बुधबार, वैशाख १२
१२:३७

संस्था–सदस्यबीच अर्थपूर्ण सम्बन्धका आधारहरू

शुक्रबार, माघ १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

के हामीले सञ्चालन गरेका सहकारी संघ संस्थाहरु हामीहरुका आफ्नै अनुभवमा पनि “सहकारी संस्था” जस्ता लाग्दछन् ? सहकारीलाई बस्तुनिष्ठ रुपमा बुझ्नका लागि उल्लेखित प्रश्नको चिन्तनीय र तथ्य सहितका उत्तर आवश्यक छ । के सरकार र नागरिकहरुले बारम्बार भनिरहने, सोधिरहने यस्ता प्रश्न प्रति सहकारीका सञ्चालकहरुको ध्यान जान आवश्यक छैन ? सहकारीप्रति आम नागरिक र राज्यको धारणा “सहकारी संघ संस्थाहरु सहकारी संघ संस्थाहरु जस्ता छैनन्” भन्ने नै हो । यस्ता यथार्थ तर डरैलाग्ने धारणा आम जनमानसमा विस्तारै जाने र सदस्यहरुको तहसम्म पुग्ने र सदस्यहरुले पनि आफू आवद्ध संस्थाप्रति यस्तै बुझाई हुँदै जाने अवस्थासम्म पुग्दा सहकारी आन्दोलन के होला ? एउटा सहकारी संस्थाको सदस्यकै शब्दमा “मेरो अनुभवमा म आवद्ध सहकारी संस्था र निजि कम्पनिमा हुने र भैरहेको कारोबारमा मैले फरक अनुभव गर्न सकेको छैन”। यो सदस्य र सहकारी संस्था बीचको परस्पर हित हुने व्यावसायिक सम्बन्ध नभएको रुग्ण किसिमको ‘सदस्य र संस्था बीचको सम्बन्धको’ गतिलो उदाहरण हो । यस्ता समस्याहरुलाई समयमै सहकारी संस्थाहरुले सम्बोधन नगर्ने हो भने भोलि कस्तो अवस्था आउला ? सहकारी आन्दोलनको बाटो के होला ? सहकारी आन्दोलनबाट के प्राप्त होला ? एउटा सहकारी संस्थाको असली पहिचान सहकारी अवधारणा, मूल्य र सिद्धान्त अनुसार व्यवसाय सञ्चालन गर्नु हो र संस्थाले यस किसिमको पहिचान संस्थाले स्थापित गर्नका लागि संस्था र सदस्य बीचको पारस्परिक व्यवसायिक सम्बन्ध सुदृढ गर्नु एकमात्र विकल्प हो । 

नेपालको बर्तमान सहकारी आन्दोलनको अवस्था आंकलन गर्दा केही संस्थाहरुको व्यवस्थापकीय सिपका कारणले संस्थागत विकास भएको देखिन्छ । सदस्यहरुको संस्थाप्रतिको सदासयता र विश्वासका कारण पनि उत्तिकै छ । कतिपय सन्दर्भमा सदस्यहरुले दर्शाएका सदासयताको उचित मूल्यांकन हुन सकेको छैन । सदस्यहरुसँगको उचित र सुदृढ सम्बन्धका विषयमा पर्याप्त ध्यान नदिने हो भने सदस्यहरुले सहकारी संस्थाहरुप्रति देखाईरहेको सदासयता छिन्न भिन्न हुन सक्ने देखिन्छ । यस्तो अवस्थामा “सदस्यहरुको सक्रियता, सदस्यहरुको नियन्त्रण र सदस्यहरुकै स्वामित्व” मरेर जान्छ, अर्थहिन हुन जान्छ । सहकारी संस्था एउटा विचौलियाको भूमिकामा सिमित हुन सक्छ । अनि सदस्यहरु निस्कृय रहने, छोड्ने, मन नपराउने, उदासिन व्यवहार देखाउने हुन्छन् । सहकारी मार्फत आर्थिक, सामाजिक र सांस्कृतिक विकास र सम्बर्धनका लागि संस्थामा यथेष्ठ सक्रिय सदस्यहरुको जरुरत हुन्छ । संस्थाको लागि सदस्यहरु वास्तवमा सम्पत्ति नै हुन् । जो निरन्तर कारोबार, आम्दानी र समृद्धिका सम्बाहक हुन्छन् । जिल्ला संघ, केन्द्रीय संघहरुले सदस्यता सम्बन्धि मापदण्ड बनाई आफैंमा र आफ्ना सदस्यसंस्थाहरुमा लागू गर्नुपर्छ । एउटा प्रारम्भिक सहकारी संस्थाले पनि आफ्नो संस्थालाई आवश्यक न्यूनतम सदस्य संख्या कति हो, कम्तिमा त्यति संख्यामा सदस्य बनाउन कति कार्यक्षेत्र आवश्यक होला? सक्रिय सदस्य भनेको के हो? संस्था र सदस्यहरुको सम्बन्ध आदि बारेमा नीति नै बनाउन आवश्यक हुन्छ र यो एउटा निरन्तर प्रक्रियाको रुपमा अघि बढाउनु श्रेयस्कर हुन्छ ।

