शनिबार, वैशाख ८
०१:२९

बचत गर्ने जापानी तरिका 

शुक्रबार, असोज ३०
saccosaawaj

भीम गुरुङ
प्रमुख कार्यकारी अधिकृत, पोखरा रोयल साकोस, कास्की

 

करिब ४५ दिनको जापान बसाईमा मैले भोगेका र सिकेका धेरै कुराहरु मध्ये जापानिजहरु समयको पालना र

व्यक्तिगत जीवनमा आईपर्ने वित्तीय व्यवस्थापनलाई कसरी सुक्ष्म ढंगबाट योजना बनाउँछन् भन्ने कुरा अहिले पनि

म झलझली सम्झिरहन्छु ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको सिफारिस र अन्तर्राष्ट्रिय सहकारी महासंघको आयोजनामा मैले सन् २००९ को डिसेम्बर ६ देखि सन् २०१० को अप्रिल १७ तारिखसम्म 4th ICA/Japan training course on Enhancement of Farmers Income and poverty reduction through Cooperatives शिर्षकमा जीवनकै एउटा महत्वपूर्ण तालिममा सहभागी हुने अवसर प्राप्त गरेको थिएँ । तालिम अवधिभर संगालेको भारत, ईरान र जापानको विभिन्न शहरको सफल सहकारीको अनुभव र त्यहाँका जीवनशैली अहिले पनि मेरो मानस्पटलमा ताजै रहेर बसेको छ । खासगरि करिब ४५ दिनको जापान बसाईमा मैले भोगेका र सिकेका धेरै कुराहरु मध्ये जापानिजहरु समयको पालना र व्यक्तिगत जीवनमा आईपर्ने वित्तीय व्यवस्थापनलाई कसरी सुक्ष्म ढंगबाट योजना बनाउँछन् भन्ने कुरा अहिले पनि म झलझली सम्झिरहन्छु । तालिमको दौरानमा जापानिज प्रशिक्षकहरुबाट उनीहरुको बचत गर्ने सूत्रहरुको बारेमा व्यक्त बिचारहरु यो महामारीको विषम परिस्थितिमा एउटा मार्गदर्शन हुने आशाका साथ एक दशक अगाडिको यादहरुलाई पुनर्ताजगी गर्न यो लेख तयार गरेको हुँ । 

जापान, यो शब्दले सबैलाई मोहनी लगाउँछ । हामीले सानो हुँदा पढेको सुनेको सूर्योदयको देश जापान । एकपटक जापान जान पाए हुन्थ्यो, जापानमा भएको विकास हेर्न पाए हुन्थ्यो, जो कसैलाई लाग्न सक्छ । तर यो विकास र सफलता जादु गरे जस्तो चाँहि अवस्य भएको होइन, बरु यो उनीहरुको निरन्तर प्रयास र एकताको परिणाम हो, काम गर्ने फरक तरिका हो । उनीहरु संसारमा अरुले नगरेको प्रयोग र नयाँ कार्यको थालनी गर्न आतुर छन्, अझ कसरी मानव जीवनस्तर सुधार्ने, कसरी उत्पादकत्व र गुणस्तर दिगो रुपमा कायम गरिराख्ने र आर्थिक वृद्धिदर लाई कायम गरि राख्ने भन्नेमा चिन्तित देखिन्छ । यो विषय सहकारीमा लागेको सहकारी अभियानकर्ताहरुमा पनि उत्तिकै रहेको पाईन्छ, उनीहरुमा कसरी विश्व सहकारी माझ संधै सफलताको कथा सुनाईरहुँ भन्ने हुटहुटी भएको पाईयो  । 

