बिहीबार, चैत्र १५
११:०८

विपद् व्यवस्थापनमा सहकारीको भूमिका

शुक्रबार, कात्तिक १८
राधा पौडेल
saccosaawaj

विपद् एक काबूबाहिरको प्रतिकूल अवस्था हो । जसले आफ्नो सन्निकटमा रहेकाहरुको जीउधन र जीविकाको रक्षा गर्न सक्ने क्षमता पार गर्दछ । विपद् विभिन्न प्रकोपजन्य तत्वहरुका कारण उत्पन्न हुन्छ । विशेषत यसले मानव जीवनमा प्रतिकूल प्रभाव पार्दै पहिलेको अवस्थाभन्दा फरक अवस्थामा ल्याउँछ । नेपली जनताले समय समयमा विपद्को सामना गर्नुपरिरहेको छ भने नेपालका धेरै क्षेत्रहरुमा विपद्को चुनौती गम्भीर सरोकारको विषय बनेको छ । 

समुदायस्तरमा संगठित सहकारी संघ संस्थाले विपद् व्यवस्थापन संयन्त्र निर्माण गरेर कार्यान्वयनमा ल्याउन सक्ने हो भने केही हदसम्म समुदाय र सदस्यमा पर्न सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न सकिन्थ्यो । सहकारीले विपद् व्यवस्थापनका सम्बन्धमा समुदाय स्तरमा जागरण, सचेतना एवम् सशक्तिकरणका लागि योजनावद्ध कार्यक्रमहरु समेत आयोजना गर्नुपर्ने हुन्छ । तसर्थ समुदायमा घट्न सक्ने घटनाहरुको बारेमा सहकारी मार्फत विशेष तयारी र चासो बढाउँदै समुदाय र सदस्यमा सहकारीको विशिष्ट भूमिका स्थापित गराउन सक्नुपर्छ ।

नेपालमा पछिल्लो समय २०७२ वैशाख १२ को भूकम्प, बाढीपहिरो र २०७६ देखि २०७८ सम्मको कोभिड १९ संक्रमण जोखिमले ठूलो विपद् सृजना गर्यो । कोभिड १९ नेपालमा मात्र नभएर विश्व माहामारीको रुपमा रह्यो । यसले व्यक्ति, परिवार, समुदाय, समाज हुँदै विश्व अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्न पुग्यो । ठूलो जनधनको धति भयो ।  विपद्का कारण सिर्जित अल्पकालिन तथा दीर्घकालिन सम्पूर्ण असरहरुबाट मानिसहरु प्रत्यक्ष प्रभावित बने । प्रभावका सूचकले मानिसहरुमा मृत्यु संख्या, जीविकोपार्जन साथै मनोवैज्ञानिक देखि सामाजिक–आर्थिक, सांस्कतिक–भौतिक र वातावरणीय क्षेत्रसम्म ठूलो असर पार्यो। विपद्को प्रभावले जनसंख्याको विभिन्न भाग, समुदाय र समुदाय भित्रका निश्चित समूहलाई प्रभावित तुल्यायो । कोभिड प्रभावका कारण विश्व अर्थतन्त्रसँगै नेपालको आर्थिक अवस्थामा समेत हलचल पैदा भयो । समुदायमा संगठित रुपमा रहेको सहकारी क्षेत्र पनि प्रभावित बन्यो । सहकारी संस्थाले आफ्ना सदस्य र सदस्यको व्यवसायको संरक्षण गर्न सकेनन् । समुदायप्रतिको चासो सहकारीको एक महत्वपूर्ण सिद्धान्त भएपनि समुदायमा घट्न सक्ने आर्थिक सामाजिक, मनोवैज्ञानिक घटना न्यूनीकरणका लागि उचित तयारी र चासो पुगेन ।  

विपद्को प्रभाव तुलनात्मक रुपमा निर्वाहमुखी जीविकामा निर्भर समुदाय र सहकारीका सदस्यहरुमा भारी प¥यो । यस्तो संकटापन्नको अवस्थामा समुदायमा उत्थानशीलताको विकासका लागि सहकारीले समयमै प्रभावकारी कदम चाल्न सकेनन् । 

नेपालका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको केन्द्रीय संघको रुपमा रहेको नेफ्स्कूनले विपद् जोखिम न्यूनीकरणका लागि र व्यवसाय निरन्तरताका लागि निर्देशिका तथा योजना निर्माण गरी २०७८ श्रावणदेखि आफ्ना सदस्य संघ संस्थाहरुमा सहजीकरणको काम अगाडि बढायो । बहुप्रकोपका कारण उत्पन्न विपदबाट हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गरी सदस्यहरुको सुरक्षा, सचेतना तथा सेवाहरुको निरन्तरताका लागि व्यवसाय निरन्तरता योजना र विपद् जोखिम न्यूनीकरण निर्देशिका निर्माण गरी कार्यान्वयनमा ल्याउनुको साथै सदस्य संघ संस्थाहरुलाई कार्यान्वयनका लागि आव्हान गरेको छ । 

