शनिबार, वैशाख ८
०९:४७

विश्व अर्थतन्त्रका प्रभाव, सम्भावना र वित्तीय सहकारीका चुनौति*

शुक्रबार, जेठ ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

१. विषय प्रवेश
केही अपवाद बाहेक विश्वव्यापी भुमण्डलीकरणबाट संसारका कुनै पनि मुलुक अछुतो छैनन् । संसारका प्राय सबै देशहरु कुनै न कुनै माध्यमबाट विश्व अर्थतन्त्रसँग जोडिएका छन् । नेपालले पनि खुला अर्थनीति अवलम्वन गरेको छ र विश्वसँग जोडिएको छ । जसले गर्दा विश्व अर्थतन्त्रमा आउने साना ठूला सबै उतारचढाव तथा परिवर्तनहरुले कहिले सकारात्मक रूपमा त कहिले नकारात्मक रूपमा नेपालको अर्थतन्त्रलाई पनि असर गरिरहेका छन् । अन्तर्राष्ट्रियरुपमा आर्थिक सम्वन्धहरु बढ्दै गएकाले विश्व अर्थतन्त्रमा आउने परिवर्तनहरुबाट नेपालको अर्थतन्त्रमा विभिन्न ढंगले प्रभावित हुने गरेको छ ।  

समग्रमा समष्टिगत अर्थतन्त्रलाई चार प्रमुख क्षेत्रमा बाँडिन्छ जस्तै, वास्तविक क्षेत्र, सरकारी क्षेत्र, वाह्य क्षेत्र र वित्तीय क्षेत्र । विश्व अर्थतन्त्रको प्रभाव वाह्य क्षेत्र हुँदै अर्थतन्त्रका अन्य क्षेत्रहरुमा प्रवेश गर्दछ । यसले समष्टिगत अर्थतन्त्रका अन्य क्षेत्रहरुलाई प्रभाव पार्दछ । वित्तीय सहकारी वित्तीय क्षेत्र भित्र पर्दछन् । विश्व अर्थतन्त्रको प्रभाव नेपालको वित्तीय क्षेत्रमा पर्दा वित्तीय सहकारीहरु प्नि प्रभावित बन्न पुग्दछन् । यसै सन्दर्भमा यस लेखले विश्व अर्थतन्त्रको पछिल्लो अवस्था र यसले नेपालमा पारेको प्रभाव विश्लेषण गर्दे वित्तीय सहकारीहरुमा सिर्जित चुनौतिहरुको विवेचना गर्ने कोशिस गरेको छ ।

२. विश्व अर्थतन्त्रको स्थिति

समयक्रममा विश्व अर्थतन्त्रमा विभिन्न परिवर्तनहरु देखा पर्दछन् । परिवर्तन निरन्तर चलिरहने प्रकृया पनि हो । पछिल्लो पटक कोभिड १९ महामारीले विश्व आक्रान्त बन्यो । यसको रोकथाम तथा नियन्त्रणका लागि विश्वका सबै देशहरुले विभिन्न प्रतिवन्धात्मक गतिविधिहरु जस्तै बन्दाबन्दी तथा निषेधाज्ञा लगाए । कोभिड १९ बिरुद्धको खोप विकाससँगै कोभिड १९ महामारीको असर कम हुँदै गर्दा विश्व अर्थतन्त्र पुनरुत्थानतर्फ गइरहेको थियो । यसक्रममा पेट्रोलियम पदार्थको मूल्यमा निकै उच्च वृद्धि भयो । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको प्रतिबन्धात्मक गतिविधिका कारण विश्व अर्थतन्त्रको आपुर्ति प्रणाली निकै समयसम्म प्रभाबित बन्न पुग्यो । प्रतिबन्धहरु हट्दै गएपछि विश्व अर्थतन्त्र चलायमान भयो । जसले गर्दा वस्तुको माग ह्वातै बढ्यो । 
बढ्दो मागअनुसार वस्तुको आपुर्ति भने बढ्न सकेन । वस्तु तथा सेवा उत्पादकहरुलाई उत्पादन बढाउनुपर्ने दबाब पर्यो । उत्पादन बढाउन खोज्दा उत्पादनका साधनहरुको सिमितताले कच्चा पदार्थको मूल्य बढ्यो । खास गरी पेट्रोलियम पदार्थ, उर्जा, डण्डी जस्ता वस्तुहरुको आपुर्तिमा भएको अवरोधले समग्रमा आपुर्ति प्रणालीमा असर पर्न गयो । जसले गर्दा उच्च मूल्यवृद्धिको अवस्था विश्व अर्थतन्त्रमा देखा पर्यो। यसैबीच २०२२ फेब्रअरीमा रसिया र युक्रेनबीच युद्ध भयो । खासगरी यी दुई देशबीचको युद्धले उर्जा र खाद्यान्न संकटको अवस्था सिर्जना गर्यो । कोभिड १९ महामारीदेखि नै सुरु भएको मूल्यवृद्धिलाई यस युद्धले थप बढायो । मूल्यवृद्धि नियन्त्रण गर्न विश्वका धेरै देशहरुले कसिलो मौद्रिक नीति ल्याए । नीतिगत ब्याजदरहरु बढाउँदै लगे । नीतिगत दर बढ्दै गएपछि कर्जाको ब्याजदरहरू बढ्दै गएको छ । ब्याजदर बढ्दै जाँदा उत्पादनको लागत थप बढ्यो । 

