शुक्रबार, चैत्र १६
०७:२७

युगको गन्तव्य :  वि. स. २१०० सम्ममा वित्तीय सहकारी अभियानका प्राथमिकताहरू 

बुधबार, वैशाख २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

गौरवपूर्ण इतिहासका तीन दशकमा बचत ऋण सहकारी अभियानले हासिल गरेका अनुभव, उपलब्धी, आन्तरिकीकरण गरेका उच्च प्रविधि र कुशल अभ्यासका माध्यमबाट जुन शक्ति सञ्चय भएको छ, यसको जगमा टेकेर अर्थराजनीतिक रुपान्तरणको आयामलाई पूर्णता दिनु युगको माग हो । समुन्नत, स्वाधिन र समाजवाद उन्मुख अर्थतन्त्रको पुर्वाधारका लागि वर्तमान तीन खम्वे अर्थराजनीति महत्वपूर्ण र अनिवार्य संवैधानिक आयाम हो । समावेशी लोकतन्त्रका आधारभूत विषयमा सहकारी अभियानले विकास गरेका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय लोकतन्त्रका विषयमा सहकारी अभियान उत्तरदायी र जवाफदेही हुनु पर्दछ । समाजवादी आधार तयार गर्न उत्पादन सम्वन्धको वैज्ञानिक आधारको रुपमा वित्तीय सहकारी अभियान मार्फत सहकारीका सदस्यहरुको आर्थिक विकास र गुणस्तरीय जीवनको प्रवर्धन गर्नु पर्दछ । यसको लागि वचत ऋण सहकारी संघ र संस्थाहरु सम्पूर्ण वित्तीय समाधानको रुपमा वृद्धि र विकसित हुनु पर्दछ ।

वित्तीय सहकारी अभियानलाई समृद्ध नेपालका ४ लक्ष्यहरु (उच्च समतामुलक राष्ट्रिय आय, मानव पुँजी निर्माण र सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ आधुनिक पूर्वाधार र सघन अन्तर आवद्धता र उच्च र दिगो उत्पादन र उत्पादकत्व) र सुखी नेपालीका ६ लक्ष्यहरु (परिस्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, सुशासन,  सवल लोकतन्त्र, राष्ट्रिय एकता र सम्मान)  र गन्तव्यसँग जोडनु पर्दछ । वित्तीय सहकारीले व्यावसायिक रुपमा राज्यले तोकेका रुपान्तरणका सम्वाहक पक्षसँग जोडेर आफ्ना क्रियाकलापलाई केन्द्रित गर्नु पर्दछ । २१०० सम्मको युगीन कार्यभार पुरा गर्न वित्तीय अभियानले प्रस्तुत प्राथमिकताहरु परिभाषित गर्नु पर्दछ ।

वित्तीय सहकारीलाई आर्थिक लोकतन्त्रको सौन्दर्यको रुपमा वृद्धि र विकास गर्नु  

नेफ्स्कून तीन दशकको ऐतिहासिक उपलब्धी र गरिमाकासाथ वित्तीय सहकारीको अभियानको मार्गदर्शकको रुपमा स्थापित छ । न्युन अवस्थावाट उच्च अवस्थामा र सरलतावाट जटिलता तर्फको यात्राको यो संगीन मोडमा हामी उभिएका छौ । पुर्वाधार, सामाजिक पूँजी र उच्च प्रविधिको आधारमा दिगो विकास गन्तब्यलाई संवोधन गर्न नेफ्स्कूनको नेतृत्वले सैद्धान्तिक पक्षको गतिशीलता, नैतिक पक्षको नेतृत्व र प्राविधिक पक्षको सामथ्र्यमा जोड दिदै आएको छ । यो युगको कार्यभार पुरा गर्न समय सापेक्षित नवसिर्जना, स्रोत र साधनको प्रभावकारी उपयोग र मानव संशाधनको कुशल व्यवस्थापनका लागि आगामी कार्यदिशा परिभाषित गर्नु पर्दछ । 

