बिहीबार, वैशाख १३
०६:३०

वित्तीय साक्षरता र महत्व  

बुधबार, चैत्र ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

वित्तीय साक्षरता भन्नाले आम्दानी, खर्च, कर्जा, कर योजना, बिमा, बचत तथा लगानी जस्ता वित्तीय क्षेत्रका महत्वपूर्ण विषयहरू बुझी उचित निर्णय गर्न सक्ने क्षमतालाई जनाउँछ । अर्थात वित्तीय साक्षरताले विभिन्न प्रकारका महत्वपूर्ण वित्तीय अवधारणा र सीपलाई बुझाउँदछ ।

आर्थिक सहयोग र विकास संगठन (OECD) ले वित्तीय साक्षरतालाई वित्तीय अवधारणा, जोखिम र दक्षता सम्बन्धी ज्ञान तथा यसको प्रयोग गर्नका लागि प्रेरणा र विश्वास प्रदान गरि वित्तीय सन्दर्भहरूको दायरा भित्र रहि प्रभावकारी निर्णयहरू गर्न, व्यक्ति तथा समुदायको वित्तीय कल्याणमा सुधार गर्न र आर्थिक जीवनको सहभागितालाई सक्षम गर्न सक्ने ज्ञानको रूपमा परिभाषित गरेको छ । वास्तविक रूपमा वित्तीय साक्षरताले व्यक्तिगत वित्त व्यवस्थापन तथा विभिन्न प्रकारका वित्तीय कौशलहरू बुझ्ने र प्रभावकारी रूपमा उपयोग गर्ने क्षमतालाई बुझाउँछ ।

वित्तीय साक्षरताको महत्व

वित्तीय साक्षरताको लक्ष्य हरेक व्यक्तिले साधन र स्रोतको कुशल प्रयोग गर्दै आयमूलक क्षेत्रमा लगानी गरि आफ्नो जीवनस्तर सुधार गर्नु हो ।
 
सहकारी संस्थाहरूको लागि महत्व

–    सदस्यको फजुल खर्च गर्ने बानीमा सुधार हुँदा निक्षेप संकलनमा वृद्धि हुन्छ । 
–    समाजमा उद्यमशील संस्कृतीको विकास हुनाले कर्जा विस्तारमा वृद्धि हुन्छ । 
–    सहकारी संस्थाहरूले व्यवसायको विकास र विस्तार गरि अपेक्षित मुनाफा हासिल गर्न सक्छन् । 
–    व्यवसायिक क्रियाकलापहरूलाई दिगो, सबल एवं प्रतिस्पर्धी बनाउँछ । 
–    सदस्य संस्थाहरूका विभिन्न सेवाहरूको कम लागतमा प्रबद्र्धन भई सफल सञ्चालन हुन्छ । 
–    सदस्यहरूलाई वित्तीय प्रविधिमा आएको परिवर्तनलाई आत्मसात गराई उच्चतम सन्तुष्टि प्रदान गर्न सक्छ ।

निष्कर्षमा गरिबी तथा बेरोजगारी न्यूनीकरण गरी दिगो आर्थिक विकासका लागि वित्तीय सेवाको माग अभिवृद्धि गरी उद्यमशीलताको विकास गर्न वित्तीय साक्षरता अभियान अपरिहार्य छ ।

राष्ट्रको लागि महत्व 

–    देशमा उद्यमशील संस्कृती विकास सँगै लगानी वृद्धि, रोजगारी वृद्धि र गरिबी न्यूनीकरण गर्न सहयोग पु¥याउँछ । 
–    आर्थिक स्थायित्व, आर्थिक वृद्धि, आर्थिक विकास र सामाजिक न्याय कायम हुन्छ । 
–    राष्ट्रिय पूँजी निर्माण, उत्पादन क्षेत्रको विकास र औद्योगीकरण गर्नमा समेत सहयोग गर्दछ ।
–    ग्रामीण क्षेत्रका विभिन्न विनिमय कारोबारहरूलाई मौद्रिकीकरण गर्न सहयोग गर्दछ ।

