शनिबार, चैत्र १८
११:१४

मिसन १०० : नतिजा र सन्देश

बुधबार, फागुन १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

(व्यवस्थापन टिप्स) 
                                
हामी भर्खर आर्थिक वर्ष २०७८/०७९ को वार्षिक हिसाव मिलानको संघारमा थियौं । लामो समयसम्म कोरोनाले थलिएको जनजिवन, रुस युक्रेन युद्धको विश्वव्यापी असर र आर्थिक मन्दी आदि कारणले नेपालको वित्तीय क्षेत्रले तरलता अभावको सामना खेपिरहेको थियो नै । तरपनि आगामी वर्ष यो समस्याले चाँडै नै पार पाउनेछ, आम नागरिकहरुको जनजीवन, व्यापार व्यवसाय, शेयर बजार, ब्याजदर र बजार भाउ सामान्य हुँदै जानेछ र तरलता समस्या सामान्य बन्नेछ भन्ने विश्वासका साथ वार्षिक खातावन्दी सम्पन्न गर्यौं । तर परिस्थिति सोचेको भन्दा विपरित दिशातर्फ अगाडि मोडियो । आषाढ हुँदै श्रावण महिनामा पुग्दा तरलता समस्याले झन् विकराल रुप लिदै गयो, फलस्वरुप बैक तथा वित्तीय संस्थाले मुद्धती निक्षेपमा दिने ब्याजदर ११, १२ हुँदै १३ प्रतिशततिर पुर्यायो । बैक तथा वित्तीय संस्था र सहकारी संस्थाहरुले ऋण प्रवाह गर्न वन्द गर्यो, ऋण असुली लगभग ठप्प जस्तै भयो, धेरै जसो सहकारीमा तरलता १० प्रतिशत तलको विन्दुमा झर्न थाल्यो, बजारमा पैसा छैन भन्ने हल्ला भयो, सदस्यहरुले बचत खातामा भएको मात्र हैन आवधिक र मुद्धती खातामा भएको पैसा समेत निकाल्न खोजे । सहकारी संस्था मात्र होईन, केहि बैकहरुले समेत भुक्तानी सीमा तोक्न थाल्यो भन्ने हल्ला फिँजाईयो । आम जनमानसमा एक किसिमको त्रास फैलियो, तरलताको मारमा कति सहकारी संस्थाहरुले कार्यालय वन्द गर्न पर्यो, कतिले भुक्तानी सीमा तोक्यो, सहकारीको नामबाट साहुकारी बनेका कतिले यहि निहुमा संधैका लागि संस्था बन्द गराए, सञ्चार माध्यममा सहकारीको विकृतिको समाचारहरु छरपस्ट हुन थाल्यो, खासगरि सामाजिक सञ्जालले यो अवधिमा राम्रै मसला पाए ।

यसैबीच परिस्थितिलाई थप जटिल हुन नदिन सहकारी विभागले विभिन्न मितिमा एकिकृत निर्देशन, मार्गनिर्देशन तथा निर्देशन जारी गर्यो, तत्पश्चात सहकारी संस्थाहरुलाई मासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्न पर्ने भयो । केन्द्रीय संघहरूले मार्गनिर्देशन जारी गर्यो, प्रदेश र जिल्ला तहमा तरलता समस्या समाधानका निम्ति आन्तरिक छलफल र वहसहरु थालियो । नेफस्कूनले आफ्ना सदस्य संस्थाहरुलाई २५ प्रतिशत तरलता कायम गर्न भन्यो । तरलता समस्या भएका संस्थाहरुले विवरण सार्वजनिक गर्ने हिम्मत नै गरेनन् । यो परिस्थितिमा पनि सदस्य केन्द्रित र समुदायमा आधारित सहकारीमा खासै तरलता समस्या देखिएन । उनीहरूले सार्वजनिक गरेको विवरण बमोजिम धेरै संस्थाहरूमा १० प्रतिशत बढी तरलता देखियो । यो मार, यो समस्या र यो निर्देशन हामीले नजिकबाट भोगिरहेको र देखिरहेका थियौं । पोखरा रोयल साकोसमा करिब दुई दशकको इतिहासमा तरलता बढी भएको थाहा छ, कम भएको महसुस गरिएको थिएन । 