सदस्यसँगको प्रभावकारी सम्बन्धको चर्चा एउटा सबैले बुझेकै बिषय भएता पनि यसलाई वस्तुपरक हिसाबले नबुझिकन वेवास्ता पनि गर्ने गरेको देखिएको छ । एउटा बचत ऋणको कारोबार गर्ने सहकारी संस्था सञ्चालकको भनाईमा “सदस्यहरु व्याजको लोभमा संस्थामा बचत गर्दछन्, ऋण चाहिएमा बैंकतिर जान्छन्”। एउटा सहकारी संस्थामा सदस्य भएर प्राप्त हुने फाईदा न सदस्यहरुले अनुभूति गर्न पाएका छन् न सहकारी संस्था सञ्चालकहरुले सदस्यहरुलाई सन्तुष्ट पार्न सकेको अनुभूति गरेका छन् । यो हरेक सहकारी संस्थामा भएको अहिलेको विद्यमान अवस्था हो । सहकारी संस्था आवद्ध सदस्यहरुको जिवनआधार हुन सक्नु पर्दछ । सदस्यहरुले संस्थालाई माध्यम बनाई आफ्नो पेशा व्यवसाय विकास, विस्तार एवं प्रवर्धन गर्न सक्नु पर्दछ । 

सहकारी संस्थाको सदस्यहरुसँगको सम्बन्धकै चर्चा गर्दा संस्था र सदस्यहरुको बीचको सुदृढ एवं सुमधुर सम्बन्धको महत्वपूर्ण पाटो भनेको संस्थाले सदस्यहरुलाई प्रदान गर्ने गुणस्तरीय वस्तु र स्तरीय सेवा नै हो । वास्तवमा यो अत्यन्तै महत्वपूर्ण पनि छ । सहकारी संघ संस्थाहरुले अन्य संघ संस्थाहरुसँग आफूलाई प्रतिस्पर्धा गराउँदा गुणस्तरीय वस्तु र स्तरीय सेवा कै आधारमा आफूलाई प्रतिस्पर्धात्मक रुपमा उभ्याउँछन् । सदस्यहरुलाई गुणस्तरीय बस्तु तथा सेवा प्रदान गरेर सन्तुष्ट राख्ने काम गर्छन् । गुणस्तरीय बस्तु तथा सेवाले संस्थाको असल छवि निर्माणमा सहयोग पुग्छ । जसले गर्दा समुदायमा विश्वास आर्जन हुन्छ । गुणस्तरिय बस्तु तथा सेवा भनेको सदस्यहरुको आवश्यकता पूरा गर्ने, समस्याको समाधान गर्न सक्ने, आम्दानीले धान्न सक्ने वस्तु तथा सेवा हो ।

