बिहीबार, चैत्र १५
०६:३७

सहकारीमा अनुसन्धानमूलक जनशक्ति विकासको नेतृत्व नेफ्स्कूनले गर्नुपर्छः डा. चौलागाईं

बिहीबार, भदौ २५
रञ्जनमणि पौड्याल
saccosaawaj

२०५३ सालदेखि नेपाल राष्ट्र बैंक (हाल बैंकको लघुवित्त संस्था सुपरिवेक्षण बिभाग अन्तर्गत वित्तीय समावेशिता फाँट) मा कार्यरत डा.रमेशप्रसाद चौलागाईं सहकारी क्षेत्रमा सुपरिचित नाम हो । पाटन क्याम्पसबाट २०५६ सालमा अर्थशास्त्र र शंंकरदेव क्याम्पसबाट २०५९ सालमा ब्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएका उहाँले काठमाडौं विश्वविद्यालयबाट २०७४ सालमा विद्यावारिधि पूरा गर्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७६ भाद्र २२ गते नेपाल विद्याभुषण ‘क’ बाट विभुषित चौलागाईंले २०४७ सालमा साविक वंशगोपाल माध्यमिक विद्यालय, हेटौंडा–६, चौघडाबाट एसएलसी पूरा गर्नुभएका हो ।

सहकारीलाई आफ्नो “कप अफ टी” मान्ने चौलागाईंका सहकारी, वित्तीय साक्षरता, लघुवित्त, अर्थतन्त्र आदि विविध विषयमा ओजपूर्ण लेखहरु नेपाल राष्ट्र बैंक तथा विभिन्न पेशागत सङ्गठनका प्रकाशनहरुका साथै पत्रपत्रिकामा पढ्न पाइन्छ । सहकारी, लघुवित्त, अर्थव्ययवस्था आदि विविधि बिषयहरूमा chaulagainramesh.blogspot.com मार्फत पनि उहाँ आफ्ना विचारहरुलाई नियमित सम्प्रेषण गर्न रुचाउनुहुन्छ ।

२०३१ जेठ २४ गते गते पिता छविलाल चौलागाईं (स्वर्गीय) र माता गोमादेवी चौलागाईं (स्वर्गीय)) को कान्छो सन्तानको रुपमा चौलागार्ईंको जन्म साविक हेटौंडा नगरपालिका (हाल उप–महानगरपालिका) वडा नं. ६, चौघडामा भएको हो । श्रीमती सविना ढुङ्गाना, छोरा असिम चौलागाईं र छोरी अनमोल चौलागाईं सहितको  उहाँको परिवार हाल सूर्यविनायक नगरपालिका–५, कटुञ्जे, भक्तपुरमा बसोवास गर्दछ । भारत, थाईल्याण्ड, श्रीलङ्का र फिलिपिन्स भ्रमण गर्नुभएका प्राज्ञिक व्यक्तित्व चौलागाईसँग साकोस आवाजका रञ्जनमणि पौड्यालले गर्नुभएको अन्तर्वार्ता प्रश्तुत गरिएको छः सम्पादक)

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


विद्यावारिधिको विषयका बारेमा केही बताइदिनुहुन्छ कि ?
मैले नेपालका साना ऋणीहरूको वित्तीय साक्षरताको मापन (Measuring Financial Literacy of Small Borrowers in Nepal) विषयमा २०७४ (सन् २०१८) सालमा काठमाडौं विश्वविद्यालयबाट विद्यावारिधि गरेको हुँ । वित्तीय साक्षरता सबै प्रकारका कार्यात्मक साक्षरताहरू (Functional Literacies) को केन्द्रविन्दुमा रहने वित्तीय ज्ञान, सीप र क्षमताको मौज्दात हो । न्यूनतम् वित्तीय साक्षरताको आवश्यकता हरेक व्यक्तिलाई भएपनि न्यून आय भएका, सीमान्तकृत, अल्पसंख्यक, गृहिणी, पेशाकर्मी, व्यवसायी, नीति निर्माता, विद्यार्थी र वित्तीय सेवाग्राहीलाई तुलनात्मक रूपमाबढी पर्दछ । यसर्थ, साना ब्यवसाय गर्न बिभिन्न वित्तीय संस्था र सहकारीहरूका सेवाग्राहीको वित्तीय सुझबुझ, व्यावसायिक योजना बनाउने क्षमता र सामान्य अङ्कगणितीय सीपको मापन गर्दै सो क्षमताले उनीहरूको वित्तीय ब्यवहारमा प्रभाव पर्छवा पर्दैन, पर्ने भए किन र कसरी पर्छ, नपर्ने भए सोको कारण आदिको बारेमा एउटा बौद्धिक अध्ययन (Academic Study) सान्दर्भिक देखेर उक्त बिषय रोजेँ । 

मेरो अध्ययनले नेपालका साना ऋणीहरूमा वित्तीय शिक्षाले उनीहरूको वित्तीय साक्षरता अभिवृद्धिमा सघाउने, वित्तीय साक्षरताले उनीहरूको वित्तीय ब्यवहार प्रभावकारी र हीतकारी बनाउन मद्दत गर्ने र असल एवम् कुशल वित्तीय व्यवहारले वित्तीय सम्पन्नता र संमृद्धिको मार्ग प्रशस्त गर्ने निष्कर्ष निकाल्यो । यद्यपि, वित्तीय साक्षरता एक सापेक्षिक, परिवर्तनशील र स्थान तथा ब्यक्ति बिशेषमा फरक पर्नसक्ने बिषय हो । 

