शनिबार, वैशाख ८
०३:१७

'सहकारी सफलताको ‘मेजर इन्डिकेटर’ सामाजिक–साँस्कृतिक आयाम हो'

आईतबार, फागुन ८
रञ्जनमणि पौड्याल
saccosaawaj

गोपीनाथ मैनाली
पूर्व सचिव, नेपाल सरकार

सहकारीको समाजशास्त्रीय आयाम बारे केही बताइदिनुहुन्छ कि ?
सहकारीको समाजशास्त्रीय आयाम धेरै छ । सहकारीको जग नै समाजको बनावट, सम्पत्तिको बाँडफाँड, अवसर र रोजगारी आदि हो । २१ औं शताब्दीमा सामाजिक आयाम सार्वजनिक क्षेत्रमा विस्तार भयो । २० औं शताब्दीको अन्त्यतिर प्रजातन्त्र पनि सामाजिक लोकतन्त्र (सोसियल डेमोक्रेसी) कहलिन थाल्यो । समाजको विम्ब सबै ठाउँमा देखिनुपर्छ भन्ने आयो । पछिल्लो समय ‘सोसियोक्रेसी’ चर्चामा छ । ‘डेमोक्रेसी’ लाई अनुभूति गर्ने तहमा ‘सोसियोक्रेसी’ बनाउनुपर्ने आवाज उठ्यो । ‘ब्युरोक्रेसी’ मा पनि ‘सोसियोक्रेसी’ हुनुपर्ने । सहकारीभित्र पनि ‘सोसियोक्रेसी’ को कुरा आएको छ ।

वास्तविक रुपमा सामाजिक न्याय र प्रतिनिधित्व गर्ने ठाउँ सहकारी हो । व्यक्तिको उद्यमशिलता र लगावलाई यसले हेर्छ । निम्नवर्गीय समाजलाई स्वावलम्बन संस्कृतिमा लान सहकारीले ठूलो आधार खडा गर्न सक्छ । सहकारीले महिला, उत्पीडित, जनजाति, आदिबासी लगायतको प्रतिनिधित्व र भूमिका स्थापित गर्छ ।

संविधानले नै सहकारीलाई मान्यता दिएको कारण समाजको बिम्व सार्वजनिक प्रक्रियामा देखाउनुपर्छ भन्ने आग्रह संविधानले गर्यो । त्यो संविधानको आग्रह सहकारीको सिद्धान्तसँग ठ्याक्कै मिल्छ ।लोकतान्त्रिक आयामबाट हेर्दा पनि सहकारीले सामाजिक विषयवस्तुलाई समेट्छ भन्ने देखिन्छ । कानुनी र राजनीतिक भन्दा पनि बढी सामाजिक आयाम समेटेको क्षेत्र हो सहकारी ।

सहकारी कसरी सामाजिक स्वामित्व अन्तबोर्ध गराउने माध्यम बन्न सक्छ ?
प्रजातन्त्रले समाजका अलि बढी मानिसहरुको मन जितेपछि मात्रै सामाजिक वैधता वा स्वामित्व अन्तर्बोध हुन्छ, जसको माध्यम सहकारी हो भन्ने गाउँठाउँमा गएर हेर्यौं भने पाउछौं । उदाहरणका लागि पहिलो सहकारीको रुपमा ल्याण्ड मोर्टगेज एण्ड कृषि सहकारी । काभ्रेमा धेरै दुःख पाएका व्यक्तिहरु, साहुहरुबाट शोषित भएकाहरुलाई सहयोग गर्न उक्त सहकारी स्ंथापना भएको थियो । जर्मनीमा एफ डब्लु राइफाइसनले पुँजीपतिहरुले निम्नवर्गीय किसानहरुलाई ऋणग्रस्त बनाएको अवस्थामा बचत ऋण सहकारीको अचुक मन्त्र सुनाउँदै अभ्यासमा लगेको जस्तै ।

बखान सहकारीको हकमा भने स्थापना देखि आजपर्यन्त सञ्चालनमा छ । तर बनेपाको ल्याण्ड मोर्टगेज चाहि भीम शमशेरको पालामा स्थापना भयो, राजदास वादे श्रेष्ठ अध्यक्ष हुनुहुन्थ्यो । पछि विमान दुर्घटनामा उहाँको निधन भयो र २ वर्षपछि त्यसले निरन्तरता पाउन सकेन । सरदार भीमबहादुर पाण्डेले लेखेको ‘त्यस बखतको नेपाल’ पुस्तकमा पनि यो प्रसङ्ग उल्लेख छ । काभ्रेको सहकारी ऋण पीडितहरुको उद्दारको लागि थियो भने बखान सहकारी बाढीपिडितहरुको उद्धारको लागि थियो । सहकारीको विश्व इतिहास मात्र होइन नेपालको इतिहास नियाल्ने हो भने पनि प्रष्ट हुन्छ यो सामाजिक आन्दोलन (सोसियल मुभमेन्ट) हो । 

