको तर्फबाट जिम्मेवार बनाउनु पर्दछ भन्ने कुरा आएपछि उपसमिति संयोजक प्रधानसम्पादक र संघका प्रमुख कार्यकारी अधिकृत प्रबन्ध सम्पादक रहने गरी प्रकाशन गरियो । सम्पादकमा म आफैं थिएँ । पहिलो अंकमा संरचनागत अस्पष्टताको कारण उहाँको नाम नै प्रधानसम्पादकमा थियो पछि एउटा बसाइमा मैले व्यवस्थापकीय पदमा सञ्चालकको नाम सहज देखिएन फेरि प्रधानसम्पादक र प्रबन्ध सम्पादकको पदीय संरचना पनि सुहाउँदो भएन प्रबन्ध सम्पादक हटाउँ, प्रमुख कार्यकारी अधिकृतलाई नै प्रधानसम्पादक तोकौं भन्ने प्रस्ताव गरेँ । उहाँले ‘आवश्यक निर्णय पछि नै गरौंला अहिले नराखौं न त’ भन्ने सहमति प्रदान गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत शिवजी सर सँग बसेर छलफल गरेपश्चात दोस्रो अंकबाट प्रधानसम्पादकमा प्रमुख कार्यकारी अधिकृतको नाम राखियो । तर, आज अभियानमा पदको लागि होडबाजी देख्दा फेरि एकपटक कृष्ण सरलाई सम्झन्छु । कृष्ण सर, तपाई बारम्बार स्मृतिमा आइरहनुहुन्छ ।   

संघमा प्राप्त हुने अवसरको हकमा त्यो सिकाइबाट आफूले के योगदान थप गर्न सक्छु भन्ने आधारमा मात्र दाबी गर्नुपर्दछ भन्ने उहाँको सोच थियो । उहाँ बैठक वा कार्यक्रममा आउँदा पैदल, सार्वजनिक सवारी वा कोही आफन्तको साधन प्रयोग गर्नुहुन्थ्यो । उहाँले संघको सञ्चालक भएकै समयमा विद्यावारिधि गर्नुभयो । त्यसक्रममा देशका विभिन्न भागमा भ्रमण पनि गर्नुभयो तर मेरो जानकारीमा भएसम्म आफू जाने स्थानमा कार्यक्रम बनाउन लगाई दैनिक भ्रमण भत्ता र यातायत खर्चको भार संघमा पार्नुभएन । ती स्थानका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई उहाँको व्यक्तिगत व्यवस्थापनको कहिल्यै दवाव भएन । अहिले पनि कतिपय सञ्चालकहरुमा त्यो स्वभाव रहेकोछ । कार्यालयमा आउँदा सकेसम्म धेरै कर्मचारीहरुलाई भेट्ने उहाँको अर्को नियमितता थियो । दोस्रो कार्यकालमा २०७३ सालमा पुनः निर्वाचित भएपश्चात पनि उहाँको क्रियाशिलता र शालिनता उस्तै थियो । २०७४ मा मेयरमा निर्वाचित भएपश्चात भने उहाँले नेफ्स्कूनको सञ्चालक समितिबाट बिदा लिन चाहनुभएको थियो । समितिमा नै उहाँको धारणा कसरी प्रस्तुत भयो थाहा भएन तर संघलाई उपनिर्वाचनको भार पर्ने हुनाले त्यो कार्यकालभरी समितिको आग्रहमा नै प्रत्येक तेस्रो बैठकमा उपस्थित हुनुभयो । 

कलेजमा अध्यापन सँगै राजनीतिलाई अगाडि बढाउनुभएका कृष्ण सर राजनीतिमा कम विवादित देखिनुहुन्थ्यो । तर, जितपुर सिमरा नगरपालिकाको प्रथम मेयरकोरुपमा निर्वाचित उहाँले सहयोग भन्दा असहयोग बढि झेल्नुभयो । आफूलाई ठिक लागेको काममा पुरा भरोसा सहित लाग्ने स्वभाव अनि र कार्यशैलीको नगर परिषद्मा अल्पमतमा रहेको उहाँको राजनीतिक प्रतिनिधित्वको तालमेल मिलेन या फापेन । सोचेको परिणाम दिन नसक्दा उहाँमा एकप्रकारको निराशा थियो ।

म पनि सहकारीले पारेको साँस्कृतिक प्रभावका सन्दर्भमा अनुसन्धान गर्ने तयारीमा भएकोले उहाँको शोधपत्रको विषयमा पछिल्लो पटक २०८० असार २ गते छोटो टेलिफोन सम्वाद भएको थियो । आफूसँग भएका सन्दर्भ सामाग्री शेयर गर्छु भन्दै ईमेल ठेगाना माग्नुभएको थियो तर मैले पनि फेरि ताकेता गरिन, उहाँलाई पनि याद भएन सायद ईमेल प्राप्त गर्न सकिएन । एक्कासी उहाँको स्वर्गारोहणको खबरले स्तब्ध बनायो । सहकारी अभियन्ताले सदस्यको जीवनस्तर सुधार नगरी आफ्नो जीवनस्तरमात्र सुधार गर्ने तर्फ सोच्नु हुँदैन, त्यसले नेतृत्वप्रति अविश्वास र वितृष्णा सिर्जित गर्दछ भन्ने उहाँको बुझाइ थियो । सदस्यको जीवनस्तर सुधारका लागि योगदान गर्न नसक्ने र आफ्नो व्यक्तिगत जीवनमात्र सुधार भयो भने निजी क्षेत्र र सहकारीबीच फरक देखिंदैन भन्ने उहाँको बिचार मेरो लागि सदैव आदर्श रहने छ । मेरा लागि मात्र होइन तपाईको विचार र आचरणबीचको तादात्म्य सहकारी अभियानकै आर्दश हो । यो लेख पढ्ने र उहाँप्रति श्रद्धाञ्जलीका शब्द खर्चिनेहरुले मात्र पनि सहकारीको आदर्शलाई आफ्नो जीवनमा लागु गर्ने हो भने अभियानप्रतिको जनविश्वास वृद्धि हुनेछ । तर...
स्वर्गीय कृष्ण सर प्रति हार्दिक श्रद्धासुमन !   
 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।