बिहीबार, वैशाख १३
११:४६

‘९६ वर्षीया आमासँग समय बिताउन पाउनु सौभाग्य हो’

सोमबार, माघ १७
रञ्जनमणि पौड्याल
saccosaawaj

जीवनको प्रारम्भिक अवस्थाहरु कसरी स्मरण गर्नुहुन्छ ?
२०१९ साल फागुन ११ गते रामेछापको बेतालीमा मेरो जन्म भएको हो । बुबा तीर्थबहादुर र आमा जनककुमारी बस्नेत हुनुहुन्छ । बुबाका ४ पत्नीबाट ७ छोरा र ५ छोरी छौं । मेरी आमा तेस्रो हुनुहुन्छ । बुबाकोतर्फबाट साहिंलो र आमाको तर्फबाट म जेठो छोरा हुँ । हामी धेरै जना भएपनि दाजुभाई दिदीबहिनीबीच एकदम राम्रो सम्बन्ध रह्यो ।

श्रीमती, आमा, ३ छोरी, १ छोरा र दिदीसहितको मेरो परिवारमा अहिले भने हामी दुई, आमा, छोरा बुहारी (हालै विवाह सम्पन्न भएको) र दिदी भक्तपुरको लोहकन्थलीमा स्थायी बसोबासरत छौं । दुईवटी छोरीको विवाह भैसक्यो, एक छोरी अमेरिकामा र एउटी अष्ट्रेलियामा स्नातकोत्तर गर्दैछिन् भने अर्की छोरी किष्ट मेडिकल कलेजमा ल्याब टेक्निसियन छिन् । माहिली छोरीका दुई र जेठीको एउटा सन्तान छन् । बुबाको मध्यमवर्गीय परिवार थियो । आफ्नो उत्पादनले खान लाउन र सन्तानलाई पढाउन पुग्थ्यो । तर मनलागेको खर्च गर्न पाउने अवस्था थिएन । घरबाट करिब ११ घन्टाको पैदल दूरीमा रहेको सदरमुकामस्थित मामाघरमा बसेर ५ कक्षादेखि एसएलसीसम्म पूरा गरेँ । एक जोर नफाटी अर्को जोर लुगा किनिदैन थियो, चप्पल लगाएरै हाईस्कूल पढेको हो ।

परिवारमा प्रशस्त जन भएका कारण खेतीपाती प्रायः आफै गरिन्थ्यो । सहयोगीहरु पनि त्यतिबेला सजिलै उपलब्ध हुन्थ्यो । बुबाआफै पनि खेतीपाती, वस्तुभाउ हेरचाहमा निक्कै खट्नुहुन्थ्यो । आम्दानीको अरु स्रोत थिएन । घरमा गाईभैसी कहिल्यै टुट्दैनथ्यो । एउटा आमा लेकमा अर्को आमा बेसीमा गरी बस्ने र ठाउँ अनुसार सिजनेवल कामहरु हुन्थ्यो । कम बोल्थेँ । अरु कुनै नराम्रो बानी थिएन, परिवारबाट पनि त्यस्तो किसिमको नराम्रो बानीलाई मलजल गर्ने काम भएन । 

बुबासँगको सम्बन्ध र उहाँको जीवनबारे केही बताइदिनुहुन्छ कि ?
बुबासँग अत्यन्त घनिष्ठ सम्बन्ध भएपनि डर लाग्थ्यो । बुबाहरु ६ दाजुभाईबीच पनि सुमधुर सम्बन्ध थियो । हामी सबै सन्तान बुबासँग आदरसम्मान भावका कारण डराउँथ्यौं । धेरै चाहिं पढेन भनेर बुबाको गाली खाइन्थ्यो । जानेको कुरा पनि बुबा बसेर सोध्दा डरले व्यक्त गर्नै नआउदा पिटाइ खाइन्थ्यो ।

बुबा गाउँको प्रधानपञ्चसँगै लोकप्रिय र समाजसेवी पनि हुनुहुन्थ्यो । बहुप्रतिभा र सीप सम्पन्न उहाँ सबैको दुःखकष्ट बुझ्ने र सक्दो सहयोग गर्ने व्यावहारिक हुनुहुन्थ्यो । पञ्चायती व्यवस्थाको सुरुदेखि लगभग अन्त्यसम्मै कहिले निर्विरोध कहिले निर्वाचितको रुपमा प्रधानपञ्च भएर काम गर्नुभयो । माओवादी शसस्त्र द्धन्द्धको समयमा कतिपय राजनीतिक व्यक्तिहरुलाई गाउँमा बस्न सक्ने अवस्था नहुँदा र फरकधारको राजनीति गर्दा पनि बुबालाई भने कहिल्यै त्यस्तो अवस्था आएन । यसको मतलब उहाँ अत्यन्तै समाजसेवी, सह््दयी र आधुनिक सोचसहितको राजनीतिकर्मी हुनुहुन्थ्यो ।

बुबाको इच्छा मैले उहाँको बिडो थाम्दियोस् अर्थात् राजनीतिमा लाग्दियोस् भन्ने थियो तर बुबाको राजनीतिक कर्म देखेर मलाई भने त्यसप्रति अरुचि र अनिच्छा बढ्दै गयो । व्यक्तिगत आस्था र आबद्धताका कारण मतदान गर्ने कुरा अलग भयो तर प्रत्यक्ष र सक्रिय राजनीतिमा रुचि भएर र गरेको पनि छैन । बुबाको राजनीतिले गर्दा पारिवारिक रुपमा आमाहरु र हामी सन्तान एक प्रकारले ‘प्रताडित’ नै थियौ भन्दा हुन्छ । आम्दानीको श्रोत संकुचित हुने, समाजसेवा बढी गर्नुपर्ने, घरायसीभन्दा घरबाहिरका समस्याहरुसँग सधै पौठेजोरी खेल्नुपर्ने, निममित जसो पाहुनाहरुलाई व्यवस्थापन गर्नुपर्ने, करिब ५० प्रतिशत अन्नउत्पादन त्यसैमा खर्च हुने, अनावश्यक मुद्दामामिला, झैझगडाहरुमा मध्यस्थता गर्नुपर्ने, अनेक तिकडमबाजीहरुको साक्षी बन्नुपर्ने आदि विविध कारणले गर्दा समाजसेवा गर्छु तर प्रत्यक्ष राजनीति भने गर्दिन् भन्ने लागेको थियो । ८४ वर्षको उमेरमा २०६० सालमा उहाँ गाउँमै बित्नुभयो । बेलुका खाना खाएर सुत्नुभएको थियो राती ९ बजेतिर ह्दयाघातका कारण निधन भयो ।

गाउँले जीवनको अनुभव कस्तो रह्यो ?
घाँसपात, मेला, हलो कोदालो, गाईवस्तु हेर्ने, दुध दुहुने, गोठ सार्ने, भातभान्सा लगायत सबै काम गरेँ । एसएलसी दिएर घर पुग्ने बित्तिकै बुबाले ‘किन त्यसै आइस् ?’ भनी गाली गर्नुभयो । त्यसबखत एसएलसीको प्रवेश पत्र देखाएपछि शिक्षकको नियुक्ति पाइन्थ्यो । अरु साथीहरुले शिक्षकको नियुक्ति लिए, मैले माष्टरको जागिर नखाने भनेर लिइन् । घर आएपछि बुबाले गाली गर्नुभयो । भोलिपल्ट बिहानै गएँ र सदरमुकामबाट नियुक्ति लिएर गाउँको विद्यालयमा पढाउन सुरु गरेँ ।

