घनश्याम खतिवडा
प्रतिनिधिसभा सांसद
मोरङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सांसद निर्वाचित घनश्याम खतिवडा नेफ्स्कूनका पूर्व महासचिव समेत हुनुुहुन्छ । नेफ्स्कूनमा १४ बर्ष रहँदा सहकारी क्षेत्र प्रवर्द्धनमा समय खर्चिनुभएका खतिवडा संघीय सांसदका रुपमा समेत यसै क्षेत्रको विकासमा निरन्तर सदनमा आवाज उठाइरहनुभएको छ । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य एवम् उक्त समिति अन्तर्गत सहकारी उपसमितिका संयोजक खतिवडासँग सहकारी क्षेत्रको सेरोफेरोमा रहेर गरिएको कुराकानीको सारसंक्षेपः
संघीय संसदमा सहकारी विषय ओझेलमा परेको हो ?
सहकारी ऐन २०४८ को परिकल्पना भन्दा भिन्न ढंगले मुलुकको राज्य संरचना संघीय स्वरुपमा गएको सन्दर्भमा त्यो ऐन पर्याप्त भएन । अहिलेको सन्दर्भमा सहकारी चलाउनका लागि आवाज सर्वत्र उठिरहेको छ । त्यो सन्दर्भमा गाँसिएर हेर्दा संघीय संसदमा सहकारी क्षेत्र निकै नै अप्ठ्यारो मा परेको अवस्था छैन । तर ऐनमा समयानुकुल केही परिवर्तनहरु खोजिएका छन् । त्यो परिवर्तन गर्न जरुरी छ । त्यो केही ऐन संशोधन गर्ने विधेयकका रुपमा आएपनि वा सहकारी ऐन संशोधनका हिसावमा आएपनि सहकारी ऐन २०७४ माथी आज परिवर्तन गर्नुपर्ने, त्यसलाई केही संशोधन गर्नु पर्ने त्यसलाई केही समयसापेक्ष बनाउनुपर्ने, टड्कारो आवश्यकता भने निश्चित रुपमा भएको छ । त्यो संघीय संसदमा ओझेलमा परेको छैन । हामी समितिमा पनि यो विषयमा छलफल गरिरहेका छौं र मन्त्रालयले पनि केही तयारी गरिरहेको छ भन्ने कुरा जानकारीमा छ र संसदभित्र पनि सहकारीका विषयमा कानूनी हिसावले अप्ठ्यारा परेका ठाउँमा सहजता दिनुपर्छ । सहकारी संस्थाहरुलाई कानूनी हिसावले बन्देज गरिनुहुँदैन । तिनलाई उपयुक्त ढंगले चल्न दिनुपर्छ । त्यसका लागि कहाँ कहाँ कानुनी अप्ठ्यारा जटिलताहरु छन्, त्यसलाई विधिपूर्वक चल्नका लागि कानूनी सहायता प्रदान गर्नुपर्छ भन्ने विषयमा छलफल भएको छ ।
संविधानले सुनिश्चित गरेको सहकारीको भूमिका कार्यान्वयनको अवस्था कस्तो पाउनुभएको छ ?
अहिले समस्या कहाँनेर छ भने संघ, प्रदेश र स्थानीय तीन तहमा सहकारीलाई विभाजन गरिएको छ । स्थानीय तह र प्रदेशले पनि सहकारी ऐन, कार्यविधिहरु बनाउन पाउने कानुनी व्यवस्था छ । यसले केही अप्ठ्याराहरु सहकारी क्षेत्रमा पारेको छ । स्वभाविक रुपमा तीनै तहका सरकारहरुलाई एक ढंगको तलदेखि माथिसम्म सहज हुनेगरी कानुनी सरलताहरु बनाउनुपर्ने अवस्थामा केही जटिलताहरु सृजना गरेको छ । हामी संविधान जारी गरेको पाँचौ बर्ष पुरा भई छैटौं बर्षमा प्रवेश गरिरहँदा यो सन्दर्भमा नेपालको संविधान २०७२ अनुसार सहकारी क्षेत्रले पाउनुपर्ने, सहकारी हाम्रो मुलकको अर्थतन्त्रका तीनवटा खम्बामध्ये सहकारी पनि हो भनिरहँदा सहकारीलाई संविधानत अर्थतन्त्रको एउटा पिलर को रुपमा सुनिश्चित गरियो, व्यवहारत कानुनमा त्यो ढंगका फराकिला बाटाहरु चाँहि दिइएको छैन । त्यसले गर्दा यी तीन तहकै सहकारीहरुका लागि सबै तहका हिसावबाट हेरिएको छैन ।
सहकारीमा हामी भन्न सक्छौ,अव कस्ता सहकारी समुदायमा आधारित, सदस्य केन्द्रीत, सहकारीका सिद्धान्त, मूल्य मान्यताभित्र चल्नुपर्ने केही मापदण्डहरु बनाऔं र ती मापदण्डहरु विगतमा थिए त्यसमा केही अप्ठ्यारो भएको छ । ती चिजहरु बनाएर हामीले सहकारीलाई कानुनी हिसावबाट कहाँ कहाँ असजिलो प¥यो । त्यो हिसावले मिलायर जाने र तीनै तहका सरकारले समन्वय गर्नुपर्ने ऐनको समेत खाँचो हुने भएकोले ऐन निर्माणमा विशेष ध्यान दिनुपर्नेहुन्छ ।
सरकार र सहकारी बीचको सम्बन्ध कस्तो पाउनुहुन्छ ?