१३ परिच्छेद र ४४ दफा रहेको विपद जोखिम न्यूनिकरण निर्देशिका एवम् व्यवसाय निरन्तरता योजना कार्यान्वयनमा रहेको छ । जसमा १५ अनुसूची मार्फत विविध फारामहरु, नमुना ढाँचा, कार्यसम्पादन कार्यविधि, आरसंहिता, प्रभाव विश्लेषण, योजना रणनीति, मनोसामाजिक परामर्श नमुना लगायतका विषयहरु मार्फत निर्देशिका कार्यान्वयन सहजीकरण गरिएको छ । 

विपदबाट सिर्जित जोखिमको न्यूनिकरण साथै जोखिमबाट पेसा व्यवसायमा पर्न गएको प्रभाव न्यून गर्दै व्यवसायको निरन्तरताका लागि योजना निर्माणको काममा समेत निर्देशिकाले मार्गदर्शन प्रदान गरेको छ । 

निर्देशिका अन्तर्गत विपद जोखिम म्याट्रिक्सः राष्ट्रिय स्तर र संस्थागत स्तर, विपद् जोखिम विश्लेषण म्याट्रिक्स, विपद जोखिम न्यूनिकरणका संरचनात्मक व्यवस्था, स्रोत व्यवस्था लगायतका विषय विस्तृत समेटिएका छन् । त्यसैगरी जोखिम न्यूकिरणका रणनीतिहरु, सेवा निरन्तरता योजनाका बैकल्पिक उपाय एवं कार्यविधिहरु, व्यवसाय निरन्तरता योजना, आन्तरिक एवं बाह्य सूचना र सञ्चार, अनुशासन र कानुनी परिपालना, विपदमा सदस्य सुरक्षा रणनीतिका विषयहरु समाविष्ट छन् । 

नेपाल बहुप्रकोप घटनाहरुबाट उत्पन्न विपद्को जोखिममा विश्वमा २०औं स्थानमा रहेको मुलुक हो । मौसम परिवर्तन जोखिममा विश्वमा ४औं स्थानमा, भूकम्पीय जोखिममा ११औं स्थानमा र बाढी जोखिममा ३०औं स्थानमा पर्दछ । यी प्रकोपहरुबाट बचत तथा ऋण सहकारी संस्थाहरुको सेवा निरन्तरता तथा सदस्यहरुमा गम्भिर असर पर्ने गरेको छ । बहुप्रकोपका कारण उत्पन्न विपद् बाट हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गरी सदस्यहरुको सुरक्षा, सचेतना तथा सेवाहरुको निरन्तरताका लागि विपद् जोखिम न्यूनीकरण संयन्त्र निर्माणका लागि निर्देशिका उपयोगीसिद्ध छ । 

विपद् व्यवस्थापनमा साकोसको प्रयास

नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको विकू बचत तथा ऋण सहकारी संस्था लि. ले नेपालमै पहिलो पटक कार्यालय परिसरमा विपद् व्यवस्थापन गृह सञ्चालनमा ल्याएको छ । कुनै पनि बेला आईपर्नसक्ने प्राकृतिक तथा मानव सिर्जित विपद्का बेला तत्काल मानवीय सहयोग गर्न सकियोस् भन्ने  उद्देश्यले २०७९ श्रावण १९ गतेदेखि औपचारिक रुपमा गृह सञ्चालनमा ल्याएको छ । विकू साकोसले अब वित्तीय सुरक्षा मात्र नभएर संस्था र समुदायमा पर्न सक्ने विपद् र जोखिम न्यूनीकरणको कार्यमा समेत अग्रसरता देखाएको छ । सहकारी संस्था, कर्मचारी र समुदायको भौतिक सुरक्षाका लागि पनि विपद् व्यवस्थापन गृह अव अनिवार्य नै भएको छ । 

सहकारी संस्थामा विपद् व्यवस्थापन गृहको आवश्यकताको सन्दर्भमा विकू साकोसका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेल भन्नुहुन्छ, “प्राकृतिक तथा मानव सिर्जित विपद् हामीमाझ जुनसुकै बेला पनि आइपर्न सक्छ । आकस्मिक विपद्को समयमा सुरक्षित रहन विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । त्यसको पूर्व तयारी स्वरुप हामीले कार्यालय परिसरमा विपद् व्यवस्थापन गृहको स्थापना गरेका छौं ।”

विपद् व्यवस्थापन गृहमा आकस्मिक दुर्घटना, आगालागी जस्ता भवितव्यबाट प्राथमिक सुरक्षा सावधानी अपनाउन प्रयोग गर्न सकिने औजार तथा उपकरणहरु राखिएको छ । विपद्पको समयमा विपद् गृहमा भएका सामग्रीको सहायताले प्राथमिक चरणको उद्धारका कामहरु गर्न सकिन्छ । गृहमा फायर सेफ्टी, बाल्टी, गैंची, बेल्चा, पञ्जा, डोरी लगायतका विपद् उद्धारमा आवश्यक सामग्रीहरु छन् । 