अहिलेको परिप्रेक्ष्यमा एउटा सहकारी संस्थाको बहुआयामिक समृद्धिको एउटै ठोस बिषय सक्रिय सदस्यताको व्यापक विस्तार हो । सदस्य संख्या र शेयर पुँजी, बचत निक्षेप, ऋण लगानी, समग्र कारोबार र आम्दानी बीच जहिले पनि सकारात्मक सम्बन्ध कायम हुन्छ । सदस्य संख्या बढ्दा सबै बढ्ने, घट्दा सबै घट्ने । एकजना बरिष्ठ जापानीज सहकारीकर्मीको भनाईमा “नेपालमा थोरै सदस्य भएका धेरै संस्थाहरु भए, यहि कारणले सहकारी आन्दोलन गुणात्मक रुपमा विकास हुन पाएन”। अहिले हामीले हाम्रै देशमा र विदेशमा समेत सहकारी संघ संस्थाहरुको क्षमता, शक्तिको, सफलताको कथा वा यथार्थ सुनेका छौ । त्यस्ता संस्थाहरुको सफलताको पृष्ठभूमिमा सक्रिय सदस्य संख्याको ठूलो हात रहेको हुन्छ । नेपालमा सरकार र सम्बन्धित निकायहरुले पनि सहकारी संघ संस्थाहरु यथोचित विकासका लागि यथेष्ठ सक्रिय सदस्य संख्या नै महत्वपूर्ण बिषय हो भनि ठम्याएको देखिएन । सदस्यता वृद्धिका लागि सामान्यतया कार्यक्षेत्र ठूलो हुन आवश्यक हुन्छ । तर नयाँ बनेको ऐन, पूराना मापदण्ड परिपत्र र निर्देशनहरुमा एउटा सहकारी संस्थाको कार्यक्षेत्र विस्तार गर्ने व्यवस्था सरल सहज छैन । अति आवश्यक र वान्छनीय हुँदा पनि कार्यक्षेत्र विस्तार गरी सदस्य संख्या वृद्धि गर्नमा अनेकन कठिनाई भोग्नु परेको भुक्त भोगीहरु बताउँछन् । 

सदस्य संख्या अपुग भएर पनि सहकारी संघ संस्थाहरुमा मर्जरको अवधारणा प्रकाशमा आएको हो । मर्जरले पहिलो कुरा त सदस्यता वृद्धि, पुँजी वृद्धि, कारोबार वृद्धि, आम्दानी वृद्धिका साथै कार्यक्षेत्र पनि वृद्धि हुन्छ । नेपालमा सदस्य संख्या वृद्धि गर्नका लागि अपनाउने सामान्य रणनीति भनेको कार्यक्षेत्र विस्तार हो । कार्यक्षेत्र विस्तार भईहाले पनि अपेक्षित रुपमा सदस्यताको विस्तार भएको पाईएको छैन । यसको कारण अत्याधिक संस्थाहरुको दर्ता हुनु हो । कार्यक्षेत्र विस्तार भएको ठाउँमा थुप्रै सोहि प्रकृतिका संस्थाहरु हुनु अर्को मूख्य कारण हो । विना योजना, विना अध्ययन कार्यक्षेत्र विस्तार गर्नु अर्को कारण हो । एउटा सहकारी संस्थाको कार्यक्षेत्र जिल्ला भरी हुने तर सदस्यता लगायत अन्य सबै गतिविधि एकदमै सीमित क्षेत्रमा हुने पनि देखिएको छ । कतिपय संस्थाहरुको चाहि कार्यक्षेत्र सीमित भएता पनि कारोबार चाहि कार्यक्षेत्र बाहिर व्यापक रुपमा गरेको देखिन्छ । यस किसिमको समस्या समाधानका लागि सरकार र सहकारी आन्दोलनले स्पष्ट नीति बनाई लागु गर्न आवश्यक भैसकेको छ ।