यसैबीच अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक, एसियाली विकास बैंक लगायतका संस्थाहरुले विश्व अर्थतन्त्रमा मन्दी आउने चेतावनी दिइरहेका छन् । विकसित मुलुकहरुले मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाइरहेकाले यसले आर्थिक मन्दी ल्याउने बताइरहेका छन । मूल्यवृद्धिलाई नियन्त्रण गर्न ब्याजदरमा गरिएको वृद्धिले विश्वव्यापीरुपमा आर्थिक वृद्धिदर घट्ने बताइएको छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा झन्डै आधाभन्दा बढीले आर्थिक वृद्धिदर घट्ने उनीहरुको प्रक्षेपण रहेको छ, यो प्रवृति २०२३ सम्म कायम रहने आंकलन रहेको छ । जसले गर्दा एकातिर आर्थिक वृद्धिदर घट्ने, अर्कोतिर मुद्रास्फीति बढ्ने र बेरोजगारीको समस्या देखिने भएकाले स्ट्यागफेलसनको स्थिति आउने विश्वभरका अर्थशास्त्री तथा अन्तर्राष्ट्रिय संस्थाहरुले बताइरहेका छन् । सन १९७० को दशकमा विश्वले यस्तै प्रकारको स्ट्यागफेलसनको अवस्था भोगेको थियो । त्यसबेला पनि भियतनाम युद्ध र पेट्रोलियम पदार्थको मुल्य बढेको थियो । 

अहिलेको उच्च मूल्यवृद्धि देखिनुको कारण कोभिड १९ कालमा विश्वका विकसित देशहरुले आर्थिक पुनरुत्थान गर्न र जनतालाई सहयोग गर्न अत्याधिक राहात वितरण गर्दा मुद्राप्रदाय (मनी सप्लाई) बढ्यो । मुद्राप्रदाय बढेसँगै मानिसहरुको क्रयशक्ति पनि बढ्यो । क्रयशक्ति बढ्दा विस्तारै माग बढ्न गयो । माग त बढ्यो तर त्यसनुसार आपुर्ति बढ्न सकेन । किनभने कोभिड १९ का कारण विकसित देशमा धेरै मानिसहरुको मृत्यु भयो । कोभिड १९ कै कारण धेरै श्रमिकहरुले काम छोडे भने केही अझै काममा फर्किएका छैनन् । यसले आपुर्ति कम हुने र माग बढ्ने परिस्थिति सृजना भएकाले मुद्रास्फीति बढ्न गयो । मुद्रास्फीति नियन्त्रण गर्न खासगरी अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ स्टिम (फेड) ले लामो समयपछि मौद्रिक नीति मार्फत नीतिगत दर (फडरल फण्ड रेट) निरन्तररुपमा बढाउँदै गइरहेको छ । जसले गर्दा अन्य देशको मुद्रा अवमूल्यन भइरहेका छ । नेपाललाई प्रत्यक्ष प्रभाव पार्ने भारतीय मुद्रा पनि अवमूल्यन भइरहेको छ । भारतीय मुद्रासँग नेपालको स्थिर विनिमय दर कायम रहेकाले नेपाली मुद्रा पनि अमेरिकी डलरसँग अवमूल्यन भएको छ । मुद्रा अवमूल्यनको असर अन्य उदीयमान देशहरुमा पनि समानान्तर रुपमा परिरहेको छ । सामान्यता अमेरिकाले ब्याजदर बढाएपछि विश्वभरको पुँजी अमेरिकातर्फ पलायन हुने गर्दछ । जसले अन्य देशहरुमा पूँजी कम हुने र पूँजी कम हुँदा ति देशहरुको मुद्रा अवमूल्यन हुने प्रवृत्ति रहन्छ ।