सहकारी विभागको स्थापना र पहिलो पञ्चवर्षीय योजना आउनुअघि सम्म नेपालमा सहकारी गुठीको रुपमा मात्रै सीमित भयो । सहकारीले सृजना गर्ने आर्थिक भन्दा पनि सामाजिक पुँजी, सामाजिक सम्बन्ध, सामाजिक सञ्जालीकरण हो जुन सबैभन्दा महत्वपूर्ण कुरा हो । सहकारीले साँस्कृतिक रुपबाट व्यक्तिको पहिचान पनि स्थापित गर्यो, संस्कारलाई स्वावलम्बी पनि बनायो, समाजको तहगत सोपानलाई समन्यायिक बनायो, त्यसकारण सहकारीको सफलताको आयाम वा सूचक आर्थिकभन्दा पनि सामाजिक हो । आर्थिक आयाम एउटा सूचक हो, ‘मेजर इन्डिकेटर’ सामजिक र साँस्कृतिक पक्ष हो । ‘सोसियो कल्चरल’ रुपबाट हेर्नुपर्छ सहकारीलाई । अहिले नेपाललाई चाहिएको पनि त्यही हो । 

अर्थशास्त्रको विद्यार्थी पनि भएको नाताले सहकारी अग्रदूत बेलायती रोबर्ट ओवेनको सहकारीका कुरा पढेँ । उहाँले १५ सय हेक्टर जग्गा लिएर सामूहिक खेती, सामूहिक सदस्यता, सामूहिक उत्पादन, सामूहिक लगानी, सामूहिक उपभोग, सामूहिक स्वामित्वको कुरा गर्नुभएको छ । यद्यपि, उहाँले युटोपियन सोसाइटी (आर्दशवादी समाज) को कल्पना गर्नुभयो जसका कारण सिद्धान्तको टेको त बलियो भयो तर व्यवहारमा आएन ।

ग्रामीण कृषकहरुको दृष्टिकोणबाट जर्मन एफ डब्लु राइफाइसनले हेर्नुभयो । विशुद्ध लेबरसँग जोडिएर शहरी श्रमिकहरुको दृष्टिबाट क्रेडिट युनियनका अग्रणी जर्मन विद्धान हर्मन शुल्जले हेर्नुभयो । यसरी सहकारीको जग बस्यो । त्यो बाहिरको कुरा भयो । 

एउटा उदाहरण हाम्रै परिवेशबाट दिन चाहन्छु । काठमाडौंको बत्तीसपुतलीमा शुभकालिका बचत तथा ऋण सहकारी संस्था लि.छ । त्यो मैनालीहरु र मैनालीहरुबाट हागो फाटिएका, विवाह गएर गएकाहरुलाई समेटिएको सानो सहकारी हो । त्यसमा ३–४ जना मन्त्री, लोकसेवा अध्यक्ष, सचिवहरु र बिशिष्ट पद धारण गरिसकेका मैनालीहरु सदस्य छन् । तर अध्यक्ष अर्कै एक व्यक्ति हुनुहुन्छ । भन्नुको तात्पर्य सहकारीले सामाजिक हाइरार्कीलाई हेर्दैन । सहकारी आवाजविहिनहरुको आवाज हो । तलमाथि हो भन्ने विषयलाई मेट्दै सबै समान हो भन्ने भावना स्थापित गर्ने, मानिस सृष्टिको समान सृजना हो र ‘हामी सबै समान छौं’ भन्ने कुरा स्थापित गर्ने काम सहकारीले गर्न सक्छ ।

सहकारी साहित्य पनि हो नि, होइन र ?
साहित्य भनेको समाज हो । साहित्यले समाजको सुखदुःखको कुरा नै उठाउने हो । साहित्यले लुकेको दुःखहरुलाई बाहिर ल्याउने हो । सहकारीले पनि सामाजिक जीवनलाई उतार्ने भएकाले यो पनि साहित्य हो । सहकारीले साहित्यलाई क्रियात्मक बनाउँदछ । साहित्य, संगीत र कलाबाट सहकारीलाई पर मान्दैनौं । साहित्य भनेको अलिक बढी स्वैरकल्पना होला तर त्यसलाई व्यवहारमा उतार्दा हामी संकुचन गर्छौ । त्यो ‘न्यारो डाउन’ गरेपछि हामी सहकारिताको कुरा गर्छौ । साहित्यले भावनाहरुलाई बुझ्ने वा बताउने काम गर्छ, , जीवनका छटपटीहरुको निकास दिन्छ । वास्तविक जीवनमा त्यसको व्यावहारिक अनुभूतिका लागि भने सहकारी आवश्यक छ ।

मैले आफु सेवा निवृत्त भैसकेपछि ३० वटा निबन्धहरु संकलन गरेर पुस्तक प्रकाशन गरेँ । पुस्तकले मेरो समाजका भावनाहरुको कुरा गर्छ, दुःखहरुको कुरा गर्छ, सहकारी अभियानमा काम गर्दा गर्दै मैले पाएका सुखदुःखहरुको चित्रण गरेको छ । सहकारीले सदस्यहरुको जीवनलाई कहाँ पुर्यायो र त्यो गर्ने सम्बन्धमा हामीले के कस्ता बाधा व्यवधानहरु भोग्नुपर्यो भन्ने बताउँछ । सहकारी साहित्यबाट पर छैन किनकि जीवनबाट पर न सहकारी छ न साहित्य छ । सहकारी क्रियात्मक साहित्य हो । सहकारी ‘फङ्सनल लिटरेचर’ हो । साहित्यमा अक्षर हुन्छ, सहकारीमा अक्षरलाई जीवन दिने काम हुन्छ । भावना अभिव्यक्ति अक्षरमा र अक्षरको अभिव्यक्तिलाई व्यवहारमा वास्तविक जीवन दिने काम सहकारीले गर्छ । जीवनलाई छुन, उठाउन, सहकारीमार्फत सजिलो हुन्छ किनकि सहकारीको उद्विकास जीवनको दुःखबाट भयो र साहित्यको उद्भव पनि जीवनको दुःखबाट भयो । 