देशैभरि देखिएको यो समस्याले गर्दा हामीले पनि सदस्यले मागे जत्ति ऋण दिन सकेका थिएनौ, बचत भुक्तानीको समस्या त कहिल्यै भएन । यो बीचमा सदस्यहरुले अरु बेला भन्दा अलि बढि चासो र चिन्ता गरेको हो कि भन्ने महसुस चाँहि भयो । दशै, तिहार, छठ, ल्होसार, आम निर्वाचन जस्ता महत्वपूर्ण चाडहरु पनि संघारमै आईरहेको थियो । वार्षिक साधारणसभा पश्चात बोनसको रुपमा आउने पैसा पनि बाहिरने सम्भावना थियो । यो बेला सबैलाई पैसा चाहिने बेला त हो नै, यो परिस्थितिमा बचत फिर्ता गर्ने मात्रै ठूलो कुरा होईन, यो त सदस्यको अधिकारभित्रै पर्छ, आवश्यक पर्ने सदस्यहरूलाई थोरै भएपनि ऋण प्रवाह गर्न सक्नुपर्छ भन्ने हामीलाई लाग्यो । अन्तत यो समस्याको दीर्घकालिन समाधान खोज्ने उद्देश्यका साथ भाद्र महिनाको अन्तिमतिर समिति, उपसमिति र व्यवस्थापनको रणनैतिक गोष्ठी सञ्चालन गर्यौं, गोष्ठीका निष्कर्षका साथ हामीले भन्यौं, यो तरलता समस्या होईन, व्यवस्थापन समस्या हो । यसको समाधान हामीसँगै छ, अनि हामी मिसन १०० अभियान रणनीति लिएर अगाडि बढ्ने संकल्पमा जुट्यौं, सुखी सदस्य, दिगो सहकारीको मूल परिकल्पनाका साथ । अप्ठ्यारो परिस्थितिमा सञ्चालनमा आएको अभियान सफल भएकोले काँहि कतै यसको अनुशरण हुन सक्छ भन्ने हेतुले यो अनुभव साट्ने जमर्को गरेको छु । 

मिसन १०० के हो ? 

मिसन १०० एउटा बचत वृद्धि गर्ने अभियान थियो । तरलता वृद्धि अभियान थियो । मिसनले १०० दिनसम्म बचत निक्षेप वृद्धिका गतिविधि सञ्चालन गर्ने, १०० दिने आवधिक बचत (मुद्धती) खाता सञ्चालन गर्ने र यसमा सदस्यहरुलाई १४ प्रतिशत ब्याज प्रदान गर्ने, ऋण प्रवाह केहि समयलाई बन्द गरि असुलीलाई तीब्रता दिने, १०० दिनमा १० हजार जनालाई सम्पर्क गर्ने, समिति देखि व्यवस्थापनका सबैलाई टारगेट दिने, सयौं भेटघाट र रणनीतिक बैठकहरु गर्ने, हरेक दिन दैनिक प्रगति र हरेक हप्ता साप्ताहिक प्रगतिको रिपोर्टिङ गर्ने, यस अभियानमा सरिक हुने सदस्यलाई मोवाईल बैकिङ, एटिएम, एस एम एस सेवा, क्यू आर कोडको सेवा निशुल्क गर्ने, १०० दिने योजनामा कम्तिमा १ लाखको बचत राख्नुपर्ने र १०० दिनमा १० करोड निक्षेप संकलन गर्ने महत्वकांक्षी लक्ष्य भेट्टाउने । 

अभियान परिचालन र यसको नतिजा 

मिसन १०० अभियान तरलता वृद्धिको लागि एउटा सञ्जीवनी वुटी जस्तै सावित भयो । मिसन अवधारणा पत्र तयार भए पश्चात समिति, उपसमिति, सल्लाहकार, व्यवस्थापन र समूहका नेतृत्वदायी भूमिकामा रहेका करिब १०० व्यक्तिहरू बीच संकल्प प्रस्ताव पारित गरियो । यो समूहमा पर्ने सबैलाई मिसन १०० का अभियानकर्मी तोकियो । अभियानकर्मी मध्ये सबैभन्दा बढी नतिजा निकाल्ने दुई जनालाई विशेष सम्मान गर्ने, उत्कृष्ठ बचतकर्ता सदस्यसँग अभियानको समापनमा डिनर मिटिङ गर्ने गरि २०७९ आश्विन १ गतेबाट अभियानको औपचारिक शुभारम्भ भयो । मिसन १०० को सानो जानकारी ब्रोसर बनाएर सदस्यहरुलाई म्यासेन्जरमा पठाईयो, प्रत्यक्ष फोन सम्पर्क र भेटघाट भन्दा अन्य सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रचार प्रसार गरिएन । अभियान थालनी भएको दिन नै करिब १० लाख र पहिलो हप्ता समाप्त हुँदा २ करोड २३ लाख निक्षेप संकलन भयो । पहिलो हप्ताको नतिजाले राम्रै संकेत दिएको आभास भयो । संस्थाको वार्षिक साधारण सभा यहिबेला शुरु भयो । एकाईगत रुपमा सम्पन्न भएको साधारण सभामा उपस्थित करिब ६ हजार बढी सदस्यहरुले यो जानकारी पाए । फेरि पनि कतिले सहज रुपमा लिए होलान्, कतिले रोयलसँग रकम अभाव भएछ भन्ने बुझे होलान्, जे होस् अभियानले सार्थकता पाउदै गयो । बचत वृद्धिसँगै तरलता वृद्धि हुँदै गयो, दशै तिहार वरिपरि आईपुग्दा ऋण लिन चाहने सदस्यहरुले ५० लाख सम्मको ऋण पनि पाउन थाले । अभियानमा १,२,३ जना हुँदै २३२ जना सहभागी भए । १० करोडको लक्ष्य लिएर प्रारम्भ गरिएको मिसन १०० अभियान १६ करोड बढी रकम संकलन गरेर सकियो । 