कार्यालय र कार्यालयमा कार्यरत जनशक्तिको सुरक्षाका लागि विपद् व्यवस्थापन गृहको आवश्यकता अपरिहार्य छ । एउटा संगठित संस्थाको समुदायप्रतिको उत्तरदायित्व पनि त्यतिकै महत्वपूर्ण हुन्छ, यसमा सहकारी संस्था झनै प्रत्यक्ष समुदायसँग निकट रहेर काम गर्ने संस्था हो । विदेशतिर धेरै संस्थाहरु यसको प्रयोगमा अभ्यस्त देखिन्छन् । तर नेपालमा भने कहि कतै केही भवितव्य परेमा सरकारको सहयोग पर्खनुपर्ने बाध्यता छ । यसलाई चिर्न घर, कार्यालय र संघ संस्थाहरुमा यसको व्यवस्थापन गर्न सकियो भने दुर्घटनाबाट सुरक्षित रहनसक्छौं । नेपालमा बैंक वित्तीय क्षेत्रमा यसको प्रयोग भएको पाइँदैन, विकू साकोसले पहिलोपटक यसको सुरुवात गरेको छ । यसको मुख्य उद्देश्य भनेकै विपद् मा प्राथमिक तहको सुरक्षा व्यवस्थापनका लागि तयार रहनु नै हो । 

विपद् व्यवस्थापन गृह सञ्चालनका लागि साकोसले सुरक्षा गार्डको रुपमा कार्यरत कर्मचारी र अन्य कर्मचारीहरुलाई पनि विपद्का बेला प्रयोगमा आउने औजार तथा उपकरण प्रयोग सम्बन्धी अभिमुखीकरण समेत गराएको छ । 

कर्मचारीहरुलाई गृृहमा के के सामग्री छन् ? कस्तो वेलामा कुन कुन सामग्री  प्रयोगमा आउन सक्छ ? ईत्यादि कुराहरुको बारेमा पनि जानकारी गराईएको छ । त्यसको उचित व्यवस्थापन, संरक्षण र सञ्चालनका लागि प्रशासनमा कार्यरत कर्मचारी र विशेष गरी सुरक्षा गार्डमा कार्यरत कर्मचारीहरुलाई जिम्मेवारी तोकिएको छ । 

सहकारी क्षेत्र समुदायसँग जोडिएको क्षेत्र हो । सहकारी संस्था र कार्यरत कर्मचारीको सुरक्षा मात्र नभएर सदस्य र समुदायको सुरक्षा पनि सहकारीको सामाजिक उत्तरदायित्वभित्र पर्दछ । सहकारी संस्थाले जे जस्तो तहमा सकिन्छ, भौतिक पक्षको पनि सुरक्षात्मक उपायहरुमा क्रियाशिल रहनुपर्छ ।

२०५० साल जेठ ५ गते आजभन्दा ३१ बर्ष अगाडि स्थापना भएको विकू साकोसमा एक लाखभन्दा बढी सदस्य आबद्ध छन् । 

नीति विधि र प्रविधि प्रयोगमा समेत उदाहरणीय विकू साकोसले सदस्यहरुमाझ प्रविधिमैत्री सेवालाई समेत जोड दिएको छ । नेपालमै पहिलो पटक सहकारी क्षेत्रमा एटिएम सेवा सञ्चालनमा ल्याएको साकोसले नेपालको जुनसुकै बैंकबाट पनि सेवा लिँदा रकम नलाग्ने गरी सदस्यहरुमा एटिएम कार्ड वितरण गरेको छ । आज नेपालमै पहिलो पटक विपद् व्यवस्थापन गृह सञ्चालनमा ल्याएर विकूले संस्था, कर्मचारी र समुदायको भौतिक सुरक्षाको सवालमा उदाहरणीय कार्यको शुभारम्भ गरेको छ ।

विकसित देशमा जस्तो नेपालको वित्तीय क्षेत्र तथा सहकारीहरुमा विपद् व्यवस्थापनका कार्यक्रमहरु स्थापित हुन सकेका छैनन् । समुदायस्तरमा संगठित सहकारी संघ संस्थाले विपद् व्यवस्थापन संयन्त्र निर्माण गरेर कार्यान्वयनमा ल्याउन सक्ने हो भने केही हदसम्म समुदाय र सदस्यमा पर्न सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न सकिन्थ्यो । सहकारीले विपद् व्यवस्थापनका सम्बन्धमा समुदाय स्तरमा जागरण, सचेतना एवम् सशक्तिकरणका लागि योजनावद्ध कार्यक्रमहरु समेत आयोजना गर्नुपर्ने हुन्छ । तसर्थ समुदायमा घट्न सक्ने घटनाहरुको बारेमा सहकारी मार्फत विशेष तयारी र चासो बढाउँदै समुदाय र सदस्यमा सहकारीको विशिष्ट भूमिका स्थापित गराउन सक्नुपर्छ ।

साकोस आवाज त्रैमासिक प्रकाशन २०७९, असोज अंकमा प्रकाशित ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र