एक जना दिदीको बिबाह गरेर पठाएपछि घरमा आमा म बुबा मात्रै हुन्थ्यौं भाईहरु सबै विद्यालय जान्थे । ६ महिनादेखि आमा बिरामी हुनुहुन्थ्यो, घरमा समस्या भयो । बैशाख जेठमा विद्यालय बिहान लाग्थ्यो, बिहान पढाउन जान्थेँ, आएर १० मिनेटको दूरीमा रहेको धाराबाट गाग्रीमा पानी ल्याउथेँ, खाना खाएपछि (आमा बिरामी भएका कारण कतिपय अवस्थामा आफै पकाउनुपर्ने) बाख्रावस्तु लिएर हिड्थेँ । वस्तुहरु भने ब्याड मोल्न खेतमा राखिएको हुन्थे, त्यहीबाट चराउन लान्थेँ । गोठ सार्ने आदि सबै काम गर्थे । बेलुकी वस्तु बाँधेर दुध दुहेर घर लिइ जान्थेँ र फेरि पानी लिएर आएपछि खाना खाएर पराल बोकी फेरि गोठमै जाने र बेलुका गोठमै सुत्ने गर्थे । बुबाको काममा पनि हात बाढ्दथेँ । बुबा नभएको बखत अत्यावश्यक परेकाहरुलाई उहाँको सिफारिश र सही गरेर समेत पठाइदिन्थेँ । घरको प्रायः सबै कामको जिम्मेवारी लिन्थेँ ।

असारमा बिदा हुन्थ्यो, एकमहिना भर खेत रोप्न लाग्थ्यो र उमेरले सक्ने भएपनि खेतालाहरुसँगै लागेर आली लाउने बाउसे गर्ने सबै गर्थे । वर्खामा भने बुबाले हामीलाई जोत्न दिनुहुन्न थियो । गोरुलाई दाहिने देब्रे मिलाएर नार्नुपर्नेमा नमिलेका कारण दुःख दिएको घटना पनि स्मरणमा आउँछ ।

गाउँमा शिक्षाको अवस्था कस्तो थियो ?
शिक्षाको कुरा गर्दा अहिले सम्झियो भने अचम्म लाग्छ । गोरे बहादुर खपाङ्गी मेरो विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । हाइस्कुल गएपछि अंग्रेजी र हिसाब पढाउने शिक्षक हुँदैनथे । ८ कक्षा माथि  लागेपछि ‘अंग्रेजी’ र ‘गणित’ मा फेल हुँदा मात्र कक्षा उक्लिन पाइन्थ्यो । अरु विषय लाग्यो भने नपाइने । कारण ती विषय पढाउने शिक्षक अभाव । त्यसबापत हामीलाई राहत । र, हामीले आफ्नै हिसाबले पढ्नुपर्दथ्यो।  सेन्डअप सकिएपछि एसएलसी दिनुअघिसम्म विद्यालयले सबै विद्यार्थी पास गराउन होस्टल व्यवस्था गरेर शिक्षकहरु खटाएर करिब ३ महिना कसिएर पढाउने चलन थियो, त्यही बेला हो मैले मजाले पढेको भनेको ।

युवावस्था कसरी अघि बढ्यो ?
एसएलसी दिने बित्तिकै जिम्मेवार भएँ । पारिवारिक कामहरुको रेखदेखसँगै सामाजिक कामहरुमा पनि जुटेँ । त्यसपछि औषधालय फार्मेसीको क्षेत्रमा लागेँ । बुबाको प्रयासमा गाउँका लागि स्वास्थ्यचौकी स्वीकृत गराएर ल्याउनुभएको थियो, कर्मचारीहरु पनि आए, सरकारले दिएको ६ हजार रुपैयाँको केही औषधी पनि आयो, त्यो आषधी सकिएपछि हेल्थपोष्टका कर्मचारीहरुले बुबालाई ‘कि औषधी ल्याइदिनुस् कि औषधी किन्ने ठाउँ व्यवस्था गरिदिनुस् नत्र हामी बस्दैनौं, हामीले बिरामी निको पार्ने होइन, औषधी छैन’ भने । त्यसले बुबालाई निक्कै चिन्तित तुल्यायो । बिरामी नै हुनुभयो । त्यो बेलामा अरु स्रोत साधन थिएन । ती कर्मचारीहरुले पनि ‘बिक्री गर्ने ठाउँ व्यवस्था गर्नुस्, जोहो हुन्छ’ भने तर कसलाई ल्याएर राख्ने ? बुबासँग सल्लाह गर्यौं । उहाँले मलाई काम गर्नु भन्नुभयो । ३ हजार जति रकम बोकर काठमाडौं आए । ती कर्मचारीहरुले लेखिदिएको औषधीहरु लिएर गएँ । घरबाट ४ किलोमिटर जति टाढा रहेको स्वास्थ्य चौकीको नजिक एउटा घरमा दराज किनेर राखेँ र आधी आफु पढाउने विद्यालयको दराजमा राखेँ । दिउँसो विद्यालयबाट, बिहानबेलुका अनि शनिवार र बिदाको दिन पसलमा राखेर बिक्री गर्ने काम थालेँ ।

करिब ६ महिना त्यो काम गरेपछि समस्या आयो । ‘बाबु प्रधानपञ्च, छोरा शिक्षक मिलेर औषधी ल्याएर गाउँलेलाई बेच्छन्’ भन्ने गाइँगुइँ सुनिन थाल्यो । त्यसैबखत सैनिक सेवा अन्तर्गत सैनिक अस्पतालमा काम गर्ने गाउँका एक व्यक्ति सेवानिवृत्त भएर फकिए, उनैलाई जिम्मा लगाइयो । यद्यपि, त्यो प्राविधिक विषयमा मेरो रस बस्यो । अनि मैले जिरीस्थित सरकारी अस्पतालको नजिक २०३९ साल मंसिरमा औषधि पसल सञ्चालन गरेँ । त्यही फार्मेसी विषय पनि थप अध्ययन गरेँ । पछि शिक्षकको जागिर पनि छोडेँ र फार्मेसी मै लागेँ । 

जिरीमा पनि समस्याले छोडेन । सरकारी अस्पतालले प्रायः औषधीहरु निःशुल्क उपलब्ध गराउँथ्यो तर मानिसहरुले निःशुल्क उपलब्ध हुने औषधी बिक्री गरे भन्ने पनि कुरा आयो । तर त्यो पसलको आम्दानी राम्रो थिएन । कोठा भाडा तिर्न र खान पनि धौधौ पथ्र्यो । बाहिरबाट गएका डाक्टरहरु पनि डराउँदथे । शुल्क लाग्ने औषधि नै चाहियो भने पनि ‘जानीबुझी औषधि किन्न पठायो’ भन्छन् भनेर लेख्न रुचाउँदैनथे । पछि अस्पताल सरुवा हुनुभएका खरो स्वभावका एक निर्भिक डाक्टरले ‘निःशुल्क नपाहिने औषधीहरु बाहिर किन्नुपर्छ’ भनेर हक्कीरुपमा भन्नुहुन्थ्यो ।

