शनिबार, वैशाख ८
०२:२६

मेरो सफलताको श्रेय : स्वस्तिक साकोस 

बुधबार, कात्तिक २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

धन बहादुर खड्का 
उद्यमी 

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ५ सुन्दर बस्तीमा मेरो घर छ । श्रीमती, १ छोरा र २ छोरीहरु सहित ५ जनाको परिवार छ । मुख्य पेशा गमला उद्योग हो । विगत ८ वर्ष देखि गमला निर्माणको कामलाई निरन्तरता दिँदै आएको छु । त्यसको अलावा बंगुरपालन र ई रिक्सा चलाउने काम पनि गर्छु । मलाई यी सवै कामप्रति हौसला बढाउने र आर्थिक सहयोग उपलब्ध गराउने एक मात्र आधार स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको नै हो । विगत १० बर्षदेखि स्वस्तिक साकोसमा शेयर सदस्य छु । साकोसद्वारा गठित उन्नतिशील बचत समूहको समेत सदस्य हुँ ।

समूहको सदस्यता लिएदेखि नियमित रुपमा समूहमा उपस्थित भई हरेक महिनाको ९ गते बस्ने बैठकमा सहभागी हुने गरेको छु । मासिक बचतलाई निरन्तरता दिएको छु । 

सुरुमा उद्योग सञ्चालनका लागि आवश्यक फर्मा र अन्य औजार खरीद गर्न रु. २५ हजार लागेको थियो । स्वस्तिक साकोसबाटै ऋण लिएर उद्योगको शुरुवात गरेको थिएँ । अहिले महिनामा ३ सय ५० देखि ४ सय थान गमला उत्पादन गरिरहेको छु । करिब ४ सय थान गमला उत्पादन गर्न रु. २० हजार लागत पर्छ । उक्त संख्यामा गमला उत्पादन गर्न ४ ट्रिप बालुवा र १५ बोरा सिमेन्ट खपत हुन्छ । १ ट्रिप बालुवा ल्याउन रु. ७ सय र १ बोरा सिमेन्टको रु. ८ सय ५० पर्छ । रंगरोगनको लागि रु. २ हजार देखि रु. ३ हजार खर्च हुन्छ । २ जनाले १० देखि १५ दिनमा उक्त गमला तयार पार्छन् । गमलाको मुल्य प्रतिगोटा रु १ सयमा बिक्री हुन्छ । औषत गमला उद्योगबाट मासिक रु. २० हजार नाफा हुन्छ ।

बंगुरपालन व्यवसायमा पनि राम्रो सफलता मिलेको छ । १ वटा माउ बंगुरबाट वर्षमा २ वेतमा १५ देखि २० वटा पाठा उत्पादन हुन्छन् । बच्चा जन्मेको सरदर १ महिना भित्र रु. ३ हजार ५ सय देखि ४ हजार सम्ममा बिक्री हुन्छ । केही पाठाहरुलाई घर मै पालेर ठूलो बनाएर पनि बेच्ने गरिन्छ । 

ई–रिक्सा चलाएर मासिक रु. २० देखि रु. २५ हजार कमाइ गर्ने गरेको छु । ३ वटै पेशा व्यवसायबाट मासिक औषत रु. ४० हजार देखि रु. ५० हजार नाफा हुन्छ । यही पेशाबाट ८ धुर घडेरी खरीद गरेको छु भने दैनिक घर खर्च धान्न र छोराछोरी पढाउन सजिलो भएको छ । दुई छोरी ११ र १२ मा पढ्दैछन् भने छोरा कक्षा ६ मा पढ्दैछ । साकोसमा केही रकम बचत गरेका छौं । श्रीमती र सबै छोराछोरीहरुको सहकारीमै खाता सञ्चालन गरी नियमित बचत गर्दै आइरहेका छौं । सहकारी संस्थाबाट सुरुदेखि हालसम्म गरी ४ पटक ऋण लिइसकेको छु भने ऋणको किस्ता र ब्याज पनि नियमित रुपमा बुझाइरहेको छु । नियमित किस्ता र ब्याज तिरे बापत सहकारी संस्थाले स्वस्तिक दिवसको अवसरमा उत्कृष्ट ऋण कारोबारी सदस्यको रुपमा समेत सम्मान गरेको छ । स्वस्तिक साकोस नै मेरो सफलताको श्रेय हो । 

ग्रामीण क्षेत्रका महिला, दलित, जनजाति, आर्थिक रुपले पिछडिएका व्यक्ति र समुदायलाई लक्षित गरि समूह मार्फत बचत र ऋणको कारोबार गरी सदस्यहरुको आयआर्जनमा सहयोग पुर्याउने स्वस्तिक बचत तथा ऋण सहकारी संस्था सम्पूर्ण सदस्यहरुका सुख दुखको साथी बनेको छ । 


साकोस परिचय

२०६९ फागुन ९ गते डिभिजन सहकारी कार्यालय, रौतहटमा दर्ता भई सञ्चालनमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि. सदस्यहरुको सुख दुखको साथी बनेको छ । स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले ग्रामीण क्षेत्रका आर्थिक रुपले कमजोर समुदायलाई लक्षित गरि समूह गठन गरि बचत र ऋणको कारोवार मार्फत ती व्यक्तिहरुको आयआर्जनमा टेवा पु¥याउदै आइरहेको छ ।

३ हजार ९०९ शेयर सदस्य र २ हजार १०८ बालबचतकर्ताहरु सहभागी साकोसको २ करोड ७ लाख शेयर पूँजी रहेको छ । १४ करोड २२ लाख बचत संकलन र १७ करोड ८८ लाख ऋण लगानी रहेको साकोसको कुल पुँजी २० करोड ५३ लाख पुगेको छ । साकोसमा १० कर्मचारी कार्यरत छन् । सञ्चालक समितिमा ९ जना (महिला ७, पुरुष २) र लेखा सुपरिवेक्षण समितिमा ३ जना (महिला २, पुरुष १) रहेका छन् भने ६ वटा बालक्लब र १ सय ४९ समुह साकोसमा आबद्ध छन् । 

सुशासनमा प्रतिबद्ध स्वस्तिक साकोस जोखिममा आधारित साकोस सुवरिवेक्षण कार्यक्रम कर्ब्समा पनि आबद्ध छ । 
 

saccosaawaj media

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

सोमबार, साउन ५

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

saccosaawaj media

अब्बल साकोस नेतृ सीमा

आईतबार, साउन २५

अब्बल साकोस नेतृ सीमा

saccosaawaj media

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’

आईतबार, साउन २५

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’