एक अन्तर्राष्ट्रिय अध्ययनले कोभिड–१९ को महामारी नियन्त्रण प्रयासमा महिला नेतृत्वको भूमिका तुलनात्मक रुपमा बढी प्रभावकारी देखाएको छ । लैङ्गिक सन्तुलन सम्बन्धी बेलायतको एक अध्ययन कन्सलटेन्सी ट्वान्टी फस्टकी प्रमुख कार्यकारी अधिकृत अभिभाव विटनवर्गले महिला नेतृत्वबाट विश्व समुदायले धेरै कुरा सिक्न सक्ने दाबी गर्नुभयो । कोभिड संक्रमणको प्रारम्भिक चरणमै कडा कदम चाल्न सफल विश्वका महिला सरकार प्रमुख भएका देशहरुले सफलता प्राप्त गरेको उहाँले बताउनुभयो ।
विश्वका १ सय ९४ मुलुकहरुको अध्ययनले महिला नेतृहरु भएको मुलुकमा महामारी संक्रमणको पहिलो ३ महिनामा मृत्युदर न्यून रहेको देखाएको छ । यसको एउटा सम्भावित कारणमा ती मुलुकहरुले तत्कालै लकडाउनको कदम चालेका थिए । विश्वमा हाल ७ प्रतिशत मात्र महिला सरकार प्रमुख छन् । विटनवर्गले अल्पसंख्यक रुपमा रहेको विश्व महिला नेतृत्वबीच महामारी नियन्त्रणमा ४ वटा साझा गुणको सम्बन्ध स्थापित गर्नुभएको छ–
विश्वास, निर्णयसक्षमता, प्रविधि र प्रेम ।
उल्लेखित ४ गुणहरुमध्ये ३ वटामा पुरुष नेतृत्वहरुको ध्यान गएपनि प्रेम वा सद्भाव जस्तो महत्वपूर्ण नेतृत्व शिल्पका विषयमा उनीहरुले ध्यान पुर्याउन नसकेको अध्ययनको निष्कर्ष छ । महिला नेतृत्वले प्रेम र सद्भावलाई अत्यावश्यक गुणको रुपमा व्यवहारबाट प्रमाणित गरेका कारण उनीहरुले सफलता प्राप्त गरेको विटनवर्गको तर्क छ ।
नर्वेकी प्रधानमन्त्री इर्ना सोलवर्ग
सबैको सहभागिता सबैभन्दा सफल नेतृत्वले आफ्नो योजनामा सबैको सहभागिता सुनिश्चित गर्दछ । उनीहरुले व्यवहारबाट अनुभूति दिलाउँछन् कि हामी सबैको हेरविचार गर्छौं । कसैलाई काखा कसैलाई पाखा गर्दैनौं । त्यसको उदाहरण विटनवर्गले युरोपेली मुलुक नर्वेकी प्रधानमन्त्री इर्ना सोलवर्गको दिनुभयो । नर्वेली प्रधानमन्त्रीले बालबालिकाहरुलाई कोरोना भाइरसका सम्बन्धमा अनावश्यक भय र आवश्यक सचेतनाका लागि आफ्नै अग्रसरतामा विशेष कार्यक्रम राख्नुभयो । “राजनीतिक रुपले भन्ने हो भने ती बालबालिका उनका मतदाता वा सम्भावित मतदाता पनि थिएनन् तर उहाँले त्यसलाई ध्यान नदिइ बालबालिकाको सुरक्षामा विशेष काम गर्नुभयो,” विटनवर्गले भन्नुभयो,“ यो काममा मतदाता र सत्ता वा शक्ति भन्दा पनि प्रेम र सद्भावले बढी काम गरेको थियो ।”
सत्यतामा आधारित वैयक्तिक र व्यावसायिक अनुभवहरु आदानप्रदान
सार्वजनिक छवि सहितका राजनीतिज्ञ भएपनि व्यावसायिकसँगै वैयक्तिक र निजात्मक अनुभवहरुको आदानप्रदानले सम्बन्धलाई गाढा बनाउने अध्ययनले देखाएको छ । नेतृत्वले यस्तो सामाग्रीहरुको समयसापेक्ष सञ्चार गर्दा जनतासँग सम्बन्ध प्रगाढ बन्ने प्रमाणित भएको छ । उदाहरणको रुपमा न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आड्रेनको उदाहरण दिदैं विटनवर्ग भन्नुहुन्छ, “ उहाँले व्यक्तिगत फेसबुक पेजमार्फत अनौपचारिक तवरले दैनिक प्रश्नउत्तर सेसन चलाउँदै जनतासँग निकटता कायम गर्नुभयो । कोभिडका सम्बन्धमा उनीहरुका व्यक्तिगत जिज्ञासाहरुको समाधान र सावधानीका उपाय र स्वास्थ्य सर्तकताका बारेमा दैनिक जसो फेसबुक प्रत्यक्ष प्रसारण मार्फत जोडिदाँ जनताले एकदमै स्नेह महसूस गरे । न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आड्रेन
