शुक्रबार, वैशाख ७
०३:२४

“उद्यमको सफलता नै निरन्तरता हो”

बुधबार, जेठ ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

छोराछोरी धेरै, घरको न्यून आर्थिक अवस्था सँगै बाल्यकालमा देखे भोगेको विभेदले जीवनमा केही गरेर देखाउने इच्छाशक्ति देवका श्रेष्ठमा पैदा भयो । ४ छोरा र ८ छोरीमध्येकी ५ औं छोरी देवका श्रेष्ठलाई सानै उमेरबाटै आफु मात्र नभएर गाउँकै महिलाहरुमा आर्थिक रुपान्तरणको अभियान लिएर अगाडि बढ्नुपर्छ भन्ने सोच विकास भयो । एस् एल सी परीक्षा दिएर विवाह भएको देवकाको विवाहपछिको जीवन पनि निकै कष्टपूर्ण बन्यो । घर, बच्चाबच्ची हुर्काउने काम सँगै देवकाले बाल्यकालमा आफुले सिकेको सिलाई कटाइको सीपलाई निरन्तरता दिन घरभित्रै सिलाइको काम सुरु गर्नुभयो । सासु ससुराको साथ पाउनुभएकी देवका घरको चौघेराबाट बाहिर निस्केर आँफु जस्तै दुख पाएका महिलाहरुलाई आर्थिक रुपले सशक्त बनाउँछु भन्दै सिलाई कटाइको तालिम दिन सुरु गर्नुभयो । 

छोरी बुहारीलाई सिलाई कटाइको तालिम दिएर विगार्न खोजेको आरोप खेप्दै उहाँले समाजका धेरै भनाइहरुलाई चुपचाप सहेरै महिला सशक्तीकरणका लागि लडिरहनुभयो । नियमित तालिमका लागि आएका दिदीबहिनीहरु एक्कासी आउन छोडेपछि भने उहाँको चिन्ता गहिरिनु स्वभाविकै थियो । पैसा खर्च गरी गरी तालिम लिन नपठाउने समाजको विचारलाई चिर्दै उहाँले बचत संकलन गर्ने समूह निर्माणमा जुट्नुभयो । सिलाई कटाइको तालिम लिएर गाउँका केही महिलाहरु आत्मनिर्भर बन्दै पनि गएका थिए, त्यसले उहाँमा हौसला पनि थपिएको थियो ।

सहकारी स्थापना  

स्थानीय २६ जना महिला दिदीबहिनीहरु मिलेर एक एक सय रुपैंया बचत संकलनको अभियान देवकाले सुरु गर्नुभयो । समुहमा बचत संकलन र समुहभित्रै बचत र ऋणको कारोबार गर्दै महिला समूहले सहकारी सञ्चालन गर्ने निर्णय गर्यो । भक्तपुरको पौवा भन्ने ठाउँमा २०५७ साल भदौ १५ गते छिन्नमस्ता महिला बचत तथा ऋण सहकारी संस्था स्थापना गर्नुभयो । संस्थापक अध्यक्ष भएर देवका श्रेष्ठले सहकारीको नेतृत्व सम्हादै तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरबाट २०६३ सालमा छिन्नमस्ता महिला सहकारी विधिवत दर्ता गर्नुभयो । सहकारीको उद्देश्य विशुद्ध रुपमा महिलाहरुको आयस्रोत बढाउनुनै थियो । २०६३ देखि सहकारीमार्फत स्थानीय पिछडिएका महिलाहरु, जसको आयस्रोतमा पहुँच पुग्न सकेको छैन त्यस्ता महिलाहरुको आर्थिक सशक्तिकरणको क्षेत्रमा योजनाबद्ध कार्यक्रम ल्याउन अध्यक्ष देवकाले पहल गर्नुभयो । 