अहिले के देखिएको छ भने व्यक्ति पिच्छेका सहकारीका धारणा फरक फरक हुँदै जाने, मन्त्रालयमा पनि एकजना मन्त्री आउने एउटा बुझाई हुने, रजिष्ट्रार एउटा आउने उहाँको एउटा बुझाइ हुने, एउटाको बुझाई एउटा अर्कोको बुझाई अर्को ढंगको हुनुहुँदैन । हामी विधिको शासनको कुरा गर्दैगर्दा हाम्रो मुलुकको सहकारीलाई हेर्ने निश्चित मापदण्ड बनाउने र त्यो फ्रेमभित्र सबै सहकारीलाई अटाउने तर सहकारीलाई व्यक्तिपिच्छे अलग अलग ढंगले, पूर्वाग्रही ढंगले त्यसलाई गलत व्याख्या, अतिरञ्जित तरिकाबाट प्रशंसा त्यो दुईटै कुरा अवाञ्चित हो, राम्रो होइन । त्यसैले गर्दा सहकारी संस्थाहरुलाई उसले गर्ने काम के हो ? कार्यक्षेत्र के हो ? निश्चित परिभाषा गरेर काम गर्न दिनुपर्छ भन्ने मलाई लाग्छ । त्यो नै सहकारीको आजको आवश्यकता हो । तहगत हिसावले अथवा माथिबाट हेर्दापनि भिन्न भिन्न ढंगको व्यक्तिपिच्छेका अलग अलग सोचले राम्रो गर्दैन, यसलाई विधिको शासन भनिदैंन । विधिपूर्वक सहकारीलाई चल्न दिने गरिको हाम्रो जुन मान्यता हो, त्यसमा काँही त्रुटी छ भने त्यो त्रुटीलाई मेटाउनुपर्छ ।
कोभिडपछि सहकारी क्षेत्र कसरी अघि बढ्ला ?
यो कोभिड हामीले कल्पना नगरेको कोरोना भाइरस भन्छौं । यसले हाम्रो मुलुकको सम्पूर्ण क्षेत्रमा असर छोडेको छ । जस्तै सहकारीमा पनि यसले गम्भिर असर पु¥यायो । सहकारीमा नियमित रुपमा गरिने आर्थिक क्रियाकलापहरुमा नराम्रो असर छोडेको छ । सहकारीको आफ्नै जीवन छ । यस जीवनभित्र, आर्थिक बर्ष समाप्त भएको तीन महिनाभित्र हामीले साधारणसभा गर्नुपर्ने, लेखा परिक्षण गर्नुपर्ने, यी सम्पूर्ण कुराहरु प्रभावित भएका छन् । ऋण लगेका सदस्यहरुले नियमित व्याज तिर्न सक्नुभएको छैन । नियमित बचत गर्न आर्थिक समस्या आइपरेको छ । यस्ता थुप्रै अप्ठ्याराहरु देखिएका छन् । अव यो कोभिडले छोडेको अप्ठ्यारोले हाम्रा सहकारीलाई अव आगामी दिनमा कसरी लाने भन्ने नयाँ ढंगको चुनौती थपिएको छ । यो चुनौतीलाई सामना गर्ने प्रभावकारी उपायहरु खाजी अवलम्बन गर्नुपर्ने बेला आएको छ ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य र त्यस अन्तर्गतको सहकारी उपसमितिको संयोजकका रुपमा रहेर सहकारी क्षेत्र प्रवर्द्धनमा यहाँको भूमिका कस्तो छ ?