घरमा पहिरिने अनौपचारिक लुगा सहित फेसबुकमा प्रस्तुत हुँदै प्रधानमन्त्री आड्रेनले आफ्नो सानो छोरीलाई निदाउन कठिनाइ भएको गुनासो गर्दै व्यक्तिगत र व्यावसायिक जीवनका तीतामिठा घटनाहरुलाई नलुकाई सार्वजनिक गर्दा उहाँप्रति जनताको र जनताप्रति उहाँको प्रेम थप बढेको प्रमाणित भएको अध्ययनले भन्छ । यी सबै कारण र उहाँ नेतृत्वको सरकारले चालेको कडा कदमका कारण न्यूजिल्याण्डमा प्रारम्भिक १ सय दिन सम्म एउटा पनि कोरोना भाइरस संक्रमण देखिएको थिएन ।
सत्यवचन
“मायासँगै सत्यवचन एकदम आवश्यक छ,” विटनवर्ग भन्नुहुन्छ,“ सत्यले विश्वासको सृजना गर्दछ र सफल नेतृत्वले विवेकपूर्ण आशाको मात्र सञ्चार गर्दछ ।” जर्मन चान्सलर एङ्गेला मर्केलको उदाहरण दिदैं विटनवर्ग भन्नुहुन्छ,“ जनतालाई आफुले जानेको र गर्नसक्ने कुराहरु गर्ने र नजानेको वा गर्न असम्भव कुराहरुमा आश देखाउँदैनन् । प्रमाणित तथ्याङ्क र बरिष्ठ चिकित्सकहरुको सल्लाह सुझावका आधारमा जर्मनीमा कोरोना भाइरस नियन्त्रणका लागि कदम चालिएको मर्केलले बताउनुभएको प्रसङ्ग अध्ययनमा समावेश छ । सोही कारण अन्य मुलुकहरुको तुलनामा मृत्युदर न्यून गर्न जर्मनी सफल भएको विटनवर्ग–अध्ययनले देखाएको छ । केही समयअघि मात्र चान्सलर मर्केलले आगामी दिनमा अवस्था थप जटिल बन्ने संकेत मिलेको भन्दै कोरोना भाइरसलाई हल्कारुपमा नलिन आग्रह गर्नुभयो । अध्ययन भन्छ, “यसले पनि उहाँले सत्यलाई ढाकछोप नगर्नुभएको देखाउँछ ।” जर्मन चान्सलर एङ्गेला मर्केल
निर्णयसक्षमता
संकट र अनिश्चयको समयमा निर्णयसक्षमतामा हस आउने भएकाले असल र कुशल नेतृत्वले यसमा सदैव ख्याल राख्ने तर्क विटनवर्ग गर्नुहुन्छ । ताइवानकी अध्यक्ष साइङ्ग वेनले पनि सार्सको प्रकोपबाट शिक्षा लिएर बेलैमा सतर्कता सहित आवश्यक निर्णय लिएको देखाउँदछ । कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टिनको व्यवस्था, मास्क, स्यानिटाइजर र पीपीइको पर्याप्तताका साथै पूर्वाधार विकासमा समेत समयमै निर्णय गरेर कार्यान्वयनमा लगेका कारण कोरोनाको संक्रमण नियन्त्रणमा उच्च सफलता मिलेको प्रमाणित भएको छ । सोही कारण कोरोना भाइरसले विश्वमकै सबैभन्दा कम मृत्यु वरण गर्ने मुलुकमा पर्छ ताइवान । त्यसैगरी, बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाको निर्णय क्षमताको पनि अध्ययनले प्रशंसा गरेको छ ।
ताइवानकी अध्यक्ष साइङ्ग वेन
प्रविधिको प्रयोग
महामारीले विश्वलाई प्रविधिको महत्व पुष्टि गरिदिएको छ । संकटका समयमा प्रविधि समाधान बनेर निस्केको जगजाहेर छ । आइसल्याण्डकी प्रधानमन्त्री कर्टिन ज्याकोब्सडटिरले प्रविधिमा आधारित स्क्रिनिङ र ट्रयाकिङलाई शुरुदेखि नै कडाइका साथ लागू गरेर सफलता प्राप्त गर्नुभयो । अहिले त आइसल्याण्डमा दोहोरो परिक्षण, पर्यटक र यात्रुहरुलाई अनिवार्य क्वारेन्टिनको नियम लागू गरिएको छ । त्यसैगरी, फिनल्याण्डकी प्रधानमन्त्री साना मरिनले कन्ट्याक्ट ट्रेसिङ एपका साथै सामाजिक सञ्जालको व्यापक प्रयोग बढाउँदै भाइरससम्बन्धी जानकारी, सन्देश, समाचार र शिक्षा प्रदान गरेका कारण त्यहाँ महामारी नियन्त्रणमा ठूलो सफलता मिलेको विटनवर्ग–अध्ययनले देखाएको छ । ताइवानले पनि प्रविधिको प्रयोगलाई पहिलाभन्दा दोब्बर वृद्धि गरेको जनाइएको छ । आइसल्याण्डकी प्रधानमन्त्री कर्टिन ज्याकोब्सडटिर
बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन