बिहीबार, चैत्र १५
०६:५२

तितेपातीले फेरिएको फुलकुमारीको जीवन

शुक्रबार, कात्तिक १४
राधा पौडेल
saccosaawaj

फुलकुमारी अधिकारी
उद्यमी एवं ले.सु.स.सदस्य, नागरिक समानता साकोस, मनमैंजु, काठमाडौं 

नेपालमा तितेपाती नचिन्ने सायदै औलामा गन्न सकिने मात्रै हुनुहुन्छ । प्राय हामी सबै नेपालीले तितेपाती चिनेका छौं र सामान्य रुपमा यसको औषधिय गुणका बारेमा पनि हामीलाई थाहा भएकै हुनुपर्छ । गाउँघरमा बस्दा खेतबारीमा घाँस दाउरा गर्दा हँसिया बञ्चरोले हात खुट्टा काट्यो भने हामीले हतार हतारमा तितेपातीको मुन्टा मिचेर त्यसको रस काटेको ठाउँमा लगाउने प्रचलन गाउँघरतिर छ । आमा, बुबा, हजुरआमाले काटेको ठाउँमा तितेपाती मिचेर लगाइहाल भन्नुहुन्थ्यो । त्यस्तै यसको अर्को महत्वपूर्ण प्रयोगको बारेमा थाहा पाएको भने दशैंको टीकाको दिन बिहानै पातिको मुन्टा र पातिको फूल टिपेर ल्याइन्थ्यो । दशैंको टीका लगाएपछि जौ मकैको जमरा सँगै तितेपातीको फूल शिरमा लगाउने चलन परापूर्व कालदेखिनै चलिआएको छ । यसको अर्को प्रयोग भनेको बारीमा लसुन प्याज रोपेपछि अथवा अन्य साग सब्जीको बीउ विजन छरेपछि पातिको छापो हाल्ने चलन छ । जसले गर्दा विउ विजन चराचुरुङ्गीले खान नपाउने, बारी सुख्खा हुन नपाउने, अनावश्यक झारहरु उम्रिन नपाउने र बारीमा मलको पनि काम गर्ने हुँदा आमाहरुले बारीमा छापो हाल्ने काममा तितेपातीको अत्याधिक प्रयोग गर्नुहुन्थ्यो ।  

उद्यमी परिचयः समाजसेवी साथै सफल उद्यमी फुलकुमारी अधिकारी उद्यमी महिला पंक्तिमा एक सफल नाम हो । वि.सं.२०२९ साल पौष १५ गते नुवाकोट जिल्लामा जन्मिनुभएकी फुलकुमारी अधिकारी काठमाडांैलाई कर्मथलो बनाउँदै वि.सं. २०५४ सालमा काठमाडौंस्थित मनमैजु सहकारीको सदस्य बन्नुभयो । सहकारीलाई बचतको सारथी भन्दै नियमित बचत थालनी गर्नुभएकी फुलकुमारीले सासानो बचत बाट पैसा संकलन गरी उद्यमी बन्ने सपनालाई साकार पार्नुभयो । उहाँको उद्यमी बन्ने सपना ठूलो भएर मात्र होइन बाल्यकालदेखिनै बाबुको व्यावसायिक व्यावहारिक शिक्षा भएको उहाँ बताउनुहुन्छ, ”घरमा ससाना कुखुराका चल्लाहरु ल्याएर हामीलाई काम लगाउनुहुन्थ्यो अनि चल्ला ठूला भएपछि बेचेर त्यो पैसा तिमिहरुका लागि भन्नुहुन्थ्यो ।” व्यावसायिक बन्ने प्रेरणा बाबुको त्यो समयको शिक्षा पनि हो भन्ने उहाँको बुझाई छ । पढेर मात्र होइन काम गरेर ठूलो बन्न सकिन्छ भन्ने आत्मविश्वास लिएर अगाडि बढ्नुभएकी अधिकारीको औपचारिक शिक्षा कक्षा ७ सम्म मात्र रह्यो तर व्यावहारिक सिप विकासमा भने उहाँले उच्च शिक्षा हाँसिल गरिसक्नुभएको छ । 