२०४२ सालमा जिरीमा मोटरबाटो पुगेर बस जान थालेपछि काठमाडौंबाट गएको पसल पसलममा दैनिक पत्रिका बेच्थेँ । फेरि स्टेशनरी पनि सञ्चालन गरेँ । केही वर्षपछि बिजुली गएपछि बिजुलीको सामानको पसल पनि चलाएँ । औषधीपसलमा भेटेनरीको सामानहरु पनि बिक्री गरेँ । व्यापार विविधिकरण गरेँ । सदरमुकाम नभएपनि केही सरकारी कार्यालयहरु थिएँ । तिनको भवन निर्माण लगायतका कामहरुको ठेक्काहरु पनि लिएँ । काम राम्रो गर्ने कारण सबै खुसी नै हुन्थे । 

आफ्नो स्वभाव कस्तो छ भन्ने लाग्छ ?
जो कोहीलाई पनि आपत्विपत्मा सहयोग गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । सकेको गर्छु पनि । सबै मानिसले समानरुपमा आर्थिक सामाजिक अवस्था विकास गरुन्, सबैको खान लाउन पुग्ने अवस्था होस् भन्ने लाग्छ । कुटिल बुद्धिका खराब मानसिकता भएकाहरु नहुन, असल मनसाय राखेर मात्र काम गरुन्, कहिलेकाही राम्रो काम गर्दागर्दै पनि बिग्रने त हुन्छ तर कसैको नराम्रो वा कुभलो चिताउने व्यक्ति नहुन् भन्ने लाग्छ ।

खानपिन स्वास्थ्य, गीत संगीत, भ्रमण र सामाजिक सञ्जाबारे बताइदिनुहुन्छ कि ?
दाल भात तरकारी नै मन पर्छ । पोशाकमा दौरा सुरुवाल सबैभन्दा बढी मनपर्छ । औपचारिक कार्यक्रमहरुमा लगाउछु । रोगको कुरा गर्दा अरु केही छैन, २ वर्षदेखि प्रेसरको औषधि खान थालेको छु । नेपाली गीत सुन्छु । लोकगीत र दोहोरी गीतहरु बढी सुन्छु । पहिला पहिला चलचित्र हेरिन्थ्यो तर अहिले पुरै चलचित्र नहेरको धेरै भयो । भजन भने प्रायः सुन्छु । दिनमा एकपटक सामाजिक सञ्जाल चलाउछु । आक्कल झुक्कल कमेन्टहरु गर्छु । स्वेदशका ६० बढी जिल्ला र विदेशका २० मुलुक भ्रमण गरेँ । 

धर्म, अध्यात्म, ध्यान, योग, आदि विषयमा यहाँको धारणा ?
धर्मप्रति विश्वास छ । पुजापाठ गर्दिन, भोकै व्रत पनि बस्दिन । आफुले सजिलै कल्पना गरेको व्यक्ति वा भनौं ‘रञ्जनजीलाई फोन गर्न पाए हुन्थ्यो, कहाँ हुनुहुन्छ भन्ने लागेर सोचिरहँदा र मोबाइल समात्न खोज्दा, ठ्याक्कै तपाईकै फोनको घन्टी बज्छ ? हुन्छ नि त्यस्तो कहिलेकाही ?’ म र तपाईप्रतिको ‘टचिङ्’ हो वा मेरो ‘टचिङ’ तपाईकोमा पुग्यो । यो कसरी सम्भव हुन्छ ? कही न कही कसैले यो काम त गर्दिएको छ भन्ने लाग्छ । अर्को भनेको, अर्काप्रति जानाजान अपराध नगर्नु नै धर्म हो भन्ने लाग्छ । ‘यसलाई यहाँबाट यसरी खत्तम बनाइदिन्छु’ भन्ने षड्यन्त्र गर्ने काम अपराध हो । त्यसो नगर्नु नै धर्म हो ।

म ब्रह्मकुमारी राजयोग गर्छु । १३ वर्ष भयो सुरु गरेको । रामदेवको योगहरु पनि गर्छु । सामान्यतया बिहान ३ बजे उठ्छु । उठेपछि ब्रह्मकुमारी राजयोगको प्रवचन सुन्छु । अन्यत्र प्रवचन भनिन्छ, त्यहाँ ‘मुरली’ भनिन्छ । दैनिक एउटा नयाँ विषयमा मुरली हुन्छ । त्यसपछि कम्तिमा आधा घन्टा राज योग गर्छु । हाम्रो योगा निक्कै सजिलो छ । कस्तो आसनमा बस्न मन लाग्छ बस्दा हुन्छ । तर सुतेर योगा हुँदैन । सहज आसनमा बस्ने अनि दिमागलाई एकतृत वा केन्द्रीकृत गर्ने । ५ बजेभित्रमा नुहाइधुवाइ सबै काम सकिन्छ । त्यसपछि जाडोमा बाहेक नजिकै रहेको रामदेवको योगा सेन्टरमा गएर एक घन्टा फिजिकल योगा गर्छु । त्यो नभएको बेला मर्निङ् वाकमा जान्छु ।

विवाहसँग जोडिएको केही प्रसङ्ग बताइदिनुहुन्छ कि ?
२३ वर्षतिर मागी विवाह भएको हो । गाउँकै भएपनि विवाह अघि उनलाई देखेको थिइन । घर परिवारको जिम्मेवारी लिदैं गर्दा एक प्रकारको दबाब आउन थाल्यो विवाहको । पहिलो पटक भन्दा अस्वीकार गरेँ । बुबाले लेकमा बस्ने अर्को आमालाई बोलाउनुभयो । हाम्रो परिवारमा कस्तो आदर सम्मान भाव थियो भने आफ्नी आमाले भनेको भन्दा सौतेनी आमाले भनेको हामी मान्दथ्यौ । मलाई कन्भिन्स गर्न बुबाले अर्की आमालाई लगाउनुभयो, ‘विवाहह गर्नुपर्छ, भोलि आमा तलमाथि पर्नुभयो भने निक्कै कठिन हुन्छ । पानी तताएर दिने मान्छे छैन ।’ मैले फेरि ‘हुन्न’ भनेँ । कारण केटीको पढाइलेखाइ अलि कम भए मात्र हो । आमाले ‘अहिले बिहे गर, व्यवहार चलाउनुपर्यो’ भन्नुभयो । मैले ‘तपाईहरुको जस्तो सजिलो त अहिले छैन आमा’ भनेँ । अन्ततः घरको परिस्थितिलाई हेरेर बिहे गर्ने निधो गरेँ । 

सामान्य विवाह गरौं भन्ने मेरो र परिवारको भनाइ थियो । मैले ‘खर्च नगरौं, बाजा नबनाउ’ भनेँ । बुबाले सहमत हुनुभएको थियो तर केटीतर्फबाट मानिएन । बाजा बजाउनै पर्ने भयो । त्यसो भए मैले अर्को कुरा गरेँ ‘डोली नलैजाने हिडेरै जाने’ । धेरै टाढा पनि थिएन, करिब ५ किलोमिटर जतिमात्रै हो । बुबालाई भने तर उहाँले ‘हुन्न चलन अनुसार गर्नुपर्छ’ भन्नुभयो । मैले बुबालाई ‘म चाहिं डोली चढ्दिन’ भनेँ । अन्माउने बेलामा डोली ल्याएर पुजा गरेपछि ‘बस्नुस्' भन्ने कुरा आयो मैले ‘बस्दिन म जाम’ भनेँ । बुबा घरको माथि झ्यालबाट हेरिरहनुभएको थियो ‘त्यसलाई हान् हान्, ठोक ठोक’ भन्दै आउनुभयो । बुबासँग असाध्यै डराउने भएकाले चढेँ र घरको पर्खाल कट्ने बित्तिकै ‘रोक भाइ रोक’ भने र ओर्ले अनि हिडेरै गएँ ।