सहकारीको विज्ञान बोझिलो भएको हो ?
सहकारी विज्ञान हलुका रुपमा बुझेका कारण बोझिलो भएको हो । खारेर पढ्यो भने यो एकदम सरल हो । ‘एडल्ट लर्निङ’मा खारेर नपढ्ने बानी हुन्छ । आफुलाई केही अनुभव छ, त्यो अनुभव प्रति पुर्वाग्रही भएर बुझ्न खोज्ने भएकाले जटिल भएको हो । सरल कुरालाई जटिल बनाइएको छ । विषयवस्तुलाई खारियो भने जटिल कुरा सहज हुन्छ । सहकारीको भाष्य वा विज्ञानलाई जानीबुझी असजिलो बनाइएको छ । कतिपय व्यक्तिहरुले सहकारीलाई ‘बैंकिङ एङ्गल’बाट हेरेका छन् । कतिपयले यसलाई एनजीओको एङ्गलबाट हेर्छन् । त्यसरी हेर्दा सहकारीको मर्म किनारामा पर्छ, गैर–सहकारी पक्षहरु बाहिर आउछन्, त्यसो हुनुहुँदैन ।

सहकारीले सदस्यको वृत्ति विकासमा ध्यान दिने हो । सहकारी धनी हुने होइन । सहकारीका सञ्चालकहरुले वृत्तिविकास खोजेँ, नेता बन्न, मन्त्री बन्न खोजे । सहकारीलाई भर्याङ बनाए । कर्मचारीले वृत्ति विकास खोज्नु स्वाभाविक हो ।

सहकारी ऐनमा राखिएको मुख्य व्यवसाय ‘मान्दिन’ भनेर हुन्छ ? मुख्य व्यवसाय ‘यो गर्छु’ भनेर विनियममा राख्ने, अनि ‘त्यो चाहिं गर्दिन’ भन्न पाइयोत ? उसो भएर जे गर्ने हो त्यतैतिर जानुपर्यो । एकस्थानीय तहभित्र एकै प्रकृतिको एक मात्र सहकारीको सदस्य बन्नुपर्छ । उस्तै प्रकृतिको सहकारीमा दोहोरो सदस्यता हुनु भनेको सहकारीप्रति आस्था नभएको ठान्छु म ।

दोहोरो सदस्यता हुनुहुँदैन ।  व्यवस्थापकीय सिद्धान्तका दृष्ट्रिले एक व्यक्ति धेरैतिर हात हाल्छु भन्यो भने ‘नोह्वेयर’ हुन्छ । त्यसकारण कुनै व्यवसायप्रति विश्वास भएन भनेर नै त्यो भएको हो । ऐनमा उल्लेख भएको कार्यकारी बस्न नपाउने विषयमा पनि सहकारी अभियानहरुको ‘रिजर्भेसन’ थियो । ‘हाम्रो लगानी हामीनै व्यवस्थापक बन्ने कि अरुलाई राख्ने ?’ भन्ने कतिपयको तर्क थियो । केहीले तलब सुविधा पनि राम्रै लिएको पाइयो । नीति, रणनीति नियन्त्रण हो सञ्चालकहरुको, व्यावसायिकता देखाउने काम व्यवस्थापकको हो । स्वयंसेवीरुपमा योगदान गर्न भने सकियो तर त्यो पनि देखिएन । त्यसकारण सहकारी ‘डेभिएट’ भएको हो कि भन्ने अनुभव गरेको छु ।

पूर्वीय दर्शन र संस्कृतिसँग सहकारी साइनो कस्तो पाउनुहुन्छ  ?
पुर्वीय दर्शन र संस्कृतिसँग सहकारीको अन्योन्याश्रित सम्बन्ध छ । हामी कौटिल्यको कुरा हेरौं, वा राजा भोजको समयको कुराहरु हेरौं, सुखदुःखमा एक अर्काको साथी हुनुपर्छ, एक अर्काको साथ दिनुपर्छ भन्ने कुरा त्यहाँबाट सुरु भएको छ । सहकारिताका ती आधारभूत कुराहरुलाई हामीले औपचारिक स्वरुपमात्र नदिएका हौं । सहकारिताको अभ्यास हामीले परापूर्वकालदेखि गर्दै आएको हौं । पश्चिमी समाजले तिनलाई प्रक्रियामा औपचारिकता दियो । सहकारितको अभ्यासमा पश्चिमा भन्दा हामीहरु निकै अगाडि हौं । हाम्रा हरेक समुदायमा कोही कसैलाई गरिब बनाउन हुँदैन । उनीहरुलाई सहयोग गरेर माथि उठाउनुपर्छ भन्ने मान्यता छ ।