 

 

 

 

 

 

 

 

 

विद्यावारिधि अध्ययन गर्दाको अनुभव कस्तो रह्यो ?
विद्यावारिधि अध्ययन एक धैर्यशील र लामो अनुसन्धानमूलक कार्य भएकाले यस प्रकृयामा तितामीठा अनुभव स्वाभाविक हुन्छन् । विद्यावारिधि निश्चित पाठ्क्रम अन्तर्गतका सामग्रीको अध्ययन गरी तोकिए बमोजिमका प्रश्नका उत्तर दिने प्रकारको अध्ययन होइन । यसमा समाजका बिभिन्न जनजीवनसँग सरोकार रहने कुनै महत्वपूर्ण बिषय खोजेर त्यसमा प्रचलित स्थापित सिद्धान्तका आधारमा तथ्याङ्कक सङ्कलन गरी विश्लेषण गरिन्छ । अध्ययनको बिषय र विधि तय गर्नु आफैंमा चूनौतिपुर्ण कार्य हो । त्यसैगरी सुपरिवेक्षकको निर्देशन बमोजिम सोधपत्र तयार पार्नु, फिल्डबाट तोकिए वमोजिम तथ्याङ्क सङ्कलन गरी शोधपत्रमा विश्लेषण गर्नु थप कठीन कार्य हो । यद्यपी,सहयोगी गुरूतथा मित्रजनबाट प्राप्त हुने सहयोग र शोधकार्यमा आउने सकारात्मक र उत्प्रेरक सुझावहरूले अध्ययनलाई रोमाञ्चित गराउँछ । शोधपत्र मूल्याङ्कन सकारात्मक मोडमा पुगी उपाधि हासिल हुँदाका क्षणहरू गौरव गर्न लायक हुँदोरहेछ । सुरूका दिनमा भोग्नुपर्ने कठिनाई अन्त्यको उपलब्धिले सन्तुलित गर्छ ।

अध्ययनको विधि र पाठ्यसामग्रीको उपलब्धतासँगै शिक्षक र साथीहरु कस्तो पाउनुभयो ?
मैले अध्ययन गर्ने ब्याच् अन्तर्गत हाम्रो संकायमा २४ जना एम.फिल. र ८ जना विद्यावारिधिका विद्यार्थीहरू सँगै थियौं । विद्यावारिधिका ८ मध्ये धेरैजसो समकक्षीहरूले अध्ययन सम्पन्न गरिसक्नुभयो भने केहीको बाँकी छ । स्वाभाविक रूपमा हाम्रा बिषयबस्तु अलग भए पनि निश्चित सेमेष्टर र क्रेडिट आवर सबै संगै अध्ययन गर्नुपर्ने अवस्था थियो । शुरूका समय क्रेडिट आवर पूरा गर्न तोकिएका पाठ्यक्रम र सेमेष्टर पूरा गर्नमा बिते । यद्यपी, विद्यावारिधि अध्ययनका निश्चित पाठ्य सामग्री बजारमा हुँदैन । आजकल अनलाइन सामाग्रीहरु नै अध्ययनका प्रमुख श्रोत बनेका छन् । 

सेमेष्टर र क्रेडिट आवर पुरा भएसंगै Revised Proposal Defense सफलतापूर्वक अघि बढ्छ, तोकिएका सुपरिवेक्षकको मातहतमा अध्ययन सम्पन्न गर्ने अर्को चरणमा प्रवेश गर्दछ । विद्यावारिधिको अध्ययनमा तोकिएका सुपरिवेक्षक बाहेक अन्य शिक्षकको भूमिका कम नै हुन्छ । साथै, सामाजिक बिज्ञान अन्तर्गतको विद्यावारिधि अध्ययनका बिभिन्न विधिहरू हुन्छन् । सामान्यतया विद्यावारिधि अध्ययनमा सोधपत्र तयार पार्दा Qualitative, Quantitative र यी दुईको Mixed Research Method/Approach उपयोग गर्ने गरिन्छ । ती मध्ये मैले मेरो अध्ययनमा Quantitative Research Methodology अन्तर्गत Survey Method प्रयोग गरी तथ्याङ्क सङ्कलन गरेको थिएँ । सो तथ्याङ्क विश्लेषण गर्न Logistic Regression Model उपयोग गरेको थिएँ । 

 

 

 

 

 

 

 

 

विद्यार्थीकालमा पढाईको अवस्था कस्तो थियो ? शिक्षाका सम्बन्धमा घरपरिवारको सोचाई कस्तो थियो ?
म मध्यम वर्गकै विद्यार्थी हुँ । शुरूका दिनमा मेरो आर्थिक अवस्था पनि त्यति मजबुत थिएन । मैले करिब ८ कक्षासम्म टुकी बत्ती बालेरै पढेको हो । त्यसपछि मात्र घरमा रेडियो सुन्न पाएको थिएँ । हाफ पाईन्टबाट फूल पाईन्ट र खुट्टामा चप्पल पनि निकै समय पछि मात्र लगाउन पाईएको थियो । किताब कापी राख्न झोला थिएन, हातले काखिमा च्यापेर बोक्नुपथ्र्यो । अध्ययन बाहेक बिहान साँझ र बिदाका दिनमा घाँस सोत्तर ल्याउने, गोठालो जाने जस्ता घरेलु काम नियमित रुपमा गरिन्थ्यो । विद्यालय करिब १५ मिनेटको पैदल दुरीमा थियो । अहिलेको जस्तो कपडा, यातायात, खाजा, मनोरञ्जन र प्रविधिको अवसर थिएन । अध्ययनका लागि सरकारी विद्यालय र क्याम्पस बाहेक अन्य छनौट उपलब्ध थिएन ।