अहिले प्रायः समय कसरी बिताउनुहुन्छ ?
महत्वपूर्ण व्यापार व्यवसाय केहीमा पनि पूर्ण जिम्मेवारी लिएको छैन । सबैमा व्यावसायिक साझेदारहरु हुनुहुन्छ उहाँहरुलाई जिम्मेवारी दिएको छु । बाँकी केही काम सकिएपछि आमासँगै बस्छु, आमा पनि मसँग बस्न, कुरा गर्न पाउनुभयो भने रमाउनुहुन्छ । माघ ८ गतेदखि आमा ९६ वर्ष लाग्नुभयो । सकेसम्म बढी समय आमालाई नै दिन्छु । ९६ वर्षको आमासँग अहिले समय बिताउन पाउनु मेरो सौभाग्यको कुरा हो । अहिले उहाँको कुनै रोग छैन, औषधी खानुपर्दैन, स्मरण शक्ति केही कम छ । आमालाई म भएपछि अरु छोराछोरी, नातिनातिना, बुहारी कोहीपनि चाहिँदैन । म भएपछि आमा खुसी हुनुहुन्छ । उहाँसँगै लामो गफ गर्ने, पुरानो कुराहरु गर्ने, आमाकै सेवामा समय बिताउछु । नुहाइदिने, लुगा धोइदिने, तेल लगाइदिने, सरसफाइ गरिदिने, आदि काम गर्छु ।

सहकारी पाटो

सहकारी क्षेत्र प्रवेश कसरी भयो ?  
सानोतिनो व्यापार व्यवसाय गरिरहेका ५ जनाको समूह बनाएर नेपाल बैंक लिमिटेडसँग ऋण लियौं  । प्रतिव्यक्ति २५ हजारको दरले सामूहिक जमानीमा ऋण उपलब्ध भयो । त्यसबेलासम्म मसँग न जिरी न कही, आफ्नो नाममा जग्गा जमिन थिएन । धितो राख्ने केही थिएन । बैंकले ऋण दियो व्यवसायको आधारमा । त्यो लिएर एक वर्षमा हामी पाँचै जनाले ऋण तिर्यौं । त्यसपछि व्यवसाय विस्तारका लागि फेरि ऋणको आग्रह गर्यौं । पहिला ऋण दिने व्यक्ति नै म्यानेजर थिए । तर उनले ‘तपाईलाई किन ऋण दिने, न तपाईले मलाई एक कप चिया खुवाउनुभयो ? न कुनै रेसपोन्स गर्नुभयो, तपाईलाई ऋण दिएर मलाई के फाइदा ?’ भनेर दिएनन् । पसल फर्केर आएपछि मनमा सोचेँ ‘अब त यो विषयमा केही गर्नुपर्छ, सधै बैंकको भर परेर त हुँदैन’ भन्ने लाग्यो । थप सल्लाहका लागि एक दिन बेलुकी ३५–३६ जना व्यापारी साथीभाई भेला भयौं । प्रत्येक व्यक्तिबाट दिनको १ रुपैयाँ बचत उठाउने निर्णय गर्यौं । त्यसबेला त्यो रकम उठाएर के गर्ने भन्ने दीर्घ योजना थिएन । खाली रकम बचत गर्दै जाउ, एक दिन त्यो बचतले काम दिन्छ भन्ने मात्र थियो । केही न केही समस्या टर्छ भन्ने भयो । त्यो दिन २०४७ साल माघ १० गते थियो । त्यहाँबाट सहभागीहरु बढ्दै गयौं । त्यसको केही समयपछिको कुरा हो, त्यसबखत बजारमा हिमाली समाज सेवा समिति नामको क्लब थियो, म त्यसको सचिव थिएँ, त्यहाँ हुलाकबाट एउटा बुलेटिन आयो । त्यो बुलेटिन नेफ्स्कूनले पहिलो पटक प्रकाशित गरेको पत्रिका रहेछ । कुरा बुझ्दै जाँदा, समाज कल्याण परिषद्मा दर्ता भएका देशभरिका सबै संस्थाको ठेगानामा हुलाकबाट पत्रिका पठाएको रहेछ । टीकट टाँसेर सबै संस्थालाई पठाएको रहेछ । हाम्रो क्लब पनि समाज कल्याणमा दर्ता भएको कारण पत्रिका आएको रहेछ । त्यो बुलेटिन भेटेपछि भगवान भेटे जस्तै भयो ।

त्यो बुलेटिन पढेपछि काठमाडौं आएर कमलादी गणेशथान नजिकको नेफ्स्कूनको कार्यालयमा भोजराज घिमिरेलाई भेटेँ । राष्ट्रिय बचत संघ भनेर सुरु गरिएको रहेछ त्यो बेला ।  बचत ऋणसम्बन्धी स–साना शिक्षा शिविर सञ्चालन आदि कामका लागि एसियाली ऋण महासंघले थोरै सहयोग गरेको रहेछ । भोजराज घिमिरेले ‘खाजाको रकम हामी बेहोर्छौ, एउटा बचत ऋण शिक्षा शिविर सञ्चालन गर्नुस्’ भनेर सल्लाह दिनुभयो । जिरीमा हामीले बचत ऋण शिक्षा शिविर गर्यौं । परिणामतः अरनिको तथा फ्रेण्डशिप बचत तथा ऋण सहकारीको जन्म भयो । जिल्ला प्रशासन कार्यालयमा २०४७ सालमा संघ संस्था ऐन अन्तर्गत दर्ता गरेर अरनिको बचत तथा ऋण सहकारी सुरु गरिएको थियो । म त्यसको संस्थापक अध्यक्ष थिएँ ।

अरनिको पनि हाम्रो पहलमा सुरु भएको बचत ऋण सहकारी संस्था थियो । अझै राम्रोसँग चलिरहेको छ । तर म त्यसमा हाल आबद्ध छैन । मैले छोडेको १० वर्ष जति भयो ।  पहिला मेरो गाडी हुँदा मैले यातायात क्षेत्रमा काम गर्दा त्यो सहकारीमा जोडिए र २० वर्षजति अध्यक्ष भएर काम गरेपछि त्यो रुट छोडे । म त्यसमा सक्रिय भूमिकामा छैन । अरनिको र फ्रेन्डशिप दुबैले नेफ्स्कूनको आबद्धता पनि लिए । सहकारी ऐन २०४८ आएपछि २०५० सालमा नेफ्स्कून दर्ता गर्न जाँदा ४७ वटा संस्था सदस्य थिए जसमध्ये अरनिको र फ्रेन्डशिप दुबै थिए ।

