शनिबार, वैशाख ८
०७:५८

‘सहकारी सबैको र सधैंको बन्नुपर्छ’

सोमबार, चैत्र २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सहकारी व्यवसायको मर्यादाका लागि उद्यमशीलता प्रवर्धन आवश्यक छ । उद्यमशीलता प्रवर्धन र विकासमा सहकारीले भूमिका खेल्नुपर्दछ अन्यथा सहकारीलाई प्रयोग गरिने ‘इन्टरप्राइज’ शब्दावली खण्डित हुन्छ । सहकारी संघ संस्थालाई मर्यादित बनाउँछु भन्ने प्रण गरेर कार्यक्षेत्रमा होमिने सहकारीकर्मीमा सकारात्मक सोच हुनैपर्छ । सादा जीवन, सहयोगी व्यवहार र सकारात्मक सोच सहकारीकर्मीमा हुनुपर्ने महत्वपूर्ण गुण हुन् ।

सहकारीहरुले ‘हामी कहाँ छौं ?’ र ‘अब कहाँ जाने हो ?’ भन्ने बुझ्नु जरुरी छ । भविष्यको बाटो तय गर्दै जाँदा काम, कारबाही, तौरतरिकामा नवीनता आउनुपर्छ । सहकारीमा २ दशकअघि सान्दर्भिक लागेका विषयहरु आज असान्दर्भिक भएका छन् । प्रविधिको क्षेत्रमा पनि त्यही हो ।सामुहिक कार्य संस्कृतिको विकास सहकारीमा आवश्यक छ । यो सहकारीको अन्तर्य पनि हो । सहकारीको कखगघ पढ्ने सबैले सिकेको कुरा हो ‘एक थुकी सुकी सय थुकी नदी’ ।

सहकारीसँग सामाजिक न्याय र सामाजिक सुरक्षा पनि जोडिन्छ । वास्तविक सहकारी संस्थाले आफुलाई मर्यादित बनाउने हो भने बुझ्न जरुरी छ, समाजमा बहुसंख्यक अल्पसंख्यक छन् । सहकारीभित्र पनि बहुसंख्यक अल्पसंख्यक छन् । हामी जस्तो विकासशील मुलुकमा यो वास्तविकता हो । त्यसैले यदि सहकारी संस्था ‘सबैको र सधैंको’ बन्ने हो भने सामाजिक न्याय र सामाजिक सुरक्षामा ध्यान दिनुपर्छ । सामाजिक न्याय र सामाजिक सुरक्षाको सन्दर्भमा यदि सहकारी संस्थाले बहुसंख्यक कमजोरहरुको सुरक्षा गर्न सकेन भने अल्पसंख्यक बलियाहरुलाई भरोसा दिन पनि सक्दैन । त्यसैले सहकारीले सामाजिक न्याय र सामाजिक सुरक्षालाई पक्षपोषण गर्न जरुरी छ, मर्यादित सहकारी बनाउन । 

हामीले बुझ्न जरुरी छ, जहाँ बढी अपेक्षा हुन्छ त्यहाँ आलोचना पनि बढी हुन्छ । सहकारी क्षेत्रसँग राज्यले धेरै अपेक्षा गरेको छ । संविधानले त्यो अपेक्षा गरेको छ । देशभरका लाखौं सहकारीकर्मीहरु यो अभियानमा जोडिएका छन्, हामीले छातीमा हात राखेर सोच्नुपर्छ, ‘अ्याब्सलुट टर्म’मा हामी सही छौं भन्ने दाबी हामी सायद गर्दैनौं । हाम्रा केही समस्या र सिमा छन् । सहकारी व्यवसायको मर्यादासँग सम्बन्धित विषयमा कुरा गर्दा सहकारी हामीसँग छ र गर्व गर्छौ, हाम्रा केही सिमा छन् तिनलाई फराकिलो बनाउन सामुहिक प्रयत्न गर्नुपर्छ ।

सहकारीका राष्ट्रिय अन्तर्राष्ट्रिय नीति, नियम, कानुन, मुल्य, मान्यता, संस्कृति, निर्देशन, मापदण्ड, आदि सबै छन् तर पूर्ण परिपालना भएका छैनन् । सहकारीले यसका अन्तर्राष्ट्रिय मुल्य, मान्यता र सिद्धान्त परिपालना गर्नुपर्छ । हामी सहकारी सिद्धान्तको रटान लगाउँछौं तर अनुसरणको पाटो कमजोर छ । स्वच्छ प्रतिस्पर्धा र स्वच्छ उत्पादनका लागि गुणस्तरीयताको प्रतिबद्धता जनाउनुपर्दछ ।

सहकारीको सञ्जाल देशव्यापी छ । गाउँदेखि वडासम्म नेटवर्किङ छ तर त्यसभित्र आवद्ध सदस्यहरुको अभियानलाई ‘ब्याक अप’ प्रदान गर्ने काममा सक्रिय योगदान छैन । उनीहरुको अपेक्षित सहभागिता र सक्रियता छैन ।  बलियो सहकारी अभियान हुँदाहुन्दै ‘ब्याक अप’को पाटो अलि कमजोर छ ।