विश्वयुद्धबाट ध्वस्त जापानले करिब ३० वर्षमा विश्वसामु आफु एउटा विकसित एवं आर्थिक हिसाबले शक्तिशाली राष्ट्रको रुपमा पुन परिचय दिन सफल भयो । यो जापानी जनताको मिहेनत, वित्तीय अनुशासनको पालना, बचत गर्ने अचम्मको बानी र संस्थागत हिसाबले काम गर्ने संस्कृति एवं मिलेर काम गर्ने शैलीको धोतक हो भन्दा अत्यूक्ती हुदैन । कोभिड १९ को महामारीका कारण धेरै मानिसहरु वित्तीय रुपमा अपठ्यारो अवस्थामा रहेका छन् यस्तो बेलामा पनि हामीले आफनो परिवार तथा संस्थाको वित्तीय अवस्थालाई सुधार गर्न जापानिज अनुभव बुझ्नु समय सान्दर्भिक लागेर यो विषय उठान गरिएको हो । 

जापानमा सहकारीको प्रारम्भ मेईजीकाल (सन् १८६८–१९१२) भन्दा अघि किसान अगुवाहरुको सक्रियतामा खुलेको ऋण संघहरुबाट भएको हो । सन् १८६८ तिर शुरु भएको आधुनिकीकरण एवं औधोगिकीकरणका कारण जापानले विश्व समुदायका अन्य राष्ट्रसंग व्यापारको ढोका खुला गरे पश्चात साना तथा परम्परागत रुपमा सञ्चालित व्यवसायहरु धरापमा पर्न थाले, जसै उनीहरुमा सहकारी संगठनको आवश्यकता महसुस भयो र यसलार्ई औपचारिकता प्रदान गर्न सरकारले सन् १९०० मा मात्र विधिवत रुपमा सहकारी संस्था कानून लागु गर्यो । बचत गर्न बचत ऋण सहकारी नै चाहिन्छ भन्ने होईन, न त ठूलठूला बैकहरु नै । यो उदाहरण जापानी जनताहरुमा सजिलै पाउन सकिन्छ । तर यो लेखमा जापानी सहकारीमा आवद्ध अभियानकर्मीहरुको अनुभवमा उनीहरुमा बचत गर्ने भावना कसरि बिकास भयो र त्यो तरिका के रहेछ भन्ने विषयमा चर्चा गर्न खोजेको छु । 

हामीेले केहि वर्ष अगाडि आम्दानी —खर्च =बचत भन्ने सिकेका थियौं, तर केहि समय पश्चात त्यो सोंच र परिभाषामा फरकता आयो, अर्थात आम्दानी —बचत =खर्च भन्ने तरिका सिक्दै र सिकाउदै आएका छौं । बास्तवमा तपाई जति कमाउनु हुन्छ, कमाए पश्चात खर्च पनि हुन्छ र बाँकी भएको पैसा मध्ये केहि भाग बैक वा सहकारीमा जम्मा गर्ने परम्परागत चलन हो । तर आधुनिकता संगै धेरै बचत संस्थाहरुको आगमन र हाम्रो सोंचाईमा आएको फरकपनले हामीेले कमाएको केहि भाग शुरुमै बचतको लागि छुट्टयाउने र बाँकी भएको रकमलाई योजनाबद्ध ढंगले आवश्यकताको आधारमा खर्च गर्न सकियो भने मात्रै हामीले भविश्यको लागि बचत गर्न सक्छौं जसले हामीलाई समृद्धिको बाटो तर्फ अग्रसर गराउँछ पनि । अझ हामीले बचत ऋण सहकारीको अभियानमा त दशकौंदेखि यसलाई नियमित बचत भनि बचतको एउटा महत्वपूर्ण प्रडक्टको रुपमा बिकास गरिरहेका छौं ।
 
