धादिङ । धादिङमा सहकारीहरुका लागि कोपोमिस तालिम प्रदान गरिएको छ । नेफ्स्कून फिल्ड कार्यालय धादिङको आयोजनामा आज सञ्चालित तालिम नेफ्स्कूनकी निवर्तमान उपाध्यक्ष एवम् नेफ्स्कून पुरस्कार तथा सम्मान उपसमिति सदस्य पार्वती राई खाँडको सभाध्यक्षततामा भएको थियो ।
तालिम कार्यक्रममा निलकण्ठ नगरपालिका वडा नं. ३ की कार्यपालिका सदस्य चिना श्रेष्ठको प्रमुख आतिथ्यता र नेफस्कून फिल्ड व्यवस्थापन समितिका सदस्यहरु क्रमशः तुलसी अधिकारी, प्रदिप अधिकारी, गणेश श्रेष्ठ र जिल्ला बचत संघका प्रमुख व्यवस्थापकको आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि चिना श्रेष्ठले कोपोमिसको प्रभावकारी प्रयोगबाट सहकारी संघ संस्थाहरुबारेको जानकारी प्राप्त हुनेहुँदा यसले भोलिको दिनमा सहकारी क्षेत्रको विकास र व्यवस्थापनमा सहयोग पुग्ने साथै सहकारीलाई सुशासित र मर्यादित बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको थियो । नेफ्स्कूनले कोपोमिस प्रयोग सम्बन्धी तालिम दिएर अत्यन्त राम्रो काम गरेको र नगरपालिकालाई समेत अपनत्वबोध गराएर कार्यक्रम आयोजना गरेकोप्रति निकै खुसी व्यक्त गर्नुभएको थियो ।
नेफ्स्कूनकी निवर्तमान उपाध्यक्ष पार्वती राईले सहकारीका समसामयिक वस्तुस्थिति, सुशासनका देखिएको कमजोरी साथै सहकारी संस्था सञ्चालनमा पालना गर्नुपर्ने नीति, विधि र सिद्धान्तका बारेमा प्रष्ट पार्नुभएको थियो । कोपोमिस प्रणालीमा आबद्ध भएर सहकारीका सम्पूर्ण विवरणहरु भर्न अनुरोध गर्नुभएको थियो । उहाँले नेफ्स्कूनले प्रदान गर्ने सेवा र स्तरीकरणका कार्यक्रमहरुमा सहभागी भएर बढी भन्दा बढी लाभ लिन सहकारीहरुलाई सुझाव समेत दिनुभएको थियो ।
कार्यक्रममा धादिङ र गोर्खा जिल्लाका गरी ३० वटा सहकारी संस्थाका ३१ जनाको सहभागिता रहेको थियो । फिल्ड व्यवस्थापन समित सदस्य प्रदिप अधिकारीले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ सहायक मनोहर आचार्य र सञ्चालन धादिङका फिल्ड ईन्चार्ज शम्भु प्रसाद घिमिरेले गर्नुभएको थियो ।