समयक्रम सँगै विभिन्न सिप विकास र उद्यममा अग्रसर अधिकारीको व्यावसायिक जीवनको शुरुवात भने धुप बनाउने, चर्खा कात्ने, उन कात्ने कामबाट शुरु भएको थियो । घरेलु तथा साना उद्योगसँग सम्बन्धित धेरै प्रकारका तालिम मार्फत उहाँले हाते सीपमा निख्खार ल्याउनुभएको छ । व्रिकेट बनाउने, मैनबत्ती, दालमोट, अचार, मैनबत्ती, सिलाईकटाइतर्फ दौरा, भोटो, एप्रोन, कपडाका झोला, खादा,  कोभिड १९ महामारिका समयमा मास्क लगायतका उत्पादनमा उहाँले निकै ठूलो योगदान रहेको छ । उद्यम व्यवसाय मात्र नभएर सामाजिक सेवामा पनि अभिरुची राख्ने अधिकारी थुप्रै संघ संस्थामा आबद्ध हुनुहुन्छ । घरेलु तथा साना उद्योग संघ, सहकारी संघ, नारी चेतना महिला संघ, महिला विकास समूह, नारी चेतना विद्यालय यस्तै विविध क्षेत्रमा आबद्ध अधिकारीले विभिन्न संघ संस्थाहरुबाट सम्मानित तथा पुरस्कृत पनि भइसक्नुभएको छ । २०७१ सालमा शिक्षा मन्त्रालयले पनि दूषित बातावरण अन्त्य गर्दै मानव जीवनको संबेदनशील विषय सँग जोडिएर व्रिकेट, तितेपातीको औषधियुक्त तेल उत्पादनमा गरेको योगदानको कदर गर्दै पुरस्कृत गरेको थियो । 

उत्पादन, बजार व्यवस्थापन र प्याकेजिङको समेत तालिम लिनुभएकी अधिकारीले ३ हजार जनालाई विभिन्न सीपमुलक तालिम प्रदान गर्नुभएको छ भने ४० जनालाई तितेपाती तेल प्रशोधनको तालिम दिइसक्नुभएको छ । अधिकारीले आफ्नै पहलमा २०६७ सालमा नारी चेतना महिला समूह गठन गर्नुभयो । सोही समूहले मूर्त रुप लिँदै अहिले तारकेश्वर मनमैजुस्थित नागरिक समानता बचत तथा ऋण सहकारी संस्थाबाट सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गर्न सफल छ । फुलकुमारी हाल नागरिक समानता साकोसको लेखा समिति सदस्य हुनुहुन्छ । 

उहाँको परिवारमा श्रीमान, दुई छोरी र एक छोरा छन् । श्रीमान जागिरे हुनुहुन्छ । ५ जनाको परिवारमध्ये जेठी छोरीको विवाह भइसकेको छ । ५ जनाको परिवारलाई राम्रो वातावरण सहित बालबच्चाको शिक्षादिक्षामा पनि राम्रो बन्दोबस्त गर्न सफल हुनुभएको छ उद्यमी फुलकुमारी । मनमैजु कृषि तथा जडिबुटी तेल प्रशोधन उद्योग दर्ता गरी आजभन्दा ४ बर्ष अगाडि औषधिय गुणयुक्त तितेपातीको तेल उत्पादनमा जुट्नुभएकी फुलकुमारीले आज सोही उद्यमलाई निरन्तरता दिँदै व्यवसाय विस्तारमा अगाडि बढ्ने योजना बनाउनुभएको छ । वि.सं. २०७३ असारमा नागरिक समानता साकोसबाट रु १ लाख ऋण लिएर रु. २५ हजारको तितेपाती प्रशोधन मेसिन, उद्योग स्थापना र कच्चा पदार्थको जोहो गर्नुभयो । उत्पादन शुरु गर्दै र लगानी पनि बढाउँदै जाँदा आज चार बर्षको अवधिमा उद्योगमा १० लाख पूँजी सृजना भएको छ । श्रावण महिनादेखि शुरु भएर मंसिरसम्म उत्पादनको सिजन भएकोले दैनिक ५÷६ जना ज्यालादारी कर्मचारी राखेर दुईवटा मेसिन सञ्चालन गदै बर्षभरीको मागलाई थेग्न सक्नेगरी तेल उत्पादनमा लाग्ने उद्यमी फुलकुमारी बताउनुहुन्छ । उहाँले सहकारीमार्फत ६ जना, सिलाइकटाइमा ३ जना र तितेपाती तेल प्रशोधन उद्योगमा गरेर १८ जनालाई रोजागारी दिनुभएको छ । 