ग्रामिण भेग, यसमा पनि सबै महिलाहरु कृषिमा आवद्ध हुनुहुन्थ्यो । निर्वाहमुखी कृषिमा आश्रित सबै महिलाहरुमा आम्दानीको स्रोत केही थिएन । हामी सहकारीमा बचत गनुपर्छ भनेर त लाग्यौं, तर महिलाहरुमा न बचत गर्ने पैसा नै थियो न त बचत बारे चेतना । थोरै बचत गरेर के नै हुन्छ र भन्ने महिला दिदीबहिनीहरुलाई सहकारीमार्फत बचतको महत्वबारे बुझायौं । कृषि प्रणालीमा पनि योजना बनाएर काम गर्नुपर्छ भन्ने सिकाउँदै गयौं । १४/ १५ बर्षको दौरानमा आज सहकारीको साथ पाएर धेरै सदस्यहरु आर्थिक रुपमा आत्मनिर्भर बन्नुभएको छ । महिलाहरुमा आर्थिक पहुँच बृद्धि भएको छ । 

उद्यमको शुरुवात

स्थानीय स्रोत साधनको परिचालन गरेर स्थानीय महिला दिदीबहिनीहरुलाई रोजागारी दिनुपर्छ भन्ने उहाँलाई लाग्यो । महिलाहरुमा आर्थिक विभेद छ, महिला हिंसाको सिकार छन् अव महिलाहरुलाई पैसा दिएर होइन पेसा दियौं भने आत्मनिर्भर भएर अगाडि बढ्न सक्छन् भन्ने उद्देश्यले संस्था दर्ताको प्रक्रियामा लागेको स्मरण गर्दै उहाँले भन्नुभयो,“ सहकारी मार्फत संस्था दर्ता गर्न नपाइने व्यवस्था ऐनमा रहेकोले मैले व्यक्तिगत खर्चमै भएपनि उद्योग सञ्चालन गरेर स्थानीय महिलाहरुलाई आत्मनिर्भर बनाउँछु भनेर अगाडि बढें ।” 

पहिले पहिले चाँगुनारायण नगरपालिका लप्सीको पकेट क्षेत्र थियो । लप्सी फल्ने, बोटमै पाक्ने, झर्ने सुकेर जाने गरेको देखेर अध्यक्ष देवकालाई खेर गइरहेको लप्सीको सदुपयोग कसरी गर्न सकिएला भनेर सँधै हुटहुटी हुन्थ्यो । छिन्नमस्ता महिला बचत तथा ऋण सहकारी संस्था स्थापनामा निकै ठूलो सहयोग पुर्याएको आइसिए नेपालबाटै लप्सीको क्याण्डी बनाउने तालिम पनि लिने अवसर उहाँहरुले पाउनुभएको थियो ।

स्थानीय जंगलमै पाइने लप्सी र अमला बाट क्याण्डी बनाउने र स्थानीय बजारमा बेच्न कामको सुरुवात देवकाले गर्नुभयो । चम्पक पाउँ उद्योग दर्ता गरेर व्यावसायिक उद्यम गर्ने सोचका साथ अगाडि बढ्नुभएको देवकाको व्यावसायिक जीवनमा भने समाजले धेरै नकारात्मक टिप्पणीहरु गर्यो । उहाँ भन्नुहुन्छ, “जसले जे भनेपनि मैले कसैको कुरा सुनिन, नियमित काममा ध्यान दिएँ, उत्पादन विक्रि गर्ने बजार थिएन, स्थानीय र छिमेकी बजारका बासिन्दाहरु साथै गाउँमा आउने नवप्रवेशीहरुलाई चम्पक पाउँ चाख्न अनुरोध गर्दै केही बर्ष बाँड्ने काम मात्र गरँे । पाउँको स्वाद पाइसकेकाहरुले साह्रै मीठो छ, हामीलाई अझ धेरै बनाइदिनुहोस् भन्न थाल्नुभयो । माग विस्तारै बढ्दै गयो । विभिन्न ठाउँबाट माग आउन सुरु भयो । उद्योग सञ्चालन र कच्चा पदार्थ भण्डारणका लागि टहरा बनाएँ । स्थानीय रुपमा खेर गएको लप्सीबाट क्याण्डी बनाएर बजारमा बेच्ने उद्देश्यले सुरु भएको चम्पक पाउँ उद्योग सञ्चालनको १५ बर्ष मा आइपुग्दा बजारको माग अत्याधिक बढेको छ । सहकारीको नेतृत्वसँगै उद्यम सञ्चालनको पाटोलाई पनि समानान्तर रुपमा अगाडि बढाउँदै गएँ आज चम्पक पाउँ उद्योगको प्रोप्राइटर हुँ भन्दा निकै खुसी महशुस हुन्छ ।”  