सन् १९२६ मा जर्ज क्लासनले एउटा किताब लेखे:"The Richest Man in Babylon" बेबीलोनका सबैभन्दा धनी मान्छे, जो अहिलेसम्मको बढी बिक्री हुने किताबमा समेत पर्दछ । बेबीलोन प्राचीन समयमा सबैभन्दा पहिला धनी भएको शहर हो । यो पुस्तकले कसरि बचत गर्ने वा धनी बन्ने कुरा सिकाएको छ । त्यो पुस्तकको खास सन्देश के छ भने कमाउनु मात्र सवाल होईन सवाल त बचाउनु हो भनेका छन् । पुस्तकमा हरेक मानिसले आफ्नो आम्दानीको १० प्रतिशत बचत गर्नुपर्ने, आम्दानी नहुनेले आफ्नो कूल खर्चमा १० प्रतिशत घटाउने र त्यस्तो बचतलाई घर जग्गा, शेयर, लामो समयको निक्षेप वा त्यस्तै निस्कृय आम्दानी आउने क्षेत्रमा लगानी गर्न सुझाएका छन् त्यसो भयो भने माात्रै मानिसले जीवनमा धनी हुने सपना पुरा गर्न सक्ने र ऋणबाट मुक्त हुने कुरा बताएका छन् । कुरा हामीले सुनेकै, गरेकै वा भोगेकै जस्तो हुनसक्छ, वा सामान्य लाग्न पनि सक्छ तर परिवर्तनको लागि सानै कुरा वा विषय नै काफी हुदो रहेछ, जसको लागि बचत गर्ने जापानी तरिका के रहेछ भन्ने बुझौं है त । 

१०० वर्ष अगाडि जापान धनी देश थिएन । उनीहरुको त्यो बेलाको अवस्था अहिलेको नेपाल भन्दा कैयौ गुणा नाजुक अवस्थामा थियो । कृषि पेशामा आधारित उनीहरुको आर्थिक अवस्था ज्यादै दयनीय रहेको थियो । अहिले जापान विश्वको विकसित राष्ट्रहरुको अग्रभागमा छन् । यो विकास र प्रगति त्यतो सजिलो र हामीले सुन्ने र भन्ने गरेको दन्त्य कथा जस्तो भने छैन र होईन, तर हामीलाई कथा जस्तै लाग्छ । 

सन् १९०४ मा एकजना हानी मोतोको नाम गरेकि पहिलो जापानिज महिला पत्रकारले ककेबो KAKEIBO नामको एउटा लेजर तयार गरेको थिायो । यसको परिचय एउटा नोट बुक र कलमले दिन्छ । पछि यो पुस्तक फुमिका चिबा नामक लेखकले पुस्तकको रुपमा बाहिर ल्याएका छन् । पुस्तकमा खासगरि घरेलु महिलाहरुले कसरि बचत गर्ने, कसरि आफ्नो परिवारको बजेट तयार गर्ने, खर्च कसरि घटाउन सकिन्छ, कसरि मानिसको वित्तीय लक्ष्य पुरा गर्ने भन्नका लागि एउटा घरेलु खातापाता राख्ने तरिका सिकाएको थियो । ककेबोे खास गरि चारवटा उद्धेश्यबाट तयार गरिएको छ । तपाईसंग कति पैसा छ ? तपाई कति बचत गर्न चाहानुहन्छ ? तपाई कति खर्च गर्नुहुन्छ र तपाई अझ राम्रो तरिकासंग कसरि बचत गर्न सक्नुहुन्छ ? यो लेजरमा एकातिर आफ्नो अनुमानित मासिक खर्च र अर्को भागतिर अनुमानित आम्दानी लेख्ने तरिका सिकाईएको छ । यो अत्यन्त सामान्य र सबै मानिसले गर्न सक्ने सजिलो तरिका पनि हो । यो खातामा आफ्नो विवरण राख्ने वित्तिकै खर्च बढी छ कि, आम्दानी भन्ने थाहा पाईन्छ ।  यदि कमाउने भन्दा बढी खर्च रहेछ भने जिन्दगी ऋणात्मक हुँदै गएको छ भन्ने सहजै बुझ्न सकिन्छ । यदि खाता पाता बराबर जस्तो रहेछ भने पनि धनी कहिल्यै हुदैन है भनेर बुझ्न सकिन्छ । जापानिजहरुको बुझाई आफ्नो वित्तीय विवरण ककेबोमा राखे पश्चात एक रुपैंया भने पनि आम्दनीको महलमा बढी हुनुपर्छ नभए बढी बनाउने लक्ष्यतर्फ अग्रसर हुनुपर्छ भन्ने सिकाउने हो । यो अभियान उनीहरुले जापानभर नै सञ्चालन गर्यो । उनीहरुले सबै नागरिकहरुलाई आफ्नो पैसाको लक्ष्य, कति जोगाउने भन्ने कुराको लिखित गर्न सिकाएको छ । खासगरि खर्च गर्ने बेला आवश्यकता, चाहना, मनोरञ्जन र अन्यलाई क्रमशः प्राथमिकता दिनुपर्ने कुरामा यसले जोड दिएको छ । 

