शनिबार, वैशाख ८
०६:२८

‘सबै जिल्ला र स्थानीय तहमा कृषि सहकारी पुर्याउने योजना छ’

बुधबार, कात्तिक १२
रञ्जनमणि पौड्याल
saccosaawaj

(नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक खेम बहादुर पाठकको सहकारी यात्राले ३ दशकको अविच्छिन्न यात्रा तय गरिसकेको छ । २०२२ साल माघ २ गते आमा बिवारुपा पाठक र पिता रुद्र बहादुर पाठकको माहिलो सन्तानको रुपमा धादिङको ज्वालामुखी गाउँपालिका–७ मा जन्मनुभएका पाठकका ४ दाजुभाई र २ दिदी हुनुहुन्छ । १ छोरा, २ छोरी र श्रीमतीसहितको उहाँको परिवार हाल काठमाडौंको नागार्जुन नगरपालिकामा बस्दै आएको छ । सहकारी अभियन्ता पाठकसँग उहाँको व्यक्तिगत, सहकारी र विशेषतः कृषि सहकारी जीवनका विविध पक्षहरु समेटेर गरिएको इमेल अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छः  सम्पादक)

बाल्यकालका केही स्मरणहरु छन् कि ? 
बाल्यावस्थामा अभिभावक र ठूलाबडाको आज्ञाकारी थिएँ । आर्थिक अबस्था कमजोर थियो । बिद्यालय भन्ने बुझेपछि घरमा आफैले कर गरेर पढाइ दिनुहोस् भन्नुपर्यो । बिद्यालय टाढा थियो । त्यसमाथि घरको काम सकेर धेरै दुःख गरेर जान्नुपर्दथ्यो । बिद्यालयमा शिक्षक मार्फत राम्रो र अनुशासित विद्यार्थी बन्ने प्रेरणा पाएँ । खेलकुद र साँस्कृतिक कार्यक्रममा पे्ररणा पाएर जिल्लामै प्रथम खेलाडी बन्न सफल भएँ । शिक्षाको बिषयमा परिवारमा बुझाइ पनि कम थियो । पढाइ ठिकै थियो तर पढ्ने समय पाउनै गार्हो हुन्थ्यो । 

सहकारी क्षेत्रमा प्रवेश  कहिले र कसरी भयो ? 
अप्रत्यक्ष रुपमा २०४५ सालबाट सहकारी क्षेत्रमा प्रवेश गरेका हुँ । मेरो प्रारम्भकि संस्था साबिकको साना किसान कृषि सहकारी संस्था लि. चैनपुर, धादिङ हो जुन हाल ज्वालामुखी गाउँपालिका वडा नं ७ चैनपुरमा पर्दछ । २०४८ सालदेखि धादिङको चैनपुर साना किसान कृषि सहकारी संस्थामा आबद्ध भए । २०५१ सालमा अध्यक्ष चुनिएँ ।     
ग्रामिण क्षेत्रमा ठुला साहु र ठुला बैंकले नपत्याएको कृषि कर्म गर्न चाहनेले ऋण नपाएर पछि सहयोगी संस्थाको खोजीमा कृषि विकास बैंक धादिङले साना किसान आयोजनाको कोटा ल्याएको थाहा पाएर म सम्पर्कमा पुगेँ । त्यस समय हाम्रो गाउँ पञ्चायत विरोधी गाउँको रुपमा चिनिन्थ्यो । धादिङका तत्कालीन प्रमुख जिल्ला अधिकारीले थाहा नपाउने गरी सदरमुकाममा बसेर गोप्य रुपमा चैनपुरको सर्बे गरेर २०४५ सालमा साना किसान आयोजना स्थापना भयो । २०४५ साल देखि उक्त आयोजनामा सक्रिय संलग्न भएर २०५१ सालमा अगुवाइ गर्न सफल भइयो । आयोजनामा  आबद्ध समूह विकसित रुप बन्यो, पुँजी जम्मा भयो र करिब ४ सय घर आबद्ध भएपछि सहकारीमा रुपान्तरण गरियो । त्यस समयको पञ्चायत प्रशासनको प्रतिरोधका बाबजूद कृषि सहकारी स्थापना गर्न सफल भइयो । 

नेपालको सहकारी अभियानको हालको अवस्था कस्तो पाउनुहुन्छ ? 
नेपालमा सहकारीको संख्यात्मक वृद्धि त भयो तर गुणस्तरमा अपेक्षाकृत सुधार हुन नसकेको तीतो यथार्थ हो । बिषय अनुरुप अझै पनि पुर्ण रुपले काम हुन सकेको छैन । पुँजी र शेयर सदस्यको संख्या ठूलो छ र त्यसलाई व्यवस्थापन गर्न नसकिरहेको अवस्था छ । धेरै संस्था बिषयगत संघमा आबद्ध हुन सकेका छैनन् । धेरै राम्रा कामहरु पनि भएका छन् र केही विकृति पनि छन् । अनुगमन निरीक्षणको अभाव छ । ऐन नियम लागू भएको छ तर संशोधनको  आवश्यकता छ ।

