शनिबार, वैशाख ८
०२:४७

संयमित सदस्य र जिम्मेवार व्यवस्थापन

आईतबार, फागुन २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा देशभरका ४५० भन्दा बढि सहकारी संस्थाका साकोस व्यवस्थापन प्रमुखहरूको सहभागितामा साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । फागुन २४ र २५ गते काठमाडौंको द होटल सोल्टीमा आयोजित गोष्ठी'Technology Based Services and Governance: Responsible Management for Sustainable SACCOS & Image Building'  विषयमा केन्द्रित रही भव्यरुपमा सम्पन्न भएसँगै हामी सहकारी सम्बद्ध सहकारीकर्मीहरुले ११ बुँदे साझा संकल्प सहित सहकारीमा शुसासन, जिम्मेवारी र जवाफदेहिताको थप गहनताबोध गरेका छौं । 

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सहकारी मन्त्रालयका सचिव, सहकारी विभागका राजिष्ट्रार, उप–रजिष्ट्रार, अन्तर्राष्ट्रिय सहकारी विज्ञहरु, राष्ट्रिय तहका विज्ञ ब्यक्तित्वहरु, विषयगत स्रोत ब्यक्तिहरुको गहन भूमिका र प्रस्तुतीकरणले सहकारीको महत्व र उद्देश्यमा थप उजागर पार्दै ब्यबस्थापन प्रमुखहरुको दायित्व र भूमिकालाई अझ थप प्रष्ट्र पारेको थियो । नेपाल जस्तो विकासोन्मुख देशमा सहकारीको महत्व र आवश्यकता माथि सबै विषय विज्ञहरुको एकरुपता थियो । साथै अबका दिनमा सहकारीकर्मीहरुले पनि सहकारीको मर्म र भावनालाई आत्मसात गर्दै सहकारीका सिद्धान्त बमोजिम काम, कार्य गर्नबाट विचलित हुनु हुँदैन भन्नेमा केन्द्रित थियो । 

हालको दिनमा देखिएको समस्या सहकारीको मात्र नभै समग्र देशको आर्थिक संकुचनको प्रभाव पनि हो भन्नेमा वक्ताहरुको तथ्याङ्कले प्रस्ट्याएको थियो । एकैचोटी क्यास विथड्रको लागि बैंकमा ग्राहकको लाईन लाग्ने हो भने शायद मै हुँ भन्ने कर्मसियल बैंकले पनि बचत फिर्ता दिन सक्तैनन् । चाडवाड तथा स्थिति प्रतिकुल अवस्थामा हुँदा बैंकहरुले ५ लाख पनि विथड्र नदिएको दृष्टान्त हाम्रा अनुभूतिमा छन् । आज सहकारीलाई चारैतिरबाट आक्रमण भएको छ । यस्तो अवस्थामा पहिल्यै समस्याको संघारमा टेकिसकेका सहकारी संस्थाले कसरी समस्याको सामना गरुन ? जसको फलस्वरुप एकपछि अर्को समस्या उल्जदै गयो जसको नकारात्मक प्रवाभ राम्रै र सुसंगठित संस्थाहरुमा समेत देखिन थाल्यो । समस्या थियो सहकारीका सदस्यहरुको दिमागमा उब्जिएको सहकारी माथिको विश्वास र खस्कदै गएको छविको । केहि सहकारीका सञ्चालकहरुले जानेर नजानेर गल्ती कमीकमजोरी गर्नुभएको पाईएको छ, जुन उहाँहरुले सच्याउँनै पर्छ, भुक्तान गर्नै पर्छ तर यसो भन्दैमा सबै सहकारी संस्था तथा सहकारी अभियानलाई नै एउटै डालोमा राखेर तुलना गर्न मिल्दैन । यि र यस्ता  घटना सहकारी अभियानका लागि अत्यन्तै दुःखदायी परिदृष्यहरु हुन् जसबाट समग्र अभियानले सिक्दै र बुझ्दै आफुलाई समायानुकुल सुदृढ बनाउँदै जानुपर्छ । 

आजका दिनका केहि हातमा गन्न सकिने सहकारीहरुको गतिविधि तथा छरिएका समस्याहरुले गर्दा समग्र सहकारी अभियानमा बाछिटा परेको छ । सहकारीको विश्वास र छविमा ठुलो आँच आएको छ । ठूला र राम्रा भनेर चिनिने सहकारीहरुलाई पनि सहकरी अभियानमा धमिलिदै गएको छविले प्रतिकुल प्रभाव परेको छ । त्यसैले सबै सहकारीकर्मीहरुले एकजुट भएर सहकारीको विश्वास र छविमा सुधार ल्याउँन तन मनले प्रयास गर्नुपर्छ । भए गरेका कमीकमजोरीलाई आत्मसात गरेर संस्थालाई सुशासन योग्य बनाई आवद्ध सदस्यहरुलाई हाम्रा काम कुराले विश्वस्त बनाउँन सक्नुपर्छ । गलत गर्नु हुँदैन तर विगतका कार्यगत कमीकमजोरीलाई आत्मसात गरि आजैबाट सुर्धान प्रयास गर्नुपर्छ किनकी हिजोको दिन जस्तो आज छैन र आजको दिन जस्तो भोली रहने पनि छैन । प्रकृतीको सत्य जस्तै दिन पछि रात आउँछ र रात पछि दिन । अब फेरी सहकारीमा र्मिमिरे उज्यालो सहितको रमाईलो घमाईलो दिन आउँनेछ । जहाँ सबै सहकारीकर्मी र आवद्ध सदस्यहरु खुशी हुनेछन् । 