नेपालमा वित्तीय साक्षरताको अवस्था

विश्वभर करिव २ अर्ब ५० करोड जनता बैंकिङ तथा वित्तीय सेवाको पहुँच बाहिर रहेको अनुमान गरिएको छ । त्यसैगरी, विश्वभरका करिव २ अर्ब २० करोड बालबालिकाहरू मध्ये करिव एक अर्ब बाल–बालिकाहरू अहिले पनि निरपेक्ष गरिबीको रेखामुनि रहेका छन् भने हालसम्म १ प्रतिशतभन्दा कम बालबालिकाहरू मात्र वित्तीय साक्षरता र वित्तीय समावेशीकरणको दायरामा आएका छन् ।

विश्वभरमा करिव १३ प्रतिशत युवाहरू बेरोजगार रहेका छन् । यस्तो बेरोजगारीको अंश कतिपय मुलुकमा करिव ५० प्रतिशतसम्म रहेको पाइएको छ । १५ देखि २५ वर्ष उमेर समूहका युवाहरू मध्ये करिव ४० प्रतिशतको मात्र बैंक तथा वित्तीय संस्थाहरूमा खाता रहेको पाइएको छ ।

नेपालको जनसंख्याको ठूलो भाग अझै पनि औपचारिक वित्तीय सेवाबाट बञ्चित रहेको देखिन्छ । मुलुकमा अहिले पनि १८ प्रतिशत जति जनसंख्या गरिबीको रेखामुनि रहेको छ । त्यस्तै ४१ प्रतिशत जनतामा औपचारिक वित्तीय सेवा पुगेको, थप २० प्रतिशत जनतामा अर्ध औपचारिक वित्तीय सेवा पुगेको, थप २० प्रतिशत जनतामा अनौपचारिक वित्तीय सेवा लिने गरेका र बाँकी १९ प्रतिशत जनता वित्तीय सेवाबाट बञ्चित रहेको अवस्था छ ।

नेपालमा ७१ प्रतिशत जनताले बैंक, वित्तीय संस्था तथा सहकारीमा खाता खोलेका हुनाले, कर्जा तथा रेमिट्यान्स सेवाको उपयोग र सहकारी मार्फत ग्रामीण समुदायमा बचत तथा ऋणको उपयोग गर्ने गरेकाले नेपालमा वित्तीय साक्षरताको राम्रो प्रगति भएको अनुमान गर्न सकिन्छ ।

नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीतिमा वित्तीय पहुँच र समाबेशीकरण अभिवृद्धि गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । जसलाई वृद्धि गर्न वित्तीय साक्षरता र शिक्षाको माध्यमबाट जनचेतना अभिवृद्धि गर्ने रणनीति लिएको छ ।

नेपाल सरकारको पन्ध्रौं आवधिक योजना (२०७६/७७ – २०८०/८१) ले वित्तीय साक्षरता अभिवृद्धि गर्ने रणनीति लिदै सोही बमोजिम कार्यनीति तर्जुमा गरेको छ ।

मौद्रिक नीतिले वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउँदै वित्तीय सेवाको माग अभिवृद्धि गर्ने र वित्तीय साक्षरता ढाँचाको कार्यान्वयन गर्ने नीति लिएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूलाई वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यमा थप उत्तरदायी बनाउँदै सहुलियतपूर्ण कर्जा, पुनरकर्जा, सफा नोट नीति, विद्युतीय भुक्तानी सेवा, लगायत राष्ट्र बैंकले जारी गरेको नीतिगत व्यवस्था एवम् कार्यक्रमहरूको प्रबद्र्धनमा परिचालन गराइने नीति लिएको छ ।

