३३ औं विश्व सहकारी सम्मेलन (वल्ड कोअपरेटिभ कंग्रेस) सन् २०२१ को डिसेम्बर १ देखि ३ सम्म दक्षिण कोरियाली राजधानी सियोलमा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघ आइसीएका अनुसार यसै वर्ष नोभेम्बर २० मा सियोलमै आयोजना गरिनुपर्ने उक्त सम्मेलन कोभिड–१९ को महामारीका कारण पर धकेलिएको हो ।
सम्मेलनको नारा “हाम्रो सहकारी परिचयको गहिराई” तय गरिएको छ । सम्मेलनमा विश्वव्यापी चुनौतीहरुको सामनाका लागि सहकारी अभियानको भूमिका सुदृढीकरणका साथै स्थानीय तथा विश्व परिवेशनमा जीवन सुधारका नयाँ उपायहरुको खोजी गर्ने विषय उक्त नारासँग जोडिएको आइसीएले जनाएको छ । यस वर्ष आइसीए स्थापनाको १ सय २५ वर्षको अवसरसँगै सम्मेलन आयोजनाको तयारी भइरहेपनि कोभिड प्रभावले त्यो सम्भव हुन सकेन ।
आइसीए अध्यक्ष एरियल ग्वार्कोेले यस वर्षका लागि तय वश्व सहकारी सम्मेलन आगामी वर्ष हुने खबरले आफु हर्षित भएको बताउनुभएको छ । उक्त सम्मेलनमा कोभिड १९ को सन्दर्भमा विश्व सहकारी अभियानले विकास गरेको सामना शक्तिका अनुभवहरु आदानप्रदान गर्ने अवसर प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । “जलवायु परिवर्तन, लैङ्गिक समानतासँगै दिगो विकासका १७ लक्ष्यहरुसँग जोडिएका विषयहरुमा भएगरेका प्रगतिका बारेमा पनि सियोल सम्मेलनमा जानकारी साटासाट गर्न सकिन्छ,” अध्यक्ष ग्वार्कोले भन्नुभयो, “सबैको सामूहिक यत्नले हामी आगामी पुस्ताका लागि समावेशी र न्यायपूर्ण समाज निर्माण गर्न सक्छौं ।”