संविधानले सहकारीलाई महत्वपूर्ण ‘पिलर’ मानेको छ तर ‘फिलर’ को पक्ष कम छ । कुल ग्राहस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान करिब ५ प्रतिशत मात्र छ । साँच्चिकै सहकारी क्षेत्रलाई ‘पिलर’ र ‘फिलर’ बनाउने हो भने अर्थतन्त्रमा यसको योगदान बढाउने र गाउँ गाउँमा हरेक नागरिकले सहकारीको पक्षपोषण गर्ने हो भने वातावरण बन्छ । राष्ट्रिय सहकारी दिवसको दिनमा सहकारीकर्मीहरुले प्रण गर्नुपर्ने कुरा हो यो ।

अर्को कुरा, यस क्षेत्रमा लागेकाहरुमा सूचना, तालिम, शिक्षा र जानकारी प्रति लगाव छ तर ल्याकत कम छ । त्यस्तै, सहकारीको संख्या अत्यधिक छ, अब पुग्यो । नेपाल जस्तो मुलुकमा यो भन्दा बढी सहकारी चाहिदैन त्यही भएर हामीले सहकारी मर्जरको नीति पनि ल्याएका छौं । संख्या धेरै छ, संवेदनशीलता कम छ । 

यसैगरी,सहकारीमा ‘डिजिटल एप्लिकेसन’ को पक्षमा जाँगर बढेको छ, जागरुकता छ तर सँगै ‘डिजिटल डिभाइड’ (प्रविधिगत विभाजन) पनि छ । गाउँमा चल्ने र काठमाडौंमा चल्ने सहकारीलाई ‘डिजिटल लिट्रेसी’ को हिसाबले समान स्तरमा राखेर व्यवहार गर्न सक्ने हैसियतमा हामी छैनौं । ‘डिजिटल एप्लिेकशन’ प्रतिको लगाव बढ्दो छ तर दुरदराजको सहकारीहरु र उनीहरुका सदस्यहरुलाई प्रविधि पहुँच विकास गर्न सकेका छैनौं । त्यस दिशातर्फको संवेदनशीलता बढाउन जरुरी छ । यो अभियानको अहिलेको चुनौती पनि हो ।

सहकारीको प्रभावकारी अनुगमन हुन सकेको छैन । सहकारी क्षेत्रमा देखिने समस्याहरु प्रभावकारी अनुगमन नहुदाको परिणाम हो । म पनि नियमनकारी निकायमै भएका कारण प्रतिशतमा यसको जिम्मा लिन्छु ।

नेता र नेतृत्वबीच फरक छ । नेतृत्व विकासको सिद्धान्तबारे हामी प्रष्ट हुनुपर्छ । सबै नेतामा नेतृत्वको गुण हुन सक्तैन । नेता व्यक्ति हो नेतृत्व सीप हो । सहकारीमा नेता धेरै छौं तर नेतामा हुनुपर्ने नेतृत्वकौशलका लागि धेरै गर्न बाँकी छ । सरकार र सरोकारवालाहरुबीच सौहार्दपूर्ण सम्बन्ध आवश्यक छ ।

Cooperative: Of the member, for the member, by the member हुनुपर्नेमा केही विकृत्तिहरुलाई हेर्ने हो भने Cooperative: Off the member, far from the member, buy the member  बन्ने हो कि भन्ने भय पनि छ । यस्तो भयो भने हामीले सहकारी अभियन्ता भनेर छाती फुलाएर हिड्न सकिदैन । यो चुनौती हो । आज सहकारी दिवसको दिन हामीले प्रण गर्नुपर्ने कुरा साँच्चिकै सहकारीलाई 'अफ द मेम्बर, फर द मेम्बर बाई एन्ड द मेम्बर बनाउन लाग्दछौं भन्ने वचनबद्धता व्यक्त गर्नुपर्ने हुन्छ ।

कुनै पनि व्यवसाय आफैमा मर्यादित हुँदैन, त्यसलाई सञ्चालन गर्ने विषयमा आधारभूत तौरतरिका हुन्छन् त्यसलाई मर्यादित बनाउने भनेको पात्रहरुको व्यवहार, आचरण र अनुशासित आबद्धताले हो । पात्रहरुको व्यवहार र शैली, संस्कार अनुशासित भएन भने कहिल्यै पनि मर्यादित हुन सक्तैन । सहकारी व्यवसायलाई मर्यादित बनाउन हामी सबैको भूमिका छ । सहकारीमा लाग्नेहरुको आचरण र अनुशासित आबद्धताको कसीमा यसलाई हेर्न सकिएन भने सहकारीमा लाग्नेहरुको अनुशासन व्यवहार सहकारी क्षेत्रसँग संगति मिल्ने खालको भएन भने जति कुरा गरेपनि सहकारीलाई मर्यादित बनाउन सकिदैन ।

(६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.नेपालले २०७८ चैत १९ गते आफ्नो सभाहलमा आयोजना गरेको विशेष कार्यक्रममा अर्यालले गर्नुभएको प्रस्तुतिको सम्पादित अंश)

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