३. विश्व अर्थतन्त्रको असर प्रसारित हुने माध्यमहरु

विश्व अर्थतन्त्रमा आएको परिवर्तन प्रसारित हुने विभिन्न माध्यमहरु छन् । पहिलो माध्यम भनेको वस्तु तथा सेवा व्यापार हो । वस्तु तथा सेवाको व्यापार अर्थात आयात निर्यात मार्फत विश्व अर्थतन्त्रको असर भित्रिने गर्दछ । दोस्रो मुल्यमा आउने परिवर्तनका कारण विश्व अर्थतन्त्रको असर भित्रिने गर्दछ । आयात मार्फत बाह्य मूल्य नेपाल प्रवेश गर्दछ । जस्तै नेपाल जस्तो साना अर्थतन्त्र भएको मुलुकहरुले पेट्रोलियम पदार्थको मूल्यको उतारचढावमा कुनै पनि भुमिका खेल्न सक्दैनन् । विश्वमा जुन ढंगबाट पेट्रोलियम पदार्थको मुल्य निर्धारण हुन्छ त्यसलाई नेपाल जस्तो मुलुकहरुले स्वीकार गर्नुको विकल्प हुँदैन । त्यस्तै अन्य विभिन्न वस्तुहरु फलाम, सुन, चाँदी, तामा र खाद्यान्न सम्मका वस्तुहरुको मुल्य विश्वबजारबाट निर्धारण हुन्छ । यस्ता वस्तुको मूल्यमा पनि नेपालले हस्तक्षेप गर्न सक्दैन । यसरी मुल्यबाट पनि विश्व अर्थतन्त्रको असर नेपाल लगायतका मुलुकहरुमा प्रसारित हुन्छ ।  

तेस्रो माध्यम भनेको रेमिट्यान्स हो । विदेशी मुद्राको संचिती बढाउने मुख्य स्रोत  भएकाले नेपालमा रेमिट्यान्सको महत्व बढी छ । विश्व अर्थतन्त्रमा आउने उत्तरचढावले रेमिट्यान्स आप्रवाहमा पनि असर गर्छ । विश्व अर्थतन्त्र राम्रो भएको र श्रमिकको माग बढेको अवस्थामा रेमिट्यान्स बढ्छ । श्रमिकको माग बढ्ने र तलब तथा ज्याला बढ्ने अवस्था भएमा रेमिट्यान्स बढ्ने सम्भावना रहन्छ । यसको विपरित अवस्था रहेमा रेमिट्यान्स घट्न सक्छ । नेपाली कामदार जाने देशहरूमा आर्थिक मन्दी आएमा नेपाली श्रमिकको माग कम हुन सक्छ ।

विनियम दर विश्व अर्थतन्त्रको असर प्रसारण गर्ने चौथो माध्यम हो । विनिमय दरमा उतारचढाब आउँदा विनिमय दर मार्फत विश्व अर्थतन्त्रको असर स्थानीय अर्थतन्त्रमा पर्छ । विनियम दर निर्धारण नेपालजस्तो मुलुकको नियन्त्रणमा रहदैन । हामीले भारतीय मुद्रासँग स्थिर विनिमय दर प्रणाली अबलम्बन गरेका छौं । भारतीय मुद्रासँगको अरु परिवत्र्य मुद्राहरूसँगको विनियम दरमा जुन ढंगले परिवर्तन हुन्छ नेपाली रुपैयाँ पनि त्यही ढंगले  ती मुद्राहरूसँग परिवर्तित हुन्छ । हाम्रो अर्थतन्त्रको अवस्थाको आधारमा भन्दा पनि भारतीय मुद्राको आधारमा नेपाली मुद्राको अवमूल्यन तथा अधिमूल्यन हुने गर्दछ । नेपाली मुद्रा अवमूल्यन हुँदा नेपालमा आयात महंगो हुन्छ भने निर्यात सस्तो हुन्छ । मुद्राको अधिमूल्यन हुँदा वस्तु आयात सस्तो हुन्छ भने निर्यात महँगो हुन्छ । नेपालको निर्यातको क्षमता कमजोर छ । जसले गर्दा नेपाली मुद्रा विदेशी मुद्रासँग अवमूल्यन हुँदा वाह्य बजारमा नेपाली वस्तुको माग तथा बजार बढ्ने सम्भावना कम छ । यद्यपी नेपाली मुद्रा अवमूल्यन हुँदा विदेशी पर्यटकहरुलाई नेपाल आउन सस्तो पर्छ । डलर सटही गर्दा नेपाली मुद्रा धेरै आउने र खर्च गर्न सस्तो पर्न जान्छ । अर्कोतर्फ विदेशी विनियमले अवमूल्यनले वैदेशिक ऋण, प्रत्यक्ष विदेशी लगानी र रेमिट्यान्स आप्रवाहमा समेत असर गर्छ । नेपाली मुद्रा अवमूल्यन हुँदै गर्दा रेमिट्यान्स भने बढी प्राप्त हुन सक्छ । 