मिसन १०० बाट सिकेका १० सन्देशहरु :

१) तरलता समस्या होईन, यो व्यवस्थापन समस्या हो । सहकारीको समग्र व्यवस्थापनमा ध्यान दिने हो भने तरलता समस्या क्षणिक विषय रहेछ । १०० दिनमा हामीले तरलतालाई १७ प्रतिशतबाट २५ प्रतिशतमा पुर्याउन सफल भयौं । 

२) सहकारी संस्थाहरुले आफ्नो असल अभ्यासहरुलाई आम नागरिक सामु त के, आफ्नो सदस्यहरु माझ पनि संप्रेषण गरेको छैन । सबैले यसतर्फ ध्यान दिनु जरुरी देखिन्छ ।

३) सहकारी संस्थाहरु प्राय कर्मचारी व्यवस्थापनको जोडबलले चलेको देखियो, समिति उपसमितिमा रहेको उर्जाशील शक्तिलाई संस्थाको उन्नती प्रगतिमा समाहित गर्न थप कार्यक्रम र योजना सहित लाग्नुपर्ने देखिन्छ ।

४) ब्याज बढाउदैमा निक्षेप बढ्ने होईन रहेछ, आम नागरिक र सदस्यको विश्वास जित्नका लागि उनीहरुसँग प्रत्यक्ष संवाद, व्यक्तिगत भेटघाट र सहकार्य आवश्यक हुनेरहेछ । 

५) सहकारीबाट प्रदान गरिने बचत तथा ऋणका सेवा (प्रडक्ट) डिजाईन गर्दा आकर्षण, विश्वासिलो र समय सान्दर्भिक (क्याचि) बनाईनु पर्ने रहेछ । (जस्तै १०० दिने बचत, छुनुमुनु बचत आदि ) 

६) कुनै पनि कार्यक्रमको योजना, परिचालन र समापन व्यवस्थित रुपमा गरिनुपर्दछ । हरेक स–सानो उपलब्धिलाई पनि सफलताको रुपमा मापन गर्दै सेलिब्रेसन गर्नुपर्दछ, जसले अभियानकर्मीलाई थप उर्जा मिल्दै जान्छ ।  

७) बचत निक्षेप संकलन गर्नुभन्दा ऋण प्रवाह र असुली ठूलो चुनौती रहेछ, सहकारी संस्थाले ऋण व्यवस्थापनमा विशेष योजना बनाउन, सक्षम र पर्याप्त कर्मचारी व्यवस्था गर्न जरुरी देखिन्छ । 

८) तरलता समस्याको ठूलो कारण बचत संकलनमा कमी भन्दा, ऋण असुली नभएर भएको पाईयो । यसको लागि ऋण परामर्श, ऋण सदुपयोगिता जाँच र ऋणको कानूनी उपचारमा विशेष ध्यान दिनुपर्ने देखियो ।

९) वर्तमान अवस्थामा सदस्य केन्द्रित र समुदायमा आधारित सहकारीमा कम समस्या देखिएकोले सहकारीहरुले सदस्य केन्द्रित गतिविधि र सदस्य शिक्षालाई सबै सदस्यको पहुँचमा सञ्चालन गर्नुपर्ने देखियो ।

१०) सदस्यसँग पैसा हुँदा पनि नियमित बचत र ऋणको किस्ता तिर्दैनन् किनकि वाह्य वातावरण धमिलिएको बेला पैसा आफैसँग राख्ने रहेछन् । वित्तीय वातावरण सफा राख्नका लागि सरकारी निकाय, सहकारी संघहरु र सहकारी संस्थाहरुको ऐक्यवद्धता र सहकार्य जीवन्त भईरहनुपर्ने देखियो । यसका लागि सुशासनयुक्त निकाय, सबल नेतृत्व र चुस्त व्यवस्थापन आजको अपरिहार्य शर्त हो भन्ने बुझाई रह्यो । 

साकोस आवाज त्रैमासिक प्रकाशन २०७९, पौष अंकमा प्रकाशित ।

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