 विभिन्न क्षेत्रवाट गरिएका अध्ययनहरूको समिक्षाले सहकारी संस्थामार्फत स्थानीय तहमा गरिएका असल अभ्यासका कारण पनि वित्तीय पहुँच तथा वित्तीय साक्षरतामा वृद्धि भएको अवस्थालाई देखाउँछ ।

वित्तीय साक्षरता वृद्धि गर्न सहकारीका संघहरूको भूमिका

 छातासंगठनहरू अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हो । विशेषगरी बचत तथा ऋणको केन्द्रीय संघले सहकारी संस्था मार्फत वित्तीय साक्षरता प्रबद्र्धन गर्नु पनि एक मुख्य जिम्मेवारी रहेको छ ।

विद्यार्थी लक्षित विद्यार्थीसँग सहकारी कार्यक्रम मार्फत वित्तीय साक्षरता प्रबद्र्धन कार्यक्रम संचालन गर्नु पर्ने देखिन्छ । सहकारीका छाता संघहरूले विभिन्न अल्पकालीन तथा दीर्घकालीन आर्थिक योजना तथा रणनीतिहरू तर्जुमा गर्दै वित्तीय साक्षरतालाई प्रबद्र्धन गर्नु पर्ने देखिन्छ ।

नेपालमा कसरी वित्तीय साक्षरता अभिवृद्धि गर्न सकिन्छ ?

    नेपालमा वित्तीय साक्षरता प्रतिशत अन्य विकसित मुलुकको दाँजोमा ज्यादै न्यून देखिन्छ । देशको आर्थिक समृद्धिको लागि वित्तीय साक्षरतामा शिघ्र अभिवृद्धि गर्न आवश्यक छ ।

–    सरकार र सबै सम्बन्धित सरोकारवालाहरूले निष्पक्ष, जिम्मेवारीपूर्ण र समन्वयात्मक ढंगबाट वित्तीय शिक्षाको प्रबद्र्धन गर्नु पर्दछ । 

–    सहकारीमा बाल बचतको अवधारण र कानुनी सुनिश्चितता हुनु पर्दछ ।

–    मुलुकमा सम्पूर्ण नागरिकहरूले कम उमेरमै वित्तीय शिक्षा प्राप्त गर्न वित्तीय शिक्षा सम्बन्धी पाठ्यक्रम स्कुल स्तरबाट सुरु हुनु पर्दछ । जसले वित्तीय साक्षरतालाई औपचारिक शिक्षासँग जोड्ने काम गर्दछ । 

–    वित्तीय शिक्षा बैंक, वित्तीय संस्था तथा सहकारीहरूको संस्थागत सुशासनको एक मुख्य अंग हुनु पर्दछ, साथै जसको उत्तरदायित्व र जवाफदेहितालाई प्रोत्साहन गर्नु पर्दछ ।

–    वित्तीय शिक्षा सम्बन्धी नीति तथा योजनाहरू वित्तीय विशेषज्ञबाट स्पष्ट रूपमा निर्धारण गर्नु पर्दछ । साथै वित्तीय संस्थाका कर्मचारीहरूलाई मार्गदर्शन गर्न वित्तीय शिक्षा आचार संहिताको विकास गर्नु       पर्दछ ।

–    वित्तीय साक्षरता कार्यक्रमहरू विशेषगरि जीवन उपयोगी आर्थिक योजनाहरू बनाउन सक्ने क्षमतामा केन्द्रित हुनु पर्दछ जस्तै बचत, ऋण, लगानी, निवृत्तिभरण, बिमा, कर योजना आदि ।

–    वित्तीय शिक्षा सम्बन्धी कार्यक्रमहरू वित्तीय क्षमता निर्माणमा केन्द्रित हुनुपर्दछ । जहाँ विशेषगरी लक्षित समुह तथा सकेसम्म व्यक्तिगत रूपमा हुनु पर्दछ ।