हिन्दू संस्कार नै सहकारी हो । सहकारीको अर्गानिक स्वादहरुलाई हामीले संस्थागत गर्न सकेनौं । संस्थागत गर्न सक्ने बेलामा हामीले नियम कानून बनाएर यसलाई नियमन गर्न लाग्यौं । त्यसपछि ‘ब्यूरोक्रेसी’, राजनीति हुर्कियो, गलत प्रवृत्ति र पात्रहरु हुर्किए । संक्रमणको फाइदा लिउ भनेर अभियानका साथीहरु पनि त्यतातिर लाग्नुभयो । यी सब कारणले केही समस्या पैदा भएको छ । तर, समग्रमा सहकारीको सामाजिक आयाम राम्रो छ ।

नेपाल जस्तो मुलुकमा परम्परागत धरातल राम्रो छ । सहकारीलाई सामाजिक स्वावलम्बनको आधार बनाउन सकिन्छ तर सहकारीबाट अर्बपति बन्ने ठूलो सपना देख्नुहुन्न । हुनत् सहकारी अभियानको साथीहरुलाई यसो भन्दा अलि दिक्क लाग्छ । मलाई थाहा छ । हामी ‘ग्रासरुट अर्गनाइजेशन’ हुनुपर्यो । ‘ग्रासरुट’बाट सम्बन्धहरु बलियो बनाउँदै सामाजिक मुल्य संस्कारले त्यसलाई सहयोग गर्ने, मलजल गर्ने, भावनालाई आवधिकरण गर्ने र सँगै आर्थिक क्रियाकलाप गर्नुपर्छ । धरातल सामाजिक, मुल्य प्रणाली सामाजिक, सहयोग सामाजिक तर क्रियाकलाप व्यावसायिक गर्यो भने सहकारी वास्तवमा सामाजिक व्यवसाय बन्छ । त्यही भएर सहकारीलाई मुल्यमा आधारित व्यवसाय भनिएको हो ।

सहकारीको सैद्धान्तिक र दार्शनिक पक्ष सशक्त छ । नेपालको सन्दर्भमा पनि सहकारीको कारोबार, आयातन, सदस्यता, कार्यक्षेत्र, वासलात पनि वृद्धि हुँदैछ तर समाजमा वर्ग, विभागन, विभेद, एकांकीपन बढ्दैछ । यो सहकारीका लागि चुनौती होइन ?
सहकारी अभियानमा वास्तविक सहकारी शिक्षाको कमी भयो । विगतमा सहकारीलाई हामीले धेरै पुल्पुल्यायौं । राम्रो गर्ने पाखामा पनि परे । सिद्धान्त, मुल्य, मान्यताबाट बाटो बिराएका सहकारीहरु प्रवर्धित हुने अवस्था पनि सिर्जित भयो । परिणामतः तिनै सहकारीहरु अहिले समस्याग्रस्त भएका छन् र हुँदैछन् । अहिले कोभिडको बेलामा, जलवायु परिवर्तनको बेलामा, भविष्यमा आउनसक्ने यस्तै मौन संकटहरुका समयमा, प्राकृतिक विपत्हरु आएका समयमा सहकारीलाई वास्तवतिक अभियानका रुपमा अघि बढाउनुपर्छ । दिगो विकाससँग जोड्नुपर्छ, घरपरिवारबाट सहकारिता अभ्यासमा आउनुपर्छ ।

व्यवहार, बानी, सोच, संस्कारमा सहकारी झल्कनुपर्छ । अहिले समाजमा कसैले कसैको अस्तित्व नस्वीकार्ने, सबै आफ्नो पक्षमा हिड्ने भए, यस्तो अवस्थामा प्रत्येक प्रत्येकप्रति जवाफदेही हुनुपर्छ, सबैचीज सबैप्रति जवाफदेही हुनुपर्छ । मनुस्मृतिको समयदेखि हामीले ‘वसुधैव कुटुम्बकम्’ भनेका थियौं । वास्तवमा सहकारीलाई हामीले ‘लोकलाइज्ड’ विषयवस्तुबाट सोच्यौं । यो ठीक पनि हो तर रुखको टुप्पोसम्म पुगेर हेर्यौं भने सहकारीले कसैलाई पराई ठान्दैन ।

सहकारी अभियान र अभियन्ताहरुका बारे यहाँको ‘रिडिङ’ कस्तो छ ?
सहकारी अभियानमा दुई प्रकारका व्यक्तिहरु देखेँ । एक प्रकारकाहरु राम्रा सहकारी सञ्चालकहरु पनि हुनुहुन्छ भने अर्को एक प्रकारका अभियानका नेतृत्वकर्ताहरु चाहिं प्रत्यक्ष रुपमा राजनीतिक दलसँग आबद्ध हुनुहुन्छ । उहाँहरुले अहिलेसम्म त बचाइराख्नुभएको छ तर कुनै दिन राजनीति र सहकारीको लाइन मिसियो भने सहकारी तहसनहस हुनसक्छ । उहाँहरुले सहकारीलाई बढी महत्व दिने कि राजनीतिलाई भन्ने प्रश्न छ । जुन व्यवसायमा व्यक्ति लागेको छ, समर्पण त्यतैतिर भए हुन्थ्यो भन्ने मलाई लाग्छ । 