सहकारी संस्थाको सदस्यहरुसँगको सम्बन्धकै चर्चा गर्दा संस्था र सदस्यहरुको बीचको सुदृढ एवं सुमधुर सम्बन्धको महत्वपूर्ण पाटो भनेको संस्थाले सदस्यहरुलाई प्रदान गर्ने गुणस्तरीय वस्तु र स्तरीय सेवा नै हो । वास्तवमा यो अत्यन्तै महत्वपूर्ण पनि छ । सहकारी संघ संस्थाहरुले अन्य संघ संस्थाहरुसँग आफूलाई प्रतिस्पर्धा गराउँदा गुणस्तरीय वस्तु र स्तरीय सेवा कै आधारमा आफूलाई प्रतिस्पर्धात्मक रुपमा उभ्याउँछन् । सदस्यहरुलाई गुणस्तरीय बस्तु तथा सेवा प्रदान गरेर सन्तुष्ट राख्ने काम गर्छन् । गुणस्तरीय बस्तु तथा सेवाले संस्थाको असल छवि निर्माणमा सहयोग पुग्छ । जसले गर्दा समुदायमा विश्वास आर्जन हुन्छ । गुणस्तरिय बस्तु तथा सेवा भनेको सदस्यहरुको आवश्यकता पूरा गर्ने, समस्याको समाधान गर्न सक्ने, आम्दानीले धान्न सक्ने वस्तु तथा सेवा हो । यस्ता वस्तु तथा सेवाहरु सदस्यहरुको आर्थिक जिवन, सामाजिक जिवनसँग प्रत्यक्ष सरोकार राख्नेखालको हुनु पर्दछ । हरेक सदस्यको सुखि भविष्यसँग गाँसिएको वस्तु तथा सेवाले नै सदस्यहरुको आर्थिक सामाजिक जिवन सरल बनाउन सहयोग पुर्याउँदछ । वास्तवमा एउटा सहकारी संस्थाको मूल उद्देश्य त्यस संस्थासँग आवद्ध सदस्यहरुको जिवनस्तर प्रवर्धन गर्नु नै हो । गुणस्तरीय वस्तु तथा सेवाले नै सदस्यहरुको जिवनस्तर प्रवर्धन गर्न सकिन्छ । कतिपय उत्कृष्ठ सहकारी संस्थाहरुले सदस्यहरुको आर्थिक लक्ष्य पुरा गर्ने खालका बस्तु तथा सेवाहरु उत्पादन गरेका छन् र सदस्यहरुको अटल विश्वास जितेका छन् र समुदायमा आफूलाई अब्बल साबित गरेका छन् । सदस्यहरु पनि त्यस्ता संस्थाको सदस्य हुन पाउँदा आफूलाई आर्थिक रुपमा सुरक्षित भएको महशुस गर्छन् र आफ्नो सुखि जिवनको परिकल्पना साकार हुने विश्वास गर्छन् । हाम्रो समाजमा केही अपवाद बाहेक अधिकांश सहकारी संस्थाका कार्यक्रमहरु, बस्तु तथा सेवाहरु सदस्यहरुको आर्थिक लक्षसँग, सदस्यहरुको आवश्यकतासँग सम्बन्धित छैनन् । त्यस्ता संस्थामा सदस्यहरुको आर्थिक सहभागिता सुस्त हुन्छ र अत्याधिक जोखिम पनि हुन्छ । यस्ता संस्थाहरुमा अधिक निस्कृय सदस्यहरु हुने गर्छन् । संस्था सीमित मान्छेहरुबाट सञ्चालित हुन्छ । सञ्चालकहरुमा द्वन्द देखिन्छ । सञ्चालकहरुले आफ्नो नीजि स्वार्थ पुरा गर्नका लागि संस्थालाई उपयोग गर्दछन् । कर्मचारीहरु खुसी हुँदैनन् र आफुलाई असुरक्षित महशुस गर्दछन् । संस्था मध्यस्थकर्ताको रुपमा र सदस्यहरु ग्राहकको रुपमा कारोबार गर्दछन् ।

सदस्यहरुसँगको सुदृढ सम्बन्ध कायम राखि राख्नका लागि अनवरत रुपमा धेरै कामहरु गरिरहनु पर्दछ । यो सहकारीता, सहकारी संस्कृति र सफल भविष्यको सुनिश्चितताका लागि अत्यन्त महत्वपूर्ण छ । केहि महत्वपूर्ण आयामहरु:

सदस्यहरुसँगको अर्थपूर्ण सम्बन्धको आधारहरु 

  • सदस्यहरुसँग प्रभावकारी संचार

                 -न्यूनतम आधारभूत आवश्यकताको रुपमा स्विकार गरौं ।

  • अनवरत सदस्य शिक्षा (सहकारी शिक्षा)