तपाईहरु सहकारीमा लाग्दा जिल्लामा सहकारी अवस्था कस्तो थियो ?
जब मैले नेफ्स्कूनलाई भेटेँ, तब अभिमुखीकरण कार्यक्रम जिरीमा गर्यौं । त्यसले फ्रेण्डशिप जन्मायो । गोकुलध्वज कार्की दाई पछि नेफ्स्कूनको सञ्चालक पनि हुनुभयो, उहाँ अध्यक्ष र म संस्थापक उपाध्यक्ष भएर बसेँ किनकि म अरनिकोको पनि अध्यक्ष थिएँ । अरनिको ‘इम्प्लोइ बेस्ड’ र फ्रेण्डशिप ‘कम्युनिटी बेस्ड’ बचत ऋण सहकारी थिए । अर्को वर्ष फेरि नेफ्स्कूनमा हामीले कुरा गर्यौं र ऋण शिक्षा शिविर सञ्चालन गर्यौं । करिब २०४९ तिरको कुरा हो त्यो । जिल्ला सदरमुकाम चरिकोटको जिल्ला विकास समितिको हलमा आायोजित त्यो शिविरमा जिल्ला भरका क्लबका अध्यक्षहरु, हाईस्कूल, स्कूलका हेडमास्टरहरु, जनप्रतिनिधि तथा अगुवाहरु सहभागी हुनुहुन्थ्यो । त्यो शिविरको स्रोत व्यक्ति ऋषिराज घिमिरे र विश्वमोहन आचार्य हुनुहुन्थ्यो । यज्ञराज ढुङ्गेल सरहरु त्यो अभिमुखीकरण कार्यक्रम पछि प्रभावित भएर सहकारीमा समर्पित हुनुभएको थियो । चरिकोटको ऋण शिक्षा शिविरपछि त्यहाँ मिलिजुली र मैनापोखरीमा जनसचेतन स्थापना भएका हुन् । त्यसपछि विस्तारै सहकारी अभियान विकास हुँदै गयो । 

पहिलो चरणमा हामीले जिरीलाई आधार मान्यौं । त्यहाँ एउटा कुखुरा समूह थियो त्यसलाई कुखुरा विकास तथा बचत ऋण सहकारी बनायौं । आलुको समूह हनुमन्ते बीउ आलु समूह थियो त्यसलाई हनुमन्ते बीउ आलु उत्पादन बचत तथा ऋण सहकारी बनायौं यसरी छरिएर रहेका स–साना समूहहरुलाई बचत ऋण सहकारीमा रुपान्तरण गर्दै गयौं । त्यस बखत दर्ता प्रक्रिया पनि सहज र सरल थियो । यसरी जिल्लाभर अभियानकै रुपमा सहकारीहरुको विकास र विस्तार गर्दै गयौं । त्यसबखत जिरी गाउँपालिका भित्र १४–१५ सहकारीहरु दर्ता भैसकेको अवस्था थियो । पछिल्लो समय करिब ५ वर्षअघि फेरि एकीकरण अभियानलाई प्रोत्साहन गर्यौं र १४ वटा सहकारी एकीकरणपछि फ्रेण्डशिप बचत ऋण सहकारी बनाइएको हो । त्यसबेला हामीले जिल्लाभर ७ वटा बचत तथा ऋण दर्ता भएपछि जिल्ला बचत तथा ऋण सहकारी संघ भनेर जिरीमै ठेगाना राखेर मेरै अध्यक्षतामा गठन गर्यौं । मैले करिब ३ कार्यकाल काम गरेपछि चरिकोटस्थित मिलिजुलीका अध्यक्ष रामदास श्रेष्ठ अध्यक्षता बन्नुभयो र कार्यालय पनि चरिकोट नै सारियो ।

बचत ऋण सहकारीप्रति आकर्षण कसरी बस्यो ?
बैंकले ऋण नदिएको विषयले हामीलाई बचत गर्ने बानी विकसित गरायो । तर त्यसलाई कहाँ लाने कसरी वैधता वा दिगो बनाउने भन्ने विषयमा अनभिज्ञता थियो । त्यति नै बेला नेफ्स्कून भेटेपछि ‘ढुङ्गा खोज्दा देउता मिले’ झैं भयो । जब अभिमुखीकरणहरु भए तब सहकारीको महत्व, सिद्धान्त, आर्दश र व्यावहारिकता आदि विषयमा प्रगाढरुपमा बुझिदैं गइयो । अब बैंकको विकल्प विकसित हुँदै गयो । समुदायको आफ्नै बैंक निर्माण हुँदै गयो । आज त एक अर्ब भन्दा बढीको कारोबार गर्छ फ्रेण्डशिप साकोसले । बैंकले ऋण नदिएको कारण बचत ऋण सहकारीप्रति आकर्षण बढ्यो । त्यो बेला हामीलाई ऋण दिन अस्विकार गर्ने म्यानेजर बैंक छोडेर अहिले ललितपुरमा बहुउद्देश्यीयमा संलग्न हुनुहुन्छ । भन्नुको अर्थ उहाँ पनि पछि सहकारीमै जोडिनुभयो ।

बेताली बचत तथा ऋण सहकारीको जन्म कसरी भयो ?
बेताली बचत तथा ऋण सहकारी पनि फ्रेण्डशिपको जस्तै इतिहास बोकेको संस्था हो । बेतालीबाट काठमाडौं आएका साथीहरुबीच एकपटक भेटघाट भएको थियो । बेतालीबाट काठमाडौं आई बसोबास गर्नेहरु करिब ४० जना मिलेर क्लब दर्ता गर्नुभएको रहेछ, बचत गनेर्, गाउँको विकासमा खर्च गर्ने आदि भनेर । मैले उहाँहरुको कुरा सुनिसकेपछि पैसा पनि राख्ने, गाउँको विकास पनि गर्ने, ऋण पनि लिने, बचत गरेको पैसा पनि नमासिने, आफुले राखेको पैसाको ब्याजसमेत पाउने गरी क्लबलाई बचत तथा ऋण सहकारीमा परिणत गर्ने सल्लाह दिएँ र त्यसरी यसको विकास भएको हो । बेतालीको ठेगाना राखेर दर्ता भने काठमाडौंमा गरेका हौं । ३–४ वर्ष यहाँ चलाएपछि गाउँमा लगिएको हो । अहिले बेतालीको आफ्नै भवन छ, सदस्य संख्या बढ्दो छ, कारोबार बढ्दो छ । यसको स्थापनासँगै गाउँमा चर्को व्याजमा पैसा लगाउने साहुमहाजन प्रथा त बन्दै भयो ।

आफ्नो भूमिका वा नेतृत्वको स्वमूल्याङ्कन कसरी गर्नुहुन्छ ? 
सहकारी क्षेत्रमा जुन जुन भूमिकामा र नेतृत्वमा बसेर काम गरेँ सफलनै भए भन्नेमा आत्मसन्तुष्टि छ । कही पनि मैले असहयोग र असफलता हात पार्नुपरेन । ‘यति गर्न पाएको भए हुन्थ्यो, अझै यति पुगेन’ भन्ने त जुनसुकै ठाउँमा हुन्छ । तर ‘मैले गर्न सकिन, यति हुँदा पनि गरिन वा यो ठूलो कमजोरी भयो’ भन्ने चाहि छैन । मैले जिम्मा लिएका संघ संस्थाहरु सबैले ‘प्रोगेस’ गरेका छन् । मेरो कार्यकालको सबैभन्दा आत्मसन्तुष्टि मिलेको वा स्वर्णिम समय नेफ्स्कून अध्यक्षताको ३ वर्ष नै हो । (नितान्त व्यक्तिगत आधारमा) सञ्चालक समिति पनि त्यतिकै बलियो र सहयोगी थियो भने व्यस्थापन समूह पनि चुस्त, मिहेनती र लगनशील थियो । 