अर्को, सहकारी एनजीओकरण पनि हुन लाग्यो । ठूला केही सहकारीहरु आर्थिक विषयवस्तुसँगै अन्य गतिविधिमा पनि गैरसरकारी संस्थाहरुसरह देखिन थाले । सहकारीको सामाजिक पाटो कम गैरसामाजिक पाटो बढी हुँदै आयो । सहकारी अभियानको ‘डीएनए’ परिवर्तन गर्न ‘माइन्डसेट’ परिवर्तन गर्नुपर्छ र यो काम पनि सहकारी अभियानले नै गर्ने हो । सहकारी विभाग वा अन्य नियामक निकायले त्यो गर्न सक्तैन । 

समाजको स्वरुप अनुसार सहकारी परिवर्तन हुँदै गएको हो ?
समाज अहिले व्यक्तिवादी भयो । स्वामित्वमुखी नाफामुखी र भौतिकवादी भएर गयो । त्यसको असर सहकारीमा पनि पर्यो । सहकारी चल्नै नसक्ने गरी मुनाफा कमाउनु हुँदैन भनेको होइन । ‘ब्रेकइभन पोइन्ट’ त उसले पनि क्रस गर्नुपर्यो । होइन भने त संस्था नै चल्दैन । सदस्यको व्यवसाय हो, सरकारले केही दिने होइन । सदस्यहरुमध्येबाटै बचत निक्षेप संकलन गर्ने र उनीहरुमाझ नै ऋण लगानी गर्ने न हो । तर, संस्थाको एक सदस्यलाई मारमा पारेर अर्को सदस्यलाई किन बढी मुनाफा दिनुपर्यो ? भोलि त्यो सदस्यको हैसियत सुधारिएपछि त त्यही बीउँ पुँजीले अर्को व्यक्तिको आर्थिक सुधार गरिहाल्छ नि । 

सन्दर्भ ब्याजदरको कुरा पनि त्यही कारणले राखिएको हो । व्यापार गर्ने होइन सहकारीको नाममा । ‘बजारमा धेरै रकम अभाव भयो । मुद्दती खातामा धेरै ब्याज दिन थालियो । वाणिज्य बैंक तर्फ रकम जान लाग्यो । यसकारण सहकारीहरु जोखिममा छन्’ भनेर सहकारी अभियानका साथीहरुको कुरा सुनेँ । तर, मलाई के लाग्छ भने सहकारी नाफामुखी होइन, व्यवसायमुखी हो । उसले ‘सर्भाइभल’ हेर्छ, व्यवसाय विविधिकरण गर्न कति पैसा चाहिन्छ भनेर हेर्छ । कस्तो सीप चाहिन्छ भनेर हेर्छ । वास्तविक सहकारीका सदस्यले सहकारीसँगै कारोबार गर्छ । उसले म धेरै नाफा पाउछु, लामो समयसम्म रकम राख्छु भनेर व्यापारिक दृष्ट्रिकोण राख्दैन । त्यो नराख्ने कुरा नै ओवेन र राइफाइसनले समेत भनेका थिए ।

सहकारीको सिद्धान्त, मुल्य, सिद्धान्त समाजको परिवर्तनसँगै परिवर्तन हुनुपर्छ भन्ने कुरा । तर सहकारीको आधारभूत कुराहरु भने मेटिन हुँदैन । त्यसो भयो भने त सहकारी सहकारी नै रहँदैन । त्यसो भयो भने त अर्को व्यवसाय भैहाल्यो नि ।

के हो सहकारी के होइन सहकारी भन्ने सर्वप्रथम छुट्याएर अघि बढ्नुपर्छ । सहकारीको सामाजिक आयाम कमजोर भयो । सहकारीलाई सामाजिक व्यवसायको आयामबाट हेर्नुपर्छ । 

एउटा ’स्कूल अफ थट’ ले आर्दश, सिद्धान्त र निष्ठाका कुराले मात्र हुँदैन । व्यवहारमा सहकारी मुनाफा केन्द्रित नभई सम्भव छैन भन्छ नि ?
सहकारी ऐन नियमावली बनाउने बेला अभियानका साथीहरुलाई मैले भनेको कुरा के हो भने जब कुनै आदर्श वा सिद्धान्त मान्छु भनेपछि त्यो परिवर्तन नहुन्जेल त्यसैलाई मान्नुपर्यो । यदि त्यो परिवर्तन आवश्यक हो भने पहल गरौं, सकारात्मक भूमिका निर्वाह गरौं तर परिवर्तन नहुन्जेल मान्नुको विकल्प छैन ।

सिद्धान्त, मुल्य परिवर्तनको कुरा वा सिद्धान्त निर्माणको प्रक्रिया लामो हुन्छ । कानुन र नीतिगत व्यवस्था नै हाम्रो जीवनमरण हो । त्यो भन्दा पर हामी जान सक्दैनौं तर त्यसैलाई परिवर्तन गर्ने हो भने गरौं र नयाँलाई मानौंला । सहकारीका सिद्धान्तहरुलाई हामीले कानुनमा राख्यौं । राज्यले घोषणा वा जारी गरेका कुराहरुलाई ‘हुँदैन वा आर्दश मात्र भयो’ भन्न मिल्दैन । आर्दश भनेको राम्रो प्राप्ति हो । त्यो असल अभ्यास वा राम्रोको प्राप्तिलाई ‘बेठीक भयो, आर्दश भयो, व्यावहारिक भएन’ भन्न हुँदैन । 