मैले सबै शैक्षिक यात्रा सरकारी शिक्षालयबाट पूरा गरेको हुँ । सरकारी विद्यालय र क्याम्पसमा अध्ययन गरेकाले धेरै आर्थिक श्रोतको आवश्यकता भने पर्दैनथ्यो । स्नातकोत्तर भन्दा तल्ला तहका कुनै पनि परिक्षा कहिल्यै दोहोर्याएर दिनुपरेन । साना कक्षामा रहँदा मेरी कान्छी दिदी घरेलु शिक्षिका हुनुहुन्थ्यो । परिवारमा बा, आमा, चार दिदीहरू र म समेत तीन दाजुभाईहरू मध्ये औपचारिक शिक्षामा अघि बढ्ने अवसर मैले मात्र पाएँ । पाँच कक्षासम्म सँगै अध्ययन गरेका माईला दाईले पनि त्यसपछि  अध्ययन जारी राख्ने जाँगर देखाउनुभएन । शिक्षाका सम्बन्धमा परिवारबाट सकारात्मक धारणा सहित सहयोग नै पाएँ । अध्ययनका लागि श्रोत ब्यवस्थापन र हौसला प्रदान गर्ने काममा ठूलो दाजुको महत्वपूर्ण भूमिका छ ।

 

 

 

 

 

 

 

 

पेशागत दायित्व रअध्ययनको तालमेल कसरी मिलाउनुभयो ?
विद्यावारिधि अध्ययनका लागि म कार्यरत नेपाल राष्ट्र बैंकबाट ३ बर्षको अध्ययन काज पाएको थिएँ । त्यस अवधिमा कार्यालयको दैनिक काम कारवाहीमा संलग्न हुनुपरेन । साथै, विश्वविद्यालयको तोकिएको अध्ययन शुल्क पनि बैंकले नै तिरिदिएको थियो । दुई बिषयमा स्नातकोत्तर उत्तीर्ण गरेको आधारमा एम.फिल. वा एम.एस. तहका अनुसन्धानात्मक डिग्री बिना नै विद्यावारिधि तहमा भर्ना भएकोले शुरूका दिनकाअनुसन्धान यात्रा केही कठीन र असहज रह्यो । यसले गर्दा आधारभूत अध्ययन र सिकाईमा केही समय खर्च भयो । यसकारणले पनि तोकिएको ३ बर्षे अवधिमा अध्ययन सम्पन्न हुन नसके पछि कार्यरत संस्थाबाट केही समय निजी बिदा समेत लिएँ । यसबाट पनि शोधपत्रका बाँकी कामहरू कार्यालयको जिम्मेवारी निर्वाह गर्दै सम्पन्न गरेँ । यस आधारमा, आर्थिक ब्यवस्थापन, पेशागत दायित्व निर्वाह र अध्ययनको समय व्यवथापनमा धेरै कठीनाई परेन । यसरी अध्ययनको अवसर जुटाइ दिने राष्ट्र बैंकप्रति सदैव ऋणी रहनेछु । 

तपाइको विद्यावारिधिको बिषय र सहकारीबीचको अन्तरसम्बन्ध कस्तो पाउनुहुन्छ ?
विद्यावारिधि अन्तर्गत मैले सहकारीका साना ऋणीहरूको वित्तीय साक्षरताको अध्ययन गरेको हुँ । साना ऋणी भन्नाले बैंक, वित्तीय संस्था र सहकारीबाट तोकिएको सीमासम्मको रकम ऋण लिएका साना व्यवसायीहरू बुझिन्छ । अध्ययनका लागि चार जिल्लामा कार्यरत दुईवटा सहकारीहरूबाट ऋण लिएका करीव दश हजार साना व्यवसायीहरूमध्ये नमूना छनौट विधि अन्तर्गत प्रचलित सूत्रको प्रयोग गरी छानिएका ३९४ जना उत्तरदातालाई अध्ययनमा सहभागी गराएँ । अध्ययनको क्षेत्र काठमाडौं उपत्यकाका तीन र काभ्रेपलाञ्चोक जिल्ला थियो । संस्थाका हिसावले काठमाडौं उपत्यकाभर कार्यक्षेत्र रहेको महिला सहकारी र काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश क्षेत्र कार्यक्षेत्र रहेको विन्ध्यवासिनी सहकारी थिए । यसका आधारमा, मेरो अध्ययन जम्मा चार वटा जिल्लामा सिमित रह्यो । सहकारीहरूको छनौट गर्दा तात्कालिन अवस्थामा नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोवार गर्न स्वीकृतप्राप्त उल्लेखित दुई वटा संस्थाको छनोट गरेको थिएँ । वाग्मती प्रदेश अन्तर्गत रहेका र नेपाल राष्ट्र बैंकबाट स्वीकृतप्राप्त ६ वटा सहकारीमध्ये ती दुईले मात्र करीव ९७ प्रतिशत साना ऋणीहरूको अंश ओगटेका थिए । साथै ती दुई संस्थाले निश्चित विधि र मापदण्डका आधारमा सदस्यहरू बीच लघुवित्त कारोबार गर्थे । यस अर्थमा, मेरो अध्ययन सहकारीका साना ऋणीहरूको वित्तीय साक्षरता मापन र वित्तीय साक्षरताले उनीहरूको वित्तीय व्यवहारमा पार्ने प्रभावका बारेमा केन्द्रीत थियो । 

