वार्सा । युरापेली मुलुक पोल्याण्डमा सिस्टर सोसाइटी गठन भएको छ । उक्त सोसाइटी यो वर्ष गठन गरिएको पहिलो सिस्टर सोसाइटी हो । पोल्याण्ड सिस्टर सोसाइटी युरोपको चौथो सिस्टर सोसाइटी हो । योसँगै सिस्टर सोसाइटी गठन भएका मुलुकहरुको संख्या अब २८ पुगेको छ । भर्चुअल रुपमा हिजो सम्पन्न उक्त कार्यक्रममा विश्वभरका बचत तथा ऋण सहकारीहरुको एक मात्र छाता संगठन–विश्व ऋण परिषद् (ओकू) का अध्यक्ष राफेल मातुसियाकको पनि उपस्थिति थियो ।
ओकूद्वारा सन् २००९ मा गठन गरिएको विश्वका बचत ऋण सहकारीकर्मी महिलाहरुको नेतृत्व सञ्जाल Global Women's Leadership Network जीडब्लुएलएन व्यावसायिक र व्यक्तिगत अनुभवहरु साटासाट गर्ने, सिकाइबुझाइ आदानप्रदान गर्ने साझा मञ्च हो । जीडब्लुएलएन अन्तर्गत स्थानीय रुपमा गठन हुने समूहलाई सिस्टर सोसाइटी वा च्याप्टर नामाकरण गर्ने प्रचलन छ । जीडब्लुएलएन मार्फत महिलाहरुलाई अवसर र स्रोतमाथिको पहुँच वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिन्छ । यस किसिमका महिला शसक्तिकरणका बहुआयामिक गतिविधिले व्यक्तिगत रुपमा महिला सहभागिता, सीप र सक्षमताका साथै आबद्ध वित्तीय सहकारी र समुदायमा पनि लैङ्गिक सन्तुलनसँगै सकारात्मक असर पार्ने उक्त साझा मञ्चको उद्देश्य रहेको छ ।
नेपालमा पहिलो पटक २०७४ साल असार २० गते नेफ्स्कून सिस्टर सोसाइटी गठन भएको थियो । उक्त कार्यक्रममा एशियाली ऋण महासंघ आकूकी प्रमुख कार्यकारी अधिकृत लेनी सहभागि हुनुहुन्थ्यो । त्यसयता नेपालमा थुप्रै सिस्टर सोसाइटी गठन भएका छन् ।