कानुनमा भएका प्रावधान मान्नैपर्छ । त्यो नमान्ने हो भने अर्को व्यवसाय रोज्नुपर्यो । वा भएका कानुनहरु परिवर्तन गर्नसक्नुपर्यो । चल्नै नसक्ने गरी सहकारी चल्नुपर्छ भनेर त हाम्रो कानुनमा कही लेखेको छैन नि । सीमित कमाउने, सीमित व्यवसाय गर्ने, सीमित लाभ ‘सेयरिङ’ गर्ने कुराहरु छदैछन् ।

हाम्रो सहकारी अभियानमा अहिले खट्किएको कुरा के हो ?  

सहकारीले विश्वव्यापीकरणको कुरालाई पनि स्थानीयकरण गर्दछ । त्यो कुरा अहिले चुकेको छ । सहकारी अभियानलाई ‘रिओरियन्टेसन’ मा लानुपर्छ जसले सतहमा आएका विकृतिहरु पनि शुद्धीकरण हुन्छ । अहिले हामी अली बढी आर्थिक आयाम र स्वामित्वतिर ढल्कियौं । सहकारीको सफलताको सूचक भनेर कति नाफा भयो, कति लाभांश बाढ्यौं, कति शाखा विस्तार भए, कसले एटीएम दियो, कसले डिजिटाइज्ड् गर्यो, यो कुरामा बढी ध्यान केन्द्रीत भयो । यो ‘माइनर’ विषय हो । ‘मेजर’ विषय त ‘एकको लागि सबै सबैको लागि एक’ हो । त्यो समाजशास्त्रीय आयामको सबैभन्दा ठूलो पिलर नै ‘एकको लागि सबै, सबैको लागि एक’ हो । 

‘मेरो व्यवसायको मुख्य काम सामाजिक पुँजी निर्माण हो’ भन्ने सबैले बुझ्नुपर्छ । साँस्कृतिक पहिचान निर्माण गर्ने, तहगत सामाजिक सोपानहरु घटाउने, सवै व्यक्ति बराबर हो भन्ने खालको ‘ओरियन्टेसन’ हुनुपर्छ । अहिलेसम्म धेरै बिग्रिइसकेको छैन, तर बिग्रेला भन्ने कुरा हो । 

के सहकारी प्रयोगशाला बनेको हो ? 
सहकारी प्रयोग भएको छ । राजनीतिमा सहकारी प्रयोग भयो । राम्रो कुरामा पनि सहकारी प्रयोग भएको छ । धेरै राम्रो गर्ने सहकारीहरु एनजीओ मोडेलमा वा सरकारको प्रोजेक्टको रुपमा चलेका पनि छन् । राजनीतिको प्रयोगशाला, राम्रो कामको प्रयोगशाला बनेको छ सहकारी ।

म सहकारी सचिव हुँदा मलाई सम्मान गर्ने नै केही व्यक्तिहरु आएर ‘हामी सहकारी दर्ता गर्छौ’ भन्नुभयो । मैले ‘किन’ भनेर सोधेँ । ‘अनुदानहरु पाइन्छ’ भन्नुभयो । अनुदानहरु पाइन्छ भनेर सहकारी स्थापना गर्न खोज्नेहरुको नराम्रो अपेक्षा त्यहीबाट सुरु भयो । सहकारी आत्मनिर्भर संस्था हो र बन्नुपर्छ । सदस्यहरुबीच मात्रैको सामाजिक व्यवसाय भएकोले सहकारी ‘सेल्फ सस्टेन्ड’ हुनुपर्छ । त्यो कुरा मैले सम्झाएँ उहाँहरुलाई । केही सहयोग गर्नुपर्छ भनेर सरकारले सहुलियत दियो सहकारीलाई । त्यसले गर्दा सहकारीहरु मुल व्यवसाय भन्दा बाहिरतिर पनि लागे । यसमा सहकारी अभियान मात्र होइन सरकारको नीतिको पनि कमजोरी छ ।

सहकारीलाई उत्पादनसँग के कसरी जोड्न सकिएला ?  
सहकारीका मन्त्री वा केही व्यक्तिहरु सहकारीलाई उत्पादनशील क्षेत्रमा लगाउनुस् भन्नुहुन्छ । सहकारी अनुत्पादनशील कहिल्यै हुँदैन । सहकारीलाई सरकारको नीतिको भरिया बनाउन कहाँ पाइयो ? सामाजिक व्यवसायलाई सरकारको नीत कार्यान्वयन गर्न तिमी यो यो काम गर भनेर ‘डिक्टेट’ गर्न पाइदैन ? नगर्ने कुरा नगर भन्न पाइयो तर ‘यी काम गर’ भन्नु त सहकारीको स्वायत्तता माथिको आक्रमण भैहाल्यो नि । कतिपय अवस्थामा नीति निर्माताहरुलाई भन्ने गर्थे सहकारीलाई ‘यो गर’ भन्ने अधिकार हामीलाई छैन । सदस्यहरुले पुँजी संकलन गरेर केही गर्ने सपना देखेर आफै काम गरेको संस्थालाई स्वायत्तता दिनुपर्छ । नगर्ने काम हुँदैन भन्नुपर्छ गर्ने काममा उनीहरुको स्वायत्तता हो । नीतिको भारी बोकाउन हुँदैन । मैले नबुझेको कुरा हो यो । सहकारी अभियानले पनि सरकारको सहुलियत पाउन्जेल नीतिको भारी बोक्ने चाहे । सरकारले जब सहुलितय दिएन, तब सरकारको भारी त के के आफ्ना ‘अब्लिगेसनहरु’बाट पनि टाढा जानुभयो । यस्ता विरोधाभाषहरु छन् । 