पाचौं वित्तिय प्रवाह हो । वैदेशिक अनुदान, प्रत्यक्ष वैदेशिक लगानी र वैदेशिक ऋण पनि विश्व अर्थतन्त्रबाटै प्राप्त हुने हुँदा यसले पनि नेपाल जस्तो अर्थतन्त्रमा महत्व राख्ने गर्दछ । जस्तै प्रत्यक्ष वैदेशिक लगानी बढी आउँदा लगानी र विदेशी मुद्राको संचिती बढ्ने गर्दछ । विश्व अर्थतन्त्र तथा नेपालका विकास साझेदार मुलुकको अर्थतन्त्र राम्रो भयो र उनीहरुको आम्दानी बढ्दा नेपालजस्ता मुलुकमा आउने वैदेशिक सहायता तथा अनुदानमा वृद्धि हुन्छ । तर, विकास साझेदार मुलुकहरुको अर्थतन्त्रमा समस्या भयो वा अर्थतन्त्र कमजोर भयो भने वैदेशिक ऋण तथा अनुदानमा कमी आउँछ । 

विश्व अर्थतन्त्रको असर बहुपक्षीय साझेदारहरु जस्तै विश्व बैंक, एसियाली विकास बैंकले उपलव्ध गराउने ऋण तथा अनुदानमा पनि पर्दछ । किनकी उनीहरुले पनि विश्व अर्थतन्त्रबाटै स्रोत तथा साधन संकलन गरेर लगानी अवसर भएका मुलुकहरुमा लगानी गरिरहेका हुन्छन् । विश्व अर्थतन्त्र राम्रो हुनसकेन भने उनीहरुलाई स्रोत तथा साधन संकलन गर्न कठिन हुने भएकाले नेपाल जस्तो मुलुकले पाउने सहायता घट्छ । नेपालका बैंक तथा वित्तीय संस्था वा फर्महरुले विदेशबाट कमर्सियल ऋण लिन सक्छन् । यसबाट पनि मुलुकमा साधन परिचालन हुनसक्छ । यसलाई पनि विश्व अर्थतन्त्रले असर गर्छ । विश्व अर्थतन्त्र राम्रो भएमा ऋण प्रवाह गर्ने र अवस्था खराब भएमा ऋण प्रवाह नगर्ने अवस्था रहन्छ ।

४. नेपाली अर्थतन्त्रमा असर

विश्व अर्थतन्त्रमा आएको पछिल्लो परिवर्तनको असर नेपालमा मुख्यगरी ३ तिरबाट परिरहेको छ । चीन र भारतको बीचमा घेरिएको र भुपरिवेष्ठित राष्ट्र भएको हुँदा हामीलाई छिमेकी मुलुकहरुबाट बढी असर पर्छ । नेपालको वैदेशिक व्यापारको निर्भरता भारतसँग दुई तिहाई रहेकाले विश्व अर्थतन्त्रको प्रभाव भारतबाट बढी आउँछ । सुरुमा भारतीय अर्थतन्त्र प्रभावित हुन्छ र त्यसको असर नेपाली अर्थतन्त्रमा पर्छ । दोस्रो चीनको अर्थतन्त्रलाई विश्व अर्थतन्त्रले प्रभावित पारिरहेको हुँदा त्यसको असर पनि नेपालमा आउँछ । पछिल्लो समय चीनसँग नेपालको व्यापार साँघुरिएको छ । तेस्रो, विश्व अर्थतन्त्रको सिधा असर पनि नेपालमा पर्छ । पेट्रोलियम पदार्थ, खाद्यान्न, सुन, चाँदी, फलाम, तामा लगायतका वस्तुहरुको मुल्य मार्फत सिधा असर आउने गर्दछ । यसबाहेक विश्व राजनीतिले पनि नेपाललाई असर गर्दछ । कुन देशलाई सहयोग गर्ने, कुन देशबाट ऋण तथा अनुदान ल्याउने लगायतका पक्षहरुमा विश्व राजनीतिले नेपाली अर्थतन्त्रमा असर पार्ने गरेको छ । विश्वमा उपलब्ध प्रविधि मार्फत पनि नेपालको अर्थतन्त्र प्रभावित हुन सक्छ । हामीले माग गर्ने प्रविधि, प्रविधिको वर्तमान प्रयोगको अवस्था र प्रविधिमा रहेको पछ्यौटेपनका कारण पनि  विश्व अर्थतन्त्रको प्रभाव परिरहेकै छ । विभिन्न सफ्टवेयरहरु निर्माणगरी निर्यात गर्नसक्ने हो भनेपनि विश्व अर्थतन्त्रबाट नेपालले फाइदा लिन सक्ने देखिन्छ ।