अबका दिनमा सबै सहकारी संस्थाका अध्यक्ष लगायतका सञ्चालक समिति, उपसमितिहरु र ब्यबस्थापकज्यूहरुले सदस्यहरुले हामीलाई विश्वास गरेर दिनुभएको हाम्रो जिम्मेवारी र भूमिकामा हामी चुक्ने छैनौ, जिम्मेवारी र भूमिकाको आधारमा हामी हाम्रा समस्त सदस्यज्यूहरुको बचतको पूर्णरुपमा ब्यक्तिगत तथा संस्थागत जिम्मेवारी लिन्छौ र ऋणको कारोबार गर्ने सदस्यज्यूहरुले पनि सदस्यको बचतको अंशबाट हामीले संस्थाबाट लिएको ऋण जस्तोसुकै परिस्थितिमा पनि इमान्दारिताका साथ भुक्तानी गर्नेछौ भन्नेमा प्रतिबद्ध हुनुपर्छ । संस्था र सदस्यज्यूहरुको बीचमा बढ्न गएको दुरीलाई विश्वास र सद्भावको माध्यमबाट दुरी शुन्य गर्नुपर्दछ । एउटा सहकारी संस्थाको लागि सदस्य त्यो सहकारीको ग्राहक हैन पारिवारिक सदस्य हो भने एउटा सदस्यको लागि आबद्ध सहकारी संस्था कुनै निकाय हैन, घर हो । यत्ति धेरै सुमधुर र नजिकको सम्बन्ध छ की सहकारी र सदस्यमा जुन अन्य कहि हुनै सक्तैन । त्यसैले त सहाकारीका आवद्ध ब्यक्तिहरुलाई अरुले जस्तो क्लाईन्ट नभनी र सदस्यको रुपमा नामाकारण गरि जिम्मेवारी र भूमिका दिईएको छ । जसलाई पछिल्ला समयहरुमा कहिकतैबाट अपभ्रंश गर्ने प्रयास भएको छ । जसमा सहकारी र सम्बद्ध सदस्य सर्तक रहनु जरुरी छ र आफ्नो संस्था प्रति विश्वस्त रहि आफ्ना बचत तथा ऋणका कारोबारहरु निर्धक्कले गर्नुपर्दछ । किनकी संस्था तपाईको पनि हो र तपाई संस्थाको एक जिम्मेवार सदस्य हो जसले भोली अध्यक्ष बन्ने हैसियत राख्नुहुन्छ ।  

हामी कसैले पनि भूल्नु हुँदैन, नेपालको सन्र्दभमा सहकारीको महत्व, भूमिका र योगदानलाई । केहि धनाढ्य वर्गलाई लाग्न सक्छ, यस्ता ताल न बेतालका सहकारीहरु । तर राज्यले समेत तीन खम्बे अर्थनीतिमा एक खम्बाको रुपमा सहकारीलाई स्थापित गरेर यसको महत्व र आवश्यकतालाई प्रस्ट्याएको छ । सहकारी त्यो आधार स्तम्भ हो जसले ती गरिब दुःखीहरुको घाउहरुमा मल्हम लगाएको छ । साना साना त्यसै खर्च भएर जाने १०–२० रुपैयाँका अंशहरुलाई सदस्यहरुको घरदैलौमा नै पुगेर सेवा दिई संकलन गरेर ल्याई पूँजी निर्माणको रुपमा विकास गरेको छ । सो बचतलाई आवश्यक परेका सदस्यहरुलाई नै कर्जाको रुपमा परिचालन गरि सदस्यहरुलाई सानो तिनो ब्यापार गर्न, उद्यम गर्न प्रेरित गरेको छ । बस् आकार र भूमिकामा उमेर अनुसार परिर्वतन भयो होला । समयक्रम सँगै सबै ठुला भए, राम्रा भए । सदस्य पनि संस्था पनि । कार्यसञ्चालनका दौरानमा केही स्वार्थ समुहरुको नीजि स्वार्थ, राज्यका नीतिगत तथा आर्थिक संरचना लगायतका विभिन्न प्रभावहरुले गर्दा केहि सहकारीहरुले बाटो विराए । जसको कारण विस्तारै समस्याको सृजना हुन पुग्यो । हालको परिप्रेक्ष्यमा त अन्य कारणहरुको तुलनामा विश्वमा नै देखिएको आर्थिक मन्दी, देशको आर्थिक संकूचन, ब्यापार ब्यबसायमा आएको गिरावट, मानिसहरुको आयमा भएको कमीले क्रयशक्तिमा पारेको प्रभाव, कर्जा कारोबार गर्ने सदस्यहरुको कारोबारमा आएको गिरावट आदि विभिन्न कारणहरुले गर्दा कर्जा भूक्तानीमा परेको कठिनाई, नकारात्मक समाचारको शिर्षक, सामाजिक सञ्जालको दुरुपयोग आदिको कारण चक्रियरुपमा एक अर्काका आर्थिक क्रियाक्लापहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा सबैलाई असर पर्यो, जसको फलस्वरुप सामान्य मानिसहरुको दैनिकीको साथमा वित्त, सहकारी, बैंक र राज्य सबैलाई आ–आफ्नो प्रकृति अनुरुपको नकारात्मक असर देखापर्यो । बैंकको ब्याजदर बढ्दा ऋणि तथा ब्यबसायीहरुको ऋण भूक्तानीमा प्रत्यक्ष असर पर्यो भने बढ्दो मुद्रास्फितीको कारण बाह्य क्रय, विक्रय तथा भुक्तानी सन्तुलनमा प्रतिकुल असर पर्न विकास निर्माणका कार्यमा प्रभाव पर्न गै सर्वसाधारणको जिवनस्त्तरमा नै प्रतिकुल प्रवाभ पर्न गएको कुरालाई पनि हामीले विर्सनु हुन्न । यस्तो अवस्थामा सबैभन्दा पहिला सदस्यज्यूहरुमा संयमताको जरुरी छ भने राज्य, सहकारी संघहरु तथा पत्रकार मित्रहरुबाट सकारात्मक सन्देश सहितको सूचना सम्प्रेषणको अत्यन्त महत्वपूर्ण भूमिका रहन्छ । 
 