यो तीतेपातीको वोट हो । नेपालमा आम रूपमा पाईने यो वनस्पती गाउँघरमा औषधीको रूपमा प्रयोग गर्ने गरिन्छ ।  शहर बजारमा यसको उपयोगिता नजान्दा घाँस भनेर उखेलेर फाल्ने प्रचलन धेरैमा छ ।  हिजोआज गाउँघरमा अग्र्यानिक खेती शुरू भएको ठाउँहरूमा अग्र्यानिक मल बनाउन पनि यो वनस्पती प्रयोगमा आउन थालेको पाइन्छ । तरकारी खेती गर्नेहरूले पनि यसलाई कीटनाशक औषधीको रूपमा प्रयोग गर्दछन् ।

उत्पादनको बजारः 
मनमैजु कृषि तथा जडिबुटी तेल प्रशोधन उद्योगले उत्पादन गरेको तेल ४० जिल्लामा खपत हुँदै आइरहेको छ । तेल मात्र होइन अधिकारीले अचारको बजारलाई पनि फराकिलो बनाउनुभएको छ । तितेपातीको तेल जिल्लामा संस्थागत रुपमा विक्रि नभएपनि व्यक्तिगत रुपमा देशका विभिन्न जिल्लाका साथै अष्ट्रेलिया, फिनल्याण्ड, साउदी, ओमन, अमेरिका लगायतका मुलुक सम्म पुगेको अधिकारी बताउनुहुन्छ । उत्पादनलाई विदेशी मुलुकमा पु¥याउनुभन्दा पनि स्वदेशी मागलाई बढी प्राथमिकता दिने उद्देश्य उहाँको छ भने हाललाई स्वदेशी मागलाई धान्न समेत नसकिएको उहाँको अनुभव छ । काठमाडौं उपत्यकाको बसन्तपुर, कलंकी, किर्तिपुर, ललितपुर, बानेश्वर, कपन मा विशेष गरी तेलको खपत हुनेगरेको छ । माग धेरै छ, उत्पादन बिशेष सिजनको समयमा मात्र हुन्छ । 

तीतेपातीको औषधिय गुणको पहिचानः 
विभिन्न संघ संस्थामा आबद्ध भई सामाजिक सेवामा क्रियाशिल भएका बेला दुखाइ कम गर्न साथीभाईले दिएको तेल के हो र यो कसरी तयार पार्ने भन्ने जिज्ञासाले शुरुवात भएको तितेपातीसँगको परिचय अहिले जीवनको व्यावसायिक साथी बनेको छ फुलकुमारीका लागि । वि.सं. २०६७ सालमा मनमैजु कृषि तथा जडिबुटी तेल प्रशोधन उद्योग दर्ता गर्नुभएकी फुलकुमारीले २०६९ सालबाट तितेपातीको तेल उत्पादनमा जुट्नुभयो । २०७३ सालमा आएर उद्योगमा लगानी बढाउँदै अधिकारीले मेन्था, तितेपाती, हल्दि, टिमुर, तेजपात लगायतका जडिबुटीहरुको तेल प्रशोधन गर्दै आएनुभएको छ ।
 
तितेपातीको औषधियुक्त तेलः 
मानिसको शरिरमा हुने हरेक प्रकारका दुखाईमा यस तेलको मालिसले आराम मिल्छ । काटेको, मर्केको, हड्डी भाच्चिएको ठाउँमा दुखेको, कम्मर दुखेको, पैताला पोलेको, नसा च्याप्पिएको, बाथ भएकाहरुका लागि यो तेल सर्वोपयुक्त हुन्छ । १० के.जी. तितेपाती बाट ५ एम.एल. तेल निस्कन्छ । क्रिस्टलको बोतलमा राखिएको ५ एम.एल. तेलको मूल्य रु. ३ सय छ । उत्पादित औषधिय तेल सम्पर्कको आधारमा उद्योगबाटै पनि विक्रि हुन्छ भने धेरै उत्पादन नर्वदा हेल्थ होम मसाज क्लिनिकले लिने गर्दछ । तितेपातीको सिजनको समय बढीमा ५ महिना उत्पादन गरेर बर्षभरी विक्रि गर्ने उक्त औषधियुत्त तेलबाट मात्र दैनिक करिब १५०० आम्दानी हुने उद्यमी फुलकुमारी बताउनुहुन्छ ।  