अर्को महत्वपूर्ण कुरा भनेको मेरो कार्यकालमा सहकारी वा नियमनकारी निकायबाट पनि धेरै सहयोग पाएँ । ३ वटा मन्त्रीसँग काम गरेँ उहाँहरु सबै सहकारीप्रति विश्वास र सदाशयता राख्नेहरु हुनुहुन्थ्यो । गोपीनाथ मैनाली जस्तो सहयोगी सचिव पाएँ । रजिष्ट्रारहरु पनि सहयोगी नै हुनुहुन्थ्यो । २ अर्बबाट करिब १६ अर्बको ब्यालेन्स सीट पुगेको थियो । कर्मचारी संख्या ६० बाट करिब १६० पुग्यो । त्यही गतिमा सदस्य र सेवा केन्द्रहरुका बिस्तार, विश्व ऋण परिषद्को सदस्यता, तालिम तथा शिक्षा, देशभरबाट प्राप्त उत्साह, एक्सेस र प्रोबेसन ब्राण्डिङमा प्राप्त सफलता, एकरुपता प्रणालीको लहर आदिबाट सन्तुष्टि मिलेको छ । मेरो समयमा साकोस शिखर गोष्ठी, लेखा सुपरिवेक्षण समिति गोष्ठी, व्यवस्थापकहरुको गोष्ठी लगायत ३ वटा ठूला गोष्ठीहरु आयोजना गरिएका थिए तिनले पनि अभियानबीचको ऐक्यबद्धतासँगै विकास र विस्तारमा भूमिका खेलेका थिए । 

त्यस्तै, स्थिरीकरण कोष, साकोस एकरुपता प्रणाली आदि धेरै कुराहरुमा म्यानुअल वा कार्यविधि बनाउने काम गर्नुपरेन बरु कार्यान्वयनमै जोड दिन पाएँ । मिनराज सर, ऋषि दाइको पालमा धेरै नीति, विधि बनाउने काम भएका थिए भने मेरो पालामा तिनको कार्यान्वयन पक्षमा बढी जोड दिन पाएँ । त्यसले पनि मलाई सहज बनायो । हुनत मेरो समयमा पनि केही नीति, विधिहरु नबनेका होइनन् तर अधिकांश पहिले बनेकाहरुलाई बिशेषत कार्यान्वयनमा लैजान पाएँ । मलाई त्यसले पनि सहज बनायो । जोसँगबाट जे काम लिनुपर्छ ‘त्यो सानो मान्छे वा उसकोमा जानुहुन्न, म नेफ्स्कूनको अध्यक्ष’ भन्ने थिएन । म उहाँ पुग्थेँ, लिन पठाउथेँ, उहाँसँग अनुनय विनय गर्थे, जोसँग जे जसरी र जहाँ जानुपथ्र्यो त्यसरी नै प्रस्तुत हुन्थेँ । तपाई पत्याउनुहुन्न होला, म ८ घन्टासम्म राष्ट्र बैंकमा बसेको छु । अर्थ मन्त्रालयमा घन्टौं टेबुलमा बसेको छु । स्थिरीकरण कोषको कार्यविधि बनाउने बेला । कर्मचारीहरु पनि ‘तपाई जानुहोस सर म भोलि गरेर पठाउछु’ भन्दा पनि नछोडेर काम फत्ते गरेरै ल्याएको छु । यदि मैले त्यो बेला त्यति काम नगरेको भए आज स्थिरीकरण कोष आज कर्जा सूचना केन्द्र जस्तो हुन्थ्यो । मैले पूर्वअध्यक्षहरु ऋषि दाई, मिनराज सर सँग बसेँ, ‘यो यो कुरामा उल्झन छ, के गरौं’ भनेँ । उहाँहरुले ‘जति पाइन्छ त्यति चाहिं लिउँ भोलि अरु थप्दै संशोधन गर्दै जाउँला’ भन्नुभयो । त्यो कुुुरा ठीक भएछ भन्ने लाग्छ आज मलाई किनभने ‘यो पुगेन त्यो पुगेन’ भन्न त आज पाइएको छ नि । अहिले नेफ्स्कून् बोर्डलाई त्यति धेरै कठिन यसअर्थमा छैन कि उहाँहरुले पुराना विषयहरुलाई निरन्तरता दिनुभयो भने मात्र पनि धेरै राम्रो हुन्छ, आधार बनिसकेको अवस्था छ ।

म अध्यक्ष हुँदा कार्यक्रमहरुमा बोलाउँदा तोकेको समयभन्दा ढिलो कमै पुग्थेँ । उद्घाटन कार्यक्रमहरु एकदमै छोटा र उपयोगी हुन् भन्ने लाग्दथ्यो । लामोसमय बोेलेर सहभागीहरुको समय बर्बाद गर्नुभन्दा र पट्यारलाग्दो भाषण भन्दा पनि अन्तरक्रिया गर्न रुचाउँदथेँ । हामीले जतिसुकै लामो बोले पनि श्रोताहरुको दिमागमा बस्दैन तर उहाँहरुको जिज्ञासाको सम्बोधन भने दीर्घजीवी हुन्छ । कतिपय साधारण सभा वा कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुँदा ‘म बोल्दाबोल्दै तपाईहरुलाई केही मनमा लाग्यो भने सोधिहाल्नुस, प्रश्नहरुको जवाफ तत्कालै दिइहाल्छु’ भन्थेँ ।

कोभिडको प्रभाव, तरलता चाप आदि विषयमा केन्द्रीय निकायले गर्नुपर्ने काम र प्रारम्भिक संस्थाले पुर्याउनुपर्ने सावधानी के के हुन् ?
नेफ्स्कून बोर्डले पूर्व अध्यक्ष तथा सल्लाहकारहरुसँग निरन्तर सम्पर्क र समन्वय गर्नुपर्छ । अनुभवले खारिएका, सहकारीभन्दा इतर काम नगरेका व्यक्तिहरुसँग सल्लाह गर्नुपर्छ । आज पनि ‘नेफ्स्कूनका लागि केही काम गर्न पाए हुन्थ्यो’ भन्ने लाग्छ । कुनै दिन बोलायो भने जिम्मेवारी दियो भने खुसी हुन्छौं, नेफ्स्कूनको प्रगति सुन्दा खुसी हुन्छौं । 

नेफ्स्कून सञ्चालक समिति र पूर्व अध्यक्षहरु बसेर एक दिनभरि छलफल गरेर एउटा सोलिड्यारिटीको सन्देश दिनुपर्नेछ अभियानका लागि । बचत संकलन गर्न, ऋण लगानीको लागि, अभियानको अवस्था बिश्लेषण गर्न, तरलता आदि विषयहरुमा छलफलसहित ‘म्यासेज डेलिभर’ गर्नुपर्छ ।

दोस्रो सोलिड्यारिटी नेफ्स्कूनको गुणस्तर सुनिश्चितता कार्यक्रममा आबद्ध तथा स्तरीकृत संस्थाहरुको तर्फबाट । जहाँसम्म प्रारम्भिक संस्थाहरुको कुरा छ, उनीहरुको पहिलो काम भनेको नेफ्स्कूनले दिएको ‘टुल्स एण्ड टेक्निक’ हरुलाई कार्यान्वयन गर्नुपर्छ । सबैको नेटवर्किङ र मुख्य ठाउँ नै नेफ्स्कून हो । नेफ्स्कूनलाई नै आधार मानेर अघि बढ्नुपर्छ । लामो इतिहास बोेकेको छ नेफ्स्कूनले । अभियानलाई आजको अवस्थासम्म पुर्याउन नेफ्स्कूनको भूमिका छ । जसले जति नै कुरा गरेपनि नेपालमा सहकारी अभियानमा नेफ्स्कून नै हो ‘कि एक्टर’ ।

