शनिबार, वैशाख ८
०१:३७

‘हेडसर’ यज्ञराज ढुङ्गेल भन्नुहुन्छ ‘यस्तो हुन्छ सहकारी’

बिहीबार, पुस २९
रञ्जनमणि पौड्याल
saccosaawaj

आखिर कस्तो हुन्छ सहकारी ‘हेडसर’ ? नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलसँग उहाँको कक्षमा आज दिउँसो भेटिनुभएका अग्रज सहकारी अभियन्ता यज्ञराज ढुङ्गेलसँग यो पक्तिकारको पहिलो प्रश्न थियो । केही समयअघि फोन र इमेलमार्फत साकोस आवाजमै ‘हेडसरका सहकारी भोगाइ र भावहरु’ शीर्षकमा अनुभव र उमेर दुबै हिसाबले पाका सहकारी अभियन्ता ढुङ्गेलको ‘बायोग्राफिकल’ अन्तर्वार्ता गरेपनि प्रत्यक्ष भेटको पहिलो मेसो आज जुरेको थियो । सुस्पष्ट वक्ता ढुङ्गेल आफ्ना अमुल्य प्रकाशनहरुको कोसेली लिएर नेफ्स्कून आउनुभएको थियो । तीमध्ये पंक्तिकारको बिशेष चासो ५६ पृष्ठको पछिल्लो पुस्तक ‘यस्तो हुन्छ सहकारी’ प्रति थियो । आजको प्रश्नोत्तर त्यसैको सेरोफेरोमा चल्यो ।

‘मुल्य, मान्यता र सिद्धान्तको परिधिभित्र सञ्चालन हुन्छ सहकारी’ पहिलो प्रश्नको जवाफ आयो, ‘सिद्धान्तबाट रत्तिभर स्खलित हुन पाइदैन । सिद्धान्तको टेको बलियो हुन्छ सहकारीको । यस्तो हुन्छ सहकारी ।’ दोलखामा सहकारी बिजारोपण गर्दा होस् वा लामोसमय जनसचेतन साकोसको नेतृत्व गर्दा होस् वा प्रशिक्षणको क्रममा होस्, जतासुकै र जहिलेपनि सिद्धान्त, मुल्य र मान्यतामै आफुले जोड दिदै आएको ढुङ्गेलले दोहोर्याउनुभयो ।

पछिल्लो पुस्तक प्रकाशनको साइत कसरी जुर्यो भन्ने अर्को प्रश्नमा दोलखाली सहकारी अभियानका धरोहर ढुङ्गेलले सुनाउनुभयो, ‘दोलखाको काब्रेस्थित जनसचेतन साकोसमा आमन्त्रित सहकारी अगुवा दीपकप्रकाश बास्कोटालाई हेडसर पुस्तक दिने मौका पाएँ । उहाँले पुस्तक अद्योपान्त पढ्नुभएछ । केही समयपछि म र अन्य ३ सहकारी अगुवाहरु बास्कोटा, कैलाशभक्त प्रधानाङ्ग र ऋषिराज घिमिरेबीच भेट भयो । त्यसैदिन दीपक दाइले ‘हेडसर पुस्तक अत्यन्तै मनपर्यो, पुस्तकभित्रको सहकारी पाटो मात्रै म छुट्टै प्रकाशन गर्छु’ भन्ने प्रस्ताव राख्नुभयो । २०७७ साल कार्तिक १ गते विमोचित ‘हेडसर’ ढुङ्गेलको जीवनी हो, ‘अटोबायोग्राफी’ हो भने 'यस्तो हुन्छ सहकारी' त्यसभित्रको हेडसरको सहकारी जीवन। 

बास्कोटाको त्यस्तो पुनित प्रस्तालाई कसरी नाइँ भन्नु । ढुङ्गेलले सहर्ष ‘हुन्छ’ भन्नुभयो । यसरी तयार भयो सहकारी तिर्खा मेटाउने सानो तर खदिलो पुस्तक ‘यस्तो हुन्छ सहकारी ।’

राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेशस्तरीय साधारण सभाको दिन पुस २४ गते शनिबार पुस्तक बिमोचित भयो । सोही दिन ढुङ्गेल बैंकको सिफारिशमा नेपालको सहकारी अभियानमा उल्लेख्य योगदान गरेबापत एशियाली ऋण महासंघ (अकू) ले प्रदान गर्ने घोषणा गरेको 'Outstanding Credit Union Volunteer Award' बाट सम्मानित समेत हुनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले ढुङ्गेललाई उक्त अवार्डबाट सम्मानित गर्नुभएको थियो । ‘पुस्तकमा केही थपिएको पनि छ कि ?’ पंक्तिकारको अर्को प्रश्न थियो । सहकारी मुल्य, मान्यता र सिद्धान्तसँग अनुभवको तादात्म्यता जोड्ने विषय केही थपिएको उहाँले सुनाउनुभयो । प्रकाशक दीपकप्रकाश बास्कोटा रहनुभएको पुस्तकको बिक्री मुल्य १५० रुपैयाँ राखिएको छ । राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून लगायत सहकारी निकायका सञ्जालमार्फत देशका कुना काप्चाका अध्येताहरुसम्म पुर्याउने जमर्कोको सिलसिलामा नै ढुङ्गेल आज नेफ्स्कून आइपुग्नुभएको थियो ।

केही समयअघि आफ्नो फेसबुक पेजमा पोष्ट गरिएको कुरा हेडसरले दोहोर्याउनुभयो, ‘खासमा मैले त पुस्तकमा केही देखिनँ, अरु धेरैलाई पनि पुस्तक दिए, उनीहरु कसैले पनि केही देखेनन् तर दीपक दाइले धेरै कुरा देख्नुभयो, उहाँका आँखा अर्कै रहेछन् । पुस्तक भित्रको सहकारी गुह्य बास्कोटाको अन्तर्चक्षुले दृष्टिगोचर गर्यो । सहकारी ऐन निर्माणदेखि राष्ट्रिय सहकारी विकास बोर्डको पहिलो अध्यक्ष, राष्ट्रिय सहकारी महासंघको पहिलो अध्यक्ष बन्दै त्यसको दिगोपनाका आधारहरु र अन्तर्राष्ट्रिय सम्बन्धका ढोकाहरु खोल्ने काममा लाग्नुभएका अनुभवी बास्कोटाले हेडसर पुस्तकभित्र अर्को सहकारी पुस्तक देख्नुभएको ढुङ्गेलले बताउनुभयो ।

यस्तो ढुङ्गेललाई मात्र होइन, अरु धेरैलाई हुन्छ । राष्ट्रकवि माधव घिमिरेले पत्नी वियोगमा भक्कानिएका भावहरुलाई आँसु र अक्षरसँगै पोख्दा जन्मिएको ‘गौरी’ खण्डकाव्य पाठकहरुले अत्यधिक रुचाएको प्रसङ्ग यही पंक्तिकारसँगको निक्कै वर्षअघिको अन्तर्वार्तामा कोट्याउनुभएको थियो । हेडसरको प्रसङ्गमा पनि त्यस्तै भयो । ‘हेडसर’ पुस्तकभित्रबाट अर्को पुस्तक जन्मियो ‘यस्तो हुन्छ सहकारी’ र त्यसको श्रेय उहाँ बास्कोटालाई दिनुहुन्छ । ‘दिपक दाइ पछिल्लो समय जे अभियान (आध्यात्मिक जागरण) मा लाग्नुभएको छ’, ढुङ्गेलले अगाडि सुनाउनुभयो, ‘उहाँले मेरो पुस्तकबाट सहकारीको पाटोमात्रै छापेर देशका नेताहरुकोमा पनि पुर्याउर्ने कुरा गर्नुभयो ।’

पुस्तकमा उल्लेख छ ‘सहकारी मेरो जीवनको आर्दश’ । अनि उल्लेख छ ‘परिश्रम र इमान्दारी मेरो जीवनको गहना हुन् ।’ आफ्नो बानी सन्तानहरुले पनि अनुसरण गरेको भन्दै परिवारप्रति पनि कृतज्ञता व्यक्त गर्नुभएको छ ढुङ्गेलले । पुस्तकमा INDECUA, PEARLS, ACCESS का कुराहरु अटाएका छन् । २०४२ सालदेखि निरन्तर सहकारीमा आबद्ध ढुङ्गेल पुस्तकमा लेख्नुहुन्छ,‘ मैले सहकारीको ढोका खोलेँ । सहकारीका कारण मेरो लागि विदेश यात्राको ढोका खुल्यो । सहकारीको नेतृत्व वास्तविक सहकारीकर्मीहरुबाट हुन सकेको छैन । वास्तविक सहकारी खडा गर्न सकिन्छ ।’ पुस्तकमा कमीकमजोरीहरुदेखि सशस्त्र द्धन्द्धको प्रभावसँगै मुख्यता आफ्नो सहकारी बुझाइ प्रमुख रुपमा चित्रित भएको उहाँले प्रष्ट पार्नुभयो । 