                 - संस्कारयुक्त समाज निर्माणका लागि सहकारी संस्थाको प्रबर्धन

  • सहकार्यको नमूना प्रदर्शनका लागि सदस्यहरुलाई उत्प्रेरणा

                   - सदस्यहरुको उत्तरदायित्व र निष्ठा प्रदर्शनका लागि

सदस्यहरुलाई समयभित्र सूचना दिन, शिक्षित तुल्याउन, प्रवर्धन गर्न र उत्प्रेरित गर्न प्रभावकारी सञ्चार प्रणालीको महत्वपूर्ण भूमिका हुन्छ । प्रभावकारी सञ्चार प्रणालीका कारण सदस्य र संस्थाबीचको सम्बन्ध बलियो हुन्छ । 

सदस्यहरुसँगको सञ्चारमा निम्न बिषयहरु समेटिएको हुनुपर्दछ ।

  • सहकारी संस्थाको पृष्ठभूमि, उद्देश्य, कार्य र सञ्चालन विधि ।

  • सहकारी सिद्धान्त र यसको प्रयोग, अभ्यास गर्दा प्राप्त हुने फाईदा, प्रतिफल जो सदस्यहरुले सहकारी संस्थाबाट प्राप्त गर्छन् ।

  • सहकारी संस्था संचालनका नीतिहरु बिशेष गरी पूरानो परिमार्जन, संशोधन गरी नयाँ बनाउँदा सदस्यहरुको महत्वपूर्ण भूमिका हुनु पर्दछ । सदस्यहरुले संस्थाको नीतिहरु परिवर्तन, संशोधन वा परिमार्जन हुँदा अनिवार्य रुपमा थाहा पाउनु पर्दछ । किनभने यस्ता नीति, नियम, कार्यविधिहरु सदस्यहरुकै लागि हुने भएकाले उनिहरुले थाहा पाउनु अति आवश्यक छ । वास्तवमा सदस्यहरुकै संस्था, सदस्यहरुले नै सञ्चालन गर्ने र सदस्यहरुले नै नियन्त्रण गर्ने भन्ने आदर्शलाई यसरी नै अभ्यास गर्नु पर्छ ।

  • संस्थाको बस्तु तथा सेवाहरु निर्माण गर्दा त्यस्ता वस्तु तथा सेवा कसका लागि हो ? ति वस्तु तथा सेवाहरुको आफ्ना व्यवसाय, जिवनमा कसरी उपयोग गर्न सकिन्छ ? अहिले कस्ता वस्तु तथा सेवाहरु छन् ? नयाँ छन् कि पुरानै हुन ? सदस्यहरुले नयाँ केही अपेक्षा गरेका छन् कि ? 

  • सहकारी संस्थाको योजनाका बारेमा जस्तै: संस्था सञ्चालन तरिका, विधि, उपकरण, साधनहरु, रणनीतिक लक्ष्य, रणनीतिक दिसा, स्रोत, बजेट के हो कता जाँदैछ ।

  •  सहकारी संस्थाको अवधारणा, दूरदृष्टि, ध्येय, उद्देश्य र सो प्राप्तिका लागि सञ्चालन गरिएको योजना, गतिविधि, वस्तु तथा सेवा ।

  • सहकारी संस्थाबाट प्राप्त हुने वित्तिय सेवा: कारोबारमा कसरी सक्रिय योगदान गर्ने, भविष्यको वित्तीय लक्ष्य हासिल गर्न के के गर्ने, आफूले प्राप्त गरेको वित्तीय फाईदा कसरी मापन गर्ने ? संस्थाको शेयर पुँजी संस्थागत पुँजीहरुमा कसरी आफ्नो हिस्सा बढाउने ? संस्थाको सहयोगमा आफ्नो व्यावसायिक कारोबार कसरी व्यवस्थित गर्ने ?