कृषि सहकारी क्षेत्रमा गहिरो अध्ययन अनुसन्धानको कमी छ । यस क्षेत्रमा अनुसन्धानात्मक विकासका लागि के गर्नुपर्छ ?
नेपालमा अनुसन्धान नै हुने गरेको छैन । कमजोर पक्ष नै रिसर्च हो । छुट्टै रिसर्च सेन्टर हुनु पर्छ । सरकारको प्राथमिकतामा नपर्नु र छुट्टै बजेट नहुनु दुर्भाग्यपूर्ण कुरा हो । कृषि र सहकारी अलग अलग बिषय भएकोले मन्त्रालयमा सहकारी मात्र छ । सहकारी मन्त्रालयको प्राथमिकतामा कृषि पर्दैन । त्यस कारण कृषि र सहकारी मन्त्रालय भए कृषि सहकारीलाई सहयोग पुग्ने थियो भन्ने लाग्छ ।

सहकारीमा विगत र अहिले कुन कुन भूमिकामा हुनुहुन्छ ? 
विगतमा
२०५१ देखी १० बर्ष साना किसान कृषि सहकारी संस्था लि. चैनपुर, धादिङको अध्यक्ष
धादिङ कृषि संघको ९ बर्ष अध्यक्ष
जिल्ला सहकारी संघ धादिङको १५ बर्ष उपाध्यक्ष
राष्ट्रिय सहकारी बिकास बोर्डको सञ्चालक सदस्य 
हाल
नेपाल कृषि सहकारी केन्द्रीय संघको संस्थापक अध्यक्ष 
राष्ट्रिय सहकारी महासंघको सञ्चालक (दोस्रो पटक)

सहकारीको विश्व परिवेशसँग हाम्रो अभियानलाई दाज्दाँ हामी कहाँ छौ ?
धेरै जनतालाई सहकारीमा आबद्ध गराउन सफल भएका छौं । संविधानमा मुुलुकको आर्थिक बिकासको एउटा प्रमुख खम्बाको रुपमा सहकारीको नाम लेखाउन सफल भएका छौं । सहकारीसम्बन्धी प्रचार प्रसारको काम पनि राम्रो भएको मान्नुपर्छ । तर तुलनात्मक रुपमा गुणस्तरीय संस्थाहरु बनाउन भने हामीले अझै धेरै काम गर्नुपर्छ । विश्व परिवेशसँग दाँजेर हेर्दा हामीले गुणस्तर, सुशासन र पारदर्शिताका पक्षमा आम सदस्यको विश्वास जित्ने हिसाबले संघ संस्थाहरुलाई काम गर्न सक्ने वातावरण सिर्जन ागर्न बाँकी छ । हामीले हाम्रा धेरै सहकारीहरुलाई विश्व पहिचान प्राप्त बनाउन धेरै कसरत गर्नुपर्छ ।

कोभिडले कृषि सहकारीमा पारेको प्रभाव कस्तो पाउनुभएको छ ? चालु आवको बजेटले स्वास्थ्यसँगै कृषिलाई बिशेष महत्व दिएको छ भने सहकारीमार्फत उत्पादन, भण्डारण, प्रशोधन, बजारिकरण आदि विविध क्षेत्रमा सहकारीको भूमिका खोजी भैरहेको विषयलाई कसरी हेर्नुहुन्छ ? के यसले कृषिमा सहकारीकरणको सम्भावना बढाएको हो ?
कोभिडले कृषि सहकारीमा पुर्याएको असरहरुः

  • मलबीउ समयमा उपलब्ध गराउन नसक्नु  
  • किसानको दुध तथा उत्पादित तरकारी लगायतका वस्तु पर्याप्त मात्रामा बजारमा समयमा पुर्याउन नसक्नु
  • उत्पादनलाई बिक्री गर्न कठिनाइ
  • उत्पादित बस्तुको भण्डारण (कोल्डस्टोर) अभावले धेरै नोक्सानी 
  • सरकारले बनाएको कृषि बजार निजीलाई मात्र भयो उत्पादनमा ढुक्क सँग लाग्न सकिएन 
  • चालु आर्थिक वर्षमा कृषि सहकारीमा कार्यक्रम छ भनिन्छ । तर हाम्रो देशको समस्या कार्यान्वयनको हो । जबसम्म कार्यान्वयनमा आउँदैन तबसम्म प्रतिफल आउँदैन । तर पनि पछिल्लो बजेट “केही गर्न खोज्ने” सहकारी लाई ठिकै छ ।
  • कृषिमा सहकारीकरणको चालु बर्षको नीति तथा कार्यक्रम र बजेटले केही उत्साह पक्कै थपेको छ ।

