शुक्रबार, चैत्र १६
०५:०१

सीप सिकौं आत्मनिर्भर बनौं : सफल उद्यमी पारुको जीवनकथा

बुधबार, कात्तिक ५
राधा पौडेल
saccosaawaj

पार्वती खड्का श्रेष्ठ

उद्यमी

भनिन्छ परिश्रमको फल मीठो हुन्छ । नेपालको कुल जनसंख्यामध्ये आधा आकाश ढाकेका महिलाहरु संख्यात्मक रुपमा पुरुषको तुलनामा बढी छन् । तर घरायसी काम र निर्वाहमुखी कृषि क्षेत्रमा आबद्ध महिलाहरुको ग्रामिण दिनचर्या पुरुषको तुलनामा अत्यन्त कष्टपूर्ण छ । ससानो उद्यम व्यवसाय र घरेलु सीपमा आश्रित भएर आयआर्जनको बाटो रोजिरहेका महिलाहरु पनि पछिल्लो समय कोभिड महामारीको लामो संकटमा गुज्रिनुपरेको छ । न्यून आर्थिक जिवनस्तर गुजार्न बाध्य महिलाहरुलाई आर्थिक सशक्तिकरण मार्फत जीवन यापनका लागि सहज आर्थिक बातावरण निर्माण गर्दै आइरहेको सहकारी क्षेत्र पछिल्लो समय ग्रामीण स्तरमा पनि सशक्त बन्दै गइरहेको छ । न्यून आर्थिक अवस्थाकै कारण शैक्षिक यात्राको गन्तव्य टुङ्गिएका र सानो उमेरमै विवाह बन्धनमा बाँधिएका धेरै महिला दिदीबहिनीहरुलाई उद्यमशीलता विकास मार्फत आर्थिक सशक्तिकरणमा लाग्न सहकारी क्षेत्रले ठूलो योगदान पुर्याउँदै आइरहेको छ । सहकारीको सदस्य बनेर सहकारीमा ससानो बचतको शुरुवात गर्नुभएका महिला दिदीबहिनीहरु आज सहकारीमार्फत प्रदान गरिने तथा अन्य सामाजिक संघ संस्थाबाट प्रदान हुने सीप तालिमहरुमा सहभागी बनेर आयआर्जनका नविन बाटाहरु पहिल्याउन सक्नुभएको छ ।

साकोस आवाजले सहकारीको सहयोग लिएर उद्यमशीलता विकास सँगै ससानो आय आर्जनको क्षेत्रमा लाग्नुभएका व्यक्तिहरुको प्रेरणामुलक जीवनकथालाई समेट्ने गर्दछौं । साकोस आवाजमा समेटिएका उद्यमी महिलाहरुको जीवनकथा आर्थिक जीवनस्तर उकास्न प्रेरणादायी बन्न सकुन् भन्ने साकोस आवाजको चाहना हो । तपाईहरुपनि आफ्नो गाउँ समाजका प्रेरणादायी जीवनकथाहरू बारे हामीलाई जानकारी दिनुहोस् । उद्यमशीलता विकास र महिलाहरूको आर्थिक सशक्तिकरण निर्माणमा उदाहरणीय प्रेरणादायी जीवनकथाहरूले आर्थिक अभाव र अन्यौलपूर्ण जीवन यात्रामा हराइरहनुभएका केही व्यक्तिहरूलाई प्रेरणा,  उत्साह र हौसला मिलोस् भन्ने साकोस आवाजको पहलमा यहाँहरुको साथ सहयोगको अपेक्षा गर्दछौं । 

त्यस्तै कुराकानीमा आधारित रहेर तयार पारिएको प्रेरणादायी जीवनकथाको सानो अंश आज यहाँहरूसमक्ष प्रस्तुत गर्ने जमर्को गरिएको छ । सिन्धुली जिल्लामा जन्मिनुभएकी २८ बर्षिय पार्वती खड्का श्रेष्ठ (पारु श्रेष्ठ)  को आजभन्दा ७ बर्ष अघि विहे भयो । अन्तरजातीय विवाह गरेकै कारण उहाँलाई दुई बर्षसम्म माइती र घर दुवैतर्फ प्रवेशको वातावरण बनेन । विवाह गरेर पोखरा गएको जोडिले ससानो काम खोजेरै पोखरामै २ बर्ष गुजारा गर्यो । २०७२ बैशाख १२ गतेको भुकम्पपछि उहाँ श्रीमान सहित जन्मथलो सिन्धुली फर्कनुभयो ।  उहाँका श्रीमानको घर भने महोत्तरीको बर्दिबास हो, श्रीमान नारद कुमार श्रेष्ठले सिन्धुलीमै आर्ट पसल खोल्नुभयो । पोखरामा बस्दा आर्ट पसलको कार्यअनुभवले उहाँलाई त्यससम्बन्धी धेरै कुराको ज्ञान भयो । श्रीमानको पसलमा दिनभर बस्दा स सानो कमाईले दैनिक गुजार जेनतेन टर्र्दै गयो । त्यतिबेलै सिन्धुलीस्थित मिलिजुली बचत तथा ऋण सहकारी संस्थाका बजार प्रबर्द्धकहरूको आग्रहमा पार्वतीले श्रीमान सँग दैनिक सय रुपैंया मागेर नियमित बचतको थालनी गर्नुभयो, केही समयपछि संस्थाको सदस्यता पनि लिनुभयो । 