तितेपाती संकलनः 
काठमाडांैका विभिन्न खाली जग्गामा झाडीको रुपमा रहेका र यतिकै सुकेर जाने तितेपाती संकलन गरेर ल्याउने दिदीबहिनीले पनि दुइचार पैसा पाउने व्यवस्था उद्यमी फुलकुमारीको उद्योगले गरिदिएको छ । उद्योगमा तितेपाती ल्याइदिने दिदीबहिनीहरुले प्रति केजी १० रुपैँयाका दरले पैसा पाउँछन् । नेपालमा २२ जातका औषधियुक्त तितेपाती पाइन्छ । नेपालमा तीतेपाती जताततै पाईन्छ । तर यसको औषधिय प्रयोग कम गरिन्छ । तितेपाती औषधियुक्त हो होइन भन्ने कुराको प्रमाण बनस्पती विभागको परीक्षणबाट मात्र प्राप्त हुन्छ । परीक्षण गरिएको तितेपाती सँग मिल्दो प्रकृतिको तितेपाती मात्र संकलन गरिन्छ ।  

तीतेपातीको प्रयोग अनुभवः 
साढे दुई बर्षको बालकलाई दूध ख्वाइरहेकी एक आमाले शिशुको दुध खाने बानी हटाउने उपाय सोध्दा हरेक पल्ट दूध ख्वाउँदा तीतेपातीको रस स्तनमा लगाइदिन सल्लाह दिएँ । दुई हप्तापछि ती महिला खुसी हुँदै आएर भनिन्, मेरो शिशुले तीतेपातीको रस लगाएपनि दूध खान त छोडेन तर उसको स्वास्थ्य भने राम्रो भयो । दिसा लागिरहन्थ्यो । दाल भात तरकारी एवम् सातु केही पनि खाँदैनथ्यो तर अहिले उसको दिसा लागिरहने समस्या बन्द भयो । भात, जाउलो पनि खान थालेको छ । दूध छुटाउन अन्य कुनै  उपाय अपनाउनुपर्ला । नियमित रुपमा स्तनमा तीतेपाती लगाएरै दूध ख्वाउने विचार गरेकी छु । ती महिलाको कुरा मलाई राम्रो लागेको थियो, एक डाक्टरले मलाई आफ्नो अनुभव सुनाएका थिए । यो घटना सुनेपछि मलाई लाग्यो ती आमाले थाहै नपाई तीतेपातीको औषधिय उपयोग गरेर आफ्नो शिशुको खराब पेट ठीक पारिन् । उनलाई थाहा थिएन कि तीतेपाती राम्रो औषधि हो । ती डाक्टर जसले महिलालाई स्तनमा तीतेपाती लगाउने सल्लाह दिएका थिए, उनलाई पनि तीतेपातीले खराब गर्दैन भन्ने थाहा थियो तर त्यसले शिशुको पेटको खराबी ठीक पार्छ भन्ने जानकारी थिएन । 

फुलकुमारी दिदीले पनि धेरै महिला स्वास्थ्य स्वयंसेविका तथा महिला समूहहरुलाई तीतेपाती  रसको प्रयोग प्रजनन स्वास्थ्य, महिनाबारी समस्या, तल्लो पेट दुख्ने लगायतका साधारण समस्या समाधान गर्न सकिन्छ भन्ने सिकाउनुभएको छ । महिलाहरुले गाउँघरमा तीतेपाती जतासुकै देखेका भएपनि उनीहरुलाई तीतेपातीले के के फाइदा गर्छ भन्ने जानकारी नहुने हुँदा तीतेपातीको औषधिय गुणको बारेमा जानकारी गराउनु आवश्यक छ, उहाँले भन्नुभयो  । म गाउँघर तिर जाँदा गाउँका महिलाहरुलाई प्रश्न गर्नेगर्छु, तर गाउँका महिलाहरुलाई तीतेपातीको प्रयोगले कुनै पनि समस्या समाधान गर्नेमा झ्वाट्ट विश्वास गर्दैनन् । उनीहरु सामान्य घाउचोटपटकमा पनि एन्टीवायोटिक लगाउने र दुखाई कम गर्ने औषधि खाइहाल्ने बानी परिसकेका छन् । बाहिरी दुखाई र घाउमा यसको रस प्रयोग साथै भित्रि दुखाइमा तीतेपातीको प्रशोधित तेलको प्रयोग दुखाई कम गराउने अचुक अस्त्र नै हो भन्ने गर्छु म । 