ससर्ती पढ्दा सहकारी अनभिज्ञता हुँदै सिकाइ, भोगाइ, देखाइ, सुनाइ हुँदै फैलिएको ढुङ्गेलको अनुभव पुस्तकमा पोखिएको छ । ‘सहकारीका मुल्य र मान्यता एक रौं पनि दायाँबायाँ गर्नुहुँदैन, अरुलाई पनि यही भन्छु, ’ फेरि थप्नुभयो, ‘सहकारीका मुल्य, मान्यता र सिद्धान्त भनेको रेलको लीक हो, यो लीक भित्र हिडे सहकारी हिड्छ, लीक छोड्यो भने दुर्घटना हुन्छ । यस्तो हुन्छ सहकारी । मेरो जहाँ पनि बोली त्यही हो, तालिम होस् कि भाषण होस् ।’

२०५० सालमा स्थापित जनसचेतनको सफलताको श्रेय पनि सहकारी मुल्य, मान्यता र सिद्धान्तको पूर्ण परिपालना नै भएको हाल उक्त साकोसका प्रमुख संरक्षक ढुङ्गेलले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘सिद्धान्त, मुल्य र मान्यताप्रतिको मेरो निष्ठाका भावहरु दीपक दाइलाई सही लाग्यो होला र त उहाँले छुट्टै पुस्तक निकाल्ने सोच सुनाउनुभयो ।’

सिद्धान्त र व्यवहारमा फरक हुन्छ वा हुनुपर्छ सबै कुरा सिद्धान्तका आधारमा मात्र चलेर हुन्छ र ? बेलाबखत सुनिने कुरा हो । पंक्तिकारको अर्को जिज्ञासा त्यही थियो । ढुङगेल हेडसरको खरो जवाफ आयो, ‘सिद्धान्तकै आधारमा त हो नि नियम, कानून र नीतिहरु बनाउने । व्यवहार हेर्छु भनेर सिद्धान्त नै छोड्ने किसिमको नीति, नियम बनाउन त मिल्दै मिल्दैन । सिद्धान्तभित्रको व्यवाहारिकता मात्रै सहकारी हो । सिद्धान्तबाट बाहिर निस्केर सञ्चालन हुने त सहकारी नै होइनन् नि । 

‘पुस्तक पढ्ने मात्र होइन मनन पनि गर्ने हो भने मलाई लाग्छ सबै व्यक्ति लीक भित्र हिड्छन् । किताब सानो, लेखाइ थोरै तर गहन छ । गहन रहेछ भनेर दीपक दाइले भनेपछि मैले बुझेँ’ फेरि श्रेय दीपक प्रकाश बास्कोटालाई नै दिनुभयो । जनसचेतनको सुरुवात, त्यसको विकास, ढुङ्गेल लगायतकाहरुलाई सहकारी सिकाउने व्यक्तिहरु पनि पुस्तकमा समेटिएको उहाँले बताउनुभयो । यसरी सहकारीका अग्रणी व्यक्तिसँगको आज अपरान्हको संक्षिप्त भेट बिट मारियो ।

२००३ साल साउन ९ गते हालको बैतेश्वर गाउँपालिका वडा नं. ४ पोखरे, दोलखा जिल्लामा जन्मनुभएका ढुङ्गेलको अगुवाइमा २०५० सालमा स्थापित जनसचेतन साकोसको उहाँले २० वर्ष नेतृत्व गर्नुभयो । उहाँकै अध्यक्षताकालामा जनसचेतनले एसिया प्रशान्तस्तरको एक्सेस ब्राण्ड प्राप्त गरेको थियो । ढुङ्गेल नेफ्स्कूनका पूर्व सञ्चालक पनि हुनुहुन्छ । 

(ढुङ्गेलको सहकारी अनुभवले खारिएको पुस्तक नेफ्स्कूनमा उपलब्ध छ ।)
 

saccosaawaj media

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

सोमबार, साउन ५

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

saccosaawaj media

अब्बल साकोस नेतृ सीमा

आईतबार, साउन २५

अब्बल साकोस नेतृ सीमा

saccosaawaj media

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’

आईतबार, साउन २५

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’