  • बार्षिक साधारणसभामा सदस्यहरुको भूमिका खोज्न भन्दा पनि सदस्यहरुका लागि महत्वपूर्ण अवसर हो भनेर शिक्षा दिनु पर्दछ । किनभने साधारणसभाले नै सदस्यहरुको सम्पूर्ण जिवनलाई सम्बोधन गर्ने हुँदा साधारण सभालाई सदस्यहरुले अवसरको रुपमा उपयोग गर्नु पर्दछ । खासगरी संस्थाको वस्तु तथा सेवा सम्बन्धी आफ्नो धारणा जस्तोः आफ्नो सामथ्र्यले (आम्दानीले) धान्न सक्ने छ कि छैन, आफ्नो वित्तीय लक्ष्य पूरा गर्न मद्दत पुग्ने छ कि छैन ? उपभोगमा सरलता, सहजता छ कि छैन ? आफूले संस्थाको कारोबारमा गरेको योगदानको उचित मूल्यांकन कसरी भयो ? भयो कि भएन ? भएन भने किन भएन ? जस्ता बिषयमा छलफल गर्ने गरी बार्षिक साधारणसभालाई उपयोग गर्नु पर्दछ ।

  • सदस्यहरुसँग राम्रो सम्बन्ध छ भन्ने कुरा संस्थाले गर्ने बार्षिक साधारणसभा, स्थानीय बैठक, शैक्षिक मञ्चहरु, खूला सभाहरु, शैक्षिक अध्ययन अवलोकन भ्रमणहरु, पत्रपत्रिकाहरु, बुलेटिन, ब्रोसर, सूचना पत्र, व्यवसाय प्रवर्धनात्मक क्रियाकलाप, आदिबाट थाहा हुन्छ । व्यवस्थापन, सञ्चालकहरु र कर्मचारीहरुले सदस्यहरुसँगको सुमधुर एवं सुदृढ सम्बन्धका लागि सक्रिय भूमिका निभाउनु पर्दछ ।

  • सहकारी संस्थामा सधैं राम्रो अवस्था आईरहन्छ भन्ने छैन । सदस्यहरुलाई राम्रो एवं नराम्रो अवस्थाको पनि जानकारी दिनु पर्दछ । संस्था सदस्यहरुकै हुने भएकाले उनिहरुलाई अन्धकारमा राख्न हुँदैन । बरु राम्रो र नराम्रो समयमा कसरी एक आपसमा सहकार्य गर्न सकिन्छ भन्ने बारे राम्ररी बुझाउन पर्दछ ।

सहकारी सिद्धान्तहरुको सैद्धान्तिक, प्रयोगात्मक अभ्यास र प्राप्त हुने फाईदाका बारे गरिने शैक्षिक कार्यक्रम सहकारी संस्थाका लागि अति नै महत्वपूर्ण हुन्छ । भनिन्छ “सहकारी शिक्षा एक समाज रुपान्तरण प्रक्रिया हो”। “गुणस्तरीय सहकारी शिक्षा नै सामाजिक विकास हो ।” “सहकारी शिक्षा भनेको नैतिक शिक्षा हो ।” सहकारी शिक्षाले जिवनस्तरमा गुणात्मक सुधार र सम्पन्नता ल्याउँछ । एउटा असल परिवार हुनका लागि सहकारी शिक्षाको जरुरी हुन्छ । सहकारी शिक्षा सकारात्मक सोचको खानी हो । त्यसै पनि शिक्षा जिवनपर्यन्तसम्म चलिरहने प्रकृया हो ।

सहकारीका विशिष्ट मूल्य, सिद्धान्तहरु, व्यवसाय, असल प्रशासनिक संरचना बमोजिम उत्कृष्ठ अभ्यासका लागि पनि सहकारी शिक्षा अति महत्वपूर्ण पक्ष हो । त्यसैले त “निरन्तर सहकारी शिक्षा”को बिषयले सधैं प्राथमिकता पाउने गरेको हो । यदि सदस्यहरु आफ्नो जिवन पद्दतिमा सहकारी सिद्धान्तलाई आत्मसात गर्न चाहन्छन् र सिद्धान्तहरुको असल अभ्यास मार्फत आफ्नो आर्थिक विकास (फाईदा) चाहन्छन् भने उनिहरुलाई निरन्तर सहकारी शिक्षाको अति जरुरी हुन्छ । सहकारी संस्था सदस्यहरुकै हो, सदस्यहरुबाट नै सञ्चालित हुने हो, सदस्यहरुले नै नियन्त्रण गर्ने हो र फाईदा सदस्यहरु कै हुने हो भन्ने कुरा सहकारी शिक्षा मार्फत भनिरहने बिषय हो । यसरी सहकारीका विशिष्ठ पहिचानका बिषयमा सदस्यहरुलाई नियमित शिक्षा दिनै पर्दछ, संस्थाका संचालकहरु, युवाबर्ग, बैचारिक नेताहरु र विशेषगरी सहकारी संस्थाका कर्मचारीहरुलाई उनिहरुको आफ्नै हित र समाजप्रतिको कर्तव्य र उत्तरदायित्व निर्वाह गर्नका लागि पनि सहकारी शिक्षाको आवश्यकता पर्दछ ।