 

 

 

 

 

 

 

 

नेपालको सहकारी अभियानको अवस्था कस्तो देख्नुहुन्छ ?
नेपालको सहकारी अभियानको अवस्था मिश्रित पाउँछु । न्यून आए भएका, साना उद्यमी, सिमान्तकृत र महिला व्यवसायीहरूमा सहकारी निकै प्रभावकारी वित्तीय प्रारुप (मोडल) हो । शहरी क्षेत्रका कतिपय सहकारीमा भने धेरै प्रकारका समस्याहरू देखा परेका छन् । सहकारी क्षेत्र धेरै चूनौतीहरूसँगै प्रशस्त सम्भावनाहरू बोकेको क्षेत्र हो । नेपालको सहकारी अभियानका प्रमुख तीनवटा पक्षहरू छन्ः सहकारीका अगुवा, सदस्यहरू र यस क्षेत्रलाई सहजिकरण गर्ने सरकार । सहकारी अभियानको प्रमुख उद्देश्य सहकारीका सदस्यहरूको आर्थिक र सामाजिक हित जगेर्ना गर्दै आर्थिक संमृृद्धि हासिल गर्ने नै हो । हालसम्मको सहकारी आन्दोलन मात्रात्मक र संख्यात्मक वृद्धिमा केन्द्रीत देखिन्छ । आगामी दिनमा नेपालको सहकारी अभियान सदस्य केन्द्रीत, स्वच्छ, पारदर्शी र गुणस्तरीय बनाउने तर्फ केन्द्रीत हुनु आवश्यक छ । सहकारी आन्दोलनको आवश्यकता भन्दा बढी छाता संरचनाहरू बनाइएका छन् । यी संरचनाको स्वतन्त्र र सदस्यमुखी औचित्य स्थापित हुन सकेको देखिँदैन । सहकारी क्षेत्रमा यी संरचनाको ठोस योगदानको स्वतन्त्र र वस्तुगत मूल्याङ्कन हुन सकेको पनि देखिँदैन ।

अभियानका संरचनाबाट सहकारी क्षेत्रमा मौलाएका विकृति र तिनको संस्थागत एवम् व्यावसायिक संरचनाको विकास मार्फत आवश्यक सुधारको कार्य गर्ने बारेमा ठोस काम नभएको अनुभूति सहकारीका सदस्यहरूले गरेका छन् । यस अर्थमा, नेपालको सहकारी अभियान मोटो संरचना बोकेर मलिन गतिमा अघि बढेको भन्न मिल्छ । यसलाई प्रतिनिधित्वमा रहेको दोहोरोपन हटाउन, छरितो सङ्गठन निर्माण गर्न, सदस्यहरूप्रति उत्तरदायी र व्यावसायिक बनाउन सबै सहकारीहरूको जिल्ला स्तरमा एक, प्रदेश स्तरमा एक र राष्ट्रिय स्तरमा एक छाता संघ निर्माण हुने गरी कानून संशोधन गर्नु वाञ्छनीय छ ।

सहकारी क्षेत्रमा कसरी अनुसन्धानमूलक जनशक्ति विकास गर्न सकिन्छ ?
सहकारी क्षेत्रमा अध्ययन अनुसन्धानमूलक जनशक्ति अभाव छ । सहकारीलाई Value Addition of Knowledge हुने गरी गहन अध्ययनका आधारमा आफ्ना विचार निर्धक्क साथ स्वतन्त्र रूपमा ब्यक्त गर्न सक्नेहरू सीमित छन् । सहकारी क्षेत्र नेपालको क वर्गको वाणिज्य बैंकहरू पछिको सबैभन्दा बढी वित्तीय कारोबार गर्ने क्षेत्र हो । यस क्षेत्रको प्रभाव र महत्व अर्थतन्त्रमा ब्यापक छ । सहकारीको दर्शन र उद्देश्य अकुत नाफा कमाउने होइन । यसले त सदस्यहरूको आर्थिक र सामाजिक परिवर्तनमा प्रमुख भूमिका खेल्न सक्नुपर्छ । तर, नेपालमा सहकारीका विविध आयामहरूमा स्वतन्त्र, ठोस र वस्तुपरक अध्ययन हुन सकेको छैन । यस क्षेत्रमा रचनात्मक र आलोचनात्मक कलम चलाउने जनशक्तिको पनि कमी छ । आगामी दिनमा नेपालको सहकारी क्षेत्रलाई कसरी अघि बढाउने भन्ने बारेमा रचनात्मक र आलोचनात्मक ढंगले विचार गर्ने अनुसन्धानमूलक जनशक्ति उत्पादन गर्न सक्नुपर्छ । यसका लागि सहकारी अभियानले भूमिका खेल्नसक्छ । हालको राष्ट्रिय सहकारी महासङ्घ र केन्द्रीय बचत तथा ऋण सहकारी संघ यसका लागि उपयुक्त प्लेटफर्म बन्न सक्छन् । 