नेपालमा पेट्रोलियम पदार्थको उपभोग बर्षेनी बढ्दै गएको छ तर यो पूर्ण रुपमा आयातित हो । यसको मूल्य विश्वबजारमा परिवर्तन भैरहेको हुन्छ जसको असर हामीले उपयोग गर्ने पेट्रोलियम पदार्थमा पनि पर्दछ । विश्व बजारमा यसको मूल्य बढेको बेला यसले नेपालको समग्र मूल्यस्थितिलाई प्रभाव पार्दछ । हालका महिनाहरूमा यसको मुल्यमा केही कमी आए पनि प्रि-कोभिडभन्दा बढी नै छ । 

विश्वका धेरै देशहरुले मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाएका छन् । जसले विश्व अर्थतन्त्रमा मन्दी आउने, मन्दीले मागमा कमी ल्याउने र पेट्रोलियम पदार्थको मागमा कमी हुने सम्भावनाको आधारमा अहिले पेट्रोलियम पदार्थको मूल्य थप बढेको छैन । मन्दी कुन डिग्री र कति सशक्तरुपमा विश्व अर्थतन्त्रमा पर्छ त्यसले आगामी दिनमा पेट्रोलियम पदार्थको मूल्य थप घटबढको आधार तय गर्छ । अर्कोतर्फ रसिया युक्रेन युद्धले युरोपमा अहिले त्रासदीपूर्ण वातावरण सिर्जना गरेको छ । यो कहिले टुङ्गिन्छ भन्ने अझै ठेगान छैन । यसले गर्दा पेट्रोलियम पदार्थको मूल्य घट्न सकेको छैन ।

कोभिड संक्रमण घटेपछि नेपाल आउने पर्यटकहरूमा सुधार भैरहेको छ तर अझै कोभिड पूर्वको स्थितिमा पुगेको छैन । रसिया युक्रेन युद्ध र विश्व अर्थतन्त्रका देखिएका अनिश्चिताका कारणले पनि पर्यटन आगमन अपेक्षित रुपमा बढ्न सकेको छैनन् ।  यी दुई देशबीचको युद्धले पुरै युरोप महादेश नै कष्टपूर्ण र तनावको स्थितिमा छ । ग्यास तथा उर्जाको मुल्य बढिरहेकाले युरोपेली अर्थतन्त्र खस्किरहेको छ । अमेरिकी अर्थतन्त्र केही सुधारको क्रममा रहेपनि अमेरिका पनि युद्धमा कुनै न कुनै रुपमा संलग्न रहेकाले सहजतापूर्ण ढंगले बाहिर घुमफिर गर्ने अवस्था नहुँदा पर्यटन क्षेत्र जति मात्रामा बढ्नुपर्ने हो त्यति बढ्न सकेको छैन । पेट्रोलियम पदार्थको मुल्य केही सुधार भएपनि हवाई इन्धनको मूल्य उच्च नै रहेकाले हवाई भाडा बढी छ । हवाई भाडा उच्च हुँदा प्रि (कोभिडमा झै पर्यटकको आवागमन नेपालमा अझै बढ्न सकेको छैन, तर कोभिडको समय भन्दा सुधारोन्मुख रहेको छ । 

गत आर्थिक वर्षदेखि हामी बाह्य क्षेत्रको असन्तुलनमा छौं । हाल आएर नीतिगत प्रयासहरूले गर्दा विदेशी मुद्राको संचिति तीब्रदरमा घट्ने क्रममा कमी आई केही सुधार हुन थालेको छ । चालु आर्थिक वर्षको तेस्रो महिनादेखि शोधानान्तर बचत हुन सकेको छ । केही वस्तुहरूमा लगाइएको आयात नियन्त्रण हटाइएको र नेपाली मुद्राको अमेरिकी डलरसँगको अवमूल्यनले गर्दा आयात महँगो हुने हुँदा बाह्य क्षेत्रको सुधार दिगो हुनेमा अझै जोखिम रहेको छ । 