जब मानिसहरु ककेबोको योजना बमोजिम बचत अभियानमा लाग्यो, सबैको धेरैथोरै बचत गर्न शुरु भयो । लक्ष्य बमोजिम बचत भएको पैसा बढी ब्याज आउने सहकारी वा वित्तीय संस्थामा जम्मा गर्न सिकाए । यो अभियानबाट निम्न तथा मध्यम वर्ग पनि ऋणबाट मुक्त हुदै गयो । यसरि जम्मा भएको बचत रकमलाई पुनः शेयर बजार, घरजग्गा, लामो अवधिको मुद्धती खाता जस्ता क्षेत्र जहाँ व्यक्ति निस्क्रिय बस्दा पनि थप धन सिर्जना भईरहन्छ, जस्ता स्थानमा लगानी गर्न प्रोत्साहन गरे । जापानका केहि सहकारीहरुले स्थानीयहरुलाई सहकारीमा आवद्ध गर्न अनौठो तरिका अवलम्वन गरेका छन् ।

व्यक्तिहरु सहकारीका सदस्य बन्नु भन्दा पहिला समूहमा आवद्ध हुन्छन्, त्यो समूहलाई उनीहरु हान ग्रुप भन्छन्, हान ग्रुप फेरि सहकारीको सदस्य बन्छन् यो समूहले सदस्यहरुलाई यस्ता गतिविधीहरुमा सरिक गराउँछन् । 

ककेबो अभियान अन्र्तगत उनीहरु हरेकले हाम्रो खुत्रेके बक्स जस्तै एउटा सेभिङ्ग बक्स राख्छन् । उक्त बक्समा नियमित रुपमा बचत गर्ने गर्छन तर कसरि ? कसरि सम्भव छ सँधै सँधै बचत गर्न ? 

तरिका नं. १ ः जस्तै कुनै सामान खरिद भयो, एक हजारमा सामान लिँदा ५० रुपैयाँ फिर्ता हुन्छ भने, अनिवार्य रुपमा त्यस्ता फिर्ता भएको पैसाहरु खुत्रेकेमा जम्मा गर्ने गर्छन । 

तरिका नं.२ ः नोकरी, घुमफिर वा व्यवसायिक गतिविधबाट बेलुका घर फर्कदा आफ्नो खल्ती वा थैलीमा जति पनि खुद्रा पैसाहरु छन् सबैलाई खुत्रेकेमा जम्मा गर्ने । जसले गर्दा थाहा नपाईकन स साना पैसाहरु जम्मा भईरहेको हुन्छ । 

तरिका नं.३ ः कसैलाई दिएको सापटी पैसा फिर्ता हुने बित्तिकै खुत्रेकेमा राख्ने । किनकी यो तपाईको आम्दानी होईन, लगानी गरेको पैसा फिर्ता भएको हो । लामो समय तपाईले यो पैसा बिना पनि खर्च धान्नुभएको थियो । 