विश्व ऋण परिषद् र एशियाली ऋण महासंघको विषयमा यहाँको धारणा ?
मेरो कार्यकालमा विश्व ऋण परिषद्सँग सम्बन्ध स्थापित भैसकेपछि नेफ्स्कूनलाई फाइदै पुग्यो । हामीले पठाएको प्रस्ताव, गरेको कुुराकानीले सहयोग पनि प्राप्त गरेका थियौं । काठमाडौंमा पनि केही कार्यक्रम गर्यौं, ‘प्रोजेक्ट’ पनि उपलब्ध गराएको थियो ओकूले । ब्राजिलको टीम पठाइदिएर ‘स्टडी’ गराइदिएको थियो जसले नेपाल र ब्राजिलको क्रेडिट युनियनको मोडलबीच धेरै समानता रहेको देखायो । भूकम्पको बेलामा पनि हामीलाई केही सहयोग गरेको हो । ओकूसँग अहिले पनि हामी केही प्रोजेक्टहरु लिन सक्छौं जस्तो लाग्छ ।

जहाँसम्म अक्कूको कुरा छ, नेफ्स्कूनलाई यहाँसम्म यो अवस्थामा पुर्याउने अक्कू नै हो । एशियाली ऋण महासंघसँगको सम्बन्ध सधै राम्रो बनाइराख्नुपर्छ । अकूले मलाई पनि एक वर्षसम्म राम्रो ‘सपोर्ट’ नगरेको हो तर पछि मैले एकवर्ष राम्रो काम गरेपछि र उनीहरुलाई धुलिेखलमा बोलाएर ‘प्रेजेन्टेसन’ गरेको थिए जसमा म अध्यक्ष हुन आउँदा र हालको अवस्था भनेर ‘प्रोगेस’ देखाएपछि उनीहरु ‘सपोर्टिभ’ भएका हुन् ।

सहकारी तथा बिशेषतः नेफ्स्कूनको अबको प्रमुख योजना वा रणनीति के हुनुपर्छ ?
एकीकरण र पूर्णतया सुशासित संस्था अबको प्राथमिक आवश्यकता हो । सहकारी क्षेत्रमै धेरै सहकारीहरुको एकीकरण आवश्यक छ । साकोस क्षेत्रको कुरा गर्दा, देशभरिमा १ सय ठूला संस्था बनाऔं तिनै संस्थाले नेफ्स्कून चलाऔं । ब्राजिलको मोडलमा जानुपर्छ जहाँ सदस्यहरुले फेडेरेशनलाई ४ प्रतिशत सेवा शुल्क तिर्छन् । ‘देशभर १४ हजार बचत तथा ऋण सहकारी छन्, नेफ्स्कून ४ हजार बढी मात्रै सदस्य लिएर बस्छ’ भनेर भन्छन्, उनीहरुले भनिरहुन केही छैन । सेवा त सबैलाई दिने तर सदस्य भने १ सय संस्था भए पुग्छ, अनि नेफ्स्कूनको सञ्चालक समितिमा आउने व्यक्तिहरु पनि त्यस्ता ठूला र सुशासित संस्थाका क्वालिफाइड व्यक्तिहरु हुन्छन् । खारिएका र छानिएका ती व्यक्तिहरुबाटै नेफ्स्कून सञ्चालन गरिनुपर्छ । 

बचत ऋण सहकारी आफै होइन सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउन सहकारी संघ र संस्थाहरुले बजारीकरण, सीपमूलक तालिम, ज्ञान, विज्ञतासँगै स्थानीय कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्न सक्ने ‘वे आउट’ देखाइदिनुपर्छ । विगतदेखि नै मैले भन्दै आएको छु, ‘एक गाउँ एक उत्पादन’ मा विशेष जोड दिदैं सहकारी क्षेत्र यो अभियानसँग जोडिनुपर्छ भन्ने लाग्छ । अर्को एउटा विषय जोड्न चाहन्छु, सहकारीमात्र नभई हरेक क्षेत्रमा पढेको भन्दा परेको व्यक्तिले सफलता हात पारेका छन् । अनुभव र व्यावहारिक सिकाइको शक्ति बढी तागतिलो हुन्छ ।

राज्यले गर्ने सहयोग सहकारी अभियानले पाएको छ ?
राज्यको जिम्मेवार ठाउँमा बस्ने व्यक्तिले ‘सहकारीलाई किन सहयोग ?’ गर्ने भन्ने छ । राज्यबाट पर्याप्त सहयोग पाएको छैन सहकारी क्षेत्रले । यसको कारण देशको अर्थतन्त्रमा कति ठूलो टेवा पुगेको छ त्यो नसोच्ने अनि हरेक पटक नयाँ व्यक्ति आउने अनि सिक्ने सिकाउने काममै कार्यकाल बित्ने र सरुवा भएर जाने कारणले पनि महत्वपूर्ण विषयहरुमा बुझाइमा एकरुपता र समस्या समाधानतर्फ ठोस रुपमा केन्द्रित हुन सकेको छैन । सहकारी क्षेत्रबाटै प्रवेश गरेर सहकारी क्षेत्रबाटै अवकाश पाउने खालका मानिसहरु सरकारी सेवामा आवश्यक छ । कही सहकारीप्रति अत्यन्तै सकारात्मक मानिसहरु पनि छन् कही आफ्नो स्वार्थका लागि सहकारी बिगार्ने खालका, नीति नियमको बखेडा झिक्ने पनि छन् ।

यी विषयहरुमा मेरो अध्यक्षताकालमा भन्दा अहिले बढी देखेको छु । मेरो कार्यकालमा त मैले चाहे भन्दा बढी सहयोग सरकारी निकायबाट पाएँ । मैले लिएर गएकामध्ये मन्त्रालयबाट जम्मा एउटा मात्र काम बनेन जुन नेफ्स्कूनको होइन एउटा प्रारम्भिक संस्थाको विषय थियो, अलि ‘लिङ्गरिङ’ भयो । अरु कुनै काम नबनेको भन्ने थिएन । अवस्था अहिले त्यस्तो नहुनसक्छ । सहकारी ऐन, नियमावली आदि सबै बनाउने काम मेरै कार्यकालमा भयो । बचत तथा ऋणका लागि मात्र अनुकूल ऐन आयो भनेर सहकारी अभियानका साथीहरुले गाली पनि गर्नुभएको छ ।

साकोस क्षेत्रको जनशक्ति खारिएको हो ?