अघिल्लो आर्थिक वर्ष वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूको संख्या बढेको र चालु आ.व.को ७ महिनासम्म पनि त्यो क्रम जारी रहेकोले नेपालमा विप्रेषण आप्रवाहमा सुधार भएको छ, जसले निरन्तरता पाउने अपेक्षा गर्न सकिन्छ । नेपाली मुद्राको अमेरिकी डलरसँगको अवमूल्यनले पनि विप्रेषण आप्रवाह बढाउन सहयोग पु¥याएको छ । तर, पछिल्लो समय आंकलन गरे झै विश्व अर्थतन्त्र मन्दीमा गएमा रोजगारी सिर्जना कम भै नेपाली कामदारको माग कम हुन सक्छ । तापनि, मध्यपूर्वका र दक्षिण पूर्व एशियाका देशहरू आर्थिक मन्दीबाट त्यति धेरै प्रभावित नहुन सक्छन् ।

भुक्तानी सन्तुलन घाटामा गइ विदेशी विनिमय संचिती कम हुँदा नेपालको बैकिङ प्रणालीमा गत वर्षदेखि तरलता अभाव रहेको छ यसले गर्दा ब्याजदरहरू बढेका छन् । ब्याजदर बढ्दा लगानी र आर्थिक कृयाकलापहरू प्रभावित भएका छन् । घट्दो विदेशी विनिमय संचितीलाई ध्यानमा राखेर नेपाल राष्ट्र बैंकले नीतिगत दरहरू बढाउदै मौद्रिक नीतिको अडानलाई कडा बनाएको छ । जसले गर्दा पनि चालु आ.व.को कर्जा प्रवाह कम रहने देखिन्छ । 

बाह्य सन्तुलन कायम गर्न आयात कम गर्ने उपायहरू अबलम्बन गर्दा आयातको वृद्धिदर गत वर्ष भन्दा कमी आउँदा चालु आर्थिक वर्ष सरकारको राजस्व संकलन घटेको छ । तर सरकारी खर्चमा भने कमी आएको छैन । चालु आ.व.को पहिलो ७ महिनामा सरकारी खर्च १३ प्रतिशतले बढ्दा राजस्व संकलन करिब १६ प्रतिशतले घटेको छ । सरकारी ऋणपत्रहरूको ब्याजदरहरू पनि बढेका छन् । जसले गर्दा सरकारलाई ऋणको ब्याज भार बढेको छ । विदेशी ऋणको सवालमा नेपाली मुद्राको अमेरिकी डलरसँग भइरहेको अबमूल्यनले पनि ऋण भुक्तानीको भार बढाइरहेको छ । तसर्थ, सरकारी वित व्यवस्थापन चुनौतपूर्ण बनेको छ ।

चालु आर्थिक वर्ष २०७९।८० को पहिलो ७ महिनासम्मको तथ्याकंले वाह्य क्षेत्रमा सुधार आउँदै गरेको देखाएको छ । यस अवधिमा शोधान्तर बचत रु. ९७ अर्व बराबर भएको छ भने विदेशी विनिमय संचिती साढे १० अर्व अमेरिकी डलर पुगेको छ । जुन ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । बाह्य क्षेत्रमा सुधार आएसँगै बैकिङ प्रणालीको तरलतामा पनि क्रमिक सुधार हुन थालेको छ भने बैंक तथा वित्तीय संस्थाहरुले बचत तथा कर्जाको ब्याजदर घटाउन शुरु गरेका छन् ।

५. वित्तीय सहकारीमा परेको प्रभाव र चुनौतिहरु

वित्तीय सहकारीहरु पनि वित्तीय क्षेत्रका अंगका रुपमा रहेका छन् । संख्यात्मक हिसाबमा बचत तथा ऋण सहकारीहरुको बाक्लो उपस्थिति रहेको छ । नेपालको समग्र वित्तीय क्षेत्र प्रभावित हुँदा यस्ता सहकारी संस्थाहरु पनि प्रभावित बनेका छन् । अघिल्लो आर्थिक वर्षमा पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि, अमेरिकी डलरसँग नेपाली रुपैयाँ अवमूल्यन, खाद्यान्न लगायत अन्य वस्तुहरुको विश्वव्यापी मूल्यवृद्धिले गर्दा कोभिड १९ पछि पुनरुत्थानको क्रममा रहेको नेपाली अर्थतन्त्रमा उच्च आयात हुन गयो । सो अनुरुप विप्रेषण आप्रवाह बढ्न नसक्दा वाह्य क्षेत्रमा चालु खाताका अतिरिक्त शोधनान्तर घाटा उल्लेख्य रुपमा हुन गयो । सो वर्ष रु. ६२३ अर्व बराबर चालु खाता र रु २५५ अर्व बराबरको शोधनान्तर घाटा हुन गयो । यसले गर्दा नेपालको बैकिङ प्रणालीमा तरलतामा कमी आयो र ब्याजदरहरु बढ्न थाले । बचत तथा ऋण सहकारी संस्थाहरुमा पनि तरलताको कमी देखियो ।