सहकारीमा युवा सहभागिता कसरी वृद्धि गर्न सकिन्छ ?
सहकारीमा नयाँ प्रविधिमा चासो राख्ने युवा पुस्ताको रूचि क्रमशः बढ्दो छ । यसका लागि सहकारी क्षेत्रलाई नयाँ प्रविधि सहित प्रतिस्पर्धात्मक र गुणस्तरीय बनाउन आवश्यक छ । नयाँ पुस्ता कागजी भन्दा Digitalized Service मन पराउँछन् र अधिकांश युवा त्यसमा अभ्यस्त पनि छन् । त्यसैगरी, सहकारीका अगुवा संघ संगठनहरुमा पनि आस्था र आशिर्वाद भन्दा योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा नेतृत्व छनौट हुने अवस्था सृजना भएमा युवा पिँढीको आकर्षण बढ्नेछ । नयाँ पुस्तामा अनुभव कम भए पनि ज्ञान, सीप, प्रविधि र योजना निकै छ । सामान्य योग्यता हासिल गरेपछि विदेश पलायन हुन खोज्ने युवालाई सहकारी क्षेत्रले नेपालमै उद्यम गर्न उत्साहित र उत्प्रेरित गर्नुपर्दछ । सहकारी संस्था र अभियान दुवैमा Meritocracy, Fair Competition र नवीन प्रविधिको प्रयोग बढाउन सके नयाँ पुस्ता सहभागी हुने वातावरण बन्न सक्छ । 

 

 

 

 

 

 

 

 

 

सहकारी क्षेत्रमा खट्किएका कुराहरु के के हुन् ?
कमजोर सुशासन र आन्तरिक नियन्त्रण प्रणाली, कमजोर जोखिम ब्यवस्थापन, बढ्दो वित्तीय लापरवाही र अपारदर्शिता, सदस्यता निस्कृयता, अपर्याप्त कानूनी प्रावधानहरू, मौजूदा कानूनकै पनि कमजोर परिपालना, बढ्दो दण्डहीनता, कमजोर सदस्य संरक्षण प्रणाली, कमजोर लेखापरीक्षण प्रणाली, कमजोर सहकारी सूचना तथा तथ्याङ्क प्रणाली, कमजोर सहकारी शिक्षा र चेतना, सम्पत्ति शुद्धिकरणको बढ्दो सम्भावना, अध्ययन अनुसन्धान संस्कृतिको कमी, शून्यप्रायः स्थलगत र गैर–स्थलगत सुपरिवेक्षण संस्कृति, मोटो संख्यामा रहेका कमजोर छाता संघहरु, आदि सहकारी क्षेत्रमा खट्किएका बिषय हुन् ।

सहकारी क्षेत्रमा तपाईंको सहभागिता र भूमिका कस्तो रहेको छ ?
नेपाल राष्ट्र बैंकले खटाए बमोजिम, २०६६ माघदेखि २०६९ कार्तिक मसान्तसम्म सहकारी बिभागमा रही नेपालका ठूला सहकारीहरूको अनुगमन कार्यमा सहकारी विभागलाई सहयोग गर्ने गरी संलग्न रहने मौका पाएँ । यस अवधिमा नेपालको पूर्वी, मध्य र पश्चिम शहरी क्षेत्रमा रहेका १३४ वटा सहकारीहरूको स्थलगत अनुगमन सम्पन्न गरी सहकारी बिभागमा प्रतिवेदन बुझाउने काम सम्पन्न गरे । यद्यपी, सोको प्रभावकारी कार्यान्वयन अधुरो रह्यो । हाल म सहकारी क्षेत्रको अध्येता मात्रै हुँ । म मेरो कार्यालयले तोकेको कार्यसम्पादन पश्चात बाँकी समयमा बिभिन्न प्रकाशनहरू मार्फत सहकारीका आयामहरू समेटेर आफ्ना विचार प्रस्तुत गर्दछु । बिगतमा सहकारीका केही सुपरिवेक्षण तालिम दिने काममा पनि संलग्न रहें । सहकारी सम्बन्धी बिभिन्न कार्यक्रमहरू, नीति तथा कानून तर्जुमा, प्रकाशन, विविध गतिविधि अध्ययन मेरो सनातन चासोका बिषय हुन् । 