सहकारी फस्टाएका विकसित मुलुकहरुमा सुशासनमा समस्या आएका समाचारहरु त्यति सुनिदैनन् । तपाईको अनुभवले के भन्छ ? सहकारीका सदस्यहरुमा चेतना वा शिक्षा अभावले पनि सहकारीहरुको सुशासनमा समस्या देखिएको हो कि ? औपचारिक शिक्षा र चेतनाको स्तरले सहकारी चेतनाको स्तरमा पनि सहयोग गरेकाले सुशासित भएका हुन् ?

नेदरल्याण्ड्सको कृषि सहकारीहरु, एग्रिकोल, भियतनामको भीसीए, बैंककका सहकारी, अमेरिका (आफु गएपनि सहकारीको विषयमा भने पढेको मात्र) का खासगरी विद्युत सहकारीहरु, माइक्रो क्रेडिटहरु आदिले निक्कै राम्रो काम गरेका छन् । जुन देशमा सम्भता र चेतनाको स्तर राम्रो छ, ‘मैले यो काम गर्न हुन्छ, हुँदैन’ भन्ने कुरामा सदस्यहरु आफै मुल्यबाट अनुबन्धित हुन्छन्, आफुले गर्ने व्यवसायको मुल्यप्रति अनुबन्धित भैसकेपछि व्यक्तिले नराम्रो गर्दैन । त्यस्तै, अलि कडा अनुशासन भएका मुलुकहरु जहाँ  सहकारीको सिद्धान्त के कति लागू भएको छ त्यो बेग्लै कुरा हो तर त्यहाँ पनि सहकारी राम्रै पाएँ जस्तो भियतनाम, चीन आदि । चेतना र अनुशासनले सहकारीले राम्रो बनाउँदछ ।

हामीकहाँ पञ्चायत कालमा सरकारको आर्थिक दर्शनका रुपमा साझा भनेर जर्बजस्ती लादियो, सहकारीको भावना नभएपनि पञ्चायतको राजनीतिक दर्शनको संस्थानीकरण गर्ने काम थियो । २०४८ पछि प्रवर्धनात्मक नीति लिइयो । विस्तारको क्रममा नियमन ओझेलमा पर्यो । कर लगायतको सहुलियत दिइयो जसले गर्दा सहरबजारका सहकारीहरुले केही नराम्रो गर्न सुरु गरे । त्यसले समाजमा नराम्रो असर परेको हो । समस्याग्रस्त सहकारीहरु जन्मिए । म सहकारी सचिव हुँदै १३१ वटा सहकारीहरुमा १२ वटा थपिएका थिए । अहिले अरु पनि थपिए होला । ठूला कारोबार गर्ने सहकारीहरु यस्तो हुँदा पक्कै राम्रो भएन ।

सदस्यहरु पनि आफ्नो व्यवसायमा के भइरहेको छ भन्ने खोजी नगर्ने । सदस्यता केन्द्रीयताका कुराहरु व्यवस्थापनबाट पनि नहेर्दिने, कारोबार गर्न मात्र सदस्य बनाउने, आदिले केही समस्या पैदा भयो ।काठमाडौंको बागबजारको सहकारीले पोखरामा ऋण प्रवाह गरेर त्यहाँका २० परिवार सुकुम्बासी बनेका थिए, म सहकारी सचिव हुँदा । सदस्यमा चेतना नहुँदा समस्या हुन्छ । ‘सहकारी भनेको यो हो, कम्पनी तथा अन्य व्यवसाय भन्दा यी कारणले फरक छ, हामीलाई दायित्व यसरी सृजना गर्छ, यो हाम्रो व्यवसाय हो, यो हामीप्रति नै उत्तरदायी हुने व्यवसाय हो’ भन्ने यावत कुराहरु बारे यथेष्ट जानकारी नराखी वा भुलेर कारोबार गरिन्छ तब समस्या उत्पन्न हुन्छ ।

