शुक्रबार, चैत्र १६
०२:३३

‘म हजुरबुबाको काखमा हुर्किएँ, हजुरबुबा मेरो काखमा बित्नुभयो’

सोमबार, वैशाख ५
रञ्जनमणि पौड्याल
saccosaawaj

 चन्द्रध्वज गुरुङ
  स्वर्गीय बखानसिंह गुरुङका नाति 

हजुरबुबा मृत्युसँग पौँठेजोरी खेल्दै गर्दा म पाटन अस्पतालमै थिएँ । सँगै मेरो माहिलो र कान्छो भाई पनि थिए । हजुरबुबा मन्त्री भएका कारण म पनि मन्त्री क्वार्टरमा सँगै बस्थें । २०४० साल माघ २५ गते बिहान ४ देखि ५ बजेको बीचमा हजुरबुबाको निधन भएको थियो । चिकित्सकले छातीमा प्रेसरको ‘सपोर्ट’ दिएको मलाई अझै सम्झना छ । मेरो काखमै हजुरबुबा बित्नुभयो ।

अन्त्येष्टि मैले नै गरेको हुँ । बहालवाला मन्त्री भएका कारण अस्पतालबाट पशुपति आर्यघाट लाँदासमेत १ सय ७५ जना सम्मिलित सेनाको एक कम्पनी सँगै थियो । उहाँले राजकीय सम्मान पाउनुभयो । सेनाको कम्पनीले उहाँलाई सलामी चढाएको थियो । अन्त्येष्टि सकेपछि काठमाडौं नबसी हामी शारदानगर नै फर्कियौं । यही आएर काजकिरिया गर्यौ ।

हजुरबुबाका दुई छोरामध्ये म लालध्वजको जेठो छोरो हुँ । काका धर्मध्वज पट्टी कुनै सन्तान थिएनन् । हामी ५ भाई ३ दिदीबहिनी हौं । म हजुरबुबाको काखमै हुर्किएको हुँ । अहिले म ६९ वर्षको भएँ । हजुरबुबा बित्दा म करिब ३६ वर्षको थिएँ । २०१६ सालमा हजुरबुबा एमपी (सांसद) हुँदा म हाइस्कूल पढ्थें । हजुरबुबासँगै काठमाडौं बसेर पढें । उहाँ सधै पढ्न प्रेरित गर्नुहुन्थ्यो । आफु अनपढ भएका कारण पनि उहाँले सधै हामीलाई पढ्न प्रेरित गर्नुभयो । मैले शान्तिविद्यागृह लैनचौरबाट प्राथमिक शिक्षा र फर्पिङस्थित त्रिभुवन आदर्श विद्यालयबाट एसएलसी पूरा गरें । हजुरबुबाले मलाई ‘चन्द्रध्वज’ भनेर बोलाउनुहुन्थ्यो । हामी हजुरबुबालाई 'बाजे' भनेर सम्बोधन गरथ्यौं । कहिल्यै कसैलाई गाली नगर्ने, नहप्काउने स्वभावको हुनुहुन्थ्यो । हामीलाई कहिल्यै ठूलो स्वरले बोलेको वा गाली गरेको सम्झना छैन ।

हजुरबुबा राणा कालमै क्याप्टेन हुनुभयो । हजुरबुबा क्याप्टेनको रुपमा गोरखामा हुँदा म जन्मिएको हुँ । २००८ सालमा उहाँले नोकरी छोड्नुभयो । २००९ सालमै उहाँ चितवन झर्नुभएको थियो । गण्डक क्षेत्रमा बाढी पहिरो विस्थापितहरुलाई चितवनमा बस्ती बसाउन उहाँको ठूलो भूमिका छ । राप्तीदून बस्ती विकास परियोजना अन्तर्गत जनप्रतिनिधिको रुपमा हजुरबुबा र व्यवस्थापनको जिम्मेवारी परियोजनाले लिएर बस्ती बसाल्ने काम भएको थियो ।

राप्ती दून परियोजना अन्तर्गत ८० प्रतिशत भन्दा बढी काम अमेरिकीहरुबाट भएको थियो । अधिकांश प्राविधिकहरु अमेरिकी थिए र बाटो बस्ती बनाउन प्रयोग भएका ‘इक्विपमेन्ट’ पनि सबै अमेरिकाबाटै ल्याइएको थियो । राप्तीदून विकास परियोजना अन्तर्गत काम गर्दा हजुरबुबा विरुद्ध जंगल फडानी लगायत करिब ३० वटा मुद्दा थिए । पछि सबै फिर्ता भए ।