अबको योजनाः 
तेल प्रशोधनका लागि स्तरीय मेसिन खरिदको योजना नै पहिलो ठूलो लगानीको योजना हो । जसमा १ सय के.जी. तितेपाती एकैसाथ प्रशोधन गर्न मिल्ने रु. ५ लाख बराबरको मेसिन खरिद गर्ने लक्ष्य लिएकी छु । सिजनमा बेजिल्लामा मेसिन लगेर पनि उत्पादन गर्न सकिने हुँदा कच्चा पदार्थको समस्या नपर्ने भएकोले मेसिन खरिद पहिलो प्राथमिकता हो । व्यावसायिक खेतीका लागि जग्गा भाडामा लिएर तितेपाती साथै बेसार र मेन्सा (भिक्स् बनाउने प्लान्ट) को पनि खेती गर्ने इच्छा छ । बाँझो सार्वजनिक जग्गाको कर तिरेर प्रयोगमा ल्याउन सम्बन्धित निकायको पहल आवश्यक छ । उहाँले नर्सरीको अवधारणा पनि अगाडि बढाउनुभएको छ । खोलाका डिलहरुमा, सार्वजनिक बाँझा जग्गा र ठूला रुख रोपेको जमिनमा नर्सरी निर्माण गर्न सके कच्चा पदार्थको  उपलब्धता सहज हुने उहाँ बताउनुहुन्छ । स्रोतले धान्न गाह्रो छ, उद्योगको विस्तारका लागि धर्मस्थलीको १५ नं वडामा पनि उद्योग स्थापना गर्ने सोच राखेकी छु । 

यतिमात्र हैन फुलकुमारीले ५ महिलाहरुसँग मिलेर मनमंैजु अचार उद्यम समूहलाई निरन्तरता दिनुभएको छ । नागरिक समानता साकोसमार्फत युवा परिषद्बाट प्रदान गरिएको रु ५ लाख ऋण लिएर अचार उत्पादन थालनी गर्नुभएका महिलाहरुले उत्पादन गरेको अचार अत्यन्तै स्वादिष्ठ, गुणस्तरीय र स्वस्थबर्धक रहेको  उहाँको भनाई छ । अचारको विक्रि बिशेष गरेर राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी दिवसको दिन आयोजना गरेका कार्यक्रमहरुमा स्टल राख्ने गरेको र शिक्षा मन्त्रालयले पनि कार्यक्रमहरु आयोजना  गरेका बेला स्टलका लागि बोलाउने गरेको उहाँ बताउनुहुन्छ । आज गाउँघर तथा सहरी र अर्धसहरी क्षेत्रमा वेरोजगार भई यतिकै समय बर्बाद गरिरहेका र दुई चार पैसा पनि आम्दानीको स्रोत नभएका महिला दिदीबहिनीहरुलाई रोजगारी, आम्दानी र सशक्तीकरणका लागि महत्वपूर्ण मार्ग देखाउने उद्यमी फुलकुमारीको योगदान राष्ट्रका लागि महान् छ । महिलाको आर्थिक सशक्तिकरण मार्फत समाजमा सकारात्मक आर्थिक परिवर्तन ल्याउन उहाँको अथक परिश्रमको कदर राष्ट्रले पक्कै गर्नेछ । 

आर्थिक बर्ष २०७७/०७८ को बजेटले पनि कृषि तथा साना व्यवसाय प्रबद्र्धनका लागि सहकारीमार्फत रु. ३ अर्ब ६० करोड ऋण लगानी गर्ने व्यवस्था गरेको छ । राज्यले सहकारी मार्फत उत्पादन बृद्धि, भण्डारण र वितरण सम्मका श्रृंखला विकास गर्ने नीति लिएको छ । त्यसैले फुलकुमारी दिदीजस्ता स साना उद्यमीहरुको आवश्यकतालाई मध्यनजर गर्दै उत्पादन प्रबद्र्धन, भण्डारण र बजारीकरणका लागि सहकारीमार्फत श्रृंखला विकास भए अवश्य पनि नेपाल कृषि उत्पादन र जडिबुटीजन्य औषधि उत्पादनमा आत्मनिर्भर बन्न सक्नेथियो । 


 

saccosaawaj media

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

सोमबार, साउन ५

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

saccosaawaj media

अब्बल साकोस नेतृ सीमा

आईतबार, साउन २५

अब्बल साकोस नेतृ सीमा

saccosaawaj media

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’

आईतबार, साउन २५

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’