सर्लाही । हरिवन नगरपालिका–११ मा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि.ले संस्थापक सदस्यहरुको सम्मान सहित २३ औं स्थापना दिवस मनाएको छ ।
कार्यक्रममा संस्था स्थापनामा महत्वपूर्ण योगदान गर्नुहुने ३६ जना संस्थापक सदस्य र १४ जना पूर्व सञ्चालकहरुलाई सम्मान गरिएको थियो ।
साकोसका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षता रहेको स्थापना दिवस कार्यक्रममा भूमि ब्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि राज्य मन्त्री यादवले सहकारी ऐन प्रदेश संसदले पास गरि प्रमाणिकरणको लागि प्रदेश प्रमुखकोमा पठाइएको र ऐन चाडै नै प्रमाणित भएर आउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, जिल्ला बचत संघ सर्लाहीका अध्यक्ष एवम् सगुन साकोसका संस्थापक अध्यक्ष बाबुराम घिमिरेको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले नगरपालिकालाई सहकारी हव बनाउन लागिपर्ने बचतबद्धता व्यक्त गर्नुभएको थियो । मेयर बुढाथोकी सगुन साकोसका पूर्व सचिव समेत हुनुहुन्छ । उहाँले नगपालिकामा उपभोक्ता सहकारी गठन गर्न आर्थिक सहयोग गर्ने समेत बाचा गर्नुभयो ।
संस्थापक अध्यक्ष बाबुराम घिमिरेले स्थापना काल देखि हालसम्म भए गरेका आरोह अवरोह बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष बिनोद कार्कीले साकोसको हालसम्मको आर्थिक अवस्था तथा ४ वर्षे रणनीतिक योजनाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै साकोसका अध्यक्ष ढकालले सहकारी सहकारीका निश्चित मुल्य, मान्यता र सिद्धान्त अनुरुप सञ्चालन गर्न जस्तोसुकै योगदान गर्न पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साकोसकी उपाध्यक्ष तारादेवीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने सचिव राजकुमार उप्रेतीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
सगुन साकोस २०५७ साल श्रावण १९ गते डिभिजन सहकारी कार्यालय सर्लाहीमा विधिवत दर्ता भई सञ्चालनमा आएको थियो ।