विश्व सहकारीको दाँजोमा नेपालको सहकारीको अवस्था कस्तो पाउनुहुन्छ ?
विश्व सहकारीका निश्चित मूल्य, मान्यता र सिद्धान्त छन् । यी मूल्य, मान्यता र सिद्धान्तलाई आधारभूत रूपमा लिई धरातलीय यथार्थमा आधारित भई केही मान्यता थप्न पनि सकिन्छ । नेपालमा यसको गहन अध्ययन हुन बाँकी छ । नेपालको वस्तुगत परिप्रेक्ष्यलाई मध्यनजर गर्दै सहकारीका सात सिद्धान्तमा पनि पुनर्अध्ययन र पुनब्र्याख्या गर्न सकिन्छ । यद्यपी, नेपालको सहकारी क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा स्थापित मूल्य, मान्यता र सिद्धान्तको परिपालनाको अवस्था पनि कमजोर छ । नेपाल सहकारीको बिभिन्न अन्तर्राष्ट्रिय सञ्जालसंग पनि जोडिएको छ । यसबाट अन्तराष्ट्रिय सहकारी अनुभव प्राप्त हुन्छ । देशका केही सहकारीहरूले अन्तराष्ट्रिय स्तरको बिभिन्न मापदण्ड पालना गरी संस्थाको स्तरिकरण समेत गरेका छन् । कतिपय सहकारीहरूले अन्तर्राष्ट्रिय स्तरका पुरस्कार र सम्मान पनि पाएका छन् । इजरायल, भारत, दक्षिण कोरिया, जर्मनी, बेलायत, क्यानाडा, स्पेन, अमेरिका, जापान लगायतका मुलुकमा सहकारीले पु¥याएको योगदानबाट पनि नेपालले प्रशस्त सिक्नुपर्ने देखिन्छ । यद्यपी, विश्व सहकारी अभियानबाट यथेष्ट अनुभव लिई नेपालको विशिष्टिकृत सहकारी क्षेत्रको बिकास गर्नु वाञ्छनीय हुन्छ ।  

 

 

 

 

 

 

 

 

 

कोभिड–१९ को नेपालको सहकारी क्षेत्रमा प्रभाव कस्तो देख्नुहुन्छ ?
कोभिड–१९ ले बैंक तथा वित्तीय क्षेत्र र सहकारीमा समेत नकारात्मक प्रभाव पारेको छ । यद्यपि, यो प्रभावसबैमा समान छैन । कोभिड–१९ को रोकथामको अवस्था नआए सम्म यसबाट असर परिरहने देखिन्छ । यो महामारीका अवस्थामा सबै संस्थाले सबै प्रकारका सेवा प्रवाहको वैकल्पिक स्वरुप र विधि अपनाउन आवश्यक छ । हालसम्मको अवस्था हेर्दा, सदस्यमुखी कारोबारमा संलग्न सहकारीमा यसको प्रभाव कम छ । किनकी, यी संस्थाका व्यावसायिक कर्जा लगानी, प्रतिस्पर्धी ब्याजदर, सदस्य सचेतना, सदस्य सशक्तिकरण र सदस्यको हेरचाह सन्तोषजनक छ । अपारदर्शी तवरले गैर–सदस्यताका आधारमा सञ्चालनमा रहेका कतिपय सहकारीको अवस्था नाजुक हुनसक्ने देखिन्छ । यसको पनि स्वतन्त्र अध्ययन हुन सके राम्रो हुन्छ । तथापि, सहकारी क्षेत्रलाई प्रविधियुक्त बनाउन यो महामारी एक अवसर पनि हुनसक्छ । प्रविधिको प्रयोगले सेवाको लागत घटाउने, सेवाको गुणस्तर र भूक्तानी प्रणालीको सुरक्षा बढाउने मात्र नभई सहकारी क्षेत्रमा युवा पिँढीलाई आकर्षित गर्न पनि मद्दत गर्दछ ।  

कोभिड पछिको सहकारीको दिशा परिवर्तनका सम्भावनाहरू कस्तो देख्नुहुन्छ ?
कोभिड–१९ मानव सभ्यता बिकासको ठूलो चूनौतीका रूपमा देखा परेको छ । यसबाट अधिकांश मुलुकका अर्थतन्त्र, मानव स्वास्थ्य र सामाजिक संरचनामा समेत खलल पुगिरहेको छ । सहकारी क्षेत्र पनि कोरोना महामारीको चपेटाबाट निरपेक्ष रहन सक्ने अवस्था रहेन । यस समयमा, सहकारी क्षेत्र अझ बढी सदस्यको सेवामा तल्लीन हुन सके महामारीपछिको अवस्थामा सहकारीहरू प्रतिको आकर्षण बढ्नेछ । सदस्यमुखी सहकारीहरूले आगामी दिनमा गुणस्तरीय सेवा प्रवाहका माध्यमले थप सदस्य विस्तार गर्ने सम्भावना पनि छ ।  

सरकारको सहकारीप्रतिको दृष्टिकोण कस्तो रहेको पाउनुभएको छ ?
सहकारीप्रति सरकारी धारणा ब्यक्त गर्ने आधिकारिक पात्र नभएपनि मेरो अध्ययनका आधारमा, सहकारीप्रति राजनैतिक ब्यवस्था, प्रणाली र सरकारको दृष्टिकोण र अवधारणाहरू बिभिन्न दीर्घकालीन योजना, वित्तीय क्षेत्र बिकास रणनीति, सहकारी नीति, सहकारी ऐन र नियमावली, बजेट तथा कार्यक्रम, निर्देशिका र मापदण्डमा प्रतिविम्बित हुन्छन् । यस हिसाबले लामो समयदेखि मैले बिभिन्न अबधिका उल्लेखित दस्तावेजहरू अध्ययन गर्दा सहकारी बारेका सरकारको दृष्टिकोणमा निरन्तरता र एकरूपता निकै पातलो छ । यद्यपी, नेपालको संविधानमा सहकारी क्षेत्रलाई अर्थतन्त्रको तीनमध्ये एक हिस्साका रूपमा स्वीकार गरिएकाले सहकारी सम्बन्धमा सरकारको नीतिगत र ब्यवहारिक दृष्टिकोणमा एकरूपताको सम्भावना भने प्रशस्त छ । 