हाम्रो मानसिकता के छ भने नकारात्मक शिर्षकको पछाडि धेरै लाग्ने, सोहि शिर्षकको आधारमा आफ्नो धारणा बनाउने र शिर्षक लेख्नेहरुले पनि भ्यूअर्सको संख्या बृद्धिको लागि सकारात्मक पाटोलाई छोपेर नकारात्मक शब्दसंयोजन गर्ने । यदि हामी सबै सकारात्मक भएर सोच्ने हो भने धेरै नकारात्मक पाटाहरु पनि सहज ढंगबाट सम्पन्न हुनेछन् । त्यसैले सकारात्मक सोचौ, सकारात्मक बनौ यो मेरो अपिल हो । सहकारी संस्थाहरु सबै नराम्रा छैनन् र नकारात्मक शिर्षकले विम्बित गरेको जस्तो भागेका पनि होईनन् र कोहि कतै भाग्न सक्ने अवस्था पनि छैन, किनकी विद्यमान ऐन कानुनले सञ्चालकहरु, ब्यबस्थापक लगायतलाई आफ्नो जिम्मेवारी र भूमिकाबाट उम्कन सक्ने ठाउँ कही छोडेको पनि छैन । स्थानीयस्त्तरमा सञ्चालित सहकारीले बदमासी गर्न सक्ने अवस्था नै अत्यन्त न्यून हुन्छ किनकी ति सञ्चालक, ब्यबस्थापक पनि त्यहि समाजको एक जिम्मेवार र परिचित अनुहारहरु हुन् । त्यसैले असान्दर्भिक लेनदेनको प्रभावमा नपरी सुझेर बुझेर कारोबार गरांै तपाई आवद्ध सहकारी संस्था तपाईको नै हो । कसैले नराम्रो भन्यो भन्दैमा त्यसको प्रभावमा नपरी आफै सहकारी संस्थामा गएर बुझौ, ब्यबस्थापनसँग जिम्मेवारी सहितको कुरा गरौं अनि आफ्नो स्व–विवेकले निर्णय लिऔं । स्वतन्त्र ढंगले सदस्य बन्ने, बचत राख्ने, झिक्ने र कारोबार गर्ने तपाईको नैसर्गिक अधिकार हो । 

अन्तमा म यति महत्वपूर्ण कार्यक्रम संयोजन गरि सम्पन्न गर्नुहुने नेफ्स्कून परिवार र सो कार्यक्रममा आएर आफ्नो महत्वपूर्ण कार्यपत्र प्रस्तुत गर्नुहुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्यक्ति ब्यक्तित्वलाई हार्दिक आभार प्रकट गर्दै हामीहरु सबैको यो साझा चौतारी सहकारीलाई समस्या रहित बनाउँदै अझै सबल र सुदृढ बनाउँदै लैजानको लागि हातेमालो गर्न सबै सरोकारवाला वर्गहरु, सदस्यज्यूहरु, सञ्चालकज्यूहरु र ब्यबस्थापकज्यूहरुलाई हार्दिक अनुरोध गर्दछु । एउटै आगनमा धेरैलाई अटाएर आफ्नोपन दिनसक्ने एकमात्र सदस्यहरुको आफ्नो संस्था सहकारी नै हो जुन सदस्यका दुःख सुखका सहयात्री हुन् । 
 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