कास्की । सनसाइन बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–८, नागढुङ्गा को २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साकोसका अध्यक्ष अग्निप्रसाद कँडेलको अध्यक्षतामा असोज १० गते सोमबार आयोजित सभाको उद्घाटन गण्डकी प्रदेश सरकारका माननीय अर्थमन्त्री रामजी प्रसाद बरालले गर्नुभएको थियो । कार्यक्रमको विशेष अतिथिमा गण्डकी प्रदेश सभासद माननीय राजीव पहारी र अन्य अतिथिहरुमा नेफ्स्कून पोखरा फिल्ड कार्यालयका इन्चार्ज यमकला पौडेल, गौरीशंकर साकोसका अध्यक्ष रुद्रनाथ पौडेल, रामघाट साकोस अध्यक्ष यशोदा देवी गुरुङ्ग, संगम साकोसका उपाध्यक्ष बुद्धिमान थापा लगायत रहनुभएको थियो ।
संस्थाका सचिव नवराज अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष नेत्रलाल भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै शिक्षा उपसमिति सदस्य सम्झना गुरुङ्गले सहकारी सात सिद्धान्त वाचन गर्नुभएको थियो । उक्त कार्यक्रममा विभिन्न विधामा असल कारोबार गर्ने १६ जना सदस्यहरु र एसईई तथा उच्च शिक्षा हासिल गर्ने सदस्यका छोराछोरीहरुलाई सम्मान गरिएको थियो । त्यस्तै वर्ष उत्कृष्ट कर्मचारी पार्वती ज्ञवालीलाई प्रदान गरिएको थियो ।
प्रमुख अतिथि गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले नेपालमा उत्पादन कम भएकाले सहकारीहरुले उत्पादनलाई जोड दिनुपर्ने भन्दै राष्ट्रिय पूँजी विकासका लागि आयातलाई घटाउँदै स्वदेशमा उत्पादनको मात्रा बढाउन आग्रह गर्नुभयो । बजारमा मुठ्ठीभरका उद्योगपतिहरुको एकाधिकार चल्दैगर्दा गुणस्तरहीन वस्तु उत्पादन हुने र आम नागरिकले समस्या खेपिरहने अवस्थाबाट सहकारीले मुक्ति दिनुपर्ने उहाँको भनाइ थियो । सहकारी नाफा कमाउने नभइ सेवा दिने र साना उद्यमीहरुलाई उद्यमशील बनाउनका लागि भएको पनि उहाँले बताउनुभयो । पछिल्लो समय सहकारीहरु मर्म अनुरुप जान नसकेको सिद्धान्तभन्दा बाहिर पुगेको भन्दै सनसाइनलाई उहाँले प्रदेशलाई आत्मनिर्भर बनाउने बाटोमा हिँड्न आग्रह गर्नुभयो ।
सहकारीका सात सिद्धान्तलाई अहिलेका सहकारीले बिर्सेका छन् । सहकारीले आफ्नो पूँजीको ३० प्रतिशत उत्पादनसँग जोड्नुपर्छ । हाम्रो उत्पादन निकै खस्किएको छ, त्यसैले गण्डकी प्रदेश सरकारले आम्दानीको ३० प्रतिशत उत्पादनमा लगानी गर्न अनुरोध गरेको छ’, उहाँले भन्नुभयो, ‘अहिले सहकारीको नाममा धन्दा चलिरहेको छ । साइनबोर्डमा एउटा काम भने अर्कै । अब बस्तु आयातलाई कमजोर बनाइ निर्यातलाई बढवा दिन आवश्यक छ ।’
गण्डकी प्रदेशका सांसद राजीव पहारीले राज्यले सहकारीको वर्गीकरण गरिदिनुपर्ने बताउनुभयो । उहाँले सबै सहकारी एकैनासको नभएको र सनसाइनजस्ता उत्कृष्ट सहकारीसमेत वर्गीकरण नहुँदा ओझेलमा परेको बताउनुभयो ।
सञ्चालक समितिका अध्यक्ष अग्निप्रसाद कंडेलले संस्थालाई बलियो बनाउने माध्यम आर्थिक पारदर्शीता रहेको बताउनुभयो । आर्थिक पारदर्शीताले मात्रै संस्थाको भविष्य उज्ज्वल हुने बताउँदै सेवाग्राहीका लागि थप सेवा र सुविधा दिने तयारी रहेको बताउनुभयो । संस्थाको परिकल्पना “समृद्ध सदस्य सुशासनयुक्त उत्कृष्ट सहकारी” बनाउन सम्पूर्ण शेयर सदस्यहरुको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।
सहकारीका सचिव नवराज अधिकारीले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै गएको आर्थिक वर्षमा संस्थाले १ करोड ६१ लाख ३८ हजार २३१ रुपैयाँ नाफा कमाएको जानकारी गराउनुभयो ।
कार्यक्रममा नेफस्कून पोखरा फिल्ड कार्यालय प्रमुख यमकला पौडेल, संस्थाका संरक्षक गजकुमारी गुरुङ, सेयर सदस्य विष्णुकुमारी गुरुङ, गौरीशंकर सहकारीका अध्यक्ष रुद्रनाथ पौडेल लगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो । आ.व. २०७९/०८० को बजेट संस्थाका कोषाध्यक्ष नेत्रलाल भण्डारीले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै विभिन्न आन्तरिक नीति तथा कार्यविधि शंसोधन सम्बन्धमा संस्थाका सञ्चालक सदस्य टिकाराम ढुंगानाले प्रस्तुत गर्नुभएको थियो भने नयाँ नीति तथा कार्यविधिहरु संस्थाका व्यवस्थापक रोशन पौडेलले प्रस्तुत गर्नुभएको थियो ।