सहकारीमा आर्दश व्यक्ति वा मेन्टर कसलाई मान्नुहुन्छ ?
सहकारी क्षेत्रको समालोचनात्मक चेत भएको व्यक्तित्वलाई मन पराउने हुँदा नेपालको सहकारी क्षेत्रमा यस्तो कौशल चिन्तकको खोजी गर्दैछु । सहकारी सम्बन्धमा स्पष्ट, तटस्थ र समालोचनात्मक दृष्टिकोण, ठोस र मूर्त योजना, प्रशस्त अध्ययन, प्रभावकारी भूमिका र गहिरो योगदान विना कोही पनि आर्दश व्यक्ति वा मेन्टर हुन सक्दैन । कतिपय अवस्थामा सहकारीमा देखिने पुर्वाग्रही, आंशिक अध्ययन, आस्था र आर्शीवादमा आधारित, सतही र अल्पज्ञानीहरूको बढ्दो प्रवृत्तीले सहकारी क्षेत्रलाई भ्रमित मात्र पार्छ, लाभ गर्दैन । बिगतमा, सहकारी क्षेत्रमा बिभिन्न भूमिकामा रही आफ्नो ठाउँबाट धेरै मानिसले पक्कै योगदान पुर्याउनुभएको छ । सहकारी भन्दा फरक पेशामा रहेकाले, सबैलाई मैले नचिनेको र कतिपयले सहकारीमा पुर्याएको योगदानका बारेमा अनभिज्ञ पनि रहेका हुन सक्छु । यद्यपी, सहकारी क्षेत्रमा सरकारी कर्मचारीका रूपमा बिगतमा काम गर्नुहुने पूर्व सचिवद्वय टङ्कमणि शर्मा र रामेश्वर खनालको सहकारी बुझाई गहिरो, व्यावहारिक र उपयुक्त पाउँछु । साथै, सहकारी बिभागका पूर्व रजिष्ट्रार सुदर्शन प्रसाद ढकालको सहकारी सम्बन्धी अध्ययन तथा अनुभव र नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेको सहकारी बारेमा व्यावहारिक बुझाईमा सम्भावना देखेको छु । 

 

 

 

 

 

 

 

 

 

 

सहकारीमा सम्भावना बोकेकाहरुका को लाग्छ ?
सहकारी क्षेत्रमा झण्डै ३ बर्ष संलग्न हुँदा सम्भावना बोकेका केही सहकारी अभियन्ताका बारेमा जान्ने अवसर पाएकाले उहाँहरूले सहकारी क्षेत्रमा पु्र्याइरहनु भएको भूमिकाबाट सन्तुष्ट छु । अहिले सम्झना भएका यस्ता मित्रहरूमा चन्द्रागिरी साकोस, थानकोटका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठ, विन्ध्यवासिनी सहकारी, काभ्रेका व्यवस्थापक के.बी.लामा, बुडोल सामुदायिक, बनेपाका व्यवस्थापक विबेकराज ठकुरी, सिद्धिगणेश साकोस, भक्तपुरका व्यवस्थापक राजेन्द्र दुमरू, आदि हुनुहुन्छ । यी लगायत अन्य कतिपय मित्रहरू सहकारीको गुणात्मक बिकास र सहकारीलाई सदस्यमुखी बनाउन तल्लिन हुनुहुन्छ भन्ने विश्वास छ । 

सहकारी क्षेत्रको योगदानको कसरी स्व–मूल्याङ्कन गर्नुहुन्छ ?
पेशागत कर्तव्यका हिसाबले सम्पन्न गरेको नेपालका सहकारीहरूको व्यावसायिक अनुगमन महत्वपूर्ण योगदान लाग्छ । उक्त अनुगमनमा धेरै सहकारीकर्मीहरूको साथ, समर्थन र भरपर्दो अपेक्षा पनि थियो । त्यसबेला कतिपयले अनुगमनलाई नरूचाएको अवस्था पनि यथार्थ हो । यद्यपी, त्यो स्तरको अनुगमन कार्यले निरन्तरता पाउन सकेन । अब, म वित्तीय क्षेत्रमा कार्यरत रहेको र केही समय सहकारी क्षेत्रमा पनि कार्य अनुभवप्राप्त गरेको आधारमा आगामी दिनमा सहकारीका बारेमा बिभिन्न माध्यमबाट मेरो ज्ञान, बिचार र अनुभव आदानप्रदानमा योगदान जारी रहनेछ । 