तरिका नं.४ ः जब तपाई ठूलो पैसा साटनु हुन्छ, वा चेक भुक्तानी लिनु हुन्छ, यसबाट आउने सानो आकारको पैसा वा सबै खुद्रा ढिक्का पैसा खुत्रेकेमा जम्मा गर्ने । 

तरिका नं.५ ः यदि आँफुले कुनै गल्ति कमजोरी गर्यो, कार्यालयमा ढिला पुगियो वा नरामे आनीबानीका कारण परिवार वा साथीभाईलाई हानी नोक्सानी पुगेको भन्ने लागेमा आफैलाई कार्वाही स्वरुप हरेक घट्नामा रु.१० रुपैयाँ जरिवाना गर्ने र सो पैसा खुत्रेकेमा राख्ने । यसले बानी सुधार्नका साथै बचत पनि गर्न मद्धत गर्छ । 

तरिका नं.६ ः कुनै महिनालाई यस्तो बनाउने जुन महिनामा अत्यावश्यक बस्तु भन्दा अरु सामान खरिद नगर्ने र यसरि बचत भएको रकम खुत्रेकेमा राख्ने । सकभर नगद कारोबारलाई प्राथमिकता दिने, किनकी क्रेडिट कार्ड प्रयोग गर्दा खर्चको त्यति ख्याल गरिदैन । 

तरिका न.७ ः पसल वा सुपर बजारमा जानु भन्दा पहिला किनमेलको लिष्ट बनाउने र त्यसको बजेट बनाउने जसले गर्दा अनावश्यक वस्तु र महँगो सामान खरिद हुँदैन, साथै समयको पनि बचत हुन्छ । 

उनीहरुको बुझाई छ कि, ककेबोले कुनै पनि विधुतीय सामाग्रीको प्रयोग विना पनि हाम्रो वित्तीय लक्ष्य तयार गर्न र समाधन गर्न ठूलो मद्धत गर्नेछ । तपाई अहिले पनि कुनै जापानिज संग भेट्नु भयो भने उनीहरुसंग आफ्नो झोलामा सानो ककेबो डायरी सबैले बोकेकै हुन्छ । जति पनि खर्च वा केहि वित्तीय गतिविधि हुन्छ, उनीहरु आफ्नो डायरीमा लेखिहाल्छन् । एकजना मेरो जापानिज साथी थियो । एकदिन हामी संगै लन्चमा गयौं । लन्चपछि मैले बिल भुक्तानी गरें । भोलिपल्ट साथी खुसी हुँदै मलाई एउटा कोसेली लिएर आए । जापानिज चिनो दिदै उनले भने हिजोको बिल तैले भुक्तानी गर्यो म एकदम खुसी छु, मेरो बजेट बमोजिम हिजो मेरो तर्फबाट खर्च हुने पैसाको केहि भागबाट तिमीलाई चिनो र केहि भाग मैले सेभिङ गरेको छु, तिमी जस्तो साथी पाएर म अत्यन्तै खुसी छु । म दंग परें, उसले त्यो हाम्रो सानो भेटको त्यस्तो महत्व राखेको रहेछ, जसलाई उसले बचत अभियानमा लगेर जोड्यो । यो घट्नबाट समेत मैले जापानिजहरु सानो विषयमा समेत कसरि योजना र बजेटबाट चल्छन् र जिन्दगीका लागि ढुक्क भएर बाँच्छन् भन्ने सिकेको छु । उनीहरु काम उहि तर फरक तरिकाबाट गर्दो रहेछ, बोलेका कुरा लेख्ने र लेखेको कुरा गर्दो रहेछ, समयको व्यवस्थापन नै असली रुपमा पैसाको बचत हो भन्ने कुरामा म उनीहरुसँग सहमत भएँ । 

बचत गरौं तर फरक तरिकाले गरौं । महामारीलाई अवसरको रुपमा बदलौं ।

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