यस समितिबाट हामीले सहकारीको क्षेत्रको पनि मन्त्रालयसँग छलफल गरिरहेका छौं । अहिलेको समयसन्दर्भ अनुसार मिल्नेगरिको ऐन संशोधन गरौं, सहकारीका क्षेत्रमा देखिएका समस्याहरु के हुन् ती समस्याहरुलाई सरकारको तहबाट वा संसदको तहबाट हामीले के के ऐन कानुनमा सरलता बनाउँदाखेरी हुन्छ वा सरकारले के नीति अख्तियारी गर्नुपर्छ, अनि सहकारीकर्मीहरुका पनि के अप्ठ्याराहरु छन्, यी चिजहरुलाई एउटा टेवलमा छलफल गर्ने परिपाटी सुरु गरेका छौं । मैले समितिमा धेरै सहकारीकर्मीहरुलाई बोलायर छलफल गरेँ साथै मन्त्रालयका अधिकारीज्यूहरु र स्वयं मन्त्रीज्यूहरुसँग पनि यो विषयमा धेरै कुराहरु भैरहेको छ र हामी ऐन, नियमावलीहरुमा देखिएका त्रुटीहरु संशोधनको कुरामा र केही ऐनमा अप्ठ्याराहरु छन् ती अप्ठ्याराहरुलाई तुरुन्तै ऐन संशोधन गरेर फुकाउनुपर्ने विषयमा लागिरहेकै छौं ।
सहकारी सञ्चालन सम्बन्धी जुल गलत ढंगका अवधारणाहरु मानिसले पालेका छन् । सहकारीमा काँही एउटाले बदमासी ग¥यो भने दोष सबै सहकारीलाई लाउने र सहकारी खराव हुन् भनी गीत गाउने मेलो पनि भइरहेको छ । यस्ता चिजहरुलाई निरुत्साहित पार्ने किसिमका गतिविधिहरु अब सरकारले पनि सञ्चालन गर्नुपर्छ । वास्तवमा सहकारी यो हो । ३४÷३५ हजार सहकारीको भीडमा पचास सयले नराम्रो गरे भन्दैमा सबै सहकारी नराम्रै हुन्, खराब हुन् भन्ने प्रबृति जुन छ, यो गलत हो । उदाहरणमा हजारौं जहाज उडेका बेला एउटा जहाज दुर्घटना हुन सक्छ । त्यो दुर्घटना भयो भनेर सबै जहाज खराब हुन् भन्न सकिन्न । लाखौं गाडी कुदेका बेला एउटा गाडी दुर्घटना हुन सक्छ, लाखौ गाडी नै खराब हुन् भन्न सकिन्न । त्यसले गर्दा एकादुई खराब हुँदा सबैलाई एकै हुन् भन्नु गलत हो । यो ढंगको परिपाटी अन्त्य गर्नुपर्छ । सहकारीभित्र जसले खराब गरेका छन्, तिनलाई दण्डको दायरामा ल्याउनुपर्छ । जसले राम्रो काम गरेका छन् तिनलाई उत्साहित पनि बनाउनुपर्छ र हाम्रो मुलुकको सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा महत्वपूर्ण योगदान छ । ग्रामिण भेगसम्म सहकारीसँस्थाको पहूँचलाई बढाउने सबै मान्छेलाई सहकारी अभियानभित्र ल्याउने । एकका लागि सबै र सबैका लागि एक भन्ने सहकारीको पवित्र उद्देश्य छ त्यो उद्देश्यभित्र सबैलाई समाहित गराउने, सहकारीका वास्तविक सिद्धान्त मूल्य मान्यताबाट सहकारीलाई चलाउने र समुदायमा आधारित, सदस्यमा केन्द्रीत हुन्छ भन्ने भावनाका साथ सहकारीलाई चलाउने गरी दुवैतर्फका सञ्चालन गर्ने साथीहरुलाई पनि र यसको नियमन अनुगमन गर्ने ठाउँ यी दुइटै सचेत हुनुपर्छ भन्ने लाग्छ । समितिको ठाउँबाट म प्रयत्नशिल छु ।
नेफ्स्कूनले ३३औं स्थापना दिवसको अवसरमा यहाँलाई संस्थापक अध्यक्ष सम्मान गर्ने घोषणा गरेको छ । यसलाई कसरी लिनुभएको छ ?