कोभिड पछि कृषि सहकारीको दिशा, परिवर्तन र सम्भावनाहरु के देख्नुहुन्छ ?
कोरोना पछि विश्वमा खाद्य संकट उत्पन्न हुन सक्छ । त्यसैलाई सुविचार गरेर कृषि मात्र होइन अन्य विषयगत केन्द्रीय सहकारीहरुले पनि सदस्यहरुमार्फत कृषिमा आधुनिकीकरण र व्यावसायिकीकरणतर्फ बेलैमा सोच्नुपर्छ । त्यसका लागि निम्न कामहरुको सम्भावना यथेष्ट देख्छुः

  • उत्पादन बढाउने
  • बाँझो जमिन नराख्ने 
  • सहकारी सदस्हरुलाइ आधुनिक शिल्प सहितको व्यावसायिक कृषक बनाउने
  • बिदेशबाट फर्कनेको सिप प्रयोग गर्ने 
  • युवालाइ कृषिमा लगाउने
  • सहकारीको पुँजी कृषिमा लगाउने
  • प्रशोधन,भण्डारण र बजार विविधिकरण गर्ने
  • ठुलो संख्यामा सम्भावनायुक्त आकर्षक रोजगारी सृजना गर्ने 

सरकारको कृषि सहकारीप्रतिको दृष्टिकोण कस्तो पाउनुभएको छ ?
पछिल्लो नीति तथा कार्यक्रम र बजेटलाई सकारात्मक रुपमै लिनुपर्छ तर चुरो कुरो कार्यान्वयन हो । त्यो हेर्न बाँकी छ ।

सहकारी ऐनमा राखिएको मुख्य कारोबारको विषयमा यहाँको के भनाई छ ? दोहोरो सदस्यता अन्त्यको विषयमा यहाँको राय के छ ?
सहकारीको मुख्य कारोबार र दोहोरो सदस्यताको बिषय ठिक छ जस्तो लाग्छ । बिषय अनुसार काम गर्नुपर्छ । दोहोरो सदस्यताको कुरा पनि त्यही हो । एक व्यक्ति एक स्थानीय तहभित्र एकै प्रकृतिको एक सहकारीमा मात्र सदस्य बस्नु राम्रो हो । 

कृषि सहकारीमा युवा आकर्षण कसरी बढाउन सकिन्छ ?
प्रविधि, सीप, पुँजी र बजारको ग्यारेन्टी हुन सकेमा कृषि सहकारीमा युवा आकर्षण बढ्छ ।

कृषि सहकारी क्षेत्रमा खट्किएको कुरा के हो र अब गरिहाल्नुपर्ने कुराहरु के के हुन् ? 
कृषि सहकारीमा खड्किएका विषयः  

  • प्रबिधिमा सहयोग नहुनु 
  • सुलभ पुँजी सुविधाको अभाव
  • उद्योग खोल्न नीतिमा अवरोध 
  • सहकारी बिमा अभाव  
  • बजार अभाव 
  • प्रमाणीकरण गर्न नपाउनु
  • स्वदेशी उत्पादनलाई प्राथमिकता अभाव 

मथिका समस्याहरुको यथाशक्य र यथोचित सम्बोधन हुन सकेमा राम्रो हुन्छ ।

यस क्षेत्रमा भोगेका केही तीता मीठा अनुुभवहरु ? 
शुरुमा सहकारीको बारेमा जनसमुदायलाई बुझाउन कठिनाइ भोग्नुपर्यो । द्वन्दकालमा सहकारी जोगाउन गार्हो भयो । धेरै साना किसान कृषि सहकारी ध्वस्त भए । कृषि केन्दीय संघबाट सुरु गरेर अहिलेसम्मको अवस्थामा आउन धेरै कठिन भयो । 

विदेश भ्रमणको अनुभव कस्तो रह्यो ?  
सहकारी शिक्षा तालिम, कृषि बजारको ज्ञान, उद्योग अवलोकन, उत्पादनको क्षेत्र र वित्तीय सहकारीका विविध विषयमा अध्ययन र अवलोकनका सिलसिलामा विभिन्न मुलुक भ्रमणको अवसर मिल्यो । 

भावी योजना र लक्ष्यहरु के छन् ?
नेपालको सबै स्थानीय तहमा कृषि सहकारी सञ्जाल बिस्तार गर्ने र साथै ठुला शहमा बजार स्थापना गर्ने योजना छ । हरेक सहकारीमा उत्पादनमुखी सहकारी खेती, हरेक संस्थामा संकलन केन्द्र, हरेक सहकारीमा भण्डारण, हरेक सहकारीमा प्रशोधन केन्द्र, काठमाण्डौ लगायत मुख्य शहरहरुमा बजार स्थापना, सबै जिल्ला र स्थानीय तहमा कृषि सहकारी पुर्याउने योजना छ ।