विद्यालयमा कक्षा ८ मा पढ्दा पढ्दै पढाइ छोडेर सिलाई कटाई सीप सिक्नुभएकी पार्वतीले केही बर्ष टेलर्स पनि खोल्नुभएको थियो । १६ बर्षको उमेरमै आफ्नै खुट्टामा उभिने जमर्को गर्नुभएकी पार्वती विवाहपछिका शुरुका केही बर्ष भने त्यतिकै अलमलिनुभयो । घरेलु उद्योगबाट सिन्धुलीमा डल (खेलौना) बनाउने सीप विकास तालिम प्रदान गरेको अवसरमा पार्वती उक्त तालिममा सहभागी हुनुभयो । तर घरेलुबाट प्राप्त सीपबाट उहाँले आफूमा निखारता ल्याउन सक्नुभएन । उहाँको प्रयास जारी रह्यो । १ महिना काठमाडौं बसेर काठमाडौं ट्रेनिङ सेन्टरबाट डल बनाउने सीप सिक्न उहाँले करिब एक लाख लगानी गर्नुभयो । आज पार्वतीको त्यो लगानीले उहाँलाई सफल उद्यमी सावित गरेको छ । निरन्तरको अथक प्रयास र लगानीको जोखिम मोलेरै सिन्धुलीमा डल पसल खोल्नुभयो । सिन्धुलीको धुरा बजारमा पि एन लेडिज टेलर्स एण्ड डल हाउस ट्रेनिङ सेन्टर सञ्चालन गर्नुभएको छ । सीप सिकौं आत्मनिर्भर बनौं उहाँको पसलको बोर्डमा राखिएको यो नाराले  पनि आर्थिक आत्मनिर्भरताका लागि सीपको महत्व उजागर गरेको प्रष्ट हुन्छ । 

 

आफैले बनाएका डल विक्रिको कमाई भन्दा बढी त उहाँले तालिम दिएरै कमाउनुहुन्छ । अहिले सिन्धुलीमा एक मात्र डल पसल र प्रशिक्षकको परिचय बनाउनुभएकी पार्वतीका श्रीमानको पनि सिन्धुलीमा आर्ट पसल छ । सहकारीमा दैनिक २०० देखि ५०० सम्म बचत गर्नुृहुन्छ । उहाँको मासिक ५० हजार भन्दा बढी कमाइ छ । तालिम राम्रो चलेको समयमा कमाई राम्रै हुन्छ । ३०/४० प्रकारका डल बनाउने सीप छ उहाँमा । त्यति मात्र होइन युटुवबाटै सिकेर पनि उहाँले विभिन्न प्रकारका झुमर, कुसन, उनको फूल, फूलदानी बनाउनुहुन्छ । विभिन्न साइज र डिजाइनका रंगिन कलात्मक डलहरु उहाँको पसलमा पाइन्छ । रङहरुको संयोजनसँगै डलको बाह्य सजावटमा पनि उद्यमी पार्वती उत्तिकै ध्यान दिनुहुन्छ । राम्रो मा नै मानिसहरुको आँखा जान्छ । बच्चाहरुको खेलौना र घरको सोकेसहरुमा सजाउनको लागि पनि राम्रा र आकर्षक डलहरुको माग त्यत्तिकै हुने उहाँ बताउनुहुन्छ । डल बनाउने कच्चा पदार्थ महङ्गो छ । सिक्न आउनेहरुले कच्चा पदार्थ आफैं किन्नुपर्ने हुन्छ । उद्यमी पार्वतीले आफूले सिकेको भन्दा निकै सस्तोमा सीप सिकाउनुहुन्छ । शुल्क लिएर भन्दा पनि उद्यमी खड्काले विभिन्न समयमा डल तथा कुसन बनाउने निशुल्क तालिमहरु पनि सञ्चालन गर्दै आउनुभएको छ । १०० जनाभन्दा बढीलाई उहाँले डल र कुसन बनाउने सीप सिकाउनुभएको छ । हो आज पार्वतीले ससानो बचतको फाइदा र सफल जीवनका लागि जिवनोपयोगी सीपको महत्व नवुझेको भए आज पनि दैनिक खर्च र नियमित ससानो बचतका लागि श्रीमानको कमाई पर्खनुपर्थ्यो । 