सहकारी अभियानले बुबालाई सम्झन्छ । तर बुबालाई विकासप्रेमी बनाउने हजुर आमा बारे धेरै प्रकाशमा आएको छैन । वास्तवमा हजुरबुबालाई ‘काम नगरी अल्छी भएर घरमा बस्नुहुन्न’ भनेर सेनामा भर्ती हुन लगाउने हजुरआमा बिष्णुमाया गुरुङ हुनुहुन्थ्यो । हजुरबुबाको प्रेरणापात्र । संघषशील महिला हुनुहुन्थ्यो । हजुरआमा बाजे भन्दा ६ वर्ष जेठी हुनुहुन्थ्यो । हजुरआमा ठीक १ सय वर्षमा बित्नुभयो हजुरबुबा ८५ वर्षमा ।

शिक्षा, स्वास्थ्य, सहकारी हुँदै विकासको क्षेत्रमा हजुरबुबाले प्रशस्त काम गर्नुभयो । २०१२ सालमा हजुरबुबाकै पहलमा सरस्वती पूजाको दिन यहाँ शारदा प्राथमिक विद्यालय स्थापना भएको थियो । उक्त विद्यालयको पहिलो विद्यार्थी नै म थिएँ । हाल उक्त बिद्यालय मावि तहसम्म सञ्चालनमा छ । त्यस्तै, चितवन हाइस्कूल स्थापनामा पनि उहाँको महत्वपूर्ण अग्रसरता थियो । तत्कालिन बखानपुर गाउँका बासिन्दाहरुलाई भेला गरी हजुरबुबाले सहकारी स्थापना गर्नुभयो । उहाँले कोष जम्मा नभएसम्म व्यवहार चलाउन कठिन हुन्छ भनेर बखान ऋण सहकारी स्थापना गर्नुभएको थियो ।

आफुमात्र होइन अरुलाई पनि राम्रो काम गर्न प्रेरित गर्नुहुन्थ्यो । नचाहिदो काममा नलाग्न, आफु बन्न, घर परिवार समुदाय बनाउन र राष्ट्रलाई योगदान गर्न हामीलाई सधै प्रेरणा दिनुहुन्थ्यो । हामीले पनि हजुरबुबाको अनुसरण गर्दै ‘सकेको गर्यौ’ भन्ने लाग्छ । हजुरबुबाकै प्रेरणाले मैले देहरादूनबाट स्नातक गरें । राजनीतिशास्त्र, अर्थशास्त्र र अंग्रेजी विषय लिएर बीए पूरा गरें । हजुरबुबाको इच्छा केही हदसम्म भएपनि पूरा गरें भन्ने लाग्छ ।

अहिले म राजनीतिमा सक्रिय छु । बखान बहुउद्देश्यीय सहकारीको संरक्षक छु । विगत लामो समय सल्लाहकार थिएँ । सञ्चालक समितिमा भने बसिन । हजुरबुबाकै कामलाई माया गर्दै जाँदा देशभरका धेरै सहकारीहरुले हामीलाई पनि सम्झनुहुन्छ । केही समयअघि धनगढीमा पनि सहकारीको सम्मान कार्यक्रममा भाग लिएर आयौं । खुसी लाग्छ ।

मामुली गाउँको साधारण व्यक्तिले सहकारीमार्फत समुदायको विकास गर्न सकिन्छ भन्ने चेतले संस्था स्थापना गर्नु निक्कै ठूलो साहस हो भन्ने लाग्छ । अनपढ व्यक्तिसँग भिजन रहेछ । आज सहकारीको विकास र संवैधानिक स्वीकार्यताले त्यो कुरा पुष्टि गरेको छ । हजुरबुबाले बाटो देखाउने काम गर्नुभयो । धेरैले पछ्याएर सहकारीमार्फत राम्रो काम गरेका छन् । परिवारका हामीहरु पनि खुसी छौं । बखान सहकारी बलियो भएको र बखान संग्रहालय निर्माणको काम पूरा भई सहकारी र पर्यटकीय गन्तव्यको रुपमा विकास भएको हेर्ने चाहना छ ।

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