सहकारीमा आर्दश व्यक्ति वा गुरु कसलाई मान्नुहुन्छ ?
केशब बडाल
दिपक प्रकाश बाँस्कोटा

सहकारीमा हाल मनपरेका अभियानकर्मी जसले अभियानलाई हाँक्न सक्ने क्षमता राख्नुहुन्छ ?
राम चन्द्र उप्रेती 

सहकारी क्षेत्रमा गरेको योगदान कसरी स्मरण गर्नुहुन्छ ?  

  •  मैले नेतृत्व गर्दा २ सय साना किसान कृषि सहकारी संस्था थिए हाल ९ सय पुगेका छन् । 
  • धादिङमा मात्र एक जिल्ला संघ थियो हाल ६० वटा पुगेको छ ।  
  • कृषि सहकारीमा जम्मा सदस्य संख्या ३० हजार थियो हाल ११ लाख पुगेको छ ।
  • ११ करोड पुँजीबाट हाल ६० अर्ब पुगेको छ ।
  • धेरै उद्योग स्थापना भएका छन् ।    
  • राउटे, बनकरीया, मुसहर, डुम र चमार जस्ता अल्पसंख्यक एवम् पिछडिएका जातिहरु कृषि सहकारीमा आबद्ध भएका छन् । 
  • देशभरका कृषि सहकारीहरुमा आबद्ध महिला सदस्यहरुको संख्या ८० प्रतिशत छ ।  

नेफ्स्कूनलाई केही सुझाव छ कि ?
नेपालको सहकारी इतिहासमा नेफ्स्कून प्रभावकारी कामको आधारमा प्रभावशाली केन्द्रीय निकाय बन्न सफल भएको छ । वास्तवमा भन्ने हो भने नेपालमा सहकारीलाई चिनाउने काम बचत तथा ऋण सहकारी संघ संस्थाहरुले गरेका छन् । सहकारी क्षेत्रको प्रभाव बढाउन यसले विगत लामो समयदेखि आफ्ना सदस्य संघ संस्थालाई विधि विधान अनुसार सञ्चालनमा सहयोग गरेका कारण लोकप्रिय पनि भएको छ । अरु सहकारी संघ संस्थाले पनि अनुसरण गर्न लायक छ, यही हिसाबले अगाडि बढ्न सुझाब दिन चाहन्छु । नेपाल कृषि सहकारी केन्द्रीय संघ नेफ्स्कून भन्दा धेरै कान्छो संघ हो । २०६४ सालमा स्थापित यो संघले नेफ्स्कूनसँग धेरै कुरा सिकिरहेको छ ।  

सबैको आस्थाको केन्द्र बनाउन सकियो भने सहकारी अभियानको प्रेरणाको श्रोत बनिरहन सक्छ नेफ्स्कून । इतिहासबाट प्रेरणा लिएर अघि बढोस् भन्ने मेरो धारणा हो । व्यवस्थापन पक्ष बलियो बनाउन सक्नु पनि एउटा सकारात्मक पक्ष हो ।  व्यबस्थापकीय नेतृत्वको दिगोपनामा बिशेष ध्यान पुर्याउनुपर्छ नेफ्स्कूनले । छुट्टै बचत तथा ऋण सहकारी ऐनका बिषयमा जुन बहसपैरवी गरिरहेको छ नेफ्स्कूनले त्यसलाई थप सघन बनाउँदै लानुपर्छ । नेफ्स्कूनको सदस्य नबनेका वित्तीय सहकारीले बचत तथा ऋण सहकारीप्रति जुन अविश्वासको वातावरण बनाएका छन् यसलाई चिर्नु आवश्यक छ । देश विदेशमा सहकारी अभियानलाई चिनाउन सफल विगतदेखि हालसम्मका नेफ्स्कून नेतृत्व, व्यवस्थापनका साथै यसमा आबद्ध संघ संस्था र उनीहरुका सदस्यलाई समेत धन्यवाद दिन चाहन्छु । 

saccosaawaj media

ऋण संघ ऐन (Credit Union Act) को आवश्यकता

सोमबार, साउन ५

निवर्तमान अध्यक्ष, नेफ्स्कून

saccosaawaj media

सहकारी मर्जरका लागि उत्प्रेरित नभए सरकार दबाब दिन बाध्य हुने

सोमबार, साउन ५

डा. टोकराज पाण्डे रजिष्ट्रार, सहकारी विभाग

saccosaawaj media

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५

दिगो विकास लक्ष्य र सहकारी