सहकारी संस्थामा सदस्यको स्वामित्व, नियन्त्रण र फाइदाको लागि मानिसहरु संगठीत भई व्यवसायमा संलग्न हुन्छन् । विनियम र नीति निर्माण मार्फत सहकारी संस्थामा सञ्चालित सेवा उपभोग गर्ने सदस्यहरुले निर्णय प्रक्रियामा स्वामित्व र अपनत्वको अनुभूति गर्दछन । संस्थाको वृद्धि र विकासका लागि वित्तीय सहकारी संस्थाहरु समुदायमा आधारित र सदस्य केन्द्रित भई वित्तीय समाधानको लागि विधि, नीति र प्रविधिको अभ्यासले जीवनस्तर विकास गर्दछन । 

संस्थाहरुले आफ्नो सञ्जाल व्यवस्थापनको स्वामित्व लिन सञ्जालमा अनिवार्य आवद्ध हुन्छन् । संस्थामा एक व्यक्ति एक मतको आधारमा निर्वाचित सञ्चालक समिति र लेखा समितिको आवधिक निर्वाचन हुन्छ । सञ्चालक समितिमा समावेशी सहभागिता, सञ्चालक समितिमाथि अविश्वासको प्रस्ताव राख्न पाउने व्यवस्था र महत्वपूर्ण विषयमा साधारणसभाको निर्णय गर्ने प्रावधान र संस्था सञ्चालनका प्रक्रियाले सहकारीलाई लोकतन्त्रको उत्तम अभ्यासको थलोको रुपमा प्रमाणित गर्दछ । साधारणसभाको सर्वोच्चता, आवधिक प्रतिवेदन, सञ्चालक समितिको मातहतमा व्यवस्थापन, साधारण सभाको मातहतमा सञ्चालक समिति रहने व्यवस्था तथा नीति, कार्यक्रम र वजेटको अनुमोदन साधारण सभावाट हुने व्यवस्थाले सहकारीलाई लोकतन्त्रको सुन्दर नमुनाको रुपमा स्थापित गरेको छ । यीनै मुल्य, मान्यता र सिद्धान्तको मार्गदर्शनमा सहकारी संस्थाको, स्तरीकरण, नियमन र प्रवर्धन आउने युगको माग हो ।

वौद्धिक औजार र उच्च प्राविधिक उपकरण मार्फत सदस्यहरुलाई सम्पूर्ण वित्तीय समाधान  

वौद्धिक औजारको रुपमा वित्तीय समावेशीकरण अविष्ट पुरा गर्न लक्ष्य र उद्देश्य सहित साकोसहरुको स्थायित्व र सुरक्षाको प्रत्याभूति दिन वित्तीय सक्षमतामा अवको ध्यान केन्द्रित हुन पर्दछ । उच्च र समतामुलक राष्ट्रिय आयको गन्तव्य पुरा गर्न कमजोर वर्ग र कम आय भएको समुहलाई सुफथ मुल्यमा वित्तीय सेवा र उत्पादनको प्रभावकारिता साकोेसको आधारभूत र मुख्य  हो । सदस्यहरुको जीवनस्तर विकासको लागि आवश्यक प्रविधि र मानव संशाधनको विकासमा सहकारी अभियानको लक्ष्य निर्देशित हुनु पर्दछ । अव आधुनिक वित्तीय वजारमा आफनो प्रतिस्पर्धात्मक स्थान र सदस्यको विश्वासलाई कायम राख्न सहकारी अभियानले ठुलो फड्को मार्नु पर्दछ । उच्च प्रविधिको विकास र विद्यूतीय प्रणालीको अपरिहार्यता, वेभ अनुप्रयोगहरुको विकासले हाम्रा सम्भावनालाई प्रचूर वनाएका छन । यी सम्भावनालाई सम्भव वनाउन हामीले हाम्रा अभियान्ता कर्मचारीको क्षमता अभिवृद्धि गर्ने र आधुनिक मानवलाई दिनु पर्ने सम्पूर्ण सम्मान दिन सक्षम हुनु पर्दछ । उन्नत मानवको रुपमा विकास गर्न समय सापेक्षित ज्ञान, सीप र धारणाको विकास गर्न उनीहरुलाई प्रशिक्षित गर्नु पर्दछ ।  सदस्यको सन्तुष्टिनै वित्तीय सहकारी अभियानको अनिवार्य र महत्वपूर्ण सर्त हो । सदस्यको सम्पत्तीको सुरक्षा, उनिहरुको विकास र उन्नत समुदायको निर्माणमा सहकारी अभियानले संस्थामा सुशासनको महत्वपूर्ण भुमिका हुन्छ । 