नेफ्स्कून र पुरस्कार सम्मान सिफारिस समितिका साथीहरुले मेरो नाम सिफारिस गर्नुभएको रहेछ । मलाई पुरस्कृत गर्ने बेला भएको हो की होइन, मलाई थाहा छैन तर साथीहरुले गर्नुभयो, सिफारिस गर्नुभएकोमा म साथीहरुलाई धन्यवाद दिन्छु । म सञ्चालक भएर ६ बर्ष र महासचिव भएर ९ बर्ष, जम्माजम्मी म १४ बर्ष नेफ्स्कूनमा बसेँ । यी अनुभवहरु हेर्दा खेरी नेफ्स्कून भित्र त्यो वेलामा स्थापनाकाल देखि नेफ्स्कूनलाई लिएर आउने साथीहरु जुन सोच लिएर अगाडि बढ्नुभयो, उहाँहरुलाई सम्मान गर्नुपर्छ भनेर एउटा थालनी ग¥यौं । सायद त्यसैको निरन्तरता स्वरुप संस्थापक अध्यक्ष पुरस्कार भनेर राखेका थियौं, मलाई नेफ्स्कून स्थापना दिवसको दिन म जुम मिटिङ मा जोडिएको थिएँ, मेरो नाम घोषणा भयो । मलाई खुसी लागेको छ । म साथीहरुलाई धन्यवाद दिन्छु । म अहिले सांसद हुँदा पनि सहकारीकर्मी नै हो, तर सहकारीको क्षेत्रमा हामीले सम्मान पुरस्कार गर्दाखेरी सम्मानित संस्थाहरु, पुरस्कृत संस्थाहरुले त्यो पुरस्कारको ओज थामिदिनुपर्छ, अहिले पुरस्कृत ग¥यो भोलि त्यो संस्था कुनै अप्ठ्यारोमा प¥यो वा कुनै विवादमा आइदियो भने त्यो पुरस्कारको ओजचाँहि घट्छ जस्तो मलाई लाग्छ । त्यसले गर्दा म मात्रै होइन, जो सम्मानित हुन्छ, त्यसले सहकारी संस्थाका प्रति आफ्नो उत्तरदायी, जिम्मेवारी पुरा गर्नुपर्छ । कर्मचारी पुरस्कृत हुनुहुन्छ उहाँले सहकारी अभियानका प्रति वा आफ्नो जिम्मेवारी प्रति र जो संस्था पुरस्कृत हुनुहुन्छ उहाँले आफ्नो संस्थाले आफ्नो कार्यक्षेत्र भित्र वा समाजमा दिएको योगदान त्यसलाई नगिर्ने गरी काम गरिदिउँन् भन्ने म चाहन्छु । ताकि पुरस्कार र सम्मान भन्ने चिजको कहिल्यै पनि दुरुपयोग नहोस्, नगर्नुहोस् भन्दछु । यसप्रति पुरस्कृत तथा सम्मानित व्यत्ति संस्था दुवै सचेत हुनुपर्छ । नेफ्स्कूनले निकै ठूलो मात्रामा पुरस्कार सम्मान दिने गर्छ, यसले सहकारी अभियानलाई र अभियन्ताहरुलाई उत्साहित बनाएको छ भन्ने मलाई लाग्दछ ।
सहकारी अभियानका लागि यहाँको सन्देश के छ ?
शुरुमा हामीले नेफ््स्कून समाचार भनेर चलाउँथ्यौं । नेफ्स्कून समाचार आजको सन्दर्भमा सूचना प्रविधिको युगमा विकास भईरहँदा नेफ्स्कूनभित्र यस क्षेत्रका व्यावसायीक कर्मचारीहरुको पनि उपस्थितिले खुसी लागेको छ । तपाईहरुले साकोस आवाज पत्रिका, अनलाइन, यूट्युव, सामाजिक सञ्जाल जुन मार्फत सूचना, समाचार, जानकारी दिइरहनुभएको छ । यसले सहकारीको क्षेत्रमा राम्रा काम गर्नेहरुका लागि पनि प्रोत्साहित गरोस्, सहकारीका क्षेत्रमा कसैको नराम्रो दृष्टि आयो भने पनि त्यसको खण्डन मण्डन र त्यसको उचित जवाफ दिन सकोस् र सहकारी क्षेत्रको प्रवद्र्धन र विकासमा सही सूचना सम्प्रेषण गर्नका लागि साकोस आवाज सफल होस् मेरो शुभकामना छ ।