भावी योजना र लक्ष्यहरू के छन् ?
म धेरै महत्वकांक्षी छैन । सरकारी कर्मचारी भएको नाताले विशिष्ट प्रकारका योजना र लक्ष्यको सम्भावना न्यून रहन्छ । अझै केही बर्ष बैंकमै सेवारत रहनेछु । अहिले र अवकासपछिको समय र सामथ्र्य अध्ययन अनुसन्धानमै केन्द्रीत रहनेछ । निरन्तर अध्ययन मेरो रुचि, बानी, प्राथमिकता, दैनिकी र विशेषता सबै हो । मेरो अध्ययनको दायरा बैंक तथा वित्तीय संस्थाबाट बढेर सहकारीमा पुगेको छ । २०६६ सालबाट सहकारीतर्फ शुरू भएको मेरो कर्तब्य पालना र अध्ययनको यात्रा आगामी दिनमा पनि अनवरत रहनेछ । यसर्थ, सहकारी क्षेत्रको अध्ययन अनुसन्धान कार्यमा रचनात्मक भूमिका खेल्ने मेरो योजना र लक्ष्य दुवै हो । समय र अवस्था अनुकुल रहेदेश बिदेश भ्रमणको योजना पनि छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

नेफ्स्कून र साकोस आबाजलाई केही सन्देश छ कि ?
लामो समयदेखि नेपालका सहकारीका छाता संघहरुमध्ये सहकारीमा योगदान गरिरहेको अग्रणी संघ हो नेफ्स्कून । यसलाई अझ व्यावसायिक बनाउन भूमिका फराकिलो पार्दै कतिपय शहर केन्द्रित बचत तथा ऋण सहकारी संस्थामा देखिएका विकृति र समस्या समाधानमा केन्द्रीत हुनुपर्दछ । यसका लागि, सहकारी सुपरिवेक्षण संरचना निर्माणमा ठोस बहसपैरवी बढाउनुपर्ने आवश्यकता छ । त्यस्तै, संघलाई सहकारी क्षेत्रको अनुसन्धानमुखी क्रियाकलापमा समेत विस्तार गर्नुपर्ने आवश्यकता छ । यस अन्तर्गत हाललाई संघ अन्तर्गत रहने गरी सहकारी अनुसन्धान केन्द्रको स्थापना गर्ने, बिभिन्न विश्वविद्यालयमा सहकारी अनुसन्धान गर्ने विद्यार्थीलाई अभिप्रेरित र प्रोत्साहन गर्ने, सहकारी क्षेत्रका विद्वत ब्यक्तिहरू पहिचान गरी संघको सञ्चालक समितिमा सहभागी बनाउने, सहकारी अनुसन्धान सम्बन्धी कार्यलाई समेटी Double Blind Peer Review मा आधारित Journal प्रकाशन गर्ने जस्ता कार्य गर्न सकिन्छ । यसले सहकारी ज्ञानको प्रचारप्रसारमा सघाउ पुग्छ ।

केही समयदेखि साकोस आवाजको नियमित पाठक हुँ । यसले समेट्ने सहकारी लेखहरू नियमित अध्ययन गर्छु । यसलाई आफ्ना सहकारी विचार प्रकाशनको माध्यम बनाउने अवसर पनि पाएको छु । अब डिजिटल पत्रिकाको रुपमा यसले फड्को मारेको जानकारी पाउँदा खुसी लागेको छ । गुणस्तरीय सहकारी सम्बन्धी प्रकाशनको अभाव पूरा गर्न यो अनलाइन माध्यम सफल हुनुपर्दछ । आगामी दिनमा यो डिजिटल पत्रिकाले अझ परिमार्जित अनुसन्धानमूलक लेख रचना प्रकाशनमा जोड दिनुपर्छ । 

अन्त्यमा केही भन्नुछ कि ?
नेपालको वित्तीय क्षेत्रको बलियो र प्रशस्त सम्भावना बोकेको क्षेत्र हो सहकारी । संविधानले पनि स्थापित गरिसकेको यो कुरालाई व्यावहारिक परिणति दिन आवश्यक छ । सहकारी क्षेत्रलाई पारदर्शीताको नमूना, सुशासनमा बलियो र सम्पत्ती शुद्धिकरणको सम्भावनाबाट मुक्त क्षेत्रका रूपमा बिकास गर्न आवश्यक छ । देशको वित्तीय प्रणालीमा करीव १५ प्रतिशत हिस्सा ओगटेको र क वर्गका वाणिज्य बैंकहरू पछिको सबैभन्दा बढी रकमको वित्तीय कारोबार गर्ने सहकारी क्षेत्रलाई प्रभावकारी सुपरिवेक्षकीय प्रणालीमा आवद्ध गर्न नसकिएका कारण कहिलेकाहीं छायाँ बैंकिङरूपमा समेत ब्याख्या गरिनु अवश्य पनि सुखद पक्ष होइन । अधिकांश सहकारीहरू स्वनियमनमा सञ्चालित छैनन् । तसर्थ, प्रभावकारी सुपरिवेक्षण मार्फत सहकारी क्षेत्रमा पारदर्शीता, सुशासन र अन्तर्राष्ट्रियगुणस्तर कायम गर्न सम्बन्धित सबै पक्षहरू लाग्नुपर्ने देखिन्छ । 

saccosaawaj media

ऋण संघ ऐन (Credit Union Act) को आवश्यकता

सोमबार, साउन ५

निवर्तमान अध्यक्ष, नेफ्स्कून

saccosaawaj media

सहकारी मर्जरका लागि उत्प्रेरित नभए सरकार दबाब दिन बाध्य हुने

सोमबार, साउन ५

डा. टोकराज पाण्डे रजिष्ट्रार, सहकारी विभाग

saccosaawaj media

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५

दिगो विकास लक्ष्य र सहकारी