उहाँको सफल जीवनको सारथी बन्यो, मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड । व्यवसाय विस्तारका लागि मिलिजुलीबाट उहाँले थोरै थोरै गर्दै ३ लाख ऋण लिनुभयो । पछि नेफ्स्कूनको सहजीकरणमा युवा स्वरोजगार कोषमार्फत प्रवाह भएको ऋण २ लाख लिनुभयो । सहकारीको असल ऋणिको रुपमा समेत परिचित पार्वतीले नियमित किस्ता र व्याज बुझाउँदै आउनुभएको छ भने युवा स्वरोजगार कोष मार्फत लिएको ऋणको पनि नियमित किस्ता बुझाइरहनुभएको छ । मिलिजुली सहकारीको साथ सहयोगले नै अगाडि बढ्ने प्रेरणा प्राप्त भएको उहाँको ठम्याई छ । जिल्ला बचत संघ सिन्धुली एवम् मिलिजुली साकोस सिन्धुलीकी अध्यक्ष विमला श्रेष्ठ भन्नुहुन्छ, “ पार्वती खड्का श्रेष्ठ सहकारीको एक असल सदस्य र असल ऋणि हुनुहुन्छ, सहकारीबाट लगेको सानो ऋणलगानी बाट आज सफल उद्यमी बन्नुभएको छ ।” 

कोरोनाका कारण केही समय प्रभावित बनेपनि पछिल्लो समय भने उहाँको व्यवसायमा सुधार आएको छ । अहिले श्रीमान पनि सहकारीको सदस्य बन्नुभएको छ । आफ्नो र श्रीमानको कमाइबाटै ४ बर्षको अवधिमा उद्यमी श्रेष्ठ (खड्का) ले सिन्धुलीमै ८ धुर घडेरी किनेर लकडाउनको समयमा घर निर्माण गरिसक्नुभएको छ । घर परिवार र माइतीमा पनि उहाँको राम्रो सम्बन्ध छ अहिले । माइतीमा आमालाई परेको सम्पूर्ण सहयोग पार्वती आफैंले गर्नुहुन्छ भने घर बनेपछि सासु ससुरालाई पनि आफूसँगै राख्नुभएको छ । २८ बर्षिय उद्यमी पार्वती का श्रीमान ३३ बर्षको हुनुहुन्छ । उमेरमै आफ्नै पौरखको कमाइबाट घरबास जोड्न सफल दम्पती अब भने सन्ततीको चाहानामा हुनुहुन्छ । 

सानो उमेरमै सफल उद्यमीको परिचय बनाउनुभएकी पार्वती सम्पूर्ण महिला दिदीबहिनीहरुलाई सीप सिकेर आत्मनिर्भर बन्न कुनै पनि समय ढिलो नहुने सन्देश दिनुहुन्छ । उहाँ ले जागिर भन्दा पनि आफ्नो सीप र उद्यमको कमाई बढी सन्तोषपूर्ण रहेको अनुभव सुनाउनुभयो । कोभिड महामारीको चपेटामा विश्वकै अर्थतन्त्र प्रभावित भइरहेको र नेपाल लगायत विश्वकै हजारौ लाखौं मानिसहरुको रोजगारी खोसिएको अवस्थामा ससानो सीप, उद्यम र स्वदेशकै कमाइ सर्बश्रेष्ठ रहेको अनुभव उहाँले सुनाउनुभयो । तपाईंले सीप विकासका अन्य बैकल्पिक बाटाहरु के देख्नुभएको छ भन्ने प्रश्नमा उद्यमी पार्वती भन्नुहुन्छ, धैर्यता र लगनशीलताका साथ सीप विकासमा जोड दिनुस् र कर्मक्षेत्रमा जुट्नुहोस् जुनसुकै कामबाट पनि तपाई ढिलो चाँडो अवश्य सफल बन्नुहुन्छ । म कहाँ डल बनाउने तालिम लिन आउने सबै दिदीबहिनीहरुलाई सँधै भन्ने गर्छु, यही काम गर्नुपर्छ भन्ने छैन । जुनकुनै काममा पनि निरन्तर मेहनत गर्नेहो भने अबश्य अगाडि बढ्न सकिन्छ । उहाँको  सफलताको साथ नै अथक मेहनत र निरन्तरको परिश्रम हो । 

saccosaawaj media

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

सोमबार, साउन ५

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

saccosaawaj media

अब्बल साकोस नेतृ सीमा

आईतबार, साउन २५

अब्बल साकोस नेतृ सीमा

saccosaawaj media

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’

आईतबार, साउन २५

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’