तरलता अभावले गर्दा ब्याजदर बढे र कर्जा प्रवाहमा पनि कमी भयो । यसले गर्दा आन्तरिक आर्थिक गतिविधिहरुमा सुस्तता आयो । सहकारीहरुमा कर्जाको सन्दर्भ ब्याजदर तोकिएको हुँदा बढ्न पाएन । तर, तरलताको कमी हुन गयो । अर्कोतर्फ, समष्टिगत मागमा कमी आएको हुँदा घरजग्गा लगायत उद्योग व्यवसायहरुमा शिथिलता आएकोले सहकारीका ऋणीहरुले समयमा ऋण तिर्न नसक्दा बचत कर्ताको रकम भुक्तानी गर्न पनि केही बचत तथा ऋण सहकारी संस्थाहरुलाई कठिन हुन पुगेको स्थिति सिर्जना भएको छ । केही यस्ता संस्थाहरु बन्द हुने अवस्थामा पनि पुगे । वित्तीय सहकारीहरुबाट प्रवाहित ऋणको धेरै अंश घरजग्गामा लगानी भएको देखिन्छ । यो अवस्थामा घरजग्गामा शिथिलता आउना साथ वित्तीय सहकारीको ऋण भुक्तानीमा समस्या आई तरलता अभाव हुन गएको पनि देखिन्छ ।

प्रभावकारी नियमन र सुपरीवेक्षणको अभाव रहेकाले वित्तीय सहकारीहरुको स्थायीत्वको चुनौति रहेको छ । स्वःनियम रहनु पर्ने यस्ता सहकारीका सिद्धान्तहरु परिपालनामा कमी कमजोरी रहेकोले वित्तीय सहकारीहरुले गरेका लगानी जोखिमयुक्त रहेको र यस्ता लगानीमा अन्र्तनिहित विभिन्न खालका जोखिमहरु व्यवस्थापनमा पर्याप्त ध्यान पुग्न सकेको पाइदैन । यसले गर्दा वित्तीय पहुँच बढाउन गहन भूमिका खेलेका वित्तीय सहकारीहरु प्रतिको जनविश्वास कमी आउने सम्भावना पनि रहेको छ ।

जोखिम व्यवस्थापन दरिलो नहुँदा विश्व अर्थतन्त्र लगायत आन्तरिक अर्थतन्त्रमा आउने परिवर्तनले वित्तीय सहकारीहरुलाई प्रभावित पार्न पुग्दछ । क्षणिक र उच्च नाफा प्रति बढी आकर्षित भै अत्यधिक मात्रामा घरजग्गामा लगानी गर्दा यसको कारोवारमा आउने गिरावटले वित्तीय सहकारीमा तरलता व्यवस्थापन गर्न कठिनाई हुने र कर्जा डुब्ने जोखिम बढ्दछ । पछिल्लो समय यो क्षेत्रमा यो समस्या उच्च रहेको छ । वित्तीय सहकारीहरुमा तरलता अभाव हुँदा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले जस्तो केन्द्रीय बैंकबाट तरलता सुविधा पाउन सक्ने व्यवस्था छैन । 

संख्यात्मक रुपमा हजारौमा रहेका बचत तथा ऋण सहकारीले स्थानीय समुदायमा वित्तीय सेवा पुर्याउन महत्वपूर्ण भूमिका खेले पनि आफ्ना सदस्यहरुको जीवनस्तर सुधार गर्दै समग्र अर्थतन्त्रमा योगदान दिन भने खासै सकेको पाइदैन । नेपाली अर्थतन्त्र अत्यधिक मात्रामा आयात र विप्रेषणमा निर्भर रहेको छ । यसले के देखाउँछ भने बचत तथा ऋण सहकारीहरुले प्रदान गरेको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रयोग भएको छैन अथवा यसले अर्थतन्त्रमा उत्पादन बढाउन सहयोग पुर्याएको छैन । सदस्यहरुको उद्यमशीलता बढाउँदै कर्जालाई बढी भन्दा बढी उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्नुपर्ने आवश्यकता र चुनौति दुवै वित्तीय सहकारीहरुको लागि रहेको छ । 