संख्या हाम्रा लागि बाधक भयो कि ?
कतिवटा सहकारी चाहिन्छ भन्ने राज्यले निर्धारण गर्ने होइन । सहकारीका सदस्यहरुले निर्धारण गर्छन् । मुल्य मान्यतामा रहन्छौं भने स्वाभाविक रुपमा सहकारीहरुको संख्या घट्छ । अहिलेको हाम्रो अवस्थामा ‘डेमोन्स्ट्रेसन’ प्रभाव पर्यो । मैले राम्रो काम गरेँ, मैले राम्रो नाफा लिएँ, राम्रो व्यवसाय गरेँ भनेपछि अरुले देखासिखी गर्ने प्रचलन हामीमा छ । सहकारीको संख्या यसकारण पनि धेरै भएको हो । यदि मुल्य, सिद्धान्तबाट सहकारीहरुलाई नियमन गर्छौ भने त्यो स्वाभाविक रुपमा आफ्नो आकारमा आउँछ । विस्तारको चरणमा वृद्धि हुन्छ, गुणात्मक चरणमा ‘साइज’ मा आइहाल्छ । अहिलेको अवस्थामा नेपालमा यति धेरै सहकारीहरु चाहिदैन । सहकारीको संख्या घट्नुपर्छ । सहकारीका मुल्य, मान्यता र सिद्धान्तहरुका बारेमा व्यापक प्रचारप्रसार गरियो भने म कहाँ फिट हुन्छु, मलाई कति सहकारी चाहिन्छ भनेर समाजले ‘अटोमेटिक एड्जस्टमेन्ट’ गर्छ । जबर्जस्ती मर्जरमा जाउ भनेर हुँदैन । स्वनियमन, स्वउत्तरदायी, स्वयंव्यसायी वा स्वयं कारोबारी भएर लागेपछि के कति चाहिन्छ भनेर सदस्यहरुले नै निर्धारण गर्छन् । सदस्यको चेतना र अनुशासनको दायराले निर्धारण गर्दछ ।

के सहकारी सानो हुनुपर्छ ?
क्यानाडाको डेजार्डिन पनि सहकारी नै हो, ब्राजिलको सिक्रेडी, नेदरल्याण्ड्सको एग्रिकोल पनि सहकारी नै हुन् । एग्रिकोले युरोपको जीवनस्तरनै परिवर्तन गरेको छ । त्यस्तै डेजार्डिन र सिक्रेडीले पनि ठूलो हिस्सा ओगटेर प्रभाव जमाएका छन् । यसर्थ सहकारी सानो हुनुपर्छ भनेको होइन । सुरुवात सानोबाट हुनुपर्छ, त्यसको उत्पादन  तथा सेवा र बजारको विस्तार र विविधिकरण त गर्न सकिन्छ ।

नीजि क्षेत्र र सहकारीबीच कस्तो सम्बन्ध पाउनुहुन्छ ?
नीजि क्षेत्रले ‘राइभल’ सम्झिन्छ खासगरी ठूला सहकारीहरुलाई । अहिले पनि बैंकहरुलाई हेर्ने हो भने दुःख पर्यो भने सहकारीहरुलाई सम्झिन्छन् तर सुख पर्दा सहकारीहरुलाई ‘डोमिनेट’ गर्न खोज्छन् । सहकारी सिद्धान्त अनुरुप चल्यो भने नीजि एकातिर जाने हो सहकारी अर्कोतिर जाने हो, आ–आफ्नो बाटो छ । त्यो बोटो नसमातेका कारण प्रतिस्पर्धा भयो । प्रतिस्पर्धा को सँग हुन्छ ? उस्तै प्रकारको व्यवसाय गर्नेसँग न हो ।

अन्त्यमा, काभ्रेको सहकारी अभियान कस्तो पाउनुभएको छ ?
काभ्रेका सहकारीहरुले राम्रो गरेका छन् । बजारतिर बचत ऋण र ग्रामीण भेगतिर कृषि सहकारीहरु राम्रा छन् । यद्यपि, सहकारीको बिम्ब अगाडि सारेर यसबाट ठूलो व्यवसाय गर्छु भन्ने उत्कन्टा काभ्रेली सहकारीकर्मीहरुमा पनि छ । कृषि सहकारीहरुमा त्यस्तो अभिालाषा कम छ । सहरबजारमा भएपछि सहकारी भनेको बैंक हो, कारोबार गर्ने, सेयर किन्ने, एटीएम जारी गर्ने, युवालाई आकर्षण गर्न नयाँ प्रविधिमा जाने भन्ने चाहना र त्यसअनुरुपको क्रियाकलापहरु काभ्रेका सहकारीहरुमा पनि छ । काठमाडौंको प्रभाव काभ्रेमा नपर्ने कुरै भएन । बनेपा सहकारीको पायोनियर हो । पहिला कृषितर्फ थियो अहिले बचत ऋणतर्फ पायोनियर बनेको छ । लामोसमयसम्म सहकारी अभियानको नेतृत्व त्यहीको व्यक्तिबाट  र अन्य कारणले गर्दा पनि हुनसक्छ काभ्रेको सहकारी अभियान समग्रमा राम्रो छ ।


 

saccosaawaj media

ऋण संघ ऐन (Credit Union Act) को आवश्यकता

सोमबार, साउन ५

निवर्तमान अध्यक्ष, नेफ्स्कून

saccosaawaj media

सहकारी मर्जरका लागि उत्प्रेरित नभए सरकार दबाब दिन बाध्य हुने

सोमबार, साउन ५

डा. टोकराज पाण्डे रजिष्ट्रार, सहकारी विभाग

saccosaawaj media

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५

दिगो विकास लक्ष्य र सहकारी