सानो कोठाबाट सुरु गरेको काम आज दुई तिनवटा टहरा दुई तिनवटा कोठामा सञ्चालन भइरहेको छ । ८÷१० जनाले प्रत्यक्ष रोजगारी पाइरहनुभएको छ, अप्रत्यक्ष रुपमा घरपरिवारका सवै जना काममै लागिरहन्छौं । उहाँ भन्नुहुन्छ, “महिनामा दुई लाखभन्दा बढीको पाउँको कारोबार हुन्छ, बर्षमा करिब ३०/३५ लाखको कारोबार छ । चाँगुनारायण मन्दिरमा मात्रै पनि करिब महिनाको ४०/५० हजारको पाउँ विक्रि हुन्छ । लेखा हेर्ने छुट्टै कर्मचारी पनि राखेका छौं ।”

हिजोका दिनमा मान्छेले पत्याएका थिएनन् । काम गर्दै जाँदा र त्यसैलाई निरन्तरता दिँदै जाँदा हुँदो रहेछ, सबैले विश्वास पनि गर्दा रहेछन् भन्ने लागेको छ । आज उपत्यकाका सबै ठाउँ र केही बाहिरी जिल्लासम्म पनि चम्पक पाउँ पुगेको छ । विशेष गरेर उपहार स्वरुप बाहिर पठाउन पनि चम्पक पाउँ सबैको रोजाइमा पर्छ, उहाँले भन्नुभयो, हामीले विशेष खालको नेपाली कागजको बक्सा बनाएर नेपाली पन झल्कने गरेर विदेश उपहार लानेहरुका लागि माग अनुसार प्याकिङको व्यवस्था गरेका छौं । 

चाँगुनारायण, काभ्रेको पनौती र नुवाकोटबाट लप्सी र अमला खरिद गर्छु । प्रविधिको प्रयोग सँगै गुणस्तर सुधारमा पनि निरन्तर लागिरहेकै छु । उहाँ भन्नुहुन्छ,  “क्याण्डी बनाउँदा प्रयोग हुने अन्य सामाग्री खुर्सानी, हिंङ र चिनी हुन् । हामीले क्याण्डीको स्वाद र गुणस्तर सुधारका लागि चिनीको सट्टा मह राखेर पनि क्याण्डी बनाउन टेष्टिङ गरिरहेका छौं । महङ्गो पर्ने भएपनि मह मिलाएर बनाएको क्याण्डी धेरैको रुचिमा पर्ने र यसले अन्तर्राष्ट्रिय बजार पनि लिने आंकलन गरेकी छु ।” हामीसँग अहिले लप्सी र अमलाको विभिन्न स्वाद, रङ, आकार र गुणस्तरका क्याण्डीहरु छन् । माग अनुसार रङ र चिनिको प्रयोग विना महको स्वादमा पनि क्याण्डी उत्पादनको तयारी गरिरहेका छौं । अवको योजना स्वास्थ्यका लागि पनि राम्रो गर्ने औषधिय गुणले युक्त क्याण्डी उत्पादन गर्नुपर्छ भन्ने छ । 

करिब डेढ दशक सहकारीको नेतृत्वमा रहेर स्थानीय महिलाहरुको आर्थिक सशक्तिकरणका लागि गरेको पहलकदमी र १५ बर्षको अथक मेहनताबाट प्राप्त चम्पक पाउँ उद्योगको सफलताले आफुलाई निकै गर्व महसुश भएको देवका बताउनुहुन्छ । 

समय खेर नफालौं, सीप सिकौं र आफूले सुरु गरेको काममा निरन्तर मेहनत गरौं, सफलता हामीसँगै छ । सम्पूर्ण दिदीबहिनीहरुलाई उद्यमी देवका श्रेष्ठको सन्देश छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र