उत्साहित र उत्पे्ररित सदस्यको जन्म नै सहकारी संस्था र सदस्यबीचको बलियो सम्बन्धका कारणले हुन्छ । सदस्यहरुको पहिचान पनि सहकारी संस्थासँगको सक्रिय कारोबारबाट परिचित हुन आवश्यक हुन्छ । यो कसरी सम्भव छ त ? भन्दा सहकारी संस्था र सदस्यबीचको सुदृढ सम्बन्ध भन्ने बिषयलाई रणनैतिक रुपमा गहन अध्ययन, चिन्तन गरी निश्कर्षमा पुग्न आवश्यक छ । सदस्यसँगको सुदृढ सम्बन्धको सुरुवात र अन्त्य वा समाप्ति पनि संस्थाले अपनाएको प्रभावकारी सञ्चार प्रणालीसँग सम्बन्धित हुन्छ । प्रभावकारी सञ्चार प्रणालीमा कहाँनेर के समस्या छ गहन रुपमा केलाउन आवश्यक हुन्छ ।

अन्तमा

सहकारी आत्मा (भावना) लाई बचाई राखेर निरन्तर गतिशिल बनाईराख्न सदस्यहरुसँगको प्रभावकारी सम्बन्ध नै हो । हिन्दु शास्त्रमा जसरी समुद्र मन्थन गर्दा विभिन्न कल्याणकारी कुराहरुको उत्पति भएकोे भनिएको थियो त्यसैगरी सहकारी संस्थाबाट सहकारिताको असल अभ्यास हुने हो भने अत्यन्तै नैतिकवान मानवरत्नहरु निस्कन्छन् जसबाट मात्र कल्याणकारी समाज निर्माणमा योगदान पुग्ने विश्वास गरिन्छ । अहिलेको वर्तमान परिप्रेक्षमा सहकारी संस्थाका नेतृत्व लगायत सञ्चालकहरु, लेखा समिति, उपसमिति, कर्मचारीहरु र सदस्यहरु सबै एउटा असल “सहकारीकर्मी” हुन आवश्यक छ । एउटा असल सहकारीकर्मी मुलुककै जिम्मेवार नैतिकवान असल नागरिक हो । यसका लागि संस्था र सदस्यहरुबीचको सम्बन्ध सुमधुर, भरोसायुक्त, कर्तव्यपरायण उन्मुख हुनु आवश्यक छ । कतिपय सन्दर्भमा सहकारीका सञ्चालक, कर्मचारी, सदस्यहरुमा सहकारीकर्मीको चरित्र देखिंदैन । जसका कारणले हाम्रो मुलुक, हामी नेपालीको युगिन चरित्र सहकारीतामा आधारित भएता पनि सहकारी आन्दोलनलाई गुणात्मक रुपमा अघि बढाउन कठिन भएको सर्वत्र महशुस गरिएको छ । सदस्यहरु र संस्थाबीचको सुदृढ व्यावसायिक सम्बन्धमा नै सहकारी आन्दोलनको भविष्य निर्माण गरौं । सबै सहकारी संघ संस्थाले सदस्यहरुसँगको सम्बन्ध मजवुत राखि सहकारीताको दियो (दीप) निभ्न नदिन हरसम्भव प्रयास जारी राखौं । 
 

लेख साकोस आवाजको त्रैमासिक प्रकाशनमा प्रकाशित छ । लेखक राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुनुहुन्छ । 

 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