६. उपसंहार

अहिलेको विश्वव्यापीकरणको युगका विश्व अर्थतन्त्रमा आउने परिवर्तनबाट विश्वका सबै देशहरू कुनै न कुनै रुपमा प्रभावित हुन पुग्दछन् । यसबाट नेपाल पनि अछुतो छैन । कोभिड १९ बाट संक्रमणमुक्त हुँदै विश्वको अर्थतन्त्र पुनरुत्थानतर्फ लाग्दै गर्दा आपूर्तिमा आएको व्यवधान, खाद्य तथा गैरखाद्य वस्तुहरूमा भएको मूल्यवृद्धि, कोभिडको समयमा अंगालिएका लचक वित्त र मौद्रिक नीतिका कारण बढेको मागले गर्दा विश्वव्यापी रुपमा मूल्यवृद्धि भइरहेको बेला रसिया युक्रेनको युद्धले अझ बढी अनिश्चितता र नकारात्मक प्रभाव पारेकोले आपूर्ति श्रृंखला थप प्रभावित भै मुद्रास्फीति अझ बढ्न गयो । बढ्दो मुद्रास्फीतिलाई रोक्न अधिकांश केन्द्रीय बैंकहरूले कडा मौद्रिक नीतिहरू अंगालेका छन् । अमेरिकाको फेडरल रिजर्भले फेडरल फण्ड रेट बढाएकोले अमेरिकी डलर बलियो भएकोले अन्य देशका मुद्राहरू अवमूल्यन भएका छन् ।

नेपाल पनि विश्व अर्थतन्त्रसँग जोडिएको हुनाले विश्व अर्थतन्त्रको प्रभाव नेपाली अर्थतन्त्रमा पनि पर्दछ । कोभिडको समयका लचक नीति, त्यति बेला विप्रेषण आप्रवाह राम्रो रहेको र आर्थिक गतिविधिहरू सुस्त रहेकोले अर्थतन्त्रमा तरलता बढेर ब्याजदरहरू कम रहे । कम ब्याजदरमा उपलब्ध कर्जा खासगरी शेयर बजार, घरजग्गा कारोबार र आयातमा प्रवाहित हुँदा आयात बढ्न गयो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र नेपाली मुद्राको अवमूल्यनले पनि आयात उच्चदरले बढ्न जाँदा भुक्तानी सन्तुलन घाटामा गई बैकिङ प्रणालीमा तरलता र ब्याजदरहरू बढ्न गए । 
तर मौद्रिक नीतिको कडाइले गर्दा आयातमा कमी, विप्रेषणमा सुधार आउन थालेकोले भुक्तान सन्तुलन सकारात्मक भएको छ । तर, सरकारको राजस्व घटेको र आर्थिक गतिविधिहरू गर्न पर्याप्त कर्जा उपलब्ध हुन अझै सकेको छैन । कर्जाको ब्याजदर उच्च भएको गुनासाहरू बढेका छन् । यो अवस्थामा सुधार आउन अझै केही समय लाग्ने देखिन्छ । आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन नगर्दासम्म बाह्य अर्थतन्त्रमा आउने प्रभावले नेपालको अर्थतन्त्रलाई बढी नकारात्मक प्रभाव पार्दछ । 

अर्थतन्त्रमा आउने परिवर्तन र विश्व अर्थतन्त्रको प्रभावबाट बचत तथा ऋण सहकारीहरु पनि अछुतो रहन सक्दैनन् । त्यसैले यी सहकारीहरुले पनि अहिले तरलता समस्या भोगिरहेका छन भने ऋण असूली हुन सकिरहेको छैन । अर्थतन्त्रमा आउने उतारचढावबाट बच्न बचत तथा ऋण सहकारीहरुले सहकारी सिद्धान्तहरुलाई आत्मसाथ र प्रयोग गर्दै सम्भावित जोखिम वहन गर्ने रणनीति अवलम्बन गर्नुपर्दछ । यस्ता संस्थाहरुलाई नियमन र सुपरिवेक्षण गर्ने प्रभावकारी संस्थागत व्यवस्था नभएको परिप्रेक्ष्यमा बढी भन्दा बढी स्वःनियमनमा बस्नु आवश्यक छ । यसको लागि व्यवस्थापकीय क्षमता विस्तार, प्रविधिको प्रयोग र जोखिम व्यवस्थापनका विधिहरु अबलम्बन गर्नु जरुरी छ । लगानीको विविधिकरण गरी उत्पादनशील लगानी मार्फत अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन वित्तीय सहकारीहरुले भूमिका खेल्नु पर्ने आवश्यकता छ ।   

नेफ्स्कूनले फागुन २४ र २५ गते आयोजना गरेको साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीमा गरिएको प्रस्तुतिमा आधारित लेख । लेख साकोस आवाजको त्रैमासिक प्रकाशनमा प्रकाशित छ ।

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