संघीय संरचनामा परिभाषित कार्यक्षेत्रमा सम्वन्धित कानुनी संहीताको पालना गर्ने, नीतिको नेतृत्वमा संस्थाको सञ्चालन, व्यवस्थापन र विकास गर्ने र सदस्यको उच्च प्राविधिक उपकरण र  अनुप्रयोगलाई प्रयोग गर्न सक्षम वित्तीय अनुशासन कायम राख्न सक्ने सदस्यको विकास गरि राष्ट्र निर्माणमा योगदान पुर्याउनु पर्दछ । आउने दिनहरुमा अभियानलाई मार्गदर्शन गर्ने नेतृत्वदायी परिकल्पनाको सामर्थ्य भएका अभियान्ताहरुको विकासमा हाम्रो जोड पुग्नु पर्दछ । उच्च र दिगो उत्पादन र उत्पाकत्व वृद्धि गर्न सहकारीका सदस्यहरुलाई दिगो वित्तीय सेवा दिनु पर्दछ । आधुनिक सेवामा पहुँचका लागि संस्थाले वित्तीय सक्षमताको विकास, विद्युतीय समाधानको विकास मार्फत ज्ञान विज्ञानका पछिल्ला उपलब्धिलाई आत्मसात गर्नु पर्दछ । 

सहकारीले वित्तीय क्षेत्रमा उत्पादनका साधनको प्रभावकारी सञ्चालन गर्नसक्ने, उच्च प्राविधिक र सन्तुष्ट कर्मचारी पङ्तीको निर्माण मार्फत सदस्यहरुको सन्तुष्टिलाई सम्बोधन गर्नु पर्दछ । विश्वव्यापी रुपमा विकास र अभ्यास भएका औजार, उपकरणको प्रयोगमा सहकारी सदस्यहरुलाई अभ्यस्त बनाउनु पर्दछ । सदस्यहरुमा वित्तीय पहुँच र वित्तीय अवसरको खोज गर्न सक्षम बनाउने विषय नै वित्तीय समावेशीकरण हो । मानिसमा धन सिर्जना, निस्कृय आयको वृद्धि, पूँजीको चक्रवृद्धि, समाजमा पिछडिएका समुदाय देखी अगुवा वर्गसम्मलाई सम्पूर्ण वित्तीय समाधान दिन सक्षम तथा अन्तरसम्वन्धि अभियानको निर्माणमा नेफ्स्कूनले मार्ग प्रशस्त गर्नु पर्दछ । 

मानव पूँजी निर्माण र सम्भावनाको पूर्ण उपयोग मार्फत सदस्यको लाभावृद्धि नै सहकारी संस्थाको मुल लक्ष्य हो । वचत प्रोत्साहनको माध्यमवाट ऋण लगायतका सेवाको प्रतिस्पर्धात्मक व्याजदर निर्धारण गर्नु पर्दछ । संस्थाको वित्तीय सक्षमता संगै संस्थाले सेवाका सर्त र सेवाका दरलाई प्रतिस्पर्धात्मक वनाई सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय अधिकारको प्रत्याभूति गर्न पहल गर्नु पर्दछ । आर्थिक लाभावृद्धिको लागि नीजि लगानीको प्रवर्धन, चुनौतिपूर्ण आयोजनाको प्रवर्धन, स्वरोजगारको सिर्जना, साना उद्योगमा सहयोग, रोजगारीको पहूँचमा प्रगति, सम्पत्तिको मुल्यमा वृद्धि, आर्थिक अनिश्चिताको समयमा स्थिरता कायम राख्न केन्द्रिय वित्त प्रणालीको सशक्तीकरण र उर्जाको मुल्यलाई स्थिर राख्न सहयोग प्रदान गर्दछ । 