एक हिसाबले खारिदै पनि आएको छ । अर्कोतर्फ समस्याहरु पनि छ । अनुगमनको पाटोको मुख्य जिम्मेवारी कि नेफ्स्कूनलाई दिनुपर्छ, कि सरकारले कडाइका साथ गर्नुपर्छ । एउटा रेञ्जमा राष्ट्र बैंकले गर्नैपर्छ । अरुलाई नगरेपनि नेफ्स्कूनलाई गर्देउ भनेर मेरै कार्यकालमा पनि भनेको हो । यदि नेफ्स्कूनलाई मात्र राष्ट्र बैंकले गर्दिएको भए विश्वासको थप बढोत्तरी हुन्थ्यो ।

प्रदेश र जिल्ला संघहरुको भूमिकाका सम्बन्धमा यहाँको राय ?
जिल्ला संघहरु ओझेलमा परेको संघीयताको ‘प्राक्टिस’ ले गर्दा पनि हो । प्रदेश संघ सक्रिय हुँदै गएका छन् । बचत तथा ऋणको प्रदेश तथा जिल्ला संघले वित्तीय कारोबार गर्नुहुन्न भन्ने बाटोको व्यक्ति हुँ म । त्यो कालका मान्छे हुँ । बचत तथा ऋणको प्रदेश संघको संयोजक नेफ्स्कूनको सञ्चालक हुन्छ र हरेक प्रदेशबाट निर्वाचित नेफ्स्कूनको सञ्चालक त्यही व्यक्ति प्रदेश संघको अध्यक्ष हुने भनेर तदर्थ समिति बनाउन लगाएको पनि हो । मेरो उद्देश्य के थियो भने प्रदेश संघले वित्तीय कारोबार गर्दैन, बरु उनीहरुलाई सचिवालय सञ्चालनदेखि केही आवश्यक खर्च दिने भन्ने सोच थियो । आजको दिनसम्म पनि जिल्ला र प्रदेश संघहरुले वित्तीय कारोबार गर्नुहुन्न भन्ने पक्षको मान्छे हुँ । वित्तीय कारोबार भने एकद्वार प्रणालीबाट काम गर्नुपर्छ र जिल्ला र प्रदेशलाई अरु काममा सक्रिय बनाउनुपर्छ भन्ने हो ।

राष्ट्रिय सहकारी महासंघको भूमिका र बहस पैरवीका विषयमा केही भन्नु छ कि ?
महासंघले आफ्नो तर्फबाट सकेको गरेको छ । श्रोत साधनको कमीका बाबजूत काम नगरेको भन्न मिल्दैन । सरकारसँगको बहसपैरवीमा भने अलि बढी गर्न सकिन्थ्यो भन्ने लाग्छ । केही कमजोरी भएका छन् भन्ने लाग्छ ।  हुनत हामी नै छौं ‘लीडरशीप’ मा । सरकारका मान्छेलाई हामीले आश्वस्त तुल्याउन सकेनौं वा उनीहरुमाथि कामको आधारमा हाबी भएर आफ्नो काम गराउन सकेनौं । 

जहाँसम्म महासंघले तालिम मात्र बिक्री गर्यो भन्ने बजारमा कुरा सुनिन्छ, त्यति नै बेला नेफ्स्कूनले १ हजार तालिम गरेको छ, महासंघले मुस्किलले ४० वटा तालिम गर्छ, तर महासंघको मात्र कुरा उठ्छ । यसको कारण के हो भने अभियानको बहसपैरवीको काम देखिने गरी भएको भए यस्ता कुरा उठ्दैनथ्यो । वर्षमा केही उच्चस्तरीय र महंगो शुल्कसहितको तालिमको कुरा छ, त्यसले त सानो सहकारीलाई केही असर गर्दैन, ठूला संस्थाहरुलाई लक्षित गरिएको हो । अनिवार्य गरेको छैन, जसले सक्छ त्यो सहभागी हुने हो । महासंघले गर्नुपनि पर्छ, सबैलाई हुने गरी सन्तुलित तालिम कार्यक्रमहरु सञ्चालन गरेको छ । साना, ठूला र निःशुल्क तालिमहरु पनि गरेको छ । सरकारसँग लिएका कार्यक्रमहरु जिल्लामै गएर गरेको छ ।

काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्व विद्यालयले पनि सहकारीको कोर्ष सञ्चालनको तयारी गर्दैछन् । यी महासंघको अगुवाईमा भएका पहल हुन् । कतिपय नमूना नीतिहरु बनाएको छ । सरकारकोमा गएको छ । हो कति कूरा उपलब्धि भएका छन् कति भएका छैनन् । सतप्रतिशत उपलब्धि हुँदैनन् । सहकारी ऐन पनि महासंघकै सक्रियतामा बाझिएका बुँदाहरुमा संशोधन गर्नुपर्छ भनेर सबै तयार भएर मन्त्रालय, महासंघ, विकास बोर्डका तर्फबाट तयार भएर बसेको छ तर संसद नियमित नहुनु, कोभिड, मन्त्रीहरु छिटोछिटो फेरबदल हुने आदिका कारणले रोकिएको हो । अभियानले जे खोजेको छ त्यति निश्चय पनि भएको छैन तर हुँदै नभएको भने होइन ।

युवा र प्रविधिलाई कसरी जोड्ने सहकारीमा ?
हामी यी कुरामा धेरै पछाडि पर्यौं । युवाहरु हिजोको जस्तो सहकारीमा गएर पैसा बुझाएर रसिद काटेर आउँदैनन् । प्रविधि नै उनीहरुको प्राथमिकता र रोजाइ हो । प्रविधिको विकासमा लाग्नुपर्छ । सरकारसँगै पहल गर्नुपर्छ । म अध्यक्ष भएको बेला सफ्ट्वेयर विकास गर्ने सम्बन्धी प्रस्ताव मन्त्रालयमा लगेका थियौं । सुरुको लगानी सरकारले गर्दिने र त्यसपछिको सञ्चालन नेफ्स्कूनले गर्ने भनेर । त्यो अघि बढ्न सकेन । बचत तथा ऋण ऐन सरकारी ढिलासुस्ती वा अर्घेल्याइले भन्दा पनि सहकारी अभियान भित्रकै पहुँचवाला व्यक्तिहरुले रोकेका हुन् । सरकारले गर्दिएन वा सरकारी उल्झन भयो भनेर गाली गर्नुपर्दैन । युवा र प्रविधिलाई सहकारीसँग जोड्दा मात्र यसको गरिमा बढ्छ ।

नेपालको सहकारी अभियानमा दोलखा जिल्लाको योगदान कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
सहकारी र बचत ऋण सहकारीको क्षेत्रमा दोलखा जिल्लाको अग्रणी योगदान छ । बचत तथा ऋणको लागि पनि नमूना जिल्लाको रुपमा घोषणा गरेर काम गरेको हो । एकीकरणको लागि पनि नमूना जिल्ला नै हो । जिल्लामा जति चलेका सहकारीहरु छन् वा ‘फ्रन्टलाइन’ मा देखिएका छन् निक्कै राम्रा छन् । गोकलजी, यज्ञराज सर, रामदास श्रेष्ठ, जीवस राज खड्का लगायत लीडरशीप पनि जन्मिनुभयो र जिल्लाले पनि सहकारी क्षेत्रमा योगदान दिएको छ । नेफ्स्कूनमा पनि कोही न कोही लीडरशीपमा बसेर काम गर्न पाइरहेका छौं । नेफ्स्कून सञ्चालक समितिमा २०५० सालपछि दोलखा जिल्लाबाट लगभग निरन्तरजसो प्रतिनिधित्व भैरहेको छ । अनुभवहरु केन्द्रीय संघमा खर्चिन पाएका छौं ।


 

saccosaawaj media

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

सोमबार, साउन ५

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

saccosaawaj media

अब्बल साकोस नेतृ सीमा

आईतबार, साउन २५

अब्बल साकोस नेतृ सीमा

saccosaawaj media

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’

आईतबार, साउन २५

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’