–    राष्ट्रिय अभियानहरू, विशिष्ट वेबसाईटहरू, निशुल्क सूचना सेवाहरू र वित्तीय सदस्यहरूको लागि उच्च जोखिम सम्बन्धी चेतावनी प्रणालीलाई बढावा दिनु पर्दछ ।

–    वित्तीय पहुँच र वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्न विशेष गरी सहकारी संस्थाहरूलाई जोड दिनु पर्छ ।

–    वित्तीय साक्षरता अभिवृद्धिका कार्यक्रमहरू उत्पादन र वितरण गर्ने कार्यमा आधुनिक सञ्चार माध्यम तथा प्राविधिको प्रयोग गर्नुपर्दछ ।

नेपालमा वित्तीय साक्षरता सम्बन्धमा देखिएका समस्याहरू

–    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता प्रवद्र्धन कार्यमा खर्च गर्नुपर्ने नीतिगत व्यवस्था छ, जसको प्रभावकारिता ज्यादै न्यून देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरूको कर्मचारीले उक्त रकम दुरूपयोग गर्ने तथा सामान्य औपचारिकता मात्र पुरा गरेको देखिन्छ । तर सहकारीको क्षेत्रमा भने यस बारेमा कतै पनि स्पष्ट कानुनी तथा नीतिगत व्यवस्था हुन सकेको देखिदैन ।

–    सहकारीहरूको देशभर व्यापक सञ्जाल भएता पनि वित्तीय साक्षरता प्रबद्र्धनमा यसको भूमिका ज्यादै न्यून देखिन्छ ।

–    नेपाल सरकारको पन्ध्रौं आवधिक योजना, नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीति, नेपाल राष्ट्र बैंकको तेस्रो रणनीतिक योजना, मौद्रिक नीति जस्ता आर्थिक योजनाहरूले वित्तीय साक्षरता बृद्धि सम्बन्धमा विभिन्न उद्देश्य तथा रणनीति लिए तापनि उपलब्धिमूलक हुन सकेको छैन । 
–    नेपालमा वित्तीय साक्षरता कार्यक्रम प्रभावकारीता मापनका स्पष्ट विधिहरू अहिलेसम्म विकास गरिसकिएको छैन ।

–    वित्तीय साक्षरता कार्यक्रमको आयाम धेरै फराकिलो रहेको हुँदा निरक्षर देखि दीक्षित बर्ग समेतका सबै व्यक्तिलाई समेट्न सक्ने गरि कार्यक्रम तर्जुमा हुन सकेका छैनन् ।

–    नेपाल सरकार र वित्तीय स्वरूपको रूपमा रहेका नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा समिति, सहकारी विभाग जस्ता विभिन्न संस्थाहरूको वित्तीय साक्षरता सम्बन्धी उद्देश्यमा भिन्नता देखिन्छ ।

–    वित्तीय साक्षरता मापनमा पनि कठिनाइ रहेको छ । जस्तै गरिबी, अशिक्षा, सामाजिक तथा आर्थिक रूपले पिछडिएको अवस्था, भौगोलिक विकटता तथा विकासका पूर्वाधार उपलब्ध हुन नसक्नु ।

    वित्तीय साक्षरता सम्बन्धमा देखिएका समस्याहरूलाई समयमै न्यूनीकरण गरि देशमा उद्यमशील संस्कृती विकास सँगै लगानी वृद्धि, रोजगारी वृद्धि र गरिबी न्यूनीकरण गर्न सकिन्छ ।

    वास्तविक रूपमा वित्तीय साक्षरताले व्यक्तिगत वित्त व्यवस्थापन तथा विभिन्न प्रकारका वित्तीय कौशलहरू बुझ्ने र प्रभावकारी रूपमा उपयोग गर्ने क्षमतालाई बुझाउँछ ।

साकोस आवाज त्रैमासिक प्रकाशन २०७९, पौष अंकमा प्रकाशित ।

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