राष्ट्र निर्माण र समुदायको इच्छा, आवश्यकता र चाहना पुरा गर्न सामाजिक उद्देश्यहरु 

नागरिक समृद्ध नभई मुलुक समृद्ध वन्दैन, नागरिक समृद्ध वनाउन उनीहरुलाई औपचारिक शिक्षाको अतिरिक्त अनौपचारिक शिक्षाको पनि आवश्यकता पर्दछ । सहकारी अभियानले वित्तीय संस्थाका सदस्यलाई वित्तीय स्रोतका विषयमा सूचित हुने र व्यक्तिगत वित्तीय प्रवाहका विषयमा प्रभावकारी निर्णय लिन सक्ने क्षमताको लागि ज्ञान, सीप र क्षमताको शिक्षा वित्तीय हो । मानिसले आफ्ना असिमित इच्छा, आवश्यकता र चाहना पुरा गर्न र सदस्यको आर्थिक, सामाजिक, लोकतान्त्रिक र व्यावसायिक विकासको लागि वित्तीय शिक्षा आवश्यक पर्दछ । व्यक्तिगत वित्त, धन सिर्जना, वचत, ऋण र लगानी सम्वन्धित विषय, सहित विभिन्न वित्तीय क्षेत्रको शिक्षा र समझ वित्तीय साक्षरता हो । वित्त शिक्षाको तालिम र प्रशिक्षण मानव जीवनको अपरिहार्यता हो । समयको सापेक्षतामा विकास भएका वचत वृद्धि, ऋणको वृद्धि, निस्कृय आयको वृद्धि, ऋणको वृहत्तर प्रयोग, वित्तीय योजना र व्यक्तिगत तथा पारिवारिक वजेटको माध्यमवाट नागरिकको आर्थिक विकासमा जोड दिनु पर्दछ । यसले प्रतिव्यक्ति आयमा वृद्धि गर्नमा योगदान पुर्याउँछ । प्रतिव्यक्ति आयले राष्ट्रिय आयमा वृद्धि र राष्ट्रिय आयको वृद्धिले कुल ग्राह्स्थ उत्पादन वृद्धिमा सहयोग पुर्याउनु पर्दछ । 

सहकारी संस्थाले हरेक सदस्यलाई आफ्नो वित्तीय स्रोत र आवश्यकताको लागि वित्त परिचालनको प्रभावकारी निर्णय लिने कौशलता, ज्ञान भण्डार, शिक्षा, तालिम र सूचना दिनु पर्दछ । संस्थाले सदस्यलाई आधारभूत अधिकार, समाजका आधाभूत मान्यता र व्यक्तिका मुख्य दायित्वको शिक्षा पनि प्रदान गर्नु पर्दछ । समाज विकासका लागि आवश्यक पर्ने प्रशिक्षण, पुर्वाधार विकास, सामाजिकीकरण र मानविकीकरणको प्रक्रिया मार्फत समाजिक उत्तरदायित्व निर्वाह गर्नु पर्दछ । यी प्रक्रियाले समुदायको सदस्यको आत्मनिर्भरता, आर्थिक वृद्धि र वित्तीय स्थिरताको लागि सहयोग पुग्छ । सदस्यको जीवनमा वित्तीय मार्गचित्र प्रस्तुत हुन्छ । व्यक्तिगत वित्तसम्वन्धी विषयलाई कुशल तरिकाले व्यवस्थापन गर्न सदस्यलाई सहयोग पुग्दछ । व्यक्तिगत वित्तपोषण, बीमा, अचल सम्पत्ति, सेवानिवृत, करयोजनाको भूक्तानी, पूँजी बजारको ज्ञान र लगानी प्रवर्धन जस्ता व्यक्तिगत निर्णय गर्ने क्षमताको विकास गर्दछ । लाभमा आधारित बचत, मुद्राको समयको मुल्य लगायतका विषयमा वित्तीय निर्णय लिन नागरिकहरु सक्षम बन्छन । 

प्रस्तुत विषय अभियानको प्राथमिकतामा राखेर युगको गन्तव्य २१०० सम्म पुग्दा वित्तीय सहकारी अभियानले मुलुकको दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग गर्नु पर्दछ । सामाजिक पूँजी मार्फत सदस्यको जीवनस्तर परिवर्तनका लागि सदस्यहरुले उत्पादनका साधन र उत्पादन शक्तिलाई उच्च स्तरोन्नती गरि समृद्ध नेपाल र सुखी नेपालीको निर्माण, सामाजिकीकरणको सम्वर्धन र मानविकीकरणको आधारमा नयाँ संस्कृतिको जगेर्ना गरि वैज्ञानिक समाजवादको निर्माणमा सहकारीले योगदान पुर्याउनु पर्दछ ।  


 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